Saturday, August 6, 2016

प्रगतिशील लेखक सङ्घलाई सुझाव पत्र

काठमाडौं, २३ फागुन:
mahasangh
अध्यक्ष, प्रगतिशील लेखक सङ्घ, केन्द्रीय समिति
बागबजार, काठमाडौँ ।
 
विषय : सुझाव पत्र ।
 
प्रगतिशील लेखक सङ्घ सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद तथा प्रभुत्ववादविरोधी स्रष्टाहरूको साझा मोर्चा हो ।
 
यो नै यसको वैचारिक एवम् नीतिगत नाभीकीय आधार पनि हो । प्रगतिशील दृष्टिकोण राख्ने स्रष्टाहरूदेखि समाजवादी यथार्थवादलाई अँगाल्ने प्रगतिवादी स्रस्टाहरूसमेत यसमा प्रतिबद्ध रहँदै आएका छन् ।
 
वर्गविभक्त समाजमा वर्गसङ्घर्षलाई रूपान्तरणको प्रेरक तत्व ठान्ने र श्रमिकवर्गलाई सम्पूर्ण भौतिक एवम् भावनात्मक सम्पदाका स्रष्टा र इतिहासका निर्माता स्वीकार गर्दै द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्यचिन्तनको आधारका रूपमा अँगाली समाजमा व्याप्त सामन्तवाद, साम्राज्यवाद, प्रभुत्ववाद तथा विस्तारवादको विरोध गर्ने अनि कला साहित्यका क्षेत्रमा वैज्ञानिक चेतनाले सुसज्जित समाजवादी यथार्थवादी धाराको प्रतिनिधित्व÷पक्षपोषण गर्ने साङ्गठनिक रूपमा प्रतिबद्ध सर्जकहरूको साझा मञ्चको आवश्यकतालाई मध्यनजर गर्दै २००९ सालमा राष्ट्रियस्तरको सङ्गठन प्रगतिशील लेखक सङ्घको निर्माण गरिएको थियो ।
 
इतिहासको एउटा कालखण्डमा एउटा आवश्यकताका आधारमा निर्मित प्रगतिशील लेखक सङ्घ आजको वर्गसङ्घर्षको जटिल अवस्था एवम् नेपालको सार्वभौमिकता अत्यन्त सङ्कटपूर्ण अवस्थामा रहेको बेला अब परम्परागत ढाँचाले प्रलेसले ऐतिहासिक जिम्मेवारी पूरा गर्न कठीन छ ।
 
त्यसका निमित्त प्रगतिशील स्रष्टाहरूलाई सङ्गठित गर्नु, उनीहरूको प्रतिभाको परिष्कारका निम्ति वातावरण निर्माण गर्नु, उनीहरूलाई प्रेरित र प्रोत्साहित गर्नुु, वैचारिक रूपले माझ्नु र परिचालित गर्नु, सङ्गठनलाई बलियो बनाउनु र परिवर्तनका निम्ति सर्जकीय हस्तक्षेपसहित सङ्घर्षमा ओर्लनु आजको आवश्यकता हो ।
 
वस्तुगत अवस्था र आवश्यकताअनुसार विकास गर्न नसकिए यसको औचित्यमाथि प्रश्नचिन्ह उठ्नु स्वाभाविक बन्न जान्छ ।
 
प्रलेसको औचित्य सावित गर्न एवम् यसको अविरल यात्रालाई सुनिश्चित गर्न नेपाली समाजको समकालीन वर्गचरित्रको ठोस विश्लेषण र अग्रगामी पहलकदमी पहिलो शर्त बन्ने कुरा स्वतःसिद्ध छल ।
 
प्रतिक्रियावादी सत्ताको तावेदारीका विरुद्ध आन्दोलित हुनु र अग्रगामी निरन्तर प्रवाहमा हेलिनु प्रलेसको मूल चरित्र हो र हुनुपर्छ । तसर्थ, यसैमा केन्द्रित रहेर हामीले केही सुझाव प्रस्तुत गरेका छौँ 
 
सुझाव पत्र
१. नेपालको वर्गसङ्घर्षको बदलिदो परिस्थितिलाई ख्याल गर्दै दायाँ र बायाँ तथा माथिदेखि तलसम्म प्रगतिशील लेखक सङ्घको सङ्गठनात्मक पुनर्संरचना गरियोस् । यसको पुनव्र्याख्या र पुनर्परिभाषित पनि गरियोस् ।
 
