Saturday, March 17, 2018

नारायण ढकालको अन्तर्वार्ता :




फुर्सद वार्ता

काँठ नारायण ढकालको लेखनको मुख्य विषय हो। उनका प्रायः आख्यान–गैरआख्यान काँठमाथि केन्द्रित हुन्छन्। कवि विनोदविक्रम केसीले ढकालमाथि लेखेका छन्, ‘खान नजान्ने, लाउन नजान्ने, बोल्न नजान्ने, कोर्काली र केन्द्रको चाकर भनिँदै आएको काँठको एउटा उम्दा र घच्चीको उत्पादन हो— नारायण ढकाल।’
आख्यानमा भिन्न शैली र प्रवृत्ति लेख्छन्— नारायण ढकाल। चार दशकयताको ढकालको निरन्तर सिर्जनयात्रामा कहिले वाद, कहिले समूह र कहिले कित्ताका आधारमा उभिने लेखक भनेर उनको टिप्पणी हुने गर्छ। ‘लेफ्ट लिट्रचर’का अगुवा आख्यानकार ढकाल निबन्ध, कथा र उपन्यासमा बढी चिनिएका छन्। समयचेत, इतिहासबोध उनको लेखकीय खुबी हो। ‘इरफान अली’, ‘सहरयन्त्र’, ‘बहिर्गमन’, ‘आत्महन्ता’, ‘नारायण ढकालका कथा’ कथासंग्रह, ‘तीन संवत्सर’, ‘शोकमग्न यात्री’ निबन्धसंग्रह, ‘प्रेतकल्प’, ‘वृषभ वध’ उपन्यास उनका प्रकाशित किताब हुन्। हाल उनको नयाँ उपन्यास ‘हजार माइलको बाटो’ प्रकाशित छ। आख्यान लेखनको प्रवृत्ति, नयाँ उपन्यासको कन्टेन्टमाथि केन्द्रित भएर उनीसँग दीपक सापकोटाले गरेको कुराकानी :
‘इरफान अली’ कथा लेख्दा तपाईं सत्ताविरोधी हुनुुहुन्थ्यो। पछि सत्ताकै अंग सांसद बन्नुभयो। उपन्यास ‘हजार माइलको बाटो’सम्म आइपुग्दा पनि तपाईं सत्ताधारीकै कित्तामा देखिनुहुन्छ, किन ?
– ‘इरफान अली’ लेख्दा देशमा पञ्चायती तानाशाही थियो तर म सांसद हुँदा पञ्चायत ढलिसकेको थियो। पञ्चायतलाई ढाल्ने अभियानको छेउछाउमा म पनि कतै थिएँ। त्यस बखत म ‘दृष्टि साप्ताहिक’को सम्पादक र नेपाल कम्युनिस्ट पार्टी (माले)को जिल्ला तहको कार्यकर्ता थिएँ।
त्यसपछि २०५३ सालमा तत्कालीन काठमाडौं क्षेत्र नम्बर १ का जनताले जिताएर म सांसद भएको थिएँ। तर, म संसद्मा पुगेर त्यति रमाउन सकिनँ। त्यहाँ सीमान्तीकृत भएको अनुभव भयो। त्यसपछि यता म राजनीतिमा भन्दा बढी साहित्यमा छु।
साहित्यकारलाई सत्ताको पक्षमा भन्दा सत्ताको विपक्षमा बसेको बढ्ता सुहाउँछ। यो कुरा मैले धेरै ठाउँमा भनिसकेको छु। अब यो विषय दोहोर्‍याउनु दिक्दारलाग्दो हुन्छ। फेरि जहाँसम्म हजार माइलको बाटोको कुरा छ, यो सत्तापक्षको गुणगान कदापि होइन।
यो उपन्यासको विषय माओवादी ‘जनयुद्ध’ भए पनि अन्त्यमा माओवादी ‘जनयुद्ध’ खराब सपना थियो, आत्महत्या थियो, महाभूल थियो र दुर्घटना थियो भनेर अन्त्य गर्नुहुन्छ। माओवादी ‘जनयुद्ध’ एक दुस्वप्न मात्र थियो त ? यस आन्दोलनका सकारात्मक पक्ष केही पनि छैनन् ?
