भूमिका
तपाईँहरुको हातमा यो सानो पुस्तिका थमाइएको छ ।यसमा व्यक्त विचारहरु बेलाबेलामा मुलुकमा देखापरेका राजनीतिक अवस्थाले उत्पन्न मनोविज्ञानका अभिव्यक्ति हुन् ।खास गरी सामन्ती नेपाली समाजको आमूूूूल रुपान्तरणमा नेपाली जनताको नाममा धेरै प्रयोग भए,तर हरेक परिवर्तन पछि नेपाली जनताको उत्साहमा पानी खनिएको छ ,जसले जनता र तिनका नेतृत्वपंक्तिका तल्लो तहमा व्यापक निराशा छाएको पाइन्छ ।क्रान्ति आँधीबेरी भएर आउँछ तर यो आखिरमा पूर्ण सफलतामा नपुगी बिचैमा तुुहिने गरेको छ र त्यसै निराशामा परिणत हुुन पुग्छ ।आज सम्म यस्तै भइरहेछ ।यस्तो परिवर्तनको अभियानमा लाग्ने कतिपय साथीहरु जीवितै पनि छौँ ,हरेकले इतिहासमा आफ्नो ठाउँबाट भूूमिका खेलिएकै हो ,अब सबैले आ –आफ्नो विगत वा इतिहासको आलोचनात्मक समीक्षा गर्नु परिसकेको छ ,यही मान्यताले आफ्नो समयमा भूमिका खेलेको तर अहिले विस्मृत जस्तो हुन पुगेको नेपालको एउटा कम्युनिष्ट पार्टीको एक खण्डको समीक्षा यहाँ राखिएको छ ,यसको लक्ष्य सबै साथीहरुले यसरी नै आआफ्नो समीक्षा गरौँ भन्ने पनि हो ,।
यो गण्डकीका श्यामप्रसादका अनुयायी एवं पुराना मित्रहरुको २०७१साल असोज सम्ममा भएका अनौपचारिक भेटघाटमा र अन्य अनौपचारिक सन्दर्भमा बेलाबेलामा छलफल हुँदा निस्केको निष्कर्ष हो,यसले विद्यमान समयमा मुलुकमा व्याप्त असन्तुष्टि निराशा छटपटीलाई व्यक्त गर्दछ,, यो पलायनको दस्तावेज नभएर अग्रगमनको निम्ति वैचारिक मन्थनको एक प्रयास पनि हो,साथै नेपाली कम्युनिष्ट आन्दोलनको एक कालखण्डमा क्रियाशील एउटा कम्युनिष्ट सङ्गठनको ऐतिहासिक यात्राको आंशिक समीक्षा पनि हो ,यसले सबै साथीहरुसँग आफ्नो विगतको सिंहावलोकन गर्न आह्वान गर्दछ । यसको सार हो—निराशावादी होइन,आशावादी बन ,गर्व गर घमण्ड होइन,अगाडि बढ तर समीक्षा गर ,कमीहरुप्रति निष्ठूर बन र जनतासँग विनम्र बन,अरुमाथि शङ्का गर्नुअगि आफैलाई बुझ,सही के हो खोज ,गलतमा नरमाऊ ! यद्यपि अहिले एक वर्षभन्दा बढी समय बितिसकेको छ,त्यस यता केही परिवर्तन हुन खोजे पनि चरित्रमा परिवर्तन पूर्णरुपमा भएको छैन,सार उस्तै छ,यसकारण यसको सन्दर्भ रहिरहेको छ ।यसमा नयाँ परिवर्तन पछिको अवस्थालाई समावेश गरिएको छैन ।यद्यपि जातिवादी दृष्टिकोणमा माओवादीमा आएको परिवर्तन र वर्तमान संयुक्त वाम बहुल सरकारको राष्ट्रियतावादी अडानको भने प्रशंसा गर्नैपर्छ र माओवादी पक्षमा देखापरेको एकीकरण र पृथक्वास तथा डा.बाबुराम भट्राईको ‘नयाँ शक्ति’अभियानको परिणाम हेर्न बाँकि छ ,तर यो अभिलेख तयार पार्दा भने यस्तो परिस्थिति थिएन ।
यस सानो अभिलेखलाई छपाउने मनसाय पहिला लिएको थिइनँ,तर पछि पछि धेरै साथीहरुको जोडले धेरै समय पछि यो अवसर जुट्यो ।मलाई कुनै समयमा सँगैका सहयात्रीहरुले घच्घच्याउनुभयो,सुझाव आलोचना राख्नुभयो ,जसमा श्री रामराज रेग्मी,हरि श्रेष्ठ,कमलमोहन पौडेल,रामबहादुर अधिकारी,शिवशङ्कर पौडेल,शुक्रराज सापकोटा,मोहन अकेला लगायत साथीहरुलाई बिर्सन सक्दिनँ ,यस्तै आफ्नो अमूल्य समयमा यसको सम्पादन गरी सघाउने साथी नारायण परिश्रमी,कम्प्युटर ले आउटमा सहयोग गर्ने बहिनी शान्ति थापा र पश्चिमाञ्चल अफसेट प्रेस एवं प्रकाशनमा सघाउने सबै मित्रहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछुु ।
अहिेलेलाई यत्ति नै,विस्तृत रुपमा नयाँ परिस्थितिको विश्लेषण गर्नुपरेमा यस्तै अरु समयमा भेट हुनेछ ।
- शेषमणि
१) हाम्रो यात्रा
हाम्रो यात्रा नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा नवीनमान्यता र नयाँ कार्यशैलीका साथ तीसको दशकको प्रारम्भमा सुरुभएको हो ।जुनबेला मुलुकमा जननिर्वाचित संसदीय सरकारलाई विघटन गरी निरङ्कुश पञ्चायती शासन लादेको अवस्था थियो र दिल्ली संझौताले २००७सालको जनक्रान्ति अपूरो भएपनि १०४वर्षको निरङ्कुश राणाशाहीको अन्त्य भएको र बहुदलीय संसदीय व्यवस्था स्थापना भई मुलुकलाई पूँजीवादी राजनीतिक प्रणाली तर्फ डो¥याउन खोजिएको अवस्था थियो ।
२०१५सालमा नेपाली काँगे्रसका नेता विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा दुइ तिहाइ बहुमतमा गठित सरकारले केही प्रगतिशील सुधारहरु गर्न नखोजेको होइन,तर राजा महेन्द्र र बी.पी. कोइराला बीचको प्रतिस्पद्र्धाको कारणले पनि १७ महिनामै त्यसको विघटन भई निर्दलीय शासन लादियो र त्यसपछि मुलुक ३०वर्षे कठोर शासनमुनि पिसिन थाल्यो,सीमित पूँजीवादी प्रजातन्त्रको अन्त्य भई सबै राजनीतिक दल र सङ्गठनमाथि प्रतिवन्ध लाग्यो ।
तात्कालीन संंसदका धेरै सदस्यहरु राजा महेन्द्रको कदमको समर्थन गर्न पुगे , कोही जेल र भारतमा निर्वासित जीवन बिताउन बाध्य भए । कलकत्तामा निर्वासित सुवर्ण शमशेरको नेतृत्वमा यता मुलुकभित्र नेपाली काँग्रेसले “हिट एण्ड रन” को सशस्त्र गतिविधि सञ्चालन गर्न थाल्यो भने तात्कालीन नेकपाका महामन्त्री केशरजङ्ग रायमाझी जो सोभियत सङ्घको भ्रमणमा थिए,राजाको कदमलाई समर्थन गर्न पुगे,यसपछि नेपाल कम्युनिष्ट पार्टीमा विभाजन हुन थाल्यो ।
२ )नेकपाको स्थापना
भारतको कलकत्ताको श्यामबजारमा इ.सन् १९४९ अप्रिल २२ तारिखमा लेनिन जयन्तीकोे अवसरमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।हुन त कसैले पार्टी स्थापना दिवस भनेर १५ सेप्टेम्बरलाई पनि माने तर२२अप्रिललाई नै आधिकारिक मानियो र १५ सेप्टेम्बरमा पार्टीको घोषणापत्र जारी गरिएको थियो , वास्तविक रुपमा भने २२ अप्रिल नै पार्टी स्थापना दिवस हो ।
पार्टी स्थापना कालदेखि नै केही विवादहरु भने देखा परे। स्थापना कालका नेताहरुमा पुष्पलाल बाहेक अन्य व्यक्तित्वहरु पछिका दिनमा प्रमुख भूमिकामा स्थापित भैरहन सकेनन् ।नेपालकै पहिलो कम्युनिष्ट भनी चर्चित व्यक्ति मनमोहन अधिकारी लगायतकाहरु भने यस अभियानमा सामेल हुन सकेनन्,तैपनि तात्कालीन अन्तरराष्टिय मान्यता यही पार्टीले पायो ।यद्यपि पुष्पलालको गङ्गालाल हलुवाइसँग मतभेद भएपछि उनले “लाल कम्युनिष्ट पार्टी”को गठन गरे र अर्को “जनमुक्ति कम्युनिष्ट पार्टी ”पनि खोेलिएको थियो भन्ने चर्चा पाइन्छ ।
पार्टी स्थापना सम्बन्धी यो चर्चा सँगै नेपालमा साम्यवादी विचारको बीजारोपणबारे पनि चर्चा गर्नु उपयुक्त हुन्छ ।यस क्रममा पहिलो विश्वयुद्ध लडेर नेपाल फर्केका गोर्खाली सिपाहीहरुले सर्वप्रथम रुसको बोल्शेभिक क्रान्ति र लेनिनको बारे चर्चा गरे ,यसपछि पनि “प्रचण्ड गोर्खा” जयपृथ्वी बहादुर र ९७ सालका शहीद गङ्गालालले पनि बोल्शेभिक क्रान्तिलाई नै आफ्नो आदर्श माने ।साथै ०६सालभन्दा अगि भारतको कलकत्तामा र काठमाण्डू लगायत विभिन्न स्थानमा खुलेका विभिन्न अध्ययन मण्डल र सङ्गठनहरुले पनि माक्र्सवादको विषयमा चासो राखे ।यसका अतिरिक्त तात्कालिक अन्तर्राष्टिय परिस्थितिले पनि यसमा भूमिका खेल्यो नै , विशेषगरी रुसको महान् अक्टोबर समाजवादी क्रान्ति,चीनिया नयाँ जनवादी क्रान्ति ,भारतीय स्वाधीनता सङ््रग्राम , भारतीय कम्युनिष्ट पार्टीको समर्थन,हिन्दचीनको मुक्तियुद्ध ,पूर्वी युरोपका उदीयमान समाजवादी मुलुक र संसारभर फैलिँदै गएको औपनिवेशिक मुलुकहरुको स्वाधीनता अभियान पनि नेकपा स्थापनामा प्रेरक शक्ति हुन् ।यस्तै पृष्ठभूमिमा स्थापित क .पा .ले समय समयमा धेरै हण्डर खानुप¥यो,।
