Monday, March 11, 2019

संगठित प्रगतिशीलताको माङ्गेनार्थ - आहुति

सतहमा हेर्दा प्रगतिशील लेखकहरूको ठूलो जमात सत्ताधारी हुन पुगेको छ । अन्तर्वस्तुमा भने प्रगतिशील प्रवृत्ति आफ्नै अस्तित्वको नयाँ परिभाषा खोज्न छटपटाउँदै छ ।
पञ्चायती
काठमाडौँ — दर्शन, विचार र राजनीतिले साहित्यमा खास प्रवृत्तिलाई जन्माउँछन् भन्ने विषय अब नयाँ रहेन । हुन त साहित्यको कुनै राजनीति हुन्न वा जरुर हुन्छ जस्ता टोकाटोक र ठोकाठोक पनि हुँदै आएकै हुन्, तैपनि त्यस्ता ठोकाठोकलाई यस आलेखमा सिलोक भन्ने आँगन छैन । यहाँ निहुँ खोज्न लागिएको विषय त्यो हैन ।


साहित्यको पक्षधरता वा निरपेक्षताबारे जति दोहोरी गाइए पनि विसं १९९० को आसपासबाट संगठित भएको सामन्तवादविरोधी विचार र राजनीतिले साहित्यमा लोकतान्त्रिक भनिने पुँजीवादी प्रवृत्तिलाई संगठित हुन उत्प्रेरित गरेको यथार्थलाई कसैले इन्कार नगर्ला ।
विसं २००६ देखि सामन्तवाद मात्र होइन, साम्राज्यवाद अर्थात् पुँजीवादका विरुद्ध समेत लडेर समाजवादतिर जानुपर्ने मार्क्सवादी दर्शन र विचारमा आधारित कम्युनिस्ट राजनीतिले पनि आफ्नो साहित्यिक प्रवृत्तिलाई संगठित रूपमा अघि बढ्न उत्प्रेरित गर्‍यो । त्यस साहित्यिक प्रवृत्तिलाई खुकुलो ढंगले प्रस्तुत गर्दा प्रगतिशील साहित्य भनियो ।

२००७ मा सामन्तवादी राणा राजनीति परास्त भए पनि त्यसले उत्प्रेरित गर्ने राजतन्त्रवादी–सामन्तवादी साहित्यिक प्रवृत्ति २०१७ पछि परिष्कृत हुँदै पञ्चायतकालभरि हर्ताकर्ता भयो । यसरी १९९० पछि आजसम्म विचार र राजनीतिबाट प्रेरित हुँदै तथा तत्तत् राजनीतिलाई पनि प्रेरित गर्दै संगठित रूपमा तीन वटा प्रवृत्ति ठेलमठेल भूमिकामा रहँदै आएको प्रस्ट देखिन्छ । यी तीन प्रवृत्तिबाहेक नेपालको साहित्यमा अरू दुई प्रवृत्ति पनि आजसम्मै क्रियाशील छन् ।

एउटा हो— विभिन्न धार्मिक सम्प्रदायसँग सम्बन्धित भक्ति प्रवृत्ति । अर्को हो— लोकगीत, लोककथा आदि भएको लोक–प्राकृत प्रवृत्ति । नेपालको साहित्यमा भक्ति र लोक–प्राकृत प्रवृत्तिहरूभित्रका अंग वा प्रसंगहरू विभिन्न सन्दर्भमा फरकफरक राजनीतिको सहयोगी बनेको पाइए पनि ती संगठित रूपमा आजसम्म निश्चित राजनीतिका पक्षमा प्रस्तुत भएको पाइन्न ।

साहित्यिक प्रवृत्तिहरूमध्ये तीन वटा प्रवृत्ति संकटग्रस्त छन् । सामन्तवादी प्रवृत्ति अन्तिम सास फेर्न बाध्य छ । समाजको मूल संरचना नै पुँजीवादी भइसकेपछि त्यस प्रवृत्तिलाई थेगोस् पनि केले ? राजतन्त्र फर्काउन इच्छा गर्ने कमजोर राजनीति समग्रमा आफैँ पुँजीवादी राजनीति हो । यो प्रवृत्तिको मृत्यु अवश्यम्भावी छ र त्यो स्वाभाविक मृत्यु नै हुनेछ ।

