Saturday, September 18, 2021

नेपाली लेखक संघको स्थापनार्थ केही अभिलेख :


नेपाली लेखक संघको स्थापनार्थ प्रारम्भिक बैठक
( डा. प्रा. पद्मप्रसाद देवकोटाबाट प्राप्त )

नेपाली लेखक संघका वैठकहरू
 - पद्म देवकोटा

नेपाली लेखक संघबारे २०१० साल मंसिरमा सोच बन्न थाले पछि सोही महिनाको १० गतेको प्रथम गोष्ठीदेखि २०११ साल पुष ९ गतेसम्ममा लेखकहरू तथा यस संघका सदस्यले २४ पटक भेटेको र त्यस पछि एकैताल २०१३ सालमा गएर कार्तिक २५ र २९ गते गरी थप दुई पटक भेटेको रेकर्ड दुईवटा बेग्लाबेग्लै मिन्युट कापिमा रहेको छ । यो लेखको उद्देश्य यी २६ पटकका भेटघाटको विवरण दिनु रहेको छ । साथै नेपाली साहित्यको यौटा महत्त्वपूर्ण इतिहास बोकेको यस संघको चर्चाबाट यसले नेपाली साहित्यलाई दिएको देन बारे केही जानकारी अवश्य मिल्ने छ भन्ने आसा गर्न सकिन्छ । 

१) २०१० मार्ग १० गते : यस संस्थाको आवश्यकतालाई सोचेरै नेपाली लेखकहरूको प्रथम गोष्ठी नारायणप्रसाद बाँसकोटाको निवासस्थानमा “लेखकहरूलाई प्रगतिका संपादकको हैसियतमा” बोलाइएको थियो । बालकृष्ण समको सभापतित्वमा बसेको सो गोष्ठीमा “नेपाली साहित्यको उत्थानको लागि सबै लेखकहरूको एक संघ कायम गरी कार्य गर्ने” मूल उद्देश्य अनुरूप पहिलो निर्णय यस प्रकारको गरिएको छ – “नेपालका विभिन्न लेखकहरूको स्थिति विचार गरी नवयुग सुहाउँदो साहित्य निर्माणको निम्ति एक लेखक संघ स्थापना गर्ने ।” यस निर्णयका साथै वैठकले संघको उद्देश्य र योजनाको मसौदा तयार पार्न केदारमान व्यथित, ह्दयचन्द्रसिंह प्रधान र नारायणप्रसाद बाँसकोटालाई निर्वाचित गरेको छ भने उहाँहरूका साथै अन्य व्यक्तिहरू पनि यस काममा जुट्न बाटो खुला छोडेर यी तीन जनाको नाम पछि “आदि” शब्द पारेको छ । संस्थाको नाम “नेपाली लेखक संघ” रहने निर्णय गर्दै आर्को वैठक जोर गणेश प्रेसमा बस्ने र त्यसले मसौदा संशोधन गर्ने योजना बनेको छ । 

२) २०१० मार्ग १० गते : यस सभाको निर्णयबाट ह्दयचन्द्रसिंह प्रधानले बनाउनु भएको मसौदालाई आगामी वैठकहरूले निश्चित रूप दिन बाँकी भएको कुरा बुझिन्छ । यस वैठकले संघका सदस्य बनाउन कमिटिका सदस्यमध्ये कुनै एकको सिफारिस आवश्यक ठानेको छ । साथै अस्थायी कमिटिमा निम्न २७ लेखकहरू चयन गरिएका छन् –

बालकृष्ण सम, सिद्धिचरण, लक्ष्मीप्रसाद, लेखनाथ, भीम दर्शन, ह्दयचन्द्र, पूर्णबहादुर एम.ए., भीमनिधि, बालचन्द्र शर्मा, विजय मल्ल, नारायण बाँसकोटा, माधव घिमिरे, श्यामदास, ईश्वर बराल, गोविन्द प्र. लोहनी, केदारमान व्यथित, भवानी भीक्षु, रूद्रराज पाण्डे, देवेन्द्रराज, केशवराज पिडाली, कृष्णचन्द्र सिं, जनार्दन सम, वासु पासा, रश्मिराज्य लक्ष्मी, गोविन्द मल्ल, ऋद्धिबहादुर र राजलक्ष्मी

यो सभा पनि  बालकृष्ण समकै सभापतित्वमा बसेको हो । अघिल्लो गोष्ठी र यो सभा एउटै मितिमा बसेको कारण स्पष्ट छैन । हुन सक्छ कि गोष्ठी बिहान र सभा बेलुकी बस्यो अथवा यौटै मसि र यौटै हस्ताक्षरमा निर्णयहरू लेखिएका हुनाले मार्ग १० गते भन्दा अगाडि बसेको गोष्ठीलाई पनि मिन्यूट लेख्ने व्यक्तिले झुक्किएर सोही मिति राखिदिए र कसैले याद गरेन । तथ्य जे होला, हामीलाई यस संघको साहित्यिक देनसँग बढी चासो छ ।

अनि गोष्ठीमा उपस्थिति जनाएको छैन भने सभाको पनि उपस्थिति नजनाएको कारण हुन सक्छ कि त्यस दिन जो जो व्यक्ति उपस्थित थिए तिनीहरू सबै अस्थायी कमिटिमा परे । 

३) २०१० मार्ग २२ गते : यस वैठकका निर्णय छुट्टै दुई पाना कागजमा लेखेर सो मिन्युट कापिमा उतारे पछि मसौदा पानाहरू पनि त्यहीँ टाँसेको छ र त्यसरी टाँसेको पानाको पछाडि सो सभामा उपस्थित सदस्यहरूले उपस्थिति जनाएको पाइन्छ । यसै गरेर पछिका केही वैठकका उपस्थिति र निर्णयहरू पनि मिन्युट कापिमा टाँसेको पाइन्छ । 

यस दिनको नेपाली लेखक संघको वैठक जोरगणेश प्रेसमा रूद्रराज पाण्डेको सभापतित्वमा बस्यो । अस्थायी नै भए पनि कमिटि बनिसकेपछिको यस पहिलो वैठकले अर्थयोजना बारे प्रत्येक सदस्यको सुझाव लिने निर्णय गर्दै नेपाल लेखक संघका लागि आवस्यक स्थान माग्न प्रधानमन्त्री कहाँ जाने निर्णय गरेको पाइन्छ । साथै ईश्वर बराल, पूर्ण बहादुर एम.ए., ह्दयचन्द्र, भिक्षु, नारायण बाँसकोटा, विजय मल्ल र श्यामदास रहेका विधान निर्मात्री समिति खडा गरेको छ ।

४) २०१० मार्ग २७ गते : ऋद्धिबहादुर मल्लको सभापतित्वमा जोरगणेश प्रेसमा बसेको वैठकले ह्दयचन्द्र प्रधानद्वारा प्रेषित “नियम”को वाचनपछि त्यसउपर छलफलमार्फत् संशोधन गरिएको छ । यस संशोधित विधानको रूपरेखा सबै सदस्यहरूमा एकएक प्रति पठाइने निर्णय भएको छ ।

५) २०१० पुस ५ गते : जोरगणेश प्रेशमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सभापतित्वमा बसेको वैठकले कार्य समितिको अवधी दुई वर्षको निमित्त रहने छ भनी निर्णय गरेको छ । साथै यस वैठकले गरेको थप निर्णय निम्न प्रकारको छ – 

कार्य समितिको निमित्त साधारण सदस्यहरूद्वारा १५ जना सदस्यहरूको नाम तोकिएको अवधिभित्रमा प्रस्ताव गरेर ल्याएकोमा जसका नामहरू क्रमश वहुमत आउनेछन्, उनै का.स.का सदस्य निर्वाचित हुने छन् । र चार जना सम्मन्, अरू विभिन्न जिल्लाहरूबाट का.स.का सदस्यमा, अध्यक्षले मनोनित गर्न सक्नेछ । यसरी मनोनित भएका सदस्यहरू अनुपस्थित भएमा, गण पूरक संख्यासंग कुनै वाधा रहने छैन । कार्य समितिको २/३ दुइ तिहाइ बहुमतले कार्य समितिको वैठक बोलाउन सक्छ र अध्यक्षमाथि अविश्वासको प्रस्ताव ल्याउन सक्ने छ ।

    यसरी त्यस बेलाका लेखकहरूले काठमाडौंलाई मात्र नसोची बाहिर जिल्लाका लेखकहरूलाई पनि सम्झिनुले उनिहरूको उदारवादी चेतनाको संकेत गरेको छ । साथै उनिहरूको प्रयास प्रत्येक वैठकको सभापतित्व गर्न सकेसम्म धेरै बेग्लाबेग्लै लेखकहरूलाई दिने बुझिन्छ जसले गर्दा लेखक संघको संरचनामै सबैको केही देन देखियोस् । 

६) २०१० पुस ८ गते : रूद्रराज पाण्डेको सभापतित्वमा बसेको वैठकले ऋद्धिबहादुर मल्ललाई कोषाध्यक्षमा नियुक्त गर्‍यो छ । अनि छलफलबाट यस संघको कार्यालयका लागि “भद्रकाली सर्वोत्तम स्थान हुन सक्ने छ” भन्ने निष्कर्षमा पुग्यो । साथै यौटा संपर्क समिति पनि चयन गर्‍यो जसमा केदारमान व्यथितको संयोजकत्वमा ऋद्धिबहादुर मल्ल, केशवराज पिंडाली, देवेन्द्रराज र माधवप्रसाद घिमिरे रहेका थिए । यस वैठकमा आर्थिक दृष्टिले र लेखकत्वको दृष्टिले सदस्यताहरूको वर्गिकरण गर्ने सोच पनि छलफल भएको छ । प्रकाशनतर्फ पनि ध्यान पुर्‍याएर ईश्वर बराल, नारायणप्रसाद बाँसकोटा र देवेन्द्रराज समेतको समिति गठन गरी यसलाई विधान, आवेदनपत्र, आदि प्रकाशनको अभिभारा दिएको छ । संभव छ, यही प्रकाशन समितिले “फाल्गुनतिर कलेज स्कूल खुलेपछि ... दोस्रो सातामा पहिलो लेखक सम्मेलन” गराउन “तत्काल गोर्खापत्रमा एउटा प्रचारात्मक लेख” छाप्ने काममा सहयोग गरिदेओस् भन्ने सोच राखेको बुझिन्छ । साथै प्रकाशन समितिले शारदालाई पुनर्जीवित गराउन विचार गरोस् पनि भनिएको छ । यस वैठकले प्रधानमन्त्रीकहाँ जाने सात जनाको नाम तोकेको बाहेक फाल्गुनको दोस्रो सातामा संघको उद्घाटन युवराजद्वारा गराउने, मुख्य अतिथि र उद्घाटनकर्ता नेपाली नै राख्ने, विधान नेपालीमा ५०० प्रति र अंग्रेजीमा ५०० प्रति छपाउने र संघको अचभकत समजी द्वारा बनाउने निर्णय गरेको छ ।

