अन्तरवार्ता
१) वैचारिक साहित्य लेखनमा तपाईं कहिलेदेखि कसरी प्रभावित हुनु भएको थियो ?
साहित्य वैचारिक र अवैचारिक हुँदैन । जुनसुकै साहित्यले पनि कुनै न कुनै विचार बोकेकै हुन्छ तर कला बिनाको विचार भने साहित्य होइन । साहित्यमा विचार कलाको आवरणमा आउनु पर्छ ।
वि.सं. २०२६ सालदेखि मैले लेख्न थालेको हुँ । आफ्नै जीवन भोगाइ र सामाजिक परिवेशले मलाई लेख्न प्रेरित गरेका हुन् । म हुर्केको ग्रामीण समाजमा साहित्यिक पुस्तकहरु खासै पाइँदैनथे । फेला परेका दन्त्यकथा, रामायण, महाभारत, कविता, उपन्यास सबै मैले पढ्थें । तिनले पनि मेरो साहित्यिक अभिरुचि जगाउन मद्दत गरेका थिए ।
प्रगतिवादले रचनामा अन्तर्वस्तु र रुपको समन्वयको माग गर्दछ । अन्तर्वस्तु र रुपको समन्वय भएको प्रगतिवादी रचनामा विचार र सौन्दर्य दुवै प्रष्ट हुन्छन् । कतिपय प्रगतिवादी रचनाहरुमा यस्तो भएको अवस्था भने छैन । यहाँ एकातिर विचारधारात्मक समस्या प्रमुख बनिरहेको छ भने अर्कोतिर रुपलाई उपेक्षा गर्ने प्रवृत्ति पनि चर्को नै छ । अन्तर्वस्तुमा मात्रै होइन, रुप पक्षमा पनि प्रगतिवादले विशेष ध्यान दिन थालेको छ । प्रगतिवादी र प्रगतिशील साहित्य एकै होइनन् । प्रगतिवादले माक्र्सवादलाई अङ्गीकार गर्दछ तर प्रगतिशील साहित्यले गर्दैन । प्रगतिशील साहित्य कुरुप यथार्थको आलोचक त हुन्छ तर यो सँग भविष्यदृष्टि हुँदैन । यो पृथकता थाहा नपाउनेहरुले प्रगतिशील साहित्यलाई पनि प्रगतिवादी साहित्य ठान्न पुग्दछन् र त्यहाँ विचार खोज्न थाल्दछन् । त्यसैले त्यहाँ न प्रगतिवादी विचार हुन्छ, न त्यसअनुरुपको सौन्दर्य नै । अनि सौन्दर्य चेतनाको विकास नभएकाहरुले प्रगतिवादी साहित्यमा सौन्दर्य खोज्न थाल्दा पनि त्यो नदेखिने हुन्छ ।
३) पार्टी पक्षधर लेखकहरु सङ्कुचित घेरा तोड्न सक्दैनन् भन्ने कत्तिको स्वीकार्नु हुन्छ ?
अंशमा यो सत्य हो । अंशकै कुरा गर्दा कतिपय लेखकहरु पार्टीभित्रको गुटको घेरा तोडेर पार्टी स्तरसम्म पनि आउन सक्दैनन् । प्रगतिवादी साहित्यको समग्र स्थिति यस्तो होइन । बरु प्रगतिवादका विरोधीहरु धेरै संकीर्ण हुन्छन् र आफ्नो घेराभन्दा बाहिर जान सक्दैनन् । उनीहरुमा प्रगतिवादी साहित्यलाई साहित्यका रुपमा स्वीकारै नगर्ने उग्र मानसिकता पनि छ । अग्रगामी परिवर्तनको कुरा सुन्न नसक्ने यस्तो चिन्तन अब पराजित हँुदै गएको छ । जहाँसम्म पार्टी पक्षधरता वा प्रतिबद्धताको सवाल छ, यो प्रगतिवादी लेखनको एउटा विशेषता हो । साथै यो स्वेच्छिक अनुशासित लेखन पनि हो । प्रगतिवादले श्रमजीवी वर्ग पक्षधरताको उदात्त अर्थमा नै पार्टी पक्षधरतालाई ग्रहण गर्दछ, सङ्कुचित घेरामा होइन ।
४) प्रगतिवादी रचना र अन्य रचनाका मूलभूत अन्तर के हुन् ?
