Monday, April 25, 2016

प्रगतिशील लेखक संघः कर्तव्य र चुनौतीहरू – रामप्रकाश पुरी


नेपालको कम्युनिस्ट आन्दोलनको खेमामा रहेको विभिन्न घटकहरूसित सम्बन्धित लेखक तथा कलाकारहरूको साझा संस्था प्रगतिशील लेखक सङ्घ, नेपालको विभिन्न मतमतान्तर र छलफलका बावजुद पनि सर्वसम्मत नेतृत्व चयन गर्दै २०६९ चैत्र ३० र ३१ गते सम्पन्न भएको छ । साङ्गठनिक प्रतिवेदनमा उल्लेख भएको सङ्घीयताप्रतिको झुकाव, प्रवृतिका विरुद्ध सङ्घीयताविरोधी लेखकहरूले तीव्र असहमति व्यक्त गरेपछि प्रतिवेदनबाट उक्त झुकाव, प्रवृतिलाई हटाई साझा मान्यता कायम गर्ने हाउसको निर्णय भएपछि एकता अझै कायम भएको छ ।
प्रगतिशील शब्दको मापदण्ड प्रगतिवाद (माक्र्सवादी दृष्टिकोण) नभएकाले असङ्गत मान्यताप्रति विरोध गर्ने लेखकहरू समेत प्रगतिशील कित्तामा आउन सक्ने भएकाले प्रगतिवादको उचाईमा पु¥याउनका लागि निकै समस्याहरू छन् । प्रगतिशील सबैले प्रगतिवादलाई स्वीकार नगर्ने प्रगतिशील सबै प्रगतिवादी नहुने भएकाले सङ्गठनको व्यापकतामा सहजता भए पनि वैचारिक निक्खरता ल्याउन भने निकै नै चुनौतीहरू रहेको देखिन्छ । आफ्नो ६० वर्षको इतिहासमा यसले खेलेका भूमिका, साहित्य विचारमा गरेका प्रगति, अधिकार र स्वतन्त्रताका लागि गरिएका हस्ताक्षरहरू निकै नै ऐतिहासिक महत्वका छन् । तथापि यसमा सहभागी भएका हस्ताक्षरहरूले ऐन मौकामा देखाएको वैचारिक विचलन, सम्झौतापरस्त नीति, सुविधाहरूको उपभोग, पुरस्कारप्रतिको तृष्ण, पद र प्रतिष्ठाको भोक आदि प्रवृतिहरूले प्रगतिवादी साहित्यको विकास र प्रगतिवादका लागि गरिने सङ्घर्षमा निकै नै फितलोपन आएको देखिन्छ । प्रगतिशील क्याम्पमा बसेर विरोधी क्याम्पबाट दिइने रकम राशीको कलाप्रति भोक र तृष्णा राख्ने प्रवृतिले प्रगतिवादी आन्दोलनलाई अगाडि बढाउन सक्दैन । सशक्त प्रगतिवादी विचार, मान्यताको स्वीकारभन्दा पनि संस्थामा सहभागी भएका विभिन्न घटकहरूलाई समेट्ने प्राविधिक चिन्तनले यो थलो बाँडफाँडको शिकार भएको तथ्य सबैका सामु छर्लङ्ग छ । पुँजीवादी मान्यताहरूविरुद्धको साम्यवादी अभियानमा सङ्गठनले संस्थागत रूपमा उल्लेखनीय प्राप्ति गर्न सकेको छैन । यसका विभिन्न कारणहरूमध्ये एउटा प्रमुख कारण सङ्गठनको प्रगतिवादी विचार र योजना नहुनु नै हो ।
सङ्गठनको हालको कार्यशैली र तौरतरिकाले लामो समयसम्म निष्कृय एकता कायम भए पनि सशक्त वैचारिक सारथी बन्न सक्दैन । बुद्धिजीवी र लेखक भएको दम्भबाट मुक्त भएर सांस्कृतिक योद्धाको रूपमा आफूलाई बदल्न कोशिस नगर्ने हो र त्यो दिशामा रूपान्तरण हुनाका लागि संस्थागत प्रयास नगरिने हो भने हामीले अपेक्षा गरेको लक्ष्य हासिल हुने छैन । अस्तव्यस्त कार्यप्रणाली, उदासिन सम्बद्धता र निष्कृय पदभारबाट सङ्गठनको जीवनमा सजीवता आउन सक्दैन । पदभार ग्रहण गरिसकेपछि जिम्मेवारीमुक्त हुने प्रचलनलाई जबसम्म रोक्न सकिँदैन, तबसम्म प्रगतिशील लेखक सङ्घले परिकल्पना गरेको लक्ष्य एउटा कथन मात्र हुन्छ, गन्तव्य बन्न सक्दैन । सङ्गठनभित्र हावी रहेको भुत्ते प्रवितिलाई कसरी परास्त गर्ने र सशक्त एवं