Thursday, May 18, 2017

साहित्यकार श्यामप्रसाद शर्मासँगको पछिल्लो अन्तर्वार्ता

साहित्यकार श्यामप्रसाद शर्मा



साहित्यकार श्यामप्रसाद शर्मा (१९८६-२०७४)को आइतबार निधन भएको छ। प्रगतिशील लेखक संघ नेपालका संस्थापक अध्यक्ष समेत रहेका शर्माका साहित्य, विचार र राजनीतिसम्बद्ध दर्जनौं पुस्तकहरु प्रकाशित छन्। शर्मासँग सूर्य सुवेदीले २०७० सालमा गरेको अन्तर्वार्ताको सम्पादित अंश प्रस्तुत छः

‘मस्कोमा सन् १९६२ मा भएको विश्वशान्ति महाधिवेशनमा भाग लिने म पहिलो नेपाली पत्रकार थिएँ’

श्यामप्रसाद शर्मा (लामिछाने)को जन्म १९८६ साल असार ६ गते ललितपुर जिल्लाको सोलिथुम (हाल मकवानपुर) मा भएको थियो। उनका पिताको नाम जोगनाथ लामिछाने र आमाको नाम हुतप्रिया लामिछाने हो। २००४ सालमा प्रजा आन्दोलनमा पक्राउ परेका श्यामप्रसाद यातना गृहबाट फर्केर आउँदा स्कूलमा नाम काटिइसकेको हुन्छ। स्कूलका हेडमास्टर मदनमणि दीक्षितले माफी मागे मात्रै पुनः नाम लेखिदिने भन्दा उनी र धनुषचन्द्र गौतमले माफी माग्दैनन्। भारतमा गएर परीक्षा दिएर पनि मेट्रिकको परीक्षामा श्यामप्रसाद असफल हुन्छन्। श्यामप्रसादको औपचारिक पढाइ त्यति नै हो। तर पनि स्व–अध्ययनले श्यामप्रसादको अङ्ग्रेजी र नेपाली स्तरीय मानिन्छ। श्यामप्रसादले लेख्ने–पढ्ने चेतना आफ्ना गायत्री गुरु कृष्णचन्द्र अर्यालबाट प्राप्त गरेका हुन्। सुरूमा गान्धीबाट प्रेरणा पाएका श्यामप्रसादले भारतीय लेखक प्रेमचन्द्र र गान्धी जस्ता व्यक्तिहरूका लेख पढ्न थाले। हिन्दीमा निस्किएको सन्देश कवितालाई २००५ सालमा नेपालीमा अनुवाद गरी ‘उदय’ पत्रिकामा आफ्नो नामबाट प्रकाशित गराए। २००८ सम्मका पटकपटकका जेल जीवनमा लेखिएका चिठीहरू, हस्तलिखित र स्लेट पत्रहरूले श्यामप्रसाद साहित्यतर्फ पनि बढ्दै गए। उनले वि.सं. २००४ सालमा ‘सेवा’ पत्रिका शुरू गरेका थिए। २००८ सम्म मात्रै सेवाले केही समय निरन्तरता पाएको थियो। वि.सं. २००९ सालमा श्यामप्रसादले वीरगञ्जमा प्रगतिशील लेखक संघको स्थापना गरेर पहिलो अध्यक्ष भएका थिए। अहिलेको प्रगतिशील लेखक संघ त्यसैको निरन्तरता हो। चाबहिलकी पुनु वाग्लेसँगको प्रथम विवाह २०१० सालमा पारपाचुकेमा समाप्त हुन्छ। 

२०१३ मा शशिकलासँग प्रेम विवाह हुन्छ। २०१५ सालमा श्यामप्रसाद प्रकाशक र शशिकला सम्पादक भएको ‘स्वास्नीमान्छे’ पत्रिका प्रकाशित हुन्छ। यो पहिलो महिलाले सम्पादन गरेको महिलाकै बारेमा लेखिने साहित्यिक पत्रिका थियो। यो शुरूमा त्रैमासिक र पछि गएर द्वैमासिक भयो। द्वैमासिक भएपछि शशिकला नै सम्पादक तथा प्रकाशक भइन्। यो पत्रिका २०२५ सम्म प्रकाशित भयो।

