Thursday, August 10, 2017

सिर्जनामा वैचारिकता र प्रलेस - खोमा तरामु मगर

साहित्यिक आन्दोलनको इतिहासमा अहिले प्रलेसको उमेर ६४ वर्ष पूरा भएको छ । रूपन्देहीको हिसाबमा यो झण्डै ५० को सेरोफेरोमा दगुरिरहेको छ । उमेरको दृष्टिकोणले यो समय एउटा मान्छेको जीवनमा साँच्चिकै पूर्ण सचेत र परिपक्क समय हो । अक्षरहरूको दशक घुम्ती र साँघुहरूको म्याराथुनमा पछिल्लो पटक काव्यिकचेतसँगै समयबोधले मलाई पनि प्रलेसमा जोडेको हो । उमेर, अनुभव र अनुभूतिको दृष्टिकोणले मैले प्रलेसको बारेमा धेरै बोल्नु दुस्साहस हुन्छ । तर हामी नयाँ पुस्ताले आज ६४ वर्षपछिको यो समय विन्दुमा उभिएर यसको इतिहास अध्ययन गर्दा सर्जक र विचारकहरूको दूरदर्शिता र निरन्तर संघर्षको परिणाम नै आजको प्रलेस हो । नेपालमा एउटै कम्युनिष्ट पार्टी रहेको अवस्थामा स्थापित प्रलेसले आज दर्जनाै कम्युनिष्ट पार्टीका बीचमा पनि एकीकृत अस्तित्व सहित गतिमान छ ।
रूपन्देहीमा प्रलेस र बुद्धिजीवी
‘पचास रूपैयाँको तम्सुक’ को सेरोफेरोबाट सुरु भएको रूपन्देहीको प्रगतिशील आन्दोलनमा केही तिठा÷नमिठा अनुभवहरू भए पनि समग्रमा प्रगतिशील÷प्रगतिवादी स्रष्टाहरूको साझा मोर्चाको रूपमा सातौं जिल्ला सम्मेलनसम्म आइपुगेको छ । नेपालको वाम आन्दोलनमा देखिएको टुटफुट र एकताको प्रभाव यहाँ पनि परेको छ र त्यसको प्रत्यक्ष प्रभाव प्रलेसमा पनि देखिनु स्वभाविक छ । प्रलेसको विकास र विस्तारमा यहाँका वामपन्थी पार्टीहरूको पर्याप्त ध्यान गएको देखिँदैन । प्रलेस बुद्धिजीवीहरूको साहित्यिक संगठन हो तर सबै बुद्धिजीवीहरू प्रलेसका सदस्य होइनन् र हुन सक्दैनन् । यसमा कम्युनिष्ट पार्टीका सांस्कृतिक संगठनका लेखक, साहित्यकार, संस्कृतिकर्मी एवं बुद्धिजीवीहरू संगठित छन् । वर्गचेतना र प्रतिवद्धताको दृष्टिले लेखक बुद्धिजीवीहरू जनताप्रति उत्तरदायी हुनुपर्ने हो । तर पनि प्रलेस मूलतः सहरका सीमित बन्द कोठा र यसका वरिपरी मात्रै घुमिरहेको छ ।
जनताको बहुसंख्यक हिस्सा सहरभन्दा बाहिर गाउँमा छ । उत्पीडन वा विभेदको कहर सिङ्गै गाउँले भोगिरहेको छ । प्रगतिशील साहित्यलाई जनताको ठूलो हिस्सामा पु¥याउने र क्रान्तिकारी आन्दोलनको जग निर्माण गर्ने काम प्रलेसले गर्नुपर्ने हो । तर त्यसो हुन सकेको देखिँदैन । हिजोका प्रतिपक्षी साहित्यकारहरू चिन्तन, लेखन र जीवनशैलीको दृष्टिकोणले आजका सत्ताधारी जस्ता भएका छन् र सत्ताको स्वीकृति, सम्मान, पद, पुरस्कारमा सीमित हुन थालेका छन् । कम्युनिष्ट पार्टी, लेखक र बुद्धिजीवीहरूको विचारमा देखिएको वैचारिक स्खलन यसको मुख्य कारण हो जस्तो लाग्छ । यस सन्दर्भमा ग्राम्सीले भनेजस्तै परम्परागत बुद्धिजीवीहरू त केवल पुरेत हुन् । माक्र्सवादी सौन्दर्यचेतले उदात्त जैविक बुद्धिजीवीको नेतृत्व र निर्माण आजको प्रलेसको दायित्व हो ।
चिन्तन र विचारधाराको समस्या