७) २०१० पुस १० गते : यस दिनको वैठकले गरेका निर्णयहरूको मस्यौदा सफासँग मिन्युट कापिमा उतारेको छैन । कसको सभापतित्वमा र कुन स्थानमा वैठक बस्यो भन्ने पनि उल्लेख छैन । २०१० मंसिर १० गतेको निर्णय अनुसार नेपाली लेखक संघलाई चाहिने स्थान माग्न प्रधानमन्त्रीकहाँ जाने भने तापनि हालसम्म नगएको कुरा यस वैठकको प्रथम निर्णय अनुसार बुझिन्छ । लेखिएको छ – “माननीय प्रधान मन्त्री जी सित समय मागी कुरा गर्ने ।” के विषयमा कुरा गर्ने भन्ने उल्लेख पनि छैन । आर्को निर्णयमा भने “रेडियो नेपालको दिउसोको प्रोग्राममा लेखक सम्मेलन गर्ने । यसको अनुमतिका लागि अध्यक्षका तर्फबाट रेडियोलाई लेखी पठाउने” भनिएको छ । रेडियोबाट संघको उद्देश्यको प्रसार गर्ने मात्र नभई राष्ट्रभाषाको अवस्था, देशमा साहित्यिक अभिरूचिमा कमी र भाषा तथा साहित्यका सम्बन्धमा छलफल समेत गर्ने विचार राखेको छ । साथै यौटा कवि सम्मेलन गर्ने र संघका सभापतिको भाषणसमेत रेडियोमा गरिने कार्यक्रमका लागि सोचिएको छ । यस वैठकको उपस्थिति जनाएको छैन । 

८) २०१० पुस १४ : रूद्रराज, देवेन्द्रराज, ऋद्धिबहादुर, विजय बहादुर मल्ल, माधवप्रसाद घिमिरे, जनार्दन सम र केशवराज पिँडालीसमेत सात जनाको उपस्थितिमा सभापति र स्थान नतोकिएको वैठकका निर्णयबाट पुष १५ गते बिहान प्रधानमन्त्रीसित कुरा गर्ने अवशर यस संघले पाएको बुझिन्छ । सो भेटको तयारी गर्न बसेको वैठकले संघका उद्देश्यहरू सुाउने र सबैले सरकारबाट प्राप्त हुन सक्ने सहायता माथि छलफल गरी आश्वासन लिने लक्ष राखेको छ । संघले सरकारबाट आसा गरेका कुराहरू मध्ये वार्षिक आर्थिक सहायता, स्थान, रेडियोबाट सम्मेलन र उद्देश्य प्रसार गर्न पाउने अनुमति, विदेशी साहित्यकार बोलाउन सरकारबाट आर्थिक सहायता, लेखकहरूलाई पुरस्कारको व्यवस्था र नयाँ उत्तम ग्रन्थहरू माथि पनि पुरस्कारको व्यवस्था परेका छन् । सम्मेलनमा प्रधान मन्त्रीलाई सभापतित्व गरिदिन अनुरोध गर्ने सोच पनि राखेको छ । 

९) २०१० पुस १७ : स्थान र सभापति नतोकिएको ८ जना सदस्यको उपस्थितिमा बसेको यस दिनको वैठकले “आज नेपाली लेखक संघको सभाले पर्सी रेडियोबाट हुने लेखक सम्मेलनको कार्यक्रममाथि छलफल गर्‍यो” भनी जनाएको छ । यस अनुसार नेपाली लेखक संघको नेपाल रेडियोबाट पहिलो लेखक सम्मेलन २०१० पुस १९ गते भएको बुझिन्छ ।

१०) २०१० पुस २२ : रूद्रराज, माधवप्रसाद घिमिरे, भीमनिधि तिवारी, विजयबहादुर मल्ल, ऋद्धिबहादुर, केशवराज पिँडाली, ईश्वर बराल र भिक्षुसमेत गरी आठ जनाको उपस्थितिमा बसेको यस वैठकले सर्वप्रथम सरकारमा आर्थिक सहयोग माग्नको निम्ति पेश गर्नु पर्ने लेखक संघको आगमी वर्षको आर्थिक योजना तयार गर्नका लागि पाँच सदस्यीय उप–समिति गठन गरेको छ जसमा ईश्वर बराल सेक्रेटरी र केशव पिँडाली, भीमनिधि, ह्दयचन्द्र र माधवप्रसाद सदस्य रहेका छन् । यही वैठकले उपाध्यक्ष भिक्षु र सेक्रेटरी देवेन्द्रराजलाई संभवत् संघको कार्यालय राख्न रिक्त भएका सरकारी घरको निरीक्षण गरी आर्को वैठकमा रिपोर्ट गर्ने जिम्मा दिएको छ । बालकृष्ण समले संघको चिन्ह तयार नगरिसकेको बुझिन्छ किनभने चाँडै सो तयार गरी बनाउनलाई “आडर दिने” निर्णय भएको छ । यसपछि “पौष १९ गते रेडीयोमा भएको साहित्यिक सम्मेलनमा अधिकांश लेखकहरूका रचनाहरू पढ्न नपाइएकोले, वाहहरूका ती रचनाहरू पुन रेडीयोवाट प्रसारित गर्न एक चोटी आर्को लेखक सम्मेलन नेपाल रेडीयोबाट बोलाइयोस् भनी नेपाल रेडीयोका डाइरेक्टरसंग अनुरोध गर्ने” निर्णय भएको छ । पाँचौ निर्णयमा प्रकाशन उप–समितिले शारदाको पुनर्जागरणको योजना आर्को वैठकमा सुनाउने भनिएको छ । त्यसै गरी “सिनेमाको च्यैरिटी शो लिन अर्थ सञ्चय उप–समितिले आगामी वैठकमा पेश गरोस्” भनिएको छ । यसपछिको बुधबारका दिन कार्यसमितिको वैठक जोरगणेश प्रेसमा गर्ने र “लेखक संघको कार्यविवरण दिने” भन्ने निर्णय छ । आठौं निर्णयमा संघका अध्यक्ष भारत जाने भएकाले “ले.सं.को आवश्यक प्रचार गरिदिनु होला भन्ने अनुरोध गरी से(क्रेटरी).ले एउटा पत्र पठाउने” भनिएको छ । अन्त्यमा बजेट उप–समितिको वैठक शनिबार एक वजे ईश्वर बरालकहाँ हुने निर्णय भएको छ ।

यसपछि मिति २०११–१–११ का दिन नेपाल लेखक–संघको आफ्नै प्याडको छुट्टै पानामा सचिव ईश्वर बरालले छलफलका विषयसमेत तोकेर सदस्यहरूलाई २०११ वैशाख १२ गते बस्ने वैठकमा उपस्थित हुन बोलाएको पत्र यस प्रकारको छ – 

पत्र १
११–१–’११
महोदय

आगामी शनिवार वैशाख १२ गते सन्ध्यासमय ५ बजे जोरगणेश–छापाखानामा लेखक संघको कार्य–समितिको गोष्ठी आयोजित हुने भएकोमा तहाँको उपस्थिति प्रार्थित छ । कार्यावली निम्नलिखित छन् : 

१. लेखक संघका निमित्त सरकारी घर पाउन बारे ।
२. सदस्य संख्या बढाउन बारे ।
३. साहित्य कार्यक्रमको प्रतिष्ठा गर्न बारे ।
४. आर्थिक संयोजन र सञ्चयन गर्न बारे ।
५. अरू सदस्यका कुनै प्रस्ताव आएमा ।

भवत:
ईश्वर बराल
सचिव

यही सन्दर्भमा नेपाली लेखक संघले विभिन्न व्यक्ति, सरकार, संघसंस्थासँग गरेको पत्राचारको वा अरूले नेपाली लेखक संघलाई लेखेका पत्रहरूको सबै रेकर्ड नभए तापनि जम्मा पाँचवटा पत्र उपलब्ध छन् । मैले यी पत्रहरूलाई मितिको क्रम अनुसार संख्या गणना गरिदिएको छु । 

११) २०११ वैशाख १२ : भवानी भीक्षु, केदारमान व्यथित, माधवप्रसाद घिमिरे, पूर्णबहादुर एम.ए., विजयबहादुर मल्ल, केशवराज पिँडाली, ईश्वर बराल र देवेन्द्रराजको समुपस्थितिमा दिउँसो चार बजे जोरगणेश प्रेशमा बसेको वैठकमा सभापति अनुपस्थित रहेको बुझिन्छ । भद्रकालीमा र पुस्तकखानामा स्थानको अभाव भएको हुँदा “अन्त कतै स्थान प्राप्तिको निमित्त चेष्टा गर्ने भन्ने ठहर भयो र यस विषयमा सदस्यहरूले स्थान हुन सक्ने भए सूचना दिनुहोला भनी सदस्यहरूलाई अनुरोध गर्ने” भन्ने निर्णय गरिएको छ । “अतिथि–निवासमा ७ सात नम्बरको घर अथवा छेंभडेलको घरका लागि पनि चेष्टा गरिनुपर्छ” भन्ने निर्णय पनि गरिएको छ । यसको अतिरिक्त देवेन्द्रराज धनकुटा पुगेर आउनु भएको प्रसङ्गमा “नेपाली लेखकसंघको शाखा धनकुटामा खोल्ने आवश्यकता” बारे छलफल भएको र पूर्व १ नम्बरमा पनि शाखा खोल्न कुलचन्द्र कोइरालाको आवेदन परेको बुझिन्छ । यस वैठकमा सदस्य संख्या बढाउने बारे छलफल हुनुका साथै “लेखनाथ, सम, देवकोटा, सिद्धिचरण, भिक्षु – को कार्यसमिति र यसैबाट एउटा  अध्यक्ष । उहाँहरूले हामी वर्तमान का.स.का सदस्यसित सिफारिस गरी कार्य सञ्चालनको निमित्त संगठन गर्ने” भनी निर्णय गरेको छ ।

