म किन प्रगतिशील?
गुरुङ सुशान्त
नयाँ वर्षले समयको आँगनमा पाइला टेक्नासाथ एक साहित्यिक संस्थाले कार्यक्रम-निमन्त्रणा पठायो मलाई। श्वेत लिफाफामा मेरो लागि 'प्रगतिवादी साहित्यकार'को गह्रुँगो सम्बोधन गरिएको थियो। कसोकसो मलाई उत्तरआधुनिक अप्ठ्यारो अनुभूति भयो। शंका मान्दै खाम खोलिहेरेँ।
जतनसँग पट्याइएको पत्रमा पनि उही विशेषण छ, अध्यक्षको हस्ताक्षरसहित। अचानक कसरी प्रगतिवादी साहित्यकार बनेछु? तुरुन्तै सम्झिहालेँ- दुईचार दिनअघि मात्र म प्रगतिशील लेखक संघमा आबद्ध भएको।
प्रलेससँग जोडिएदेखि त्यो पत्र पाउनुअघिसम्म मैले कुनै लेखरचना लेखेकै थिइनँ। अनि एक्लै फुस्फुसाएँ-'प्रगतिवादी साहित्यकार बन्न सजिलो रहेछ। प्रलेसको सदस्यता लियो, प्रगतिवादी भइगयो। कति सजिलै म पनि प्रगतिवादी दरिएँ।
प्रलेसको आदिम आँगन मेरो लागि पूरापूर 'नयाँ÷नौलो÷नवीन' थियो। र, आज पनि यहाँ आउटसाइडर नै अनुभूत गर्छु आफूलाई। मलाई थाहा छ, एकलकाँटे स्वभावका कारण कुनै संगठनको अनुशासित संरचनामा जोडिएर रहन सक्दिनँ म। 'जनयुद्ध'मा ज्यान फालेर लागेको इतिहास पनि छैन मसँग।
न त 'उठ जाग—लम्क चम्क' भनेर हिँडियो। तर, करिब दुई दशकअघि कुनै वामपन्थी विद्यार्थी राजनीतिमा जोडिएको थिएँ। केही समय सांस्कृतिक कार्यक्रममा पनि हिँडियो। विशेष घटनाबाट विरक्तिएर कुनै पनि राजनीतिक संगठनमा आबद्ध नहुने आत्मअडान च्यापेर हिँडेको मेरो हातमा बिनायोजना प्रलेसको सदस्यता पर्यो। साथीहरूलाई भन्ने गर्थें, 'हरफैपिच्छे मार्क्स, एङ्गेल्स, लेनिन, माओ, लुसुनका कथन अक्षरशः उद्धृत गर्ने ल्याकत पनि छैन मेरो। न त मेरो लेखनमा उच्च प्रगतिशीलता नै छ। रुचि र योग्यता अभावका कारण म प्रलेसको चौतारीमा भेला हुन्नँ।'
संगठनले केही न केही त अवश्य सिकाउला ठानेर अरू जुझारु साथीहरूलाई भने प्रलेसमा जान प्रोत्साहन नै गर्थेँ। अन्ततः आफैं गएँ।पठनको उषाकालमा केही जर्जर खालको जनवादी साहित्यसँग पटकपटक जम्काभेट भएछ मेरो। कलिलो पाठकको बल्दो मैनमा छाप बस्यो— कलाभन्दा कोसौं परको गुफामा गर्जिन्छ प्रगतिवादी साहित्य। रुखो साहित्यबाट बच्नलाई चाहिनेभन्दा बेसी नै बपी कोइराला पढेछु।
अहिलेसम्म बीपीसम्बन्धी राम्रै कलेक्सन छ मसँग। माक्र्सवादी दर्शन यस्सै पनि पढिन्थ्यो÷पढिन्छ। यो दर्शन अन्तिम नभए पनि बलियो सत्य लाग्छ मलाई। जब अक्षरहरूको साँघु तर्दै खगेन्द्र संग्रौला, नारायण ढकाल, विमल निभा, श्यामल,श्रवण मुकारुङलाई छोएँँ, तब सुस्तरी चाल पाएँ— प्रगतिशील साहित्य हाम्रो समाजलाई कलात्मक शैलीमा अभिव्यक्त गर्न समर्थ छ।
ट्याग नझुन्ड्याए पनि हरि अधिकारीका कविता, नयनराज पाण्डे र उपेन्द्र सुब्बाका अर्गानिक आख्यान कति हो कति प्रगतिशील लाग्छन् मलाई। स्वमूल्यांकनको लेन्सबाट हेर्दा भुइँवर्गको यथार्थ पोखिएको साहित्य मन पराउने पाठकको रूपमा पाएँ आफूलाई। आफ्नै अध्ययनको टेस्ट र माहोलले पहिलोपटक प्रलेससम्म डोर्यायो मलाई।
केही मित्रले मलाई भने, 'तिम्रो चरित्र डेमोक्रेटिक लाग्छ। कसरी प्रलेसमा पुग्यौ? तिमी त नेपाली लेखक संघतिर पो हुनुपर्ने होइन र? ' स्वभाव आआफ्नै हुने कुरा अस्वाभाविक होइन। तर, अमूक दलको दलदलमा पसे÷नपसे पनि म विचारले वामपन्थी हुँ। हाम्रो समाज वर्गीय रहेकै कारण तल्लो तहको उत्थान हुने राज्यनीतिको खाँचो छ भन्ने धारमै उभिएको पाउँछु आफूलाई। कुनै संगठनको तालतलैयामा पौडी नखेल्ने मान्छे कसरी प्रलेसमा पुग्यो होला ?
