मितिः २०७५ चैत्र ११
प्रगतिशील लेखक संघ, नेपाल सचिवालय बैठकमा सरिता तिवारीद्वारा प्रेषित पत्र
कमरेड मातृका पोखरेल(अध्यक्ष)तथा पदाधिकारी लगायत सचिवालय सदस्य साथीहरू, अभिवादन ।
प्रगतिशील लेखक संघको निकट भविष्यमै हुन लागेको ११ औं राष्ट्रिय सम्मेलनको संघारमा बस्दै गरेको यस बैठकमा भौतिक रुपले सहभागी हुन असमर्थ भएपनि बैठक बस्ने खबर थाहा पाएपछि मलाई लागेका केही विषय राख्नु नैतिक दायित्व ठानी यो पत्र प्रेषित गरेकी छु । साथीहरू, सानै उमेरदेखि कम्युनिष्ट आन्दोलनका प्रभाव र प्रेरणाले कहिले विद्यार्थी आन्दोलन र कहिले पार्टी संगठन हुँदै साहित्य र संगठनात्मक सांस्कृतिक क्षेत्रमा काम गर्दै आउँदा संबत् २०६३ देखि प्रगतिशील लेखक संघको साधारण सदस्यका रुपमा यस संगठनमा औपचारिक रुपले आबद्ध भएँ । वैचारिक मतान्तरका कारण (सम्बत् २०५७ देखि) पार्टी प्रभावबाट मुक्त रहेर सिर्जनाकर्म गर्ने क्रममा तत्कालीन जनमोर्चा नेपालका साथीहरूको मित्रवत् आग्रह र खुकुलो स्पेसलाई सम्मान गर्दै वहाँहरुकै प्रस्तावमा चितवन जिल्ला शाखाको सहसचिव र केन्द्रीय सदस्यका रुपमा पनि काम गरें । पछि कलासाहित्यमार्फत् राजनीतिक प्रतिबद्धता र पक्षधरता सहितको मुखर लेखनकर्ममा समाहित हुँदै गर्दा प्रलेस चितवन शाखाको अध्यक्षका रुपमा समेत काम गरेकी हुँ । दशौं राष्ट्रिय सम्मेलनपश्चात् केन्द्रीय समितिमा सचिवका रुपमा रहँदै आएको यहाँहरूलाई विदितै छ । प्रगतिशील लेखक संघलाई मैले केवल एउटा संगठन मात्रै होइन, सिङ्गो आन्दोलन र लिगेसीका रुपमा लिँदै आएकी छु । यो मेरा लागि कदाचित् करिअर निर्माणको अवसर थिएन । आन्दोलनमा सहभागिता थियो । मेरा बैयक्तिक उर्जामार्फत् साहित्यिक, सांस्कृतिक आन्दोलनलाई यथासम्भव सुदृढ बनाउने कुरामा नै मेरो भरपुर प्रयत्न रह्यो । त्यसको परिणामको लेखाजोखा मैले होइन इतिहासले गर्ने हो भन्ने म मान्दछु । कतिपय सीमा र आलोचनाका बाबजुद पनि यो आन्दोलनप्रति मेरो उच्च सम्मान र प्रेम थियो र छ । बिगतमा अग्रज स्रष्टाहरूले गरेर छोडेका दृष्टान्त र पदचाप मेरा मार्गदर्शन हुन् । तिनका सम्मान र अनुशिलन मेरो लेखन र वाणीको ध्येय हो र हुने छ । बिगतदेखि प्रलेस कम्युनिष्ट मूल्य र माक्र्सवादी सौन्दर्यशास्त्रलाई आदर्श मान्ने लेखकहरूको साझा (यद्यपि केही स्वतन्त्र माक्र्सवादी लेखक बाहिरै रहे )मन्चका रुपमा रहँदै आयो । अनेक बाम घटकहरूमा आबद्ध लेखकहरूको चौतारीका रुपमा काम गर्दा यसभित्र हिजो देखि नै धेरै जटिलता थिए । यसको संरचना र कार्यपद्धतिमा नै केही आधारभूत समस्या थिए जसका कारण पार्टीमा नरहेका तर माक्र्सवादी लेखनधाराभित्र रहेका धेरै लेखक प्रलेसभन्दा बाहिर पर्दै आए । यो आफैंमा एउटा पूर्ण साहित्यिक, सांस्कृतिक मुख्यधारा बन्न सकेको थिएन तथापि, कम्तिमा पनि यसभित्र आन्दोलनात्मक चरित्र थियो । वर्तमान परिप्रेक्ष्यसम्म आइपुग्दा प्रलेसको आन्दोलनात्मक र प्रतिरोधात्मक चरित्र कमजोर भई यो मूलरुपमा केवल संगठन मात्रै बनेको स्थिति छ । यसभित्र नेपाली कम्युनिष्ट आन्दोलनको पछिल्लो विपथगमनलाई वरण गर्ने लेखकहरूको निर्णायक संख्या हुनु यसको दुर्नियति बनेको छ ।