२०१६ पौषबाट श्यामप्रसादले ‘साहित्य’ नामको द्वैमासिक पत्रिका शुरू गरे। यो पत्रिकालाई प्रगतिशील धारको महइभ्वपूर्ण पत्रिका मानिन्छ। यो २०१९ सालदेखि प्रकाशित भएन। शशिकलासँग पारपाचुके भएको केही पछि श्यामप्रसाद २०२४ मंसिरमा भूमिगत भए। २०४७ मा २३ वर्ष पछि श्यामप्रसाद पुनः देखा परे। उनी कम्युनिष्ट पार्टीको निर्णयमा भूमिगत भएका र पार्टीकै निर्णयमा प्रकट भएका थिए। श्यामप्रसादका प्रमुख कृतिहरू निम्न हुन्। बहिनीलाई चिठी भाग १, २००८, साहित्यका पात्रपात्री २००९, बहिनीलाई चिठी भाग २, २०१२ , तँ, तिमी, तपाईं, हजूर २०१४, पाँच जरुरी कुरा २०२०, साहित्य सम्बन्धी दुईचार कुरा २०२२, चीनका पुराना नीति कथा २०२४, थुनुवाको डायरी २०३८, मेरो डायरीमा लेनिन २०४०, म साम्यवादी होइन २०४०, आएका केही चिठी २०५५, केही साहित्यकार र साहित्य २०४२, मेरो पत्रकार जीवन २०६३। यसको अतिरिक्त विभिन्न साहित्यिक पत्रपत्रिकामा श्यामप्रसादका विभिन्न नामवाट प्रकाशित लेख–रचनाहरू छन्। श्यामप्रसादले कहिले ऋषभदेव शर्माका नामबाट, कहिले भान्दाइका नामबाट र कहिले देशभक्तका नामबाट समेत लेखहरू प्रकाशित गराएका छन्। श्यामप्रसाद पत्रकारको रूपमा २०१९ मा रूसको मास्कोमा भएको निरस्त्रीकरण र विश्वशान्ति महाधिवेशनमा भाग लिन गएका थिए र हङगेरीको राजधानी बूढापेष्टमा भएको पत्रकारहरूको अन्र्तष्ट्रिय सङ्गठनको पाँचौ महाधिवेशनमा भाग लिने प्रथम नेपाली पत्रकार थिए। २०२३ सालमा श्यामप्रसादले पत्रकारका रूपमा चीनको पनि भ्रमण गरेका थिए।

नेपाली प्रगतिशील साहित्यमा श्यामप्रसादको अग्रणी स्थान छ। २००९ सालमा प्रगतिशील लेखक संघ वीरगञ्जमा खोल्ने श्यामप्रसादलाई नेपालमा प्रगतिशील साहित्य भित्र्याउने सीमित साधकहरूमध्ये प्रमुख व्यक्तित्वमा लिइन्छ। श्यामप्रसादले कहिल्यै पनि पद, पैसा र प्रतिष्ठाको पछि लागेको देखिदैन। उनको बीसौ वर्षको भूमिगत जीवन र अज्ञातवासले कम्युनिस्ट आन्दोलनलाई त केही फाइदा नै भयो होला तर ‘साहित्य’ र ‘स्वास्नीमान्छे’ जस्ता राम्रा साहित्यिक पत्रिकासँग सम्बद्ध श्यामप्रसादले नेपाली साहित्यमा जे जति दिन सक्थे त्यसबाट नेपाली साहित्यलाई ठूलो घाटा भएको धेरै लेखकहरूको धारणा पाइन्छ। २०७० साल वैशाख ५ गते बिहीबारका दिन दिउसो १ बजे कमलपोखरी स्थित श्यामप्रसाद शर्माकी छोरीको घरमा साहित्यिक पत्रकार तथा लेखक श्यामप्रसाद शर्मासँग सूर्य सुवेदीले गरेको वार्ताको सम्पादित अंशः