साथीहरूले मात्र होइन, आफैंले सोध्ने प्रश्न पनि हो यो। प्रलेसका चर्चित पदमा बसेर बडेबडे काम गरूँला भनेर त्यहाँ गएकै होइन म। वामपन्थी लेखक संगठनले गर्ने वैचारिक बहस÷छलफल र प्राज्ञिक कार्यक्रमले तानिएर त्यहाँ उभिन पुगेको हुँ।
सिद्धान्ततः प्रलेस वामपन्थी लेखकहरूको साझा मोर्चा भएकाले त्यस संगठनप्रति मेरो चासो थियो नै। तर, मैले दूरीमै रहेर त्यसलाई हेर्थें। साहित्यकार नारायण ढकालले भनेजस्तै सरकारी माक्र्सवादी ढाँचाका लेखकहरूकै हालिमुहाली देख्थेँ। केही सौन्दर्यशास्त्रीबाहेक धेरै लेखकको लेखनकला र क्वालिटी दयनीय थियो÷छ। संगठनको स्वरूप, कार्यशैली, सोच आदिमा अनेक बहस र विवाद छन्। तर, मूल्यांकन समग्रमा गर्नुपर्छ।
उतारचढावयुक्त आरनमा खारिएर मात्र निश्चित आकार लिनसक्छ संगठनले। तर, प्रलेसमा विचारको बहसचाहिँ लोभलाग्दो छ। टाढा र नजिकबाट हेर्नुमा धेरै भिन्नता हुन्छ। जब प्रलेसभित्र पसेर हेरेँ, तब लाग्यो— यो मोर्चा गतिशील छ। प्रलेस प्रवेशअघि समयलाई खुसुक्क फुर्सद दिएँ। आफ्नै च्याम्बरमा किस्ता किस्तामा कैद गरेँ आफूलाई। मोबाइललाई दैनिक केही घन्टा निष्क्रिय राख्न थालेँ। आक्कलझुक्कल हुने भेटमा साथीहरू प्रश्न फाल्थे, 'कता भूमिगत हउ गुरुङ?
'म ठट्टा गर्थें, 'क्रान्तिको तयारी गर्दैछु।' र, मैले अब प्रलेसका इतिहास पल्टाउन थालेँ। नेपाली लेखक संघको इतिहास भेट्टाउन सकिनँ। अध्ययनलाई एकांगी हुनबाट बचाउन 'नेपाली कांग्रेसका ऐतिहासिक दस्तावेज'को ठेली, 'बीपीका राजनीतिक अभिलेख' र प्रदीप गिरीलाई पनि समानान्तर अध्ययन गर्न थालेँ।
प्रलेसका विधान र प्राज्ञिक अध्ययन-परम्परा नियालिसकेपछि लाग्यो, मेरो रुझानअनुरूप नै छ यो संघ। आखिर जति तर्किने तर्क गरे पनि हामी सामाजिक प्राणी रहेको सत्यलाई छेक्न सकिन्न। समान विचार-समूहबीच कार्यगत एकता अनौठो भएन। सोचेँ— त्यहाँभित्र छिरेँ भने वैचारिक स्पष्टताको लागि पक्कै सघाउ पुग्नेछ। केही त पक्कै सिक्नेछु। अनि, प्रलेसमा उभिएँ।
प्रलेस स्थापनाको गतिमान पृष्ठभूमि, उद्देश्य, दृष्टिकोण र इतिहास गौरवपूर्ण छ। २००९ सालमा श्यामप्रसाद शर्माको अध्यक्षतामा स्थापित प्रलेसको ६ दशक लामो यात्रामा ताना शर्मा, रमेश विकल, गोविन्द भट्ट, शक्ति लम्साल, मोदनाथ प्रश्रित, खगेन्द्र संग्रौला, विमल निभा, कृष्ण सेन 'इच्छुक', घनश्याम ढकाल, आनन्ददेव भट्ट, निनु चापागाईंलगायत विद्वान्-लेखकहरूको पसिना पोखिएको छ।
प्रलेस व्यापक फराकिलो छाता हो जहाँ नरमदेखि गरम विचारका लेखक ओत लाग्न सक्छन्। यो मोर्चाले साम्राज्यवादी-सामन्तवादी संस्कृतिको विरोध गर्दै जनवादी संस्कृतिको पक्षमा उभिने उद्देश्य राखेको छ। मूलतः द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्यचिन्तन-आधार मान्ने लेखक यो साझा मञ्चमा अटाउँछन्। तर, लेखक कुनै पार्टी÷संगठनमा हुनु÷नहुनुले प्रलेसको आँगनमा तारबार-तगारो लाग्दैन।
नेलेसले प्रलेसमा जार्गन÷नारा मात्र देख्छ। र, नबुझेको अभिनय गर्छ। किसानका कविता नबुझ्नेले फर्सीको जराजस्ता चक्करदार विम्ब कसरी बुझे होलान् र मोहन कोइरालालाई बोके ? कि कोइरालालाई कांग्रेसमात्र बुझे? लेखकले अमूक दलको झन्डाभन्दा वैचारिक प्रतिबद्धता बोकेको मन पर्छ मलाई। विमर्श रुचाउँछु। र, त प्रलेसमा छु।
नवगठित कमिटीमा पनि जनताको बहुदलीय जनवाददेखि एकीकृत क्रान्तिको विप्लवी धारसम्म समाहित छन्। अवैज्ञानिक एवं यथास्थितिवादी विचार र सिर्जनाप्रति आलोचनात्मक हुने र वैज्ञानिक एवं प्रगतिशील सिर्जनकर्म गर्ने जोकोहीलाई प्रलेसको विधानले स्वागत गर्छ।