साहित्यको लोक–प्राकृत प्रवृत्तिचाहिँ नेपालको समग्र राजनीतिले नै त्यसको महत्त्व नबुझेका कारण चरम उपहासको ऐतिहासिक सिकार भएर मरणासन्न हुन पुगेको छ । संकटग्रस्त बनेको अर्को साहित्यिक प्रवृत्तिचाहिँ सामन्तवाद र साम्राज्यवाद अर्थात् पुँजीवादविरोधी प्रगतिशील प्रवृत्ति हो । सतहमा हेर्दा प्रगतिशील लेखकहरूको ठूलो जमात सत्ताधारी हुन पुगेको छ । अन्तर्वस्तुमा भने प्रगतिशील प्रवृत्ति आफ्नै अस्तित्वको नयाँ परिभाषा खोज्न छटपटाउँदै छ ।

प्रगतिशीलता एउटा सापेक्ष अवधारणा हो, जुन हरेक प्रक्रिया, सन्दर्भ र युगअनुसार फरक परिभाषामा व्यक्त हुन्छ । नेपालको साहित्य क्षेत्रमा भने प्रगतिशील वा प्रगतिशीलताको ठेक्कापट्टा एकलौटी मार्क्सवादीहरूको पोल्टामा पर्दै आयो । २००७ वरपर मार्क्सवादी विचार राजनीतिसँग निकट लेखक संगठनहरू खुल्न थाले । तीमध्ये श्यामप्रसाद शर्माको नेतृत्वमा नाम नै ‘प्रगतिशील’ प्रयोग गरेर खुल्यो— प्रगतिशील लेखक संघ (प्रलेस) ।

तत्कालीन कम्युनिस्ट राजनीतिले सामन्तवाद र साम्राज्यवादको विरोधलाई आफ्नो राजनीतिको ध्येय बनाएकाले प्रलेसले पनि मोटामोटी त्यही ध्येय पक्रियो । त्यो लेखक संघ आफ्नो पुनर्जीवनसहित लामो निद्राबाट एकैचोटि २०३५/३६ को आन्दोलनको धक्काले ब्युँझियो र प्रगतिशील लेखक कलाकार संघ बन्यो । फेरि ‘कलाकार’ शब्द हटाएर प्रगतिशील लेखक संघ नाममा क्रियाशील हुँदै आयो । यही संगठनले तयार पार्‍यो साहित्यमा प्रगतिशीलताको परिभाषा— सामन्तवाद तथा पुँजीवादी साम्राज्यवादविरोधी लेखन प्रगतिशील हो ।

प्रलेसमा आबद्ध फरकफरक कम्युनिस्ट पार्टीका लेखकहरू प्रगतिवादी अथवा मार्क्सवादी लेखक संघ बनाउन चाहन्थे तर एउटा पार्टीको लेखकले अर्को पार्टीको लेखकलाई सच्चा कम्युनिस्ट नमान्ने स्थितिले गर्दा एकअर्काका निम्ति फर्जी कम्युनिस्ट लेखकहरू एक ठाउँमा रहनका लागि सम्झौताको अवधारणा थियो— प्रगतिशील लेखकवाला अवधारणा ।

जुनसुकै बाध्यतामा जन्मिए पनि त्यो सही थियो किनभने २०३५/३६ पछि सामन्तवाद र साम्राज्यवादविरुद्धको लेखनलाईप्रगतिशील भन्नु सोह्रै आना सही थियो तर यो अवधारणामा दुई ठूला चोर भ्वाङ थिए, जसबाट अध्यात्मवादी र मार्क्सवादका केही पक्षलाई मात्र समर्थन गर्ने लेखक पनि सजिलै प्रलेसमा हर्ताकर्ता हुन थाले किनभने उनीहरू आफू सामन्तवाद र साम्राज्यवादको विरुद्धमा रहेको भन्थे । यस्तो भ्वाङमय सिलसिलामा जण्ड मार्क्सवादी लेखकहरू पिरोलिए पनि २०४४ मा पुनर्जीवित प्रलेसमा आस्तिक लेखकहरू पनि संगठनको अध्यक्ष र महासचिवसम्म बन्न पुगे ।

