काठमाडौंको मूलपानी निवासी नारायण ढकाल नेपाली साहित्यको आख्यान विधामा प्रतिष्ठित कथाकार, उपन्यासकार हुन् । २०३० अघि नै आख्यानमा आफ्नो नाम फैलाएका ढकाल एक समय प्रखर वामपन्थी राजनीतिकर्मीका रूपमा समेत चर्चित थिए । संस्मरण, कथा र उपन्यासजस्ता विधामा उनको लेखनलाई अभिरुचिपूर्वक पढिन्छ । हाल स्वतन्त्र लेखन र पत्रकारितामा संलग्न ढकालसँग उनको पछिल्लो प्रकाशनको सेरोफेरोमा गरिएको वार्ताको सम्पादित अंश–
२०५६ मा प्रकाशित तपाईंको ‘शोकमग्न यात्री’को पुन: प्रकाशन भएको छ, कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
पहिलोपटक छापिँदा पनि राम्रै प्रतिक्रिया पाएको थिएँ । प्रकाशन भएको करिब दुई–तीन महिनामा नै सबै बिक्री भएको थियो । उतिबेला एकजनाले किनेर १०–१५ जनाले पढेको पनि सुनेँ । तर, त्यतिबेला म कुनै एउटा राजनीतिक दृष्टिविन्दुमा उभिएको थिएँ, त्यसकारणले एउटा राजनीतिक धारभित्र मात्रै बढी चर्चा र बिक्री भयो । अहिलेचाहिँ व्यापक रूपमा पाठकहरूका बीचमा लाने गरी नै प्रकाशन भएको छ र उत्साहपूर्ण प्रतिक्रिया पाइरहेको छु ।
प्रगतिवादलाई केन्द्रमा राखेर लेखिहरनुभएको छ, कस्तो छ समकालीन नेपाली प्रगतिवादी साहित्य ?
हामी नेपाली लेखक/साहित्यकारहरू दुई प्रकारका अतिहरूबाट ग्रस्त छौँ । एउटा, साहित्यलाई राजनीतिको घोडा बनाउने प्रवृत्ति छ । ‘राजनीति सबैका लागि कमान्डर हो’ भन्ने कुरा समाजका लागि सत्य होला । तर, साहित्य छुट्टै विधा हो । साहित्यभित्र राजनीति मात्रै होइन, अरू थुप्रै चिजहरू पनि हुन्छन् । दर्शन, समाजशास्त्र, मानवशास्त्र यावत् ज्ञानका सबै कुराको समृद्धिले नै साहित्यलाई समृद्ध बनाउने हो । तर, हामीकहाँचाहिँ पार्टीको कार्यनीतिक आदेशलाई बोक्ने माध्यम बनाइयो । त्यसले गर्दा कलालाई अत्यन्त सस्तो र नियन्त्रित बनाइएको छ । अर्कातिर साहित्य राजनीतिभन्दा बिलकुल भिन्न हुनुपर्छ भन्नेहरू छन् । यो अर्को अति हो ।
आफूलाई प्रगतिवादी साहित्यको हिमायती ठान्नेहरूले पनि जीवनको अन्त्यमा प्रगतिवादी साहित्यप्रति वितृष्णा जगाएर विष बमन गर्ने गरेका छन् । यसो किन हुन्छ ?
तपार्इं अतिवादी जमिनमा उभिनुभएन, जीवनको सार्थकता र विराटतालाई चिन्न सक्नुभएन भने यस्तो समस्या हुन्छ । उन्मादमा प्रगतिवादी भएकाहरू जीवनको अन्त्यतिर प्रगतिवादी साहित्यविरोधी भएका हुन् । यस्तो घटना हामीकहाँ मात्रै होइन, अन्य धेरै देशमा पनि देखिन्छ । जीवनलाई बुझ्न प्रगतिवाद विराट पँुजी हो । त्यसैले प्रगतिवादी हुनुको अर्थ विराट दृष्टिबिन्दुले ओतप्रोत हुन सक्नुपर्छ ।
प्रगतिवादी साहित्यमा कला कम बढी नारा हुन्छ भन्ने आरोप छ, अहिलेका पुस्ताका प्रगतिवादी साहित्यकारहरूको रचनामा नारा या कला बढी देख्नुहुन्छ ?