१२) २०११ वौशाख २३ : रूद्रराज पाण्डेको सभापतित्वमा भवानी भिक्षु, केदारमान व्यथित, पूर्णबहादुर, श्यामदाश, केशवराज पिँडाली, ईश्वर बराल र देवेन्द्रराजसमेत गरी जम्मा आठ जनाको उपस्थितिमा बसेको कार्यसमितिको वैठकमा व्यथितले समितिमा “१७ जना बढी गर्ने अथवा १७ संख्या नै सीमित रहने” बारे प्रश्न उठाएको बुझिन्छ । यसको लगत्तै रूद्रराजले बोलेको कुराको टिपोट यस प्रकारको छ –

रूद्रराज – सबैलाई श्रद्धा गरेको । बालकृष्ण सम र देवकोटालाई सभापतिपद प्रदान गर्दा अस्वीकृति हुँदा म बनेको । हाम्रो अहिलेको कार्यसमिति बम जयअ । जाडोको समय काम नचलेको ...

यसपछि व्यथितको कथनबाट विधानको साफी गरेको प्रति हराएकोमा “अब पुरानो आधार मस्यौदाबाट अर्को नयाँ साफी विधानलाई स्वीकृत गराउने” भन्ने कुरा खुल्न आएको छ ।

१३) २०११ जेठ २७ : रूद्रराज पाँडेको सभापतित्वमा नारायण बाँसकोटा, भीमनिधि तिवारी, केशवराज पिंडाली, भिक्षु, बालकृष्ण सम, ऋद्धिबहादुर मल्ल, ईश्वर बराल, श्यामदाश, विजयबहादुर मल्ल, देवेन्द्रराज र माधवप्रसाद घिमिरेका साथै विशेष आमंत्रितको रूपमा बालचन्द्र शर्मासमेत गरी १३ जनाको उपस्थितिमा बसेको नेपाली लेखक–संघको वैठकले “भद्रकालीमा स्थान पाउने विषयमा मा(ननीय). प्रधानमंत्रीलाई निवेदन गर्ने” निर्णय गर्‍यो । यस दिनको दोस्रो निर्णय छ –“विधानका अनुबन्धका अनुसार कार्यसम्पादन गर्ने रूपरेखा प्रस्तुत गर्न तलका तीन जनाको एउटा समिति बनाइने : १. श्री रूद्रराज पाण्डे २. श्री नारायण बाँसकोटा ३. श्री ईश्वर बराल ।” तेस्रो निर्णयमा “लेखकहरू संग्रहीत गर्न एउटा अध्ययन–गोष्ठी प्रति पक्ष गर्ने” अठोटका साथै आषाढ ५ गते दिउँसो २ बजेका लागि “यात्रावर्णन” विषय छानिएको छ । भविष्यमा कविता, एकांकी नाटक, कथा, निबन्ध र समीक्षा बारे अध्ययन–गोष्ठी गर्ने सोच राखेको पाइन्छ । यस पछि “विधानानुसार १५०।– दिई आजीवन सदस्य हुनेमा १० कित्ता सालभरीमा दिई आजीवन सदस्य हुन पाइने” निर्णय गरी “अहिलेसम्म सदस्य भएकाको सदस्यता २०११ वैशाखदेखि प्रारम्भ भएको मानिने” भन्ने निर्णय समेत गरिएको छ । 

यसको लगत्तैको पृष्ठमा बेग्लै मसि र बेग्लै हस्ताक्षरमा संभवत “यात्रावर्णन” अध्ययन–गोष्ठीका लागि चयन गरिएका नौ जनाको नाम र तिनबाट प्रस्तुत गराउने विषयको निम्नानुसार वयान टिपिएको पाइन्छ –

श्री लक्ष्मीप्रसाद देवकोटा : Romanticism in English Literature
श्री किशोरीरमण राणा : हिन्दी साहित्य में कविता
श्री विजय बहादुर मल्ल : Somerset Maughm + T.S. Eliot
श्री नारायण बाँसकोटा : Chaucer
श्री देवेन्द्रराज उपाध्याय : बालकृष्ण सम 
श्री मुरारीकृष्ण शर्मा : हिन्दी कवितामा छायावाद
श्री पुष्कर शमशेर ज.ब. राणा : नेपाली व्याकरण विषयमा 
श्री गोविन्द मल्ल : Shaw + Aldous Huxley
श्री ईश्वर बराल : 

१४) २०११ असार ५ : यस मितिमा “यात्रा विषयक निबन्धको पाठ” भनेर निम्न व्यक्ति र विषयको उल्लेख भएको पाइन्छ –

१. श्री भीमनिधि तिवारी : यात्रावर्णन
२. श्री केशवराज पिँडाली : बाघबजारको बाटो
३. श्री देवेन्द्रराज उपाध्याय : दार्जिलिङ्मा तेइस घण्टा
४. श्री गोविन्द मल्ल : 
५. श्री विजय मल्ल : धरानसम्म 
६. श्री भिक्षु : मेरो काठमाडौं यात्रा 

यसको अतिरिक्त अरू दुईवटा शीर्षक छन् – १. मौरीको यात्रा – Allegory (cf. Bunyan’s Pilgrim’s Progress) 2. Satire + Humour । (अंग्रेजी अक्षर लक्ष्मीप्रसाद देवकोटाको छ ।) 

२०११ असार ७ : नेपाल लेखक संघका सेक्रेटरी श्री देवेन्द्रराजले सादा कागजमा “प्रिय साहित्यिक साथी”लाई “आगामी दुइ शनिबारहरूमा हुने कार्य समितिको सभाको सूचना” पठाउनु भएको पत्र मिन्युट कापिमा टाँसेको छ । दुवैका लागि स्थान जोरगणेश प्रेस छ । शनिबार आषाढ १२, ५ बजे साँझमा “कार्य समितिको सभा – बांकी यात्रा वर्णनहरूको पाठ तथा संस्था सम्बन्धि विषयहरू” र शनिबार आषाढ १९, ३ बजे दिउँसो “नयां कविताहरूको पाठ” भनी तोकिएको छ ।

१५) २०११ असार १२ : यस दिनको वैठक जोर गणेश प्रेसमा श्री रूद्रराज पाण्डेको अध्यक्षतामा बसेको हो । सो वैठकमा उपस्थित साहित्यकारहरू निम्नानुसारका थिए – केदारमान व्यथित, केशवराज पिँडाली, देवेन्द्रराज, ह्दयचन्द्रसिंह, बालकृष्ण सम, मुरलीधर भट्टराई (विशेष रूपले दर्शकका रूपमा), भवानी भिक्षु, भीमनिधि तिवारी, नारायण बाँसकोटा, माधवप्रसाद घिमिरे, श्यामदाश वैष्णव, रूद्रराज, ऋद्धिबहादुर र ईश्वर बराल ।

यस दिनको वैठकले व्यथितजीले नेपाली लेखक संघको अफिस नेपाल सांस्कृतिक संघको घरमा राख्ने भनी ल्याउनुभएको प्रस्तावको निर्विरोध समर्थन गरेको छ । साथै केसर समसेरकहाँ निम्न पाँच जनाको प्रतिनिधि मण्डल जाने भनी तोकिएको छ – 

१. श्री रूद्रराज पाण्डे – अध्यक्ष 
२. श्री बालकृष्ण सम
३. श्री केदारमान व्यथित
४. श्री ह्दयचन्द्रसिंह प्रधान
५. श्री ईश्वर बराल 

यसरी केसर समसेरसँग भेट्न श्री ईश्वर बरालले आगामी शनिबारका लागि समय लिने र भेट गर्दा भएका कुराकानीको रिपोर्ट कार्य समितिमा दिने निर्णय भएको छ । यस वैठकको दोस्रो निर्णय निम्नानुसारको छ – 

श्री ह्दयचन्द्रसिंह प्रधानको अस्वस्थताको उपचारको निम्ति सहायता हुने समेत गरेर मासिक मो.रू. २०० दुइ सयमा भाषानुवाद परिषद्मा फेरि नियुक्ति हुने र जेल परेदेखिको बाँकी तलब उहाँलाई दिने हुकुम श्री ५ महाराजधिराजबाट भएको परमांगी श्री केसर शमशेरबाट प्राप्त भएको छ त्यस सम्बन्धमा छिटो कृयात्मक रूप दिन एउटा प्रतिनिधि मण्डलले माननीय शिक्षा मन्त्रीसित भेट्ने भन्ने अर्को प्रस्ताव श्री व्यथितले राख्नुभएको सर्व सम्मतिबाट स्वीकृत भएको छ । यस प्रतिनिधि मण्डलमा निम्न सदस्य रहनु भएको पाइन्छ : 

१. श्री रूद्रराज पाण्डे
२. श्री देवेन्द्रराज उपाध्याय
३. श्री केदारमान व्यथित

यस विषयमा श्री रूद्रराज पाण्डेयले मण्डललाई यथाशीघ्र सूचना दिनुहुनेछ ।

तेस्रो निर्णयमा अध्यक्षले नारायण बाँसकोटालाई “कर्म सचिव” नियुक्त गर्नुभएको उल्लेख छ । चौथो निर्णयमा रेडियोको साहित्यिक प्रोग्राममा सरकारी कर्मचारीले भाग लिएको पारिश्रमिक पाउँदा भ्रष्टाचार नलागोस् भन्ने बरालजीको प्रस्ताव समयाभावले गर्दा आर्को वैठकसम्मका लागि स्थगित गरिएको छ । अनि, मिन्युट कापिमा निर्णयहरू लेखेर सचिव र अध्यक्षको हस्ताक्षर भइसकेपछि “पुनश्च” भन्दै “एशियायी सांस्कृतिक समन्वय समितिका विषयमा श्री प्रधान मन्त्रीसित भेट गर्न जाने कुरा उठेकोमा श्री देवेन्द्रराजले उहाँसित भेट गरी यस निमित्त तलका सदस्यहरूको मण्डललाई सूचना गर्नु हुनेछ” भनी लेखिएको छ । उक्त मण्डलका सदस्यहरूका नामावली यस प्रकारको छ –