संगठनसम्बन्धी मामिलामा प्रलेस धेरैजसो आलोचनाको घेरामा रहँदै आयो । यसलाई विभिन्न प्रगतिशील संगठनको साझा मञ्च मानियो । विभिन्न प्रगतिशील लेखक संगठनको मतलब हो— फरकफरक मार्क्सवाद मान्छु भन्ने पार्टीसँग सम्बद्ध लेखकहरू । मञ्च भए फरकफरक प्रवृत्तिका समान संख्याका प्रतिनिधि रहने गरी बनाउनुपर्थ्यो तर त्यसो गरिएन, बरु तहगत संरचना बनाइयो । केन्द्रदेखि जिल्ला तहसम्म तहगत संरचना बन्ने त मञ्च होइन, संगठनको अवधारणा हो । भनियो मञ्च, बनाइयो संगठन ।

यथार्थमा फ्रलेस संयुक्त मञ्च थिएन, संयुत्त मोर्चा संगठन थियो । व्यवहारमा संयुक्त मोर्चा संगठनलाई फेरि ढोङपूर्ण निर्वाचन हुने विधिमा ढालियो । यो हास्यास्पद अभ्यास थियो । अन्योलको महाथुप्रोबीच खास पार्टी प्रतिबद्ध नरहेका तर मार्क्सवादप्रति प्रतिबद्ध लेखकहरू प्रलेसको अखडामा कुस्तीबाज बन्ने कि कुस्ती हेर्ने दर्शक ? सधैँभरि असन्तुष्ट बन्नुपर्ने बाध्यतामा रहँदै आए ।

प्रलेस लेखकहरूलाई सिर्जनात्मक क्षेत्रमा पोषण दिने संगठन थिएन, बरु आआफ्ना पार्टी लाइन वा स्वपहलमा सिर्जनशील लेखकहरूलाई वैचारिक रूपमा गोलबन्द गर्ने संगठन थियो । यसलाई पुनर्जीवन दिन पारिजात, मोदनाथ प्रश्रित, खगेन्द्र संग्रौला, रमेश विकल, निनु, रामेश, रायन, रमेशरञ्जन झादेखि त्यस यात्रामाकचिङ्गलबीच नारायण ढकाल, विमल निभा, श्यामलसम्म थुप्रै व्यक्तित्व गाँसिँदै आए । कृष्ण सेन इच्छुक, वासुदेव अधिकारी, पूर्ण वैद्यदेखि आजका विनोदविक्रम केसी र कल्पना चिलुवालसम्मका कवि प्रलेसको कुनै न कुनै हाँगामा अडिएकै छन् । शक्तिशाली लेखकहरू बेहोसीमा प्रलेसवरिपरि झुम्मिएका पक्कै थिएनन्, बरु त्यो इतिहासमा जरुरी संगठन नै थियो ।

प्रलेसको वैचारिक र संगठनात्मक चरित्रको सीमाका कारण मुख्यतः दुई वटा काम मात्र हुन सम्भव थियो । एक, प्रगतिशीलता, प्रगतिवाद वा समाजवादी यथार्थवादका पक्षमा तथा प्रतिध्रुवीय विचारका विपक्षमा वैचारिक कार्यक्रमहरू आयोजना गर्नु । दुई, सामन्तवादी–साम्राज्यवादी शिविरका गलत हर्कतका विरुद्ध सबै कम्युनिस्ट पार्टीसम्बद्ध तथा स्वतन्क्र लेखकलाई संयुत्त रूपमा विरोधमा उतार्नु ।

आन्तरिक रूपमा पटकपटक आलोचना, विवाद र फुट बेहोरे पनि प्रलेसले ती दुई काम भने कहिले धेरै कहिले थोरै गर्‍यो नै । २०४६ को परिवर्तनपछि कम्युनिस्ट आन्दोलनमा प्रस्ट दुई धार देखिए । एउटा, संसदीय व्यवस्थालाई प्रयोग गर्दै जाने र अर्को, संसदीय व्यवस्थालाई भन्डाफोर गर्दै अन्ततः त्यसलाई अन्त्य गर्न अघि बढ्ने ।

