प्रधान सत्रुविरुद्ध मिल्न सक्ने शक्तिलाई गोलबद्ध गर्नु र प्रतिरोध आन्दोलनलाई व्यापक, सङ्गठित र समर्थवान् बनाउनु क्रान्तिको लक्ष हो र क्रान्तिकारीहरूको पहल सदैव यसतर्फ हुनु पर्छ र हुने गर्दछ । यस्ता साझा मोर्चाहरू पार्टीगत तथा जबसआधारित रूपमा भनौँ विभिन्न तह र तप्काको आवश्यकताअनुसार बनाउने गरिन्छ र नेपाली समाजको सन्दर्भमा पनि बनाउँदै आइएको छ । सर्वहारा क्रान्तिलाई टुङ्गोमा पुर्याउन बन्दुकधारी मोर्चाको प्रधान भूमिका भए पनि सांस्कृतिक पल्टनको महत्च पनि कम हुँदैन भन्ने कुरा सैद्धान्तिक रूपबाट मात्र नभई व्यवहारबाट समेत प्रमाणित भएको सत्य हो । प्रलेसलाई पनि यसै अर्थमा बुझ्न खोज्नु अन्यथा हुने छैन
प्रगतिशील लेखक सङ्गठनको इतिहास के-कस्तो रह्यो, कसरी यो अघि बढ्यो भन्नेतिर भन्दा पनि प्रगतिशील लेखकहरूले खेल्नुपर्ने भूमिकाको सार्थकतामा यसले वर्तमानमा खेल्नुपर्ने भूमिका कस्तो हुनुपर्छ भन्ने कुरा नै प्रधान हो । यो केवल औपचारिकताको विषय नभएर बोधको विषय हो । यसको नाम, चरित्र र उद्देश्यअनुरूप यसले आफूलाई आन्दोलनमा प्रवृत्त गराउनु पर्ने हो । तर, व्यवहारमा यस किसिमको भूमिका प्रलेसले खेल्न सकेको पाइँदैन ।
के कुरा सत्य हो भने पार्टीगत आधारमा हेर्ने हो भने प्रलेसमा एमाले पक्षधर व्यक्तिहरूदेखि क्रान्तिकारी माक्र्सवादलाई मान्ने अनेजसा सङ्घ जस्ता सांस्कृतिक संस्थासित सम्बद्ध साहित्यकारहरू पनि छन् । यी दुवै थरी प्रवृत्तिलाई एकै ठाउँमा ल्याउने आधारभूमि प्रलेसको विधान बनेको छ । विधानको आधारमा गोलबद्ध भएपछि कुन गुटको उद्देश्य भन्दा पनि क्रान्ति र मुक्तिको उद्देश्य प्रधान बन्नु स्वाभाविक हुन्छ ।
प्रलेसको सदस्य हुनु वा अहिलेको सन्दर्भमा आफूलाई प्रगतिशील लेखक ठान्नुको अर्थ कम्तीमा पनि सामन्तवाद र साम्राज्यवाद विरोधी हुनु हो । प्रलेसको सदस्य भएकाहरूबाट यस किसिमको माग हुनुलाई अलिकति पनि अन्यथा ठान्न मिल्दैन । यस्तो बेला जनतालाई थप अधिकार दिने तथा जनतालाई शक्तिशाली बनाउने क्रममा कुनै पनि राजनीतिक पार्टीबाट आरम्भ गरिएको अभियान तथा आन्दोलन अमुक पार्टी र त्यसका कार्यकर्ताको मात्र आन्दोलन नबनी तमाम शोषितपीडित तथा न्यायप्रेमी जनताको कार्यक्रम बन्दछ । यो कार्यक्रम प्रगतिशील लेखकहरू र प्रलेससमेतको कार्यक्रम बन्छ, बन्नुपर्दछ ।
यस किसिमको वर्गीय दृष्टिकोण नअँगाल्ने हो भने, वर्गीय दृष्टिकोणअनुसार स्थितिको विश्लेषण नगर्ने हो भने उसले आफूलाई प्रगतिशील लेखक भन्नुको कुनै तुक छैन । प्रलेसको विधानमा मार्क्सवादी सौँन्दर्यचिन्तन र नयाँ जनवादी आन्दोलनलाई मान्ने भनेर राख्नुको अर्थको पनि सार्थकता देखापर्दैन । विधानमा निर्देशित मूल्यलाई व्यवहारमा प्रयोग नगर्ने र फेरि त्यसैको दुहाइ दिएर आफूलाई प्रगतिशील लेखक ठान्ने र साझा मोर्चा प्रलेसको नेतृत्वमा रही प्रलेसको साझा मूल्यलाई पालना गरेको भन्ने जस्तो प्रवृत्ति केवल आडम्बरीपनमा मात्र सीमित हुन्छ । प्रलेसमा बसेर प्रलेसकै विधानविपरीत आचरण गर्नुलाई प्रलेसको दुर्नाम गर्ने कार्य हो भन्दा फरक पर्दैन । प्रलेसको झण्डा प्रलेसकै विरोधको माध्यम कदापि बन्नु हुन्न र बन्न सक्तैन ।