नेपाली कम्युनिष्ट राजनीतिमा घटित एउटा संघटना र त्यसको प्रभावले प्रलेस सम्बद्ध लेखकवृत्तलाई दपेटेर वैचारिक जडताको किनारमा पु¥याएको यो दृश्य मेरो लागि कत्ति पनि प्रियकर छैन । अहिले बहस र छलफललाई सकारात्मक रुपमा लिनै नसक्ने, आलोचनात्मक र प्रतिरोधको चेतमाथि नश्लबन्दी गर्न उद्दत प्रवृत्ति प्रलेसमा हाबी भएको स्थिति छ । भाषिक,लैङ्गिक ,क्षेत्रीय लगायत समावेशी सहभागीता र पहिचानका मुद्दामा असहिष्णु र झण्डै निशेधको शैलीले प्रलेसको गतिलाई नै गुमराहमा धकेल्ने प्रवृत्तिविरुद्ध प्रलेसभित्रै लड्नुपर्ने भएको छ । कम्युनिष्ट मूल्य र मान्यताविपरित सामन्तवादी पश्चगमन र धार्मिक मताडम्बरका बलमा सिंगो प्रलेसलाई बन्धक बनाइने सम्भावनाका बीचमा हामी यी सबै विषयमा स्पष्टतासाथ लड्न तयार छौं कि छैनौं ? मूल प्रश्न यो हो । प्रलेस लेखकहरूको प्रतिपक्षी बेन्च थियो र यस्तै रहनुपर्छ भन्ने मेरो आग्रह हो । सत्ताका गलत प्रवृत्तिमाथिको कठोर आलोचना र सही बाटो अख्तियारीको खबरदारी नै प्रलेसको मूल चरित्र हुनुपर्छ । प्रलेसलाई सत्ताको चाकरी र दलाली गरेर ब्यक्तिगत लाभहानीको मोहरी फँसाउने कुरालाई निस्तेज गरेर यसलाई जनपक्षीय मोर्चाकै रुपमा फर्काउनु हाम्रो दायित्व हुनुपर्छ । यसको समस्या विधानमा होइन, कार्यपद्धतिमा छ । कार्यपद्धतिमा सत्ता संरक्षणको मुर्त ,अमुर्त कामना र सत्ताकै स्तुति गर्ने पात्र र प्रवृत्तिको बोलवाला छ । यस्तै स्थिति रहिरहँदा प्रलेस प्रतिपक्षी चेतनाको बाहक बन्न नसकेको स्पष्टै छ । यस अर्थमा यो वास्तवमै हाम्रो परिक्षणको घडी हो । पछिल्लो समय प्रलेसबारे उठिरहेका विभिन्न सवाललाई सम्बोधन गर्न स्वभाविक रुपले ठूलो घटक नेकपा(नेकपा)सम्बद्ध साथीहरूले देखाउने सुझबुझपूर्ण विवेक ,धैर्य र पहलमा अबको साझा प्रलेसको भविष्य निर्भर छ । आज उठेका बहसहरूलाई सहज ,स्वभाविक रुपमा लिएर सिर्जनात्मक छलफल गर्दै अगाडि बढ्ने कि त्यसप्रति आक्रामक र असहिष्णु प्रतिरक्षा मात्रै गर्ने? समग्र आन्दोलनलाई बँचाउने कि संगठन मात्रै ? हाम्रो मूल रुप र चरित्र बँचाउने कि नाम र ट्याग मात्रै ? यो विषयमा सोच्न सबैमा विनम्र अपिल गर्दछु । अझै पनि ढिलो भैसकेको छैन , प्रलेसलाई सबै बामपन्थी लेखक र पार्टी आबद्धताभन्दा बाहिर रहेका स्वतन्त्र माक्र्सवादी लेखकहरूको साझा घर बन्ने वातावरण बनाउन यथासम्भव इमान्दार पहल गरौं । यो पहलमा मेरो साथ र पूर्ण समर्थन रहने समेत प्रतिबद्धता ब्यक्त गर्दछु ।
– सरिता तिवारी, सचिव ।
No comments:
Post a Comment