संसद्लाई प्रयोग गर्दै जाने धाराको तत्कालीन ठूलो पार्टी एमाले थियो । संसदीय व्यवस्थालाई भन्डाफोर गर्दै अघि बढ्ने धाराले चाहिँ संसदीय व्यवस्थाविरुद्ध जनयुद्ध र जनआन्दोलन संगठित गर्नतिर लागेको स्पष्टै छ । यी र यस्ता दर्जनौँ राजनीतिक–वैचारिक विषयमा पूर्वपश्चिम फर्केका कम्युनिस्ट पार्टीसम्बद्ध तथा स्वतन्त्र लेखकहरू प्रलेसजस्तो संयुक्त मोर्चामा के कारणले खुसीसाथ सँगै बस्दै आए त ? यसको मुख्य कारण थियो— राजतन्त्रले नेतृत्व गरेको सामन्तवाद ।

कम्युनिस्ट नामका सबै पार्टीको विश्लेषण राजतन्त्रले सामन्तवादको रक्षा गरिरहेछ भन्ने थियो । सामन्तवादविरुद्ध पुँजीपति वर्गसँग समेत मिलेर लड्न सकिने मान्यताबाट प्रशिक्षित कम्युनिस्ट पार्टीहरूले एकअर्कालाई गैरकम्युनिस्ट माने पनि राजतन्त्र रहेसम्म त्यसविरुद्धको मोर्चामा सजिलैसँग बस्न सक्ने सैद्धान्तिक निचोड निस्कन्थ्यो । यसरी प्रलेस सामन्तवाद र साम्राज्यविरोधी प्रगतिशील लेखकको संयुक्त मोर्चा भएकाले राजतन्त्र रहेसम्म त्यसको औचित्यबारे कसैले प्रश्न उठाउने कुरा पनि भएन ।

राजतन्त्रको अन्त्यसँगै दुई वटा संविधानसभा हुँदै करिब पौने दशकको संक्रमणकालबाट नेपाली समाज गुज्रियो । अब राजतन्त्र छैन, सामन्तवाद अवशेषमा सीमित छ । कम्युनिस्ट आन्दोलन तीव्र रूपमा नयाँ किसिमले ध्रुवीकृत हुँदो छ । एउटा ध्रुव नयाँ संविधानले निर्दिष्ट गरेको दलाल पुँजीवादी संसदीय व्यवस्थालाई सर्वोत्तम समाजवादतिरको यात्राको बाटो मान्ने कम्युनिस्ट नामका पार्टीहरूबाट बनेको छ ।

अर्को ध्रुव नयाँ वैज्ञानिक समाजवादी क्रान्तिको तयारीमा जुट्नु अवश्यम्भावी ठान्ने कम्युनिस्ट नामका पार्टी र समूहहरूको छ । त्यसैगरी हिजोजस्तो चरित्रको पुँजीवादलाई साम्राज्यवाद भनेको हो, आजको साम्राज्यवादको मूल चरित्र पनि त्यस्तो छैन । के अब पनि प्रगतिशीलताको नयाँ परिभाषा जरुरी छैन ? नयाँ परिभाषाको निरूपणसँगै प्रगतिशील लेखक संघको औचित्य र नयाँ परिमार्जित संयुक्त मोर्चाबारे गम्भीर संवाद आवश्यक छैन ?

प्रलेस परम्परागत रूपमा आफ्नो नयाँ राष्ट्रिय सम्मेलनको तयारीका लागि भटाभट जिल्ला सम्मेलनमा जुटेको छ । यससँग सम्बद्ध रहँदै आएका अधिकांश लेखक पनि नयाँ प्रश्नबिना परम्परागत कर्मकाण्डमा झैँ व्यस्त छन् । यो स्थिति देख्दा लाग्छ— प्रगतिशीलताको मान्यता एउटा धार्मिक जडता हो, जसमा कहिल्यै परिवर्तन आउँदैन ।

हिजोको प्रगतिशीलता सामन्तवाद र साम्राज्यवादको विरुद्ध हुनु ठीक थियो अनि अन्तर्यमा मार्क्सवादी दर्शन, सिद्धान्तलाई स्वीकार गर्नु थियो । आज नेपालको परम्परागत पुँजीवादी धारा पनि अवशेषको सामन्तवादविरुद्ध उभिन्छ किनभने आफूले राजनीतिक रूपमा सम्झौता गर्नुपर्ने ठानिएको राजनीतिक सामन्तवादी शक्ति राजतन्त्र नै छैन । त्यसकारण आज सामन्तवादको विरोध नेपाली समाजको आम प्रवृत्ति हो । समाजको आम प्रवृत्ति प्रगतिशीलताको मूल मानक अब बन्न सक्दैन ।