२००८साल माघ १०मा के.आइ.सिंहको विद्रोहलाई समर्थन गरेको निहुँमा यसमाथि प्रतिबन्ध लगाइयो,२०१३साल बैशाख ४मा मात्र यसमाथिको प्रतिबन्ध हट्यो ।त्यसपछि २०१७ सालदेखि ३०वर्षसम्म सबै राजनीतिक पार्टी प्रतिबन्धित भई नै रहे ।
३ )कम्युनिष्ट पार्टीमा विभाजन
स्थापनाकालदेखि नै केही मतभेदहरु देखा नपरेका होइनन्,तैपनि १७ सालको काण्डपछि केशरजङ्ग रायमाझीले राजा महेन्द्रको कदमलाई समर्थन गरेपछि मात्र पार्टीमा विभाजन खुला रु।पमा देखाप¥यो,भारतमावि.सं.२०१९।वैशाख४—५ (सन् १९६२,अप्रिल)मा बनारसमा भएको तेस्रो महाधिवेशनबाट रायमाझीको निष्काशन भएपनि उनलाई रुसको समर्थनले जटिलता थपिन पुग्यो ।रायमाझीले राजा महेन्द्रमा सुकार्नो ,सिंहानुकको छाया देख्ने नाटक गरी रुसी समर्थनको फाइदा लिई नै रहे,तर पार्टीभित्र भारतमा तुलसीलाल र पुष्पलाल बीच मतभेद बढ्न लाग्यो,तुलसीलालले भारतमा डाँगेको समर्थन पाए भने पुष्पलालले ज्योति वसुको ।यस मतभेदबाट पार्टीमा निष्क्रियता बढ्दै गयो ।साथै नेपालभित्रै पनि पार्टीलाई जीवित बनाई चल्ने अभ्यास भई नै रह्यो।पार्टीको हेडक्वाटर नेपालमै राखेर काम गर्नु पर्ने माँग बढ्न थाल्यो,पुराना कतिपय नेता कार्यकर्ता पनि दरबारको सेवामा गुप्त रुपमा लागेको शङ्का हुन थाल्यो,मुलुकमा विभिन्न पार्टी ग्रुप देखापर्न थाले,यस परिस्थितिमा आपसमा विश्वासको सङ्कट गहिरिँदै जानु र अन्तरराष्टिय कम्युनिष्ट आन्दोलनमा देखापरेको मतभेदले पनि विभाजनमा बल नै पुग्यो ।पुष्पलालले“ हाम्रो मूलबाटो”े बाट “विघटित संसदको पुनःस्थापना” को माँग राखे भने तुलसीलालले “कुन बाटो?” को माध्यमबाट “राष्ट्रिय प्रजातन्त्र” र सँगैजसो मोहन विक्रमको “संविधान सभा”को माँगको कार्यक्रम पनि आइसकेको थियो ।यी सबै परिस्थितिमा पार्टीमा एकता हुने सम्भावना क्षीण हुँदै जानु स्वाभाविकै थियो ।
काठमाण्डूमा सक्रिय वाग्मती प्रान्तीय कमिटीले राजधानीमा पार्टी काम गरिरहेको थियो ।त्यसमा पनि राष्ट्रिय परिस्थितिको प्रभाव पर्नु अनौठो भएन ।यही कमिटीको निर्णय अनुसार पार्टी नेतृत्वको सुरक्षाको निम्ति पनि मूलनेतृत्व भूमिगत जानुपर्ने भयो ।२०२४ सालमा पार्टी निर्णय अनुसार श्यामप्रसाद शर्मा लामो ऐतिहासिक भूमिगत वासमा जानुभयो।
यहाँ हामी नेपाली कम्युनिष्ट आन्दोलनको विस्तृत चर्चा गर्न नगई हामीले विगतमा अँगालेको कम्युनिष्ट पार्टी र उसको विषयमा बढी केन्दि«त हुन गइरहेका छौँ ।मूलतःकम्युनिष्ट पार्टीमा देखापरेको फुटको सन्दर्भमा हाम्रो अगाडि विचार र कार्यशैली मिल्ने कम्युनिष्ट पार्टी खोज्नुपर्ने नै थियो ।
तात्कालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले काठमाण्डूमा रहेका युवाहरुमा नयाँ बहस सुरु हुन थाल्यो ।यस्तो बहसका फोरम विभिन्न थिए ।जसमा भूमिगत रुपमा वाचस्पति देवकोटा,सिन्धुनाथ प्याकुर्याल,गणेश पण्डित, जगत बहादुर रोका,ऋषिराज लुंसाली,बद्री खनाल ,मुक्ति खनाल ,शेषमणि आचार्य,पीताम्वर अधिकारी,घनश्याम अधिकारी आदिको कृयाशीलतामा खोलिएको “हाम्रो पुस्तकालय” र,खुला रुपमा काम गरिरहेको“नेपाल चीनमैत्री सङ्घ” “गण्डकी विद्यार्थी परिषद्” स्मरणीय छन् ।यसै गरी चीनमा सुरु भएको “महान् सर्वहारा साँस्कृतिक क्रान्ति”एवं भारतको “नक्सलबाडीको सशस्त्र किसान संघर्ष”ले पनि ठूलै भूमिका खेले ।यी घटनाले हामीलाई पुष्पलालको“हाम्रो मूलबाटो” स्वीकार्य हुन सकेन ।तुलसीलालको“कुन बाटो”को त कुरै भएन ।
हामीलाई अब दीर्घकालीन जनयुद्धको बाटो नै नेपाली नयाँ जनवादी क्रान्तिको मूल बाटो हो भन्ने कुरामा दृढ विश्वास हुन थाल्यो र आफ्नो विचार मिल्ने कम्युनिष्ट पार्टीको खोजी गर्दा नै हामी “नेपाल चीन मैत्री संघ” समूहको निकट पुग्यौँ ।( यो त्यस्तो समूह नै त होइन तर यसका प्रमुख व्यक्तिहरु एउटै विचारका थिए र कुनै चीनका मित्रमात्र पनि थिए ।)यस समूहको वास्तविक नेतृत्व श्यामप्रसाद शर्माले गर्नुभएको थियो,जसको साथमा शान्तदास ,गोविन्द भट्ट आदि थिए,यिनलाई तात्कालीन समयमा विशिष्ट माक्र्सवादी बुिद्धजीवीका रुपमा सम्मान प्राप्त थियो ।यस समूहले उपत्यकामा भूमिगत रुपमा काम गर्ने शैलीको विकास ग¥यो ।पञ्चायती शासनको क्रूर दमनबाट जोगिएर काम गर्नु निकै कठिन काम थियो ।
४ )डिग्री बहिष्कार आन्दोलन
सन्, १९६६तिर सुरु भएको चिनिया सांस्कृतिक क्रान्तिको प्रभावले भारतमा चारुमजुमदारको नेतृत्वमा नक्सलबाडी किसान आन्दोलनको सुरुवात यसै समयमा भयो,यसको प्रभाव नेपालमा पनि प¥यो ,नेपालका कलेज कलेजमा अध्ययन गरिरहेका युवाहरु नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न गाउँबाट शहरलाई घेरी समाजवादी नेपालको निर्माण पूरा गर्न आआफ्नो पढाइ छोड्ने अभियान थालियो ,यही क्रममा पश्चिम नेपालमा हाम्रै समूहका साथीहरु गाउँतर्फ आउने काम भयो ।यस अभियानमा ्रलमजुङ—तनहूँका शेषमणि आचार्य,छबिचन्द्र ढकाल,रामप्रसादअधिकारी,रामबहादुर अधिकारी,रामचन्द बस्नेत , धादिङका हेमराज कँडेल,विद्यासागर कँडेल र मुस्ताङका शशि शेरचन, ज्ञानेन्द्र शेरचन,ओम विकास गौचनले नेतृत्व गरेको स्थिति थियो,यसपछि पुष्पकमल सुवेदी,रामराज रेग्मी लगायत साथीहरुले पनि सहमति जनाउनुभयो ।यसरी नै पूर्व तर्फ पनि झलनाथ खनाल,सी.पी.मैनाली,ऋषिराज लुम्साली,घनश्याम अधिकारी,पीताम्बर अधिकारी आदि युवाहरुले यसलाई नेतृत्व गरे । यस अभियानले छिटै व्यापकता पायो,कलेजहरुमा यसबारे बहस चल्न थाल्यो भने पूर्वमा भएको ऐतिहासिक झापा आन्दोलन पनि यही आन्दोलनका सूत्रधारहरुले नै नेतृत्व गरिएको थियो ।यसै गरी पोखरामा पृथ्वी नारायण कलेजका कतिपय विद्यार्थी नेताहरु पनि यसकै अनुयायी बने ।
डिग्री बहिष्कार आन्दोलन नेपाली जनवादी क्रान्तिको नयाँ अभियानमा एक प्रस्थान विन्दु थियो ।एक क्रान्तिकारीको निम्ति इतिहासले माँग गरेको अवस्थामा आफ्ना सबै उज्ज्वल सम्भावनालाई त्याग गर्नुपर्ने रहेछ भन्ने मान्यतामा यो आन्दोलन चलेको थियो ।
५ )कम्युनिष्ट आन्दोलनका विभिन्न धारहरु :
नेपाल कम्युनिष्ट पार्टीको स्थापना भए यताका ६५वर्षमा यसका विभिन्न मोडहरुको अध्ययन गर्दा यसमा मुख्यरुपमा ३धारहरु देखा पर्दछन् ।तिनलाई यसरी पुष्टि गर्न सकिन्छ —१,आत्मसमर्पणवादी दक्षिणपन्थी धार,२,मध्यपन्थी दक्षिणमुखी धार र ३,क्रान्तिकारी वामपन्थी धार ।
संक्षेपमा विगत साँढे छ दशकको उथल पुथलको यात्रामा कम्युनिष्ट आन्दोलनमा उपर्युक्त तीन धारमै यता उता भैरहेको छ ।अतीतमा पहिलो धारको प्रतिनिधित्व केशर जङ्ग रायमाझीले गरे,जुन अन्त्यमा विसर्जनवादमै परिवर्तन भएर समाप्त पनि भयो ।अतीतमै मध्यपन्थी धार पनि देखाप¥यो,यसको प्रतिनिधित्व मूलतः मनमोहनले नै गरे ।झापा सशस्त्र विद्रोेहपछि यसको मूल स्पिरिटलाई समेत तिरस्कार गर्ने शक्तिलाई यस कोटिमा राख्न सकिन्छ ।तेस्रोे क्रान्तिकारी वामपन्थी धारमा झापा विद्रोह र त्यसपछि माओवादी कालसम्मका क्रान्तिकारी परिवर्तन पक्षधर तप्काहरु पर्दछन् ।२०१७सालको काण्डसम्म पुष्पलालले यस धारको प«तिनिधित्व गरे तर सत्र सालको काण्डपछि विघटित संसदको पुनःस्थापनाको र तत्काल असम्भव “काँगे्रस कम्युनिष्ट संयुक्त आन्दोलन ” को मात्र निरपेक्ष रटान गरेर उनले समय बरबाद गरे ,पार्टीभित्र रहेका क्रान्तिकारी शक्तिलाई पार्टी छोड्न विवश समेत पारे ।झापाली विद्रोहका कमी कमजोरी प्रशस्तै थिए,तर मुलुकमा अहिले वामशक्तिको वर्चस्व भनेर जो भनिरहेका छौँ,त्यसको मुख्य श्रेय यसैलाई दिनुपर्दछ ।
