Sunday, August 31, 2025

प्रगतिशील लेखक सङ्घको ऐतिहासिकता र वर्तमानमा केही अपेक्षाहरू - मातृका पोखरेल

 स्थापनाको ऐतिहासिक सन्दर्भ

हाम्रो इतिहासदेखि नै साहित्य र कलाको क्षेत्रमा जुन गतिका साथ विकास हुँदै आएको छ, त्यसको पछाडि मानव जातिको सामाजिक र ऐतिहासिक विकास पनि अभिन्न रूपले गाँसिएको छ । नेपालमा प्रगतिशील लेखक सङ्घको स्थापना पनि यही ऐतिहासिक प्रक्रियाको निरन्तरता हो । वि.सं. २००७ साल र त्यो भन्दा अगाडिका राजनीतिक घटनाक्रम, सामन्तवादविरुद्धको सङ्घर्ष र विश्वव्यापी जनवादी आन्दोलनहरूको प्रभावले नेपाली साहित्यलाई जनमुखी, यथार्थवादी र प्रगतिशील बनाउने आवश्यकता सिर्जना भयो ।
वि.सं. २००९ मा प्रगतिशील लेखक सङ्घको स्थापना स्वस्फूूर्त नभएर समयको आवश्यकता थियो । पश्चिम नेपालमा वि.सं. १८०४ मा जन्मिएका शशिधर पौडेलले जोसमनी सन्त परम्पराको अनुुयायी बनेर सञ्चालन गरेको अभियान, ज्ञानदिलदासको अभियान, योगमायाको अभियान, वि.सं. १९७७ सालको मकैपर्व, धरणीधर कोइरालाको ‘नैवेद्य’ प्रकाशन आदि अभियान र प्रकाशनले प्रगतिशील साहित्यिक आन्दोलनको महत्त्वपूूर्ण आधारभूूमि तयार भइरहेको थियो । यी सबै घटनाहरूको प्रभाव स्वरूप नेपालका बुुद्धिजीवी र साहित्यकारहरूलाई एउटा बलियो संगठनको आवश्यकता परिरहेको थियो । त्यही आवश्यकताको बीचबाट प्रगतिशील लेखक सङ्घको जन्म हुनपुुग्यो ।
प्रगतिशील साहित्यिक अभियान र सङ्गठित ढङ्गले अघि बढ्नुुका पछाडिको पृष्ठभूूमि खोज्दै जाँदा हामी धेरै टाढा अर्थात् प्राथमिक कालतिरै पनि पुुग्न सक्दछौं । प्राथमिक कालमा भानुुभक्त आचार्यहरूले रामकथाका माध्यमबाट जसरी नेपाली समाजमा आध्यात्मिक आदर्श र भाग्यवादको प्रचार गरिरहेका थिए, त्यसको विरुद्धमा निर्गुुण भक्तिधाराअन्तर्गतका सन्त साहित्यकारहरूले सामाजिक विकृति, धार्मिक विकृति, कर्मकाण्डीय विकृतिका विरुद्धमा आलोचनात्मक चेतना सहितको साहित्य सिर्जना गरे । त्यतिबेलैदेखि धार्मिक पाखण्डका विरुद्ध आलोचनाको स्वर प्रकट हुनथाल्यो । माध्यमिक काललाई हामी शृङ्गारकालका रूपमा लिने गर्छौं । राणाशासनको जाँतोमुुनि चेपिएको अवस्थामा शासकहरूको खुुसी पार्नु साहित्यको प्रधानता रहेको समयमा सामाजिक चिन्तनमुुखी प्रभाव खासै पाइँदैन । उन्नाइसौं शताब्दीको अन्तिमतिर सामन्ती सोच र संस्कारका विरुद्धमा आलोचनात्मक स्वर अघि बढेको पाइन्छ । सुधारवादी आर्य समाजी विचारको प्रचार, मकै काण्ड, पुस्तकालय काण्ड, "नपुंशक राणाहरू" लेखेबापत लक्ष्मीनन्दन चालिसेलाई जेल सजाय र मृत्यु हुनेबेलामा बाहिर निकालिनु, शारदा पत्रिकामा फाट्टफुट्ट प्रकाशित राणाशासन विरोधी आवाजहरू देखा पर्न थाल्दछन् । धरणीधर कोइरालाले ‘नयपाली ठिटो’ कविता मार्फत गणतन्त्रको चेतना प्रकट परे । गोपालप्रसाद रिमालले ‘आमाको सपना’ कविता मार्फत क्रान्तिचेतनाको अभिव्यक्ति दिए । उनका क्रान्तिधर्मी कविताबाट नेपाली प्रगतिवादी कविताको आरम्भ र विकासमा महत्वपूूर्ण पृष्ठभूूमि निर्माण भएको छ । वि.