अब आयो साम्राज्यवादको विरोधको विषय । चल्दै आएको हिजोको साम्राज्यवादको विरोध गर्ने हो भने आजको साम्राज्यवाद खुसी हुनेछ किनभने आजको साम्राज्यवादको आधारभूत चरित्र नै फरक छ । हिजोको साम्राज्यवाद भनेको एकाधिकार पुँजीवाद थियो, जो उत्पीडित राष्ट्रका राष्ट्रिय पुँजीपतिलाई नष्ट गर्न आउँथ्यो अनि संसारभरीका पुँजीपतिवर्गका फरक गुटहरू एकअर्कालाई सिध्याउन विश्वयुद्धसम्म गर्थे तर आजको साम्राज्यवादमा विश्वव्यापी रूपमा पुँजीपतिहरू एकीकृत हुन्छन् र बहुराष्ट्रिय कम्पनीमार्फत लुट मच्चाउँछन् ।

राष्ट्रिय पुँजीपतिलाई नष्ट गर्दैनन्, बरु दलाल पुँजीपतिमा रूपान्तरण गर्छन् । यो साम्राज्यवादको मुख्य दार्शनिक शाखा उत्तरआधुनिकतावाद हो र सांस्कृतिक हतियारचाहिँ उपभोक्तावाद । त्यसैले आजको प्रगतिशीलताको मुख्य मुद्दा नै बहुराष्ट्रिय कम्पनीवाला साम्राज्यवादविरुद्ध उभिनु हो र देशभित्र चाहिँ साम्राज्यवादको नोकर दलाल पुँजीवादी व्यवस्थाविरुद्ध खडा हुनु हो ।
यस वैचारिकीबाट हेर्दा आजको प्रलेसमा आबद्ध संगठनहरू कस्ता छन् त ? प्रलेसमा स्वतन्क्र व्यत्तिहरू पनि रहँदै आएका छन् तर त्यो मुख्य पक्ष हैन ।

मुख्य पक्ष त विभिन्न कम्युनिस्ट पार्टीका सांस्कृतिक भ्रातृसंगठनहरू आफ्ना प्रतिनिधिमार्फत त्यसमा रहने व्यवस्था नै हो । घटकहरू कस्ता विचार बोकेका पार्टीको राजनीति अगाडि बढाउन प्रतिबद्ध छन् भन्ने प्रश्न स्वाभाविक रूपमा अगाडि आउँछ । गलत विचार बोकेको पार्टीप्रतिबद्ध कुनै लेखक एवं उसको लेखनी प्रगतिशील हुन सक्छ ।

पार्टीहरूमा देखा पर्ने वैचारिक स्खलनको तीव्र संक्रमणकालमा त यस्तो विडम्बना असरल्लै प्रकट हुन्छ । त्यो व्यक्ति लेखकको मूल्याङ्कन गर्दा यस्तो अवस्थालाई ध्यान दिनैपर्छ तर कोही लेखकको प्रगतिशीलताले ऊ आबद्ध संगठनको चरित्र निर्धारण गर्दैन । पार्टी वा संगठनको मूल्याङ्कन त्यसको घोषित विचार र प्रकट व्यवहारका आधारमै गर्नु अनिवार्य हुन्छ ।

प्रलेसमा सबैभन्दा भीमकाय घटक अहिले नेकपासँग आबद्ध सांस्कृतिक मोर्चा हुन पुगेको छ । त्यससम्बद्ध लेखकहरूको संख्या अरू सबै घटकका लेखकहरूजोड्दा पनि अहिले बराबरी हुँदैन । यो तथ्य पनि सही हो, त्यस घटकसम्बद्ध सयौँ सिर्जनशील लेखक मातृपार्टीको स्खलनबाट उत्पन्न पीडाको संक्रमणकालमा छन्, उनीहरूको बुझाइ र सिर्जना अझै प्रगतिशील नै छ तर उनीहरू प्रलेसमा मातृपार्टीको निर्णायक आदेशलाई उल्लङ्घन गर्न सक्ने हालतमा छैनन् किनभने उनीहरू त्यस पार्टीको अहिले वफादार कार्यकर्ता छन् । नेकपाले वर्गसंघर्षलाई त्यागिसक्यो ।

