Saturday, April 27, 2019

प्रगतिशील हाटबजार - प्रमोद धिताल

author-image
 १४ बैशाख २०७६ 


समयिकी


प्रगतिशील लेखक संघमा विभाजनको समाचार र उक्त संस्थाको त्यस सम्बन्धमा आएको प्रतिक्रियाको प्रसंगबाटै विषयवस्तुको उठान गरौं। प्रलेसको विज्ञप्तिमा निष्क्रिय व्यक्तिहरू बाहिरिएको तर कुनै मतभेद र विभाजन नभएको कुरा सञ्चारमाध्यममा आयो। 
कुनै पनि संस्था एकपटक जन्मिसकेपछि अनन्त कालसम्म त्यसभित्र सैद्धान्तिक मतैक्यता कायम भइराख्न सम्भव छैन। हिँड्ने बाटोको विषयमा जतिसुकै एकढिक्का भएको संस्थामा पनि मतभेद र सैद्धान्तिक बहस भइरहन्छन्। गन्तव्यको सवालमा मात्र होइन, त्यहाँसम्म कसरी पुग्ने भन्ने सवालमा पनि विभाजनको अवस्था आउन सक्छ। प्रगतिशील लेखक संघमा बसेर जसले व्यवहारमै प्रगतिशील भूमिका निर्वाह गर्न नसकिने ठहर गरे, उनीहरू त्यसबाट अलग भए। यसलाई सैद्धान्तिक प्रश्नबाट अलग राखेर हेर्ने या अवसर नपाएर अलग भएको बुझ्ने गल्ती गर्नु हुँदैन। आंशिक रूपमा यस्ता मनोविज्ञानले पनि काम गरिरहन्छन् तर समग्रमा मतभेदको प्रश्न सैद्धान्तिक नै हो। यसपछिको महत्वपूर्ण सवाल के मात्र हो भने वैकल्पिक सांस्कृतिक मोर्चा निर्माणको औचित्य पुष्टि गर्न सकिन्छ कि सकिँदैन ? त्यसलाई सैद्धान्तिक र व्यावहारिक रूपमै पुष्टि गर्न सकियो भने प्रलेसबाट अलग हुनुको पनि औचित्य स्वतः पुष्टि हुने छ।
आजको प्रगतिशीलता व्यवस्था परिवर्तनसँगै झनै नयाँ रंगीचंगी कलेवरमा उपस्थित भएको छ। के हो प्रगतिशीलता ? जीवनसँग त्यसको के सम्बन्ध छ ? त्यसको जगत्सँग के साइनो छ ? त्यसले समयसँग संवाद गर्नुपर्ने कसरी हो ? प्रगतिशील बजारले यस विषयमा टाउको दुखाउने झन्झट बेहोर्दैन। किनकि ऊ शासकको आसनमा सत्तासीन भएको छ। प्रगतिशीलताको बजारमा प्रगतिशीलहरूको भीडभाड यसकारण बढेको छ कि यसको नाउँमा आफूलाई बेच्न सजिलो छ। जसरी राजनीति दिनानुदिन बजारमा परिणत हुँदै छ, त्यहाँ समाज परिवर्तन गर्ने सपना तुहिएर अवसररूपी मालको भोग गर्ने तिर्खा मौलाउँदो छ। त्यसैगरी प्रगतिशीलताको बजार पनि सोही रोगले आक्रान्त हुँदै छ। त्यहाँभित्र केवल प्रतिरोध छैन, अरू सबै छ।
त्यहाँभित्र शून्यवाद छ। त्यहाँभित्र उत्तरआधुनिकतावाद छ। त्यहाँभित्र हिन्दुवादी राष्ट्रियता छ। त्यहाँभित्र संगठन र आन्दोलनको नाउँमा सत्ताका मठहरूको सयर गर्ने चाहना छ। यतिखेर आएर पनि प्रतिरोधी चेतनाका संवाहकहरूले बजार र पुरातनपन्थले कब्जा गरेको प्रगतिशीलताविरुद्ध विकल्प नखोजे कहिले खोज्ने ? परिदृश्य नियाल्दा यस्तो लाग्छ, प्रतिरोधी पहिचान बनाएका संस्थाहरूमा त्यो लगभग अवसान भएको छ। हिजो प्रतिरोधको संस्थागत आवाज बुलन्द गर्ने संस्थाहरू अवसरवादी मठहरूमा परिणत भएको अवस्था छ। यस्तो बेलामा वैकल्पिक सांस्कृतिक मोर्चाको खोजी तथा आन्दोलनको निर्माण नितान्त स्वाभाविक छ। प्रलेसमा आबद्ध लेखकहरूको अपिललाई लिएर जुन कुराहरू बाहिर आएका छन्, त्यसको बारेमा केही स्पष्ट हुनु जरुरी छ। 