प्रगतिवादले माक्र्सवादलाई आत्मसात गर्दछ । माक्र्सवादको दार्शनिक धरातल द्वन्द्वात्मक भौतिकवाद हो । यथार्थसँगको सौन्दर्यात्मक सम्बन्धले नै प्रगतिवादी साहित्य र अन्य साहित्यको अन्तर छुट्टिन्छ । कुरुप यथार्थसँग प्रगतिवादी साहित्यको सधैं विद्रोहात्मक सम्बन्ध हुन्छ । यसले यथार्थमा अग्रगामी परिवर्तन खोज्ने हुनाले यसमा समाजरुपान्तरणकारी गुण हुन्छ । अन्य साहित्यले कुरुप यथार्थसँग कि सम्झौता गर्छ कि त्यसबाट पलायन हुन्छ । परिवर्तन उसको ध्येय होइन । फेरि प्रगतिवादी साहित्य उद्देश्यमुलक लेखन हो । यसले एकातिर जनतालाई सौन्दर्यात्मक आनन्द दिने उद्देश्य राख्दछ भने अर्कोतिर सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद लगायतका सबै मानव सौन्दर्यविरोधी शोषण, दमन, विभेद, अन्याय र अत्याचारको अन्त्य गरी वर्गविहीन, शोषणविहीन सुन्दर समाज निर्माणको उद्देश्य राख्दछ । विभाजित मानव व्यक्तित्वको अन्त्य गर्नु नै यसको अभीष्ट हो । श्रमजीवी वर्गको पक्ष लिने प्रगतिवादसँग भविष्यदृष्टि हुन्छ । रुप पक्षलाई ध्यान दिएर पनि प्रगतिवादले अन्तर्वस्तुलाई प्रमुख ठान्दछ । जहाँ कि अन्य साहित्यले रुपलाई मात्र केन्द्रमा राख्दछ र साहित्यलाई शब्दको खेल ठान्दछ । अहिले चर्चामा रहेको उत्तरआधुनिकतावाद त्यही शाब्दिक खेलको विस्तारित रुप हो । प्रगतिवादी साहित्य जीवनमुखी हुन्छ भने उत्तरआधुनिकतावाद जीवन सौन्दर्यविरोधी हुन्छ ।
५) अन्य देशको तुलनामा नेपालमा माक्र्सवादी साहित्यको स्थिति कस्तो रहेको छ ?
यो प्रश्नको जवाफ यहाँ दुई चार वाक्यमा दिनु सम्भव हुँदैन । हरेक देशको प्रगतिवादी साहित्य त्यहाँको वर्गसंघर्षको सापेक्षतामा विकास हुन्छ । नेपालमा वर्ग संघर्षको परिणति जनयुद्ध र जनआन्दोलन प्रभावकारी ढंगले अगाडि बढे । त्यसबाट नयाँ यथार्थको जन्म भयो । युग चेतनाको यस्तो प्रवाहलाई आत्मसात गरेको माक्र्सवादी साहित्य समकालीन विश्वमा कतै पनि पाइँदैन । यतिबेला प्रगतिवादी साहित्य लेखनको उभार नेपालमा जसरी आएको छ, अरु मुलुकमा त्यस्तो अवस्था छैन ।
६) तपाईंका दर्जनौ कृतिहरु प्रकाशित भैसकेका भए पनि उल्लेख्य मूल्याङ्कन हुनसकेको देखिंदैन, किन होला भन्ने ठान्नु हुन्छ ?
