Tuesday, May 3, 2016

प्रगतिशील लेखक सङ्घ नेपाल परिवर्तनको संवाहक- सुदर्शनराज पाण्डे




वि.सं. २००९ सालमा प्रगतिशील लेखक श्यामप्रसाद उपाध्यायको विशेष पहलमा वीरगंजमा स्थापित प्रगतिशील लेखक सङ्घ, नेपालको दुई दिने (चैत २६–२७) दशौं राष्ट्रिय सम्मेलन नेपाल प्रज्ञा भवन, काठमाडौंमा विधान संशोधन र विभिन्न महत्त्वपूर्ण प्रस्ताव पारित गरी सम्पन्न भएको छ । देशभरिका झन्डै तीन सय प्रगतिशील लेखकहरूको प्रतिनिधित्व रहेको प्रगतिशील लेखक सङ्घ नेपालको दशौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी ओलीले भने– “देश कति उचाइमा छ भन्ने कुरा कला, साहित्यको स्तरले देखाउँछ । साहित्यले सही बाटो देखाउने काम गर्दछ । साहित्यले उथलपुथल र परिवर्तन ल्याउँछ । जनजागरण र परिवर्तनमा लेखक, साहित्यकार, कलाकारहरूको विशेष योगदान रहेको हुन्छ । राम्रोका लागि साहित्यिक सिर्जना कि सिर्जनाका लागि सिर्जना बहसको विषय हो । प्रगतिशील लेखक सङ्घले ६४ वर्षमा जे जति उतारचढाव ल्यायो, त्यो प्रशंसनीय छ । हाम्रो देश नेपाल अनेक किसिमले असाधारण छ । विम्बको प्रयोग गर्दा उखानटुक्का भइहाल्छ । महाभारत ग्रन्थका पुर्खाका सन्तान हाइकूमा पुगिसकेका छन् । चिन्तन र साधना सर्टकट गर्ने विषय होइन । जता लागे पनि सप्तम् स्वर आउँछ, अष्टम् स्वर हुँदैन । साहित्यकार, लेखकहरूमा दूरदृष्टि हुन्छ । नेपाली साहित्य अबको आवश्यकताको मार्गदर्शक हुनुपर्दछ । परिवर्तित सन्दर्भमा साहित्यकार र लेखकहरू अझ असाधारण भएर आउनुपर्दछ, नयाँ परिवेशको नेतृत्व गर्नुपर्दछ ।” 

उद्घाटन समारोहको सभापतित्व गर्नुभएका प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष अमर गिरीले प्रलेसले चारवटा क्षेत्र वैचारिक, सिर्जनात्मक, स·ठनात्मक र आन्दोलनमा कोसेढु·ाको भूमिका निर्वाह गरेको छ । निरङ्कुशताविरुद्ध, बाह्य हस्तक्षेपविरुद्ध प्रलेसमा आबद्ध साहित्यकार, लेखक, कलाकारहरूले महत्त्वपूर्ण योगदान दिंदै आएका छन् । सि·ो समाजलाई रूपान्तरण गर्न नयाँ नेपाल निर्माण गर्न प्रलेसलाई जवान बनाउनुपर्दछ । गम्भीर वैचारिक चुनौती आएका बेला हाम्रो सिर्जनाले अरूसँग संवाद गर्नुपर्दछ । साम्राज्यवादी, विस्तारवादी हस्तक्षेप बढिरहेका बेला, भूमण्डलीकरण बढिरहेका बेला सिर्जनात्मक सामथ्र्यमा भएको कमजोरीलाई हटाउँदै, दृष्टिकोणका सवालमा कुनै सम्झौता नगरी अगाडि बढ्नुपर्दछ भन्नुभएको थियो । 