दलाल पुँजीपतिलाई रिझाउन तल्लीन उसले कुन वर्गसँग वर्गसंघर्ष गर्नु र ? बहुराष्ट्रिय कम्पनीहरूसँग हात जोडेर लगानी मागिरहेको नेकपा बहुराष्ट्रिय कम्पनीवाला आजको साम्राज्यवादविरोधी हुन सक्छ र ? दस्ताबेज नै हेरे हुन्छ, जसबाट दलाल पुँजीपतिसँग वर्गसंघर्ष गर्ने अवधारणा नै गायब छ । बहुराष्ट्रिय कम्पनीवाला आजको साम्राज्यवादको उपभोक्तावादी संस्कृतिविरुद्ध त्यो पार्टी र त्यसको सरकार कतै पनि उभिने स्थिति छैन । बरु सरकारी टेलिभिजन, रेडियो र पत्रिकालाई समेत उपभोक्तावादको सानदार प्रचारका निम्ति सगौरव छोडिदिएको छ ।

कतिपयलाई लागेको छ, विकास र समृद्धिको कुरा गरेको छ त नेकपाले ! पहिलो कुरा, पुँजीवादी विनाशकारी समृद्धि तथा वर्गभेद झन् गहिर्‍याउने विकास समृद्धि नै होइन । दोस्रो कुरा, त्यस्तो समृद्धि ल्याउने पार्टी पनि प्रगतिशील रहन्न । भौतिक विकासमा अमेरिका अगाडि छ, त्यसो भए अमेरिकी कंग्रेस र रिपब्लिकन पार्टी प्रगतिशील हुन् ? विकसित मानिएको युरोपका सत्ताधारी पार्टीहरूले प्रगतिशील साहित्यलाई प्रवर्द्धन गर्छन् ?

त्यसैले पुँजीवादी समृद्धिसँग आजको प्रगतिशीलताको कुनै साइनो छैन । यस प्रकारको विवर्गीय वैचारिकी बोक्ने नेकपासम्बद्ध घटक सबैजसो समितिमा हर्ताकर्ता हुने प्रलेसले अबको प्रगतिशील भूमिका कसरी खेल्न सक्छ ? कदापि सक्दैन । नेकपाबाहेक मोहन वैद्य, नेक्रवित्रम चन्द आदिले नेतृत्व गरेका पार्टीसम्बद्ध सांस्कृतिक संगठन त्यसमा छन् । आजको देशको दलाल पुँजीवादी व्यवस्था र साम्राज्यवादको विरोध गर्ने तिनको संख्यात्मक घनत्व भने निकै कमजोर छ । ती घटक र स्वतन्त्र लेखकहरूले प्रलेसको कामको दिशालाई आवश्यकताअनुसार ढाल्न सक्ने सम्भावनै छैन ।

केहीलाई लागेको छ, प्रलेससम्बद्ध लेखकहरूका क्रियाकलापबारे पार्टीका नेतालाई वास्तै हुँदैन, त्यसैले त्यसमार्फत कलात्मक ढंग पुर्‍याउँदा ठीक काम गर्न सकिन्छ । राजनीतिमा कला चाहिन्छ तर विचारको राजनीतिलाई कला प्रयोग गरेर उछिन्ने अवधारणा असम्भव कल्पना हो । केन्द्रीय समितिमा मुख्य पोस्ट नेकपाबाहेककाले लिँदा प्रलेसलाई ठीक दिशा दिन सकिन्छ पनि भन्ने गरिन्छ । यो मनको लड्डु मात्र हो । अरू सबै जोड्दा पनि आफू दोब्बर हुने नेकपाले मुख्य पोस्टजति अरूलाई किन दिने ?