६ )तर अहिले समय फेरिएको छ
समय अब फेरिएको छ ।इतिहासमा पहिलो समाजवादी राज्य सोभियतसङ्घको विघटन भैसकेको छ,चीनले पनि चिनिया विशेषताको समाजवादको नाममा आफ्ना पाइलाहरुमा केही परिवर्तन गरेर फड्को मारिरहेको छ। भारतमा नक्सलबादी आन्दोलन सामान्य मुठभेडमा मात्र अलमलिएकोछ ।नेपालमा लामो समय सम्मनेपाली जनतालाई दबाई रहेको राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना भएपनि यसको संस्थागत गर्ने काममा सफलता मिलेको छैन ।कम्युनिष्ट पार्टीहरु वैचारिक रुपमै अलमलमा छन् ।१० वर्षे ‘जनयुद्ध’ चलाएर एकपटक जोशिला युवाकोआकर्षण र जनताले भर पर्न खोजेकोमाओवादी पार्टी अहिले आएर विखण्डन र विचलित अवस्थामा फेरिएको छ ।यसले माओका विचारलाई त नाममा मात्र भजाएको छ ।एकपटक त मुलुकमा जातिवादी ,विखण्डनवादी शक्तिहरुलाई काखमा लिएर लक्ष्यहीन यात्रामा रुमल्लिन पुगेको पनि थियो । माओवादीहरुले जनयुद्घको नाममा १० वर्षसम्म जे गरे त्यसलाई माअोले भने अनुसारको पूूर्ण रुपमा जनयुद्घ मान्न सकिएन ।जनयुद्घको परिभाषा कसरी गर्ने ?जनताको लागि युद्घ किजनताले गरेको जनताको युद्घ ? ,पहिलो विकल्प भने मान्न सकिएला,यसमा भाग लिएका इमान्दार बहादुरहरुले जनताकै लागि लडेको संझेर नै जीवन उत्सर्ग गरे ,घाइते भए, वलिदान गरे,नेपालको कम्युनिष्ट आन्दोलनमा शोषित पीडित,दलित समुदाय र पछि पारिएका जनसमुदायले इतिहासमै पहिलो पटक वर्गसंघर्षको नयाँ अभ्यास भने गरेकै हुन् र मुलुकमा पहिलो पटक गणतन्त्र,धर्म निरपेक्षता र संघीयतामा माओवादी आन्दोलन जगको भूमिकामा रहेको निश्चित हो र लामो समयसम्म अवरुद्ध जन असन्तोषको प्रवाहलाई खोलेर १९ दिने जनआन्दोलन पछिमात्र निर्णायक नयाँ निकास निस्कन सकेकोहो।तर यसले प्रयोग गरेको व्यक्तिहत्याको शैली निरपेक्ष रुपमा समर्थन गर्न सकिँदैन,न त वलिदानको नाउँमा भएको नोक्सानलाई नजरन्दाज गर्न सकिन्छ,यो त माओको विचार अनुसार नै अनावश्यक वलिदान हुन जान्छ, ब।ह्र बुँदे सम्झौता पछिका घटनाक्रमलाई नियाल्दै आजसम्मका उनीहरुका गतिविधि हेर्दा त राष्ट्रका मुूद्दामा प्रतिक्रियावादी, जातिवादी र क्षेत्रीयतावादी वा विखण्डनवादीहरु सँग दिनदिन भएको गठबन्धनले पनि उनीहरु उग्रवामपन्थी बाटो हुँदै दक्षिणमुखीयात्रामा रेस लिइरहेका छन् भन्न सकिन्छ ।अहिले यस शक्तिमै विभाजन भएर यस भित्रका “क्रान्तिकारीहरु” दिग्भ्रमित भइरहेछन्, दिनदिन क्यारियरिष्टहरु छाइरहेछन् ।
यसैगरी नेकपा एमाले पनि जबजको नाम लिए पनि मदन भण्डारी पछि क्रमशः दक्षिणमुखी यात्रामा रुमलिएको छ,यसभित्रको चरम गुटबन्दी र वैचारिक धरमरले ,यो नव धनाढ्य वर्गको चङ्गुलमा परिसकेको छ ।यसले अहिले झापा आन्दोलन र मनमोहनको नेतृत्वको नौमहिने सरकारको नाममा रमाउनु परिरहेको छ ।
अन्य सानातिना वाम शक्तिहरु छन्,यिनीहरुमा पनि कुण्ठा,हीनताभास,नातावाद र एकान्तवासमा चित्त बुझाएर दिन गुजारा गर्ने बानी परिसकेको छ ।
नेपालको सन्दर्भमा ‘वामपन्थी’ भन्नाले कम्युनिष्ट शक्तिलाई नै बुझिने गरिएको छ ।माथि सङ्केत गरिए अनुसार अहिले विद्यमान कम्युनिष्ट शक्तिमा कुनै एउटै पार्टी दक्षिणपन्थी आत्म समर्पणवादी धारको छ भन्न सकिँदैन,अहिले सबैजसोकपाहरु मध्यपन्थी दक्षिणमुखी नै छन्,मात्रामा भने फरक छ । सबै क.पा. हरुमा केहीइमान्दार क्रान्तिकारीहरु छन्वाक्रान्तिकारी शक्ति छन् तर संस्थागत छैनन् ।
दक्षिणपन्थी शक्तिहरुमा नेपाली काँग्रेस प्रजातान्त्रिक समाजवादको भजन गाएर पूँजीवादकै खेतीमा लागिरहेको छ ।जनजाति,मधेशीहरुको नाम भजाएर स्वार्थसिद्ध गर्न खोज्ने केही अराजनीतिक,आपराधिक पृष्ठभूमिका स्वार्थी व्यक्तिहरु पनि यस लोकतन्त्रकै उपयोग गर्दै ती ती समुदायको अज्ञानता एवं विवशताबाट लाभ लिन खोज्नेहरु छन्,यिनीहरुको भविष्य छैन,तैपनि केही समय विदेशी आइ.एन.जि.ओ.को प्रायोजनमा यिनले धमिलो पानीमा माछा मार्न छोड्ने छैनन् ।
आम जनतामा निराशा व्याप्त छ,मुलुक अस्तव्यस्त छ,भ्रष्टाचार डरलाग्दो गरी मौलाएको छ ।राजनीतिज्ञ,राजनीतिक दल प्रति जनता आक्रोशित छन्,मुलुक दिनदिन पराधीन बनिरहेछ,युवाशक्ति विदेशमा अदक्ष श्रम बेचेर बरबाद भइरहेछ,शिक्षित समुदाय पनि निराश छन्,रोजगारीको अभावमा विदेश पलायन भइरहेछन्,गाउँहरु निर्जन बन्दैछन्,बिदेशी रेमिटेन्सको भरमा मुलुकको अर्थतन्त्र अलमलिएको छ ।भएका उद्योगहरु बन्द हुँदै गइरहेछन् वा विदेशीलाई बेचिएका छन् र ऊर्वर जमिन भूमाफियाका व्यापारिक स्थल भएका छन्। यस्ता अनेक उदाहरणहरु छन्,जसले भयङ्कर निराशा पैदा गराइदिन्छन् ।
तर साथी हो ! हामी निराश भै हाल्न पर्दैन,हाम्र्रो देश अनगिन्ती सम्भावना र उज्वल भविष्य भएको देश हो,यो अब ज¥याक जुरुक उठ्नु पर्दछ,यसका लागि हामी फेरि एकपटक लागौँ ।
७ )हाम्रो अतीतः एक छोटो समीक्षाः
यति चर्चा गरिसकेपछि अब हामी हाम्रो अतीतबारे केही समीक्षा गर्न खोज्दै छौँ ।राजा महेन्द्रले निर्दलीय पञ्चायती शासन लादेपछि जनतालाई सङ्गठित गर्न र अन्य सबै सामाजिक क्रियाकलाप गर्न ठूलो कष्ट प¥यो, दमन र जासुसका जाल र शङ्का व्याप्त भयो ,जो देखे पनि शङ्का गर्नुपर्ने अवस्था आयो ।यही समयमा इण्डोनेशियामा निर्मम श्वेत आतङ्क मच्चियो,फासिष्ट तानाशाह सुहार्तोले ५लाख भन्दा बढी कम्युनिष्टहरुको संहार ग¥यो,यस घटनाले विश्व कम्युनिष्ट आन्दोलनमा गम्भीर धक्का लाग्यो ।यसले नेपाललाई पनि छोयो ।भूमिगत कार्यशैलीको आवश्यकता झन बढ्न थालेको अनुभव भयो ।हामीले काम पनि देशभित्रै बसेर गर्न पर्ने अनुभव गरियो ।कुनै पनि प्रजातान्त्रिक अधिकार नभएको मुलुकमा कडा भूमिगत कार्यशैलीको विकल्प पनि थिएन ।यसकारण श्यामप्रसादको नेतृत्वमा एक राजनीतिक सङ्गठनको स्थापना भयो,जसको नाउँ पहिला घोषणा गरिएन,यसको विधान पनि बनाइएन,हामी त्यतिखेर चिनिया कम्युनिष्ट पार्टी र माओ त्सेतङ्गुलाई नेता मान्दथ्यौँ र“ चीनको पार्टी हाम्रो पार्टी ,चीनको अध्यक्ष हाम्रो पनि अध्यक्ष ”भन्ने चारु मजुमदारको नीतिका अनुयायी थियौँ ।पछि विभिन्न घटनाले यो दृष्टिकोण सही देखिएन र एउटा क्रान्तिकारी विचारले लैस भएको पार्टीको खाँचो अनुभव गरियो र बाहिर साथीहरुको बीचमा ल्याइयो,जसको नाउँ थियो— नेपालका कम्युनिष्टहरुको सङ्गठन(माओवादी)।पछि स्वयं चिनिया कम्युनिष्ट पार्टीको विचार र अन्य कुराहरुलाई विचार गर्दा ‘माओवादी’नभनी ‘मालेमावादी’ भनियो ।यसले “हाम्रोउद्देश्य र बाटो”पार्टीको विधान,वर्ग विश्लेषणका आधार,क्रान्तिकारीहरुको एकता,संयुक्त मोर्चा बारे लगायत आवश्यक धेरै सामग्री निर्माण गरी प्रचार ग¥यो ।तर यसले अन्य पार्टीले झैँ प्रभुत्व लाद्ने काम गरेन ।यसले वर्गीय आधारमा नेपाली श्रमजीवी वर्गको राजनीतिक अग्रदस्ता बन्ने लक्ष्य लिएको थियो,यसकारण यो संगठन गोप्य कार्यशैलीका साथ सक्रिय रह्यो ।यसले हतारमा कम्युनिष्ट नामको आधारमा मात्र सुनिएर मोटाएको जस्तो लाग्ने ,सङ्कटको समयमा शत्रुसँग लम्पसार पर्ने कायरहरुको जमघट बन्न चाहेन र क्रान्तिकारीताको नाममा लेनिनले भन्नुभएजस्तो “बालरोगी वामपन्थीकम्युनिष्ट”पनि उत्पादन गर्न चाहेन,जसको अनिवार्य परिणाम हुन्थ्यो —सर्वनाश ।यसले माओले भन्नुभए झैँ “अनुसन्धान नगरी बोल्ने हकछैन,”लाई दरो गरी समातेको थियो ।यसको उद्देश्य गाउँद्वारा शहरलाई घेर्दै दीर्घकालीन सशस्त्र जनयुद्धको माध्यमबाट ‘नयाँ जनवादी क्रान्ति’सम्पन्न गरी स्वाधीन समाजवादी नेपाल स्थापना गर्नु थियो ।पार्टी अनेक टुक्रामा विभाजित हुँदै गयो,पूर्वमा पूर्व कोशी गु्रप थियो,पछि यसैबाट टुक्रिएर झापा जिल्ला कमिटीले काम गर्न थाल्यो जसले ऐतिहासिक झापा विद्रोह सञ्चालन ग¥यो ।