– यो उपन्यासको विषय माओवादी ‘जनयुद्ध’ मात्र होइन। यसको केन्द्रमा जति मात्रामा माओवादी छ, त्यत्ति नै माले र एमाले पनि छ। उपन्यासको एउटा प्रमुख पात्र कमरेड दिलबहादुर विश्वकर्माको कोणबाट युद्धको उपलब्धि र विश्वासघातको प्रतिक्रिया व्यक्त भएको छ। त्यस्तै धीरेन्द्र वा कमरेड पुष्पलालको अर्को मत पनि यहाँ छ। यी त उपन्यासका पात्रहरूको कुरा भयो, मेरो मुख्य कुरा त अहिलेको परिवर्तनले कुन वर्गको सेवा गर्‍यो भन्ने हो। यो अहम् प्रश्नमा बहस हुनु अत्यावश्यक छ।
यो उपन्यासले बाबु नरेन्द्रनाथ र छोरा धीरेन्द्रनाथको चरम द्वन्द्वको कथा भन्छ। सधैं ‘पञ्चे’ पिता नरेन्द्रनाथ नै हिरो निस्किन्छन्। किताबको अन्त्यमा नरेन्द्रनाथकै जित हुन्छ। कम्युनिस्टभन्दा पञ्च नै ठीक हो भन्ने तपाईंको निष्कर्ष हो ?
– यो अलि सतही प्रश्न पो भयो कि ? राजनीतिक व्यवस्थासँग सबै मानिस समरूप हुन्छन् भन्ने मान्यता यान्त्रिक र जडसूत्रवादी सोच हो। फेरि मानिस आफैं राम्रो र नराम्रो भन्ने पनि हुँदैन। राम्रो वा नराम्रो समाज व्यवस्थाले बनाउने हो। यो उपन्यासको उडान त्यतातिर होइन। उपन्यासको मुख्य चासो नेपाली कम्युनिस्ट आन्दोलनको यात्रा र अभीष्टमा गम्भीर खोट छ भन्ने देखाउनु हो।
दसवर्षे युद्धमा मारिएका माओवादी ‘कमरेड’हरू पछि माटोमुनिबाट वा चिहानबाट ब्यूँझेर लौकिक जगत्मा फर्किन्छन्। उनीहरूको ‘शहादत’ले जागरणको अर्को यात्राको संकेत गर्दैनथ्यो र ?
– उपन्यासको उपसंहार खण्ड पूरै स्वैरकल्पनाको संरचनामा छ। स्वैरकल्पना साहित्यमा एउटा प्रचलित परम्परा हो। नेपाली आख्यानमा पनि यो नौलो विषय होइन। तपाईंलाई थाहा छ , गिरिषवल्लभ जोशीदेखि कुमार नगरकोटीसम्म यो यात्रा चालू छ। धेरैपहिले मैले पनि आफ्ना केही कथामा यो विधि र शैली अपनाएको छु। उपसंहार खण्डको मुख्य अभीष्ट अर्को जागरणको लागि हो। चरैवति—चरैवति अर्थात् हिँडिरहू—हिँडिरहू भनेको प्रतीकात्मक अर्थमा अर्को यात्राको जागरण नै हो।
अनि यसमा ठाडो राजनीति छ नि त ?
– त्यति ठाडो पनि नभनौं। तर, मैले मान्नुपर्ने कुरा के छ भने मैले धेरै कोसिस गर्दा पनि घुमाएर भन्न सकिनँ। यो विषय नै यस्तो थियो जसलाई हाकाहाकी भन्नुपर्ने हुन्थ्यो। यस्तै काम टोल्सटोयले ‘अन्ना करेनिना’मा अर्को किसिमले गरेका छन्। मूल कथा सकिएपछि झन्डै सय पृष्ठ जति वैचारिक उपदेश छ। त्यहाँ स्वैरकल्पना त छैन तर उनले पात्र लेविनमार्फत सुधारवादी इसाईपन्थको चर्को वकालत गरेका छन्।
उपसंहारलाई यस्तो अलग रूप दिनुको कारण ?
