Monday, May 25, 2026

प्रगतिशील लेखक सङ्घको अवस्था र भावी कार्यदिशा - मातृका पोखरेल


पृष्ठभूमि

नेपालमा प्रगतिशील लेखक सङ्घको स्थापना हुनुको पृष्ठभूमिमा केही महत्त्वपूर्ण कारण विद्यमान थिए । मूल रूपमा नेपाली समाजमा आएको वैचारिक परिवर्तन नै यस संस्थाको स्थापनाको महत्त्वपूर्ण कारण थियो । विश्वव्यापी रूपमा विस्तार हुँदै गएको माक्र्सवादी दर्शनको प्रभावले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय रूपमै यस प्रकारका संस्था निर्माण भएको इतिहास हामी भेट्याउँछौँ ।

सन् १९२९ सोभियत सङ्घमा गठन भएको ‘सर्वहारा लेखकको एसियाली सङ्घ’ साम्राज्यवादका विरुद्धमा जुर्मुराएका संस्कृतिकर्मीको सङ्गठित पहल थियो । त्यसैगरी सन् १९३४ मा महान् साहित्यकार म्याक्सिम गोर्कीको अध्यक्षतामा गठित ‘रसियाली लेखकको साहित्यिक सङ्घ’ लाई प्रगतिवादी साहित्यकारहरू सङ्गठित हुने अभियानको रूपमा महत्त्वपूर्ण आरम्भ मानिन्छ । सन् १९३४ को म्याक्सिम गोर्की, रोमा ऐला आदिको उपस्थितिमा फ्रान्सको पेरिसमा भएको भेलाले प्रगतिशील लेखक सङ्घ नामको अन्तर्राष्ट्रिय सङ्गठन गठन गरेको थियो । त्यसैको प्रभावस्वरूप सन् १९३५ मा लन्डनमा अध्ययन गर्ने भारतीय विद्यार्थीको पहलमा भारतमा प्रगतिशील लेखक सङ्घ गठन भयो ।

अन्तर्राष्ट्रिय रूपमा खुलेका यी सङ्गठनको प्रेरणा कुनै न कुनै रूपमा नेपालमा २००९ सालमा गठन गरिएको प्रगतिशील लेखक सङ्घमा परेको देखिन्छ । यस सङ्घको स्थापनाको भ्रुण राणाशासनको उत्तराद्र्धदेखि नै विद्यमान थियो । त्यस बेलाको चर्चित पत्रिका ‘शारदा’ मा प्रकाशित सम्पादकीय एवम् समाचारले यो तथ्यलाई प्रष्ट बनाउँछन् । मूलत: यस संस्थाको आवश्यकता राणा शासनकालमैँ देखिएको थियो । प्रगतिशील लेखक सङ्घको स्थापना हुनुभन्दा अघि पनि प्रगतिशील प्रकाशन मण्डल, नेपाल जनवादी लेखक सङ्घ, जनसांस्कृतिक सभा र नेपाली साहित्य सदनजस्ता प्रगतिशील संस्थाहरू खुलेको चर्चा हामी इतिहासमा भेट्याउँछौँ तर ती संस्थाले निरन्तरता दिन सकेनन् ।

२००७ सालको क्रान्तिको पृष्ठभूमि र आलोकमा वर्गीय तथा पेसागत हकहित गर्ने उद्देश्यले मुलुकमा विभिन्न सङ्घसंस्था खुलिसकेका थिए । अखिल नेपाल किसान सङ्घ, मजदुर सङ्घ, महिला सङ्घ, नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसन, अखिल नेपाल न्यूनवैतनिक कर्मचारी सङ्घ (२००७ फागुन ९) जस्ता जनवर्गीय र पेसागत सङ्गठन बनिसकेका थिए । समग्रमा प्रगतिशील लेखक सङ्घको स्थापना हुनुका पछाडि यी सबै घटनाको प्रभाव पर्नु स्वाभाविक देखिन्छ ।

प्रगतिशील लेखक आन्दोलन विश्वव्यापी प्रगतिशील साहित्यिक धारासँगै जोडिएको छ, जसले साहित्यलाई केवल सौन्दर्यबोधको साधन मात्र नभई सामाजिक परिवर्तनको औजारको रूपमा व्याख्या गर्छ । नेपालमा पनि यस आन्दोलनले वर्गीय असमानता, शोषण र उत्पीडन विरुद्ध जनस्तरले बोध गर्ने गरी आवाज उठायो । श्रमिक, किसान, महिला, दलित, आदिवासी समुदायका जीवन अनुभवलाई साहित्यको केन्द्रमा ल्याउने प्रयत्न गरिरह्यो । साहित्यलाई जनताको पक्षमा उभ्याउने प्रयास गर्‍यो । समाज परिवर्तनको अभियानमा यो संस्थाको भूमिका इतिहासमा स्पष्ट रूपमा लिपिबद्ध भएको हामी पाउँछौं ।

प्रलेसको स्थापनाकालदेखि वर्तमानसम्मको उपलब्धिको यात्रा

प्रगतिशील लेखक सङ्घको स्थापनाकालमा नेपालको कम्युनिस्ट आन्दोलन अविभाजित अवस्थामा थियो । त्यसैले पनि सङ्घको परिकल्पना त्यसैअनुरूप गरियो । समयक्रमसँगै नेपालको वामपन्थी आन्दोलन टुटफुटबाट गुज्रिन थाल्यो । त्यसपछि प्रगतिशील लेखक सङ्घलाई संयुक्त मोर्चाको अवधारणाअनुसार चलाउनुपर्ने अवस्था आइपरह्यो । नेपालका वामपन्थी पार्टीले २०४६ सालको जनआन्दोलन, संसदीय वा स्थानीय निर्वाचनको बेलामामात्र अल्पकालीन सहकार्य गरे पनि दीर्घकालीन रूपमा संयुक्त मोर्चा बनाएर काम अघि बढाउन सकिरहेका छैनन् । प्रगतिशील लेखक सङ्घभित्र विविध वैचारिक चिन्तनको उपस्थिति छ । नेपालका वामपार्टीमा संयुक्त मोर्चाको लामो अभ्यास नभएका कारण प्रगतिशील लेखक सङ्घले कहिलेकाहीँ साझा मत बनाउन निकै सकस परेको हाम्रो अनुभव छँदैछ ।

अहिलेको हाम्रो परिवेश भनेको सामन्तवाद र विकृत पुँजीवादको नवीन समीकरणको परिवेश हो । सामन्तवादी र साम्राज्यवादी सांस्कृतिक चेतना परस्पर एकअर्काका उपकारी भएर समष्टि रूपमा अघि बढेका छन् । यो संस्कृति जीवन विरोधी र मानवता विरोधी संस्कृति हो । यो संस्कृति राष्ट्रवादी चेतनाका विरुद्ध छ र समग्रमा भन्नुपर्दा लोकतान्त्रिक चेतनाको विरुद्धमा छ । जुन संस्कृति समग्र राष्ट्र, जाति र जनताको हितमा छैन, त्यसका विरुद्धको आन्दोलन प्रगतिशील सांस्कृतिक चेतनाका पक्षधर सिर्जनकर्मीका लागि साझा चासोको विषय हो । प्रगतिशील लेखक सङ्घको वर्तमान अवस्थासँग त्यही चासो जोडिएको छ र जोडिनुपर्छ । यसको साझा चरित्रको सौन्दर्य पनि यही सामूहिक चासोको परिणाम हो ।