साहित्यकार श्यामप्रसाद शर्मा



श्यामप्रसाद शर्माज्यू, नेपालको साहित्यिक पत्रकारिता र प्रगतिशील लेखनमा यहाँको ठूलो योगदान छ। यहाँ कसरी लेखक र साहित्यिक पत्रकारितातिर लाग्नुभयो, कसैको प्रेरणा पनि थियो कि? 
मेरा बारेमा एकजनाले पीएचडी नै गर्नुभएको छ, उहाँको नाम धर्मराज अधिकारी हो। मेरो बारेमा जे जे सोध्नुपर्छ, सबैले उहाँसँग नै सोध्दछन्। तपाईंले पनि उहाँसँगै मेरो बारेमा सोध्नुपर्छ। मेरो बारेमा सबैले सल्लाह पनि उहाँकै लिन्छन्। एम.ए. मा दुई–तीन जना अरूले पनि थेसिस लेखेका छन्। मेरो विषयमा धर्मराज अधिकारीले जति अरूले शोध खोज गरेका छैनन्। मैले पनि उहाँलाई नै मान्दछु। अतः मेरो विषयमा वहाँस“गै बढी सोध्नु बेस हुन्छ। म सामान्यतया एस.एल.सी. पनि पास भएको मान्छे होइन। मैले जे जे लेखेको छु किताबकै रूपमा लेखेको छु। म यहाँलाई दिन्छु। ती पुस्तकबाट पनि केही लिन सक्नुहुन्छ। मेरो मुख्य विषय तीनवटा हुन्। १. राजनीति, २. साहित्य र ३. पत्रकारिता। मेरा तीनवटा विषयमा जे जे छ, म ती पुस्तकहरू दिन्छु, त्यसबाट मेरो बारेमा लेख्नुहोस्।

यहाँ कसरी साहित्यपट्टि लाग्नुभयो नि? 
केटाकेटीदेखि नै साहित्यमा चाख बस्यो। स्कूलमा पढाउने गुरुहरूदेखि लिएर घरको वातावरणले पनि त्यतातिर रस बस्यो। म बाहुन हुनाले सानैमा व्रतबन्ध गरे। त्यो बेलामा गुरुमन्त्र सुनाए। एकजना गुरुनै लेखक पर्नुभयो। कृष्णचन्द्र सिंह अर्याल भन्ने गुरु गोरखापत्रमै काम गर्नुहुन्थ्यो। उहाँलाई त्यो बेलाका जम्मै लेखकहरूका विषयमा थाहा थियो। उहाँले ती लेखकहरूबारे सुनाउनुहुन्थ्यो। त्यसो हुँदा ममा साहित्यिक चेतना भरियो। केटाकेटी बेलादेखि नै सङ्गतले गर्दा राजनीतिमा लागियो। सत्याग्रहमा पनि भाग लिन लागियो। म काँग्रेस पार्टीमा लागेर सत्याग्रहमा पनि भाग लिन लागें। झ्यालखानामा नै परियो तीन चोटि। पटक–पटक जेल परेपछि त्यसबारे किताब लेखें। टङ्कप्रसाद आचार्यको सङ्गत गरें। खड्गमान सिंह बस्नेतको सङ्गत गर्न पाइयो। जसले जेलमा बीस वर्ष भन्ने पुस्तक नै लेख्नुभएको छ। उहिलेका राजनीतिज्ञहरूसँग जेलमा पनि सङ्गत गरें, जेल बाहिर पनि सङ्गत गरें। त्यसैगरी साहित्यकारहरू लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौडेल यी सबैसँग पनि सङ्गत गर्न पाइयो। मैले यी लेखकहरूसँग सङ्गत भएको विषयमा समेत लेखहरू पनि लेखेको छु। राजनीतिज्ञहरूको सङ्गतले राजनीतितर्फ र साहित्यकारहरूसँगको सङ्गतले साहित्यतर्फ रुचि बढेको हो। मैले पत्रकारितातर्फ पनि चाख राख्न थालें।