– उपसंहार खण्ड धेरै हिसाबले पूर्ववर्ती ढाँचाभन्दा फरक छ। त्यसैले त्यसलाई क्रमभंग भनिएको हो। क्रमभंग भनेकै कारण त्यो कथा स्वैरकल्पनामा गएको हो। क्रमभंग भएकै कारण मरेका पात्रहरू बाँचेर आएका हुन्। यो खण्डलाई एक संक्षिप्त अधिगल्प (मेटाफिक्सन) भनिएको पनि अकार्थमा होइन। नेपाली कथा परम्परामा मेटाफिक्सनको प्रयोग धेरैले गरेका छन्। कृष्ण धराबासीको ‘शरणार्थी’ एउटा राम्रो उदाहरण हो।
‘जनयुद्ध’पछि गणतन्त्रको यात्रासम्म तपाईंले किताबमा वर्णन गरेको काँठको गाउँ आनन्दपुर यति धेरै बदलिन्छ कि त्यो अँध्यारो गाउँमा कम्प्युटर सेन्टरदेखि सेक्सटोय पसलसम्मका विज्ञापन झुन्डिएका छन्। गाउँमा जागरणको नयाँ घाम उदाएको वर्णन किताबमा छ। यो त माओवादी ‘जनयुद्ध’पछि भएको खास परिवर्तन होइन र ? त्यसो भए ‘जनयुद्ध’ कसरी खराब सपना थियो ?
– यो उपन्यासलाई मेरा पहिलेका दुई उपन्यास ‘प्रेतकल्प’ र ‘वृषभ वध’को निरन्तरतामा हेर्नु उपयुक्त होला। सेटिङ प्रायः उही हो तर समय, कथा र पात्रहरू फरक छन्। लगभग एक सय पचास वर्षको इतिहासको परिवर्तन लेख्न सजिलो थिएन। पछिल्लो समयको यो परिवर्तन ल्याउन जनयुद्धले भन्दा पनि वैश्विक पुँजीवादको अतिक्रमणको हात सर्वोपरि छ। नवउदारवाद वा भूमण्डलीकृत पुँजीवादले विकासको नाममा गरेको लुट र विसंगति हाम्रा गाउँहरूको यो पछिल्लो परिवर्तनमा हामी देख्न पाउँछौं।
एक सय अठसट्ठी वर्षपछि माक्र्सको भूत खोज्ने कमरेडहरूलाई सरकारी माक्र्सवादी भन्नुहुन्छ। वार्तामा पनि पटकपटक ‘सरकारी माक्र्सवाद’ टर्म प्रयोग गरिरहनुहुन्छ। सरकारी माक्र्सवादी खासमा हुन् चाहिँ को ?
– मैले धेरै ठाउँमा भन्दै र लेख्दै आएको छु— म सरकारी माक्र्सवादको विपक्षमा छु, दीपकजी। मेरो विचारमा सरकारी माक्र्सवाद भन्नाले जडसूत्रवादीहरूतिर मेरो संकेत हो। यो मेरो मौलिक आविष्कार होइन। माक्र्सवादी सौन्दर्यशास्त्रमा जडसूत्रवादविरोधी लामो परम्परा र इतिहास छ। कला र साहित्यलाई यान्त्रिक राजनीतिको चंगुलमा पार्ने विचारका वाहकहरू यो काँटका माक्र्सवादीहरू हुन्। हाम्रोमा पनि तिनीहरूको बिगबिगी छ। तिनले साहित्य र कलामा विचारको भ्रष्टाचार, इतिहासको मानमर्दन र शिल्पको धज्जी उडाउँछन्।
उपसंहार अंशमा मृतात्माहरू अनेक योनीमा जन्मेको चर्चा छ। यसले लेखक स्वयं प्रगतिशीलता छोडेर भाग्यवादतिर ढल्केको संकेत मिल्छ। यो कस्तो खालको प्रयोग गर्नुभएको हो किताबमा ? म्याजिकल रियालिज्म ?
