Sunday, January 22, 2017

सीमारहित छैन प्रलेस – खेम थपलिया

प्रगतिशील लेखक सङ्घले आफ्नो सङ्गठनात्मक जीवनमा विभिन्न उतारचढाव झेल्दै नआएको होइन । २०५२ फागुन ९ र १० गते भएको प्रलेसको तेस्रो राष्ट्रिय सम्मेलन तत्कालीन अखिल नेपाल जनसांस्कृतिक सङ्घ (हाल अखिल नेपाल जनसांस्कृतिक महासङ्घ), इसास, रक्तिम, जनकला सिर्जना समाजसँग सम्वद्ध लेखक–साहित्यकारहरूले बहिष्कार गरेका थिए । एमालेसम्वद्ध लेखक–साहित्यकारहरूले एकलौटी पार्टीको भातृसङ्गठन जस्तो बनाउन खोजिएको आरोप लगाइएको थियो । यो कुरा सामान्य थिएन तर पछिल्ला चरणमा आउँदा सबै एकै ठाउँमा भएको देखिन्छ । के कारणले फेरि एकै ठाउँमा आइएको हो वा के के कुरामा सहमति भएको वा के हो ? त्यो कुरा अहिलेसम्म अग्रजहरूले त्यति स्पष्ट पारेको देखापर्दैन तर पनि सही कुरा के हो भने यस किसिमका साझा मोर्चाको आवश्यकता सबैले महसुस गरेका छन्, गरिरहेका छन् । आफ्नो पार्टी, आफ्नो सङ्गठन राम्रोसित चलाउन नसक्ने अनि त्यसको पीडा प्रलेसमाथि पोख्ने कुरा सही हुँदैन । आफ्नै सङ्गठनमा त आफूले सोचेको जस्तो हुँदैन भने साझा मोर्चामा हुबहु आफूले सोचेको जस्तो खोज्नु मनासिव छैन ।

साझा मोर्चाको सीमा, आर्थिक अभाव, संस्थालाई पर्याप्त समय दिन नसक्नु र यसको साङ्गठनिक सञ्जाललाई व्यवस्थित गर्न नसक्नु यसको आफ्नै समस्याहरू त छँदैछन् । हामीलाई थाहा छ, वैज्ञानिक साङ्गठनिक व्यवस्थापन, कुशल आर्थिक व्यवस्थापन अनि स्पष्ट कार्यदिशाले प्रलेसको जीवन गतिशील र उपलब्धिमूलक हुनेछ । वैचारिक स्पष्टता यसको अर्काे अनिवार्य शर्त हो । सम्पूर्ण परिवर्तनकामी स्रष्टाहरूलाई सङ्गठित गर्ने सवाल अहम् बनेको छ । साझा मोर्चाका रूपमा रहेको यसले सम्बन्धित घटकहरूबाट आवश्यक महत्वबोध गराउन पनि सकेको पाइँदैन । प्रगतिशील साहित्यिक आन्दोलनमा समाविष्ट प्रतिभाको विशाल पङ्क्तिलाई विचारधारात्मक रूपमा सुस्पष्ट गराउन यसले कोसिस गरिरहेको छ ।

स्रष्टामा विश्वदृष्टिकोणमैै गम्भीर समस्या आउँदा त्यो धेरै खतरानाक हुन्छ । प्रतिबद्धता र आदर्शअनुरूपको सार्थक रचनाकर्मका निम्ति विचारधारात्मक स्पष्टता आवश्यक हुन्छ । यो स्पष्टता प्रतिध्रुबसँग विचारधारात्मक सङ्घर्षका निम्ति झनै आवश्यक छ । कलालाई श्रमसँग जोड्नु, गतिशील यथार्थको कलात्मक पुनःसिर्जन र सोद्देश्यतामा कलाको सौन्दर्य देख्नु, सबै प्रकारका उत्पीडनका विरुद्ध उभिनु, मानवद्वेषी विचार र कुरूप संस्कृतिका विरुद्ध खडा हुनु, सामाजिक न्याय, समानता र स्वतन्त्रताको पक्षमा आफूलाई दृढतापूर्वक उभ्याउनु, सामन्तवाद, साम्राज्यवाद, विस्तारवादलगायत सबैखाले प्रभुत्ववादका विरुद्ध खडा हुँदै राष्ट्रिय स्वाधीनताका निम्ति सङ्घर्षरत रहनु परिवर्तनकामी स्रष्टाहरूको दायित्व हो । प्रलेसलाई सबै भाष्Èाा, सबै प्रगतिशील स्रष्टाहरूसित जोड्न आवश्यक छ । सामाजिक–सांस्कृतिक रूपान्तरणको उद्देश्य बोकेका स्रष्टाहरू सर्वप्रथम आफैँ रूपान्तरित हुनुपर्दछ ।