वि.सं. २०१९ सालमा मस्कोमा भएको निरस्त्रीकरण र विश्वशान्ति महाधिवेशनमा भाग लिने म पहिलो नेपाली पत्रकार थिएँ। त्यसैगरी हङ्गेरीको राजधानी बूढापेष्टमा भएको पत्रकारहरूको अन्तर्राष्ट्रिय सङ्गठनको पाँचौं महाधिवेशनमा भाग लिने प्रथम नेपाली पत्रकार पनि म नै थिएँ। त्यसले नेपाली पत्रकारको इतिहास नै निर्माण भएको थियो। निम्ता दिनेहरूले नै हाम्रो पाँचौ कंग्रेसमा स्पिच दिनुहुन्छ भने निम्ता दिन्छौं भनेका थिए। मैले त्यो मौका छोपें। म मस्को गएको थिएँ। बूढापोष्ट गएको होइन। त्यहाँ बूढापेष्टका मान्छे पनि आएका थिए। तपाईंलाई नेपालको तर्फवाट भाग लिन हामी निम्ता दिन्छौं भने। मैले भाषण गरें। मेरो त्यो भाषणको शीर्षक ‘ए रिपोर्ट अन जर्नालिजम एण्ड जर्नालिष्ट अफ नेपाल’ भन्ने थियो। त्यो अगष्ट ८, १९६२ मा अर्थात् आज भन्दा ५१ वर्ष अघिको घटना थियो। मैले साहित्यिक पत्रिकाको सम्पादकको हैसियतले हंगेरीको राजधानी बूढापेष्टमा गरेको त्यो भाषण नेपाली पत्रकारिताको दृष्टिले ऐतिहासिक थियो।

दक्षिण एसियाली देशबाट अरू पत्रकारहरू पनि थिए होलान् नि?
दक्षिण एसियाका अरू देशका पनि पत्रकारहरू हुँदा हुन्। भारत, पाकिस्तानका पनि थिए। रूस, चीन र संसारका प्रायशः देशका पत्रकारहरू पनि थिए। संजोगले नेपालको पनि प्रतिनिधित्व भयो। म अर्कै सन्दर्भमा मस्कोमा गएको थिएँ। हामी विश्वशान्तिकै पक्षमा थियौं।

मोफसलबाट वा काठमाण्डू बाहिरबाट पहिलो साहित्यिक पत्रिका ‘गुनासो’ यहाँले नै सबभन्दा पहिला प्रकाशित गर्नुभएको भनेर ‘रचना’ पत्रिकाका सम्पादक रोचक घिमिरेले मलाई भन्नुभयो। जेल भित्र पनि यहाँले पत्रिका चलाउनुभयो भनिन्छ। त्यस विषयमा केही थाहा पाऊँ न?
जेलभित्र पस्नुभन्दा पहिले पनि ‘सिलेटमा’ लेखेर ‘सिलेट पत्रिका’ जेलभित्र पठाउँथ्यौं। त्यसो गरिराखेको हुनाले मैले त्यो छाडिनँ। पत्रकारिताको काम चाहिँ कहिल्यै पनि छाडिनँ। विश्व सम्मेलनमा भाग लिनुभन्दा पहिले पनि र पछि पनि पत्रिका निकाल्ने काममा निरन्तरता नै दिएँ।