२. प्रगतिशील लेखक सङ्घ माक्र्सवादी सङ्गठन भएको हुँदा यसमा माक्र्सवाद लागु गरियोस् । सिद्धान्त माक्र्सवादी हुने र क्रियाकलाप गैर–माक्र्सवादी हुनेजस्ता नितान्त गलत क्रियाकलाको अन्त्य गरियोस् ।
 
३. प्रलेसलाई सामूहिक नेतृत्व प्रणालीका आधारमा सञ्चालन गर्दै यसको मूल नेतृत्व अर्थात् कमसेकम अध्यक्ष र महासचिव पूर्णकालीन हुने व्यवस्था गरियोस् ।
 
४. वामपन्थीको आबरणमा र विभिन्न वाहनामा प्रलेसमा घुसेकाहरूको सदस्यता खारेज गरियोस् । गैर–माक्र्सवादी घटकलाई प्रलेसमा समावेश नगरियोस् ।
 
५. विद्यमान सामन्तवादी तथा साम्राज्यवादी संस्कृतिका विरुद्ध सङ्घर्ष गर्दै जनवादी संस्कृतिको योजनाबद्ध निर्माणका साथै मुलुकको जनगणतान्त्रिक रूपान्तरणका निम्ति शब्द र कर्मको एकत्व हुनेगरी सक्रिय बनाइयोस् ।
 
६. अन्धविश्वास, रुढिवाद तथा सबैखाले अवैज्ञानिक एवम् यथास्थितिवादी विचार र रचनाप्रति आलोचक हुँदै वैज्ञानिक एवम् प्रगतिवादी सिर्जनकर्मलाई विकसित एवम् समृद्ध तुल्याउन योजनाबद्ध रूपमा क्रियाशील संस्थाको रूपमा विकास गरियोस् ।
 
७. देशभित्र विद्यमान सबै भाषाको विकासका निम्ति भाषिक समानताको अधिकारको पक्षपोषण गर्दै उक्त समान भाषिक अधिकारको प्राप्ति एवम् अन्तर्भाषिक सामञ्जस्यका साथै विभिन्न भाषामा जनपक्षीय साहित्य–संस्कृतिको विकासका निमित्त कार्ययोजना बनाइयोस् । सबै भाषाका व्याकरणात्मक मानक तयार गरियोस् ।
 
८. राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता तथा आत्मनिर्भर अर्थतन्त्रका पक्षमा रहँदै बिप्पालगायत सबै प्रकारका असमान सन्धिहरूका विरुद्धमा दृढतापूर्वक उभियोस् ।
 
९. विद्रोह गर्नु अधिकार हो भन्ने मान्यतालाई आत्मसात् गर्दैै सम्पूर्ण जनसमुदायका न्यायपूर्ण सङ्घर्षका पक्षमा दृढतापूर्वक कलम चलाउने तथा सबैखाले निरङ्कुशताको विरोध गर्दै न्याय, समानताका निम्ति प्रलेसलाई सङ्घर्षशील संस्था बनाइयोस् । दुईलाइन सङ्घर्ष र अन्तर्सङ्घर्षलाई मैत्रीपूर्ण बनाइयोस् । आलोचना–आत्मालोचनाको विधिलाई व्यवस्थित र अनिवार्य बनाइयोस् ।
 
१०. वर्गीय, लैङ्गिक, जातीय तथा वर्णगत, धार्मिक एवम् क्षेत्रीय विभेद तथा उत्पीडनका विरोधमा दृढतापूर्वक उभियोस् ।
 
११. विभिन्न स्वदेशी तथा विदेशी भाषाका प्रगतिशील कृतिहरूलाई विभिन्न भाषामा रूपान्तरण गर्ने योजना ल्याइयोस् । महत्वपूर्ण प्रकाशनको कामलाई निरन्तरता दिइयोस् । विभिन्न क्षेत्रका विज्ञहरूलाई समेट्न विज्ञ समूह गठन गरियोस् । सल्लाहकार समितिलाई गतिशील र कामकाजी बनाइयोस् ।
 
१२. प्रलेस साम्राज्यवादी क्रियाकलापको विरोध गर्दै अन्यायपूर्ण युद्धका विरुद्ध हुने जनवादी तथा राष्ट्रिय मुक्ति आन्दोलन एवम् सङ्घर्षको पक्षमा दृढतापूर्वक उभियोस् । भारतीय विस्तारवाद तथा प्रभुत्ववाद नै नेपाली जनवादी क्रान्तिको मुख्य अवरोधक हो भन्ने कुरालाई कहिल्यै पनि नबिर्सियोस् ।
 