सो समारोहका विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति ग·ाप्रसाद उप्रेतीले मुलुकमा रूपान्तरण गर्न वैचारिक धरातल महत्त्वपूर्ण हुन्छ । लामो सङ्घर्षपछि नयाँ चुनौतीका साथ नयाँ चिन्तनका लागि दशौं राष्ट्रिय सम्मेलनमा भेला भएका मुलुकभरिका लेखकहरूले सामन्तवाद, विस्तारवाद र साम्राज्यवादले निर्माण गरेका संस्कृतिलाई ध्वस्त बनाउँदै नयाँ नेपालको निर्माणका लागि जुट्नुपर्दछ भन्नुभएको थियो । 

वरिष्ठ साहित्यकार खगेन्द्र सङ्ग्रौलाले क्रान्तिकारी र बुर्जुवा लेखकहरूका बीच अन्तरसङ्घर्ष चलिरहेको छ । कम्युनिस्ट पार्टीको सदस्य बनेपछि प्रगतिशील भइन्छ, प्रगतिशीलको प्रमाणपत्र स्वत: मिल्छ भन्ने धारणा गलत हो । लेख्न र सोच्नका लागि थुप्रै सामग्री छन् । माक्र्सवादी सौन्दर्य चिन्तनका बारेमा लेख्ने काम कम हुँदै गएको छ । बाँझो फोड्ने प्रयत्न नगरी फूल रोप्ने कुरा गरिन्छ । भाषा, शैलीका बारेमा लेखकलाई नै चिन्ता छैन । पढ्ने चिजको विविधता र बाहुल्यता आज छ । भाषा, शैली, प्रस्तुतिमा प्रलेसले ध्यान दिनुपर्दछ । समस्त जनसङ्ख्यामा कम्युनिस्ट पार्टी सानो हुन्छ । विशाल संसार कम्युनिस्ट पार्टीभन्दा बाहिर छ । लेखन र चिन्तनलाई शासनसत्ताबाट बाहिर राख्नुपर्दछ । साहित्यलाई जनसत्तासँग टाँस्ने लेखकहरू कम छन् । समाजमा रहेका सबैखाले विभेदको निर्मूल गर्नु नै प्रगतिशीलता हो । असहमति भएकालाई सम्बोधन गर्नुमा प्रगतिशील लेखकहरूले ध्यान दिनुपर्दछ भन्नुभएको थियो । 

प्रलेसको १० सौं राष्ट्रिय सम्मेलनमा प्रगतिशील लेखक स्रष्टा खगेन्द्र सङ्ग्रौला, कविता पौडेल, विमल निभा, बेनु आचार्य, राम विनय, झवेन्द्रराज वैद्य, कृष्ण दास श्रेष्ठ सम्मानित हुनुभएको थियो । 

सहभागीहरूका बीच समूहगत छलफल गरी सम्मेलनको निष्कर्ष निकालिएको थियो । मातृका पोखरेलको नेतृत्वमा ५७ सदस्यीय प्रगतिशील लेखक सङ्घ नेपालको नयाँ कार्यसमिति चयन गरिएको थियो । मुलुकभरिका प्रगतिशील लेखकहरूको साझा चौतारीका रूपमा रहेको प्रलेसमा नेपालमा विकसित हुँदै गएको भागबन्डाको संस्कृति अन्तर्गत कम्युनिस्ट पार्टीका घटकहरूको तर्फबाट प्रतिनिधित्व हुनेगरी नयाँ कार्यसमिति सर्वसम्मतबाट जनवादी केन्द्रीयता लादेर गठन गरिएको थियो । प्रगतिशील लेखक साहित्यकारहरूको गरिमामय स·ठन प्रलेस नेपालको विधानको प्रस्तावनामा भनिएको छ– ‘साहित्य समाजको युगीन तथा सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति हो र यसको प्रगतिशील यथार्थको उद्घोषण गर्दै समाजको समतामूलक आमूल रूपान्तरणका लागि सहयोग पुर्‍याउनुपर्छ भन्ने चिन्तन राखी वर्ग विभक्त समाजमा वर्गसङ्घर्षलाई उक्त रूपान्तरणको प्रमुख कारक एवं प्रेरक तत्त्व ठान्ने र श्रमिक वर्गलाई सम्पूर्ण भौतिक एवं भावनात्मक सम्पदाका स्रष्टा र इतिहास निर्माता स्वीकार गर्दै द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्य चिन्तनका आधारका रूपमा अँगाली समाजमा व्याप्त सामन्तवाद, साम्राज्यवाद, प्रभुत्ववाद तथा विस्तारवादको विरोध गर्ने अनि कला, साहित्यको क्षेत्रमा वैज्ञानिक चेतनाले सुसज्जित समाजवादी यथार्थवादी धाराको प्रतिनिधित्व एवं पक्षपोषण गर्ने सा·ठनिकरूपमा प्रतिबद्ध तथा अप्रतिबद्धसमेत रहेका साहित्य सर्जकहरूको साझा मञ्चका रूपमा क्रियाशील राष्ट्रियस्तरको स·ठन प्रलेस हो ।’ 