१. श्री रूद्रराज पाण्डे
२. श्री लक्ष्मीप्रसाद देवकोटा 
३. श्री केदारमान व्यथित
४. श्री बालकृष्ण सम
५. श्री केशवराज पिँडाली
६. श्री देवेन्द्रराज उपाध्याय 

१६) २०११ असार १९ : जोरगणेश प्रेसमा ४ बजे दिउँसो रूद्रराज पाण्डेको अध्यक्षतामा बसेको यस वैठकमा भवानी भिक्षु, केशवराज, बालकृष्ण सम, जनार्दन सम, ऋद्धिबहादुर, श्यामदास, भीमनिधि तिवारी, देवेन्द्रराज, केदारमान व्यथित, नारायण बाँसकोटा, ईश्वर बराल र माधवप्रसाद घिमिरे उपस्थित थिए । उक्त वैठकमा आफू उपस्थित हुन नसके वापत काठमाडौं नगर पालिकाको “जन–चेतना” शीर्षकको प्याडमा यसका संपादक ह्दयचन्द्रसिंह प्रधानले नेपाली लेखक–संघका “सभापतिज्यू”लाई सम्बोधन गर्दै हरियो मसिमा लेख्नु भएको छ – “३।४ दिनदेखि मलाई रुघाज्वर आइरहेको छ, तसर्थ आजको सभामा उपस्थित हुन असक्षम भएँ, क्षमा गर्नुहोला ।” 

छलफलका विषयमा क) “श्री देवेन्द्रराजले राजीनामा दिनुभएकोमा गर्नु पर्ने निर्णय” र ख) “श्री ईश्वर बरालको अघिल्लो प्रस्ताव” रहेका छन् ।

यस वैठकमा भएका छलफलका क्रममा कार्यकारी सदस्यहरूले भनेका कुरा टिपिएका छन् । निर्णय भनेर बूँदागत ढङ्गले लेखिएको छैन । केदारमान व्यथितले लेखनाथ पौडेल र सिद्धिचरण श्रेष्ठलाई थप्ने प्रस्ताव राखेपछि अध्यक्षले “पहिले २१ भएको र अहिले २/४ लब्धप्रतिष्ठित छुटेकाले अब नयाँ ४ सदस्य थप्ने” आग्रह गरेपछि “बहुमतद्वारा ४ जनालाई का(र्य).स(मिति).मा थप्ने भन्ने निर्णय भयो” भन्ने उल्लेख गरिएको छ । अनि, केदारमान व्यथितले “श्री देवेन्द्रराजले आफ्नू राजीनामा फिर्ता लिनु होस भन्ने अनुरोध गर्ने” भन्नु भएको कुरा पछि “श्री देवेन्द्रराजले आफ्नू राजीनामा फिर्ता लिनु भयो” भन्ने उल्लेख पाइन्छ । राजीनामाको कारण भने बताएको छैन । छलफलको विषय त्यसपछि चुनावतर्फ बढेको छ । यहाँ व्यथितको चिन्ता यसरी व्यक्त भएको छ – “चुनाव हत्पताइकन गर्नु हुन्न । बरु हाम्रा वयोवृद्धाहरूलाई कार्यसमितिमा स्थान दिई हामीहरू कार्यभार लिऔं । सदस्यताको आधारमा अहिले नै चुनाव हुन्छ भने लेखक संघ भता भुंग हुन्छ ।” चुनाव छिटै गर्नु पर्ने आवश्यकता बोध हुँदा हुदै पनि भीमनिधिले भनेझैं “काम केही गर्ने र निर्वाचन गर्ने” सोचतर्फ सदस्यहरूको झुकाव देखिन्छ । त्यसैले भानुजयन्तीको तयारीतिर उन्मुख देखिन्छ । यसपछि रेडियो विषयमा ईश्वर बरलको प्रस्ताव (के हो भन्ने उल्लेख गरिएको छैन) स्वीकृत भएको छ । समजीद्वारा बालसाहित्यको पुस्तक प्रकाशन गर्न स्वीकृत होस् भनिएको छ । 

यसरी सुरूमा १७ जनासम्म सदस्य भएको बुझिए तापनि असार १९, २०११ सालको वैठकसम्ममा सदस्य संख्या २१ पुगिसकेको र अरू थप ४ जना थप्न तयार भएको कुरा प्रष्ट छ ।

यसपछिको आर्को वैठकको विवरण पाना अगाडि कविता–पाठका लागि भनी ९ जना कविहरूको नाम साथै उनिहरूले वाचन गर्ने कविताको नाम समेतको उल्लेख गरिएको छ । नेपाली लेखक–संघको प्याडमा मिति २४/३/२०११ (पत्र संख्या ३–३–११) मा सचिव ईश्वर बरालले १८ जना कविलाई “सामान्य बन्धु” भनी सम्बोधन गर्दै “गत शनिवार समयाभावले साहित्यकार्यक्रम हुन नसकेकोले अब पुन: आगामी शनिवार आषाढ २६ गते अपराह्न ३ बजे जोरगणेश छापाखानामा कवि गोष्ठी हुने” सूचना दिएका छन् । संभव छ यही असार २४ गतेको कार्यक्रमका लागि सल्लाहाकार सभाका अध्यक्ष निम्त्याइएका थिए, तर उनको निजी सचिव श्री नरेन्द्र प्रसाद रेग्मीले २०११ असार १९ का दिन “गत ३ दिन देखी माननीय अध्यक्षज्यूको पेटको गडवडीले गर्दा” निम्ताइएको कार्यक्रममा उपस्थित हुन नसक्ने भएको जानकारी जोर गणेश प्रेसको ठेगानामा पत्राचार गरी नेपाली लेखक संघलाई दिएको छ । कार्यक्रम सरेको पनि यही कारणले हो कि ? जोरगणेशमा कार्यक्रम भएको दिनको उपस्थिति भने २ बजे १३ जनाको देखिन्छ, जसमा (हस्ताक्षर नबुझिएको व्यक्ति), बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, देवेन्द्रराज, भीमनिधि तिवारी, श्यामदाश, ह्दयचन्द्रसिंह, जनार्दन सम, केदारमान व्यथित, केशवराज पिँडाली, माधव घिमिरे, ईश्वर बराल र नारायण बाँसकोटा हुनुहुन्थ्यो । यस “साहित्य–गोष्ठी – कविता पाठ” कार्यक्रमको विवरण सचिवले मिन्युट कापिमा यसरी उतार्नु भएको छ – 

आजको साहित्यकार्यक्रमान्तर्गत यो दोस्रो गोष्ठी थियो । सदस्यहरूलाई स्मरण नै भएको कुरा हो यसभन्दा अघि एक पल्ट भ्रमण–यात्रा–सम्बन्धी निबन्धपाठको कार्यक्रम भइसकेको छ । सर्वप्रथम श्रीईश्वर बरालले आधुनिक आंग्लसाहित्यका महामहिम कवि श्री टी.एस. इलियटको एउटा कविता एयचतचबष्त या ब ीबमथ को नेपाली अनुवाद सुनाउनु भयो । उहाँले यस कविताको व्याख्याका साथै कविको भावधारा र मानस परिचयको पनि चर्चा गर्नुभयो । गौर जिल्लाका एक तरुण नेपाली श्रीगोविन्द भट्टले केही हिन्दीका कविता सुनाउनु भयो । उहाँमा काव्युचित प्राथमिक प्रेरणाको पर्याप्त रसावेश पाइयो र उहाँका कविता रसमय थिए ।

त्यस पछि हाम्रा निम्नलिखित कविहरूले आफाफ्ना रचना सुनाउनु भयो :

श्री बालकृष्ण सम : प्रार्थना
श्री माधव घिमिरे : पापिनी आमा (आख्यायिका)
श्री जनार्दन सम : केवल म
श्री ह्दयचन्द्रसिंह प्रधान : मेरो छोरो
श्री श्यामदास वैष्णव : समाधान
श्री भीमनिधि तिवारी : वृद्ध
श्री भिक्षु : चना जोर गरम

सबैका कविता बेस थिए । व्यथितको आधुनिक समस्या र रूपभित्र भएको समको दार्शनिक ऊहापोह, रूपज सौषम्य र कलामनोयोगिता भएको, प्रधानको मार्मिक आत्मभावव्यञ्जनको, घिमिरेको कथात्मकतामा नाटकीय तीक्षता र अभिव्यञ्जनको तक्ष्पणतायुक्त, भिक्षुको कविधर्मको मर्यादाको उल्लेखका साथै परिपुष्ट भावाभिव्यञ्जना र आधुनिक मपाइँ हुने खालका कविहरूमाथि आलोचना भएको, जनार्दन समको र वैष्णवको गीतिप्रवाहिकता भएको र भीमनिधि तिवारीको लयात्मकता (शब्द अस्पष्ट छ) भएको – यस प्रकारका कविता उपस्थित गरिएका थिए । नारायण बाँसकोटाले ‘उमरखय्यान’का केही अनुवाद सुनाउनु भयो ।

आज अध्यक्ष श्रीरुद्रराज पाण्डेको अनुपस्थिति भएकोले यो गोष्ठी श्री भिक्षुको अध्यक्षतामा सम्पन्न भयो । आजको उपस्थिति यस प्रकार छ :

सर्वश्री बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, देवेन्द्रराज उपाध्याय, भीमनिधि तिवारी, श्यामदाश वैष्णव, ह्दयचन्द्रसिंह प्रधान, जनार्दन सम, केदारमान व्यथित, केशवराज पिँडाली, माधव घिमिरे, नारायण बाँसकोटा र ईश्वर बराल ।