कति बहसका सान्दर्भिकताको आयु सकिएको होला, कति नवजात विचारले सन्दर्भ र समय पर्खिरहेका होलान्। जीवन्त बहसबाट समाज र साहित्यलाई हेर्ने आफ्नो विश्वदृष्टिलाई समृद्ध पार्ने उत्साह लिएर म प्रलेसको चौतारीमा पुगेको छु।स्वप्निल स्मृति, विनोदविक्रम केसी, दीपक सापकोटा, श्याम शाहलगायत युवाको जम्बो टोली प्रलेसमा पुगेपछि धेरैतिर आश्चर्यमिश्रित हल्लीखल्ली भयो।
संगीत श्रोता, सरिता तिवारी, केशव सिलवालजस्ता केही सशक्त युवा पहिलेदेखि सक्रिय थिए। केही मित्रले प्रेमिल प्रश्न उठाए, 'गुरुङहरू के गर्न गएका हुन् ? 'तरंगित प्रश्नका दुई छाल प्रस्ट देखिए। एक-तिमी ठेट्नाहरूले के गर्न सक्छौ र? दुई अहिलेसम्म प्रलेसले के चाहिँ गरेको छ? त्यस मञ्चको निर्णायक भूमिकामा हामी कमै छौं। विश्वास छ, आफ्नो कुरा राख्छौं। र, विविध विचार समूहको मन्थनबाट केही सिक्छौं पनि। कसैलाई बेवास्ता गरेपछि उसले गरेका सार्थक कामहरू पनि ओझेलमा पर्दारैछन्।
प्रलेसले सुरुआती कालदेखि नै प्रगतिशील लेखनको अभियानलाई विकास गरेको छ। 'लेखक कसरी बन्ने? ' पुस्तिका लेखेर श्यामप्रसादले वैचारिक गोरेटो खनिदिए। प्रलेसले ऐतिहासिक समयसन्दर्भमा साम्राज्यवाद र सामन्तवादविरुद्ध बहस, छलफल र अन्तरसंघर्ष चलायो।
प्रजातान्त्रिक आन्दोलन, जनयुद्ध, गणतान्त्रिक आन्दोलनमा जनवादी पक्षधरता पनि लिएकै हो। साहित्यका प्रमुख विधाका परम्परा, विकासक्रम, प्रवृत्ति, सम्भावना, चुनौतीबारे अनेकौं लिखित÷मौखिक विमर्श भएका छन्। महिला लेखन, नारीवाद, दलित चेतना, प्रगतिवाद, सिनेमा, उत्तरआधुनिकता, सांस्कृतिक रूपान्तरण, माक्र्सवादी दर्शन, मातृभाषा, बहुभाषिक साहित्य, लोकसाहित्य, बालसाहित्य, समालोचना, सौन्दर्यचिन्तन आदिमाथि दर्जनौं कार्यपत्र लेखिएका छन्, सयौं टिप्पणी÷छलफल भएका छन्। ती सबै प्राज्ञिक कार्यलाई प्रलेसले विभिन्न माध्यमबाट प्रकाशनमा ल्याएकै छ।
वैचारिक, सांगठनिक, सिर्जनात्मक र आन्दोलनको क्षेत्रमा उसले हस्तक्षेपकारी भूमिका खेलेको तथ्यलाई आँखा चिम्लिदिएपछि सतही आलोचना गर्ने छिद्रहरू अनेक भेटिन्छन्। मलाई लाग्छ, लेखक-संस्कृतिकर्मीको मोर्चाले गर्नेे काम यी र यस्तै हुन्। आशय यो होइन, प्रलेसको कार्यसम्पादन न भूतो न भविष्यति छ। विभिन्न वामपन्थी घटकको प्रतिनिधिहरू पनि प्रलेसमा भएकाले सिर्जना र सौन्दर्यदृष्टिमा विविधता रहने नै भयो।
'युवाहरू स्वतन्त्र बसून्' भन्ने मनसुवा नै आधारभूत रुपमा स्वतन्त्र छैन। एउटा नागरिकले चुनावमा भोट हाले पनि, नहाले पनि जानेर÷नजानेर कुनै पक्षमा भोट पुग्छ। मतपेटिका बोक्नेतिर या बहिष्कारवादीतिर। नेपाली लेखक संघतिर पनि युवाहरूले दौडधुप÷असिनपसिन गरेका दृश्य कुनै न कुनै पर्दाले हामीतिर फालिदिन्थ्यो।
तर, लेखक राजनीतितिर लागेको कुरा प्रलेसतिर मात्रै फर्केर गरियो। के यी टिप्पणी साँच्चै स्वतन्त्र छन्? सोच्छु, स्वतन्त्रताको आवरण देश-दुनियाँदेखि आफैंसम्मलाई ढाँट्ने मुलायम ढोंग हो। पार्टीहरूप्रति निरपेक्ष-सापेक्ष दुवै हुन सकिन्छ। तर, विचारधाराप्रति निरपेक्ष हुन मुस्किल छ। मैले स्वतन्त्रताको भ्रम च्यातिदिएँ। र, प्रलेसमा जोडिदिएँ आफूलाई।
साथीहरूले हानेको झटारो हो, 'तिमी किन नेपाली लेखक संघमा नगएको?'कारणहरू छन्, प्रश्नमा र उत्तर दुवैमा। मलाई धेरै माया गर्ने गुरुहरू कृष्ण गौतम, डा. दुर्गाबहादुर घर्तीदेखि मेरा थुप्रै लेखक साथी डेमोक्र्याट छन्। लाग्छ, प्रश्नको रचनागर्भ त्यही हो। तर, वैचारिक जमिन माक्र्सवाद हो मेरो।
अध्यक्ष नवराज लम्सालको कुरा लीलामय भ्रम र आलोकाँचो ढोंगको दोसाँधमा झुन्डिरहेको भान हुन्छ। कुनै पनि संघ÷संगठनको उद्देश्य हुन्छ, उद्देश्य विचारनिर्देशित नै हुन्छ। नेलेसले प्रश्न गर्न काउकुती लगाउँछ, के कांग्रेस विचारविहीन पार्टी हो ? प्रलेसलाई कांग्रेसले किन मन पराउँदैन ? नेलेस किन कांग्रेसले मन गराउने गरी लेख्छ?