जुन वर्गको सत्ता छ, त्यसैको विचार साहित्य तथा संस्कृतिमा हावी हुन्छ भन्ने माक्र्सको भनाइ म सान्दर्भिक ठान्दछु । नेपालको सत्तारुढ शासक वर्गका लागि सुन्दर हुने साहित्य मैले लेखेको छैन । शासक वर्गको हितमा नलेखेको हुनाले त्यससम्बद्ध संस्था, निकाय वा माध्यमबाट मेरो मूल्याङ्कन नहुनुलाई मैले अस्वाभाविक ठान्दिनँ । जनस्तरमा समाजरुपान्तरणका पक्षधरहरुबाट मेरो लेखनको मूल्याङ्कन भएको छैन भन्ने मलाई लाग्दैन ।
७) कविता, कथा, उपन्यास, निबन्ध, समालोचना सबैमा कलम चलाउनु भएको छ, विधागत दृष्टिले आफ्नो मूल्याङ्कन कस्तो पाउनु भएको छ ?
सुरुमा मैले कविता र निबन्धमा कलम चलाए पनि पछि आख्यानमा केन्द्रित हुँदै आएको थिएँ । मेरो मन पर्ने विधा आख्यान नै हो । आवश्यकताले गर्दा मैले समालोचना लेख्न थालें । यतिबेला मैले अन्य रचनाभन्दा बढी समालोचना नै लेखिरहेको छु । यति भएर पनि मेरो मुख्य विधा आख्यान नै हो । आख्यानमा अझै मैले चाहेजस्तो गरी कलम चलाउन पाइरहेको छैन ।
८) सिर्जना र समालोचना दुवै क्षेत्रमा काम गर्दा गाह्रो, सजिलो कस्तो अनुभव गर्नु भएको छ ?
दुवै क्षेत्रमा काम गर्नभन्दा एउटै क्षेत्रमा केन्द्रित हुँदा बढी सजिलो त हुन्छ नै तर पनि मैले त्यति अफ्ठेरो महसुस गरेको छैन । समालोचना लेखनमा पनि केन्द्रित हुनुपर्दा मेरो मुख्य रुचिको विधामा क्षति पु¥याएको भने अनुभूति भइरहेको छ । समालोचना लेखनमा केन्द्रित हुनु पर्दा आफ्नै रचनाका कमजोरीहरु पनि पत्ता लगाउन मलाई सहयोग पुगेको छ ।
९) प्रगतिवादी स्रष्टाहरुको साझा मञ्च भएर पनि प्रलेसको गति खासै बढ्न सकेको देखिंदैन, किन होला ?
प्रगतिशील लेखक संघ (प्रलेस) २००९ सालमा स्थापना भएको प्रगतिशील स्रष्टाहरुको साझा मञ्च हो । यसको आफ्नै गौरवशाली इतिहास छ । कतिपय सन्दर्भमा यो संस्था प्रभावकारी ढंगले अगाडि बढ्न नसकेको यथार्थ नै हो । यसका थुप्रै कारणहरु छन् । पहिलोमा यो सबैको हो र उत्तरदायित्बोधका हिसाबले यो कसैको पनि होइन जस्तो पनि छ । यसमा आबद्ध स्रष्टाहरु आ–आफ्ना संगठनमा पनि क्रियाशील छन् र प्रलेसमा सक्रिय हुन सकिरहेका छैनन् । दोस्रोमा साझा प्रगतिशील साहित्यिक मूल्य र मान्यताहरुलाई अगाडि बढाउने प्रलेसको उद्देश्य हो । मूल्यबोधका हिसाबले कतिपय घटक संगठन वा लेखकहरुमा शिथिलता आएको हुनाले पनि प्रलेसलाई अगाडि बढाउन गाह्रो भएको छ । तेस्रोमा लेखकहरुमा प्रलेसमा हुनुको सांगठनिक अनुभूति नहुनु हो । चौथोमा प्रलेसले सबैलाई चाख जगाउने खालका कार्यक्रमहरु पनि