बडो आनन्दका साथ प्राय: तीन घण्टासम्म यो गोष्ठी भइरह्यो । 

ईश्रर  बराल
सचिव/अध्यक्ष

२०११ श्रावण ६ गते नेपाली लेखक संघका सचिव ईश्वर बरालले सदस्यहरूलाई शनिबार श्रावण ९ गते हुन गइरहेको लेखक संघको पाक्षिक साहित्य–गोष्ठीमा उपस्थित हुन सूचना दिनुका साथै यस पटक एकांकी नाटकको पालो छ भनी सम्झाउनु भएको छ । 

१७) २०११ श्रावण ९ : दिउँसो ४ बजे जोर गणेश छापाखानामा रुद्रराज पाण्डेको सभापतित्वमा बसेको वैठकमा ऋद्धिबहादुर, केशवराज, ह्दयचन्द्रसिंह, नारायण बाँसकोटा, (अस्पष्ट हस्ताक्षर), जनार्दन सम, भीमनिधि तिवारी, श्यामदाश, विजयबहादुर मल्ल, ईश्वर बराल, गोविन्दबहादुर मल्ल र देवेन्द्रराज समेतको उपस्थिति रहेको छ । 

यस वैठकले छवटा निर्णय गरेको छ । ईश्वर बरालको संयोजकत्वमा ह्दयचन्द्र सिंह प्रधान र विजयबहादुर मल्लसमेतको तीन सदस्यीय समितिले रेडियोको निमित्त साहित्य कार्यक्रम सञ्चालन गर्ने बारे यौटा सुझाव नेपाल लेखक–संघका तर्फबाट तयार गरी सरकारमा पठाउने । यसै गरी लेखक संघको योजना र आवश्यकतालाई सरकारमा प्रस्ताव पठाउने काम गर्न केशवराज पिंंडालीको संयोजकत्वमा भीमनिघि तिवारी, गोविन्दबहादुर मल्ल, केदारमान व्यथित, नारायण बाँसकोटा, ऋद्धिबहादुर मल्ल र भिक्षुलाई जिम्मा दिइएको छ । तेस्रो निर्णय अन्तर्गत “श्री पूर्णबहादुरसँग उहाँले राजीनामा दिनुभएको विषयमा सोध्ने” भनिएको छ । यहाँ पनि राजीनामाको कारण खुलेको छैन । चौथो निर्णयमा नेपाल लेखक संघको यौटा मुखपत्र चाहिने भएकोले शारदा प्रकाशनका विषयमा सुझाव दिन भिक्षुको संयोजकत्वमा ह्दयचन्द्र सिंह प्रधान र गोविन्दबहादुर मल्लसमेतको उप–समिति बनेको छ । पाँचौं निर्णय अनुसार लेखनाथ पौड्याल, गुरूप्रसाद मैनाली, सिद्धिचरण श्रेष्ठ र गोविन्दबहादुर मल्ललाई लेखक–संघको कार्य समितिमा लिइने भएको उल्लेख पाइन्छ । कार्य समितिमा रहनकालागि यी चार जना व्यक्तिहरूले सदस्यता शुल्क बुझाउनु पर्ने आवश्यकता पनि खुलाइएको छ । र अन्त्यको निर्णय छ, “लेखकसंघको समाचार प्रसार यस संघका अध्यक्ष, सचिव वा कार्य सचिवको तर्फबाट गराउने छ ।” 

२०११ साउन १५ गते : नेपाल लेखक–संघका सचिवले “भोलि शनिवार ४ बजे दिउँसो जोर गणेश प्रेसमा कार्यसमितिको” वैठक हुने सूचना दिंदै साउन ९ गते गठन गरिएका तीनवटा उप–समिति र तिनका संयोजक तथा सदस्यका नाम उल्लेख गरेका छन् । १८ सदस्यको नाम लेखिएको आर्को पानामा सूचना पाउने १५ जना छन् भने व्यथितले “तपाईंको  पत्र अहिले वेलुका ७ वजे प्राप्त भयो । भोलि मैले आमसभामा वोल्ने वचन दिएकोले उपस्थित हुन असमर्थ छु” भनी सही गर्नु भएको छ । बालकृष्ण सम दार्जिलिङमा हुनु भएको बुझिन्छ र लक्ष्मीप्रसाद देवकोटाले सूचना नपाएको बुझिन्छ ।

यसपछि पुन: २०११ श्रावण ९ को वैठकका निर्णयहरू सफासँग सारिएको छ । यस दिन एकांकी नाटकको पठन हुने भनिएको भए तापनि समयाभावले गर्दा सो हुन नसके वापत पर सारिएको टिप्पनी पनि गरिएको छ । उपस्थिति सफासँग सार्दा देवेन्द्रराजको नाम छुटेको छ । पाँचौ र छैठौँ निर्णयहरू पनि तलमाथि पारेर सारिएका छन् । 

१८) २०११ असोज २ : दिउँसो ३ बजे श्री रूद्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठको उपस्थिति यस प्रकारको छ :– भवानी भिक्षु, लेखनाथ, केशवराज, नारायण बाँस्कोटा, गुरु प्रसाद मैनाली, ऋद्धिवहादुर, देवेन्द्रराज, गोविन्दवहादुर मल्ल, श्यामदाश, सिद्धिचरण, ईश्वर बराल र व्यथित । कार्य समितिको यो वैठक दुइ घण्टा लामो थियो । 

यस वैठकले आठवटा विषयमा निर्णयहरू गरेको पाइन्छ । सबैभन्दा पहिला रेडियोको साहित्यक्रममा सहयोग गर्नको निम्ति गठन भएको उपसमितिको विवरण सुनेपछि त्यसउपर छलफल गरी निष्कर्षमा पुगेपछि यस विषयको प्रस्ताव लिएर गृहमंत्रीकहाँ सो प्रस्ताव पठाउन एउटा मण्डल गठन गरेको छ जसका सदस्यहरूमा (१) ईश्वर बराल (संयोजक) (२) व्यथित (३) केशवराज पिंडाली (४) विजयबहादुर मल्ल  र (५) बालकृष्ण सम परेका छन् । 

दोस्रो निर्णय आत्मआलोचनात्मक ढङ्गले यसरी लेखिएको छ – “लेखकसंघको गतिशीलतामा मार्गरोध भएकोमा हामी सबै का(र्य). स(मिति).का सदस्य व्यक्तिगत रूपले तथा सामूहिक रूपले दोषी छौं भन्ने कुरा सर्वसम्मतिले स्वीकृत भयो ।” यसको प्रस्तावक केदारमान व्यथित रहनुभएको छ । यसको लगत्तैको निर्णयमा फेरि व्यथितकै प्रस्तावमा “अब गतिशीलता ल्याउने कार्यक्रमका निम्ति हामी सबै सदस्य सम्पूर्णभावले क्रियमाण हुने प्रतिज्ञा गरिरहेछौं” भनिएको छ । शायद नेपाल लेखक संघको गतिशीलतालाई नै विचार गरेर चौथो निर्णय अन्तर्गत यसको कार्यसमितिमा केदारमान व्यथितकै प्रस्ताव सर्वसम्मतिले स्वीकार्दै मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, बाबुराम आचार्य, डिल्लीरमण रेग्मी र बालचन्द्र शर्मासमेत थप पाँचजनालाई सघंको सदस्यता लिन र कार्य समितिमा सम्मिलित हुनका निम्ति अनुरोध गर्ने निर्णय गरेको छ । यसले नेपाली लेखक संघ केही समय यता सोचेको वा आसा राखिएको जस्तो संस्थागत रूपमा क्रियाशील हुन नसकेको बताउँछ । यसको एउटा कारण पाँचौं छलफलको विषयको रूपमा आएको प्रस्तावले यसरी बोलेको छ – “यस लेखकसंघमा रहनुभएका सदस्यहरू अन्त–अन्तका समानान्तर संख्यामा काम गरी पदाधिकारी रही दिंदा यस लेखकसंघको गतिशीलतामा अवरोध हुने हुँदा वहाँहरूले यस लेखकसंघबाट पदत्याग गर्नुपर्नेछ ।” यो प्रस्ताव पनि सोही वैठकमा सर्वसम्मतिले स्वीकृत भएको तथ्य मिन्युट कापिमा पाइन्छ । छैठौँ निर्णयले संघको नियम अझ कडा पार्ने काम गर्दै त्यस दिनदेखि कार्य समितिको वैठकको सूचना पाएपछि लिखित विवरण नदिई तीन पल्टसम्म अनुपस्थित भएमा सो अनुपस्थित हुने व्यक्तिले कार्यसमितिमा बस्न नचाहेको बुझिनेछ भनी निर्णय गरेको पाइन्छ । अर्थात् कार्यकारी समितिका सदस्यहरूको आवश्यक उपस्थितिको कमीले नेपाली लेखक संघले राम्ररी काम अगाडि बडाउन नसकेको कुरा यसबाट थाहा हुन्छ । 

सिद्धिचरण श्रेष्ठको नेपाली लेखक संघको कार्य समितिमा सरकारी व्यक्ति नरहने कि भन्ने प्रस्ताव आगामी कार्य समितिको बैठकमा छलफल हुने सातौँ निर्णय पछि आठौँ निर्णय अध्यक्षको घोषणाको रूपमा आएको छ । ईश्वर बराललाई कार्य समितिका कार्यक्रम र देवेन्द्रराज उपाध्यायलाई उप–समिति सम्बन्धी कार्यक्रम हेर्ने जिम्मा दिंदै उहाँहरूको कार्यविभाजन गरिएको छ । 

यसपछि मिन्युट कापिमा “२०११ असोज २ को कार्यसमितिको विवरण” भनी माथिका निर्णयहरू फेरी सफासँग आर्को पन्नामा यसरी भाषासमेत मिलाई सारिएको छ ।

आजको का.स.को बैठक दिउँसो ३ बजे जोरगणेश–छापाखानामा श्री रुद्रराज पाँडेको अध्यक्षतामा भयो । आजका निम्न निर्णय भए :