यसपछि कम्युनिष्ट आन्दोलनमा व्यापक धु्रवीकरण सुरु भयो ,पुष्पलाल समूहमा भुइँचालो जान थाल्यो,दाङ,मोरङ लगायतका जिल्लाहरुमा विद्रोही कम्युनिष्ट सङ्गठनहरु ख्ुाल्न थाले ।हामीले पनि आफ्नै पहलमा भूमिगत सङ्गठनका लागि पहल गर्न थालियो ।
यसभन्दा अगि मैत्री संघ समूहमा शेषमणिको सम्बन्ध भै सकेको थियो ।यही क्रममा रामप्रसादजीको चिनिया डाक्टरहरुबाट उपचार पनि गराइयो ।काठमाण्डूमा फरक फरक समूहमा साथीहरुको समूह बनाइयो ।तनहूँमा शेषमणि,छबिचन्द्र,रामबहादुर,रामचन्द्र बस्नेतको समूहले डिग्री बहिष्कार गरी गाउँमा प्रवेश ग¥यो जसले नै श्यामप्रसादको नेतृत्वको कम्युनिष्ट पार्टीको स्थापना ग¥यो यससँगै धादिङमा हेमराजको समूह पनि हामी सँगै थियो ।जिल्लामा आएपछि रामप्रसादजी सामेल हुनुभयो ।यसले कास्की पृ.ना. कलेजका तात्कालीन स्ववियू सभापति पुष्पकमल सुवेदीसँग सम्पर्क गरी वैचारिक छलफल चलायो,जसमा शेषमणि,रामप्रसाद,पुष्पकमल सुवेदी,जयप्रकाश बाँस्तोला,मोदनाथ,रेग्मी,अर्जुन नेपाली,अरुण गुरुङ सहभागी थिए ।यस छलफलले कास्कीमा विद्रोहको स्थिति तयार भयो र पुष्पकमल र अरु साथीहरुको नेतृत्वमा“गण्डकी धवलागिरी क्रान्तिकारी माले दल” को गठन भयो ।यो समूहका केही साथीहरु पछि मालेमा सामेल हुनुभयो भने पुष्पकमल सहित केही साथीहरु ने .क .सं .मा सामेल हुनुभयो ।
संगठनको दौरानमा तनहूँमा शेषमणि,छबिचन्द्र ढकाल,रामबहादुर अधिकारी,रामराज रेग्मीकोनेतृत्वमा जग बसेको सङ्गठन क्रमशः विद्यानाथ ढकाल,शिवशङ्कर पौडेल ,मोहन श्रेष्ठ “अकेला” ,टेकनाथ पौडेल, गणेशबहादुर अधिकारी ,शुकनारायण श्रेष्ठ(जामुने र राङरुङ२)को नेतृत्वका साथगोपालचन्द्र ढकाल, गोविन्द खनाल,चूडामणि शर्मा ,भावना कुमार श्रेष्ठ , थानबहादुर श्रेष्ठ, तोप बहादुर श्रेष्ठ,गणेशमान श्रेष्ठ,आइ.बी.नेपाली,बाबुराम नेपाली(कमरेड गम्भीर) ,डिलबहादुर नेपाली(ओम), हनुमान तामाङ ,बीरबल काइँला, छबिलाल अधिकारी,ऋषि अधिकारी, द्वारिका घिमिरे, केशव घिमिरे,(जामुने) शिवदत्त लामिछाने श्यामलाल श्रेष्ठ—२,(जामुने– शिक्षक र किसान )) यमसिंह ठकुरी, गजेन्द्र सुँयाल,पदम कार्की,सुरेन्द्र खनाल, नेत्र सुवेदी,ऋषिराम लामिछानेरामकृष्ण कोइराला,कृष्णप्रसाद न्यौपाने,आदि साथीहरु संगठित भैसकेको अवस्था थियो ।,सुरुका दिनमा शम्भु बहादुर अधिकारी र मुरली मोहन काफ्ले,भीम बहादुर बस्नेत पनि हुनुहुन्थ्यो ।लमजुङमा नारायण बहादुर पण्डित,शुभराज वाग्ले ,राजकुमार श्रेष्ठ, आइत बहादुर सिंह,किनबहादुर श्रेष्ठ ,पञ्चनारायण ज्वाला, ,सूर्य बहादुर नेपाली,थमन बहादुर भुजेल लगायत,कास्कीमा रामराज रेग्मी,कमलमोहनपौडेल पूर्व राल्फा आन्दोलनका सदस्य नोरेम (हरि श्रेष्ठ,) ,पुष्पकमल सुवेदी,शुक्रराज सापकोटा,रामबहादुर तामाङले नेतृत्व गर्देै होमनाथ पौडेल,इन्द्र बहादुर नेपाली, कृष्ण क्षेत्री,आइ.बी.बि.क.,नरेन्द्र गिरी,तुलाराम परियार,बल बहादुर बि.क.,खड्ग बहादुर नेपाली,मान बहादुर थापा,अर्जुन बहादुर तामाङ,कमान सिङ मगर(दिलबहादुर)आदिले संगठन निर्माणमा नेतृत्वकारी भूमिका निर्वाह गर्नुभयो ।यो “नेपालका कम्युनिष्टहरुको संगठन मालेमावादी”को संगठन थियो ।यसले जिल्लाहरुका विभिन्न गाउँमा जस्तो तनहूँ, टुहुरेपसलचुँदी,मनपाङ,खैरेनी,राङरुङ रम्घा(लमजुङ),पोखरा,निर्मलपोखरीहरुमा किसान,मजदूर,महिला,दलित,जनजातिहरुको बीचमा समाजको तल्लै तहमा प्रवेश गरेर आफ्नो संगठनको विस्तार गर्न सक्यो, तल्लो वर्गका असंख्य कार्यकर्ताको निर्माण गरी काम अगि बढायो ।भूमिगत अवस्थामा किसान,मजदूर र शोषित पीडित समुदायको सङ्घर्ष सफलतापूर्वक सञ्चालन ग¥यो, कम्युनिष्ट पार्टीलाई आधारभूत वर्गमा लैजाने काममा यसले सफलता पाउँदै गयो ।यहाँ मैले मूलतः गण्डकी अञ्चलको यस समूहको काममा केन्द्रित रही यो चर्चा गरिरहेका छु,सिङ्गो राष्ट्रको सन्दर्भमा यो बयान गरिरहेको छैन,तर समग्रमा तस्वीर यस्तै हो ।
यसलाई केही साथीहरुले “अतिगोप्यतावादी संगठन ” भनेर नामकरण पनि गरे ।यसो हनुमा कारण कुनै समयमा वामपन्थी साथीहरु यसका नेताहरुको सम्पर्कमा आउन चाहन्थे,तर कार्यशैलीकै कारणले कतिपय साथीहरुलाई सन्तुष्ट पार्न सकिएन ,यस्ता केही साथीहरुले हैरान भएर यसलाई “अतिगोप्यतावादी” को बिल्ला लगाइदिए ,हामीले यसको प्रतिवाद पनि गरेनौँ ।वास्तवमा यस संगठनले आफ्नो समयमा अबैधानिक अवस्थामा जुन भूमिगत कार्यशैलीको विकास ग¥यो ,त्यसले पार्टीलाई ठूलो क्षतिबाट बँचायो ।अरु कम्युनिष्ट समूहले झैँ यसले अनावश्यक नोक्सानी व्यहोर्न परेन ।
८ )यसका कार्यशैलीका विशेषताहरु :
१)आधारभूत वर्गमा विश्वास
समाजका सबभन्दा तल्लो वर्गलाई लिएरमात्र जनवादी क्रान्ति सम्पन्न हुन सक्छ भन्ने यसको विश्वास थियो ,यसकारण यसले पार्टीका नेताहरु सामान्यतया अशोषक वर्गको हुनुपर्दछ,भन्यो ।यसको लागि माथिल्ला वर्गका साथीहरुले नेतृत्वमा आफूलाई उकास्न वर्गपरिवर्तन गरी अशोषकमा परिणत हुनुपर्दछ ।
२)भूमिगत शैली
यसको शैली भूमिगत नै हो तर यसले कामलाई तीन शैलीमा परिभाषित गरेको थियो ,जसलाई खुला,अर्धखुला र बन्द नामकरण गरियो ।शैलीका यी तीन तहलाई यसले मिलाएर लैजान चाहन्थ्यो ।
३)संयुक्त मोर्चाको नीति
क्रान्ति सम्पन्न गर्नको निम्ति संयुक्त मोर्चा अनिवार्य हुन्छ,यसकारण यसले वर्गविश्लेषणलाई नेपालको विशेषताअनुरुप शत्रु र मित्रको पहिचानको नीति लियो ।समाजका विभिन्न तह र पार्टीहरु भित्र पनि वर्गस्वरुपको पहिचान गरी साथमा लिन पर्नेलाई साथमा लिने,भर पर्नेसँग भर परी चल्ने,शत्रुको घेरा सारै सानो बनाएर चल्ने यसको नीति थियो । ं
४)भित्र समाजवाद बाहिर नयाँ जनवाद :
यसले आफ्ना कार्यकर्ता, नेता र संगठनसँग समाजवादी आचरणको माँग गर्दथ्यो र बाहिरका सँग भने खुकुलो जनवादी बनी चल्न खोज्थ्यो ।
५)लोकयुद्धकरण :
कार्यशैलीमा जतिसुकै सावधानी अपनाए पनि कहिले काहीँ नसोचेको क्षति पनि हुन सक्छ,हिँजोको साथी आज शत्रुमा परिणत हुन सक्छ ।यस्तो अवस्थामा जोगिन शत्रुलाई छल्दै आफ्नो पङ्क्तिको रक्षा गर्नु यसको विशेषता थियो ।
६ं)गुणको कदर :
यसले आफ्नो पार्टीको मात्र नभई अथवा अरुले गरेको असल काम पनि आफ्नै सम्पत्ति हो भन्ने मान्यता राख्थ्यो ।काममा भएका कमी कमजोरीलाई मित्रवत् सुझाव दिन्थ्यो र आफूले पनि अरुसँग यस्तै अपेक्षा राख्थ्यो ।झापा विद्रोहको समयमा उनीहरुका गुण दोषलाई हार्दिकतापूर्वक औँल्याएको थियो । “जनयुद्धबारे पहिलो पाठ” भनेर यसलाई मूल्याङ्कन गरेको थियो ।असल काम जसले गरे पनि जनताकै निम्ति हुने यसको सोच थियो ।यो वास्तवमा क्रान्तिकारी उदात्तताको परिचय हो ।
