Wednesday, May 17, 2017

श्यामप्रसाद : मेरा मनमा, आस्थामा र आँखामा - चूडा मणि रेग्मी



भरखरै पनि फोनमा सम्पर्क भयो–काठमाडौंमा उनकी छोरीको निवासमा श्यामप्रसादसँग । उहाँ र मैले केही छिन भलाकुुसारी गर्यौं । कहिलेकाहीं प्रश्न पनि उठेका हुन्– चूमरे श्यामप्रसादपन्थी कि कमल दीक्षितपन्थी ? २०१६ सालदेखि नै श्यामप्रसादको ‘साहित्य’ पत्रिका निस्कियो, अत्यन्त केही महत्वपूर्ण निस्किई त्यो बन्द भयो । २०१६ सालदेखि नै कमल दीक्षितले सम्पादन गरेको ‘नेपाली’ त्रैमासिक निस्कियो । यसका भने २०० अङ्क निस्किसकेका छन् र चलिरहेछ । साहित्यिक पत्रकारिका दृष्टिले श्यामप्रसाद पनि आदरणीय क.दी. पनि आदरणीय । निबन्धकारका दृृष्टिले, झर्््रो लेखन्तेका दृष्टिले र भाषा साहित्यसेवीका दृष्टिले पनि म भन्दा ७ वर्षले जेठा दुवै आदरणीय । मेरा अग्रज, दुवैसँग मेरो निकै राम्रो चिनाजानी छ, हिमखिम छ भन्दा फुर्ती लगाएको नठहर्ला । यसो भएर पनि आस्थाका दृृृष्टिले भने म श्यामप्रसादपन्थी नै हुुँ– प्रस्ट कुरा हो यो मेरो । 

श्यामप्रसादलाई मैले साम्यवादी भएर साम्यवादी रूपमै चिनेको र प्रत्यक्ष देखेको नेपाल कम्युनिस्ट पार्टीको २०१४ सालमा काठमाडौंको फोहोरा दरबारको सम्मेलनमा हो । साहित्यकारका रूपमा उनका तिन पुस्तक (बहिनीलाई चिठी, लेखक कसरी बन्ने ?, तँ, तिमी, तपाईं हजुर) बाट म मात्र होइन धेरै नेपाली प्रगतिशील साहित्यका पाठक प्रभावित छन् । ठट्टा गरेर भन्ने हो भने अरु सबै पुस्तक डढाए पनि उनका उक्त तिन पुुस्तक र साहित्य पत्रिकाले मात्र पनि नेपाली प्रगतिशील साहित्यकारका रूपमा श्यामप्रसाद उच्च आसनमा छन् र रहनेछन्– अमर ।

हचुवा मूल्याङ्कनबाट श्यामप्रसाद मेरा आदरणीय होइनन् । उनको लामो जीवनका क्रियाकलाप, नेपालको लामो साम्यवादी आन्दोलनको आरोहअवरोहमा श्यामप्रसादको निश्चल र निश्छल दृढनिष्ठता, राम्रा अक्षरमा झर्रो, सजिलो र रसिलो शैलीमा लेखाइ आदि धेरै ओटा बुँदाले गर्दा श्यामप्रसाद आदरणीय छन् । मान्छेकै दृष्टिले पनि श्यामप्रसाद असल नेपाली मान्छे हुन् । श्यामप्रसादले नेपाली साहित्यलाई दिएको योगदान निजशैलीको निजविचारको माथिल्लो स्तरको छ । सजिलो भाषामा अत्यन्त गम्भीर छ । म उनलाई नेपाली प्रगतिशील गान्धी मान्छु । 

श्यामप्रसादसँग धेरै नेपाली लेखकको घनिष्टता थियो, छ । श्यामप्रसादले चिनेको, जानेको चर्चा समेत गरेको मान्छे भित्र पर्छु म । नेपालमा, नेपालीभाषी क्षेत्रमा, श्यामप्रसादलाई निःस्वार्थ र निःसर्त रूपमा मान्ने म जस्ताको सङ््ख्या ठुलो मात्रामा छ । यो कुराको खोजी यो हल्ले जुगमा भइरहेको छैन तर भोलि अवश्य खोजीमेली हुनेछ भन्ने विश्वास गर्छु । 

मेरो दैनन्दिनीले भन्छ– सर्वप्रथम मैले आदर गरेको साहित्यकार श्यामप्रसाद नै रहेछन् । त्यो कुरालाई नलम्ब्याई भन्दा जनकप्रसाद हुँमागाईंले उनको काठमाडौं स्थित डेरामा मेरो परिचय कार्यक्रम राखे । यो कार्यक्रमको सभाध्यक्ष श्यामप्रसाद थिए । त्यहाँ मैले बोल्दा श्यामप्रसाद, आनन्ददेव भट्ट जस्ता प्रगतिशील व्यक्तित्वको म जस्ता व्यक्तिको सम्मानबाट इज्जत जान दिनुहन्न भनेथें । (मेरो यात्रा वृत्तान्तको पुस्तक ‘घुमेका कुरा’ २०५६ मा यो बारे चर्चा छ ।)