१. रेडियोको साहित्यक्रममा लेखकसंघको के सुझव हुनुपर्छ, त्यसको विषयमा गठित भएको उपसमितिको प्रस्ताव–प्रारूप प्रेषित भयो । यस विषयमा विशेष निर्णय गर्नुभन्दा पहिले माननीय गृहमंत्रीकहाँ निवेदन गर्न जाने मण्डलीले कुराकानी गरी पछि फेरि विमर्ष होस् भन्ने निर्णय भयो : मा(ननीय). गृहमंत्रीलाई भेट्न जाने सदस्य एवं प्रकारले रोजिनुभयो : सर्वश्री व्यथित, केशवराज पिंडाली, विजयबहादुर मल्ल, बालकृष्ण सम र ईश्वर बराल (संयोजक) ।

२. लेखकसंघले कुनै खँदिलो र गतिलो काम किन गर्न नसकेको भन्ने विषयमा निकै गम्भीर विचारको आदान–प्रदान हुँदा यो देखियो, सबैको ह्दयमा केही–न–केही चीसो पसेको छ, र सबैको ह्दय स्वच्छ छैन । तसर्थ लेखकसंघको गतिशीलतामा मार्गरोध भएकोमा हामी सबै का(र्य).स(मिति).का सदस्य व्यक्तिगत रूपले तथा सामूहिक रूपले दोषी छौं र हामी सबैले यस प्रकारको कुण्ठालाई हटाई आत्मशुद्धिको संकल्प गनुपर्छ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भयो ।

३. यसै विषयमा अब लेखकसंघको गतिशीलता ल्याउने कार्यक्रमका निम्ति हामी सबै सदस्य सम्पूर्णभावले क्रियमाण हुने प्रतिज्ञा गर्दैछौं भन्ने प्रस्ताव पनि हर्षध्वनिसाथ स्वीकृत भयो ।

४. लेखकसंघलाई अझ खँदिलो पार्न निम्न पाँच सदस्यलाई कार्यसमितिमा स्थान दिई उहाँहरूलाई लेखकसंघको सदस्यता लिई सो अनुरोध स्वीकृत रहोस भन्ने प्रस्ताव पनि स्वीकृत भयो । सदस्यहरू रोजिनु भएको यस प्रकार हुनु हुन्छ : सर्वश्री मातृकाप्रसाद कोइराला, डिल्लीरमण रेग्मी, श्री बाबुराम आचार्य, विश्वेश्वरप्रसाद कोइराला र बालचन्द्र शर्मा ।

५.यस लेखकसंघमा रहनुभएका सदस्यहरू अन्त–अन्तका अरू समानान्तर संस्थामा काम गरी पदाधिकारी रही दिंदा यस लेखकसंघको गतिशीलतामा अवरोध हुने हुँदा उहाँहरूले यस लेखकसंघबाट पदत्याग गर्नुपर्नेछ भन्ने यो पाँचौँ प्रस्ताव पनि सर्वसम्मतिबाट स्वीकृत भयो ।

६. लेखकसंघको का.स.को बैठकमा धेरै सदस्यहरू विना कुनै सूचनाको अनुपस्थित हुनुहुन्छ र भइदिनु हुन्छ पनि । यस प्रकार तीन पल्ट बराबर अनुपस्थित हुँदा त्यस्ता सदस्यहरूको ले.सं.को कार्यसमितिमा नबस्ने इच्छा प्रकट गर्नुभएको बुझिनेछ भन्ने यो प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भयो । 

७. ने.ले.सं.को का.स.मा सरकारी जागीरदार तथा व्यक्ति नरहून् भन्ने प्रस्ताव श्रीसिद्धिचरणको आगामी का.स.को बैठकको निम्ति स्थगित रह्यो ।

८. श्री ईश्वर बराल र श्री देवेन्द्रराजको कार्यविभाजन निम्नलिखित प्रकारले गरिएको घोषणा अध्यक्षले गर्नुभयो :–

(१) कार्य–समितिका कार्यक्रम – श्री ईश्वर बराल
(२) उपसमिति सम्बन्धी कार्यक्रम – श्री देवेन्द्रराज 

१९) २०११ असोज ३० : श्री लेखनाथ पौड्यालको अध्यक्षतामा जोर गणेश प्रेसमा अपरान्ह ३ बजे बसेको वैठकमा केशवराज, केदारमान व्यथित, गोविन्दवहादुर मल्ल, ऋद्धिवहादुर मल्ल, देवेन्द्रराज, नारायण बाँस्कोटा, विजयवहादुर मल्ल र भवानी भिक्षुको उपस्थिति पाइन्छ । “श्री गुरू प्रसाद मैनाली आएर जानु भएको” भन्ने उल्लेख गरिएको छ ।

वैठकको पहिलो निर्णयमा यसभन्दा अघिल्लो खेपको वैठकमा सिद्धिचरण श्रेष्ठले राख्नुभएको नेपाल लेखक संघको कार्यकारी समितिमा सरकारी जागिरदार तथा व्यक्ति नरहुन भन्ने प्रस्ताव “असामयिक तथा प्रस्ताव पास गर्दा धेरै प्रभावशाली लेखकहरूबाट संघ वञ्चित रहने र उनिहरूको सहयोग विना संघको प्रगति नहुने देखिएकोले प्रस्ताव सर्व सम्मतिबाट अस्वीकृत गरियो” भनिएको छ । दोस्रो छलफलको विषय “सरकारको समक्ष नेपाली भाषा र साहित्यको उन्नति, लेखकहरूलाई प्रोत्साहन तथा पुरष्कार र प्रकाशनका विषय” थियो जसमाथि सम्बन्धित उप–समितिले पेश गरेको प्रस्तावमाथि छलफलपश्चात् यस बारे कुरा गर्न प्रधानमन्त्री कहाँ जाने प्रतिनिधि मण्डलमा लेखनाथ पौडेल र नारायण प्रसाद बाँस्कोटा पनि थपिनु भएको छ । प्रधान मन्त्रीसँग समय लिन भने देवेन्द्रराजलाई भनिएको छ । तेस्रो छलफलको विषय अर्थ संग्रह उपसमितिले राखेका प्रस्तावहरूमाथि भए तापनि यी प्रस्ताव के थिए भन्ने उल्लेख गरिएको छैन । यी प्रस्तावलाई “क्रियात्मक रूप दिने काम सोही उपसमितिलाई सुम्पियो” भन्दै यस विषयमा पनि प्रधानमन्त्रीसँग कुरा गर्ने निर्णय गरिएको छ । सवै सदस्यलाई उप–समितिका निर्णयहरूका प्रति पठाउने भनिएको छ । अनि अन्त्यमा केदारमान व्यथितको निम्न प्रस्ताव सर्वसम्मतिबाट पास भएको कुराको उल्लेख गरिएको छ :–

ने.ले. संघको प्रगतिमा शिथिलता आएकोमा आफू आत्म–आलोचना अघिल्लो कार्यसमितिले गरेको थियो । परन्तु त्यसपछि पनि का(र्य). स(मिति).को बैठकमा केही सदस्यहरूको उदासीनता कायमै रहेकोले खेदका साथ त्यसको पालनाका लागि फेरि अनुरोध गरिन्छ जसमा साहित्यको सेवाका लागि लेखक संघले उठाएको निम्नलिखित दुइ प्रस्ताव पनि सर्व सम्मतिबाट पास भयो :– 

श्री नारायण बाँसकोटाको प्रस्ताव : उपरोक्त प्रस्तावका प्रति सबै सदस्यहरू बाट सद्भावना रहेन भने विधान बमोजिम कडा कारवाही गरियोस् ।

श्री केशवराज पिंडालीको प्रस्ताव : अव उप्रान्त कुनै सदस्यले पनि का.स. बाट राजीनामा पठाए तुरुन्तै स्वीकृत गर्ने । 

२०) २०११ कात्र्तिक २१ : सरदार रुद्रराज पाँडेको अध्यक्षतामा बसेको वैठकमा केदारमान व्यथित, ईश्वर बराल, माधवप्रसाद घिमिरे, नारायणप्रसाद बाँसकोटा, लक्ष्मीप्रसाद देवकोटा, केशवराज पिंडाली, विजयबहादुर मल्ल, भीमनिधि तिवारी, जनार्दन सम, श्यामदाश वैष्णव र देवेन्द्रराज उपाध्यायको उपस्थिति छ । यो वैठक देवेन्द्रराज उपाध्यायको घरमा दिउँसो ४:१५ मा बसेको र यसले यौटा साहित्यिक कार्यक्रम गर्ने बारे छलफल गरी केही निर्णयमा पुगेको छ । छलफलको क्रममा सबैको देन नाम समेत उतारिएको छ ।