सं. २००३ /००४ तिर लक्ष्मीप्रसाद देवकोटाको ‘साँढे’ ‘प्रभुुजी ! मलाई भेडो बनाउ’, जस्ता कविताले तत्कालीन निरङ्कुुशता र उत्पीडनको विरुद्ध आलोचनात्मक स्वर प्रकट भयो ।
नेपालमा प्रगतिशील चेतनाको विकासमा अन्तर्राष्ट्रिय प्रभावको पनि ठुलो भूमिका छ । सन १९१७ को युगान्तकारी रूसी समाजवादी क्रान्तिले विश्वमा जसरी हलचल पैदा गऱ्यो, नेपाल पनि त्यसबाट अछुतो रहने कुरै थिएन । सञ्चार र सूचनाको अभावको बिचमा ढिलै भए पनि त्यसको प्रभाव आइनपुग्ने कुरै थिएन । त्यो घटनाले नेपालका सचेत व्यक्तिहरूलाई परिवर्तनको निम्ति केही गर्नै पर्छ भन्ने एउटा छट्पटी पैदा गरायो । भारतीय भूमिमा भएको अङ्ग्रेज बिरोधी आन्दोलन, त्यहाँका मार्क्सवादी गतिविधिहरू, माओत्सेतुङको नेतृत्वमा भएको चिनियाँ क्रान्ति आदिका कारण द्वन्दात्मक भौतिकवादी दर्शनको प्रभाव नेपाली बुद्धिजीविहरुमा व्यापक स्तरमा पर्न थालेको थियो । भारतमा अध्ययन गर्न गएका सचेत प्रगतिशील कृति र रचनाहरू नेपाल पठाउने , ठाउँठाउँमा अध्ययन मण्डल बनाउन प्रेरित गर्ने कार्य गर्न थाले । यसै सन्दर्भमा राणाकालमैं श्यामप्रसाद शर्माले नक्खु जेलमा चलाउनु भएको साहित्यिक अभियान उल्लेखनीय छ । युवाहरूमा आएको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभावले वि .सं . २००४ सालको बिराटनगरको मजदूर आन्दोलन पनि यहाँ उल्लेखनीय छ । त्यस्तै वि.सं. २००६ सालमा औपचारिक रूपमा श्रमजीवि जनताको राजनीतिक प्रतिनिधि संस्था नेपालमा कम्युुनिस्ट पार्टीको स्थापना भएपछि नेपालमा मार्क्सवादी चिन्तन र दर्शनको औपचारिक प्रवेश भयो । वि.सं. २००७ कै सेरोफेरोमा नेपालमा प्रगतिवादी साहित्यले गति लिन थाल्यो । वि.सं. २००८ मै कृष्णचन्द्रसिंह प्रधानले ‘भन्ज्याङ्निरै’ कवितासङ्ग्रह प्रकाशनमार्फत् पहिलोपटक प्रगतिशील साहित्यिक कृति नेपाली साहित्यले प्राप्त गऱ्यो ।
वि.सं. २००९ सालमा प्रगतिशील लेखक सङ्घको स्थापना पछि नेपाली साहित्यमा नयाँ दृष्टिकोण र नयाँ सोचको विकास तीव्र रूपमा भयो । यथास्थितिभन्दा केही अघि बढ्ने दृष्टिकोण भएका स्रष्टालाई यसले भरपर्दो छहारी प्रदान गऱ्यो । लेखकहरूले वैचारिक लक्ष्य र आदर्शलाई कला साहित्यमा स्थापित गर्न थाले । सामन्तवाद र साम्राज्यवाद विरोधी धारणाले बल पाउन थाल्यो । प्रगतिशील लेखक सङ्घको स्थापनापछि प्रगतिशील भावधारामा सिर्जना गरिरहेका स्रष्टाहरू क्रमशः प्रगतिवादी धारा