Thursday, March 15, 2018

न्युट्रल गियरमा वामलेखन - राजेन्द्र पराजुली

बहस

पछिल्लो समय संसारभरि नै प्रगतिशील लेखनको औचित्यबारे प्रश्नहरू उठ्न थालेका छन्। राजनीतिक रूपमा साम्यवादी सत्ताहरू क्रमशः स्खलित हुँदै जान थालेपछि सोही मार्गका अनुयायीहरूको लेखनको औचित्यमाथि औंला उठ्नु अस्वाभाविक होइन। यो सन्दर्भबाट नेपालको वामलेखन पनि अछुतो छैन। यहाँ पनि विगत लामो समयदेखि वामलेखन अथवा प्रगतिशील साहित्यबारे सोही वृत्त र इतरविचारका लेखक–चिन्तक तथा पाठकले प्रश्न गर्दै आएका छन्। प्रगतिशील साहित्यलाई चिन्ने कसरी ? के हो प्रगतिशील साहित्य भनेको ? प्रगतिशील र गैरप्रगतिशील साहित्यमा के भिन्नता छ ? प्रगतिशील साहित्यमा मात्रै जनताका दुःख, पीडा, विभेद र अन्याय लेखिन्छ, अन्यमा यी कुरा हुँदैनन् ? सबैभन्दा जटिल प्रश्न नै यही र यस्तै बन्दै आएको छ। प्रगतिशील साहित्यको प्रवद्र्धन गर्ने उद्देश्यले आजभन्दा साढे ६ दशकअघि खुलेको प्रगतिशील लेखक संघ । 


(प्रलेस) वा नेपालका कम्युनिस्ट पार्टीमा आबद्ध व्यक्तिले लेखेका सबै रचना वामसाहित्य हुन्–प्रगतिशील साहित्य हुन् ? कतिपय प्रगतिशील ट्याग भिरेका नेपाली लेखक अझै पनि झरना, हिमाल, नदी वा प्रकृतिका कविता छन्दमा लेखिरहेका छन्। तिनले अक्षरका गेडा गनेर लेखेका छन्दभित्र भुइँमान्छे, गरिबी, विभिन्नखाले विभेद र थिचोमिचो (अर्थात् तिनकै परिभाषामा प्रगतिशीलता) अटाउन सकेको देखिँदैन। के तिनका रचना प्रगतिशील हुन् ? उता, कतिपय गैरकम्युनिस्ट (प्रजातान्त्रिक–लोकतान्त्रिक भनिने) लेखकहरू उल्लिखित विषयमा स्तरीय ढंगमा साहित्य लेख्दै आएका छन्। के ती प्रगतिशील साहित्य होइनन् ? सर्वप्रथम नेपालका वामलेखन (प्रगतिशील) का मठाधीशहरूले यी र यस्ता अन्योलको निराकरण गर्नु जरुरी छ।


उसो त आफूलाई मात्रै लोकतन्त्रको पर्याय मान्ने नेपाली कांग्रेसमा आबद्ध लेखकहरूको झुन्ड निर्मित नेपाली लेखक संघ (नेलेस) पनि प्रलेसभन्दा फरक हुन सकिरहेको छैन। यसले पनि स्थापनाको साढे ६ दशक पार गरिसकेको छ। तर, नेपाली साहित्यको प्रवद्र्धनका निम्ति कुनै स्मरणीय काम गर्न सकिरहेको छैन।

थप प्रश्न पनि साथै उठेको छ, उठाउनु जरुरी छ। के राम्रा साहित्य सबै नै प्रगतिशीलका साथै लोकतान्त्रिक हुँदैनन्–हुनु पर्दैन ? एउटा लेखक भुइँमान्छे (जो राज्य, समाज, धर्मजस्ता तŒवद्वारा किनारीकृत हुन पुगेको छ), त्यसको विपक्षमा जान सक्छ ? एउटा लेखक मान्छेको बोल्न, लेख्न, प्रश्न उठाउन र राजनीति गर्न पाउने सार्वभौम अधिकारको विरुद्ध उभिन सक्छ ? अथवा, मानवअधिकारको विपक्षमा कलम चलाउन सक्छ ? यी सबै प्रश्नहरूको उत्तर निश्चय पनि नकारात्मक (सक्दैन) आउँछ। त्यसकारण साहित्यलाई प्रगतिशील र लोकतान्त्रिक भनी खण्डित गर्ने विचार नै अनुचित छ– पश्चगामी छ। राम्रा, जनपक्षीय वा जमिनमा उभिएर लेखिएका सबै रचना प्रगतिशील हुन्, लोकतान्त्रिक हुन्।