अरूले लेखिसकेकोलाई दोहर्याउनु नारा हो । उसो त साहित्यले नयाँ नारा बनाउन सक्छ । तर, त्यो नयाँ हुनुपर्छ र सार्थक हुनुपर्छ । जहाँसम्म नयाँ पुस्ताको कुरा छ, हामी अझै निराशाजनक अवस्थामा छौँ । मैले बारम्बार भन्ने गरेको छु, ‘प्रगतिशील लेखक संघले राम्रो लेखक जन्माउँदै जन्माएन ।’ यति लामो इतिहास भएको संस्थाले राम्रो लेखक नजन्माउनु दु:खद् पक्ष हो । बरु प्रगतिशील लेखक संघ बाहिर भएका लेखकहरू बढी प्रतिभाशाली भए । प्रगतिवादी साहित्य र साहित्यकारहरूलाई उठाउने गरी लामो समयदेखि ‘प्रतिभा प्रवाह’ भन्ने नियमित कार्यक्रम भइरहेको छ । त्यहाँ जानेहरूको स्तर बढ्न सकेको छैन । जीवनसम्बन्धी अध्ययनको कमी देखिन्छ हाम्रा प्रगतिवादी साहित्यकारहरूमा । हामीकहाँ क्रान्तिकारी स्वाङका लागि नक्कल गर्ने प्रवृत्ति बढी छ ।
राजनीतिमा पनि वामपन्थीहरूको हस्तक्षेप छ, साहित्यमा पनि ठूलै संख्यामा साहित्यकार छन् तर पाठयक्रममा भने तपाईंहरूका रचना कम समावेश छ, कहिलेकाहीँ चित्त दुख्दैन ?
भयंकर विरोधाभास र दु:खको कुरा हो यो । भोट गन्दा बढी कम्युनिस्टहरूको छ, प्रभाव पनि कम्युनिस्टहरूकै छ । नेपालमा भएका ठूला–ठूला परिवर्तनहरू पनि बढी कम्युनिस्टहरूकै बलमा भएको हो । तर, साहित्यमा वामपन्थीहरू किन कमजोर देखिए भन्ने कुरा केलाएर हेर्नु जरुरी छ । राजनीति र साहित्यको अन्तर अलि फरक छ । राजनीति तत्कालीन मागहरूमा बढी केन्द्रित हुन्छ, तत्कालीन सपनाहरू देखाउने कुरामा बढी प्रभावशाली हुन्छ । तर, साहित्य त्यस्तो हुँदैन । जीवनको धेरै गहिराइमा जानुपर्छ, इतिहासको गहिराइमा जानुपर्छ । यतातिर हाम्रो ध्यान एकदमै कम गयो । कम्युनिस्ट पार्टीका सांस्कृतिक संगठनहरूलाई एकेडेमी वा सांस्कृतिक संस्थानमा पद पाउने भर्याङ मात्रै बनाइयो । यही कुराको गम्भीरता नहँुदा प्रगतिवादी साहित्य पछि परेको हो ।
वामपन्थी नेताहरू राजनीतिमा हस्तक्षेपकारी भूमिकामा छन्, तपाईंहरूले चाहिँ किन हस्तक्षेप गर्न सक्नुभएन, के भयो त्यस्तो कमी तपाईंहरूमा ?
अध्ययनको कमी, नेपाली इतिहासलाई बुझ्ने सामथ्र्यको कमी । सबैको मूलमा रहेको कमीचाहिँ यान्त्रिकता र कठमुल्लावाद हाबी हुनु हो । लेनिनले ‘पार्टी र साहित्य’ भन्ने दस्ताबेज लेखिसकेपछि भने, ‘हरेक साहित्यचाहिँ पार्टीको दाँती र पेचकिला हुनुपर्छ, क्रान्तिको दाँती र पेचकिला हुनुपर्छ । अथवा राजनीतिको मातहत हुनुपर्छ ।’ नेताहरू अघि–अघि, अरू पछि भन्ने चिन्तनले समस्या उत्पन्न भयो । यस्तै माओले साहित्य र कलाबारे प्रवचन दिँदै भने, ‘जनताले बुझ्ने हुनुपर्छ जनताको क्रान्तिलाई समर्थन गर्नुपर्छ । त्यति बुझे जनवादी साहित्यकारले पुग्छ ।’ यस्तो अन्यन्तै तल्लो चिन्तनले जब प्रभाव छाड्यो, त्यहीँबाट समस्या सुरु भयो । हामी यी कुराबाट मुक्त भएर लेख्नुपर्छ ।
अहिलेका प्रगतिवादी साहित्यकारले पनि बढी स्तुति लेखे भन्ने लाग्दैन ?
लाग्छ । जस्तो: एमालेलाई भोट माग्नुपर्यो भने सूर्यकै गीत र कविता लेखे । तर, एमालेलाई भोट माग्न सूर्यको वर्णन गरेर सार्थक हँुदैन । माओवादीहरूले पनि जनयुद्धकालमा त्यसै गरे । लु सुनले भनेका छन्, ‘साहित्यको कार्यनीतिको विषयहरूमा साहित्य हुन सक्दैन, संस्कृतिको आमूल परिवर्तनको विषयमा मात्र कला साहित्यको भूमिका हुन सक्छ ।’ अहिलेकाहरूले लु सुनलाई भुले । लु सुनका चेला बताउनेहरूले नै लुसुनलाई भुलेपछि के लाग्छ ?