अर्थात् मार्क्सवादी धारामा सिर्जना गर्न पुुग्दछन् । प्रगतिशील लेखक सङ्घकै अगुवाइमा नयाँ पुुस्ताले एउटा विद्रोही चेतना भेट्यो । गोकुुल जोशी, केवलपुुरे किसान आदिका कविताहरूले कविता ‘मालिक’हरूको सेवामा मात्र फन्को मारेर बस्ने कुुरा होइन, झुुप्राहरूमा बस्ने शोषित पीडितहरूको पक्षमा पनि बोल्न सक्दो रहेछ भन्ने सन्देश जनजनको बीचमा पुुग्यो । नेपाली युुवामा आएको राष्ट्रिय अन्तर्राष्ट्रिय जागरणको हुुटहुुटी र छटपटीको परिणाम स्वरूप यो संस्था स्थापित भएपछि प्रगतिशील साहित्यिक पत्रिकाहरू व्यवस्थित रूपमा निस्कन थाले । श्यामप्रसाद शर्मा, केवलपुुरे किसान, गोकुुल जोशी, युुद्धप्रसाद मिश्र, भूपि शेरचन, रमेश विकल, आनन्ददेव भट्टहरूले प्रगतिशील साहित्यको आरम्भिक कालमा संगठन र सिर्जनाका दुवै क्षेत्रबाट सक्रिय हस्तक्षेप गरे ।
वि.सं. २००७ को सेरोफेरोबाट सुुरु भएको नेपाली साहित्यको नवीन सोच र चिन्तनलाई सङ्घले सांगठनिक नेतृत्व प्रदान गरेर अघि बढेको पाइन्छ । स्थापनाको पहिलो दशकसम्म यो संस्थाको सक्रियता मनग्गे देखिए पनि वि.सं. २०२० पछि भने लामो समय निष्क्रिय अवस्था रह्यो । तर पनि प्रगतिशील स्रष्टाहरूले कला साहित्यमा विचार, दर्शन, यथार्थ र कल्पनाको समन्वय गरेर सिर्जना गर्न छाडेनन् । निरङ्कुुश पञ्चायती व्यवस्थाको विरुद्धमा प्रगतिशील स्रष्टाहरूले अग्रिम मोर्चामा रहेर अभिव्यक्तिको माध्यमबाट मात्र नभएर भौतिक रूपमै सडकमा उत्रिए । तीसको दशकमा बुुटवलमा गठित रेलिमाइ सांस्कृतिक मण्डल र त्यसपछि राष्ट्रिय गतिविधिमै सर्वाधिक चर्चित ‘संकल्प’ परिवार र ‘वेदना’ परिवारको सक्रियताले नेपाली समाज रूपान्तरणकै इतिहासमा सर्वाधिक महत्व राख्दछ ।
वि.सं. २०४६ चैत्र ३ को प्रदर्शन होस् या २०५८ /०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रको निरङ्कुुशताका विरुद्धमा सञ्चालित आन्दोलनका सन्दर्भमा बनेका प्रतिगमन विरोधी स्रष्टाहरूको संयुुक्त समिति वा लोकतान्त्रिक स्रष्टाहरूको संयुुक्त मञ्चको स्थापना र गतिविधिमा प्रगतिशील लेखक सङ्घको नेतृत्वदायी भूूमिका रह्यो ।
प्रगतिशील लेखक सङ्घको स्थापनापछि नेपाली साहित्यमा स्थापित नयाँ सौन्दर्य चेतना अहिलेसम्म आइपुुग्दा नेपाली साहित्यको गौरवमय राजमार्गमा यात्रारत छ । यतिबेला प्रगतिशील लेखक सङ्घसँग यात्रारत स्रष्टाहरुले केही महत्त्वपूूर्ण प्रश्नहरूको उत्तर खोजिरहेका छन् । हामी यी प्रश्नका उत्तरहरू कसरी गम्भीरतापूूर्वक दिने कोसिस गर्छौं, प्रगतिशील आन्दोलनको भविष्य त्यसैमा निर्भर छ ।

केही ज्वलन्त प्रश्नहरू र केही अपेक्षाहरू