७,सङ्क्रमणकालीन सङ्गठनको निर्माण :
पार्टीमा विभाजन बढ्दै गएपछि कुुुन समूह सही र कुन गलत छुट्याउन समस्या प¥यो,यस्तै व्यक्तिहरुको सम्बन्धमा पनि रह्यो ।यसको लागि लामो वैचारिक छलफल र अनुसन्धानको प्रक्रियाबाट नगुज्री सुखै भएन,आ—आफ्नो स्थानीय परिस्थिति अनुसारको कार्यशैली अपनाइयो,गण्डकीमा व्यक्ति सम्पर्क र ससाना सङ्क्रमणकालीन सङ्गठन निर्माण गरी वैचारिक छलफल गर्न थालियो,यस क्रममा “लाज— २०२७” र“रेफ १०( टेन)”,नव युवा क्लब (तलका)जनचेतना विस्तार संघ –(बेल चौतारा)जन चेतना पुस्तकालय (लमजुङ रम्घा)नयाँ सन्देश पुस्तकालय (सोतीपसल)आदि,जस्ता सङ्गठन स्थापना गरिए,पछि यिनै समूहका विचार मिल्ने साथीहरुलाई मूल पार्टीमा मिलाउँदै गइयो ।
९)वैचारिक क्षेत्रमा योगदान :
१) नेपालको कम्युनिष्ट आन्दोलनमा यसले गरेको वैचारिक योगदानलाई त्यति महत्व दिइरहेको पाइन्न ।यो माओ विचारको पक्षमा छ तर माओको जडसूत्रवादी अनुकरण यसले गरेन ।चालीसको दशकको सुरुमै गोविन्द भट्टको एक कृति प्रकाशित भयो— “नेपाललाई बुझ्ने समस्याः एक कठिन र लामो प्रक्रिया।”जसमा अब नेपाललाई विदेशी नक्कलको कसीले मात्र हेर्न सकिन्न,भनियो ।यसै गरी जनक शर्माको “समाजवादबारे केही कुरा”नामक एक लघुकृति प्रकाशित भयो,जसमा पहिलो पटक समाजवादी बहुदलको कुरा आएको छ ।यो २०३६सालमा लेखिएको र २०३८ सालमा प्रकाशित भयो ।यसलाई तात्कालीन अवस्थामा कम्युनिष्ट पार्टीहरुले आफ्नो आन्तरिक पाठयक्रम पनि बनाए ।यस धारका नेता कार्यकर्ताहरुले माक्र्सवादी साहित्यको नेपाली भाषामा अनुवाद गरेर र मौलिक कृतिको सिर्जना गरी योगदान गरेका हुन् ।माओका उद्धृत कृति (रेडबूक) र अन्य कृतिको अनुवादको प्रारम्भ श्यामप्रसाद,लु सुनका कृतिको अनुवाद शान्तदास,“चीनका दुइ कथा,”एवं अन्य चिनिया कृतिको अनुवाद(दिनेश कुमालको नामबाट)र ‘मानिसको समाजका विभिन्न जुगहरु’को लेखन(जीवन नेपालीको नामबाट) रामराज रेग्मीले गर्नुभयो ।त्यस्तै त्यही कालमा लक्ष्मीदेवी श्रेष्ठले अनुवाद गरी शेषमणिले भाषा सम्पादन गरिएको भियतनामी अमर शहीद “न्गुएन भान ट्रोइको जीवनी,”पछि भित्री सल्लाह अनुसार खगेन्द्र सङ्ग्रौलाले भियतनामी प्रसिद्ध उपन्यास “अजम्वरी गाउँ”को अनुवाद गरी माक्र्सवादी चेतना फिँजाउन योगदान पुगेको हो ।तात्कालीन परिवेशमा नेपाल चीन मैत्री संघले समाजवादी साहित्यको प्रचारमा उल्लेखनीय भूमिका खेल्यो ,चिनिया ओपेरा ‘रातो लालटिन’साचियापाङ,लुहुलानको बाल्यकालका कथाहरु, उपन्यास“ओयाङ हाइको गीत” र‘बाल गोठाले–हाए वा’–चिनिया बालकथा,(अनुवादकःनारायण र आइतबहादुर) आदि । यस्तै ‘‘इण्डोनेशियाली कम्युनिष्ट पार्टीको स्वालोचना”“भेनेजुयाली कम्युनिष्ट पार्टीको १८ वर्षको अनुभव”आदि लेख,दस्तावेजले पनि क्रान्तिकारी चेतना वृद्घिगर्नमा योगदान गरे ।यी विषयको चर्चा गर्नुमा कारण के पनि होभने यी काममा यस समूहको भूमिका रहेको हो ,यद्यपि कतिपय अनुवाद यो समूह गठन हुनुपूर्व पनि भएका हुन् ।नेपाली समाजमा क्रान्तिकारी माक्र्सवादको आरम्भिक जग बसाल्न यसले गरेको योगदानलाई इतिहासले बिर्सन मिल्दैन । यस्तै नेपाली समाजमा नयाँ जनवादी कला र संस्कृतिको जग लक्ष्मीप्रसाद देवकोटा,युद्धप्रसाद मिश्र,हृदयचन्द्र सिंह प्रधान र श्यामप्रसाद,देवीप्रसाद किसान,गोकुल जोशी,ुगोविन्दप्रसाद लोहनीले बसाल्नुभयो र यसलाई सङ्गठित रुप दिने कामको नेतृत्व श्यामप्रसादबाट ‘प्रगतिशील लेखक सङ्घ’ स्थापना गरेपछि मात्र भएको हो ।पछिल्लो समयमा पन्चायती कालमा निरङ्कुशताको विरुध्द पश्चिमा समकालीन दर्शन अस्तित्ववादबाट प्रभावित भई एउटा जबर्दस्त वैचारिक सांस्कृतिक अभियान सुरुभयो ,जुन राल्फा आन्दोलनको नामले सुविख्यात लेखिका पारिजातको नेतृत्वमा निनु,नोरेम,मन्जुल,रामेश,रायन,अरिम, विमल आदि युवाहरुले यसलाई अगि बढाए ।सुरुमा यो आन्दोलन ‘लक्ष्यहीन विद्रोहीको अराजकतावादी समूह’ जस्तो मात्र लाग्दथ्यो ,यसलाई कसैले भने पश्चिममा चलिरहेको बिटनिक वा हिप्पी सँग पनि तुलना गर्थे तर यसभित्र रहेको क्रान्तिको ज्वालालाई माक्र्सवादी आलोकले हेरी यसभित्रको युवा क्रान्तिक।रीतामा रुपान्तरण गर्नुपर्ने निचोड श्यामप्रसाद,शान्तदास र गोविन्द भट्टले नै गरे ।राल्फा समूहको माक्र्सवादी रुपान्तरण पछि यस समूहले सांस्कृतिक आन्दोलनमा खेलेको भूमिका ऐतिहासिक रह्यो ,यसमा नारायण परिश्रमीका गीतहरु पनि गाइएका थिए ।पछिका दिनमा रामबाबु सुवेदी(राजीव)का ‘कमिनी आमा,‘गोकुल खण्डकाव्य,’शारदा रमण नेपालका “ छोरी सित”खण्ड काव्य पनि संझन पर्ने छन् ।भूमिगत रुपमा केन्दको ’नकु’(नयाँ कुरा)लिथो पत्रिका र सैद्धान्तिक पत्रिकाको रुपमा“नव आलोक्“(शान्तदासको सम्पादन)जनकप्रसाद हुमागाईँ,प्रवीण जोशी¬¬बाट प्रकाशित‘श्रृङ्खला’साहित्यिक पत्रिकाको भूमिका रह्यो । स्थानीय रुपमा ’कामरेड’ –(हस्तलिखित)ले पार्टी मुखपत्रको काम गर्यो ।
२ )थलो निर्माणमा प्राथमिकता र आत्म निर्भरताः
कम गर्ने सिलसिलामा हाम्रो पहिलो ध्यान थलाहरु निर्माण गर्नमा जान्थ्यो ,बैठक थलो,भूमिगत बस्ने थलो आदि । हामीले पार्टी बाहिरका सँग चन्दा लिने काम गर्न परेन,“जनताबाट एउटा धागाको टुक्रा र सियो पनि सित्तैमा नलेऊ” माओको यस भनाइमा हामी प्रतिबद्ध थियौँ ।थलो निर्माणको निम्ति नेतृत्वका साथीहरु परीक्षणको निम्ति भूमिगत रुपमै बस्ने गरिन्थ्यो ,हामीले श्यामजीलाई नै ल्याई राख्ने योजना बनाउँदै थियौँ,यसको तयारीको निम्ति कुलमानजी आउने गर्नुहुन्थ्यो,तर बहुदल आइसकेपछि मात्र उहाँलाई ल्याउन सकियो ।अल्पकालीन रुपमा जनताका घरमा केही दिन भूमिगत बस्ने काम शेषमणि,शूलजी(वसन्त ढुङ्गाना)रामराज,कमलमोहन र अरु साथीले पनि गर्नुभयो ।
३) सङ्गठनात्मक स्वरुप— नियमित कार्यसञ्चालनको निम्ति केन्द्र अञ्चल,जिल्ला र भेगमा कमिटीहरु ुबनाइन्थे ।गण्डकीबाट पनि केन्द्रमा साथीहरु हुनुहुन्थ्यो यहाँ अञ्चल १,जिल्ला ३ र धेरै भेग कमिटीहरु थिए । हामीले संगठन गर्ने क्रममा खास गरी विद्यार्थाीहरुका हकमा अखिल पाँचौँमा लागी काम गर्न हौस्यायौँ ,यसरी काम गर्नेहरुमा भरत चन्द्र अधिकारी, विकासचन्द्र अधिकारी, प्रकाश आचार्य,धनकुमारी श्रेष्ठ, विद्या राणा,श्यामसुन्दर श्रेष्ठ, ,आनन्दसुन्दर श्रेष्ठ,फत्त श्रेष्ठ,उमाकान्त श्रेष्ठ,जामुनेका विनोद श्रेष्ठ,दिलकुमार श्रेष्ठ ,श्रीप्रसाद श्रेष्ठ,बाबुराम खनाल,(थर्पु) गोविन्द खनाल,नारायण प्रसाद श्रेष्ठ,मोती श्रेष्ठ,विष्णुबहादुर माल ,जितबहादुर पुन,एकबहादुर पुन,ऋषिराम शर्मा चापागाईँ,निर्मल गौतम, भरतराज गौतमराजेन्द्र श्रेष्ठ, ,मनीराम विक,मोतीबहादुर नेपाली,भूपेन्द्र गिरी,विष्णु कुमार श्रेष्ठ(कास्की) आदि थिए ।यसरी हाम्रा शिक्षक,कर्मचारी विद्यार्थी र अन्य तहका साथीहरुमा कहीँ प्रत्यक्ष सम्पर्कका सङ्गठित र कहीँ घुमाउरा सम्पर्कका थिए ।