नेलेसले आफूलाई लोकतान्त्रिक भनी सिंहगर्जन गर्छ। दृश्यमा त्यहाँ निख्खुर कांग्रेसीजनको हालिमुहाली देखिन्छ। नाममै 'लोकतान्त्रिक' र 'प्रजातन्त्र' शब्द जोडिएका अन्य पार्टीहरू पनि पूरापूर सक्रिय छन् नेपाली राजनीतिमा। तर, कांग्रेसीबाहेक अन्य प्रजातान्त्रिक लेखक समूह त्यहाँ अटाएको देखिँदैन। कवि श्रवण मुकारुङ कुनै पार्टीमा खुलेर नलागुन्जेल प्रलेसको राष्ट्रिय सम्मेलनमा देख्न पाइन्थ्यो।
कांग्रेस प्रवेशपछि मात्र कवि श्रवण मुकारुङ नेलेसमा अटाए। उदाहरण काफी छ, नेलेस कांग्रेसको मात्र पेवापात हो भन्ने। कुनै बेला राजकुमार बानियाँले प्रश्न गरे, 'नेपाली लेखक संघ हो कि झापाली लेखक संघ हो?'धन्न ! जवाफमा 'झापाली कांग्रेस कलम संघ' भनेनछन्। अहिले भने केही परिवर्तन भएको देखिन्छ त्यहाँ। भन्नलाई नेलेसले आफूलाई प्रलेसभन्दा एक वर्ष जेठो भन्छ। तर, उसको विश्वसनीय इतिहास दृश्यमा छैन।
प्रलेसले हरेक वर्ष पाँचसातवटा कार्यक्रम गर्छ, पत्रिका नियमित प्रकाशन गर्छ। तर, नेलेसको संलग्नतामा मोहन कोइराला विशेषांकमात्र पढ्न पाइयो। नेलेसले सानेपा, देउवा दरबार, कोइराला कटेजतिर कविगोष्ठी र छलफल गर्दो हो जो हामीलाई थाहा हुन्न। त्यहाँ बीपी, लेखनाथहरूलाई अघि सारिन्छन्। लेखनाथजस्ता शास्त्रीय र आध्यात्मिक लेखकलाई आधुनिक देख्ने आँखा कति पुरातन होला? फूलबट्टा नभरे पनि बीपी समर्थ लेखक हुन्।
एक दशकअघि मास्टर्समा बीपी विशेष पढेको हुँ। उनीमाथि मेरा एकाध समालोचना पनि प्रकाशित छन्। तर, राजनीतिक दर्शनमा आएपछि कोइरालाको अर्को आयाम देखिन्छ। उनी 'महाराजाधिराजको अधिनायकत्व'मा उत्तरदायी शासनको पक्षमा खुलेर लागेका हुन्। अस्तिसम्म गिरिजाबाबु 'बेबी किङ' भन्दैथे।
नरहरि आचार्य र गगन थापाहरूले गणतन्त्रको झन्डा बोकेर ठूलै जोखिम मोलेका हुन्। हालैको कांग्रेस महाधिवेशनमा बहुमत प्राप्त अनुहारको 'हिजो'लाई हेर्नासाथ यथार्थ चित्र सतहमा देखिन्छ। अझै पनि राजसंस्था, हिन्दू धर्मका पक्षधरहरू चलायमान छन् त्यहाँभित्र।
कांग्रेसका इतिहासकार राजेश गौतमले भर्खरै भनेका छन्, 'गणतन्त्र स्वीकारसँगै नेपाली कांग्रेसले आफ्नो सिद्धान्त छोड्यो।' कांग्रेसीवृत्त पुरातनपन्थी रहेको उदाहरण प्रशस्तै छन्।
नेलेसका सबै पूर्व अध्यक्ष एकेडेमीको घुम्ने मेचमाथि पुगेका छन्। अब पालो नयाँ अध्यक्षको आउला। प्रलेसका केही लेखक पनि कुर्सीमा पुगेका छन्। तर, तिनलाई प्रलेसले सिफारिस गर्दैन, आफ्नै वैचारिक घटकले गर्दो हो।
प्रलेसमा खगेन्द्र संग्रौलाजस्तो बागी लेखक छन् जो सडकमै बसेर उत्पीडितको पक्षमा बोल्छन्। पारिजातजस्ता लाभको पदमा नजाने स्वाभिमानी लेखक छन्। जीवन आहुति दिन परे पनि जनताको पक्षमा बोलिरहने 'इच्छुक' छन्। उत्पीडितको पक्षमा उभिने यस्ता अनुहार नेलेसमा पाइनँ मैले। त्यहाँ धेरैजसो सत्ताको तर मार्ने हातहरू देखेँ। अनि नेलेसमा गइनँ।
समीक्षक राजकुमार बानियाँसँगको कुराकानीमा नेलेसका नयाँ अध्यक्ष नवराज लम्सालले भनेका छन्, 'हामी कांग्रेसका कुरा लेख्दैनौं। हामीले लेखेको कुरा कांग्रेसले मन पराउन सक्छ।' नेलेसको साथमा कांग्रेस भएकोमा उनलाई गर्व छ। उनी अर्को प्रसंगमा नेलेसको विशेषता भनेकै 'निश्चित विचारको कोट नलगाउनु' मान्छन्।
अध्यक्ष लम्सालको कुरा लीलामय भ्रम र आलोकाँचो ढोंगको दोसाँधमा झुन्डिरहेको भान हुन्छ। कुनै पनि संघ÷संगठनको उद्देश्य हुन्छ, उद्देश्य विचारनिर्देशित नै हुन्छ। नेलेसले प्रश्न गर्न काउकुती लगाउँछ, के कांग्रेस विचारविहीन पार्टी हो?