१३. यसले अन्तर्राष्ट्रिय प्रगतिशील तथा जनवादी सांस्कृतिक–साहित्यिक सङ्गठनहरूसित भाइचारा एवम् मैत्री सम्बन्ध कायम राखियोस् । दक्षिण एसियाली वा एसियाली केन्द्रको रूपमा नेपालमा सङ्गठनात्मक सरचना खडा गरियोस् । एक केन्द्रीय स्तरको साहित्यिक सांस्कृतिक सूचना केन्द्रको स्थापना गरियोस् ।
 
१४. धर्मनिरपेक्षताका पक्षमा दृढतापूर्वक उभिँदै यसको पूर्ण व्यावहारिक प्रत्याभूतिका निम्ति आवाज उठाइयोस् । विभिन्न वैदेशिक स्वार्थ र उद्देश्यद्वारा प्रेरित भएर हुने गरेका धर्म परिवर्तनको विरुद्ध सङ्घर्ष गरियोस् ।
 
१५. सबै भाषाका प्रगतिशील साहित्यकारहरूको साझा मञ्चको रूपमा प्रगतिशील लेखक सङ्घलाई विकास गरियोस् ।
 
१६. अहिलेसम्मको कामको समीक्षा गर्दै यसको नेतृत्व, नीति, सङ्गठन, गतिविधि, सङ्घर्ष र प्राप्तिसम्बन्धी नयाँ संश्लेषण गरियोस् । साथै, यसको इतिहास लेखनको कामलाई तीब्रता दिइयोस् । माक्र्सवादी सौन्दर्यशास्त्रको विकासमा ठोस योजना अघि सारियोस् ।
 
१७. प्रलेसबटा सहमति र सहकार्यको संस्कृतिको विकास गर्न सोहीबमोजिम कार्ययोजना अगाडि बढाइयोस् ।
 
१८. डरलाग्दो उपभोक्तावादको जगमा खडा भएको पुँजीवादले उत्तर आधुनिकतावादी चिन्तनका माध्यमबाट कम्युनिस्ट विचार दर्शन र प्रगतिवादी साहित्यविरुद्ध भइरहेको तिखो प्रहारका विरुद्ध सङ्घर्ष गर्दै भारतीय विस्तावाद र साम्राज्यवादी सांस्कृतिक उत्पीडनका विरुद्ध निरन्तर सङ्घर्ष गर्न ठोस योजना अघि सारियोस् ।
 
१९. वैचारिक र सिर्जनात्मक रूपमा स्रष्टाहरूलाई प्रशिक्षित गर्न सक्दा नै सशक्त स्रष्टाहरूको पङ्क्ति तयार गर्न सकिन्छ र सार्थक रचनाहरूको सिर्जना सम्भव हुन्छ भन्ने कुरालाई प्रलेसद्वारा विशेष ध्यान दिइयोस् ।
 
२०. सहभागी सबै घटकहरूबाट आवश्यक महत्व प्राप्त गर्न तथा गतिशीलतालाई तीब्रता दिन सम्बन्धित घटकहरूले यसको महत्वलाई केन्द्रमा राखेर क्रियाशील हुने वातावरण निर्माण गर्न विशेष प्रकारको कार्ययोजना ल्याइयोस् ।
 
२१. प्रगतिशील साहित्यिक आन्दोलनमा समाविष्ट प्रतिभाहरूको विशाल पङ्क्तिलाई माक्र्सवादी विचारधारात्मक रूपमा सुस्पष्ट गर्न सक्ने सक्षम संस्थाको रूपमा सावित गर्न ठोस पहल गरियोस् ।
२२. प्रगतिशील स्रष्टाहरूबाटै प्रगतिशील साहित्यिक आन्दोलनका विरुद्ध उभिने स्रष्टाहरूको पूर्ण सूची बनाएर त्यसको सार्वजनिकीकरण तथा भण्डाफोर अभियान सञ्चालन गरियोस् । कम्युनिस्ट पार्टीको सदस्यता गोजीमा हालेर गैर–माक्र्सवादी वा क्रान्तिकारी कम्युनिस्ट आन्दोलन वा विचार, सिर्जनालाई दुत्कार्नेहरूको भण्डाफोर गरियोस् ।
 
