Thursday, April 4, 2019

नारायण ढकाल, प्रलेस र प्रलाप - प्राडा. बद्रीविशाल पोखरेल

डा. बद्रीविशाल पोखरेल
एक अनलाइन पत्रिकामा प्रसिद्ध सर्जक तथा बौद्धिक व्यक्तित्व नारायण ढकालको प्रगतिशील लेखक संघसित सम्बन्धित कटाक्षपूर्ण अन्तर्वार्ता पढियो । संघको ११औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा विरोधी हँसाउने मूल अभिप्रायका साथ केही सर्जकहरू संघविरूद्ध लागिरहेको अवस्थामा तिनकै कित्तामा उभिएर ढकालको वार्ता आएको रहेछ । ढकालले प्रलेसका केही पुराना फेहरिस्त दिनु भएको सत्य नै हो ।
खगेन्द्र संग्रौलालाई भन्दा हामीले प्रसिद्ध प्रगतिवादी सर्जक आनन्ददेव भट्टलाई भारी मतदानबाट अध्यक्षमा निर्वाचित गरेकै हो । संघे शक्ति कलियुगे मात्र होइन संगठित शक्ति अनुशासित र सबल हुन्छ । कमीकमजोरी हुँदाहुँदै पनि आजसम्मका सामाजिक परिवर्तनमा पार्टी वा संस्था र संगठनको अहं भूमिका हुन्छ । कुनै पनि व्यक्ति निरपेक्ष स्वतन्त्र रहन सक्तैन । आफूलाई स्वतन्त्र प्रगतिशील भन्नेहरू जुनकिरीको संगीत लेख्दै अहिले नेपाली राष्ट्रियतालाई दुत्कार्ने सम्मको अत्यन्त निम्नस्तरमा गिरिरहेको देखिन्छ ।
यस्तो स्वभाव देख्नेहरूले पहिले नै पनि देखेका थिए । पार्टीसँग निकट हुनु, आबद्ध हुनु किमार्थ खराब होइन । दर्शन, विचार र सिद्धान्तका प्रतिपादक नै सर्जक, विद्वान् र प्राज्ञ हुन् । तिनले सिर्जना गरेका सिद्धान्त आधारित पार्टी निकट हुने विषयलाई सराप्ने गल्ती गर्नु हुँदैन । ढकालजीले अन्तर्वार्तामा धेरै कुरा उठाउनु भएको देखिन्छ । नेकपा दिशाहीन भएको यो धेरै ठूलो संकटतिर जाँदैछ, प्रलेसमा सयौँ विचार फुल्न पाएनन्, राष्ट्रिय एकतासम्बन्धी विचार पुराना भए अब नयाँ विचार खोज्नुपर्छ आदि आदि अत्यन्त विवादास्पद विचार व्यक्त गरिएको देखिन्छ ।
यसै विषयमा सर्जक सरिता तिवारीले प्रलेस विरूद्ध विरोधीको ढोल मागेर पिट्नुभएको रहेछ । यी सबै माक्र्सवादको आवरणमा माक्र्सवाद विरोधी कृत्य र कर्म हुन् । संघका एकाध लेखकका कारण संस्थामाथि नै आक्षेप लगाउनु नजाती हो । यो त रूख देख्ने जंगल नदेख्ने जस्तो कुरा हो । गर्ने गरिरहन्छ, उसलाई पद, प्रतिष्ठा, पदकको खासै महत्व हुँदैन । जो यस्ता कुराका पछि लाग्छ मरेपछि पनि मर्छ तर निश्वार्थीहरू मरेर पनि बाँचिरहन्छन् । कम्तीमा ढकालजस्ता वरिष्ठ सर्जकले यसरी हौसिएर पिपलपाते कित्तामा उभिन जरूरी थिएन ।
यस्ता दशरामसरा भोलि कुन दुलामा पुग्छन् केही थाहा हुन्न । एकाध गनिएका लेखकले प्रगतिवादी वैचारिक तथा राजनीतिक आन्दोलन प्रति चरम विरक्त मिडियामा व्यक्त गरिसकेकै छन् । खगेन्द्र संग्रौलालाई हिजोका दिनमा देशभक्त प्रगतिशील लेखक मानिएको भए पनि अब त्यो चिनारी उहाँ आफैंले कायम राख्न सक्नुभएन । आफूलाई द्वन्द्ववादी भन्नेहरूमध्ये केही अत्यन्त रूढ, एकाग्रही, अन्तर्मुखी र आफूलाई सर्व ज्ञानी पनि ठान्छन् ।