प्रलेसलाई कांग्रेसले किन मन पराउँदैन? नेलेस किन कांग्रेसले मन गराउने गरी लेख्छ ? कांग्रेस किन साथमा छ? उत्तर सीधा र स्पष्ट छ— संघ र पार्टीबीच विचारको साइनो छ। ढाँट्नुको कुनै तुक छैन।
साहित्य सामाजिक जीवनको व्याख्या र आलोचना गर्दै परिवर्तन÷संघर्षको साधन बन्नसक्छ भन्ने कुरा अन्तर्राष्ट्रिय अभ्यासबाट पनि बोध गर्न सकिन्छ। हरेक रचना प्रत्यक्ष-परोक्ष राजनीतिक हुन्छ। कसैले प्रेम÷विवाह÷यौनबारे लेख्दा टिप्पणी आउँछ, यो राजनीतिक होइन। यी विषयलाई पर्गेल्ने वैज्ञानिक र धार्मिक दृष्टिकोण छैनन् र?
लाग्छ-धर्म सबैभन्दा भयानक राजनीति हो जो शोषण÷दमनका लागि प्रयोग गरिन्छ। तर, नेलेस विचारको कोट नलगाउने कुरा निर्लज्ज भन्छ। उसो भए नेलेस कांग्रेसी कोटाको नियुक्त कोट छान्ने लेखक-मण्डली मात्र हो त?
नेलेसका पूर्व वरिष्ठले सार्वजनिक रूपमै भनेका छन्, 'साहित्य मात्र साहित्य हुन्छ, प्रगतिशील-अप्रगतिशील, दलित-अदलित हुँदैन।' भजन र क्रान्तिचेतलाई समान देख्ने नेलेसको चस्मा मेरो आँखाअनुकूल छैन। म नांगो आँखाले उत्पीडित÷दलितको कथा पढ्न चाहन्छु। समय-सन्दर्भमा बोल्न लेख्न चाहन्छु पनि। त्यसैले नेलेसमा गइनँ।
नेलेसको साथमा उत्तरआधुनिकता छ। भनियो÷लेखियो— महिला, जनजाति, तेस्रो लिंगी, सवाल्टर्नको पक्षमा छ उत्तरआधुनिकता। सुरुसुरुमा मैले पनि निकै नजिकबाट अध्ययन गरेको थिएँ उत्तरआधुनिकतालाई। तर, संविधान लेखन र आन्दोलनका निर्णायक घडीमा उत्तरआधुनिकतावादी विद्वान्हरू भर्चुअल शैलीमा दुलोभित्र अन्तध्र्यान भए।
नेलेसको भनाइ छ, 'हामी सम्पूर्ण निषेध र नियन्त्रणभन्दा माथि छौं।' तर, नेलेसले प्रगतिवाद, माक्र्सवाद, वर्गसंघर्षजस्ता कोणबाट साहित्य अध्ययन कहिले गरेको छ? के त्यो निषेध होइन? विचारको कोट नलाउनु भनेकै जीवन्त विचारको निषेध गरिन्छ भन्ने लक्ष्यार्थ होइन र?
माक्र्सवादको कोटमात्र नलगाउने भनिएको हो भने विचार माक्र्सवादमात्र हो भनी स्वीकार गरिएको बुझिन्छ। यता प्रलेसको साहित्यिक अध्ययन-अनुसन्धानमा भानुभक्त, उत्तरआधुनिकतादेखि बीपीसम्म आएकै छन्। नेलेसले 'लेखकीय स्वतन्त्रताको बहस चलाउने' दाबी गर्छ। परिवर्तनको पक्षमा लेखेकै आधारमा कृष्ण सेन 'इच्छुक' मारिए। नेलेसले इच्छुकलाई साहित्यिक सहिद मानेर बहस÷विमर्श गर्ने आँट गर्छ?
समाजमा गरिबी रहुन्जेल अर्थात् आर्थिक रूपमा सर्वहारा वर्ग छउन्जेल स्वतन्त्रता केवल स्वप्नवत् विम्बमात्र हो। आफैंलाई चपाइदिने भोको स्वतन्त्रताको भजन गाउन सक्दिनँ। त्यसैले नेलेसमा गइनँ म।पक्का हो, लेखनमा कलाको बहसलाई अझ गम्भीर रूपमा उठाउनु जरुरी छ प्रलेसले। विवाद छैन— विचार र कलाको सुसंयोजनको प्रतिफल साहित्य हो। नारा÷एजेन्डा÷केन्द्रबिनाको लेखन कस्तो हुन्छ?