प्रगतिशील लेखक सङ्घ नेपालको सबैभन्दा पुरानो साहित्यिक संस्था हो । २००९ सालमा स्थापना भएको यस संस्थासँग यसै वर्षसम्म आइपुग्दा ७४ वर्ष दीर्घयात्रा गरेको गौरवपूर्ण इतिहास छ । यो संस्थाको स्थापनापश्चात् नेपालको प्रगतिवादी/प्रगतिशील साहित्यको विस्तार र विकासमा अभूतपूर्व योगदान प्राप्त भयो । यस संस्थासँग विगतमा अति सामान्य आलोचना पनि खप्न नसक्ने निरङ्कुश सत्ताको आततायी चरित्रका विरुद्धमा लडेको गौरवमय इतिहास छ । नेपालको प्रगतिवादी/प्रगतिशील साहित्यको विकास र कालखण्डको चर्चा गर्दा प्रगतिशील लेखक सङ्घ कतैनकतै जोडिएर आइपुग्छ ।

प्रलेसले राजनीतिक परिवर्तनका कालखण्डमा सक्रिय सांस्कृतिक हस्तक्षेप गरेको छ । यसले साहित्यलाई जनआन्दोलनसँग जोड्ने काम पनि गरेको छ । विगतमा भएका जनआन्दोलनमा प्रगतिशील लेखक सङ्घले वा प्रगतिशील लेखकले अग्रिम मोर्चामा रहेर भूमिका खेलेका थुप्रै उदाहरण हामी दिन सक्छौँ । त्यो भूमिका २०३६ सालको आन्दोलनताकाको सडक कविता क्रान्तिको होस् वा २०४६ सालको जनआन्दोलनको समयको चैत ३ गतेको कालोपट्टी अभियान होस् । २०६२–६३ सालको आन्दोलनताका बनेको प्रतिगमन विरोधी स्रष्टाका संयुक्त समिति, गणतन्त्र कविता आन्दोलन वा लोकतान्त्रिक स्रष्टाको संयुक्त मञ्चजस्ता आन्दोलनकारी संस्थाको निर्माण मा प्रगतिशील लेखक सङ्घ वा प्रगतिशील लेखकको अगुवाइ अग्रिम पङ्क्तिमा रहेको भेटिन्छ ।

प्रगतिशील लेखक सङ्घको सङ्गठन विस्तार अहिले करिबकरिब देशव्यापी भएको छ । प्रगतिशील लेखक सङ्गठित भएर धेरै प्रतिष्ठान, स्मृतिकेन्द्र, मञ्च खुलेका छन् । प्रगतिशील साहित्यिक आन्दोलनको निम्ति यो अत्यन्तै सकारात्मक अवस्था हो । यो शक्तिलाई नेपाली समाज रूपान्तरणको अभीष्ट उद्देश्यतर्फ जोड्दै प्रगतिवादी साहित्यको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नु अहिलेको समयको माग हो ।

भावी कार्यदिशा

प्रलेसको भावी कार्यदिशा मुख्यतया निम्न विषयमा केन्द्रित गर्नु आवश्यकता छ ।

१) वैचारिक सुदृढीकरण

प्रगतिवादी विचारधाराको रक्षा गर्दै पछिल्लो समय देखा परेका वैचारिक विचलन र विसङ्गति विरुद्ध बौद्धिक बहस तथा सिर्जनात्मक हस्तक्षेप गर्ने कार्य अहिलेको पहिलो प्राथमिकता हो । प्रगतिवादी दृष्टिकोण र ध्येयलाई ठिक ढङ्गले अँगाल्ने प्रयत्न गरिनुपर्दछ । पछिल्लो चरणमा वैचारिक कार्यले कम तर अन्य कामहरूले प्राथमिकता पाइरहेका छन् । यसका लागि यी विषयमा ध्यान पुर्‍याउनुपर्ने देखिन्छ ।

१.१ वैचारिक बहस र विमर्शको निरन्तरता

केही वर्षदेखि माक्र्सवादी कलासाहित्यको विषयमा प्रशिक्षणात्मक गोष्ठी कम भएर गएका छन्, भएकै छैनन् भने पनि हुन्छ । त्यस्ता प्रशिक्षणमूलक गोष्ठी सञ्चालन गरिनपर्दछ । पहिलेको तुलनामा अहिले प्रलेसका सदस्यको लेखनमा वर्गप्रतिबद्धताको अभिव्यक्ति कमजोर रहनुको एउटा मूल कारण माक्र्सवादी कलासाहित्यको विषयमा प्रशिक्षणात्मक कार्यक्रम नहुनु पनि एक हो ।

१.२ हजारौँ वर्षदेखि चल्दै आएको रूढिग्रस्त समाजलाई बदल्न निश्चितै रूपमा सहज छैन । सहज नभए पनि हामीले यो कदम उठाउनैपर्छ । अन्धविश्वास, कुरीति, भाग्यवाद, परलोकवादजस्ता सामन्ती दर्शनलाई प्रश्रय दिने व्यक्तिवाद, अराजकतावादजस्ता प्रवृत्तिको विरुद्धमा प्रगतिशील लेखक सङ्घका सदस्यले आफ्ना लेखनमार्फत चेतना प्रवाहित गर्नुपर्छ ।

१.३ माक्र्सवादका विरुद्ध उत्तरआधुनिकता, नववामपन्थजस्ता विचार योजनाबद्ध रूपमा अघि सारिएका छन् । ड्यानियल बेलको ‘वर्गसङ्घर्षको अन्त्य’, फुकियामाको ‘इतिहासको अन्त्य’, रोलाँ बार्थको ‘लेखकको मृत्यु’, डेरिडाको विनिर्माणवादजस्ता धारणाको प्रभाव साहित्यकारमा बढ्दै गएको छ । यी दृष्टिकोण किन गलत हुन् भनेर मानिसलाई सचेत बनाउने कार्यक्रम अघि सार्नुपर्दछ ।

१.४ प्रगतिशील साहित्य लेखनमा स्थापित अग्रजका रचना पढ्न उत्प्रेरित गर्ने त्यस प्रकारका रचना वा कृतिमाथि बेलाबेलामा समीक्षागोष्ठी गर्ने कार्यक्रम अघि बढाइनुपर्दछ, जसले गर्दा नयाँ पुस्ता प्रगतिवादका सैद्धान्तिक परम्पराबाट दीक्षित र प्रशिक्षित हुन सकुन् ।

२) साहित्यिक सिर्जना र समीक्षा

नेपालको साहित्यिक आन्दोलनको इतिहास केवल कलात्मक अभिव्यक्तिको यात्रा मात्र होइन, यो समाज परिवर्तनको चेतनासँग गाँसिएको वैचारिक सङ्घर्षको इतिहास पनि हो । यसै परम्परामा उभिएको प्रगतिशील लेखक सङ्घ, नेपालले वर्गीय चेतना, सामाजिक न्याय, समानता र जनपक्षीय मूल्यको प्रबद्र्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ तर बदलिँदो सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक सन्दर्भमा यसको अवस्था र कार्यदिशालाई पुन: विमर्शको विषय बनाउन आवश्यक छ ।

२.१ श्रमजीवी वर्ग, उत्पीडित समुदाय र राष्ट्रियताका पक्षमा कलम चलाउन स्रष्टालाई प्रोत्साहन गर्नुपर्छ ।

२.२ प्रगतिशील/प्रगतिवादी समालोचना अत्यन्तै कमजोर हुँदै गएको छ । समाजवादी यथार्थवादी पद्धतिलाई अँगालेर प्रगतिवादी समालोचनाको विकास करिबकरिब ठप्पै छ भन्दा पनि हुन्छ । प्रगतिशील लेखक सङ्घले समालोचनात्मक चेत भएका र प्रगतिशील साहित्यको बाटो हिँड्न चाहने प्रतिभाको विधागत समूह बनाएर योजनाबद्ध रूपमा काम अघि बढाउनुपर्दछ ।