रुद्रराजले एउटा साहित्यगोष्ठी गर्ने प्रस्ताव ल्याउनुभयो । भिक्षुले नेपाल लेखक संघ यतातिर शिथिल भइरहेकोमा यस प्रकारको गोष्ठी चाँढो मात्र होइन कि सल्लाहकार–सभाको बैठक हुनेताका नै गरे यस संघको प्रचार पनि अलि बढता हुने कुरा तर्फ सबैको ध्यानाकर्षण गर्नुभयो । व्यथितले सो गोष्ठी गर्दा “विद्वन्मण्डली र बौद्धिक प्रतिभावान्, युवराज, मंत्री (साहित्यसित अभिरूचि राख्ने मात्र)” जस्ता सबैलाई गोष्ठीमा बोलाउने र दुई तीन दिन लगाई प्रत्येक लेखकले आफ्नू पृष्ठभूमि दिने प्रस्ताव राख्नुभयो । माधव घिमिरेले “कविताको रचनाको पनि अर्थ गर्ने” सुझाव दिनुभयो भने विजय मल्लले “लेखक संघबाहिरका लेखकहरूलाई पनि डाक्ने” प्रस्ताव राख्नुभयो । केशवराज पिंडालीले प्रवेश (शुल्क) पनि राख्ने कि भन्ने कुरा ल्याउनुभयो । श्यामदासले कलात्मक ढंगले आफ्ना रचना प्रस्तुत गर्न पूर्वाभ्यास गर्न सुझाव दिनुभयो । देवेन्द्रराजले “सीमित” गर्ने सुझाव दिनुका साथै प्रचारका दृष्टिले केही विशिष्ट दर्शकलाई पनि बोलाउने प्रस्ताव दिनुभयो । सम्मेलनको अवधि तोक्ने, आलोचना र प्रत्यालोचना गर्ने, र यसो गर्नका लागि केही लेखक र आलोचक छानिन पर्ने कुरा राख्नुभयो । बरालले तीन तीन दिन गर्दा मानिसहरूको रूचि हराउन सक्ने हुँदा एक दिनको मात्र गर्ने प्रस्ताव राख्नुभयो । भिक्षुले सारा लेखकको परिचय र पृष्ठभूमि प्रस्तुत गर्न एक जना “स्वागत मंत्री” राख्ने प्रस्ताव राख्नुभयो । श्रोताबाट कसैले तुरुन्तै आलोचना गर्न चाहान्छ भने सो पनि गर्नदिने सुझाव पनि राख्नुभयो । व्यथितले कार्यक्रम रमाइलो हुनुपर्ने कुरा बताउँदै लेखक स्वयंले आफ्नू अभिव्यक्ति जति राम्ररी आफैले प्रकट गर्न सक्छ अरूले गर्न नसक्ने कुरा बताउनुभयो । देवेन्द्रराजले परिचित आलोचकलाई अगाडि नै छान्न संभव भएको कुरा राख्नुभयो । अध्यक्षले “लेखकहरूलाई आफ्नो दर्शन भन्न लगाउँदा निमन्त्रित व्यक्तिहरूको संख्या सीमित हुनु पर्छ” भन्नुभयो । व्यथितले यस किसिमको सम्मेलन पहिलो पटक गर्न लागेको हुँदा सफल कसरी हुने भन्ने बारे सोच्न आवश्यक भएको कुरा राख्नुभयो । रुद्रराजले साहित्यिक कार्यक्रम पट्यार नलाग्ला भन्ने अनुमान गर्नुभयो । व्यथितले रेडियोद्वारा यसको रिपोर्ट प्रचार प्रसार गर्दा नेपाल लेखक संघको एक विवरण पनि जानु राम्रो हुने कुरा बताउनुभायो । बरालले “लेखकहरूले रचना सुनाउने विषयमा रचना सुनाइसकेपछि आलोचकको टिप्पणी” समेत राख्न सुझाव दिनुभयो । देवकोटाले भन्नुभयो, “कविपक्षको कविद्वारा । आलोचनापक्ष आलोचकबाट ।” अनि देवेन्द्रराजले चार जनालाई राख्न र दुइ घण्टा समय दिन प्रस्ताव ल्याउनुभयो । उहाँको विचारमा आलोचकलाई १० मिनेट र कविलाई २० मिनेट दिनु ठीक हुन्छ । 

यस वैठकले निम्न आलोचकहरूको चयन पनि गर्‍यो – रुद्रराज पाण्डे, देवेन्द्रराज उपाध्याय, नारायण बाँसकोटा, विजय मल्ल र ईश्वर बराल । सो समयमा ईश्वर बराल नहुने संभावनालाई ख्याल गर्दै उहाँको अनुपस्थितिमा अध्यक्षले तोकेको व्यक्तिलाई राख्ने निधो गरेको छ र अन्त्यमा यो निर्णय लेखिएको छ :– 

आगामी शनिवार लेखकहरूले आफ्ना–आफ्ना रचना लिई अध्यक्ष निवासस्थानमा ४ बजे जलपानसहितको निम्ता । गोष्ठीमा स्थान दिनलाई लेखनाथ, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरणमध्ये क्रमश: प्रमुखता दिई साथमा अरू रचनाकारलाई राखी जम्मा ४ को कार्यक्रम एक पल्ट । – रुद्रराज

२१) मार्ग १९, २०११ : दिउँसो ३ बजेपछि नेपाली लेखक संघको कार्य समितिको सभा संघका अध्यक्ष श्री रुद्रराज पाण्डेको घरमा बस्यो । उपस्थित व्यक्तिहरू देवेन्द्रराज, नारायण बाँसकोटा, गोविन्द बहादुर मल्ल, श्यामदाश, गोविन्दबहादुर, ऋद्धिबहादुर, बालकृष्ण सम, गुरु प्रसाद मैनाली, विजयबहादुर मल्ल, जनार्दन सम र कृष्णचन्द्र सिंह प्रधान रहनुभएको छ ।

वैठकमा सर्वप्रथम ईश्वर बराल अढाई महिनाकालागि पूना जानु भएको सूचनाको पढेर सुनाइएको छ । नेपालगञ्जबाट नेपाल बैंकका एजेण्टले संघको शाखा त्यहाँ खोल्ने विषयको पत्र पढेर सुनाउँदा गुरु प्रसाद मैनाली नेपाल गञ्ज अपीलमा सुब्बा भई जानु हुने हुँदा उहाँलाई त्यस स्थानका लेखकहरूको माग बुझी शाखा खोल्ने निधो गर्न अख्तियार दिने निर्णय भएको छ । 

यसभन्दा अघि कार्य समितिले गरेको निर्णय अनुसार कविहरूको आफ्नो विषयको लेख उनिहरूबाट अझै प्राप्त नभएकोले आगामी आइतवारका दिन उपाध्यक्षको पुतली सडकमा रहेको निवासस्थानमा हुने वैठकमा ती लेख मागिने र त्यसकालागि संझनाको पत्र पठाउने निर्णय गरिएको छ । अनि भनिएको छ, प्रत्येक रविवार साँझ ५ बजे पछि लेखक संघको कार्य समितिका सदस्यहरूले लेखक संघको निमित्त मात्र छुट्याउने । कार्य समितिको कार्यक्रम भए पनि नभए पनि सदस्यहरूले प्रत्येक आइतवार साँझ भेला भई साहित्यिक छलफल गर्ने निर्णय भएको छ । सभा हुने स्थलको निधो अग्रिम सभामा गरिने कुरा पनि तय गरिएको छ । अनि कुनै पनि सभामा अनुपस्थित सदस्यले अर्को सभा स्थलको सूचना प्राप्तिका लागि सेक्रेटरी अथवा कुनै सदस्यसित संपर्क राख्नु पर्ने भनिएको छ । आगमी कार्य समितिमा विधानलाई प्रकाशित गर्ने विषयमा छलफल गर्ने र श्री ५ युवराजधिराजलाई लेखक संघको विषयमा निवेदन गर्न एउटा प्रतिनिधि मण्डल जान समयकालागि अनुरोध गरी पठाउने निर्णय पनि गरिएको छ । साथै मातृकाप्रसाद कोइराला, विश्वेश्वर प्रसाद कोइराला, दिल्लीरमण रेग्मी, वालचन्द्र शर्मा र बाबुराम आचार्यलाई कार्य समितिमा लिनका लागि पत्र लेखी पठाउने कुरा पनि उल्लिखित छ ।

यसपछिको वैठक भवानी भिक्षुकहाँ हुने भन्ने कुरा तलको चिठ्ठीको आधारमा बुझिन्छ । तर उहाँलाई आफ्नो निवाशमा सो वैठक गर्न नमिलेको जानकारी उहाँले यसरी पत्र मार्फत् गर्नु भएको छ ।

पत्र २ (हस्तलिखित)

श्री सेक्रेटरीज्यू
लेखक संघ
प्रिय देवेन्द्रराजज्यू,

अहिल्यै पाएको एउटा सरकारी सूचना अनुसार आउने रविबारका दिन मलाई सरकारी कार्यमा राति १० वजेसम्म व्यस्त रहनु परेकोले त्यस दिन लेखक संघको प्रस्तावित वैठक मकहाँ गर्न गाहारो परिरहेको छ । अत: त्यस दिन कतै अन्यत्र वैठक हुने सूचना सदस्य वर्गमा पठाउने अनुरोध छ । आशा छ कार्यक्रम मिलाई अनुग्रहीत गर्नु होला ।

साथी —
भवानी भिक्षु
०११।८।२३

यसपछि निम्न थप तीनवटा चिठ्ठी प्राप्त छन् जसमा नेपाली लेखक संघको कार्यकारी सदस्यमा बस्न बालचन्द्र शर्माले सो संघको विधान र उद्देश्य राम्ररी नबुझी बस्न नमिल्ने (पत्र ३) र शिक्षा मंत्री डिल्लीरमण रेग्मी (पत्र ४) तथा प्रधानमन्त्रीले (पत्र ५) आफूहरू रहन स्वीकारेको कुरा लेखिएको पाइन्छ । 

पत्र ३ (लेटरहेड र हस्तलिखित) 
बालचन्द्र शर्मा
३२७।१०–४१।१–८
७ नं. गेष्ट हाउस

त्रिपुरेश्वर
काठमाण्डू (नेपाल)
दिनाड्ढरङ्क २४।८।०११

श्री सेक्रेटरी
नेपाली लेखक संघ
प्रिय बन्धु,

तपाईको २२।८।०११ को पत्रको निमित्त धन्यवाद । संघको कार्य समितिमा मलाई पनि सम्मिलित गर्ने निर्णयले म आफूलाई गौरवान्वित ठान्दछु । तर, संघको विधान, उद्धेश्य र कार्य समितिका सदस्यहरूको पूरा जानकारी नभएसम्म मैले कार्य समितिमा प्रवेश गर्नु बुद्धिसम्मत सम्झन सकीन । अत: उक्त आमन्त्रण प्रति आफ्नो कृतज्ञता प्रदर्शित गर्दै नियमानुसार स्वीकृति भन्दा पूर्व संघका सम्बन्धमा छोटकरी जानकारी पाउने आशा गर्दछु ।

भवदीय,
बालचन्द्र शर्मा

पत्र ४ (टाइप गरिएको) 