जेलमा पनि बाहिर पनि लेखिराख्नुपर्छ भन्ने ऊर्जा यहाँलाई कसरी प्राप्त भयो नि?
केटाकेटी अवस्थादेखि नै यस्तो आदत बस्यो। मनमोहन अधिकारीका बाबु रामचन्द्र अधिकारी नै मेरो घरमा वीरगन्जमा डेरा गरेर बसेका थिए। उहाँहरू चाहिँ अघिदेखि नै राजनीतिमा लागेका मान्छेहरू हुनुहुन्थ्यो। बनारस बस्ता मनमोहन अधिकारीसँग पनि सङ्गत भयो। हामी उहाँलाई दाइ भन्थ्यौ। उहाँ पनि आइरहनुहुन्थ्यो। भरतमोहन पनि त्यहीं पढ्न बस्नुहुन्थ्यो। हामी त्यहाँ पनि एउटै घरमा बसेका थियौं। त्यो बेलादेखि नै राजनीतिक व्यक्तिहरूका कुरा सुनेको थिएँ। जेलमा बसेपछि टङ्कप्रसादहरूको सङ्गत गर्न सजिलो भयो। खड्गमान सिंह बस्नेतसँग पनि सङ्गत भयो। पछि जेलबाट छुटेपछि पनि उहाँहरूसँग मित्रता बढ्यो। हामीले उहाँकै बारेमा पनि किताब लेखेका छौं। जेलमा बसेपछि जेलको अनुभव पनि लेख्न पाइयो। कुनै किसिमको पिर नगर्ने। जे जे भोगिन्छ त्यही त्यही विषयमा लेख्तै जाने।

‘साहित्य’ पत्रिका जुन यहाँले २०१६–१९ मा सम्पादन गर्नुहुन्थ्यो त्यस विषयमा जानकारी पाऊँ न?
जब भूमिगत जीवन बिताउनुपर्‍यो त्यसैले साहित्यलाई निरन्तरता दिन त मिल्दैनथ्यो। त्यसो हुँदा साहित्य पत्रिका बन्द गर्नुपर्ने अवस्था आयो।




श्यामप्रसाद शर्मा



श्यामप्रसाद शर्माले ‘साहित्य’ र ‘स्वास्नीमान्छे’ पत्रिकाको माध्यमबाट समेत र खासगरी नेपाली साहित्यको प्रगतिशील साहित्य फाँटमा राम्रो सेवा पुर्‍याएको हो। तपाईंले २००८ मै वीरगञ्जबाट सेवा साहित्यिक पत्रिका निकालेर मोफसलबाट पहिलो साहित्यिक पत्रिका निकाल्ने इतिहास पनि बनाउनुभएको छ। तपाईंले २०२४ मंसिरदेखि २०४७ सम्म २३ वर्ष भूमिगत जीवन बिताउँदा नेपाली साहित्यलाई घाटा भएको लाग्दैन?
मलाई त्यस्तो लागेको छैन। किनभने आफ्नो–आफ्नो काममा सबैले अनुभव लिएको हुन्छ। जे काममा लाग्यो त्यसैमा महइभ्व दिइएको हुन्छ। के कामले के महइभ्वपूर्ण काम गर्‍यो? हामीले हेर्ने कुरा हो। आफूले गरेको राम्रो अरूले गरेको नराम्रो भन्ने कुरा त होइन। तर जे काममा आफूले महइभ्व दिइयो, त्यो पक्ष पनि राम्रो नै हुन्छ।

तपाईंले काम गर्दा संस्मरण भएका घटना वा क्षण केही छन् कि?
लक्ष्मीप्रसाद देवकोटाले वीरगञ्जको एउटा समारोहमा के भन्नुभएको छ भने ‘ल है यहाँ हामी होस गरेर बोलौं, श्यामप्रसादजी यहाँ बोल्दै हुनुहुन्छ। उहाँले हामीलाई समात्नुहुन्छ। हामी होस गरेर बोलौं।’

देवकोटाजीले यहाँलाई ठूलै सम्मान दिनुभएछ होइन त?
अरूलाई सावधान पनि गराउनुभयो। मलाई सम्मान पनि गर्नुभयो।