२.३ सर्वप्रथम त प्रतिबद्ध लेखनको बारेमा प्रगतिशील लेखक सङ्घको नेतृत्वमा बस्नेहरू नै प्रष्ट हुनुपर्छ । प्रगतिशील लेखकको लेखन वर्गप्रतिबद्ध लेखन हो । प्रगतिशील लेखक सङ्घले सङ्घमा आबद्ध नभएका वर्गप्रतिबद्ध लेखकको पहिचान गरी रोस्टर तयार गर्दै उनीहरूलाई सङ्गठित बनाउने कोसिस गर्नुपर्छ ।

२.४ प्रगतिशील साहित्यकारले सिर्जना र अध्ययन दुबै क्षेत्रबाट हस्तक्षेप बढाउन जरुरी छ । प्रगतिशील लेखक सङ्घका सदस्यले के के लेखिरहेका छन् ? के के पढिरहेका छन् ? अनुगमन गर्न जरुरी छ । सिर्जनाविनाको सक्रियताको प्रलेसले लोभ गर्नुहुँदैन । प्रलेसका सदस्यको सौन्दर्य सिर्जनामा देखिनुपर्छ । सिर्जनालाई प्राथमिक र सङ्गठनात्मक सक्रियतालाई सहायक महत्त्व दिनुपर्दछ, नत्र प्रलेस लेखकविनाको सङ्गठनमा रूपान्तरित हुँदै जाने खतरा बन्छ । प्रगतिशील लेखक सङ्घले सिर्जनालाई पहिलो महत्त्व दिने कार्यक्रम अघि बढाउनुपर्दछ ।

३) प्रकाशनको क्षेत्रमा

३.१ प्रगतिशील पत्रिकाको प्रकाशनलाई जोड दिनुपर्छ । प्रगतिशील लेखक सङ्घमा आबद्ध सदस्यले चलाएका साहित्यिक पत्रिका कतिपय अवस्थामा प्रगतिशील मूल्यलाई आत्मसात गरेको पाइँदैन । सङ्घका सदस्यलाई प्रगतिशील मूल्यलाई आत्मसात गरेका सामग्री प्रकाशन गर्न उत्प्रेरित गर्नु र कर्तव्यबोध गराउन पहल लिनुपर्दछ । सरदर बजारमा निस्कने पत्रिका र प्रगतिशील पत्रिकाको फरक बुझाउन साहित्यिक पत्रिका प्रकाशन गरिरहेका प्रलेसका सदस्य सम्मिलित गराएर छलफल र अन्तरक्रियाको कार्यक्रम चलाउनुपर्छ ।

३.२ सेवापत्रिकादेखि लिएर उत्साह, वेदना, सङ्कल्प, झिसमिसे, लहर, कलम, इच्छुक आदिजस्ता वर्तमान चरणसम्म निस्किरहेका प्रगतिशील/प्रगतिवादी साहित्यिक पत्रिका खोजी गरेर एकीकृत रूपमा अनलाइनमार्फत अध्ययन गर्ने व्यवस्था मिलाउन सकिन्छ । त्योमार्फत् नयाँ पुस्ताले इतिहासको विरासतबाट प्रभाव ग्रहण गर्न सक्छन् ।

३.३ आजको युग डिजिटल प्रविधिले पूर्णतया प्रभावित गरेको युग हो । यसलाई हामीले समयको माग बुझेर उपयोग गर्न सकिरहेका छैनौँ । यसको अर्थ छापा प्रकाशनको महत्त्व छैन भन्ने अर्थमा बुझ्नु आवश्यक छैन तर प्रकाशनको मञ्च छापा दुनियाँबाट डिजिटल दुनियाँतिर फट्को मार्दै गरेको अवस्था हो । यो परिवर्तनलाई जति चाँडो हामीले आत्मसात गर्न सक्यौँ, त्यति नै नयाँ पुस्तासँग संवाद बढाउन सक्नेछौँ, नत्र समयले हामीलाई धेरै पहाडि छाड्नेछ ।

४) सङ्गठनको क्षेत्रमा

४.१ प्रलेसका शाखालाई ७७ ओटै जिल्ला र तल्लो तहसम्म विस्तार गरी सङ्गठनलाई अझ सुदृढ, समावेशी र गतिशील बनाउने अभियान सञ्चालन गर्न जरुरी छ । डिजिटल माध्यम (अनलाइन पोर्टल, सामाजिक सञ्जाल) को उपयोग गरेर प्रगतिशील विचार, साहित्य र सन्देशलाई युवा पुस्तामाझ व्यापक रूपमा पुर्‍याउने योजना बनाउनुपर्छ ।

४.२ प्रगतिशील लेखक सङ्घ संयुक्त मोर्चा खालको सङ्गठन हो । विभिन्न साहित्यिक/सांस्कृतिक सङ्गठनसँग सम्बन्धित सदस्य यो सङ्घमा सहभागी हुनुहुन्छ । संयुक्त मोर्चाको संस्कृतिलाई स्थापित गर्न सकियो भने यस प्रकारका संस्था प्रभावकारी ढङ्गबाट सञ्चालन हुनेछन् ।

५) सङ्घर्षको क्षेत्रमा

५.१ जनजीविका, जनतन्त्र र राष्ट्रियताको पक्षमा प्रगतिशील लेखक सङ्घले स्थापना कालदेखि सङ्घर्ष उठाउँदै आएको छ । प्रगतिशील लेखक सङ्घको इतिहासमा यो संस्थाले दिल्ली सम्झौता, कोशी सम्झौता, गण्डक सम्झौताजस्ता राष्ट्रघाती सम्झौताको विरुद्धमा आवाज बुलन्द बनाएको हामीले पढ्न पायौँ । त्यो अभियानलाई कमजोर पार्न दिनुहुन्न । पछिल्लोपटक गरिएका महाकाली सन्धि र एमसिसी सम्झौताजस्ता राष्ट्रघाती सम्झौताका विरुद्धमा अभियान चलाएर नयाँ पुस्तालाई प्रशिक्षण गराउनु जरुरी छ ।

५.२ एकता–आलोचना र फेरि एकताको सही तरिकाले कार्यान्वयन गर्नु अहिलेको समयको आवश्यकता हो । जुट्नुको अर्थ विचार परित्याग गर्नु होइन । विचारविनाको एकताले हामीलाई सही ठाउँमा पुर्‍याउँदैन । अर्कातिर, सामान्य कार्यशैलीगत मतभेदलाई पहाड बनाएर द्वन्द्व सिर्जना गर्दा प्रहार गरिनुपर्ने ठाउँ छुट्ने सम्भावना हुन्छ । त्यसैले सङ्घर्ष र आलोचनालाई ठिक ढङ्गले अघि बढाइयो भने मात्र संयुक्त मोर्चा प्रकृतिका संस्था प्रभावकारी रुपमा सञ्चालित हुन्छन् ।

६) स्रष्टा हकहित र ऐक्यबद्धता

६.१ लेखक तथा साहित्यकारको बौद्धिक सम्पत्तिको संरक्षण, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत र देशभरिका स्रष्टाका बिचमा आपसी ऐक्यबद्धता कायम गर्दै अघि बढ्नुपर्छ ।