वर्तमानसम्म आइपुुग्दा प्रगतिशील लेखक सङ्घमाथि केही प्रश्नहरू गम्भिरताका साथ नउठेका होइनन् । सङ्घमाथि मात्र होइन, प्रगतिशील लेखकमाथि पनि उठेका छन् । प्रगतिशील साहित्य र संस्कृतिको हितका निम्ति उठेका प्रश्नहरूप्रति सकारात्मक धारणासहित हामी अगाडि बढ्नुु जरुरी छ ।
प्रगतिशील लेखक सङ्घ सम्पूर्ण प्रगतिशील साहित्यकारहरूको साझा मोर्चा हो । नेपाली जनताको हित चाहने लेखक सबैलाई यस संस्थामा गोलबन्द हुने वातावरण मिलाउन जरुरी छ । हामीले भोक, गरिबी, उत्पीडन, अज्ञानता र अन्धविश्वासबाट मुुक्त जीवनको निर्माणका निम्ति नेपाली श्रमजीवी जनता सँगसँगै समाजको स्वरूप देख्नुुपर्छ । हाम्रा सिर्जना त्यही स्वप्नका कथा हुनुुपर्दछ ।
'हाम्रो संगठनका यति हजार सदस्य भए ! पाँच दर्जनभन्दा बढता जिल्लामा जिल्ला समितिहरू भए !' प्रगतिशील लेखक सङ्घमा काम गर्ने केही साथीहरूले तर्क गरेको सुनिन्छ । यस्तायस्ता कुरा अचेल अलिक धेरै सुनिन्छन् । मानिसहरूका बीचमा पुग्न यो पनि चाहिन्छ तर प्रगतिशील लेखक सङ्घका लागि यो प्राथमिक कुरा होइन । सहायक कुरामात्र हो । हामी मध्ये केही साथीहरूलाई लागेको हुनसक्छ, हिड्नुमात्र र संगठन चलाउनुमात्र ठुलो कुरा हो । तर यो होइन । हिड्नु र संगठन चलाउनुमात्र महत्वपूर्ण कुरा होइन । मूल कुरा वैचारिक र सिर्जनात्मक ढङ्गले हस्तक्षेप गर्नसक्नु हो । अब प्रगतिशील लेखक सङ्घका साथीहरूले भन्न सक्नुपर्छ । नेपाली साहित्यका विविध विधामा प्रगतिशील कृतिहरू यति प्रकाशित भए भनेर । प्रगतिशील लेखक सङ्घ सिर्जनात्मक वैचारिक संस्था हो । यो अरू संगठनजस्तो होइन । साहित्यका नाममा खुलेका थुप्रै संगठनहरू छन् । तर प्रगतिशील लेखक सङ्घ ती सबैभन्दा विशिष्ट प्रकृतिको संगठन हो । यसले गर्दा सहायक काम प्राथमिक जस्तो प्राथमिक काम सहायक जस्तो बन्न जाने स्थिति देखिन्छ । यसतर्फ प्रगतिशील लेखक सङ्घसँग सम्बद्ध साथीहरू सचेत रहन जरूरी छ ।
यताका केही वर्षदेखि प्रगतिशील लेखनमा वैचारिकताको अभाव रहेको धारणा धेरैतिरबाट आउन थालेको छ । पुरानो पिँढीमा देखापरेको वैचारिक निख्खरता नयाँ पिँढीमा नरहेको चर्चा चलिरहेकै छ । प्रगतिशील आन्दोलनमा हिँड्नेहरूका निम्ति यो समीक्षाको विषय हो । प्रतिबद्ध लेखन प्रगतिवादी लेखनको आधार हो । प्रतिबद्ध लेखनका बारेमा प्रगतिशील संगठनहरूमा हिँड्नेहरूमै द्विविधा देखिएको छ । प्रगतिशील सङ्घ /संगठनमा हिँड्नेहरू नै सबै साहित्य प्रगतिशील हुुन्छ भनेर गैरवैचारिक कुरा गर्नेहरूको संख्या बढ्दो छ । यो दृष्टिकोणको भयङ्कर समस्या हो । यो प्रगतिशील आन्दोलनको विरोधी कुरा हो । हाम्रो प्रगतिशील आन्दोलन दृष्टिकोणको समस्याबाट ग्रस्त छ भन्ने यो ठूूलो प्रमाण हो ।