प्रलेस विचारप्रति प्रतिबद्ध लेखकहरूको संगठन हो । यसमा सामन्तवाद र साम्राज्यवाद विरोधी लेखकहरू संगठित छन् । द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्यचिन्तनको आधार मानेर कला साहित्यको सिर्जना गर्नु यसको प्रस्तावना हो । प्रलेसका स्रष्टाहरू यसको सीमाभित्र कति प्रतिबद्ध छन् या छैनन् ? प्रश्नहरू सर्वत्र उठिरहेका छन् । यस सन्दर्भमा भेनेज्वेलाकी प्रसिद्ध अभिनेत्री एलिसिया क्याकाडोले एउटा प्रसंगमा भनेकी छन्– ‘ग्लामर अस्थायी हो, चेतना स्थायी ।’ एउटी ग्लामर अभिनेत्रीमा आएको यो आत्मस्वीकृति लेखकहरूका लागि साँच्चिकै उदाहरणीय कुरा हो । तर छ दशकभन्दा लामो समय बिताएको प्रगतिशील लेखनमा चिन्तन क्रमशः कमजोर र ग्लामर विस्तारै बढ्दै जानु चिन्ताको विषय हो ।
यहाँसम्म कि कतिपय लेखकहरू गोजीमा प्रलेसको सदस्यता बोक्छन् र मठमन्दिरको महायज्ञमा प्रवेश गर्छन् । भगवानको नाममा प्रार्थना गर्छन् र भेटी चढाउँछन् । सत्ताको भजनमण्डली गाउँछन्, वर्ग समन्वयको अँध्यारो सुरुङ यात्रा गर्छन् र किसान मजदुरहरूलाई मैला मान्छे ठान्छन् । प्रलेसमा देखिएको यस किसिमको भोगवाद, शून्यवाद, विर्सजनवाद र मूल्यहीनताको डरलाग्दो स्थिति वैचारिक चिन्तन र विचारधारामा आएको समस्या हो ।
बजार र उपभोक्तावाद
प्रविधिको विकाससँगै उपभोक्तावादले ‘डेक्स्टप लडाकु’ नै खडा गरेको छ । त्यसले सबैभन्दा प्रहार मूल्यबोध र सौन्दर्य चेतनामाथि नै गरेको छ । बजारले साहित्यलाई पूरै नियन्त्रणमा राख्न खोजेको छ । लेखक र पाठकलाई उपभोक्ता बनाएको छ । साहित्यकारहरू उत्सवकर्मी बनेका छन् । नेपाली मिडिया र पुस्तक बजारमा कस्मेटिक लेखन केन्द्रमा छ र कालजयी लेखन किनारामा छ । बजारमा पुस्तक प्रकाशक, बिक्रेता, दलाल, मिडियाकर्मी, केही एलिट समीक्षक र हल्लाबाजहरूको अघोषित गठबन्धन छ । गम्भीर र वैचारिक लेखनभन्दा बढी विचारसँग कुनै सरोकार नराख्ने लेखकहरूको मूल्य महङ्गो छ । ‘झुट पनि सय चोटि बोल्यो भने सत्य हुन्छ’ भन्ने गोयबल्स शैलीको सुगा रटाई केही प्रकाशक र प्रचारकहरूले गरिरहेका छन् ।
एकथरी लेखकहरू जसको ध्येय बजारमा बिक्नु मात्र रहेको छ । जसले दलाली मानसिकता र एनजीओ÷आइएनजीओको झोलाबाहेक मस्तिष्कमा अरू केही बोक्दैनन् । उनीहरू बौद्धिकतालाई नाफासँग मात्र जोड्छन् र बिक्रीको माल बनाउँछन् । बजारको चाहना अनुसार लेख्नु गतिविधि गर्नु उनीहरूको दैनिकी हो । बजारलाई फूलबुट्टे शब्दको रत्यौली र पार्कहरूमा समवयी युवतीसँग गरेको रामरमाइलो प्रिय लाग्छ । यद्यपी, यहाँ आधुनिक युगमा बजार केही पनि होइन भन्न खोजिएको होइन, तर बजार मानिसका लागि हो । मानिस बजारका लागि होइन । त्यसैले साहित्यको बजारीकरण विरुद्ध बोल्नुपर्ने संगठन हो प्रलेस । उपभोक्तावादको चरम ‘फेसबुके’ साहित्यले सांस्कृतिक आन्दोलन, लेखन र चिन्तनलाई खोक्रो बनाएको छ । गम्भीर लेखन ओझेलमा परेको छ । चिया पसलका उडन्ते गफहरू कृति र लेखकको स्तरीयता मापनको आधार बनेको छ । भाडाको लेखक मौलाएको छ । प्रचार आतंकले कुरूपलाई सुन्दर, सुन्दरलाई कुरूप बनाएको छ । अझ रोचक पक्ष के छ भने रङ खुइलिएका तर आफूलाई क्रान्तिकारी भन्नेहरू समेत उसैको पछाडि कुद्नु उदेक लाग्दो छ । यी गतिविधिहरू प्रलेसको उद्देश्यसँग मेल खाँदैनन् । साहित्यको बजारीकरण र उपभोक्तावादी चिन्तनविरुद्ध प्रतिपक्षी लेखन आजको प्रलेसकोे दायित्व हो ।