केही वर्षयतादेखि जनताले २०४६ सालमा आन्दोलनद्वारा प्राप्त अधिकारलाई थप सुदृढ गराउने थप अधिकार दिई शक्तिसम्पन्न गराउने, सबै कुराको फैसला जनताद्वारा गराउने सचेत प्रयासस्वरूप संविधानसभाको प्रसङ्ग नेपाली समाजमा उठेको छ । यथार्थतः यो नारा क्रान्तिकारीहरूले नभएर पुँजीवादीहरूले नै उठाउने नारा हो । नेपालको विशिष्ट अवस्था, वर्गद्वन्द्वमा केन्द्रित पक्षधरहरूबीचको राजनीतिक सन्तुलनको स्थितिलाई ध्यानमा राख्दै आफ्नो मागमा लचिलोभन्दा लचिलो भएर नेकपा (माओवादी) ले संविधान सभाको नारा प्रस्तुत गर्यो । यो सबैलाई समेट्ने र आम जनताका बीच आफूहरू गएर जनताद्वारा आफ्नो विचार उद्देश्य अनुमोदित गर्ने सबैभन्दा वस्तुवादी, प्रजातान्त्रिक र वैज्ञानिक पद्धति हो । तर यसलाई आफूलाई प्रगतिशील भन्ने लेखकहरू र सङ्घसंस्थाले विरोध गर्नुचाहिँ बडो अचम्मको पक्ष हो । प्रलेसजस्तो संस्था यस विषयमा प्रस्ट दृष्टिकोणका साथ आउन नसक्नु, संविधानसभाको नारालाई आफ्नो न्यूनतम नारा बनाएर आन्दोलनलाई ऊर्जा प्रदान गर्न नसक्नु चाहिँ विधानलाई पालना नगर्नु मात्र होइन, जनताको भावनालाई अनादर गर्नु, जनताप्रति अविश्वास गर्नु र सामान्य प्रगतिशील चरित्रको निर्वाह पनि नगर्नु हो । यसले प्रलेसमा जेजस्ता मान्छेहरू भए पनि प्रलेस मूलतः यथास्थितिमा कैद छ भन्ने निष्कर्ष सहजै निकाल्न सकिन्छ ।
वर्तमान समयमा राज्यआतङ्कले चरम रूप लिएको छ । यो समय सामन्तवाद-साम्राज्यवाद विरोधी प्रगतिशील, देशभक्त र क्रान्तिकारी संस्कृति कर्मीहरूलाई समेटेर एउटै उद्देश्यमा गोलबद्ध गर्दै जानुपर्ने स्थिति हो । ध्रुवीकरणको यो प्रक्रिया जारी पनि छ । एकातिर प्रलेसमा थुप्रै प्रगतिशील लेखकहरू नसमेटिएका, अर्कोतिर सदस्य बढाउने नाममा सामन्तका स्तुति गाउनेसमेत पुरस्कृत भएका प्रमाणहरू बाहिर आएका छन् । अहिलेको अवस्थामा मुलुकलाई अग्रगामी दिशा दिन र सामन्तवाद-साम्राज्यवाद विरोधी आन्दोलनलाई जनताका बीच लान संविधानसभा सबैभन्दा उत्तम उपाय हो । प्रलेसले यसलाई नबुझ्नु, यसप्रति गम्भीर नहुनु भनेको यथास्थितिवादको पोषण गर्नु नै हो । यस्तो बेला प्रगतिशील लेखकहरूले जनताप्रति उत्तरदायी भई प्रलेसमा रहेका यथास्थितिवादीहरू विरुद्ध वैचारिक सङ्घर्षको अभियान चलाउनु आवश्यक छ । यसै स्थितिमा प्रलेसलाई रहन दिनुको अर्थ जनविरोधी चिन्तनलाई टेवा पुर्याउनु हो ।
(नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पश्चिम कमान्ड, सांस्कृतिक मोर्चाको प्रकाशन सम्बोधन १: १ माघ-चैत २०६० बाट )
No comments:
Post a Comment