६.२ श्रमजीवी जनतासँग हाम्रो सम्बन्धको दुरी झन् झन् बढ्दै गइरहेको छ । श्रमजीवी जनतासँग टाढा भएर एकान्त कोठामा बसेर लेखिएको प्रगतिशील साहित्यले जनताको मन जित्न सक्दैन । जनताको लागि साहित्य लेख्न चाहने लेखकले जनतालाई अध्ययनको विषय मात्र होइन, आफ्नो सहयात्री र प्रेरणाको स्रोत बनाउनुपर्छ । जनतासँगै हाँस्ने, रुने, श्रम गर्ने र सङ्घर्ष गर्ने लेखकले मात्र जीवनको साँचो स्पन्दन भेट्याउन सक्छ । त्यसैले जनताको साहित्य लेख्ने सबैभन्दा भरपर्दो बाटो भनेको जनतासँगै घुलमिल हुनु हो ।

६.३ प्रगतिशील लेखक सङ्घले मुलुकका अग्रज पुस्ताका प्रगतिशील स्रष्टाको सार्वजनिक सम्मान गर्ने प्रचलनलाई निरन्तरता दिनुपर्छ । विगतमा युद्धप्रसाद मिश्र, श्यामप्रसाद शर्मा, आनन्ददेव भट्टजस्ता विराट प्रगतिशील प्रतिभाको सामूहिक अभिनन्दन गरियो । यो अभियानमा धेरै प्रतिभालाई जोड्नुपर्छ । उहाँहरूको योगदान समेटिएको विशेषाङ्क प्रकाशन गर्नुपर्छ । यो अभियान अग्रजको सम्मान मात्र होइन, नयाँ पुस्तालाई इतिहासप्रति जानकारी गराउनु पनि हो ।

७) प्रलेसले विगतमा कमै मात्र प्राथमिकता दिएको तर प्राथमिकतामा पार्नै पर्ने केही मुद्दा

प्रगतिशील साहित्यको मूल उद्देश्य समाजको यथार्थलाई उद्घाटित गर्नु, शोषण–उत्पीडनका संरचनालाई चिनाउनु र न्यायपूर्ण तथा मानवीय समाज निर्माणको पक्षमा वैचारिक–सांस्कृतिक हस्तक्षेप गर्नु हो । समयसँगै समाजका समस्या र अन्तर्विरोध बदलिँदै गएका छन् । त्यसैले आजको प्रगतिशील साहित्यले परम्परागत वर्गीय शोषणका प्रश्नसँगै नयाँ सामाजिक, सांस्कृतिक, वैज्ञानिक र वैश्विक मुद्दालाई पनि केन्द्रमा ल्याउन आवश्यक छ । प्रगतिशील साहित्यको लक्ष्य समाजलाई उन्नत बनाउनु नै हो । समाजलाई उन्नत बनाउन प्रयत्न नगर्ने साहित्यप्रति प्रगतिशील साहित्यको खासै सरोकार रहँदैन । प्रगतिशील साहित्यले हर आफ्नो युगमा उभिएर नयाँ युगको माग गर्नुपर्छ ।

७.१ जलवायु सङ्कट र पर्यावरणीय न्यायको प्रश्नलाई हामीले कहिल्यै पनि प्राथमिकतामा पारेनौँ । साम्राज्यवादले नाफा कमाउने नाममा पर्यावरणलाई नष्ट गरिरहेको छ । अब यो विषयलाई पनि प्रगतिशील साहित्यको केन्द्रमा ल्याउनुपर्छ । जलवायु परिवर्तनका कारण हिमाल पग्लिनु, पानीको सङ्कट बढ्नु, जैविक विविधताको ह्रास हुनु, र विपन्न समुदायमाथि पर्ने असमान असरलाई प्रगतिशील साहित्यले गहिराइका साथ उठाउनुपर्छ ।

७.२ डिजिटल पुँजीवाद र कृत्रिम बुद्धिमत्ताले सिर्जनामा पार्ने असर, श्रम, शिक्षा र रोजगारीमा ल्याउने परिवर्तन, डिजिटल असमानता र मानिसको आत्मपहिचानमा पर्ने प्रभाव पनि अब हाम्रो साहित्यको विषय बन्नुपर्छ ।

७.३ प्रगतिशील बालसाहित्यको क्षेत्रमा हाम्रो ध्यान विगतमा आवश्यकताअनुसार पुग्न नसकेको सत्य हो । अहिलेका बालक नै भोलिका नागरिक हुन् । उनीहरूलाई वैज्ञानिक खुराक दिने साहित्य हाम्रो प्राथमिकतामा पर्नुपर्छ । बालसाहित्यलाई बढ्ता ध्यान केन्द्रित गर्न ज्ररुरी छ ।

निष्कर्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल एक ऐतिहासिक जिम्मेवारी बोकेको संस्था हो । यसले अतीतमा परिवर्तनको बिउ रोपेको थियो तर अबको चुनौती त्यो बिउलाई नयाँ माटो, नयाँ समय र नयाँ चेतनासँग मलजल गरेर हुर्काउनु हो । नेपाली समाजमा परिवर्तन आइरहेको छ । हाम्रा आँखाले देख्ने गरी आइरहेको छ । कैयौँ पुराना विश्वास र मान्यताका जग हल्लिरहेका छन् । प्रगतिशील लेखक सङ्घले समाजलाई नयाँ गति दिने र समयको पदचापलाई विश्लेषण गर्ने नयाँशक्तिको रूपमा आफूलाई परिवर्तित गर्न जरुरी छ । सही प्रगतिवादी दृष्टिकोणमाथि चौतर्फी रूपमा आक्रमण भइरहेकै छन् । प्रगतिशील आन्दोलन जति अघि बढ्दै जान्छ, प्रतिकृयावादीको योजनाबद्ध आक्रमण पनि पक्कै बढ्दै जान्छ । आम नागरिकको आवाज बोल्ने लेखनधारा कमजोर बन्दैछ कि भन्ने चिन्ता पुरानो पुस्तामा बढ्दो छ । मानिसमा विकसित हुँदै गरेको यो चिन्तालाई निराकरण गर्दै भरपर्दो बाटो पहिल्याउनु प्रलेसको अहिलेको प्रमुख कार्यभार हुनुपर्दछ ।

000

(२०८३ जेठ १० गते प्रगतिशील लेखक सङ्घद्वारा आयोजित ‘राष्ट्रिय साहित्यिक विचारगोष्ठी’ मा प्रस्तुत विचारपत्र)