वैकल्पिक सांस्कृतिक मोर्चा किन ? 
प्रगतिशील लेखक संघले सांस्कृतिक तथा लेखकीय प्रतिरोधी आन्दोलनको विरासतलाई अगाडि बढाउन सक्ला कि नसक्ला ? यस्को बारेमा मनोगत होइन तथ्य र तर्कहरूका आधारमा निष्कर्ष निकाल्न जरुरी छ। विगतका दिनहरूमा दर्शन र आस्थाको हिसाबले कैयौं आधारभूत सवालहरूमै भिन्नता हुँदाहुँदै पनि लामो समयदेखि लेखक साहित्यकारहरू यसमा संगठित हुँदै आएका हुन्। यसले समाज रूपान्तरणकारी आन्दोलनको इतिहासमा लेखन तथा विचारको तहबाट महत्वपूर्ण भूमिका खेलेको कुरा निर्विवाद छ। यस संस्थाले समर्थन गर्ने राजनीतिक शक्तिहरूको सत्तासँगको दूरी अलि टाढा थियो। सत्तासँगको संघर्षको पक्ष मुख्य थियो। आज स्वाभाविक रूपले यसको हिजोको प्रतिरोधी चेतना खस्किएको छ।
प्रगतिशीलताको बजारमा प्रगतिशीलहरूको भीडभाड यसकारण बढेको छ कि यसको नाउँमा आफूलाई बेच्न सजिलो छ। 
पहिलो कारण, यसले समर्थन गर्ने राजनीतिक पार्टीहरू सत्तासीन हुनु। अर्को उनीहरूको बीचमा विद्यमान दार्शनिक मतभेदको पनि अन्त्य भई यथास्थितिवादी बहुलवादी दर्शनलाई स्वीकार्ने सर्तमा पार्टी एकता हुनु। यति भइसकेपछि प्रगतिशील लेखक संघमा जे जति प्रतिरोधी संस्कृति थियो, त्यसले कसरी निरन्तरता पाउन सम्भव छ ? 
रूपमा प्रतिरोध गरेजस्तो गरे पनि सारमा वर्तमान आर्थिक, राजनीतिक र सांस्कृतिक संरचनालाई नै सघाउनुपर्ने बाध्यतालाई कसैले रोक्न सक्दैन। अर्को यस संस्थाको विगतदेखिको सीमा भनेको कोटा प्रणाली हो। हुँदाहुँदा त्यो पदीय आकांक्षाको भोक शान्त गर्ने हदसम्म विकृत भयो। जतिसुकै समाजवादी यथार्थवादप्रति प्रतिबद्ध भए पनि पार्टी सदस्य नभएको व्यक्ति नेतृत्वमा पुग्न नपाउनु, तर जतिसुकै प्रगतिशील संस्कृतिविरोधी भए पनि ‘कम्युनिस्ट’ नामधारी पार्टीप्रति बफादार छ भने ऊ नै प्रगतिशील लेखकहरूको अगुवा हुन पाउने प्रवृत्तिप्रति प्रश्नहरू उठ्दै आएका हुन्। यो अवस्थाबाट संस्था विजातीय चिन्तन प्रवृत्तिको अखडा बन्नु कुनै अनौठो कुरा होइन। 
मजदुरका ठेला उठेका हातहरूका बारेमा कविता लेख्नु, त्यसलाई सुन्दर छ भनेर साहित्यमा बान्की दिनु र साँच्चिकै ती हातहरूसँग प्रेम गर्नु फरक कुरा हुन्। प्रगतिशील लेखक कसलाई भन्ने ? जसको जीवनदर्शन प्रगतिशील छ, जसले लेखनसँग ठट्टा गर्दैन। अर्थात्, जसको लेखन मात्र प्रगतिशील छैन कि जीवन पनि लेखाइअनुरूप नै छ। श्रमलाई प्रेम गर्नेले मात्र श्रमका कविता लेख्न सक्थ्यो भने जन्मिने थिएन संशोधनवाद र आदर्शवाद।