प्युखा 
२४।८।२०११

प्रिय देवेन्द्रराज जी, 

तपाइले माननीय शिक्षा मंत्री श्री डिल्लीरमण रेग्मीजीलाइ नेपाली लेखक संघको कार्य समितिमा सामेल गर्ने निर्णय गरेको हुनाले लिखित स्वीकृतिको अनुरोध गरी पठाउनु भएको २२।८।२०११को पत्र प्राप्त भयो । श्री मंत्रीजीले सधन्यवाद स्वीकृत गर्नु भएकोले सूचित गरेको छु ।

भवदीय
शुभ वीर पाण्डेय
प्राइवेट सेक्रेटरी
शिक्षा मंत्री


पत्र ५ (हस्तलिखित)
Prime Minister’s Secretarial
Ref. No.                                                                       Nepal    २६।८।२०११

श्री सेक्रेटरी
नेपाली लेखक संघ
काठमाडू
महाशय,

नेपाली लेखक संघको सदस्य हुनको लागी अनुरोध गर्नु भएकोमा श्री माननीय प्रधान मंत्रीज्यू बाट स्वीकृती दिनु भएकोले तपाईलाई सूचना गरेको छूँ ।

भवदीय
प्रमुख निजी सचीव,
प्रधानमंत्री, नेपाल

२२) मार्ग २७, २०११ : यस दिनको नेपाली लेखक संघको सभा भवानी भिक्षु कहाँ हुने भनिएको तर उहाँको कुनै काम परेको बुझिन्छ । सभा रूद्रराज पाण्डेको अध्यक्षतामा भएको छ । 

अगिल्लो वैठकको निर्णय अनुसार चिठ्ठीपत्र भएको बुझिन्छ किनभने संघको कार्य समितिमा बस्न मातृकाप्रसाद कोइराला र दिल्लीरमण रेग्मीले आ–आफ्ना स्वीकृति पत्र पठाएका थिए जुन यस वैठकमा पढेर सुनाइएको छ । बालचन्द्र शर्माले भने संघको विधान, उद्देश्य र कार्यसमितिका सदस्यहरूको पूरा जानकारी भएपछि मात्र स्वीकृति दिने वचन दिनुभएको हुँदा उहाँलाई सोको जानकारी दिने भन्ने निर्णय गरेको छ । 

अनि कवि गोष्ठी गर्नकालागि आलोचकमा राखिनु भएको ईश्वर बरालको सट्टा ह्दयचन्द्रलाई राखी चाँडै नै गोष्ठीको कार्य शुरु गरिहाल्ने सहमतीका साथै यसको तयारीका लागि आउँदो मंगलबार ३ बजेको सभा देवेन्द्रराजले भन्नुभएको स्थानमा गर्ने निर्णय भएको छ ।

२१ गते कात्र्तिकको कार्यसमितिको निर्णय अनुसार आगामी पौष १० गते शनिबारको दिन गोष्ठी सम्पन्न गर्ने र त्यसकै तयारीका लागि भोलीपल्ट नारायणबाँसकोटाले लेखनाथसँग सम्पर्क स्थापित गर्ने निधो भएको छ । कविहरूलाई चारवटा समूहमा यसरी बाँढेको छ –

१) श्री लेखनाथजीका साथ श्री माधव घिमिरे र श्री जनार्दनसम अर्को शनिवार, क्रमश:

२) श्री बालकृष्ण सम, श्री विजयबहादुर मल्ल र श्री ह्दयचन्द्र सिंह

३) श्री लक्ष्मीप्रसाद देवकोटा, श्री भवानी भिक्षु र श्री केदारमान व्यथित

४) श्री सिद्धचरण, श्री भीमनिधि तिवारी, र श्री श्यामदास वैष्णव

चन्दा संकलन गर्न जानेहरूको नामावली यस प्रकारको छ –

१) रुद्रराज पाण्डे २) केदारमान व्यथित ३) बालकृष्ण सम ४) नारायण बाँसकोटा ५) देवेन्द्रराज ६) सिद्धिचरण ७) माधवप्रसाद घिमिरे ८) विजयबहादुर मल्ल ९) ऋद्धि बहादुर मल्ल १०)  केशवराज पिंडाली 

यस कार्य सम्पन्न गर्नका लागि आलोचक समिति नै प्रबन्ध समिति हुने निर्णय भएको छ । सेक्रेटरीले यस सम्बन्धी प्रचारको पर्चा लेखी कोषाध्यक्षलाई छाप्न दिने भनिएको छ । अनि, अर्को आइतबारको सभा कोषाध्यक्षको निवास स्थानमा हुने सूचना गरिएको छ । योजना अनुसार माथि क्रमश: पर्नु भएका कविहरूले आफ्नो दर्शन र रचना सम्मेलनभन्दा तीन दिन अघि सेक्रेटरी कहाँ पठाउने भनिएको छ । चन्दा संग्रह समितिका सदस्यहरू आगामी सोमबार पुष ५ का दिन शिक्षा आयोगमा दिउँसो एक बजे भेला हुने निर्णय समेत गरिएको छ । 

२३) पुष ४, २०११ : यस दिनको नेपाली लेखक संघको कार्य समितिको सभा ऋद्धिबहादुर मल्लको निवासस्थानमा रुद्रराज पाण्डेको सभापतित्वमा भएको र सो सभामा निम्न सदस्यहरू उपस्थित रहेका देखिन्छन् :– माधव घिमिरे, गोविन्द बहादुर मल्ल, केदारमन व्यथित, देवेन्द्रराज, ऋद्धिबहादुर मल्ल, विजयबहादुर मल्ल, भवानी भिक्षु, केशवराज “पिंडाली”, सिद्धिचरण, नारायण बाँसकोटा, श्यामदश वैष्णव । 

यस सभामा सर्वप्रथम पुष १० गते देखि शुरु हुने गोष्ठीमा सुनाइने रचनाहरू नारायण बाँसकोटाले पाँच सय प्रति छपाएर संघलाई दिने बचन दिनु भएको कुरा उल्लिखित छ । साथै उहाँले ती नै रचनाहरू प्रगतिमा छपाउने अनुमति समेत माग्नु भएको र त्यसो गर्न स्वीकृति पनि दिइएको कुरा थाहा हुन्छ । त्यसपछि अगामी आइतबारको कार्य समितिको सभा नारायण बाँसकोटाको निवासमा हुने कुरा निधो भएको छ । र अन्त्यमा पाठ्य पुस्तकहरूको रचनाकालागि एक उप–समिति गठन गरिएको छ जसका सदस्यहरूमा : १) रुद्रराज पाण्डे २) माधवप्रसाद घिमिरे ३) श्यामदाश वैष्णव ४) गोविन्द बहादुर मल्ल (आयोजक) र ५) सिद्धिचरण श्रेष्ठ रहनुभएको छ । उप–समितिले दुइ हप्ताभित्र रिपोर्ट पेश गर्ने भनिएको छ ।

२४) पुष ९, २०११ : यस दिनको कार्य समितिको सभा नारायण बाँसकोटाको निवासमा रुद्रराज पाण्डेको अध्यक्षतामा भएको छ । उपस्थिति यस प्रकारको छ :– देवेन्द्रराज, केदारमान् व्यथित, ऋद्धिबहादुर, गोविन्द बहादुर मल्ल, केशवराज पिँडाली, सिद्धिचरण, श्यामदाश वैष्णव, नारायण बाँसकोटा, विजयबहादुर मल्ल, जनार्दन सम ।

यस सभाले भोलीपल्ट हुनुपर्ने गोष्ठीको लागि लेखनाथ पौड्याल र माधवप्रसाद घिमिरेको लेख प्राप्त नभएकोले १७ गते शनिवारको दिनसम्मको लागि स्थगित गर्ने निर्णय गरेको छ । 
...

करीव १३” x ८.५” को हार्डकभर भएको कापिमा लेखिएको मिन्युट यहीँ सकिन्छ । त्यसका पानामा राखिएको एक पर्चाको टुक्रामा लेखिएको छ, “नेपाल आफ्नू ऐतिहासिक तथा सांस्कृतिक कलात्मक साधनहरूको निम्ति संसार प्रसिद्ध छ । तर त्यसको राम्ररी संरक्षण नभई दिनपर दिन र्‍हास भइरहेको यस समयमा सर्कारी म्यूजियममा रहेका अमूल्य वस्तुहरू पनि हिजो राती चोरी भएकोमा नेपाली लेखक संघ अत्यन्त खेद प्रकट गर्छ र भएको यस राष्ट्रिय क्षतिको खोजीका निम्ति सर्कारले तदारुक्तता लेओस् भन्ने अनुरोध गर्छ ।”

४।९।११ को वैठकमा चौथो निर्णय लेखिसके पछि काटेर अगाडि र पछाडि देवेन्द्रराजले सही गर्नु भएको छ । सो काटेको निर्णय यस प्रकारको छ —

४) कवि सिद्धिचरणको प्रस्ताव :– म्युजियमम चोरी भएकोमा शोक । सर्कारसित यस सम्बन्धमा नेपाल आफ्नू ऐतिहासिक तथा सांस्कृतिक कलात्मक साधनहरू निम्ति संसार प्रसिद्ध छ । तर त्यसको राम्ररी संभव छ, सिद्धिचरणको प्रस्ताव माथिको पर्चाको टुक्रामा लेखिएको संदेश हो । नेपाली लेखक संघमा कार्यरत् सचेत साहित्यकार, कवि, समाजसेवी सबै यस प्रकारले राष्ट्रको माया गर्थे भन्ने प्रमाण पनि हो । 

यस पछि २०१२ सालमा काव्य प्रतिष्ठन स्थापना भयो र यसले ईन्द्रेणी जस्ता पत्रिकासमेत निकालेर देश विदेशमा नेपाली साहित्यको गौरव राखेको कुरा सर्वविदित छ । नेपाली लेखक संघले पनि २०१३ साल कात्र्तिकमा थप दुई पटक भेटेर यस संस्थालाई निरन्तरता दिने प्रयास गर्‍यो, तर कुनै कारणले सकेन । ती दुई पटकका वैठक बसेका कापि हाललाई मेरा कागजपत्रमा कतै छिपेका छन् । फेला परेपछि छोटो विवरण दिने छु । 

www.padmadevkota.blogspot.com  बाट साभार 

No comments:

Post a Comment