वैचारिक प्रतिबद्धता र हस्तक्षेप
नेपालमा संविधानको घोषणा गरिएको छ तर राज्यसत्तामा श्रमजीवि वर्गको अधिकार स्थापित हुने गरी जनगणतन्त्र आएको छैन । वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडन कायमै छ । सुगौली सन्धिदेखि झाङ्गिदै आएको भारतको विस्तारवादी चरित्र नाङ्गै छ । साम्राज्यवादी आर्थिक, सांस्कृतिक भूमण्डलीकरण व्याप्त छ । देशमा ‘वामपन्थी’ नामको सरकार छ तर देश र जनताको अवस्था झन् जटिल छ । असमान राष्ट्रघाती सन्धिसम्झौताहरू थोपरिएका छन् । आधुनिक दासको रूपमा लाखौं युवाहरू विदेशिन बाध्य छन् र कफिनमा फर्किएका छन् । वैदेशिक हस्तक्षेपका कारण नेपाली मौलिक संस्कृति तहसनहस भएको छ ।
सांस्कृतिक आन्दोलनले निर्मम वैचारिक संघर्षको माग गरेको छ । लेखन र व्यवहारमा गतिशीलता विना यो सम्भव छैन । केही लेखक भनिनेहरू नै ‘प्रगतिशीलता’ को नाममा यथास्थितिलाई बचाउन न्वारनदेखिको बल लगाइरहेका छन् । छलफल÷बहस विचार दृष्टिकोणमा होइन, व्यक्तिगत गालीगलौजमा पुगेका छन् । आत्मकेन्द्रीत चिन्तन र सामन्ती दम्भ सतहमा उदाङ्गो भइरहेको छ । प्रलेस प्रगतिशीलताको नाममा बुढ्यौली उमेरमा घाम ताप्ने र कमजोरी लुकाउने सुरक्षित विश्रामस्थल बनाउन खोजिएको छ । साझाको नाममा यी घोर प्रतिक्रियावादीहरू संगको गठजोडले अन्ततः प्रगतिशील आन्दोलनको विरासतलाई गिज्याएको छ र केही ‘इमान्दार जागिरेहरू’ को हातमा फेला परेको प्रलेस ‘रूपवाद’ मा बदलिने खतरा बढ्दो छ ।
एकीकृत प्रतिरोधी सिर्जना
भूमण्डलीकरणले सिर्जना गरेको व्याप्त रूपवाद र बजारवाद आजको ठूलो चुनौती हो । यसका विरुद्ध यहाँका लेखक साहित्यकारहरूको ध्यान पुगेको छैन । हामी कुनै किनारामा हराएका यात्रीजस्ता भएका छौं । प्रतिरोधी चिन्तन र सिर्जना आजको आवश्यकता हो । प्रतिरोधी सिर्जनात्मक हस्तक्षेप बढाउने र विरोधीहरूको बजारवादी अभियान विरुद्ध प्रलेसले वैचारिक लडाई लड्नुपर्छ । भाषिक–सांस्कृतिक एवं पहिचानका मुद्दाहरूलाई वर्गसंघर्षको आन्दोलनसँगै जोडेर लैजान नसक्नु प्रलेसको अर्को चुनौती हो । यसलाई सँगसँगै जोडेर नलैजाँदासम्म हामी बाह्य हस्तक्षेपसँग लड्न सक्दैनौ ।
यसको सुरुवात र नेतृत्व प्रलेस रूपन्देहीले यहीबाट गर्नुपर्छ । आलोचनात्मक यथार्थवादी चेतना बोकेका सामान्य प्रगतिशील स्रष्टादेखि समाजवादी यथार्थवादसम्मका एकीकृत नेतृत्व र प्रतिरोधी चेतनाले मात्रै यो सम्भव छ ।
http://www.dainikpatra.com बाट साभार 

No comments:

Post a Comment