के युग पाठकको माङ्गेना कृतिको सार आमलेखकमा प्रवाह गर्न पाइएन अनि सयौँ विचार फुल्न पाएनन् भनेको हो ? हो भने यो सरासर बेठीक कुरा हो कुतर्क हो । संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधानले धर्म, संस्कार, प्रथा, परम्परा र रीतिका नाममा गरिने सबै प्रकारका विभेद, अन्याय र शोषणको अन्त गर्ने प्रावधान किटान गरेको छ । संविधानले सांस्कृतिक रूपान्तरण गर्ने महान् उद्देश्य राखेको छ बरू तपार्इं हामी लेखकले पश्चगामी अन्ध, रूढ, पछौटे तथा पाश्चात्यगामी अप साहित्यिक र सांस्कृतिक चेत र चिन्तन परित्याग गर्नुपर्छ । लेख्नु एउटा महान् कार्य नै हो ।
तर, एउटा सर्जकमा तस्न तत्व अपरिहार्य हुन्छ । सिद्धान्त, सिर्जना र संगठनको त्रिआयामिक विशेषता विना कुनै पनि संगठन राम्ररी चलायमान हुन सक्तैन । पण्डिता सम दर्शिनः वरिष्ठ सर्जकहरू मान, अपमान, अभिमानभन्दा माथि हुन्छन् । उनीहरू आफ्नो उच्च र उदात्त धर्म निर्वाह गरिछाड्छन् । यस्ता सर्जकहरू छित्र खोजी खोजी आफ्नै आस्थाको घर भत्काउन उद्यत हुदैनन् । तिनले त सकेसम्म जोड्ने,संयोजन गर्ने र मिलन बिन्दु खोज्ने पो प्रयत्न गर्छन् । यस्ता विज्ञहरू २०,२२ र ३२ युवाको जस्तो होस त्यग्ने बेहासी हुँदैनन् । कहिले काहिँ सहमति खोज्न बढी समय लाग्छ । सिर्जनाका क्षेत्रमा रहेको यो संगठित शक्ति चोइटिएकामा विरोधी कित्ता हाँसिरहेको होला ।
रिस खा आफू गर्न हुँदैन । विचारको कुरा पनि बहसमा उठेको छ । अमुक पार्टी वा नेताको मुख नताकी विश्लेषण गर्ने हो भने निष्कर्ष निक्लन सक्छ । यो पञ्चायत काल, संसदीय बहुदलीय काल आदि कालजस्तो होइन । अब आफूले चाहेको राजनैतिक परिवर्तन गर्न बन्दुक बोक्नु पर्दैन । शान्तिपूर्ण जनमतको आँधीबेहोरी सिर्जना गरेर कुनै पनि तहको सरकार गठन र परिचालन गर्न सकिन्छ । त्यसैले बन्दुक भनेको कसैको हुँदैन । कम्युनिष्ट नामधारीको बन्दुकसित मायाँ पिरती गरेर बाँचिदैन । क्षयरोगले आफ्नो अर्को भन्दैन ।
राष्ट्रिय झण्डा च्यात्ने, नेपालको सन्तुलित राष्ट्रवादलाई धिक्कार्ने पनि विचार हुन्छ ? हिमवत् खण्ड साहित्यिक सम्मेलन सराप्नै पर्ने गोष्ठी हो ? के भानुभक्त आचार्यको अरू जे–जे बैगुन भए पनि भाषिक योगदान छैन ? अनि उत्तर आधुनिकतावादीे, शून्यवादी, निस्सारतावादी र चरम निराशावादी साहित्यिक अभियानमा थपडी मार्दै खायोजक भएर दश दुनियाँ चहार्नुचाहिँ उत्तम हो यही हो महान् प्रगतिशील सर्जकको पहिचान ? भारूको भरमा आयोजित साहित्यिक तथा सांस्कृतिक औपनिवेशी कार्यक्रममा नेपाली राष्ट्रियतालाई थुक्नु, धिक्कार्नु र खकार्नुचाहिँ देशभक्त प्रगतिशील चरित्र हो ?