नेपाली समाजमा व्यापक परिवर्तन आइरहेकै छ । पुराना विश्वास र मान्यताका आधारमा जगहरू हल्लिरहेका छन् । प्रगतिशील साहित्यमा सच्चाउनै पर्ने अर्को समस्या गुुटगत समस्या हो । यो समस्याले प्रगतिशील साहित्य अघि बढ्न केही अप्ठ्यारो परिरहेको छ । गुुटगत स्वार्थका कारण राम्रो साहित्य पछि पर्ने र कमजोर साहित्यको बढी चर्चा हुुने सम्भावना बढ्छ । यही कारण सम्पूर्ण प्रगतिशील साहित्यकारहरूबीच भाइचारा सम्बन्ध स्थापित हुन सकिरहेको छैन । कतिपय सन्दर्भमा प्रतिपक्षी लेखक /साहित्यकारहरू भन्दा प्रगतिशील लेखन क्षेत्रका स्रष्टाहरू प्रति अनावश्यक आलोचनात्मक हुने प्रवृत्ति पनि देखिएको छ । यो चिन्तन आफैंमा अप्रगतिशील हो । यस्ता केही महत्वपूूर्ण समस्याहरू प्रगतिशील आन्दोलनमा भएका कारण यो आन्दोलन प्रहार गर्नुुपर्ने ठाउँमा प्रहार नगरी आफै त्यसै भौँतारिएको महसुुस हुुन्छ ।
प्रगतिशील रचना कसले लेख्छन् ? के बामपन्थी पार्टीका सदस्यले मात्र प्रगतिशील रचना गर्छन ? यो प्रश्नलाई पनि गम्भीरतापूर्वक लिंदै राम्रो हुन्छ । नेपालका वामपन्थी राजनैतिक पार्टीहरूमा समावेश नभई स्वतन्त्र रहेर सिर्जनकर्ममा लागेका धेरै स्रष्टाहरू छन् । हाम्रो आन्दोलनभित्रका समालोचकहरूबाट गहिरिएर यसलाई अध्ययन र मूल्याङ्कन गर्ने काम भएको छैन । अहिले त कहीँकहीँ कस्तो विडम्बना देख्न थालिएको छ भने कम्युनिष्ट पार्टीमा सङ्गठित रहेका साहित्यकारहरूभन्दा कम्युनिष्ट पार्टीमा सङ्गठित नरहेका केही साहित्यकारहरूले समाजको यथार्थलाई अभिव्यक्त गरिरहेकाछन् । कम्युनिष्ट पार्टीमा सङ्गठित रहेका केही लेखकहरूको लेखन नेपाली समाजको यथार्थ भन्दा टाढा कतै बरालिएको जस्तो, नेताहरूको प्रशंसामा अनावश्यक समय दिएकोजस्तो पनि देखिने गरेको छ । सिर्जनामाथि केन्द्रित रहेर त्यसको रूप र सारतत्वमाथि छलफल हुने क्रम पुरै घटेर गएको छ । कतिपय अवस्थामा पार्टीमा संगठित रहेका लेखकहरूकै लेखन भने जनजीवनको वास्तविक पीडाभन्दा टाढा रहँदै नेताको प्रशंसा र राजनीतिक नारा–सिर्जनामा सीमित भएको देखिन्छ । यसरी साहित्य सत्ता–समर्थनको माध्यममा मात्र परिणत हुन्छ, तब प्रगतिशीलताको वास्तविक उद्देश्य पक्कै कमजोर हुन्छ ।
अझ अर्को विडम्बना अहिले त के देख्न थालिएको छ भने प्रगतिशील लेखक सङ्घमा आबद्ध रहेका लेखकहरू वा समालोचकहरू प्रतिध्रुवका लेखक साहित्यकारहरूलाई खुसी पार्न उनीहरूको व्यक्तित्वको अतिरंजित चर्चा गर्ने, समीक्षा गरिदिने क्रम बढेको देखिन्छ । प्रगतिशील लेखक सङ्घसँग आबद्ध लेखकहरूको उल्टो हिँड्ने कार्यले प्रगतिशील आन्दोलनलाई घाटा पुऱ्याउँछ ।