यस्तै अरु पनि धेरै साथीहरूले राजनीतिक जीवनका प्रारम्भिक दिनमा यस संगठनका प्रत्यक्ष अप्रत्यक्ष सम्पर्कमा रही काम गरे , जो किसान,मजदूर,बुद्धिजीवी,विद्यार्र्थी,महिला सबै क्षेत्रमा छन् ।यस्तै संझनाका केही नाम हुन्—यस्ता केही उदाहरण हुन्—कास्कीमा बुद्धिजीवीहरु वनमाली सुवेदी कृष्ण बहादुर कार्की .दिनेशचन्द्र सुवेदी,ठाकुर सुवेदी, ,प्रभात सुवेदी,रामबाबु सुवेदी(राजीव),भूपति सुवेदी,दिवाकर सुवेदी ,जीवनाथ भट्टराई,कृष्णकुमार श्रेष्ठ,प्रकाशचन्द्र गिरी, विष्णुकुमार श्रेष्ठ,किसानहरुमा विष्णु गिरी, बालचन्द्र भट्टराई,बलवीर घर्ती ,चुन बहादुर नेपाली,एक बहादुर परियार ,छबिलाल गोतामे ।तनहूँमा उपेन्द्र घिमिरे,माधव पौडेल, लाल बहादुर तामाङ ,गुरुङ बुढा,प्रेम लामा तामाङ,जितबहादुर पाठक ,थप बहादुर थापा ,भोज बहादुर परियार,तोप बहादुर श्रेष्ठ,गणेशमान श्रेष्ठ, होमनाथ लामिछाने,रुद्र पौडेल,खडानन्द (छाङ) ,चुँदीका वासुदेव भट्टराई ,विष्णुप्रसाद वाग्ले ,गङ्गादत्त जैसी,रा्म बहादुर श्रेष्ठ,तील बहादुर खवास ,धनीराम बि.क. मितदाइ,सीताराम घले, ,इन्द्रबहादुर गुरुङ्ग ,ऋषिबहादुर गौली,वीरबहादुर धमेला ,रामलाल वि.क.,क्षेत्र बहादुर खबास ,मनिराम वि,क,ईश्वर धमनिया,विश्व किरण श्रेष्ठ,चीजकुमार श्रेष्ठ, इन्द्र्र बहादुर गुरुङ, देवीप्रसाद अधिकारी,उदयकुमारश्रेष्ठ,मित्रलाल श्रेष्ठ,(मस्यौरे नेवार)उपेन्द्रघिमिरे,लक्ष्मण अधिक।री,विष्णुप्रसाद वाग्ले,हरिश्चन्द्र भट्टराई मेघ बहादुर वि,क,बाबुराम विक,माधवप्रसाद सापकोटा, ,ऐनबहादुर कसाई मन बहादुर वि.क.,कृष्ण बहादुर गुरुङ,(पुर्कोट))फणीन्द्रनिधि लोहनी,(चोक) ,,पूर्णमान श्रेष्ठ र हर्कबहादुर बोटे,(दमौली,)राम बहादुर थापा,सोमबहादुर गुरुङ,बर्लाँचीका लक्ष्मीप्रसाद पौडेल, मनपाङका पदमराज वाग्ले,मन बहादुर नेपाली, अन्य नेपाली परिवार (नाम थाहा हुन सकेन)र कलेस्तीका हरिप«साद प्रेमी ,रोम बहादुर ,होम बहादुर दुरा,लील बहादुर दुरा,विजय चापागार्इँ,ऋषिराम सिग्देल,रामनाथ तिम्सिना ।लमजुङमारम्घाका कान्छा लाहुरे,केशबहादुर(सेते) राना,इन्द्रबहादुर शाही ठकुरी,भीमबहादुर घर्ती(गोरे)राममाया श्रेष्ठ भोजराज गौतम , बालकृष्ण बराल,बुद्घिसागर पौडेल, कान्छा(गद्दे कामी),सूर्य बहादुर नेपाली,थमन बहादुर भुजेल,लक्ष्मण पण्डित,दीपक थापा,शमशेर श्रेष्ठ,शमिभञ्ज्याङका स्व.नन्दलाल श्रेष्ठ(माष्टर साहेब)सूर्यपालका यमबहादुर बस्नेत,र धरमपानीका हर्षलाल तामारी,दुराडाँडाका बाबुराम वैरागी,श्रीकृष्ण तिवारी, आदि ।
....महिलाहरुमा साबी श्रेष्ठ,गङ्गा तामाङ,भगवती पेोडेल,इन्दु रेग्मी,गुरुङसेनी दिदी(कमला)आइतीमाया तामाङ, गौमती गुरुङचीजामाया खबास बादली विक,इच्छामाया अधिकारी,मिठी सापकोटा, भाउजु(धनीराम विककी श्रीमती) आदि । बालक र परिवारमा कमिटी बनाएर चल्ने योजना हुन्थ्यो,बालपोष र बालकोसेलीले बाल साङ्गीतिक अभियान चलाएका थिए । केटाकेटीहरुका बीचमा पनि काम गर्दै जाँदा सूचना दिने,थलाहरुको रखबारी गर्ने,जस्ता काममा उनीहरुले सघाए,तिनमा च्याङ्बा,फूलमाया नेपाली, डिल बहादुर नेपाली ,पूर्ण बहादुर पण्डित,राजेन्द« आचार्य,विमल गौतम,भुवन पण्डित,वासना सापकोटा,सरस्वती अधिकारी,विजय नेपाली,इन्द्रमान विक र भाइ माइला ,एक बहादुर गुरुङ ,सिर्जना लम्साल सार्की (प्याउली)आदि थिए ।
यी केही प्रतिनिथि नाउँमात्र हुन् ।धेरै साथीहरु छुट्नु भएको छ तर धेरै साथीहरु,उहाँहरुका परिवार ,जनता,समर्थकहरुको योगदानमा यसको जग बसेको हो ।खास गरी हाम्रो ध्यान समाजका पछाडि परेका ,हेपिएका दलित,जनजाति ,श्रमिक वर्गमा जान्थ्यो ,दलित समुदायमा बढी समय लगाइएको थियो यसकारण दलित समुदायमा हामी जहाँ जहाँ गयौँ, त्यहाँ उहाँहरुको सिंगो परिवारको साथ हामीलाई मिल्यो ।
अहिले दुःखसाथ यो भन्न परिरहेछ ,हिँजो हामीसँग काँधमा काँध मिलाएर हिँड्ने कतिपय साथीहरु जीवित हुनुहुन्न, यस्ता सबै ज्ञात अज्ञात साथीहरुप्रति भावपूर्ण श्रद्घाञ्जली व्यक्त गरौँ !!
४)जनमत सङ्ग्रहबारे
,जनमत सङ्ग्रहकालमा हाम्रो नेतृत्व बहुदलकेै पक्षमा थियो तर त्यतिखेर अन्य सबैजसो कम्युनिष्ट समूह बहिष्कारको पक्षमा रहेकोले हाम्रा साथीहरु पनि त्यसको प्रभावमा जानुभयो,जसले पार्टीमा अन्तरविरोध उत्पन्न ग¥यो,जसको समाधान गर्नुपर्दा निष्कर्ष निकाल्न ढीला भई सबै ठाउँमा सूचना समयमै पठाउन पनि ढीला जस्तो भई पार्टी अस्पष्ट भएजस्तो लाग्यो ।समयमै केन्द्रको धारणा आउन सकेन,तात्कालीन परिवेशमा मानव हुलाकको भर पर्नु पथ्र्याे ,अहिलेजस्तो छिटो छरितो सूचना सुबिधा थिएन । हामीले सुरुमै निरङ्कुश निर्दलीय शासनभन्दा पूँजीवादी बहुदल प्रगतिशील हुन्छ भनेकै थियौँ,तर त्यस समयमा कम्युनिष्ट आन्दोलनमा हावी भएको उग्रपन्थी चरित्रले हामी लाई पनि व्यक्तिगत रुपमा छोयो,साथीहरुमा धैर्यपूर्वक वैचारिक काम गरेपछि मात्र यसलाई चिर्न सकियो।एकथरी कम्युनिष्टहरुले पाँच पूर्वशर्त पनि हाम«ो अडान भन्दा पछि नै ल्याएका हुन् ।भूमिगत कार्यशैली र जनवादी छलफलको प्रक्रियाबाट जानुपर्दा छिटो सूचना ,निर्देशन पाइएन ।
१०) ऐतिहासिक जनआन्दोलन २०४६पछि :
आखिर २०४६ सालमा ३० वर्षे निर्दलीय शासनको अन्त्य भई बहुदलीय व्यवस्था आयो ।हाम्रो विचारमा सामन्ती तानाशाहीभन्दा पूँजीवादी बहुदल प्रगतिशील हुन्छ भन्ने मान्यता जनमत संग्रहकालदेखि नै रहिआएको हो ।यसैले हामीले प्रजातान्त्रिक आन्दोलनमा सधैँ भाग लियौँ,तर कार्यशैलीको कारणले हामीले पार्टीको पहिचान दिएनौँ,यसो गर्नु सही भयो वा गलत, बहसकै विषय छ ।यसलाई निरपेक्ष रुपले नहेरी सापेक्ष रुपले नै हेर्दा सही हुन सक्छ ।
दलहरुमाथिको प्रतिबन्ध हटेको मुलुकको नयाँ परिस्थितिमा हामी पनि त्यही अनुरुप चल्नमा अभ्यस्त हुनुपथ्र्यो,यसको प्रयास पनि हुँदै थियो ।तर हामी केही साथीहरु अधैर्य हुनथाल्यौँ ,हाम्रा धेरै युवा साथीहरु ठूलो पार्टी एमालेतिर आकर्षित हुने अवस्था आयो ।हामी पनि भावनात्मक रुपमा झापा कालदेखि नै मालेसँग नगिच रह्यौँ,यस्तै कारणले हामी एमालेमा गयौँ ।२०४६ सालको परिवर्तनपछि हामीले किसान क्रान्तिको तयारी गर्नुपर्छ भनेर चीनको हुनानमा माओले गरेको जस्तै किसान आन्दोलन गर्ने सोच राख्यौँ,यही उद्देश्यले तनहूँमा क.वासुदेव भट्टराईको अध्यक्षतामा “किसान मजदूर सभा”को स्थापना भयो र यसको घोषणापत्र पनि लेखियो ।।यसको स्थापनाका सुरुका दिनमा किसानहरुलाई गोलबन्द गर्दै किसानका स्थानीय माँग सम्बोधन गर्ने काम गरियो ।आन्दोलन उत्साहजनक रुपमा चलिरहेको अवस्थामा केही आन्तरिक समस्याले प्रारम्भिक सफलतासँगै यो तुहियो ।यसलाई वैधानिक संगठनको रुपमा किसान मजदूर वर्गीय जनसङ्गठनको विकास गर्दै जाने लक्ष्य लिइएको थियो ।भूमिगत पार्टीलाई पनि आवश्यक परे खुला रुपमा ल्याउने सोच बनाइयो ।
११) एमालेमा सामेल भएपछि
आखिर हामी नेकपा एमालेमा समाहित भयौँ,तर मुलुकभर रहेका हाम«ा सबै साथीहरु यसमा सामेल भने भएनन् ।गण्डकीका साथीहरु भने सबै थियौँ ।पछिका दिनमा हाम्रा साथीहरु कोही स्वतन्त्र र कोही अन्य क.पा.मा पनि सामेल हुनुभयो । एमालेमा सामेल हुनमा हाम«ा केही मान्यताहरु थिए,पार्टीहरु खुला भइसकेपछि हाम्रो कार्यशैलीलाई मूलतः स्थगित राख्नुपर्ने स्थिति आयो ।यसपछि हामी काम गर्ने ठाउँको खोजीमा रह्यौँ ,जुन त्यतिखेर एमालेमात्र त्यस्तो उपयुक्त ठाउँ थियो ।किनभने हामीले विगतमा पनि मालेलाई कतिपय अवस्थामा समर्थन र सहयोग ग¥यौँ,कार्यशैलीमा मतभेद हुँदाहुँदै पनि डिग्री बहिष्कार,सशस्त्र संघर्ष र दैनन्दिनका क्रियाकलापमा हाम्रो निकटता रह्यो ,हाम्रा यस्तै सम्बन्धले गर्दा खुला वातावरणमा हाम्रा युवाहरु स्वतःस्फूर्त रुपमा एमालेमुखी भए र हामी नवगठित किसान मजदूर सभाको माध्यमबाट एमालेमा सामेल भएका ह्वौँ ।हुन त तात्कालीन चौमबाट खम्बसिंह,वाचस्पति देवकोटाबाट पनि हामीसँग बारम्बार एकताको प्रस्ताव राखिएका हुन्,तर हामीले एमाले नै रोज्यौँ ।