श्यामप्रसाद शर्माका अध्यक्षतामा २००९ सालमा गठित प्रगतिशील लेखक संघको कैयौँ सकारहरू छन् । तर, नकारहरू पनि भित्रिएका छन् । यही गम्भीर प्रकृतिको नकार अहिले सतहमा आएको छ । प्रलेसले माक्र्सवादी सांस्कृतिक सौन्दर्य शास्त्रीय सही मान्यताका आलोकमा नेपाली कला, साहित्य र संस्कृतिका क्षेत्रमा आमूल परिवर्तन ल्याएको छ । यसले नै अभिजात्यवादी समग्र साहित्यिक मान्यतालाई कलात्मक हस्तक्षेपमार्फत् अन्तध्र्वंश गरेको देखिन्छ । पहिले जनवादी वा जनपक्षीय विषय, भाव, चरित्र, पात्र, प्रस्तुति, विचार र मान्यताका घोर विरोधी रूपवादी कित्ताका तमाम लेखक तथा स्रष्टाहरू लेखकीय व्यवहारमा जनताको पक्षमा उभ्भिन बाध्य देखिन्छन् । विशुद्ध साहित्यको राग लामो समयसम्म अलाप्नेहरू अहिले प्रलेसकै परोक्ष प्रभावमा आएका छन् । तर, यी सब उपलब्धि र प्राप्तिहरू बिर्सेर कतिपय सतही लेखकहरू मनोगत ससाना र सामान्य विषयलाई उछालेर उत्पात भएझैँ गरिरहेका छन् ।
प्रलेस आफैँ प्रगतिशील वा प्रगतिवादी सिर्जनात्मक सही मान्यता हो । यो मूलतः माक्र्सवादी जीवन दर्शन र दृष्टिकोणबाट अनुप्राणित छ । त्यसैले यसले सकार र नकार द्वन्द्व वा द्वन्द्वात्मक भौतिकवादी मान्यताअनुसार समग्र जीवन जगत् पर्गेल्छ ।
मात्रात्मक परिवर्तन हुँदै गुणात्मक परिवर्तनको प्रक्रिया बुझेर पनि न्यून चेतका सिदासादा कार्यकर्ता भड्काउन अहिले नै जनगणतन्त्रको ढोलढ्याङ्ग्रा पिट्छन् ,हामी त भोलि समाजवाद र साम्यवाद ल्याउँछौँ भनी फोस्रो फुइँ गर्छन् । अनि यिनकै भरमा केही कोठे कवि बुरूक्क उफ्रन्छन् । यिनीहरू सकार र नकारलाई सोलोडोलो एउटै डालेमा हालेर अन्धवादी मत र मान्यता जाहेर गर्छन् । अहिले पञ्चायत कालको जस्तो अवस्था देखेर बन्दुक बोक्न उद्यत देखिन्छन् ।
हालै अन्नपूर्ण पत्रिकामा र अर्को एक राष्ट्रिय अखबारमा प्रलेसको भँडास पोखेको देखियो । के सरकारका सबै काम नकाम हुन् ? के द्वन्द्ववादले यही भन्छ र सिकाउँछ ? ओली सरकारले तुइन युग समाप्त पारेर गल्ती ग¥यो ? प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, योगदानका आधारमा तमाम श्रमजीवीहरूलाई पेन्सन सुविधा दिने योजना, निर्धन तथा सीमान्तीकृत समुदयका लागि विभिन्न खालका सेवा र सहुलिय लगायत अनेक जनहितका कार्यक्रम र आयोजनाहरू यस देशलाई तीनबित्ता उठाउने कार्यक्रम हुन् तर जण्डिसका रोगी केही लेखकहरू सबै पहेँलो मात्र देख्छन् र यिनले समाजको अगुवा सर्जकको स्वतन्त्र चेतको हुर्मत लिइरहेका देखिन्छन् ।