प्रगतिशीलताको बजारको कुरा गर्दै गर्दा केही दृष्टान्त र दृश्य याद आउँछन्। ब्र्रह्मज्ञानी भनिने पण्डितहरू जब यज्ञको आसनमा बसेर भक्तजनलाई वैराग्यका उपदेशहरू सुनाउँछन्, संसारमा तीजस्तो ज्ञानी र त्यागी कोही लाग्दैनन्। ती भन्छन्, ‘यो संसार मायाजाल हो। ब्रह्म नै सत्य हो र जगत् मिथ्या हो। मायाजालमा फस्नु हुँदैन, लोभलालच गर्नु हुँदैन।’ जब नियमित कर्मकाण्ड समाप्त भएपछि उनीहरू व्यवहारको धरातलमा ओर्लिन्छन्, त्यसपछि ती जति भोगी र लोभी अरू कोही लाग्दैनन्। त्यस्तै उपदेशमुखी छ आजको प्रगतिशीलताको बजार। 
 प्रगतिशीलताले जब आफू बिक्नका लागि बजार खोज्छ, त्यो अगतिको सिकार हुन्छ नै। हिजोसम्म अग्रगामी र क्रान्तिकारी भनिएको राजनीतिक शक्ति र संस्कृतिले अब त्यतैतिर निर्देशित गर्दै छ लेखक, कवि र संस्कृतिकर्मीलाई। लेखन र लेखक जब उपभोक्तावादको सिकार बन्छ, हिजोसम्म सुन्दरी प्रतियोगितलाई कुरूप देख्नेहरू आज त्यसैलाई सुन्दर देख्न थाल्छन्। हिजोसम्म दुत्कार्दै आएको पुरातन संस्कृतिमाथि सौन्दर्यबोध गर्न थाल्छन्।
हामीले प्रगतिशीलता त लेखन अनि जीवनमा खोज्दै र बुझ्दै आएको हो। प्रगतिशील लेखक संघको विगतको एउटा राष्ट्रिय परिषद्को बैठकमा कुनै जिल्लाका पदाधिकारीमध्ये एकजना जो परिवारका सदस्यको देहान्त भएकोमा बरखी वस्त्रमा थिए। उनले तेह्र दिनको हिन्दु किरियाकर्म र बरखीको प्रगतिशील औं वैज्ञानिकताको हावादारी प्रवचन बाँड्दै गर्दा मलगायत धेरै सहभागी अवाक् भएका थियौं। आज धर्मनिरपेक्षताको मर्मको पक्षमा वकालत गर्दैगर्दा हामीले पश्चिमा डलरले पालिएका इसाईहरू भनेर प्रगतिशीलहरूबाटै आरोप खेप्नुपर्ने अवस्था छ। कुनै वाम या कम्युनिस्ट नामधारी पार्टीको चवन्नी सदस्यता धारण गर्नु नै ‘प्रगतिशील लेखक’ हुने आधिकारिक लाइसेन्स भएको छ। त्यो लेखक उत्तरआधुनिकतावादको प्रवक्ता भए पनि भयो। शून्यवादी साहित्यको फ्यान भए पनि भयो या हिन्दु पुनरुत्थानको अभियन्ता भए पनि भयो। केही फरक पर्दैन। ऊ प्रगतिशील हो कि होइन; त्यो उसको लेखन, जीवन दर्शन, वैचारिक र वर्ग प्रतिबद्धता एवं व्यवहारले होइन; उसले सदस्यता लिएको पार्र्टीले फैसला गर्छ। अनि यो अवस्थामा प्रगतिशीलता आन्दोलन होइन, मण्डीमा सजाएर राखिएको मालमा परिणत हुन्छ। राजनीति विकृत भएपछि प्रगतिशीलता पनि विकृत भएको छ। सौन्दर्यबोध विकृत भएको छ। साहित्य र सांस्कृतिक कर्म समाज रूपान्तरणको औजार होइन जागिर प्रमोसनको लाइसेन्स हुन थालेको छ। 