सामुहिक प्रयत्नहरूलाई सक्रिय पार्ने भन्ने चुनौती हाम्रो बीचमा छ । पुँजीवादी सत्ताको विश्वव्यापी प्रभाव कायम रहिरहेको परिप्रेक्ष्यमा हरेक पुँजीवादी मान्यताहरूका विरुद्ध साम्यवादी मान्यताहरूलाई माथि उठाउन सङ्गठनभित्र कायम रहेको भुत्ते औजारले सम्भव हुँदैन । यसर्थ कार्यप्रणालीमा तदारुकता र चुस्त अग्रसरता, जिम्मेवारीपूर्ण सम्बद्धता र सक्रिय कार्यकता हुनु आवश्यकता छ र यस्तो गराउनु सङ्गठनको कर्तव्य पनि हो । राजनीतिक कार्यकर्ता जस्तो जीवनशैली नभए पनि प्रगतिशील जीवनशैली र संस्कार सङ्गठनलाई आवश्यक छ । सङ्गठनका मान्यताहरूलाई अङ्गिकार गरिसकेपछि ती मान्यताहरूको सम्बद्र्धन र विकास गर्ने दायित्वबोध त्यसका सदस्यहरूमा हुनु अनिवार्य छ । बुर्जुवा कार्यशैलीबाट सङ्गठनलाई मुक्त गर्नु अनिवार्य छ ।
प्रगतिवादी साहित्यको उद्देश्य वर्तमान सामाजिक व्यवस्थालाई ध्वंस गरेर समानतापूर्वक बाच्न पाउने र अधिकारले भरिपूर्ण नयाँ सामाजिक व्यवस्था प्राप्त गर्नु नै हो । मनोरञ्जनका लागि साहित्यिक योद्धाहरूले शब्दखेल खेल्न चाहँदैनन् । साहित्यलाई साहित्यमा मात्र सीमित गर्न खोज्ने यथास्थितिवादी प्रवृति र यथास्थानमा रहन खोज्ने सामाजिक व्यवस्थाको पर्खाल र गरवाजका विरुद्ध सशक्त हस्ताक्षर गर्नै पर्छ । यसका लागि साहित्यको जीवनमा रहेको यथास्थितिवादका विरुद्ध पनि प्रगतिवादलाई संस्थागत रूपमा नै प्रस्तुत गर्न जरुरी छ । प्रचु पुँजीको परिचालन गरी आकर्षक कागजमा प्रस्तुत गरिएका आत्मकुण्ठाका गन्थनहरू र स्तरहीन रचनाहरू, जसलाई पुँजीवादीहरूले ठूलो होर्डिङ बोर्डमा झुण्ड्याएर प्रचार गर्दछन्, यस प्रकारले उत्तर आधुनिकतावादलाई माक्र्सवादी साहित्यका विरोधमा खडा गरिएको पुँजीवादी हमला केन्द्रका विरुद्ध सङ्घर्ष गर्न फितले सङ्गठन प्रणाली र कमजोर विचार र दर्शन दरिद्रताले सम्भव हुँदैन । प्रगतिवादी साहित्य नै मानवीय सम्मान, मर्यादार मूल्य स्थापना गर्ने निर्विकल्प साहित्यिक सिद्धान्त हो भने यसको सजीव भूमिकाका लागि श्रष्टाहरूले गम्भीरतापूर्वक सोच्नु पर्दछ र साझा संस्थाको प्रगतिवादी मान्यतालाई व्यापक बनाएर लैजानु पर्छ । अहं महत्वका कैयौँ सवालहरूमा घोत्लिएर संस्थागत रूपले प्रगतिवादी सृजनाहरूलाई हुर्काउनु सङ्गठनको कर्तव्य हुन जान्छ । नत्र प्रगतिवादभित्र उपभोक्तावादले आश्रय लिने र प्रगतिवादी सिद्धान्तहरूलाई मन्त्र झैँ जप्ने तर जीवनशैली भने परम्परागत र यथास्थितिवादमा नै समर्पित गरिरहने संस्कार र प्रवृतिले घेराबन्दी गर्ने स्थिति हुन्छ । प्रलेसले प्रथमतः आफूभित्र रहेका कतिपय वैचारिक समस्या एवं प्राविधिक रूपमा पनि सङ्गठनभित्र अस्तित्वमा रहेका समस्याहरूका विरुद्ध निर्मम सङ्घर्ष गर्न जरुरी छ । साहित्य जीवनमा रहेका सामन्तवादी तथा पुँजीवादी मूल्यहरूलाई भत्काउँदै जनपक्षीय, जीवनोपयोगी, वैज्ञानिक मूल्यहरूलाई स्थापना गर्नका लागि कैयौँ चुनौतीहरू प्रलेसका अगाडि खडा छन् । तर यसो नगरेसम्म लक्ष्य हासिल नहुने भएकाले यसतर्फ प्रलेसले कदम चाल्न जरुरी नै छ ।


No comments:

Post a Comment