।सुरुका वर्षमा हाम्रा साथीहरुले एमालेमा रहेर आदर्श भूमिका वहन गरे,उनीहरुले त्याग गर्नमात्र जाने,कुनै स्वार्थकोअपेक्षा गरेनन् ।तर त्यहाँ जुन आदर्शको कल्पना गरिएको थियो,पछिका दिनमा त्यसको केही अंश पनि पाइएन ।त्यहाँ त स्वार्थहरुको लिगलिगे दौड चल्न थाल्यो,अवसरवादीहरुको गुठी बन्न थाल्यो,मूल्य र मान्यतालाई तीलाञ्जली दिँदै घुर्की र अवसरको प्रतिस्पद्र्धा हुन थाल्यो। हुनेखानेहरुको हवेली पो तयार भयो ।पदमा एकपटक पुगेपछि उसले कहिल्यै ओर्लन नपर्ने भयो ।गुटबन्दी सामान्य बन्यो ।पार्टीभित्र अनेक गुटका कटेरा बन्न थाले ।तर त्यहाँ अझै पनि इमान्दारहरुको विशाल पङ्क्ति छ,जसलाई माथिका विकृतिसँग अझसम्म त्यति सरोकार छैन ,जसको सङ्ख्या ठूलो छ तर त्यो निरीह छ,असमर्थ छ ।
राजनीतिमा लागिसकेपछि देश र जनताको लागि केही गरौँ भन्नु स्वाभाविक हुन्छ,पार्टीले कार्यकर्ताका भावनालाई सम्बोधन गर्न सक्नुपर्छ ।काम र अवसर क्रमशः दिँदै प्रोत्साहन र निगरानी गर्नुपर्छ ।कतिपय त्यागी,इमान्दार र योग्य साथीहरु अवसरका अभावमा प्रताडित भैरहेका छन् ।समावेशीको नाममा पार्टीलाई भीड भर्तीकेन्द्र बनाइएको छ ।कहिलेकाहीँ त केही साथीहरु अपमानित पनि हुुनुपरेको छ।
१२ हाम्रा प्रबल पक्ष र कमीहरू
हामी जुन समयमा यस सङ्गठनमा लाग्यौँ, यसलाई विचार,राजनीतिक कार्यदिशा,कार्यशैली सबै हिसाबले उत्कृष्ट मानिएको हो ,अहिले विभिन्न वाम पार्टीमा रहेर काम गरिसकेका हाम्रा पुराना साथीहरुका पनि यस्तै अनुभव छन् ।हामीले पार्टी सञ्चालनका निम्ति तयार गरिएको पार्टी बिधान अहिले सम्मकै क.पा. हरुका बिधानभन्दा उत्कृष्ट थियो,यसले एउटा कम्युनिष्ट पार्टीको निर्माण हाम्रो जस्तो मुलुकमा कसरी गर्नुपर्छ,भन्ने कुराको समाधान गरिदिएको छ ।अर्धसामन्ती र अर्ध औपनिवैशिक मुलुकमा कम्युनिष्ट पार्टीका नेताहरुले आफ्नो रुपान्तरण गर्न सक्नुपर्छ,नेतृत्व अशोषक वर्गको हुनै पर्छ,जति माथिल्लो तहको छ उति उसले आफ्नो वर्ग रुपान्तरण गर्नु पर्छ भनी यसले प्रष्ट भनेकै थियो । यसै गरी अर्को पार्टीबाट हामीतिर आएको जुनसुकै तहको साथीले पनि परीक्षण कालबाट गुज्रनै पर्छ,जति माथिल्लो तहको छ उति उसको परीक्षणकाल लामो हुने गथ्र्यो,पार्टीका हरेक सदस्यले हप्तामा निश्चित कार्य घण्टा पार्टीलाई दिनै पथ्र्यो ।यसको कार्यशैलीकै कारणले पञ्चायती कालमा महत्त्वपूर्ण स्थानीय बर्ग संघर्ष सफलतापूर्वक सम्पन्न गरिएको थियो ।थर्पू,बैलचौतारा भित्रीफाँट,निर्मलपोखरी,तनहूँ चुँदी टुहुरे पसल, कलेस्ती, फाउँदी फाँट,पृ.ना. क्याम्पसमा कर्मचारीहरुका पेशागत आन्दोलन,अन्य स्थानमा किसान,इँट्टा मजदूरहरुका पेशागत वर्गीय आन्दोलनमा हाम्रो नेतृत्वले सफलता पायो,खैरेनी कृषिप्रोजेक्टमा भएको यौनहिंसा विरोधी संघर्ष सफल भएको थियो ।लमजुङ रम्घा र तनहूँ बेलचौतारामा पुस्तकालयहरुको स्थापना जन सांस्कृतिक आन्दोलन र पुनर्गठन गर्ने काममा हाम्रै भूमिगत कार्यशैलीले सफलता पाएको हा,ेत्यस्तै तनहूँ टुहुरेपसलको कालाबजारी विरोधी कालोमोसो आन्दोलन,खैरेनी हाइस्कूलको विश्वकर्मा शिक्षक समर्थन आन्दोलन, र पृ.ना. कलेजको कर्मचारी आन्दोलन पनि उल्लेखनीय छन्। त्यस समयमा यस्ता कामले कार्यकर्ता उत्पादनमा मुख्य भूमिका खेलेकाथिए, यस्ता संघर्षहरुमा शत्रुले तिनको नेतृत्व कसले गरिरहेछ भेउ नै पाउँथेन,कहिलेकाही त अन्य पार्टीका टपरटुइयाहरुले संघर्षको नेता आफैलाई घोषित पनि गर्दथे, उनीहरुको यस्तो कामलाई हामी चुपचाप सुनिरहन्थ्यौँ र हाँसो पनि उठ्थ्यो ।पछि पनि हामीले “किसान मजदूर सभा”को नेतृत्वमा गरेको किसान संघर्षको सफलताले भूमिगत अवस्थामा मात्रै नभई खुला परिवेशमा पनि हामी सघर्ष गर्न सक्षम नै थियौँ भन्ने पुष्टि हुन्छ ।ंपञ्चायती कालमा ऐतिहासिक शिक्षक सङ्घर्षमा गणेश बहादुर अधिकारी,(नेराशिसंका जिल्ला उपाध्यक्ष) “काठमाडौँ जाऔँ” आन्दोलनमा शेषमणि,छबिचन्द्रको गिरफ्तारी,शिक्षक स∙ठनको गठनमा साथीहरुले खेलेको अगुवाको भूमिका,नेराशिसं (तनहूँ )मा राम बहादुर अधिकारी(सचिव)र पछि छबिचन्द« ढकाल(अध्यक्ष–जेलयातना समेत)२०४६सालको जन आन्दोलनमा विद्यानाथ ढकाल(जेलयातना)स्मरणीय छन्।एमालेमा आइसके पछि पनि शेषमणि र उपेन्द्र घिमिरेको नेतृत्वमा नेराशिसंको अगुवाइ र शिक्षक युनियन बनेपछि उपाध्यक्षको हेैसियतले शिवशङ्कर पौडेलबाट काम गरियो । विगतमा दमनको अवस्थामा हामीले जुन भूमिगत कार्यशैलीको अवलम्बन गरियो ,त्यसको विकल्प छँदै थिएन,हामीले खुला काम पनि गर्नुपर्छ नै भनेका ह्वौँ।
हामी नेपालकै विशिष्ट माकर््सवादी विचारक श्यामप्रसाद शर्माको नेतृत्वमा सङ्गठित थियोैँ तर हामीले जुन सामूहिक नेतृत्व निर्माण गर्न लाग्नुपथ्र्यो त्यसको भूमिका खेल्न सकेनौँ,लामो भूमिगत जीवनबाट उहाँलाई बाहिर ल्याउन तात्कालीन मालेको योजनालाई सहयोग गरिएन , हामै्र कारणले त्यो कार्यान्वयन हुनसकेन, पछि साधारण कार्यक्रममा उहाँलाई बाहिर ल्याइयो, खुला अवस्था आएपछि पनि बढी आत्मरक्षात्मक नै भइयो,किनभने यो खुला अवस्था ल्याउन पनि हामी निःस्वार्थ रुपले लागेकै थियौँ,शिक्षक आन्दोलनको बेलामा वा अन्य हरेक अवसरमा पनि हामीले खेलेको भूमिका अग्र पङ्क्तिमा थियो। । हामीले जति काम ग¥यौँ,पूर्ण निःस्वार्थ भावले नै गरियो ।साथीहरुमा रहेको त्याग र समर्पणको भाव पार्टीकै सही नीतिको कारणले नै थियो । तर खुला परिवेशमा आएपछि हामीमा केही अलमल भयो ।सायद हाम्रा कमीहरु यसपछि प्रकट भए । मुलुकको राजनीतिक वातावरण खुला हुँदै गएर राजनीतिक दलहरु माथि प्रतिबन्ध हटेपछि त्यसको उपयोग आफ्नै पहलमा गर्न सकिएन,त्यसको निम्ति पहल गर्नमै ढिला भयो कि,अहिले केही साथीहरुमा यस्तो परिरहेछ ,यदि हामीले पार्टीलाई वैधानिक अस्तित्वमा ल्याउन सकेको भए मुलुकको लागि पनि फाइदा नै हुने थियो र हाम्रो सङ्गठनात्मक आधार पनि राम्रो हुने थियो, ।तर हामी खुला समाजमा आएपछि पनि बढी गोप्य नै भइयो,पहिला पहिला भने व्यक्तिगत रुपमा पनि नेतृत्व लिन अग्रसर नभई अरुलाई नै अगि सार्न पट्टि लाग्यौँ । ।पछिका दिनमा हामी पनि स्वयं नेतृत्वको भूमिकामा रहँदै आएका ह्वौँ,तर त्यो भूमिका नेतृत्वले पनि बुझाउन सकेन,,हामीले पनि आफ्नो भूमिकालाई बुझन सकेनौँ ।
बहुदलको स्थापना पछि हामी धैरै साथी हतारिएकै ह्वौँ र हामी अन्य पार्टीमा लाग्यौँ,यस घटनाले श्यामजीमा पनि प्रभाव प¥यो,कहिलेकाहीँ त कुन मनोविज्ञानले हो, उहाँले मिडियालाई दिनुभएको अन्तर्वार्तामा “हाम्रो पार्टी नै थिएन” पनि भनिदिनुभयो ।यति हुँदा हुँदै पनि हामीले श्यामजीको नेतृत्वप्रति गर्व गर्नै पर्छ,हामीमा अहिले जुन विचार छ,जुन नैतिकता छ ,जुन सामथ्र्य छ त्यसको जग श्यामप्रसादकेै नेतृत्वको परिणाम हो ।वास्तवमा वैचारिक रुपमा स्पष्ट,कार्यशैलीमा परिष्कृत,निष्ठामा तुलनात्मक रुपमा भरपर्दा कार्यकर्ता यस समूहका सम्पत्ति हुन् ।
१३ )अब के गर्ने?