स्वाभाविक हो, सत्तामा बस्ने मान्छेको बोली मधुर हुन्छ। क्रान्तिकालीन भाषण गर्ने विद्या भण्डारी र राष्ट्रपतीय वक्तव्य दिने विद्या भण्डारीको बोलीको आरोह÷अवरोह पृथक हुन्छ नै। सत्तासँग तातो रिस उठे साथमा बन्दुक हुन्छ। तर, उत्पीडितहरूले पीडा ओकल्दा चिच्याउनुको विकल्प छैन।
नेलेसले प्रलेसमा जार्गन÷नारामात्र देख्छ। र, नबुझेको अभिनय गर्छ। कहिलेकाहीँ ताज्जुब लाग्छ, किसानका कविता नबुझ्नेले फर्सीको जराजस्ता चक्करदार विम्ब कसरी बुझे होलान् र मोहन कोइरालालाई बोके होलान्? कि कोइरालालाई कांग्रेसमात्र बुझे?
लेखकले अमूक दलको झन्डाभन्दा वैचारिक प्रतिबद्धता बोकेको मन पर्छ मलाई। विमर्श रुचाउँछु। र, त प्रलेसमा छु। तर, यी हात ताली बजाउनमात्र पक्कै उठाइने छैन। प्रश्न र उत्सुकता लिएर पुगेको छु। बहस बिलाएको समय या विमर्शफोबिया लागेको दिन प्रलेसको यो साझा मञ्चबाट लुसुक्क बाहिरिनेछु।
म किन होइन?
उमा सुवेदी
म सानैदेखि बीपी कोइरालाको व्यक्तित्वबाट प्रभावित भएकी थिएँ। स्कुल पढ्दाताका गाउँघरमा उनको पक्ष-विपक्षमा कुराकानी र बहस भएको सुन्थेँ। जसले यतिका मान्छेको ध्यान आकर्षित गरेको छ, त्यो मान्छे पक्कै चानचुने होइन भन्ने अवधारणा मभित्र उतिबेलै बसिसकेको थियो। बीपी मलाई जादुई व्यक्तित्वका धनीजस्ता लाग्थे।
उतिबेलै मेरा गाउँठाउँमा सक्रिय कम्युनिस्ट नेताहरूका समाचार, विचार र लेखहरू प्रशस्त पढ्न र सुन्न पाइन्थ्यो। स्कुलमा सांस्कृतिक कार्यक्रम भइरहन्थे। हाम्रो घरदेखि पूर्व र पश्चिमतिर दुईटा बाटा थिए। हाम्रो घर दुई बाटाको बीचमा पथ्र्यो। घरदेखि पूर्वतिरको बाटाका साथीहरू सबै कम्युनिस्ट नेताका विचारबाट प्रभावित थिए भने पश्चिमतिरका साथीहरू बीपीका विचारहरू मन पराउँथे।
हाम्रो खानेपानीको धारो पनि पश्चिमतिरको बाटामै पथ्र्यो। स्कुल जाँदा पनि म पश्चिमतिरकै बाटो प्रयोग गर्थेँ। त्यसो हुनाले पूर्वतिरको गाउँका साथीहरू विस्तारै मबाट टाढिन थाले। स्कुलमा भलिबल खेल्दासमेत मलाई उनीहरूले छुट्याउन थाले। केही सारो÷गाह्रो पर्दा सहयोग गर्नुको सट्टा व्यंग्य कस्न थाले। घरदेखि अल्लि मास्तिर ठूलो वरको रूख थियो।
शीतल ताप्नलाई रूखको फेदमा काठका चौताराहरू बनाइएका थिए। जुनसुकै पार्टीका नेता आउँदा पनि गाउँलेहरूलाई आफ्ना कुरा सुनाउने उपयुक्त ठाउँ भएको थियो वरको फेद। नेता आउने दिन बिहानैदेखि माइक घन्किरहेको हुन्थ्यो। म जुनसुकै पार्टीका नेता आए पनि भाषण सुन्न छुटाउँदिनथेँ। बिस्तारै कम्युनिस्ट नेताहरूको आगमनमा हुने कार्यक्रमहरूमा जाँदा तिनै साथीहरूले मलाई भन्न लागे, 'यो त कांग्रेसीहरूसँग हिँड्छे। यो पनि कांग्रेसी हो।'
गाउँमा कम्युनिस्ट नेताहरू आउने क्रम बढ्दै गयो। उनीहरूका कुराकानी, भाषण र उनीहरू आउने दिन बिहानदेखि घन्किने गीतहरू सुन्ने क्रम पनि बढ्दै गयो। गीतसंगीतप्रति त मेरो सानैदेखि निकै झुकाव थियो।
उनीहरूका कुराकानी र भाषण सुन्दा मलाई लाग्थ्यो, यिनीहरू पनि असल मान्छे हुन् तर त्यसबेला उनीहरूले बोलीचालीमा प्रयोग गर्ने शब्दावलीहरू मेरा लागि जटिल लाग्थे। मलाई लाग्थ्यो, उनीहरू आम मान्छेका दु:ख, पीडाका कुरा गर्नै आएका हुन् र गरिरहेका पनि छन्। तर आम मान्छेले नै नबुझ्ने भाषामा आफ्ना कुरा सुनाइरहेका छन्।