प्रलेस नेपालले लागू गरेको आचारसंहितामा देशको सार्वभौमसत्ता, जातीय सद्भाव, राष्ट्रिय अखण्डता, अन्तर्राष्ट्रिय भ्रातृत्व आदिमा विपरीत प्रभाव पार्ने मन्तव्य, वक्तव्य र लेख आदि नदिने, अन्धविश्वासयुक्त धारणाको प्रचारप्रसार नगर्ने, आफ्नो लेखन र व्यवहारको क्षेत्रमा सामञ्जस्य ल्याउन निरन्तर प्रयत्नशील रहने, जातीय, भाषिक, लै·िक, शारीरिक तथा क्षेत्रीय (भौगोलिक) विभेद देखिने वा त्यसलाई प्रश्रय दिने खालको सिर्जना नगर्ने, जातीय एकता एवं सद्भावको विकास, भाषिक समानता तथा सांस्कृतिक आदानप्रदानका निम्ति विशेष अग्रसरता देखाउने, प्रगतिशील आचरण एवं प्रलेसको विधानको प्रस्तावना, लक्ष्य एवं भावनाविरुद्ध कुनै सदस्यद्वारा लेखेर वा व्यक्तिगत व्यवहार, आचरणका माध्यमबाट कुनै गतिविधि गरिएमा त्यसलाई आचारसंहिता उल्लङ्घनको विषय मानिनेछ र सङ्घले त्यसको प्रकृति हेरी कारबाईको प्रक्रिया अघि बढाउने भनिएको छ । 

प्रलेसको उद्देश्य प्रगतिशील लेखकहरूको हकहित संरक्षण एवं संवद्र्धनका निम्ति प्रयत्नशील एवं कार्यरत रहने, सामन्तवादी तथा साम्राज्यवादी संस्कृतिका विरुद्ध सङ्घर्ष गर्दै मौलिक, राष्ट्रिय तथा नयाँ जनवादी संस्कृतिको योजनाबद्ध निर्माणका साथै मुलुकको जनगणतान्त्रिक रूपान्तरणका निम्ति शब्द र कर्मका क्षेत्रमा सक्रिय रहने, विभिन्न जातिका जनताहरूबीच फुट, द्वेष तथा अहड्ढार फैलाउने तथा कुनै क्षेत्रमा साम्प्रदायिक विचार ल्याउन खोज्ने तत्त्व तथा प्रयत्नहरूका विरुद्ध दृढतापूर्वक उभिने, कुनै पनि शक्ति राष्ट्रहरूको साम्राज्यवादी क्रियाकलापहरूको विरोध गर्दै अन्यायपूर्ण युद्धको विरुद्धमा हुने जनवादी तथा राष्ट्रिय मुक्ति आन्दोलन एवं सङ्घर्षहरूको र विश्व शान्तिको पक्षमा दृढतापूर्वक उभिने, धर्मनिरपेक्षताका आधारमा राष्ट्रिय एकता एवं सामाजिक सद्भावको विकासका निम्ति क्रियाशील रहने आदि उल्लेख छ । 