अब हामी के गर्ने ?काम कसरी गर्ने ? यस्तै प्रश्नले साथीहरुलाई पिरोलिरहेको छ ।हाम्रा अगाडि केही विकल्प छन् ।
ती हुन्—
१,सन्न्यासी जीवन बिताउने,
२ अन्य पार्र्टीेमा लाग्ने ।
३,,जसो तसो घिस्रिरहने र अनुकूल गुटको पछिपछि लाग्ने,
४,भित्रै रहेर फेरि नमूना बन्ने,५,पुरानै वा नयाँ शक्तिको पुनर्गठनमा लाग्ने।
साथीहरु हो !अब यी विकल्पबारे सोचौँ त !पहिलो विकल्पा१,सन्न्यासी जीवन बिताउने बारे हामी कसरी सोच्न सकौँला र ?कृपया यसलाई खारिज गरिदिऔँ ।२,दोस्रो विकल्प अन्य पार्र्टीेमा लाग्ने मा केही साथीहरु जानुभएको पनि हो तर यसले पनि उत्साह थपिएन,त्यहाँ पनि साथीहरु कि त तड्पी तड्पी रहनुभएको छ कि त्यहाँबाट पनि अलग भई आफ्नै धन्दामा रहनुभएको छ ,हामीले चाहेको मान्यता त्यहाँ पनि कहाँ छ र ? यी दुबै विकल्पले विसर्जनवाद तर्फ लैजान्छ ३।तेस्रो विकल्प जसो तसो घिस्रिरहने अनुकूल गुटको पछिपछि लाग्ने, यथास्थिति हो ,यो स्थायी समाधान होइन, तैपनि यो हालसाल रहिरहन्छ ।यो विकल्पबाट हामी उम्कन खोज्नै पर्छ,जसको लागि ४,चौथो विकल्प, भित्रै रहेर फेरि नमूनाबन्नेमा टेक्नै पर्छ ।विगतमा नेपाली समाजको परिवर्तनको लागि क्रान्तिका नाममा धेरै किसिमका प्रयोग भए,‘प्रचण्ड गोर्खा’देखि लिएर पछिल्लो समय सम्म आइपुग्दा माओवादीहरुले हतियार उठाए,तर तिनले परिवर्तनको लक्ष्य पहिल्याउन सकेनन् ,जसले गर्दा अब लामै ‘?’ समय क्रान्तिको नाममा हतियार उठ्न गाह«ो छ,केही आपराधिक गिरोहले क्षेत्रीय,जातीय नाराबाट बिदेशीको स्वार्थमा हतियार उठाउन सक्छन् ।यो हाम्रो मार्ग हुन सक्दैन ।यसको अर्थ राजनीतिक शक्तिको खेलमा ,जनताको मुक्तिको हकमा हतियारको काम छैन भनी केही मानिसहरु भन्न सक्छन् ,वास्तवमा यो पनि सही हुन सक्दैन । समयमा यसको आफ्नै भूमिका हुनेछ ।हतियार कसको हातमा छ ,सवाल यो हो।कहिलेकाहीँ ,जनताको हातमा वा जनताको निम्ति वा जनताद्वारा नै हतियार लिनुपर्ने हुन सक्छ,अहिले यो परिस्थिति छैन ।राज्यको रक्षाका निम्ति र सङ्गठित अपराध विरुद्घ भने अहिले पनि यसको खाँचो छ ।यसकारण अब हामी चौथो विकल्पमा नगई सुख छैन ।यसमा जाँदा पनि हामीले विगतबाट पाठ सिक्नैपर्दछ ,यसको अर्थ जोगी महात्मा हुने होइन ।कर्मठ सक्रियतावादी अभियन्ता बन्नुपर्दछ ।अहिले हाम्रा साथीहरु जहाँ जहाँ छौँ त्यहीँ रहेर सम्भव ठाउँमा जिम्मेवारी लिँदै जनताको वास्तविक सेवक बन्न नमूनाको मार्गदर्शन गर्न सक्नुपर्नेछ । यो अल्पकालीन विकल्प मात्र पनि हुन सक्छ,,यसले भित्रका कमी कमजोरीमाथि विजय पाउन सहयोग पु¥याई शक्तिसञ्चयको स्थितिमा लैजाने छ ।किनभने नेपाली राजनीतिमा मौलाउँदै गएको गलत संस्कारले यथास्थितिमा हार खानेछैन यसकारण अन्त्यमा हामी ५,अन्तिम विकल्प पुरानै वा नयाँ शक्तिको पुनर्गठनमा लाग्नेमा नपुगी हुनेछैन ।तर यसो गर्नभन्दा अगि अझै हाल रहिरहेका पार्टीहरुलाई पनि रुपान्तरण गर्न सकिन्छ कि ?सानो आशा गरिरहनु नै परिरहन्छ ।अन्यथा मुलुकमा हामीले चाहेर वा नचाहेर पनि नयाँ शक्ति जन्मनेछ ।मूलतः अब सबै जिम्मेबार पङ्क्तिलेगम्भीर रुपमा सोच्नुपर्दछ,एकपटक आफैसँग निष्ठूरतापूर्वक सोध्नुपर्छ,के हामीले चाहेको परिवर्तन यसरी नै अहिले जसरी मात्र सम्भव छ ?
मुलुकमा हाम्रा धेरै साथीहरु छरिएर रहनुभएको छ , विभिन्न पार्टी खासगरी वाम पार्टीमा । वास्तवमा इमान्दार, क्रियाशील, निष्ठावान्,निस्वार्थी क्रान्तिकारी जो जहाँ रहेको भए पनि उनीहरु हाम्रै साथी हुन् ।हामीले उहाँहरुसँग सम्पर्क बढाउनु पर्र्नेछ ।वैचारिक विमर्श गर्नु पर्नेछ ।यसकोलागि विभिन्न खालका फोरमको उपयोग गर्नुपर्छ,कतै आफ्नै पहलमा र कतै मित्रहरुको पहलमा यस्तो गर्न सकिनेछ ।तर हामी के क्ृृृृरामा स्पष्ट पनि हुनुपर्छ भने,अब हाम्रो मुलुकमा तत्काल एउटै कम्युनिष्ट पार्टी बन्ने सम्भावना छैन ,अहिलेको अवस्थामा ‘ बहु कम्युनिष्ट पार्र्टी, एकताबद्ध कम्युनिष्ट आन्दोलन’को सोचले मात्र जान सकिन्छ र भावी दिनका काम र समाजका चुनोैतीलाई जसले सफलतापूर्वक समाधान गर्न सक्छ उही सही शक्तिको रुपमा उठ्नेछ ,गलत तत्वहरुलाई परास्त गर्न सकिन्छ ।हामी समाजको बहुल चरित्रलाई बिर्सन सक्दैनौँ ।
१४) अन्त्यमा युवासाथीहरु बारे केही कुरा
माओ चेतुङ्गले युवाशक्तिको उच्च मूल्याङ्कन गर्नुभएको छ ।जुनसुकै परिवर्तनका लागि पनि युवाहरुको ऊर्जालाई समयले पहिलो प्राथमिकतामा राखिरहेको हुन्छ ।हामै्र देशको इतिहासले पनि यो तथ्यलाई पुष्टि गरिरहेको छ ।जब देशमा वलिदानको खाँचो पर्छ तब हामीलाई युवाहरुको आवश्यकता परिरहन्छ ।परिवर्तनका हरेक मोडमा ४० वर्ष मुनिका युवाहरुकै रगतले वलिदान गरेको छ,यसलाई कसले अस्वीकार गर्नसक्छ र ?समयका तीनवटै खण्डमा युवा अग्रसरता नभई हुँदैन,तर एउटा युवा एक समयमा एकपटकमात्र क्रियाशील हुनसक्छ ।जीवनमा १८ वर्षदेखि ४० सम्मका २२ वर्ष नै उसका सबभन्दा रहरलाग्दा र लोभ लाग्दा दिन हुन् ।यो छोटो जीवन क्षणलाई कसरी व्यतीत गर्ने हाम्रा युवाहरुले सबभन्दा बढी सोच्नुपर्ने छ ।युवाहरु भनेका जीवनरुपी सडकका फास्ट ट्र्याक हुन् ,समाज र राष्ट्रलाई कता डो¥याउने? जिम्मा उनीहरुकै काँधमा छ ।टीन एजर भन्दा युवा फरक छन् ,एउटा युवाको अगाडि ऊर्जामात्र हुँदैन,उसको अगाडि अजङ्का समस्यै समस्याका हिमालय पर्वतहरु पनि उभिएका हुन्छन्,यस्ता पर्वत भनेका देश काल र परिस्थितिमा भर पर्दछन् ।
नेपाली समाजका युवाहरु पनि यस्तै परिवेशभन्दा बाहिर छैनन् ।एउटा नेपाली युवा एकैचोटी चारवटा पहाडले थिचिएको छ ,जुन १,आफू,२,परिवार,३,समाज र ४,राष्ट्र ।यी पहाड भनेको उसको वर्तमान हो भने यिनप्रतिको दायित्व उसको भविष्य पनि हो ।यिनै वर्तमान र भविष्यको सफल तालमेल नै आजको समयको सफल युवा हो ।
यिनै चार परिवेशको पृष्ठभूमिमा उभिएर हामीले उनीहरुसँग अपेक्षा गर्न सक्छौँ।आजका युवाहरुसँग हामीले आह्वान गर्न सक्नुपर्छ,समस्याका चार पहाड मध्ये प्राथमिकतामा उल्ट्याएर राष्ट्र,समाज,परिवार र आफू भनिदिऊँ ।
अन्त्यमा यहाँ हाम्रो लामो यात्राको यो छोटो शब्दचित्र पेश गरिएको छ ,डोरी जति बाटेपनि पोयो उही हो,हामीले यहाँ भन्न खोजेको कुरा नेपाली समाजको आमूल परिवर्तनको मार्गमा केहीे अशुभ सङ्केतहरु देखिएका छन्,आजको छलफलले सार्थक अभियानको सुरुवात गर्नसक्नुपर्छ, ,वा गरोस् ।धन्यवाद ! लाल सलाम !!
समाप्त
२०७१/ ०६ /२१
===================================
परिशिष्ट :
दस्तावेज
–नेपाल कम्युनिष्ट पार्टी(एमाले) र किसान मजदुर सभाको एकीकरण सम्बन्धी पत्र :
–नेपाल कम्युनिष्ट पार्टी(एमाले) र किसान मजदुर सभाको एकीकरण सम्बन्धी पत्र :
गण्डकी अञ्चलका तनहुँ,कास्की र लमजुङका कम्युनिष्टहरुको संगठन ंकिसान मजदुर सभां र नेकपा (एमाले)का प्रतिनिधिहरुको बीचमा केही समय अगिदेखि चलिरहेको छलफल र वार्तापछि वर्तमान परिस्थितिमा दुबै बीच एकीकरण गर्न सहमति भएको छ ।
वार्ता पछि प्रकाशित विज्ञप्ति यस प्रकार छ :
२०१७ सालको फौजी काण्ड पछि नेपाली कम्युनिष्ट आन्दोलनमा देखापरेको गुट उपगुटको सिर्जनाले सिङ्गै आन्दोलनलाई ठूलो क्षति पुगेको छ ।तर यस क्षतिलाई बुझ्दै छरिएका कम्युनिष्टहरु एकजुट हुने प्रक्रिया केही वर्ष यता बढ्दै गएको र नेकपा (एमाले)को गठन यस्तै प्रक्रियाको सिलसिला भएको सर्वविदितै छ ।ऐतिहासिक जन आन्दोलनको फलस्वरुप पार्टी स्वतन्त्रता प्राप्त भएपछि नेपालका कम्युनिष्टहरुले ससाना मतभेदलाई बिर्सेर एकीकृत र शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणमा इमान्दारीपूर्वक लाग्नुपरेको छ ।वर्तमान समयमा अन्तर्राष्ट्रिय रुपमा साम्राज्यवादको हाँक र चुनौतीलाई सामना गर्न आफ्नै देशमा सही माक्र्सवादी लेनिनवादी पार्टीको निर्माण गर्नु आवश्यक छ ।यसो हुँदा हुदै पनि हामीमा विविध सवालमा मतमतान्तर हुन सक्छन् तर तिनलाई द्वन्दात्मक रुपमा प्रजातान्त्रिक वातावरणमा हल गरी वर्तमान सर्वसत्तावादी हाँकलाई चुनौती दिन नेकपा (एमाले) मा समाहित हुन आवश्यक सम्झन्छौँ । यसै पार्टीभित्र विद्यमान कम्युनिष्ट आन्दोलनका सबै विचार ,पक्षहरुको प्रतिनिधित्व भएको र तिनमा जनवादी छलफल चल्न सक्ने वातावरण देखिएकोले यस्तो स्वस्थ पम्परालाई अगि बढाई नेपाली जनताको मुक्तिको निम्ति समाहित हुन आव्हान गर्दछौँ ।अतःएकै किसिमको पद्घति र चिन्तन बोकेर पनि शब्दमा मात्र फुट्ने प्रक्रियाको अन्त्य गरी नेकपा (एमाले)को निकट भविष्यमा हुन गइरहेको राष्ट्रिय महाधिवेशनमा सरिक हुन सबै क्रान्तिकारीहरुलाई अपिल गर्दछौँ ।
मितिः २०४९।८ ।१४
हस्ताक्षर कर्ताः
एमालेको तर्फबाट
वाचस्पति देवकोटा – एमालेको तर्फबाट
किसान मजदुर सभाको तर्फबाट
जनकशर्मा
सन्देश
राघव
नाम स्पष्टीकरण :
जनक शर्मा – शेषमणि आचार्य,
सन्देश – छबिचन्द्र ढकाल ,राघव–––रामराज रेग्मी
No comments:
Post a Comment