प्रलेस अर्थात् प्राज्ञ बन्ने भर्‍याङ

प्रलेस अब वामलेखनलाई प्रवद्र्धन गर्ने संस्था रहेन। इतिहास साक्षी छ, यसले नेपाली साहित्यमा कहिल्यै हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सकेन। यो संस्थाले प्रगतिशील लेखनलाई आमपाठकसम्म पुर्‍याउन कुनै प्रभावकारी काम गर्न सकेको छैन। प्रभावकारी ढंगमा आवधिक पत्रिका, समसामयिक संकलन वा कुनै ग्रन्थ यसका माध्यमबाट प्रकाशित हुनै सकेन। यो संस्था केवल नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ बन्ने चाहना राख्नेहरूको भर्‍याङमात्रै बन्दै आयो। यो संस्थामा राजनीतिक रूपमा वाम विचार राख्ने र नेपाली साहित्यमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आएका राम्रा लेखक अटाएकै छैनन्। एकाध झुक्किएर परेका भए ती अपवादमात्रै हुन्। प्रलेस विभिन्न कम्युनिस्ट पार्टीका हरुवाचरुवाहरूको झुन्डबाट मुक्त हुन सकेकै छैन। प्रलेसलाई बिर्ता बनाउँदै आएका अधिकांश लेखक औसतभन्दा तल्लो कोटीका छन्।

यही कारण तिनले राजनीतिक (कम्युनिस्ट पार्टी) ले गरेका जनघाती कामको समेत विरोध गर्न सक्दैनन्। केही दिनअघि एमाले अध्यक्ष तथा प्रधानमन्त्री (पदासीन हुनुअघि) केपी ओलीले विदेशबाट कालो धन नेपाल ल्याउन रोक्नु हुँदैन भने। त्यस्तो धनलाई स्वागत गर्नुपर्ने उनको आसय थियो। त्यस्तो धन भित्रिँदा मुलुकलाई पर्ने घाटा र धनी–गरिबबीचको खाडल थप गहिरिने यथार्थबारे उनी बेखबरजस्तै बने। उनै राष्ट्रवादी कहलिएका कमरेड ओलीले अब कम्युनिस्ट राजनीतिको पटाक्षेप भइसकेको बताउँदै आएका छन्। उनलाई अब समाजवादी बनी देखाउनुपरेको छ, आवधिक निर्वाचनमा जित्नुपरेको छ। यस्तो समाजवादको कुरो त उहिल्यै विश्वेश्वरप्रसाद कोइरालाले गरिसकेका थिए। उनै ओलीको नेतृत्वको दलले पछिल्लो मधेस आन्दोलनको पनि खुलेरै विरोध गर्‍यो। तर, यी कुनै पनि कुराको प्रलेसले प्रतिकार गरेको सुन्न पाइएन, जबकि प्रलेसमा मधेसका लेखक पनि सहभागी छन्। प्रलेसले मधेस आन्दोलनलाई गलत पनि भन्न सकेन न त उचित नै भन्न सक्यो। यस्तोखाले ‘न्युट्रल’ भूमिका प्रगतिशील भनिन रुचाउनेलाई पटक्कै सुहाउँदैन।

त्यतिमात्र होइन, जनमतमा पल्ला भारी बनाउन सफल वामहरूले भर्खरै सातै प्रदेशमा मुख्यमन्त्री चयन गरे। त्यसमा एकजना पनि महिला पार्नु आवश्यक ठानेनन्। किन प्रलेस आफू सम्बद्ध दलका विभेदकारी कदमको खुलेर विरोध गर्न सक्दैन ? प्रलेस नामको संस्थाको नेतृत्व नै महिलालाई दिने सवालमा यो संस्था अनुदार देखिँदै आएको छ। प्रलेसका अधिकारीहरूले त्यस संस्थाको उद्देश्यको एक पटक सम्झना पनि गर्न आवश्यक ठानेको देखिँदैन। किनकि, तिनलाई प्राज्ञ जो बन्नु छ। दल र त्यसका ठूला नेताको विरोध गर्‍यो भने प्राज्ञ हुन पाइँदैन, अन्यत्र नियुक्ति पनि पाइँदैन भन्ने ज्ञान तिनलाई राम्रै हुन पुगेको देखिन्छ। नेपाली लेखक संघको औचित्य पनि उही प्राज्ञ छान्ने काममै सीमित हुन पुगेको छ। त्यस संस्थामा आबद्ध अधिकांश लेखक उही प्रलेसमा रहेका जस्तै औसतभन्दा मुनिका छन्। एकाध झुक्किएर राम्रा लेखक नेलेसमा पुगेका यदि छन् भने ती अपवादभित्र पर्छन्।