www.yugdarshan.com बाट साभार 

Sunday, August 31, 2025

प्रगतिशील लेखक सङ्घको ऐतिहासिकता र वर्तमानमा केही अपेक्षाहरू - मातृका पोखरेल

 स्थापनाको ऐतिहासिक सन्दर्भ

हाम्रो इतिहासदेखि नै साहित्य र कलाको क्षेत्रमा जुन गतिका साथ विकास हुँदै आएको छ, त्यसको पछाडि मानव जातिको सामाजिक र ऐतिहासिक विकास पनि अभिन्न रूपले गाँसिएको छ । नेपालमा प्रगतिशील लेखक सङ्घको स्थापना पनि यही ऐतिहासिक प्रक्रियाको निरन्तरता हो । वि.सं. २००७ साल र त्यो भन्दा अगाडिका राजनीतिक घटनाक्रम, सामन्तवादविरुद्धको सङ्घर्ष र विश्वव्यापी जनवादी आन्दोलनहरूको प्रभावले नेपाली साहित्यलाई जनमुखी, यथार्थवादी र प्रगतिशील बनाउने आवश्यकता सिर्जना भयो ।
वि.सं. २००९ मा प्रगतिशील लेखक सङ्घको स्थापना स्वस्फूूर्त नभएर समयको आवश्यकता थियो । पश्चिम नेपालमा वि.सं. १८०४ मा जन्मिएका शशिधर पौडेलले जोसमनी सन्त परम्पराको अनुुयायी बनेर सञ्चालन गरेको अभियान, ज्ञानदिलदासको अभियान, योगमायाको अभियान, वि.सं. १९७७ सालको मकैपर्व, धरणीधर कोइरालाको ‘नैवेद्य’ प्रकाशन आदि अभियान र प्रकाशनले प्रगतिशील साहित्यिक आन्दोलनको महत्त्वपूूर्ण आधारभूूमि तयार भइरहेको थियो । यी सबै घटनाहरूको प्रभाव स्वरूप नेपालका बुुद्धिजीवी र साहित्यकारहरूलाई एउटा बलियो संगठनको आवश्यकता परिरहेको थियो । त्यही आवश्यकताको बीचबाट प्रगतिशील लेखक सङ्घको जन्म हुनपुुग्यो ।
प्रगतिशील साहित्यिक अभियान र सङ्गठित ढङ्गले अघि बढ्नुुका पछाडिको पृष्ठभूूमि खोज्दै जाँदा हामी धेरै टाढा अर्थात् प्राथमिक कालतिरै पनि पुुग्न सक्दछौं । प्राथमिक कालमा भानुुभक्त आचार्यहरूले रामकथाका माध्यमबाट जसरी नेपाली समाजमा आध्यात्मिक आदर्श र भाग्यवादको प्रचार गरिरहेका थिए, त्यसको विरुद्धमा निर्गुुण भक्तिधाराअन्तर्गतका सन्त साहित्यकारहरूले सामाजिक विकृति, धार्मिक विकृति, कर्मकाण्डीय विकृतिका विरुद्धमा आलोचनात्मक चेतना सहितको साहित्य सिर्जना गरे । त्यतिबेलैदेखि धार्मिक पाखण्डका विरुद्ध आलोचनाको स्वर प्रकट हुनथाल्यो । माध्यमिक काललाई हामी शृङ्गारकालका रूपमा लिने गर्छौं । राणाशासनको जाँतोमुुनि चेपिएको अवस्थामा शासकहरूको खुुसी पार्नु साहित्यको प्रधानता रहेको समयमा सामाजिक चिन्तनमुुखी प्रभाव खासै पाइँदैन । उन्नाइसौं शताब्दीको अन्तिमतिर सामन्ती सोच र संस्कारका विरुद्धमा आलोचनात्मक स्वर अघि बढेको पाइन्छ । सुधारवादी आर्य समाजी विचारको प्रचार, मकै काण्ड, पुस्तकालय काण्ड, "नपुंशक राणाहरू" लेखेबापत लक्ष्मीनन्दन चालिसेलाई जेल सजाय र मृत्यु हुनेबेलामा बाहिर निकालिनु, शारदा पत्रिकामा फाट्टफुट्ट प्रकाशित राणाशासन विरोधी आवाजहरू देखा पर्न थाल्दछन् । धरणीधर कोइरालाले ‘नयपाली ठिटो’ कविता मार्फत गणतन्त्रको चेतना प्रकट परे । गोपालप्रसाद रिमालले ‘आमाको सपना’ कविता मार्फत क्रान्तिचेतनाको अभिव्यक्ति दिए । उनका क्रान्तिधर्मी कविताबाट नेपाली प्रगतिवादी कविताको आरम्भ र विकासमा महत्वपूूर्ण पृष्ठभूूमि निर्माण भएको छ । वि.सं. २००३ /००४ तिर लक्ष्मीप्रसाद देवकोटाको ‘साँढे’ ‘प्रभुुजी ! मलाई भेडो बनाउ’, जस्ता कविताले तत्कालीन निरङ्कुुशता र उत्पीडनको विरुद्ध आलोचनात्मक स्वर प्रकट भयो ।
नेपालमा प्रगतिशील चेतनाको विकासमा अन्तर्राष्ट्रिय प्रभावको पनि ठुलो भूमिका छ । सन १९१७ को युगान्तकारी रूसी समाजवादी क्रान्तिले विश्वमा जसरी हलचल पैदा गऱ्यो, नेपाल पनि त्यसबाट अछुतो रहने कुरै थिएन । सञ्चार र सूचनाको अभावको बिचमा ढिलै भए पनि त्यसको प्रभाव आइनपुग्ने कुरै थिएन । त्यो घटनाले नेपालका सचेत व्यक्तिहरूलाई परिवर्तनको निम्ति केही गर्नै पर्छ भन्ने एउटा छट्पटी पैदा गरायो । भारतीय भूमिमा भएको अङ्ग्रेज बिरोधी आन्दोलन, त्यहाँका मार्क्सवादी गतिविधिहरू, माओत्सेतुङको नेतृत्वमा भएको चिनियाँ क्रान्ति आदिका कारण द्वन्दात्मक भौतिकवादी दर्शनको प्रभाव नेपाली बुद्धिजीविहरुमा व्यापक स्तरमा पर्न थालेको थियो । भारतमा अध्ययन गर्न गएका सचेत प्रगतिशील कृति र रचनाहरू नेपाल पठाउने , ठाउँठाउँमा अध्ययन मण्डल बनाउन प्रेरित गर्ने कार्य गर्न थाले । यसै सन्दर्भमा राणाकालमैं श्यामप्रसाद शर्माले नक्खु जेलमा चलाउनु भएको साहित्यिक अभियान उल्लेखनीय छ । युवाहरूमा आएको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभावले वि .सं . २००४ सालको बिराटनगरको मजदूर आन्दोलन पनि यहाँ उल्लेखनीय छ । त्यस्तै वि.सं. २००६ सालमा औपचारिक रूपमा श्रमजीवि जनताको राजनीतिक प्रतिनिधि संस्था नेपालमा कम्युुनिस्ट पार्टीको स्थापना भएपछि नेपालमा मार्क्सवादी चिन्तन र दर्शनको औपचारिक प्रवेश भयो । वि.सं. २००७ कै सेरोफेरोमा नेपालमा प्रगतिवादी साहित्यले गति लिन थाल्यो । वि.सं. २००८ मै कृष्णचन्द्रसिंह प्रधानले ‘भन्ज्याङ्निरै’ कवितासङ्ग्रह प्रकाशनमार्फत् पहिलोपटक प्रगतिशील साहित्यिक कृति नेपाली साहित्यले प्राप्त गऱ्यो ।
वि.सं. २००९ सालमा प्रगतिशील लेखक सङ्घको स्थापना पछि नेपाली साहित्यमा नयाँ दृष्टिकोण र नयाँ सोचको विकास तीव्र रूपमा भयो । यथास्थितिभन्दा केही अघि बढ्ने दृष्टिकोण भएका स्रष्टालाई यसले भरपर्दो छहारी प्रदान गऱ्यो । लेखकहरूले वैचारिक लक्ष्य र आदर्शलाई कला साहित्यमा स्थापित गर्न थाले । सामन्तवाद र साम्राज्यवाद विरोधी धारणाले बल पाउन थाल्यो । प्रगतिशील लेखक सङ्घको स्थापनापछि प्रगतिशील भावधारामा सिर्जना गरिरहेका स्रष्टाहरू क्रमशः प्रगतिवादी धारा अर्थात् मार्क्सवादी धारामा सिर्जना गर्न पुुग्दछन् । प्रगतिशील लेखक सङ्घकै अगुवाइमा नयाँ पुुस्ताले एउटा विद्रोही चेतना भेट्यो । गोकुुल जोशी, केवलपुुरे किसान आदिका कविताहरूले कविता ‘मालिक’हरूको सेवामा मात्र फन्को मारेर बस्ने कुुरा होइन, झुुप्राहरूमा बस्ने शोषित पीडितहरूको पक्षमा पनि बोल्न सक्दो रहेछ भन्ने सन्देश जनजनको बीचमा पुुग्यो । नेपाली युुवामा आएको राष्ट्रिय अन्तर्राष्ट्रिय जागरणको हुुटहुुटी र छटपटीको परिणाम स्वरूप यो संस्था स्थापित भएपछि प्रगतिशील साहित्यिक पत्रिकाहरू व्यवस्थित रूपमा निस्कन थाले । श्यामप्रसाद शर्मा, केवलपुुरे किसान, गोकुुल जोशी, युुद्धप्रसाद मिश्र, भूपि शेरचन, रमेश विकल, आनन्ददेव भट्टहरूले प्रगतिशील साहित्यको आरम्भिक कालमा संगठन र सिर्जनाका दुवै क्षेत्रबाट सक्रिय हस्तक्षेप गरे ।
वि.सं. २००७ को सेरोफेरोबाट सुुरु भएको नेपाली साहित्यको नवीन सोच र चिन्तनलाई सङ्घले सांगठनिक नेतृत्व प्रदान गरेर अघि बढेको पाइन्छ । स्थापनाको पहिलो दशकसम्म यो संस्थाको सक्रियता मनग्गे देखिए पनि वि.सं. २०२० पछि भने लामो समय निष्क्रिय अवस्था रह्यो । तर पनि प्रगतिशील स्रष्टाहरूले कला साहित्यमा विचार, दर्शन, यथार्थ र कल्पनाको समन्वय गरेर सिर्जना गर्न छाडेनन् । निरङ्कुुश पञ्चायती व्यवस्थाको विरुद्धमा प्रगतिशील स्रष्टाहरूले अग्रिम मोर्चामा रहेर अभिव्यक्तिको माध्यमबाट मात्र नभएर भौतिक रूपमै सडकमा उत्रिए । तीसको दशकमा बुुटवलमा गठित रेलिमाइ सांस्कृतिक मण्डल र त्यसपछि राष्ट्रिय गतिविधिमै सर्वाधिक चर्चित ‘संकल्प’ परिवार र ‘वेदना’ परिवारको सक्रियताले नेपाली समाज रूपान्तरणकै इतिहासमा सर्वाधिक महत्व राख्दछ ।
वि.सं. २०४६ चैत्र ३ को प्रदर्शन होस् या २०५८ /०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रको निरङ्कुुशताका विरुद्धमा सञ्चालित आन्दोलनका सन्दर्भमा बनेका प्रतिगमन विरोधी स्रष्टाहरूको संयुुक्त समिति वा लोकतान्त्रिक स्रष्टाहरूको संयुुक्त मञ्चको स्थापना र गतिविधिमा प्रगतिशील लेखक सङ्घको नेतृत्वदायी भूूमिका रह्यो ।
प्रगतिशील लेखक सङ्घको स्थापनापछि नेपाली साहित्यमा स्थापित नयाँ सौन्दर्य चेतना अहिलेसम्म आइपुुग्दा नेपाली साहित्यको गौरवमय राजमार्गमा यात्रारत छ । यतिबेला प्रगतिशील लेखक सङ्घसँग यात्रारत स्रष्टाहरुले केही महत्त्वपूूर्ण प्रश्नहरूको उत्तर खोजिरहेका छन् । हामी यी प्रश्नका उत्तरहरू कसरी गम्भीरतापूूर्वक दिने कोसिस गर्छौं, प्रगतिशील आन्दोलनको भविष्य त्यसैमा निर्भर छ ।