– म प्रगतिशीलता छोडेर भाग्यवादतिर ढल्केको हुँदै होइन। म्याजिकल रियालिज्म दक्षिण अमेरिकाबाट चर्चामा आएको हो। यस विषयको यो चर्चा पनि नयाँ होइन। मार्खेजको उपन्यास ‘एक सय वर्षको एकान्त’ले नोबेल पुरस्कार पाएपछि संसारभरि हल्लिखल्ली मच्चियो। उनले प्रयोग गरेको अद्भुत शैली, शिल्प, राजनीति र इतिहासबोध चामत्कारिक थियो। हुन त उपन्यासमा स्वैरकल्पना पश्चिमाहरूले पनि प्रयोग गरिसकेका थिए। तपार्इं काफ्काको ‘मेटामर्फोसिस’लाई लिनोस् अथवा गुन्टर ग्रासका उपन्यासहरूलाई लिनोस् तर मार्खेज उनीहरूभन्दा भिन्न थिए। कला र विचारमा पश्चिमबाट पृथक् हुनु उनको मौलिकता हो। दक्षिण अमेरिकामा मार्खेजभन्दा अघि र पछि यो धारमा लेख्ने धेरै अरू आख्याकार पनि छन्। जस्तो हुवान रुल्फो र उनको उपन्यास ‘पेड्रो पारामो’ यही धाराका हुन्। म पेड्रो पारामोबाट प्रभावित छु।
किताबमा पिता नरेन्द्रनाथ छोरा धीरेन्द्रनाथलाई बेहद प्रेम गर्छ। तर, धीरेन्द्रनाथको मनमा पिताप्रति बेहद घृणा छ। कहिल्यै पितालाई जित्न नसकेको पश्चात्तापको भुंग्रोमा नायक धीरेन्द्रनाथ जलिरहन्छ। के पिता र पुत्रबीच यतिसम्मको प्रतिस्पर्धाको विचार ज्यूँदो रहन्छ ?
– पुत्रले पिताको हत्या गरेका उदाहरणहरू इतिहासमा अनगिन्ती छन्। इतिहासका केही यस्ता उदाहरण उपन्यासको पात्र धीरेन्द्रले पनि भनेको छ हैन र !
किताबमा माटोमुनिबाट ब्यूँझेर क्रान्तिकारीहरू ‘क्रान्ति’ सकिँदै गएको चिन्ता गर्छन्, माओवादीका कमान्डरहरू भूतप्रेत बनेका छन्। बाँदर र मृग योनीमा जन्म लिएका छन्। उनीहरूले क्रान्तिको नाममा मृत्युवरण गरेर एकबारको जीवनको भद्दा मजाक गरे भन्ने आशय हो तपाईंको ?
– मजाक शब्द ठीक नहोला कि ? शहीदहरूप्रति मेरो हार्दिक सलाम छ। किताबको शीर्षक नै चिनियाँ लोकगीतलाई नेपालीकरण गरेर क्रान्तिकारी गीत बनाउने कमरेड रोहित कोइरालाबाट बनेको छ।
माओवादी ‘जनयुद्ध’को १० वर्षमा देशमा धेरै परिवर्तन भए। राजतन्त्र ढल्यो। शान्ति सम्झौता भयो। नयाँ संविधान बन्यो। यो सकारात्मक परिवर्तन होइन र ‘जनयुद्ध’ले ल्याएको ?
– यो कति सकारात्मक बन्ला, केही समय प्रतीक्षा गर्नुपर्छ। अहिले इतिहास बनाइरहेका तर आफ्नो इतिहास लेख्न नसकेकाहरूको राय नआएसम्म केही भन्न गाह्रो हुन्छ। मैले उपसंहार खण्डको सुरुमा ब्रेख्तको कविता उद्धृत गरेको यही मनशायले हो। हरेक दशकमा एउटा महान्, कसले तिर्‍यो महान्को मूल्य ?
त्यसबाहेक तपाईंले इंगित गरेको परिवर्तन माओवादी एक्लैको पनि त होइन। परिवर्तन ल्याउने हूलमा अरू पनि त थिए। हामी पनि त थियौं। अर्को कुरा म जनयुद्ध लडेकाहरूको सपनाको सम्मान गर्छु। उनीहरू दोषी भएको भए मेरो किताबमा दिलबहादुर विश्वकर्मा मेरो प्रिय पात्र कसरी बन्थ्यो ?
यत्रो परिवर्तन हुँदा पनि कामी, दमाई, सार्कीको जीवन फेरिएन। उनीहरू अहिले पनि चिया पसलमा पस्न पाउँदैनन् भनेर लेख्नुभएको छ। अवस्था पहिलेजत्तिकै गएगुज्रेकै छ त ?