निकट विगतलाई गम्भीर ढंगमा हेर्दा स्पष्ट हुन्छ, संसारमा साहित्यिक रचनामार्फत हस्तक्षेप गर्न सक्ने थुप्रै लेखक वाम विचारका छन्। चाहे ती माक्र्सवादी, माओवादी वा लेनिन–स्टालिनवादी नै किन नहुन्। तिनले सधैं सत्तालाई दुत्कार्दै आएका छन्, सत्ताको जनघाती कामको खुलेर विरोध गर्दै आएका छन्। जसले सत्ताको जुठो चाटेको छ, तिनलाई पाठकले नराम्ररी किनारा लगाइदिएका छन्। छिमेकी भारतका कतिपय लोकप्रिय लेखकको नाममात्रै स्मरण गर्ने हो भने पनि यो तथ्य प्रस्ट हुन्छ। तर, भारत वा अन्य देशका चर्चित वामलेखकले सधैं आफूलाई प्रतिरोधी चेतनाको कित्तामा उभ्याइरहे। ती सदा प्रतिपक्षी बनिरहे। अघिल्लो वर्ष पोखरामा आयोजित लिटरेचर फेस्टिभल कार्यक्रममा भाग लिन नेपाल आएका भारतीय साहित्यकार उदय प्रकाशले लेखकको प्रतिरोधी चेतनाबारे आफ्नो धारणा राखेका थिए।

‘मैले रोजेको बाटो प्रतिपक्षीको हो। एउटा लेखकमा प्रतिरोधी चेतना भएन भने उसको कलम भुत्ते हुन्छ,’ उनको भनाइको आसय थियो, ‘मलाई गरिब र अभावमा बाँचिरहेका मान्छेको कथा लेख्नु छ, त्यसैले म आफू सम्पन्न बन्ने आकांक्षा राख्न सक्दिनँ।’ आज उदय प्रकाशका रचना नेपालीका साथै संसारका थुप्रै भाषामा अनुदित छन्। के उनी सत्ताका ताबेदार भइदिएका भए यसैगरी लोकप्रिय हुन सक्थे ? उनको रचनामा यसरी नै तेजिलो धार उत्पन्न हुन सक्थ्यो ? उनमा रहेको प्रतिरोधी चेतनाकै कारण उनको कलम बलियो बनेको होइन र !


प्रलेस विभिन्न कम्युनिस्ट पार्टीका हरुवाचरुवाहरूको झुन्डबाट मुक्त हुन सकेकै छैन। प्रलेसलाई बिर्ता बनाउँदै आएका अधिकांश लेखक औसतभन्दा तल्लो कोटीका छन्। यही कारण तिनले कम्युनिस्ट पार्टीले गरेका जनघाती कामको समेत विरोध गर्न सक्दैनन्।

पछिल्लो समयका उदय प्रकाश, अवतार सिंह पास, गोरख पाण्डेयका साथै फैज अहमद फैज, भीष्म साहनी, नजिम हिक्मत अनि पाब्लो नेरुदा, रोजा लक्जेम्बर्ग, सिमोन दि बउवारजस्ता विश्वप्रसिद्ध लेखक वामकित्तामै उभिएको सबैलाई थाहा छ। साहित्यका माध्यमबाट विश्व हल्लाएका कतिपय रुसी लेखक (जो अब क्लासिक बनिसके) अधिकांश वामपन्थी थिए। तिनले आफ्ना प्रतिरोधी चेतनालाई सधैं तिखारिरहे। र, नै रचनामा सधैं जीवित रहन सफल भए। तिनले सधैं किनारीकृतका आवाज बोलिरहे, समाजका अँध्यारा पाटाबारे कलम चलाइरहे। तर, सुन्दर तथा कलात्मक तवरमा। हाम्रा वामलेखकमा न त प्रतिरोधी चेतना बलियो बन्यो न त लेखक सधैं प्रतिपक्षमै हुन्छ भन्ने तत्व ज्ञान नै हुन सक्यो !