केही ज्वलन्त प्रश्नहरू र केही अपेक्षाहरू

वर्तमानसम्म आइपुुग्दा प्रगतिशील लेखक सङ्घमाथि केही प्रश्नहरू गम्भिरताका साथ नउठेका होइनन् । सङ्घमाथि मात्र होइन, प्रगतिशील लेखकमाथि पनि उठेका छन् । प्रगतिशील साहित्य र संस्कृतिको हितका निम्ति उठेका प्रश्नहरूप्रति सकारात्मक धारणासहित हामी अगाडि बढ्नुु जरुरी छ ।
प्रगतिशील लेखक सङ्घ सम्पूर्ण प्रगतिशील साहित्यकारहरूको साझा मोर्चा हो । नेपाली जनताको हित चाहने लेखक सबैलाई यस संस्थामा गोलबन्द हुने वातावरण मिलाउन जरुरी छ । हामीले भोक, गरिबी, उत्पीडन, अज्ञानता र अन्धविश्वासबाट मुुक्त जीवनको निर्माणका निम्ति नेपाली श्रमजीवी जनता सँगसँगै समाजको स्वरूप देख्नुुपर्छ । हाम्रा सिर्जना त्यही स्वप्नका कथा हुनुुपर्दछ ।
'हाम्रो संगठनका यति हजार सदस्य भए ! पाँच दर्जनभन्दा बढता जिल्लामा जिल्ला समितिहरू भए !' प्रगतिशील लेखक सङ्घमा काम गर्ने केही साथीहरूले तर्क गरेको सुनिन्छ । यस्तायस्ता कुरा अचेल अलिक धेरै सुनिन्छन् । मानिसहरूका बीचमा पुग्न यो पनि चाहिन्छ तर प्रगतिशील लेखक सङ्घका लागि यो प्राथमिक कुरा होइन । सहायक कुरामात्र हो । हामी मध्ये केही साथीहरूलाई लागेको हुनसक्छ, हिड्नुमात्र र संगठन चलाउनुमात्र ठुलो कुरा हो । तर यो होइन । हिड्नु र संगठन चलाउनुमात्र महत्वपूर्ण कुरा होइन । मूल कुरा वैचारिक र सिर्जनात्मक ढङ्गले हस्तक्षेप गर्नसक्नु हो । अब प्रगतिशील लेखक सङ्घका साथीहरूले भन्न सक्नुपर्छ । नेपाली साहित्यका विविध विधामा प्रगतिशील कृतिहरू यति प्रकाशित भए भनेर । प्रगतिशील लेखक सङ्घ सिर्जनात्मक वैचारिक संस्था हो । यो अरू संगठनजस्तो होइन । साहित्यका नाममा खुलेका थुप्रै संगठनहरू छन् । तर प्रगतिशील लेखक सङ्घ ती सबैभन्दा विशिष्ट प्रकृतिको संगठन हो । यसले गर्दा सहायक काम प्राथमिक जस्तो प्राथमिक काम सहायक जस्तो बन्न जाने स्थिति देखिन्छ । यसतर्फ प्रगतिशील लेखक सङ्घसँग सम्बद्ध साथीहरू सचेत रहन जरूरी छ ।
यताका केही वर्षदेखि प्रगतिशील लेखनमा वैचारिकताको अभाव रहेको धारणा धेरैतिरबाट आउन थालेको छ । पुरानो पिँढीमा देखापरेको वैचारिक निख्खरता नयाँ पिँढीमा नरहेको चर्चा चलिरहेकै छ । प्रगतिशील आन्दोलनमा हिँड्नेहरूका निम्ति यो समीक्षाको विषय हो । प्रतिबद्ध लेखन प्रगतिवादी लेखनको आधार हो । प्रतिबद्ध लेखनका बारेमा प्रगतिशील संगठनहरूमा हिँड्नेहरूमै द्विविधा देखिएको छ । प्रगतिशील सङ्घ /संगठनमा हिँड्नेहरू नै सबै साहित्य प्रगतिशील हुुन्छ भनेर गैरवैचारिक कुरा गर्नेहरूको संख्या बढ्दो छ । यो दृष्टिकोणको भयङ्कर समस्या हो । यो प्रगतिशील आन्दोलनको विरोधी कुरा हो । हाम्रो प्रगतिशील आन्दोलन दृष्टिकोणको समस्याबाट ग्रस्त छ भन्ने यो ठूूलो प्रमाण हो ।
नेपाली समाजमा व्यापक परिवर्तन आइरहेकै छ । पुराना विश्वास र मान्यताका आधारमा जगहरू हल्लिरहेका छन् । प्रगतिशील साहित्यमा सच्चाउनै पर्ने अर्को समस्या गुुटगत समस्या हो । यो समस्याले प्रगतिशील साहित्य अघि बढ्न केही अप्ठ्यारो परिरहेको छ । गुुटगत स्वार्थका कारण राम्रो साहित्य पछि पर्ने र कमजोर साहित्यको बढी चर्चा हुुने सम्भावना बढ्छ । यही कारण सम्पूर्ण प्रगतिशील साहित्यकारहरूबीच भाइचारा सम्बन्ध स्थापित हुन सकिरहेको छैन । कतिपय सन्दर्भमा प्रतिपक्षी लेखक /साहित्यकारहरू भन्दा प्रगतिशील लेखन क्षेत्रका स्रष्टाहरू प्रति अनावश्यक आलोचनात्मक हुने प्रवृत्ति पनि देखिएको छ । यो चिन्तन आफैंमा अप्रगतिशील हो । यस्ता केही महत्वपूूर्ण समस्याहरू प्रगतिशील आन्दोलनमा भएका कारण यो आन्दोलन प्रहार गर्नुुपर्ने ठाउँमा प्रहार नगरी आफै त्यसै भौँतारिएको महसुुस हुुन्छ ।