नेपाली समाजमा कुनै तत्विक परिवर्तन आएको छैन भन्ने धारणा पनि प्रगतिशील शिविरबाटै उठ्ने गरेको छ । उग्र बामपन्थ दृष्टिकोणबाट ग्रस्त यो चिन्तनले नेपाली समाजको विश्लेषण गर्न कदापि सकिँदैन । यो चिन्तन बोकेर अहिलेको अवस्थामा हामीले लड्नुपर्ने नयाँ शक्तिलाई प्रहार गर्न सक्दैनौं । नेपाली जनताको ठुलो त्याग र बलिदानबाट प्राप्त अधिकारलाई कम आँक्ने यो चिन्तनले जनपक्षधरतालाई प्रतिनिधित्व गर्न सक्दैन । प्राप्त अधिकारलाई जोगाउँदै अघि बढ्नु नै अहिले हाम्रो साहित्यको स्वर बन्न सक्नुपर्छ ।
अहिलेको युवापुस्ताले कस्तो विचारधारा ग्रहण गरिरहेकाछन् ? कतै उनीहरू निराशावादी विचारबाट ग्रस्त त छैनन ? हाम्रा लागि यो चिन्ताको विषय बन्नुपर्छ । यो अबको प्रगतिशील लेखक सङ्घजस्ता संस्थाहरुको सरोकारको विषय बन्नुपर्छ । अहिलेको नयाँ पुस्ताको कलममा नयाँ समाजको सपना छ कि छैन भनेर अनुगमन गर्ने र वातावरण निर्माण गर्ने कार्यमा प्रगतिशील लेखक सङ्घको ध्यान पुग्नुपर्छ । सामन्ती संस्कृति हाम्रो नसानसामा जरो गाडेर बसेको छ । साम्राज्यवादी संस्कृतिले नयाँ रूप कलेवरमा हाम्रा सांस्कृतिक मूूल्यहरूमाथि आक्रमण गरिरहेको छ । देशमा व्याप्त अँध्यारो संस्कृति फालेर उज्यालो संस्कृति स्थापना गर्न कटिबद्ध हुनेहरूले प्रगतिशील लेखक सङ्घलाई नयाँ उत्साहका साथ अघि बढाउनु सिवाय अर्को विकल्प छँदै छैन ।
के प्रगतिशील अभियानमा जोडिएका हामी लेखकहरू वर्गीय चेतनाको विकास गर्न र संघर्षप्रति प्रतिबद्ध छौं ? यो प्रश्न यसबेला हामीमाथि उठ्ने सर्वाधिक ज्वलन्त प्रश्न हो । वर्गीय समाजमा वर्गसङ्घर्ष नै सम्पूर्ण सामाजिक प्रगतिको मुख्य प्रेरक शक्ति रहन्छ । यस्तो समाजमा साहित्य पनि स्वभाविक रूपले वर्गीय नै हुन्छ । वर्गीय समाजमा साहित्य पनि निरन्तर चलिरहने बौद्धिक सांस्कृतिक हतियार हो । प्रगतिशील साहित्यले आम श्रमजीविको हितमा, समाजवादको पक्षमा, राष्ट्रियता र अन्तराष्ट्रिय भाइचाराको पक्षमा, सबैप्रकारका स्वदेशी तथा विदेशी, सामाजिक तथा जातीय भेदभावको विरूद्ध सङ्घर्ष गर्न प्रेरित गर्छ ।
वि.सं. २००७ सालको आन्दोलनपछि प्राप्त अधिकार सामन्ती राजतन्त्रको नेतृत्वमा २०१७ सालमा खोसिए जस्तै अहिले पनि ०६२ /६३ को आन्दोलनबाट प्राप्त अधिकार फेरि खोस्ने अभियानहरू सञ्चालन भइरहेकै छन् । प्राप्त अधिकारलाई स्थापित गर्दै जनताका अन्य अधिकारका लागि सङ्घर्षको तयारी गर्न आह्वान गर्ने साहित्य सिर्जना अहिलेको माग हो । यतिबेला प्रगतिशील लेखकहरूले महत्व दिनुपर्ने विषय हो ।
मूलत : श्रमजीवी जनतासँगको दूरी दिनहुँ बढ्दै गएको देखिन्छ । बढ्दै गएको दूरीलाई क्रमश : घटाउँदै कला साहित्यका माध्यमबाट नयाँ र सुुन्दर नेपाल बनाउने अभियानमा हाम्रो अर्थात् प्रगतिशील लेखकहरूको सिर्जनात्मक दृढता समयको माग हो । प्रगतिशील लेखक सङ्घसँग यस संस्थाका शुभचिन्तकहरूको अपेक्षा हो ।
000

No comments:

Post a Comment