चरम व्यक्तिवादी निराशावादी जीवन–दृष्टिबाट प्रभावित हुँदा मानिसहरू सुखी हुन सक्दैनन् । निराशावादी विचारबाट जीवन गतिहीन र पतनशील मात्र हुनेछ । समष्टिवादी र गतिशील प्रगतिवादलाई अ·ीकार गर्दा मानिसको उत्थान हुन सक्दछ । मानिसहरू सधैं नकारात्मक मात्र होइन, सकारात्मक पनि बन्नुपर्दछ । साहित्यकार, लेखकमा आलोचनात्मक विवेक हुनुपर्दछ । विवेकहीन राजनीतिज्ञ र विचारविहीन साहित्यको कुनै अर्थ रहँदैन । निरपेक्षरूपमा लेखक सत्ताको समर्थक होइन, आलोचनात्मक विवेक भएको प्राणी हुनुपर्दछ । माक्र्सवाद नै यस्तो विश्व साहित्य हो, जसले जीवन र जगत्को अस्तित्व, अस्तित्वरक्षा र विकासका बारेमा एकपछि अर्को आविष्कार र रूपान्तरणको वैज्ञानिक निर्धारण गर्दछ । साहित्य, कला र संस्कृति मानवद्वारा निर्मित मानव समाजको अभिन्न अ· हो । मानवद्वारा मानिसमा हुने सबैखाले शोषणको अन्त्यका लागि लेखिने लेख र साहित्य प्रगतिशील साहित्य हो । साहित्यको निर्माण मान्छेले आफ्ना आवश्यकताहरू पूरा गर्न र नयाँ कुरा पत्ता लगाउन गरिएको अथक प्रयत्नबाट भएको हो । हरेक चिज र घटनाका पछाडि कुनै न कुनै दार्शनिक आधार रहेको हुन्छ । माक्र्सवादी कला, साहित्य र संस्कृति तथा अन्यका बीचमा फरक रहेको छ । प्रगतिवादी दृष्टिकोणको आधारमा निर्माण भएको साहित्य, कला, संस्कृति युग, समय र वर्गसापेक्ष हुन्छ । उत्पादन सम्बन्ध सापेक्ष हुन्छ । माक्र्सवादी दृष्टिकोणमा साहित्य, कला र संस्कृति मूलत: वर्गीय हुन्छ, वैज्ञानिक हुन्छ । यसको ठीकविपरीत पूँजीपतिको प्रशंसा, आत्मा, परमात्मा, अन्धविश्वास, कुरीति, स्वच्छन्द आदि हुन्छ । पञ्चायतकालमा प्रगतिशील साहित्यकार, लेखकहरूमाथि चरम दमन गरिएको थियो । अहिलेसम्म पनि प्रगतिशील साहित्यकार, लेखक उपेक्षित, अपमानित छन् । नेपाली समाजमा वर्ग सङ्घर्ष, कम्युनिस्ट आन्दोलन, राजनीतिक परिवर्तनका क्रममा प्रगतिशील साहित्यकारले बलिदान दिएका छन् । प्रगतिशील साहित्यकार परिवर्तनका संवाहकको रूपमा रहेका छन् । प्रगतिशील साहित्यकार, लेखकहरूको साझा मोर्चा प्रगतिशील लेखक सङ्घ नै हो । मानिसद्वारा मानिसको शोषण र उत्पीडनबाट मुक्त हुने र आफ्नो उत्पादनको मालिक आपैंm बन्ने तथा सुख र समृद्ध मानव समाजको निर्माण गर्ने परिकल्पना गर्दै आएका थिए, प्रगतिशील साहित्यकारहरूले । संविधानसभाद्वारा संविधान निर्माण, जनसंविधान निर्माण गर्न सङ्घर्षरत लेखक, साहित्यकार अझै आक्रोशित र असन्तुष्ट छन् । साहित्यकार र लेखकको आक्रोश र असन्तुष्टिले