सोभियत संघको पतनपछि माक्र्सवादी साहित्यको पनि भविष्य छैन भन्नेहरू पनि भए नि, के त्यस्तै हो ?
राजनीतिक परिवर्तनले सबै क्षेत्रमा असर त अवश्यै पार्छ । साम्यवाद असफल हुनु भनेको पँुजीवाद श्रेष्ठ हुनु हो । पुँजीवादको चेहरा हेर्दा त्यहाँ मानवतावाद देखिँदैन । त्यसैले माक्र्सवादको सार्थकतामा सोभियत संघको विघटनले असर पार्दैन ।
एकथरी साहित्यमा राजनीति गर्नु हुँदैन भन्छन् नि ?
ती भन्नेहरूले पनि राजनीति नै गर्न खोजेका हुन् । साहित्यले राजनीति नगर्ने कुरै हुन्न जबकि समाज रूपान्तरणमा साहित्यको भूमिका रहेको हुन्छ । रूसो, भोल्टायरहरूको साहित्यले फ्रान्सको राज्यक्रान्तिमा ठूलो भूमिका निर्वाह गरेको थियो । आस्था र विश्वास नलिने साहित्यकारले जीवन्त साहित्य लेख्न सक्दैन । बाल्जाक राजतन्त्रवादी थिए तर उनले आºनो साहित्यमा समाजको विकास, अग्रगामी शक्ति परिवर्तनकारी शक्तिहरूलाई समर्थन गरेको पाइन्छ । उनले आफ्नो आस्था र विचारभन्दा पनि इमानदार दृष्टिले हेरेका छन् । त्यसैले माक्र्स र एंगेल्सले उनलाई मानेका थिए । विचार र कला दुवैले समृद्ध भएको स्रष्टा हुन जरुरी छ । साहित्य संक्रमणकारी राजनीतिको घोडा हुनु हुँदैन तर व्यापक राजनीति र गम्भीर राजनीतिको अभियन्ताचाहिँ हुनुपर्छ ।
जनआन्दोलन–२ पछिको परिवर्तनपछिको लेखनमा केही परिवर्तन भएको हो ?
खासै परिवर्तन देखिनँ । जुर्मुराहट छ तर गम्भीर छैन । त्यति ठूलो जनआन्दोलन भयो तर त्यसमा प्रत्यक्ष संग्लन भएकाहरूले लेख्न सकेनन् ।
माओवादी जनयुद्धलाई नेपाली साहित्यमा राम्ररी लेख्न सकिएको छ ?
गतिलो कलात्मक रूपले उच्चखालको लेखिएको छैन । माओवादी कार्यकर्ताहरूले जनयुद्धका संस्मरण त धेरै लेखे । संस्मरणमा केही लेखिएका छन् । तर, साहित्य र संस्कृतिलाई हर्ने उनीहरूको सोच पनि कठमुल्लापन्थी, पुस्तकपन्थी र जडसूत्रवादी भएका कारणले राम्ररी खुलेर लेख्न सकेनन् ।
जनयुद्धमाथि लेखिएका साहित्यमा तपाईंलाई कुन राम्रो लाग्छ ?
तुलनात्मक रूपमा ‘उर्गेनको घोडा’ हो । तर, यसमा पनि विश्वसनीयता कम छ । त्यहाँको प्रमुख पात्र मेन्दो स्वयंमा मेन्दो नभएर कुनै ब्राह्मणकी छोरीजस्ती देखिन्छे ।
प्रगतिवादी धारा नै अहिलेको मूलधार भन्ने छ, के हो ?
हाम्रो नेपालमा अहिलेसम्म कुनै धारा बनिसकेको छैन । प्रगतिवादलाई मूल धारा बनाउनुपर्छ र यो बन्छ पनि ।
पछिल्लो समयमा मदन पुरस्कार पाएको पुस्तकको साहित्यिक मूल्य कस्तो छ जस्तो लाग्छ ?
नेपाली साहित्य नै कमजोर छ । मदन पुरस्कार पनि लगातार ६ वर्षयता अति कमजोर किताबहरूले पाइरहेका छन् । यो मदन पुरस्कार गुठीको पनि विवशता होला । राम्रा पुस्तकहरू नभएपछि कमजोरलाई पनि दिनुपर्यो ।
तपाईंका उपन्यासहरू धेरै पाठकले रुचाएका छन् तर नेपालमा धेरै पुरस्कार गुठीहरू छन्, पुरस्कार नपाउँदा चित्त दुख्दैन ?
मैले पाठकका लागि लेखेको हुँ । पाठकले मन पराइदिएका छन्, जसका लागि लेखेको उनीहरूले मन पराइदिएपछि चित्त दुखाउने ठाउँ रहन्नँ ।
प्रस्तुति: राजेश/दीपक
http://www.souryadaily.com बाट साभार
No comments:
Post a Comment