विविध कारणले गर्दा ल्याउन गाह्रो हुने गर्छ । र, पाँचौमा प्रलेसमा आबद्ध लेखकहरु विभिन्न वाम पार्टीहरुमा आबद्ध छन् । ती पार्टीहरुले प्रलेसलाई खासै महत्व नदिएका हुनाले पनि लेखकहरु क्रियाशील हुन पाइरहेका छैनन् । प्रलेसमा आफै रहने र आफैले यो संस्थाले काम गर्न सकेन भनेर अनुत्तरदायी टिप्पणी गर्नेहरुको पनि कमी छैन । फेरि प्रलेसले गरेका महत्वपूर्ण कार्यक्रमहरुका बारेमा सार्वजनिक सञ्चारमाध्यमहरुले स्थान नदिंदा पनि यसले केही गरेकै छैन कि भन्ने पर्नु स्वाभाविकै हो । प्रलेसका विरोधीहरु यो संस्थालाई निषेध गर्न चाहन्छन् । यी र यस्तै कारणहरुले गर्दा प्रलेसले वाञ्छित गति लिन नसकेको जस्तो देखिएको हो तर प्रलेस आफ्नो घोषित उद्देश्यमा निरन्तर क्रियाशील भइरहको छ । विभिन्न कार्यक्रमहरु, प्रकाशन, गोष्ठी र अन्तत्र्रिmयाहरु गरेर आफ्ना गतिविधिहरुलाई यसले अगाडि बढाइरहेकै छ ।
१०) समाज रुपान्तरणका लागि साहित्यको भूमिकालाई कसरी बढी प्रभावकारी बनाउन सकिन्छ ?
समाजरुपान्तरणका दुईटा साधन हुन्छन् । एउटा भौतिक पक्ष हो भने अर्को आत्मिक पक्ष । आत्मिक पक्ष बिना भौतिक पक्ष कार्यान्वयन हुन सक्दैन । आत्मिक पक्षको प्रभावकारी निर्माण साहित्यले मात्र गर्न सक्छ । सबै साहित्य रुपान्तरणकारी हुँदैन । त्यसैले समाजरुपान्तरणका लागि रुपान्तरणकारी चेतनाको जरुरत पर्दछ । रुपान्तरणकारी साहित्यलाई जनस्तरमा व्यापक रुपमा विस्तार गरेर मात्र रुपान्तरणकारी आत्मिक संस्कृतिको निर्माण हुन सक्दछ । यथास्थितिवादी साहित्यिक चिन्तनलाई परास्त गरी धेरैभन्दा धेरै स्रष्टाहरु समाजरुपान्तरणका लागि प्रतिबद्ध र संगठित हुनुपर्छ । साथै समाजरुपान्तरणका लागि स्रष्टाहरुले अग्रगामी शक्तिलाई सहयोग पु¥याउनु पनि त्यत्तिकै आवश्यक छ ।
(मधुपर्क साउन २०६८ मा प्रकाशित अन्तर्वार्ता)
===========================
घनश्याम ढकालको चिनारी
जन्ममिति– वि.सं २०१० माघ १४ गते
जन्मस्थान– पुतलीबजार नगरपालिका–८, सतौं, ठूलापँधेरा, स्याङ्जा
बसोबास– पोखरा उपमहानगरपालिका–८, सिमलचौर, कास्की
अस्थायी बसोबास– कीर्तिपुर, काठमाडौं (२०६५ देखि)
माता-पिता– कौशल्या – प्रभाकर ढकाल
श्रीमती– पारु ढकाल
छोरा-छोरी– विजय ढकाल ‘विश्वास’ (सहिद), सिर्जना ढकाल, वन्दना ढकाल
बुहारी– विरजा अधिकारी ‘नमूना’
शिक्षा– स्नातकोत्तर तथ्यांकशास्त्र, बीएल
प्राध्यापन : पृथ्वीनारायण क्याम्पस, पोखरा (२२ वर्षसम्म)
संस्थापक प्राध्यापक : जनप्रिय क्याम्पस, पोखरा