परिवर्तनको अभिव्यक्ति दिन्छ । असल र उत्तम विचारद्वारा नेपाली जनताको सर्वोत्तम हितका पक्षमा अविरलरूपमा नेपालका प्रगतिशील लेखक र साहित्यकारहरू लागिपरेका छन् । समाजवादी समाजको निर्माणमा अथक यात्रा नेपालका प्रगतिशील लेखकहरूले गरेका छन्, यो क्रमभ· हुनेछैन । प्रगतिशील साहित्यकारले श्रमजीवी वर्गको पक्षलाई मार्गदर्शन गर्ने काम गर्दछ । यही दृष्टिकोणका आधारमा विकास गरिने सिर्जनाले मात्र परिवर्तनको पक्षपोषण गर्दछ । नेपालमा जनताको इच्छा र आकाङ्क्षाअनुरूपको परिवर्तन भएको छ तर त्यो अधूरो, अपूरो र सन्तोषजनक छैन । प्रगतिशील लेखकहरूले अझै आफ्नो कार्यभार, जिम्मेवारी वहन गर्न बाँकी नै छ । भागबन्डा, गुटगत स्वार्थ, गुट, फुट र लुटको संस्कृतिमा प्रगतिशील लेखक, साहित्यकाहरू पनि रमाउन पुगेका पाइन्छन् । यो प्रगतिशील दृष्टिकोणप्रति बेठीक कार्य हो । माक्र्सले ‘समकालीन युगको सारतत्त्व नै दर्शन हो’ भन्नुभएको थियो । हामी बाँचेको संसार जटिल छ । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको क्रान्तिकारी परिवर्तनको मार्ग प्रशस्त गर्न प्रगतिशील लेखक, साहित्यकार बढी सचेत हुनुपर्ने बेला आएको छ । हरेक क्षेत्रमा विचलन, अवमूल्यन, अनैतिक, बेथितिको अवस्था देखापरेको छ । स्वअनुशासन, राष्ट्रिय अनुशासन, पारिवारिक अनुशासन, सामाजिक अनुशासन र आचारसंहितामा ह्रास देखा परेको छ । विश्व समाज भौतिकवाद र अध्यात्मवादमा विभक्त छ । उदारवाद, अवसरवाद, उपभोक्तावाद, आतड्ढवादको जगजगी छ । भौतिकवादले पदार्थ प्रमुख हो, चेतना गौण पक्ष हो । संसार बोधगम्य छ भन्ने मान्यता राख्दछ । परापूर्वकालदेखि चल्दै आएको अध्यात्मवादले चेतना प्रमुख हो, पदार्थ गौण पक्ष हो, गति, देश र काल चेतनाका उपज मात्र हुन्, संसार अबोधगम्य छ भन्ने मान्यता राख्दछ । यसरी संसार मूलत: दुई दार्शनिक धारमा विभक्त छ । नेपाल भौतिकवादी र अध्यात्मवादी धारको सँघारमा छ । धर्म निरपेक्षताको घोषणापछि धर्म परिवर्तनको महाअभियानले क्रिश्चियनको सङ्ख्या दिन दुई गुना रात चौगुनाका दरले वृद्धि भएको र पश्चिमा राष्ट्रहरूले धार्मिक कूटनीतिलाई नेपालमा महत्त्व दिइरहेकाले नयाँ द्वन्द्वको तयारीमा नेपाल रुमलिएको छ । नेपाली जनताको चाहना र राष्ट्रको आवश्यकता विपरीत संविधानको दुरुपयोग हुँदै गइरहेको छ । देशको मूल कानुन संविधान विवादमा परेकोले सबै क्षेत्रमा प्रतिकूल प्रभाव र असर परेको छ । प्रगतिशील लेखकहरूले वर्तमान विषम परिस्थितिमा ठोस निष्कर्षका लागि