पञ्चायत व्यवस्थाको लामो समय श्यामप्रसाद हराए, अर्थात् भूमिगत भए । कहाँ गए, के गर्थे, मरे कि, बाँचे कि, धेरै नेपालीलाई थाहा भएन । तर २०४६ पछि भने उनी देखा परे । गुप्तवासको सम्झना जस्ता पुस्तकले उनको धेरै रहस्य खोलेको छ । मेरो पनि २०४६ पछि नै श्यामप्रसादसँग सम्पर्क बढेको छ । धेरै पटक भेटघाट, सहयात्रा सङसङै सम्मान आदि पनि भए । ती सबै मेरा आँखा अगाडि झलझली छन् । 

असल लेखकको परिस्थिति बुझेर सघाउनुपर्छ । यो नीति हो श्यामप्रसादको । मैले पनि श्यामप्रसादलाई आर्थिक सहयोग गर्न सर्वप्रथम ‘युगज्ञान’ साप्ताहिकमा ‘मसिना मसिना कुरा’ जस्तो स्तम्भमा लेख्न लगाई निकै ओटा लेख छापिए । यसै गरी काठमाडौंमा हामी चार जना (म, गङ्गाप्रसाद उप्रेती, जनकप्रसाद हुमागाईं र कृष्णप्रसाद पराजुली) ले उनलाई दौरा, सुरुवाल कोट, टोपी किन्न पुग्ने पैसा उठाएर दियौं पनि । भुपि सेरचनको जन्मजयन्ती मनाइरहेका बेला हामीले यो निर्णय लियौं । प्रगतिशील साहित्यकारलाई मुखले प्रशंसा गरेर मात्र ऊ बाँच्दैन, उसलाई गाँस, बास र उसको रोगव्याधि पनि हेर्नु पर्छ भन्ने सन्देश दिन हामीले उक्त कार्य गरेथ्यौं । वास्तवमा श्यामप्रसादलाई धेरै साहित्यकारहरूले सहयोग गरेका छन् । यो सत्य हो । 

नेपालका प्रसिद्ध साहित्यकार श्यामप्रसादलाई घरमा ल्याउने र एउटा ‘जुही’ले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथी बनाउने दुवै मेरा इच्छा पनि पूरा भएका छन् । श्यामप्रसाद मेरा घरमा दुइ चार दिन बसेर झापाली साहित्यकार सित भेटघाट गरेका छन् । २०६१ सालमा चितौनको नारायन घाटमा भएको समारोहमा प्रमुख अतिथीको रूपमा ‘यथार्थ कुरा’को हरिहर खनाल अभिनन्दन अङ्कको विमोचन श्यामप्रसादकै हातबाट भयो । 

श्यामप्रसाद काठमाडौंमा रहे पनि चन्द्रगढीस्थित मेरो झर्रो नेपाली घरमा उनको जन्मोत्सव पनि मनाएँ । मेरो सम्पादनमा निस्केको ‘यथार्थ कुरा’को दसौं अङ्कमा उनीबारे विशेष चर्चा पनि भएको छ । यथार्थ कुरामा श्यामप्रसाद बारे छापिएका केही लेख र उनीले लेखेको एउटा लेख समेत म द्वारा नै सम्पादित ‘यथार्थ यात्रा’ २०६६ मा पुनः प्रकाशित छन् । यसै गरी मेरै सम्पादनमा निस्किएका ‘युगज्ञान’, ‘जुही’ र ‘झर्रा सुरेली र झटाराहरू’मा श्यामजिउले लेखेका र श्यामजिउबारे लेखिएका रचना प्रकाशित छन् । ‘ज्ञानगुनका कुरा’ आदि पत्रपत्रिकामा पनि केही लेखेको छु । 

टुङ्ग्यानीमा, श्यामजिउबारे लेखिएका अभिव्यक्तिहरूमा कुनै भावुकता म अनुभव गर्दिनँ । धेरै सत्य र गहकिला कुरा तिनमा अभिव्यक्त छन् । सम्क्षेपमा श्यामप्रसाद मेरा मनमा, आदरपूर्वक वसेका छन्, आस्थाका केन्द्र भएका छन् र आँखामा सधैं आदर पूर्वक झल्केका छन् ।

२०६६ असोज १५

No comments:

Post a Comment