सम्भवतः यही कारण नै आख्यानकार नारायण ढकालले नेपालका प्रगतिशील लेखकलाई ‘सरकारी माक्र्सवादी’ उपमा दिने गरेका हुन्। रचनामा आफूलाई प्रगतिशील देखाउन जबर्जस्ती तिनले सामन्ती पात्र खडा गरेर त्यसलाई दुत्कारिरहे। त्यो एक प्रकारले कलाहीन लेखनी बन्न पुग्यो र नै पाठकले स्वीकार गरेनन्। यसको प्रमुख कारण रचनामा शक्ति नहुनु नै हो। अधिकांश वामलेखक अरुको पढ्न आवश्यक ठान्दैनन्। आफ्नै गुट वा समूहमा संकुचित हुँदैमा तिनलाई फुर्सद छैन, सत्ता (पार्टी) को गलत कामको बचावट गर्दैमा तिनलाई फुर्सद छैन। प्रशंसा वा आलोचना गर्न पनि पढ्नुपर्छ भन्ने सामान्य ज्ञान पनि तिनमा नहुनु विडम्बना नै हो। विश्वचर्चित कवि तथा चित्रकार माइकेलएन्जेलोले ८७ वर्षको उमेरमा भनेका थिए, ‘आई एम स्टिल लर्निङ।’ थाहा छैन, हाम्रा प्रगतिशील लेखकहरूले यो तथ्यलाई कसरी मनन् गर्लान् !

यतिखेर नेपाली राजनीतिमा वामहरूको वर्चस्व बलियो बनेको छ। ठूला दुई वामदल नेकपा एमाले र माओवादी केन्द्र मिलेर भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभामा झन्डै दुई तिहाइ सिट जितेका छन् (निकट भविष्यमा यी दुई दल मर्ज हुने अवस्था पनि बलियो बन्दै गएको छ)। यी दुई दलले एकताका निम्ति जमिन बलियो बनाउँदै गएका छन्। नेपाली राजनीतिको स्थिरताका लागि यो कदमको सराह्रना गर्नुपर्छ। स्थानीय तहमा पनि तिनकै पकड बलियो छ। तिनको सरकार बन्ने क्रम आरम्भ भइसकेको छ। र, राजनीतिक नियुक्ति हुने अधिकांश निकायमा यिनै दुई दलको नजिक रहेका लेखकहरू प्राज्ञ तथा अन्य संस्थामा पदासीन हुनेछन्। त्यसका निम्ति अबका केही दिनमै बालकोट (अब बालुवाटार) र खुमलटारमा बिहानै प्रगतिशील लेखकहरूको लर्को देख्न पाइनेछ। छिट्टै प्रज्ञा–प्रतिष्ठान, गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समितिलगायतका संस्थामा वामहरूको तमासा देख्न पाइनेछ। सोही कारण बजारमा प्रलेसको सदस्यता लिनेको भीड बढेको छ, नवमाक्र्सवादी तथा नवक्रान्तिकारीको उदय अचम्मलाग्दो ढंगमा चुलिन थालेको छ। र, सदस्य लिनुको प्रमुख र एउटै उद्देश्य रहेको छ, प्राज्ञ बन्नु वा राजनीतिक नियुक्तिको याचना गर्नु।

यसको अर्थ प्रगतिशील लेखकहरूले प्राज्ञ बन्नै हुँदैन, राजनीतिक नियुक्ति लिनै हुन्न भन्ने बिलकुलै होइन। मुलुकको शासनसत्ता वामपन्थीहरूका हातमा हुने भएकाले अबको प्रज्ञामा वामलेखकहरूको बोलवाला हुनेछ। अब कम्तीमा एउटा कुशल लेखकहरूको टिम प्रज्ञामा जाओस् र त्यस निकायको निहुरिएको शिरलाई ठड्याउने काम गरोस्। आजका मितिसम्म तिनले राज्यको ढुकुटीबाट चलेको त्यस (प्रज्ञालगायत) संस्थालाई नेपालका सबै भाषाभाषी तथा संस्कृतिको समावेशी संस्था बनाउन सक्नुपथ्र्यो तर सकेनन्। मर्यादित ढंगमा त्यस निकायमा सक्षम महिलाको प्रतिनिधित्व गराउन पहल गर्नुपथ्र्याे, त्यो पनि धेरै टाढाको विषय बन्यो। प्रज्ञामा राजनीतिक भागबन्डा हुन थालेको लामो समय बितिसक्दा पनि यो कार्य हुन नसक्नु दुर्भाग्यपूर्ण मान्नुपर्छ।