प्रगतिशील रचना कसले लेख्छन् ? के बामपन्थी पार्टीका सदस्यले मात्र प्रगतिशील रचना गर्छन ? यो प्रश्नलाई पनि गम्भीरतापूर्वक लिंदै राम्रो हुन्छ । नेपालका वामपन्थी राजनैतिक पार्टीहरूमा समावेश नभई स्वतन्त्र रहेर सिर्जनकर्ममा लागेका धेरै स्रष्टाहरू छन् । हाम्रो आन्दोलनभित्रका समालोचकहरूबाट गहिरिएर यसलाई अध्ययन र मूल्याङ्कन गर्ने काम भएको छैन । अहिले त कहीँकहीँ कस्तो विडम्बना देख्न थालिएको छ भने कम्युनिष्ट पार्टीमा सङ्गठित रहेका साहित्यकारहरूभन्दा कम्युनिष्ट पार्टीमा सङ्गठित नरहेका केही साहित्यकारहरूले समाजको यथार्थलाई अभिव्यक्त गरिरहेकाछन् । कम्युनिष्ट पार्टीमा सङ्गठित रहेका केही लेखकहरूको लेखन नेपाली समाजको यथार्थ भन्दा टाढा कतै बरालिएको जस्तो, नेताहरूको प्रशंसामा अनावश्यक समय दिएकोजस्तो पनि देखिने गरेको छ । सिर्जनामाथि केन्द्रित रहेर त्यसको रूप र सारतत्वमाथि छलफल हुने क्रम पुरै घटेर गएको छ । कतिपय अवस्थामा पार्टीमा संगठित रहेका लेखकहरूकै लेखन भने जनजीवनको वास्तविक पीडाभन्दा टाढा रहँदै नेताको प्रशंसा र राजनीतिक नारा–सिर्जनामा सीमित भएको देखिन्छ । यसरी साहित्य सत्ता–समर्थनको माध्यममा मात्र परिणत हुन्छ, तब प्रगतिशीलताको वास्तविक उद्देश्य पक्कै कमजोर हुन्छ ।
अझ अर्को विडम्बना अहिले त के देख्न थालिएको छ भने प्रगतिशील लेखक सङ्घमा आबद्ध रहेका लेखकहरू वा समालोचकहरू प्रतिध्रुवका लेखक साहित्यकारहरूलाई खुसी पार्न उनीहरूको व्यक्तित्वको अतिरंजित चर्चा गर्ने, समीक्षा गरिदिने क्रम बढेको देखिन्छ । प्रगतिशील लेखक सङ्घसँग आबद्ध लेखकहरूको उल्टो हिँड्ने कार्यले प्रगतिशील आन्दोलनलाई घाटा पुऱ्याउँछ ।
नेपाली समाजमा कुनै तत्विक परिवर्तन आएको छैन भन्ने धारणा पनि प्रगतिशील शिविरबाटै उठ्ने गरेको छ । उग्र बामपन्थ दृष्टिकोणबाट ग्रस्त यो चिन्तनले नेपाली समाजको विश्लेषण गर्न कदापि सकिँदैन । यो चिन्तन बोकेर अहिलेको अवस्थामा हामीले लड्नुपर्ने नयाँ शक्तिलाई प्रहार गर्न सक्दैनौं । नेपाली जनताको ठुलो त्याग र बलिदानबाट प्राप्त अधिकारलाई कम आँक्ने यो चिन्तनले जनपक्षधरतालाई प्रतिनिधित्व गर्न सक्दैन । प्राप्त अधिकारलाई जोगाउँदै अघि बढ्नु नै अहिले हाम्रो साहित्यको स्वर बन्न सक्नुपर्छ ।
अहिलेको युवापुस्ताले कस्तो विचारधारा ग्रहण गरिरहेकाछन् ? कतै उनीहरू निराशावादी विचारबाट ग्रस्त त छैनन ? हाम्रा लागि यो चिन्ताको विषय बन्नुपर्छ । यो अबको प्रगतिशील लेखक सङ्घजस्ता संस्थाहरुको सरोकारको विषय बन्नुपर्छ । अहिलेको नयाँ पुस्ताको कलममा नयाँ समाजको सपना छ कि छैन भनेर अनुगमन गर्ने र वातावरण निर्माण गर्ने कार्यमा प्रगतिशील लेखक सङ्घको ध्यान पुग्नुपर्छ । सामन्ती संस्कृति हाम्रो नसानसामा जरो गाडेर बसेको छ । साम्राज्यवादी संस्कृतिले नयाँ रूप कलेवरमा हाम्रा सांस्कृतिक मूूल्यहरूमाथि आक्रमण गरिरहेको छ । देशमा व्याप्त अँध्यारो संस्कृति फालेर उज्यालो संस्कृति स्थापना गर्न कटिबद्ध हुनेहरूले प्रगतिशील लेखक सङ्घलाई नयाँ उत्साहका साथ अघि बढाउनु सिवाय अर्को विकल्प छँदै छैन ।
के प्रगतिशील अभियानमा जोडिएका हामी लेखकहरू वर्गीय चेतनाको विकास गर्न र संघर्षप्रति प्रतिबद्ध छौं ? यो प्रश्न यसबेला हामीमाथि उठ्ने सर्वाधिक ज्वलन्त प्रश्न हो । वर्गीय समाजमा वर्गसङ्घर्ष नै सम्पूर्ण सामाजिक प्रगतिको मुख्य प्रेरक शक्ति रहन्छ । यस्तो समाजमा साहित्य पनि स्वभाविक रूपले वर्गीय नै हुन्छ । वर्गीय समाजमा साहित्य पनि निरन्तर चलिरहने बौद्धिक सांस्कृतिक हतियार हो । प्रगतिशील साहित्यले आम श्रमजीविको हितमा, समाजवादको पक्षमा, राष्ट्रियता र अन्तराष्ट्रिय भाइचाराको पक्षमा, सबैप्रकारका स्वदेशी तथा विदेशी, सामाजिक तथा जातीय भेदभावको विरूद्ध सङ्घर्ष गर्न प्रेरित गर्छ ।
वि.सं. २००७ सालको आन्दोलनपछि प्राप्त अधिकार सामन्ती राजतन्त्रको नेतृत्वमा २०१७ सालमा खोसिए जस्तै अहिले पनि ०६२ /६३ को आन्दोलनबाट प्राप्त अधिकार फेरि खोस्ने अभियानहरू सञ्चालन भइरहेकै छन् । प्राप्त अधिकारलाई स्थापित गर्दै जनताका अन्य अधिकारका लागि सङ्घर्षको तयारी गर्न आह्वान गर्ने साहित्य सिर्जना अहिलेको माग हो । यतिबेला प्रगतिशील लेखकहरूले महत्व दिनुपर्ने विषय हो ।
मूलत : श्रमजीवी जनतासँगको दूरी दिनहुँ बढ्दै गएको देखिन्छ । बढ्दै गएको दूरीलाई क्रमश : घटाउँदै कला साहित्यका माध्यमबाट नयाँ र सुुन्दर नेपाल बनाउने अभियानमा हाम्रो अर्थात् प्रगतिशील लेखकहरूको सिर्जनात्मक दृढता समयको माग हो । प्रगतिशील लेखक सङ्घसँग यस संस्थाका शुभचिन्तकहरूको अपेक्षा हो ।
000