जसलाई बुझाउन यति मेहनतसाथ कुराकानी गरिहेका छन्, उनीहरूले नै नबुझ्ने भएपछि मेरो ध्यान उनीहरूका कुराले तान्नै सकेन। त्यसैले किशोरावस्थादेखि नै म उनीहरूको बोझिलो लाग्ने भाषा, शब्दावली र त्यसभित्र अन्तर्निहीत विचारसित नजिक हुनै सकिनँ। अहिले पनि कहिलेकाहीँ म कम्युनिस्ट साहित्यहरू पढ्ने प्रयास गर्छु। तर मलाई तिनमा प्रयुक्त भाषाले तर्साउँछ।
कम्युनिस्ट भनेर चिनिएका केही साहित्यकारहरूको लेखनीसित म अहिले पनि प्रभावित छु। तर, जसलाई म कम्युनिस्ट विचारको असल लेखक भनेर रुचि मानेर पढिरहेकी हुन्छु, कतिपय कम्युनिस्ट नेता, कार्यकर्ता र कतिपय प्रगतिशील लेखकका रूपमै पहिचान बनाएकाहरूले तिनको निन्दा या आलोचना गरिरहेका हुन्छन्।
काठमाडौं आएर क्याम्पस पढ्दाताकासम्म मैले बीपीका उपन्यासहरू पढिसकेकी थिएँ। उनको लेखनले मलाई सम्मोहित बनाइसकेको थियो। त्यसपछि उनको 'आत्मवृत्तान्त' र 'जेल जर्नल'ले उनको सोच र चिन्तनलाई बुझ्न अझै अभिप्रेरित गर्यो। मैले माक्र्सलाई सतही रूपमा मात्र पढेकी थिएँ।
बीपीबाट प्रभावित भएपछि मैले बीपीकै आँखाबाट माक्र्सलाई बुझेँ। बीपीले अवलम्बन गरेको समाजवादको अवधारणा माक्र्सकै चिन्तनबाट अभिप्रेरित रहेछ। गान्धी र माक्र्स दुवैबाट प्रभावित तर कम्युनिस्टबाट फरक रहेर एक खालको समन्वयात्मक सिद्धान्तको रूपमा बीपीले प्रजातान्त्रिक समाजवादलाई अँगालेका रहेछन्।
अझ नजिकबाट बुझ्दै गर्दा यसमा साम्यवाद जस्तो कट्टरता पनि रहेनछ र पुँजीवाद जस्तो हैकमी चिन्तन पनि रहेनछ। यसले देशको विकासका लागि खुला बजारको अवधारणालाई स्वीकार्दो रहेछ र कतिपय कुरामा आर्थिक मुद्दाहरूमा राज्यको हस्तक्षेपलाई पनि समर्थन गर्दोरहेछ।
यही कारणले जग्गाको हदबन्दी, भूमिसुधार, जग्गामाथि जोत्नेको अग्राधिकारजस्ता नीतिलाई प्रजातान्त्रिक पक्षधर भएर आएको नेपाली कांग्रेसले महत्वका साथ लागू गरेको रहेछ। मलाई अझै पनि लाग्छ, नेपालको अर्थ राजनीतिमा त्यतिको क्रान्तिकारी परिवर्तन भएकै थिएन।
मान्छे आफ्नो विवेक र विचारले परिचालित भइराखेको हुन्छ। साहित्य लेखन विचारविहीन हुनै सक्दैन। सीमान्तकृतका कुरा लेख्न मलाई पनि मन लाग्छ र म जुन प्रजातान्त्रिक समाजवादको पक्षधर हुँ, त्यसले मलाई सीमान्तकृतका कुरा लेख्नबाट वर्जित गर्दैन। मान्छे विचार मिलेपछि एक ठाउँमा गोलबद्ध हुने नै भइगयो। त्यसैले म नेपाली लेखक संघप्रति आबद्ध हुन पुगेकी छु।
प्रजातान्त्रिक समाजवादले मिश्रित आर्थिक व्यवस्थालाई महत्व दिँदोरहेछ। त्यसैले यो व्यवस्थामा आर्थिक न्यायको कुरा बढी व्यावहारिक र वैज्ञानिक लाग्दोरहेछ। यही चिन्तनबाट अभिप्रेरित भएर बीपीले सामाजिक न्यायसहित सीमान्तीकृत वर्गको उत्थान र आरक्षणका कुराहरू उठाएका रहेछन्।
साना उद्योग र पुँजीलाई महत्व दिएर देश विकासका लागि विदेशी पुँजीलाई पनि सर्तसहित स्वीकार गर्ने वैज्ञानिक नीतिलाई अवलम्बन गरेका रहेछन्। बीपीले योजनाहरू बनाउँदा हलो जोतिरहेको किसानको विम्बलाई सम्झिनुपर्छ भनेर विचार प्रकट गरेका थिए।
ठूला राजमार्गको निर्माणसँगै एउटा गाउँदेखि अर्को गाउँ जोड्ने, एउटा समाजदेखि अर्को समाजलाई जोड्ने गोरेटो बाटोको विकासको कुरा गरेका थिए। सबै जनतासित कम्तीमा एउटा छाप्रो होस्, गोठमा दुहुनो गाई पनि होस्, एक हल गोरु होस् र जोत्नलाई अलिकति जमिन पनि होस् भन्ने बीपीको विचारले मलाई अन्तर्आत्मादेखि नै प्रभावित बनाएको थियो।
यी यावत् कारणले म बीपीको चिन्तनसित नजिक हुन पुगेँ र नेपाली कांग्रेसको भोटर भएँ। २०५३ सालतिर नेविसंघका साथीहरूसँग निकै नजिक रहेर केही काम पनि गरेँ। तर विस्तारै लेखनप्रति अनुराग उत्पन्न हुँदै गएपछि सक्रिय राजनीतिको मोह भने भंग हुँदै गयो।