– विकसित सहरबजारमा फरक होला तर मेरो गाउँ धेरै बदलिएको छैन।
उपन्यासमा गणतन्त्रलाई ‘भूत–गणतन्त्र’, ‘भूताहा गणतन्त्रमा तपाईंलाई स्वागत छ’ लेख्नुभएको छ। यो के भन्नुभएको ? शाब्दिक जञ्जाल मात्र हो कि ?
– यो प्रतीक हो। यसलाई मेरो गणतान्त्रिक सपनाको मेटाफोर भन्नोस्।
उपन्यासको मुख्य पात्र धीरेन्द्र असफल कवि, असफल राजनीतिज्ञ र शिक्षक छ। के धीरेन्द्रमा तपाईं आफ्नै अनुहारको प्रतिविम्ब देख्नुहुन्छ ?
– केही मेरा अनुभवहरू छन् यसमा। सबै होइनन्। जस्तो पद्मोदय हाइस्कुलमा मैले पढेको हो तर आनन्दकुटीमा होइन। धीरेन्द्रले बिहे गरेन, यो मसित मिल्दैन। ऊ माओवादीमा गयो, म गइनँ।
कुनै पनि कलाकृतिमा लेखकले आफूलाई लेख्छ भने त्यो जीवनीपरक बन्छ। जीवनीपरक उपन्यास लेख्नै नहुने होइन। गोर्कीको ट्रिलोजी यस्तै एक हो। मो यानको छोटो उपन्यास ‘द चेन्ज’ जीवनीपरक कृति हो। टोल्सटोयको कथा ‘दुई हुस्सार’ र उपन्यास पुनरुत्थानमा उनको जीवनी झल्कन्छ।
रातो चुरा, रातो धागो र झुन्डिरहेकी भाटभटेनीको विम्बले कथानकलाई डोहोर्‍याइरहेको हुन्छ। एउटा बालकमा यत्रो त्रास हुलेर किताब अराजक बनेको लाग्छ। भाटभटेनीकै विम्ब किन आवश्यक पर्‍यो ?
– धीरेन्द्रले आफ्नी आमा पासो लगाएर झुन्डिएको देख्यो। पछि उसले जब भाटभटेनी देख्यो, उसलाई त्यस विम्बले सताइरह्यो।
हिप्पीकालको अराजक जीवनशैली राम्रै अनुभव गर्नुभएको तपाईंलाई वर्तमान कति अराजक लाग्छ ?
– अहिले पनि जीवन त्यति सुसंगत छैन। तर, उमेरले पनि मानिसलाई सन्न्यासी बनाउँछ क्यारे। त्यसमाथि हिप्पीकालको अराजकता त अब एउटा इतिहास वा मिथकजस्तो भइसक्यो।
कम्युनिस्ट दुनियाँमा छुट्टाछुट्टै झुण्ड सक्रिय छन्। भनिन्छ— कम्युनिस्टहरू व्यवहारमा भ्रष्ट हुन्छन् र समाजलाई संकुचित दायरामा बुझ्छन्। तपाईं यसबाट फरक हुनुहुन्छ ?
– फरक हुने कोसिस गर्छु तर कति फरक छु भन्न सक्दिनँ। यो त तपाईंहरूले भन्ने कुरा हो।
तपाईं पूर्व सोभियत मोडेलको वकालत गर्नुहुन्छ। तर, जीवनमा परम्पराको पर्दाबाट कहिल्यै उम्किनुहुन्न नि !
– अक्टोबर क्रान्तिको अगाडि बोल्सेभिकहरूले सोभियत परिषद्लाई शक्तिशाली बनाऊ भन्ने नारा मलाई राम्रो लागेको हो तर पछि सोभियत संघले यसलाई उपेक्षा गर्‍यो। यसै कारण सोभियत संघको समाजवाद ठीक दिशामा गएन।
अब फेरि परम्पराको पर्दाबाट नउम्केको विषय आयो। समाजवाद नआएको संसारमा असल भएर बाँच्न निकै गाह्रो छ। यसका लागि ब्रेख्तको नाटक ‘द गुड पर्सन अफ सेचुवाँ’लाई सम्झनु उपयुक्त हुन्छ। पुँजीवादमा एकैपटक एउटा मान्छे कसरी असल र खराब हुन्छ भन्ने कुरा यो नाटकको सारांश हो। मलाई यसरी हेरियोस् भन्ने मेरो आग्रह छ।
नेकपा एमाले फुटाएर माले बनाउने अगुवामध्ये तपाईंलाई पनि मानिन्छ। पछि ‘मैले गल्ती गरे“’ भनेर आत्मालोचना पनि गर्नुभयो। तपाईं अस्थिर प्रकृतिको मानिस हो ?