लेखकहरूले आवश्यक पहल गर्न जरुरी छ । शासनसत्ताका कारण उत्पन्न गलत नीति, कार्य र व्यवहारका विरुद्धमा प्रगतिशील लेखकहरू एक ढिक्का भएर उत्रनुपर्दछ, तबमात्र सकारात्मक परिवर्तनले सार्थकता पाउन सक्दछ । वर्तमान स्थिति, अवस्थाबाट निराश भइहाल्नुपर्ने अवस्था छैन । चुनौती र अवसर एकैसाथ छ । नेपाली समाजमा आर्थिक, सामाजिक रूपान्तरण गर्ने प्रशस्त सम्भावना छ । साम्राज्यवाद, विस्तारवाद, विकृत पूँजीवाद, प्रभुत्ववादका विरुद्ध लेखक साहित्यकारहरूले चर्को बोल्न र लेख्न जरुरी छ । शासनसत्तामा रहेका दलका नेता, कार्यकर्ता र सरकारी कर्मचारीहरूको भ्रष्ट र नैतिकहीन प्रवृत्तिका विरुद्ध लेखक, साहित्यकारहरूले खरोरूपमा उत्रनुपर्ने आफ्नो दायित्वलाई भुल्नुहुँदैन । 
द्वन्द्वात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवाद भनेको आजसम्मका जीवन र जगत्का घटनाक्रमलाई वस्तुपरक ढ·ले जाँच्ने, बुझ्ने, वैज्ञानिक तथ्य पत्ता लगाउने तरिका हो । भौतिकवादका सात महत्त्वपूर्ण प्रवर्गहरूका कारण र प्रभाव, आवश्यकता र आकस्मिकता, सारतत्त्व र दृश्यरूप, अन्र्तवस्तु र रूप, सम्भावना र यथार्थता, वैयक्तिक, विशिष्ट र सामान्य वा सर्वव्यापीरूपहरू मुख्य हुन् । एकता र सङ्घर्ष निरन्तर चलिरहने प्रक्रिया हो । समाजको आमूल परिवर्तन गर्ने ध्येय र लक्ष्य प्रगतिशील लेखकहरूको हुन्छ । समाजको आमूल परिवर्तनका लागि क्रान्ति गर्नु भनेको वर्तमान समाजको मूल आधार उत्पादन पद्धति अर्थात् उत्पादनका साधनहरूमा रहेको स्वामित्व, उत्पादक शक्तिको विकास, उत्पादन सम्बन्ध रहेको वर्गीय प्रभुत्वलाई पूरै परिवर्तन गरेर उत्पादक शक्तिको हित अनुकूलको उत्पादन सम्बन्ध कायम गर्नु हो । यस्तो परिवर्तनले मात्र सम्पूर्ण संरचनामा पूर्ण परिवर्तन हुन सक्दछ । नेपालमा राज्य पुनर्संरचना अभियान चलिरहेको छ, यसलाई पूर्ण कार्यान्वयनको तहमा पुर्‍याउने जिम्मेवारी र दायित्वको अगुवाइ प्रगतिशील लेखकहरूले गर्नुपर्दछ । शोषणरहित समाजको नयाँ संस्कृति निर्माण गर्न आवाजविहीनहरूको आवाज बन्ने साहित्यलेखन जरुरी छ । प्रकृतिमा हुने परिवर्तन त्यसका स्वस्फूर्त शक्तिका आधारमा हुन्छ भने समाजको परिवर्तन मानिसको चेतनाको आधारमा हुन्छ । हिमाल, पहाड, तराई मधेसमा रहेका सम्पूर्ण प्रगतिशील साहित्यकारहरू एक हौं । साझा मञ्च प्रगतिशील लेखक सङ्घ नेपालमा आबद्ध भई परिवर्तनको संवाहक शक्ति बनेर अघि बढौं ।

http://www.prateekdaily.com बाट साभार 

No comments:

Post a Comment