यहाँको लेखनाथ, सम, देवकोटा वा अरू साहित्यकारहरूसँगका कुनै रोचक सम्झना छन् कि?
लक्ष्मीप्रसाद देवकोटाको कस्तो बानी भने जिम्मेवारी नभए जस्तो, सहज खालको स्वभाव थियो। वीरगन्जमा एकचोटि परोपकार भन्ने संस्थाले सभा आयोजना गरेको थियो। उहाँले एउटा कविता लेख्नुभएको थियो। त्यो कविता भन्दाखेरि उहाँले त्यसको अर्थ भन्न सक्नुभएन। उहाँले त्यो कविता पढिसकेपछि श्रोताहरूमध्येका केही युवाहरू त्यसको अर्थ सोध्न म समक्ष आए। लक्ष्मीप्रसादजी यही हुनुहुन्छ उहाँबाटै यसको अर्थ सुन भनेर मैले तिनीहरूलाई देवकोटा समक्ष प्रस्तुत गरें। तर उहाँले त्यो कविताको अर्थ भन्न सक्नु भएन। अर्थ मिलेन। पछि मैले उहाँलाई त्यसको अर्थ बताएको पनि थिएँ। त्यसै हुनाले उहाँले ‘यहाँ श्यामप्रसादजी बोल्दै हुनुहुन्छ, उहाँले समाउनुहुन्छ, होसियार होऊ’ भनेर भन्नुभएको हो।

मदनमणि दीक्षितले वीरगन्जमा पढाउनुभएको रहेछ। यहाँको उहाँसँग पनि सम्बन्ध थियो होला नि?
कस्तो भयो भने उहाँ हेडसर हुनुहुन्थ्यो। हामी भर्खरका विद्यार्थी थियौं। हामी राणा शाहीको विरोधमा सत्याग्रहमा निस्किएका थियौं। उहाँले हाम्रो नाम स्कूलबाट काटिदिनुभएछ। त्यसमध्ये धनुषचन्द्र गौतम र मेरो नाम काटियो र उहाँ सबभन्दा घनिष्ठ मित्र र कक्षा साथी हुनुहुन्थ्यो। हामी स्कूलमा जाँदा माफी माग अनि मात्र परीक्षा दिन पाउँछौ भनेर उहाँले भन्नुभयो। हामीले माफी माग्न मानेनौं। हामीलाई एस.एल.सी. जाँच दिन दिएनन्।हामीले राणाशाहीको विरुद्धमा गरेको सत्याग्रह ठीक भनेर माफी मागेनौं। नेपालबाट जाँच दिन पाइएन। हामी दुवैजनाले भारत मोतिहारी गएर जाँच दियौं।

‘जनमत’ भन्ने पत्रिका यहाँले सम्पादन गर्नुभएको रहेछ। यो पत्रिका कति समय चल्यो?
दुईचार वर्ष चल्यो होला। त्यो कम्युनिष्ट पार्टीले चलाएको राजनीतिक पत्रिका थियो। म २०१२। १३ सालमा त्यही पत्रिका चलाउने सन्दर्भमा काठमाण्डू आएको थिएँ।

‘साहित्य’ र ‘स्वास्नीमान्छे’ पत्रिका कसरी निस्किए?
यहाँ आएपछि यहीं बस्नुपर्ने भयो, यहीं काम गरेर बस्नुपर्ने भयो। पार्टीले छापाखाना राख्यो। त्यसको जिम्मेवारी पनि मलाई नै दिए। आनन्द प्रिन्टिङ प्रेस भन्ने छापाखाना थियो।

यहाँका पुस्तकहरू बारे थाहा पाऊँ न?
पुस्तकको लिष्ट त तपाईंले किताबहरूबाटै लिँदा भइगयो। जुन धेरैले मन पराउँछन्, म पनि त्यही नै राम्रो भन्छु। जुन किताबहरू अन्तर्राष्ट्रिय जगतमा र राष्ट्रिय जगतमा लोकप्रिय भए तिनै पुस्तक राम्रा भन्नुपर्छ। पहिले–पहिले पत्रकारिताका किताब नै थिएन्। मेरै लेख, मेरै भाषण पढ्नुपथ्र्यो। कोर्स नै मेरा स्पिचहरू हेरेर तय हुन्थे।

प्रगतिशील साहित्यिक संघको पहिलो अध्यक्ष यहाँ नै हुनुहुँदो रहेछ। त्यो संस्था कसरी गठन भयो?
साथीहरूलाई बानी परोस् भनेर केही साथीहरू जम्मा गरें।