मान्छे आफ्नो विवेक र विचारले परिचालित भइराखेको हुन्छ। अझ साहित्य लेखन विचारविहीन त हुनै सक्दैन। मलाई पनि लेखनमा सीमान्तकृतहरूका कुरा लेख्न मन लाग्छ र म जुन प्रजातान्त्रिक समाजवादको पक्षधर हुँ, त्यसले मलाई सीमान्तकृतहरूका कुरा लेख्नबाट वर्जित गर्दैन। मान्छे विचार मिलेपछि एक ठाउँमा गोलबद्ध हुने नै भइगयो। यही कारण म अहिले नेपाली लेखक संघप्रति आबद्ध हुन पुगेकी छु।
हामीकहाँ एउटा पक्षको लेखकलाई अर्को पक्षले खुबै आलोचना गर्ने परिपाटी थियो। प्रजातन्त्रवादीले प्रगतिशीललाई र प्रगतिशीलले प्रजातन्त्रवादीलाई लेखकै नमान्ने स्थिति पनि थियो। हालका दिनमा भने मैले यस्तो सोचमा परिवर्तन आउँदै गरेको देखेकी छु।
हालै भएको प्रगतिशील लेखक संघमा कतिपय युवा लेखकहरू आउनुभएको छ। उहाँहरूको लेखनबाट म प्रभावित छु। प्रगतिशील लेखक संघमा त्यस्ता असल लेखकहरूको जमघट हुन थालेपछि म अब हामीकहाँको साहित्यिक बहस कुण्ठा र आवेश प्रेरित नभएर तर्क र विचारको आधारमा हुनेछ भन्ने कुरामा विश्वस्त हुँदै गैरहेकी छु।
म संलग्न नेपाली लेखक संघमा पनि नेपाली साहित्यमा परिचय र पहिचान बनाइसक्नु भएका साथीहरू पनि आउनुभएको छ। त्यसैले म यसले भविष्यमा बहस केन्द्रित उपयोगी कार्यक्रम गर्नेछ भन्नेमा विश्वस्त छु। म व्यक्तिगत रूपमा पनि यस विषयमा प्रयत्नशील हुनेछु।
उसो त प्रजातन्त्र र साम्यवाद दुवै राज्यप्रणालीका फरक नाम हुन्। प्रजातन्त्रमा जनताको प्रत्यक्ष सहभागितालाई महत्व दिएर जनताकै इच्छाअनुसारको आवधिक निर्वाचनलाई महत्व दिइन्छ। प्रजातन्त्रका मोडेलहरू फरक भए पनि सिद्धान्ततः यो जनताप्रति उत्तरदायी सरकार र संवैधानिक संस्थाहरूको पक्षमा हुन्छ।
संसदलाई महत्व दिन्छ। संसदमार्फत यो परिवर्तनको पक्षधर हुन्छ। यसले बहुमत र बहुदललाई समर्थन गर्छ। त्यसैले पनि मलाई प्रजातान्त्रिक व्यवस्था अलिक बढी सहिष्णु, अलिक बढी व्यावहारिक र अलिक बढी वैज्ञानिक लाग्छ। यही कारणले म यसतर्फ आकर्षित भएकी हुँ।
प्रजातन्त्रप्रतिको मेरो पक्षधरता सधैँ कायम रहनेछ। फेरि मैले विधार्थीकालदेखि नै नेपालका वामपन्थी पार्टीहरू स-साना मतभेदका कारण टुटेको, टुक्रिएको सुनेकी छु। उनीहरूले सधैं आफ्ना विपक्षीलाई साम्राज्यवादी, संशोधनवादी, नवसंशोधनवादी, प्रतिक्रियावादीजस्ता आरोप लगाइरहेका सुनिन्छन्।
यस्ता कुरा अप्रिय लाग्छन् मलाई। तर, वामपन्थी चिन्तनका नयाँ पुस्ताका राजनीतिज्ञ र बुद्धिजीवीहरू भने यस्ता खालका शब्दजालबाट मुक्त हुँदै गएजस्तो देख्छु। यो कुराले भने मलाई निकै खुसी दिन्छ।
बाहिरबाट हेर्दा लेखकहरू आ-आफ्नो विचारअनुसारको लेखक संघमा आबद्ध भएको जस्तो देखिए पनि यसलाई म गुटबन्दी भने मान्दिनँ। यो अत्यन्त स्वाभाविक कुरा हो। किनभने विचार फरक भएपछि हाम्रा लेखनका पद्धति पनि फरक हुन्छन्। चिन्तनका प्रक्रिया फरक हुन्छन्।
हामीले उठाएका विषय र त्यसले निर्दिष्ट गर्ने सरोकार र समाधानका विषय पनि फरक हुन्छन्। तर, अन्ततः हामी लेखकहरू उभिने सामाजिक न्यायकै लागि हो। त्यसैले प्रलेसमा जति पनि साथी हुनुहुन्छ उहाँहरूको निजी चिन्तन र विचारलाई सम्मान गर्नमा मलाई कुनै आपत्ति छैन।यसले स्वस्थ बहसलाई प्रोत्साहित गर्छ र त्यस्तो खाले बहसले लेखकहरूलाई निकै फाइदा पुग्छ भन्ने मलाई लाग्छ।
http://www.annapurnapost.com बाट साभार
=========================================
No comments:
Post a Comment