प्रज्ञाले न त देशका विभिन्न क्षेत्रमा लुकेर रहेका प्रतिभाको खोजी नै गर्न सक्यो न त भाषा–संस्कृतिको प्रवद्र्धन नै गर्न सक्यो। नेपाली साहित्यलाई देशदेशावरमा पुर्‍याउने जिम्मेवारीबोध त तिनलाई हुनै सकेन। कुनै बेला साहित्यप्रेमी राजा महेन्द्रको परिकल्पनामा कमलादीमा ठडिएको ठूलो भवनमा जानु र घुम्ने कुर्सीमा गजधम्म बस्नु तिनको नित्यकर्म बनेको छ। तिनले गर्ने काम भनेको वार्षिक रूपमा केही थान पुरस्कार दिनु, एकता दिवस, प्रतियोगितात्मक कविता महोत्सव (नेप्रप्र स्थापनाको अवसर पारेर) आयोजना गर्नु अनि केही थान आवधिक पत्रिका (प्रायः निम्छरा रचनासहितका) निकाल्नुमा सीमित हुन पुगेको छ। यस्तो काम त हिजो पञ्चायतकालमा पनि भएकै थिए (आग्रही आँखाले नहेर्ने हो भने अहिलेको भन्दा स्तरीय ढंगमा)। प्रज्ञाले निकालेका पत्रिकाहरू पाठकका आँखामा पर्ने गरी वितरण नै हुन सकेका छैनन्। त्यसको कतै चर्चा सुनिँदैन, ती पत्रिकाहरू प्रज्ञाको अँध्यारो गोदाममा थन्किएका छन्।

जसरी प्रज्ञा–प्रतिष्ठान देशका सबै लेखकको छाता निकाय बन्न सकेन, उस्तै हालत रह्यो प्रलेसको पनि। कम्तीमा देशका वामलेखकहरूको छाता संगठन बन्नुपर्ने त्यस संस्था सरकारी माक्र्सवादीहरूको पेवा बन्न पुग्यो। त्यसले वाम विचार राख्ने राम्रा लेखकलाई गति दिने र प्रचारप्रसारमा सहयोग गर्ने काममा ध्यान पुर्‍याउनै सकेन।

न्युट्रल गियरको खतरा

यतिखेर प्रलेस मात्रै होइन, समग्र वामलेखनको अवस्था नै ‘न्युट्रल गियर’ मा फसेको सवारीसाधनको जस्तो हुन पुगेको छ। सक्षम प्रगतिशील लेखकहरू न्युट्रल गियरमा अड्केको सवारीबाट हाम्फालेर आफैं आफ्नो रचनाको बाटो तय गर्नतिर लागिसकेका छन्। कतिपय प्रतिभाशाली प्रगतिशील लेखक त त्यो संस्थाको नजिक पर्नै चाहिरहेका छैनन्। तिनलाई सरकारी माक्र्सवादी बन्नु परेको छैन, कतै नियुक्ति पाउने लोभ पनि छैन। ती लेखक आफ्नै क्षमताले अगाडि बढिरहेका छन् र पाठकको कठघरामा सहज ढंगमा खरो उत्रिरहेका छन्।

कुनै दिन वामपन्थ अथवा प्रगतिशील तथा अग्रगामी बाटोमा हिँडेको भनिएको सवारी न्युट्रल गियरबाट एक नम्बर हुँदै दुई, तीन, चार नम्बरमा हिँड्ला र आफू पनि अगाडि बढिएला भनी कुर्नेहरू अन्ततः दुर्घटनामा पर्ने अवस्था बलियो बन्दै गएको छ। के ठेगान न्युट्रल गियरमा रहेको सवारीको इन्धन कुन बेला सकिने हो ? अथवा, न्युट्रल गियरबाट कतै ‘ब्याक गियर’ पो लाग्ने हो कि !

http://annapurnapost.com बाट साभार 

No comments:

Post a Comment