आलोचनात्मक चेत विनाका लेखकहरू ‘जसो जसो बराजु उसैउसै स्वाहा’ बाहेक केही देख्दैनन् । तिनले वेलाको बोली बाल्दैनन् । बाल्दा पनि सपार्ने गरी भन्दा बिगार्ने नियतले मात्र बोल्छन् । नत्र असहमतिमा पनि सहमति हुन्छ । अनेकतामा पनि एकता हुन्छ । मित्र पक्षका बीच एकता आलोचना र एकता हुन्छ भने विरोधी पक्षका बीच संघर्ष, एकता र सघर्षको नीति र नियम लागु हुन्छ । माक्र्सवादी मान्यता अब खोपीको द्यौता भएको अवस्थामा यस्ता कुराको कुनै काम र ठाम नै छैन । कतिपय पार्टीका नेताहरू आफू अनुकूलको माक्र्सवादको अपव्याख्या गर्छन् अनि लौरे कार्यकर्ताहरू नेताको पुराण वाचन हुबहु स्वीकार र सिरोपर गर्छन् । अनि कहिले दायाँ कहिले वायाँ भड्काउमा परेर आन्दोलन सोत्तर हुन्छ, भएको यही देखिन्छ ।
द्वन्द्ववाद भनेको सिरछेदन गर्नु मात्र हो भन्ने आम कार्यकर्तालाई बुझाउँदा समस्या विकराल बनेको हो र बनिरहनेछ । ढकालले भनेझैँ सर्जकहरूमा समस्या नभएका होइनन् तर बत्तीस लक्षण भएको संस्था र व्यक्ति दुनियाँमा कोही र कुनै हुँदैन । ससाना कमजोरीका आधारमा सच्चा अभिभावकले गृहत्याग गर्दैन ।
संघीय लोकतान्त्रिक तथा गणतान्त्रिक मुलुकको नीति, थिति, विधि, पद्धति र प्रणाली स्थापित गर्ने कुरा त कामै होइन भनेझैँ गरेर उपल्ला तहका सर्जकले अलोचनात्मक कटाक्ष गरेको देखेर तिनप्रति दया लाग्छ ।
दुईतिहाइको कम्युनिस्टको सरकार भए पनि संविधान, नियम र कानुन अनुसार नीति, विधि, पद्धति र प्रणालीअनुसार काम गर्नुपर्छ र अहिलेको प्रतिगामी कर्मचारी संयन्त्रबाट कति र कसरी काम गरिँदैछ भन्ने अतिसामान्य कुरा ख्याल नगरी बोल्ने लेखक पनि देखिन्छन् । गोयवल्स शैलीका कारण कम्युनिस्ट र यो सरकारका विरूद्ध प्रायोजित प्रचार प्रोपगण्डामा बहकिने धेरै सर्जक देखिएका छन्. ।
तर, वरिष्ठ प्रगतिवादी लेखक तथा बुद्धिजीवी कृष्णप्रसाद श्रेष्ठ बिएले प्रदेश–१ को प्रलेस सम्मेलनका अवसरमा ओली सरकारका सकारहरूको सकारात्मक चर्चा गरेका थिए । कार्लमाक्र्सका अनुसार हरेक युगमा शाषक वर्गका विचार प्रभावी हुन्छन्, बुद्धि र बौद्धिक शक्ति पनि उसैको हुन्छ भनेझैँ अधिकांश प्रगतिशील लेखकहरू यही रोगबाट ग्रस्त रहेका छन् ।

लेखक प्रलेस, केन्द्रका पूर्व सल्लाहकार हुन् ।
www.souryaonline.com बाट 
२०७५ चैत २१ गते ७:१८ मा प्रकाशित

No comments:

Post a Comment