संलग्नता– पूर्वमहासचिव, पूर्वसल्लाहकार तथा अध्यक्ष, प्रगतिशील लेखक सङ्घ, नेपाल
अध्यक्ष, अखिल नेपाल लेखक सङ्घ, नेपाल
पूर्वउपाध्यक्ष, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, नेपाल
संस्थापक सचिव, पूर्वअध्यक्ष तथा सल्लाहकार– गण्डकी साहित्य संगम, पोखरा
सल्लाहकार – गण्डकी साहित्य परिषद्
संस्थापक – गोकुल साहित्य पुरस्कार
संस्थापक अध्यक्ष तथा संरक्षक, विजय ढकाल सहिद स्मृति प्रतिष्ठान, पोखरा
पूर्वअध्यक्ष तथा सल्लाहकार, प्रगतिशील लेखक संघ, कास्की
संस्थापक सदस्य, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति
सल्लाहकार, अभिज्ञान आन्दोलन, काठमाडौं
सल्लाहकार, नेपाल साहित्यिक पत्रकार संघ ।
संगठनमा आबद्ध– अनेरास्ववियु, २०३० साल
कम्युनिस्ट पार्टीको निकट रहेर काम गरेको– २०३० सालदेखि
नेकपाको पूर्ण सदस्यता– २०३६ साल
लेखन आरम्भ– २०२६ सालदेखि (नौ कक्षामा पढ्दापढ्दै लेख्न सुरु)
लेखन मुख्य विधा– आख्यान र समालोचना
प्रकाशित कृतिहरू :
१. नाम कमाउने रहरमा, निबन्ध संग्रह, २०४२
२. गङ्गा–कावेरी एक्सप्रेस (चिठीलाई जवाफ), काव्य, २०४२
३. फैसला हारजीतको, कविता संग्रह, २०४४
४. अभिवादन गर्छ सगरमाथा पेरुभियाली जनक्रान्तिलाई, काव्य, २०४४
५. दरिद्रताबाट मुक्ति, निबन्ध संग्रह,२०४५
६. भरिया र यात्री, कथासंग्रह, २०४६
७. गाउँभित्र, उपन्यास, २०४७
८. सहिद मानचित्रमा नपरेको सहिद, कथासंग्रह, २०४८
९. समर्पणको बाटोमा, कथासंग्रह, २०५१
१०. माक्र्सवादी सौन्दर्यशास्त्रको विवेचना, समालोचना, २०५४
११. आजको महाभारत, कथासंग्रह, २०५५
१२. रातो आकाश, उपन्यास, २०६०
१३. भावनाका छालहरू, शोकगीतिका, २०६२
१४. ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद, सैद्धान्तिक पुस्तिका
१५. सहिदको सालिक, कथासंग्रह, २०६६
१६. सौन्दर्यशास्त्रको आँखीझ्याल, सौन्दर्यचिन्तन पुस्तिका, २०६६
सम्पादित ग्रन्थ :
१. यथार्थवादी नेपाली समालोचना, २०६२
२. पोखरेली समालोचना, २०६५
३. माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, २०६७ (सम्पादन संयोजक)
सम्पादक : पसिना, कलम, गण्डकी संगम, चन्द्रागिरि लगायतका विभिन्न साहित्यिक पत्रिका ।
प्रधानसम्पादक : क्रमभंग विचारप्रधान द्वैमासिक
प्राप्त पुरस्कार :
क) राष्ट्रिय प्रतिभा पुरस्कार–२०५१ (अस्वीकार)
ख) पारिजात सृजन पुरस्कार–२०५५
ग) साहित्य सन्ध्या पुरस्कार– २०६३
घ) मनकुमारी–केदार शर्मा प्रतिभा पुरस्कार– २०६५
मृत्यु : २०६८ फागुन १, काठमाडौं
No comments:
Post a Comment