हामीलाई विकल्पको नाउँमा अहिले विद्यमान संस्थाहरू र तिनले बोकेका नकारात्मक विरासतहरूको नवीकरण होइन, वास्तविक विकल्प चाहिएको हो। जहाँ लेखन प्रगतिशील होस्। लेखक प्रगतिशील होस्। दृष्टिकोण प्रगतिशील होस्। सदस्य वृद्धि गर्ने र माल बेच्ने बजार नहोस्। यसका लागि व्यापक बहस जरुरी छ। 
 प्रगतिशीलतको मर्मतिर फर्किनु अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो। शब्दमा प्रगतिशीलताको 

खोल ओढेर त्यसको मर्ममाथि प्रहार गर्नेहरू नै यतिखेर प्रगतिशीलताका सबैभन्दा डरलाग्दा दुश्मनहरू हुन्। त्यसको निम्ति विकल्पको खोजी गर्नेहरू नै सबैभन्दा बेसी आत्मसमीक्षा र आत्ममूल्यांकनका लागि तयार हुनुपर्छ। व्यक्तिगत करिअर, अवसर र सत्ताका मठहरूमा विराजमान भएर कुनै पनि लेखकले प्रतिरोधी भूमिका निर्वाह गर्न सकेको इतिहास छैन।
त्यसको निम्ति एकपटक हामी आफैंसँग भिड्न आवश्यक भएको छ। किनकि प्रगतिशीलभित्र हामी अधिकांश यस्ता पात्र छौं, जो मूल्यको व्यापारविरोधी भएर होइन आफू बिक्ने उपयुक्त मूल्य नपाएकोमा कुँडिएका छौं। अनि ‘अंगुर अमिलो छ’को भावमा सत्तालाई सराप्ने रोग हामीभित्र विद्यमान छ। जो सामाजिक दायित्व निर्वाह गर्नका लागि होइन; नाम, दाम र करिअरका लागि लेख्छौं। के यस्ता रोगसँग नलडी शब्दाडम्बरले मात्र कुरूपताविरुद्ध प्रतिरोध गर्न सकिएला ? यसको जवाफ पनि अरूले होइन यथास्थितिको विकल्प खोज्ने लेखकहरूले व्यवहारबाटै दिनुपर्ने अवस्थाको सिर्जना भएको छ। 
समयको गतिसँगै संस्थाहरू जन्मिन्छन्। संस्थाहरूले समाजमा परिवर्तनका लागि भूमिका खेल्छन्। सँगसँगै आफंै पनि फेरिन्छन्। तिनीहरूभित्र एकको दुईमा विभाजन पनि हुन्छ।
पुँजीवाद सामन्तवादसँग जीवनमरणको लडाइँमा थियो तसर्थ क्रान्तिकारी थियो। जब त्यो आफंै सत्तासीन भयो, त्यो प्रतिक्रियावादी भयो। परिवर्तनका लागि त्यसले भूमिका खेल्न छोड्यो। यसको अर्थ सबै आज पुँजीवादी छन् भन्ने होइन। अमेरिकाभित्रै होस् या क्यानडा, चीन होस या भारत, नेपाल होस या पाकिस्तान- पुँजीवादको विकल्प खोज्ने व्यक्ति र संस्थाहरू पनि उल्लेखनीय संख्यामा छन्।
त्यसैगरी प्रतिरोधी चेतनालाई आफ्नो सांस्कृतिक र साहित्यिक आन्दोलनको आदर्श मान्नेहरूले प्रलेसको विकल्प खोज्नु स्वाभाविक छ। जुन-जुन लेखकहरूले अहिलेकै प्रक्रियाबाट ‘समाजवाद’ आउने सपना देखेका छन्, उनीहरूका निम्ति प्रगतिशील लेखक संघ निर्विकल्प संस्था हुनु स्वाभाविक छ। तसर्थ कुन बाटो रोज्ने भन्ने कुरा यी दुवै यथार्थलाई रूपमा ग्रहण गर्दै आआफ्नो कित्ता स्पष्ट गर्ने कुरा हो। किनकि समाजमा दुई थरी यथार्थ विद्यमान हुन्छन्- जीवनशील यथार्थ र मरणशील यथार्थ। हामी कुन यथार्थको पक्षमा उभिने, त्यो महत्वपूर्ण सवाल हो। 