ती व्यक्तिहरू को को थिए?
केवलपुरे किसान, धनुषचन्द्र गौतम र म समेत थियौं।

प्रगतिशील साहित्य भन्नाले के अर्थ राख्छ? प्रगतिशील साहित्य र अरू साहित्यमा के फरक छ?
प्रगतिशील साहित्य भन्नाले त्यो समाजलाई अगाडि बढाउने साहित्य हो। समाज जुन स्तरमा छ त्यो भन्दा अलि अगाडि बढाउनलाई प्रगतिशील साहित्यले काम गर्छ।


श्यामप्रसाद शर्मा

म सँगको वार्तामा गोविन्दप्रसाद लोहनीले प्रगतिशील साहित्य भन्ने पहिला–पहिला कम्युनिष्टहरूले नै शुरू गरे पनि वेलफेयर स्टेट र वेलफेयरिजमले पनि धेरै कुरा भित्र्यायो। प्रगतिशील कम्युनिष्टहरू मात्र रहेनन् भन्नुभएको छ। यसमा तपाईं के भन्नुहुन्छ?
पूँजीवादी र वेलफेयर स्टेटहरूले पनि प्रगतिशीलताका धेरै कुरा तानेका छन्। कम्युनिजमले पनि उनीहरूका राम्रा कुराहरू लिएका छन्। पूँजीवादले प्रगतिशीलताका कुरा नलिएको भए वा नतानेको भए समाज यति अघि बढ्ने थिएन। सारा आविष्कार, विकास, विज्ञानको चमत्कार पूँजीवादले गर्दा नै भएको हो। पहिले हामी सामन्ती समाजमा थियौं। त्यसपछि पूँजीवाद भयो, क्रमशः विकास भएको छ। पूँजीवाद भनेको पनि प्रगतिवादकै एउटा नमुना पनि हो। पूँजीवाद प्रगतिवादको पहिलो स्टेज हो र पूँजीवाद नआइकन समाजवाद आउँदैन।

यहाँले नेपालमा प्रगतिशील साहित्यको स्थिति कस्तो देख्नुहुन्छ?
राम्रो छ। कुन समाजमा साहित्य पछाडि छ र? हामीलाई राम्रो लागेन भन्दैमा नराम्रो छ भन्न त मिल्दैन नि। सबै समाज चाहे पूँजीवादी समाज हुन् वा कम्युनिजम हुन् पहिले भन्दा विकास नै गरेका छन्। त्यसो भएको हुनाले कम्युनिजम राम्रो पूँजीवाद नराम्रो भनेर दोष लाउनु ठीक होइन।

मैले नेपालमा हेर्दा धेरै वामपन्थी राजनीतिज्ञहरू लेखक छन् तर कांग्रेस वा अरू प्रजातन्त्रवादीहरू कम लेखक वा साहित्यकारहरू देखे। यहाँ नेपालका प्रगतिशील लेखकहरूको रचनासँग सन्तुष्ट हुनुहुन्छ?
सबै थरीको लेखन राम्रो छ। सबैको एकै थरीको हुँदैन। सबै पक्षका लेखकहरूमा राम्रो लेख्ने पनि छन्, कमजोरी भएका पनि छन्। सबै थरीले लेखेका छन्।

अहिलेसम्म श्यामप्रसाद शर्माले जसरी लेख्यो जे लेख्यो आफ्नो लेखाइलाई फर्केर हेर्दा कसरी हेर्नुहुन्छ?
मलाई एउटा लेखकका रूपमा स्वीकार्नै पर्छ। मलाई लेखकबाट फाल्न मिल्दैन। फाल्न नमिलेपछि श्यामप्रसादलाई पनि एउटा लेखकको रूपमा मान्न परिगयो नि।
(हिमालयन बुक स्टलद्वारा प्रकाशित ‘सिर्जना र दृष्टिकोण’ पुस्तकबाट)

http://nepalkhabar.com बाट साभार 

No comments:

Post a Comment