– हो। अस्थिर नभएको भए म नेता बन्थेँ, साहित्यकार होइन।
अस्ति ‘बातलाबा’को प्यानल डिस्कसनमा तपाईंलाई समीक्षक गुरुङ सुशान्तको प्रश्न थियो— ‘प्रज्ञा–प्रतिष्ठानमा कुलपति भएर जानुहुन्छ ? ’ पहिले मसँग भन्नुभएको थियो— ‘साहित्यकार प्रज्ञामा जानु भनेको एउटा लगाममा बाँधिनु हो, मलाई प्रज्ञा नै चाहिँदैन।’ प्रज्ञामा साहित्यकार नगए को गइरहेका छन् त ? तपाईंलाई कुलपतिको अफर आयो भने के गर्नुहुन्छ ?
– पहिलेदेखि नै प्रज्ञाको गठनप्रक्रिया मलाई मन नपरेको विषय हो। पञ्चायतको समयमा त्यो राजावादीहरूको पञ्जामा रह्यो। छयालीसको जनआन्दोलनको सफलतापछि त्यो दलवादीहरूको पञ्जामा पुग्यो। भागबन्डामा प्रज्ञा गठन हुन थाल्यो। प्राथमिक तहको शिक्षक बन्न योग्यता नपुगेकाहरू समेत प्राज्ञ बन्न थाले। यता आएर देशमा लोकतन्त्र होइन, दलतन्त्र हावी छ। यस्तो अवस्थामा प्रज्ञा–प्रतिष्ठानमा जानु भनेको आफ्नै विध्वंस हो। आफ्नै रचनात्मक ऊर्जा र नैतिकताको विध्वंस हो।
प्रायः तपाईंका कथामा, उपन्यासमा लोकेसन, सेटिङ, पात्र उस्तै हुन्छन्। त्यही कुरो यस उपन्यासमा पनि देखियो। काँठ लोकेसन, त्यतैका पात्र र उनीहरूको मनोविज्ञानबाट बाहिर जानुहुन्न तपाईं। काँठबाट बाहिर ननिस्किने, काठमान्डु नि नछिर्ने। नयाँ सेटिङमा उपन्यास लेख्दा फेल भइने डर लाग्छ, हो ?
– लेखकले त्यही लेख्नुपर्छ जसलाई उसले बढ्ता बुझेको हुन्छ। मैले काँठलाई बुझेको छु।
मैले लेखक राजवलाई कुनै बेला यो प्रश्न सोधेको थिएँ, तपाईंलाई पनि सोध्छु। नेपाली साहित्यको गोल्डेन जेनेरेसनका गोल्डेन लेखकहरू थिए— विमल निभा, श्यामल, नारायण ढकाल, राजव। तर, उनीहरू निरन्तर शिखरमा टिकिरहन सकेनन् भन्ने केही पाठकको मूल्यांकन छ। यसमा तपाईंको आफ्नै मूल्यांकनचाहिँ के छ ?
– म शिखरमा छु या फेदीमा छु, पाठकले भन्ने विषय हो। तर, विमल निभा, श्यामल र राजव खस्किएका छैनन्, उनीहरू शिखरमै छन्।
आत्ममूल्यांकन गर्नुपर्दा तपाईं नेपाली लेखनमा कहाँ, कुन स्थानमा हुनुहुन्छ ?
– म आफ्नो स्थान तोक्न असमर्थ छु। आफ्नो स्थान तोक्ने सामथ्र्य सायद सिद्धहरूमा होला, म सिद्ध होइन र हुन पनि चाहन्नँ।

अन्नपूर्ण फुर्सद शनिवार, फागुन ५, २०७४ 

No comments:

Post a Comment