हामीलाई कुरूप अभ्यासको पुनरावृत्ति सर्वथा अस्वीकार्य छ। नयाँ युगले नयाँ दृष्टि, नयाँ अभ्यास र प्रयोगको माग गरेको छ। समयप्रतिको इमानदारिता र सार्थक संवादले मात्र वर्तमानका कुरूपताहरूसँग भिड्नयोग्य बनाउने छ। फगत शब्दमा मात्र प्रगतिशीलता खोज्ने रोगबाट मुक्त भएर के हामी इमानदार यात्राका निम्ति तयार छौं ? यसैले हाम्रो आगामी सुखद यात्रा तय गर्ने छ। पुराना रोगहरूबाट हामी जति मुक्त हुन्छौं, नयाँ यात्राका लागि त्यत्तिकै योग्य हुन्छौं।
प्रगतिशील साहित्यिक आन्दोलनभित्र निष्ठा र अडानको समस्या सबैभन्दा जबर्जस्त समस्या हो। शब्दमा प्रगतिशीलता र व्यहारमा अडानको कमी, पदप्रतिष्ठा एवं पुरस्कारमोहमा लट्ठिनु, ढोंगी प्रतिरोधले आफूभित्रको अवसरवादी चरित्रलाई ढाकछोप गरिराख्नु- यी र यस्ता प्रवृत्तिलाई सँगसँगै बोकेर कुनै संस्थाबाट अलग्गिनु या नाममा मात्र वैकल्पिक संस्था निर्माण गर्नुको कुनै तुक छैन। 
 निष्ठामा दृढता र संवादमा उदारता अहिलेको आवश्यकता हो। सार्थक तथा पूर्वाग्रहरहित संवादमा कहीँनेर कञ्जुस्याइँ गर्नुपर्ने आवश्यकता होइन। सबैभन्दा ठूलो आवश्यकताा हो- निष्ठाप्रतिको अडान। संवादमा हामी जति सहिष्णु हुन सक्छौं, त्यति नै आफ्नो निष्ठालाई पुष्टि गर्न सहज हुन्छ। समाजमा नयाँ संस्कृतिको विकल्प दिनेहरू सहिष्णु हुँनैपर्छ संवादमा। यसको अर्थ दृष्टिकोण र आफूले अंगीकार गरेको मूल्यमा सम्झौता गर्नुपर्छ भन्ने होइन। 
सांस्कृतिक तथा साहित्यिक प्रतिरोधी आन्दोलनको गौरवपूर्ण विरासतलाई निरन्तरता दिँदै शब्दप्रति इमानदार बन्ने कुराले नै नयाँ सांस्कृतिक मोर्चा निर्माणको आवश्यकतालाई अगाडि बढाउन सक्छ। वैकल्पिक भनेर खडा गरिएका धेरै संस्था वैकल्पिक बन्न सकेनन्। पार्र्टीनिकटका सांस्कृतिक-साहित्यिक मोर्चाहरूको हालत पदको निम्ति भिड्ने अखडामा परिणत भएको छ। कारण एउटै छ- उनीहरूले पुरानाबाट सिकेर नयाँ संस्कृति, प्रवृत्ति र शैली विकास गर्न सकेनन्। आफूलाई पुनर्जन्म दिन नसक्नुको परिणाम चक्रपथको यात्राझैं पुनः त्यही ठाउँमा फर्किए- जहाँबाट यात्रा थालनी गरेका थिए। यो नियतिबाट मुक्त हुने हुटहुटीले नै हामीलाई वैकल्पिक मोर्चा र संस्कृति निर्माण गर्ने दिशामा अघि बढाउन सक्छ।
www.annapurnapost.com  बाट साभार 

No comments:

Post a Comment