२३. परिवर्तनको मर्मअनुरूपको संस्कृति निर्माणका निम्ति राज्यलाई दबाब दिनु, धर्मनिरपेक्ष संस्कृतिको निर्माणमा गम्भीरतम् भूमिका निर्वाह गर्नु, राज्य नियन्त्रित सञ्चार माध्यम र सांस्कृतिक संस्थाहरूलाई जनतान्त्रिक गणतन्त्रको मर्मअनुरूप डो¥याउन भूमिका निर्वाह गर्नु, वैज्ञानिक र प्रगतिशील विचारलाई महत्व दिनेगरी शैक्षिक क्षेत्रमा पाठ्यक्रम निर्माण गर्न हस्तक्षेपकारी भूमिका निर्वाह गरियोस् ।
 
२४. प्रलेस प्रतिभा पुरस्कार कार्यविधिलाई अझै वैज्ञानिक, विश्वासिलो आधार बनाइयोस् । विधागत विशेषताका आधारमा प्रलेस पुरस्कारको राशि र क्षेत्र विस्तार गरियोस् ।
 
२५. कला साहित्यको क्षेत्रमा साम्राज्यवाद एवम् विस्तारवाद विरोधी शक्तिहरूसित विभिन्नस्तरमा संयुक्त मोर्चा, कार्यगत एकता वा आपसी समझदारी कायम गरी तदनुरूप अगाडि बढ्ने योजनाको निर्माण गरियोस् ।
 
२६. राज्यका सबै निकाय तथा प्रायः सबै वामपक्षधर पार्टीमा रहेको प्रगतिशील साहित्य÷सङ्गठन÷मोर्चालाई महत्व नदिने र निरुत्साहित गर्ने प्रवृत्तिको अन्त्यका निम्ति विशेष योजनाको निर्माण गरोस् ।
 
२७. कमरेड माओको येनान प्रवचनलाई प्रलेसद्वारा आत्मसात् गरियोस् । नेपाली जनवादी क्रान्तिको राजनीतिक दिशा नै नेपालको जनवादी सांस्कृतिक आन्दोलनको दिशा हो भन्ने कुरालाई गम्भीरताका साथ ग्रहण गरियोस् ।
 
२८. प्रगतिवादी साहित्यका विविध विधामध्ये समालोचनाको क्षेत्र पछाडि रहेकोले यसको विकास र विस्तारमा प्रलेसबाट समालोचकहरूको विशाल पङ्क्तिको विकास गर्न तथा सिर्जना÷कृतिहरूको व्यवस्थित समालोचना गर्न विशेष कार्ययोजनाको घोषणा गरियोस् ।
२९. प्रलेसका आर्थिक हरहिसाब पारदर्शी गरियोस् । आय र खर्चका आधारहरू स्पष्ट पारियोस् । कतिपय व्यक्तिका नाम प्रकाशन भएका प्रलेसका प्रकाशनको अवस्थितिका बारे सार्वजनिक गरियोस् ।
 
३०. प्रलेस केन्द्रीय परिषद्लाई गतिशील बनाइयोस् । नयाँ यथार्थलाई स्थापित गर्ने किसिमका क्रियाकलाप र प्रकाशनमा जोड दिइयोस् ।
 
३१. प्रलेसलाई अधिकारसम्पन्न शक्तिशाली साझा मोर्चाको रूपमा विकास गरियोस् । यसले गरेका निर्णयहरू सहभागी सबै घटकहरूका लागि नजिर बनोस् । यसका लागि आत्मगत र वस्तुगत रूपमा वैचारिक तथा सैद्धान्तिक आधारहरू निर्माण गरियोस् ।
 
……………………………
माइला लामा
संयोजक, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समिति
एवम्, केन्द्रीय सदस्य, नेपाल कम्युनिस्ट पार्टी माओवादी
 

बोधार्थ
- पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष, एमाओवादी, कोटेश्वर, पेरिसडाँडा ।
- नेत्रविक्रम चन्द ‘विप्लव
महासचिव, नेपाल कम्युनिस्ट पार्टी माओवादी ।
- मोहन वैद्य ‘किरण’
अध्यक्ष, नेकपा क्रान्तिकारी माओवादी, बुद्धनगर, काठमाडौँ ।
- केपी शर्मा ओली
अध्यक्ष, नेकपा एमाले, धुम्बाराही, काठमाडौं ।
- मणि थापा
महासचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ।

http://janapati.com बाट साभार 

No comments:

Post a Comment