केन्द्रमा दिए पनि देशव्यापी त उसकै बोलवाला हुन्छ, अरूको संख्यै पुग्दैन ! प्रलेस देशव्यापी लेखनमा विचारको प्रतिबद्धता देखाउने संगठन हो, केन्द्रमा केही भएर मात्र खासै अर्थ हुन्न । प्रलेसबाट अलग भएर के गर्ने, अर्को बनाउँदा पनि चल्दैन भन्ने सुस्केरा पनि सुनिन्छ । गलतमा सामेल नहुँदा विकल्प तत्काल जन्मिइहाल्नुपर्ने विज्ञानको नियम हो ? विकल्प देखा नपर्दा पनि गलतसँग सम्बन्ध विच्छेद नै विकल्पको पहिलो पाइला हैन ? सही विकल्पको यात्रा प्रायः सानो आकारबाट प्रारम्भ हुने हैन ?

आजको साम्राज्यवादको दलाली गर्ने, दलाल पुँजीपति वर्गसँग वर्गसंघर्ष होइन, बरु त्यसको सेवा गर्ने पार्टीसम्बद्ध लेखकहरू भारी–भरकम हुने प्रलेसलाई पुरानै ‘फ्रेम’ मा अघि बढाउन साम्राज्यवादविरोधी क्रान्तिकारी भन्ने मोहन वैद्य र नेक्रवित्रम चन्द नेतृत्वका लेखकहरू मक्ख भएर लागेको देखिनु हास्यास्पद परिघटना हो । के उनीहरू प्रगतिशील कथित वंश परम्परा धानेर काशी जान चाहन्छन् ? वा, प्रलेसका खास पदहरूको लोभमा आफ्नो घोषित नीतिलाई टाङमुनि रफरदफर गर्दै छन् ? जताबाट हेरे पनि उनीहरूको प्रलेससम्बन्धी क्रियाकलाप या त विचारमा बूढो देखिन्छ, या नयाँ युगको प्रगतिशील लेखन आन्दोलन सुरु गर्न असमर्थ पुड्को । आजको नेकपाको धारा यथास्थितिवादी हो पनि भन्न नसकी तिनकै आश्रय खोज्ने प्रवृक्ति बोकेर कसरी नयाँ त्रान्तिको निम्ति लेख्न सकिन्छ ?

पुरानो युग सकियो, पुरानो युगको कम्युनिस्ट आन्दोलन पनि सकियो र साथसाथै पुरानो युगको प्रगतिशीलता सकियो । अब त पुरानो युगको प्रगतिशील लेखन र लेखकबाट सकारात्मक सन्दर्भहरू अनुसरण मात्र गर्नु छ । ती अब भविष्यको मार्गनिर्देशक बन्न सक्दैनन् । गोकुल जोशी, पारिजात या युद्धप्रसाद मिश्रहरू प्रेरणादायी ऐतिहासिक सन्दर्भ हुन् तर भविष्यको यात्रा त आजको नयाँ पुस्ताले गर्नु छ ।

साझा संगठनहरू भविष्यमा पनि चाहिन्छन् तर सही प्रवृत्तिलाई कुँजो बनाउने अतीतका संगठनलाई भविष्य यात्रामा लैजान जरुरी छैन । प्रलेस क्रियाशील नहुँदा मूलतः ‘संकल्प’ र ‘वेदना’ दुई पत्रिकाले प्रगतिशील लेखन आन्दोलनलाई क्रान्तिकारी ढंगले अगाडि बढाएका थिए ।

पार्टीका रूपमा क्रियाशील साम्राज्यवाद र देशको दलाल पुँजीवादी सत्ताविरोधी समूहहरूले साहस गर्छन् भने नयाँ परिभाषाको प्रलेस बनाए भो, जरुरी भइसक्यो । त्यसो हुन सकेन भने पनि नयाँ युगको नयाँ चरणमा प्रगतिशीलतालाई नयाँ जीवन दिन पार्टीप्रति प्रतिबद्ध र स्वतन्क्र त्रान्तिकारी लेखकहरूले नयाँ ‘संकल्प’ र ‘वेदना’ हुँदै युगानुकूल यात्रा सुरु गर्ने नै छन् । संगठित प्रगतिशीलताको शिर गिराउने हर्कतका विरुद्ध शिर उठाउने माङ्गेना गर्न नयाँ पुस्ता तयार हुने नै छ ।

www.kantipurdaily.com बाट साभार प्रकाशित : फाल्गुन २६, २०७५ ०७:४४

No comments:

Post a Comment