Saturday, April 5, 2025

सम्मेलनको पूर्वसन्ध्यामा मिनि सम्मेलन, प्रलेसमा यस्तो भागबण्डा ! ! - जगत वाशिष्ठ




काठमाडौं । प्रगतिशील लेखक संघ नेपाल वामलेखककाे साझा सङ्गठन हाे । प्रलेसमा आवद्ध हुने वाम पार्टीमा नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमाेर्चा (नेकपा मसाल), नेकपा (माले), नेकपा गरी ६ पार्टीका साहित्य, कला एवम् सांस्कृतिक फाँटका लेखक-साहित्यकारले पदाधिकारी, सचिवालय, केन्द्रीय सदस्य र राष्टिय परिषदमा भागबण्डा टुङ्ग्याएका छन् ।

शुक्रबार नेकपा (एमाले) निकट सांस्कृतिक फाँटकाे जनसंगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालकाे केन्द्रीय कार्यालय बागबजारमा बसेको संयन्त्रकाे बैठकले पदाधिकारीदेखि राष्ट्रिय परिषदसम्मकाे भागबण्डा गरेकाे हो ।
प्रलेसमा पार्टीको आकार अनुसार पदाधिकारीमा नेतृत्वमा आलाेपालाे हुने प्रावधान रहेकाे छ । यसअघि नेतृत्वमा नेकपा माओवादी केन्द्रबाट डा. मधुसूदन गिरी अध्यक्ष र महासचिवमा नेकपा (एमाले)बाट डा. देवि दुलाल क्षेत्री महासचिव थिए ।
तेह्राैं राष्ट्रिय सम्मेलनकाे पूर्वसन्ध्यामा भएकाे पार्टीको भागबण्डामा नेकपा (एमाले)ले अध्यक्षसहित पदाधिकारीमा तीन, सचिवालय सदस्य एक, केन्द्रीय सदस्य ९ र राष्ट्रिय परिषदमा १५ गरी २८ पद पाउने भएको छ । अध्यक्षमा सम्मेलनले औपचारिक घाेषणा गरेपनि हालका महासचिव डा. देवी दुलाल क्षेत्री अध्यक्षमा चुनिने निश्चित जस्तै भएको छ ।
नेकपा माओेवादी केन्द्रबाट महासचिवसहित दुई पदाधिकारी, सचिवालय सदस्य दुई, केन्द्रीय सदस्य सात र राष्ट्रिय परिषद सदस्य १३ गरी २४ पद बाँडफाड गरिएको छ ।
राष्ट्रिय जनमाेर्चा एवम् नेकपा मसालले पदाधिकारीमा एक पद उपाध्यक्ष पाउने भएको छ । विश्वस्त श्राेतका अनुसार बर्तमान उपाध्यक्ष समीर सिंह दाेहाेरिएर उपाध्यक्ष हुने भएका छन् । सिंह एक जना यस अघिको सम्मेलनमा पनि दोहोरिएका एक मात्र पदाधिकारी हुन् ।

सचिवालयमा एक जना, केन्द्रीय सदस्य दुई जना र राष्ट्रिय परिषद सदस्य ५ जना गरी ९ पद नेकपा मसालको लागि सुरक्षित गरिएकाे छ ।

एकीकृत समाजवादी पार्टीलाई पदाधिकारीमा उपमहासचिव एक जना, सचिवालय सदस्य एकजना, केन्द्रीय सदस्य ३ जना र राष्ट्रिय परिषद ६ जना गरी ११ पद दिने सहमति भएको छ ।

नेकपा (माले)ले सचिवालय एकजना, राष्ट्रिय परिषद २ जना गरी ३ पद सुरक्षित गरेकाे छ ।

नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले पदाधिकारी एक जना, सचिवालय एक जना, केन्द्रीय सदस्य दुई जना र राष्ट्रिय परिषद पाँच जना गरी ९ पद पाउने निश्चित गरिएको छ ।

यसरी पदाधिकारी सहित केन्द्रीय समिति ४५ सदस्यीय रहने छ । प्रदेश अध्यक्ष पदेन केन्द्रीय सदस्य हुने व्यवस्था छ भने ३८ केन्द्रीय सदस्य अधिवेशनबाट चुनिने व्यवस्था रहेकाे छ ।

राष्ट्रिय परिषद नामकाे कमिटी ४६ जनाकाे रहने विधानमा व्यवस्था छ । सगाेलमा दुबै कमिटीलाई राष्ट्रिय परिषद नाम दिएर राष्ट्रिय परिषद ९१ जनाकाे हुने बनाईएकाे छ ।

संयन्त्रकाे बैठकमा नेकपा (एमाले)का तर्फबाट प्राडा जीवेन्द्रदेव गिरी, प्रा डा जगत उपाध्याय 'प्रेक्षित' एवम् राष्ट्रिय जनसांस्कतिक महासङ्का अध्यक्ष प्रेमनाथ अधिकारी र उपाध्यक्ष आरसी न्याैपाने थिए ।

नेकपा माओेवादी केन्द्रबाट ईश्वरचन्द्र ज्ञवाली, प्रलेस पूर्व अध्यक्ष एवम् जनसांस्कृतिक महासंघ पूर्व अध्यक्ष मातृका पाेखरेल, डा पुष्करराज भट्ट, डा. केशव सिलवाल रहेका थिए ।

यसरी नै नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरी रहेका थिए भने एकीकृत समाजवादीबाट प्रलेसका पूर्व अध्यक्ष डा. अमर गिरी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ समाजवादीका अध्यक्ष कृपाराम शर्मा धमला एवम् प्रलेसका उपमहासचिव बालमुकुन्द कार्की लगायत रहेका थिए ।

नेकपा मालेबाट डा शालिकराम तिमिल्सेना नेकपाबाट कुशल वोगटी, आरोह नेपालीलगायत भएको बताईएको छ ।

000

https://101khabar.com  बाट साभार