हामीलाई लाग्छ, नेपालमा प्रलेसको औचित्य अझै बाँकी छ । औचित्य छैन भन्ने हो भने हामीले तुरुन्त कार्यालय बन्द गरेर हिड्नु उपयुक्त हुन्छ । औचित्य छैन पनि भन्दै गर्ने अनि त्यसमा घिस्रिरहने कुरा उपयुक्त हुँदैन । नत्र यो त कस्तो हुन्छ भने ‘अँध्यारो कोठामा लुकेर चूक खाने अनि उज्यालोमा आएर डकार्ने’ कुरा जस्तो हुन्छ । यसको स्थापनाकालदेखिकै गतिविधि एकपटक समीक्षा गरौँ त । सबै कुरा छर्लङ्ग भइहाल्छ । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्वदृटिकोणलाई व्यवहारमा ठीक ढङ्गले पकड्न नसक्नु र तदनुसार प्रतिवद्धता र स्पष्टता नहुनुजस्ता समस्या प्रलेसमा नभएका होइनन् ।

प्रगतिशील साहित्यिक आन्दोलन प्रतिध्रुबसँग सङ्घर्षरत छ र हुनुपर्दछ । कुरामा सङ्घर्षको गर्ने व्यवहारमा तिनैसित घाँटी जोड्ने कुरा हामीलाई अमान्य छ । नेपालमा सामन्तवादी संस्कृति जीवितै रहेको र सांस्कृतिक साम्राज्यवादको आक्रमण तीब्र भएको यतिबेला हामीले उत्तरआधुनिकतावादी कोकोहोलो कम्युनिस्ट विचार, दर्शन र प्रगतिवादी साहित्यका विरुद्ध खडा भएको कुरा राम्ररी नै बुझेका छौँ । यसका विरुद्ध विचारधारात्मक सङ्घर्ष र सिर्जनात्मक हस्तक्षेपलाई बढाउनुको कुनै विकल्प छैन । परिवर्तनको मर्मअनुरूपको संस्कृति निर्माणका निम्ति राज्यलाई दबाब दिनु, धर्मनिरपेक्ष संस्कृतिको निर्माणमा गम्भीरतम् भूमिका निर्वाह गर्नु, राज्य नियन्त्रित सञ्चार माध्यम र सांस्कृतिक संस्थाहरूलाई सङ्घीय गणतन्त्रको मर्मअनुरूप डो¥याउन भूमिका निर्वाह गर्नु, वैज्ञानिक र प्रगतिशील विचारलाई महत्व दिनेगरी शैक्षिक क्षेत्रमा पाठ्यक्रम निर्माण गर्न हस्तक्षेप गर्नुपर्दछ ।

यो कुरा साँचो हो कि प्रलेसले आफ्नो पक्षधरताको ख्याल गर्नैपर्दछ । प्रगतिशील लेखक सङ्घ माक्र्सवादी सङ्गठन हो । शब्द र कर्मको एकत्व कायम गर्दै अन्यायपूर्ण युद्धका विरुद्ध हुने जनवादी तथा राष्ट्रिय मुक्ति आन्दोलनमा प्रलेस दृढतापूर्वक उभिनुपर्दछ । कमरेड माओको येनान प्रवचनको स्पिरिटलाई प्रलेसलाई प्रेरणा बन्न सक्छ । नेपाली जनवादी क्रान्तिको राजनीतिक दिशा नै नेपालको जनवादी सांस्कृतिक आन्दोलनको दिशा हो भन्ने कुरामा कसैलाई कुनै शङ्का हुनुहुँदैन ।

http://www.janakhabar.com बाट साभार 

No comments:

Post a Comment