Friday, May 4, 2018

पार्टी परित्यागबारे सार्वजनिक घोषणा - सरिता तिवारी

गतिशीलता खोला वा नदीजस्तो होस् । बाटोजस्तो ।हावाजस्तो । समुद्रदेखी उचालिएर बाफ हुँदै बनेको बादलजस्तो होस् । लक्ष्यित दिशा र गतिले हिँडेर निर्दिष्ट ठेगानामा पुगी रोकिने बटुवाको गोडाजस्तो होस् ।
स्थीर र यथास्थित चेतनासँगको ब्यतिरेकले र कतिपय प्रस्तावनामा पश्चगमनसँगको गम्भीर असम्मतिले हिजोका दिनमा विचारको जोखिम मोलेर युगसम्मत rational बाटोमा हिँड्ने प्रयास गरियो ।रक्तरन्जित क्रान्तिको उत्ताप र बलिदानले जन्मेको नयाँ उभार र उत्पीडित ,अपहेलित आम जनसमुदायको अधिकारका पक्षमा सार्वजनिक मत निर्माण गर्नुपर्छ भनेरै हो, 'सेफ जोन' छोडेर मुखर पक्षधरताको बाटो समातियो । यसो गर्दा पक्कै पनि उत्पीडित पक्षधरको प्यारो मात्रै हुने सुबिधा थिएन, कयौं ठाउँ र प्रसंगमा अलोकप्रिय बन्ने जोखिम समेत लिइयो ! यसैकारण मानसिक यन्त्रणा र प्रहारको निशाना समेत बन्नुपर्‍यो । अहिले फर्केर हेर्दा यसप्रती कुनै खेद वा पश्चाताप छैन बरु गौरवबोध छ ।
जनयुद्धका मूल कर्ताहरू बिभाजित भए ।संविधान निर्माण र तीन तहको निर्वाचनको प्रश्नमा नेतृत्वको प्रतिबद्धताको परीक्षाका संगीन घडीहरू आए ।युगरचनाको सन्धिकालमा विचार ,व्यबहार र सतत् क्रान्तिको प्रश्नलाई अलिबेर थाती राखेर नेतृत्वप्रती झिनो भएपनी आशावाद पाल्नु सही थियो या गलत ,यो इतिहासले पुष्टि गर्ला । मूल नेतृत्वलाई वैचारिक /सांस्कृतिक स्खलनको खाडलमा खस्नबाट बचाउन नसक्नुको अभियोग भने कमोबेस हामी आफैंसँग पनि छ । तर नेतृत्वको नियत र हर्कत इमानदार प्रयत्नको काबुभन्दा बाहिर पुगिसकेको र आन्दोलन भयावह रुपले सांस्कृतिक विपथगमनको सिकार भैसकेको अवस्थामा लेखक/संस्कृतिकर्मीको रुपमा हाम्रा 'डिप्रेसन' चुलिँदै मात्र गए । आन्दोलनभित्र तिनको ओखती पत्ता लाग्ने स्थिति रहेन ।
बिडम्बना नै भनौं , हामीले सही र ठीक ठानेको विचारसमूहको नेतृत्वबाट नै पछिल्लो समय आम जनसाधारणदेखि इतिहासप्रती प्रतिबद्ध र ईमानदार कार्यकर्ता ,लेखक,संस्कृतिकर्मी लगायत बौद्धिक वर्गको भावनासँग खेलवाड मात्र नभै मार्क्सवादी /समाजवादी आन्दोलनमाथि नै धोका दिने र गम्भीर कुठाराघात गर्ने काम निर्लज्जतापुर्वक भैरहेको छ ।त्यो पनि ,आफूलाई बामपंथी नै भनाएर ! कम्युनिस्ट विचार आफैंलाई समेत निर्मम समीक्षा गर्दै र सच्याउँदै जाने निरन्तर क्रान्तिको अस्त्र नभै सत्तामा उक्लिने र संस्थागत भ्रष्टाचार गर्ने भर्‍याङ बनिरहेको दृश्य वास्तवमै पीडादायी लाग्छ । हिजोको क्रान्तिकारी शक्ति आफूले नै स्थापित गरेका एजेन्डा र व्यवस्था बेवारिस हुनेगरी प्रतिक्रान्तिको कर्ता बन्ने 'बुमर्‍याङ' स्थिति अब धेरै टाढा देखिन्न ।सांस्कृतिक विचलन भयावह छ ! कम्युनिस्टहरू झुठ बोल्दैनन् भन्ने मानक पछिल्ला केही दशकमा क्रमश: भत्किँदै छ ! आम जनसमुदायको भरोसा बोकेका कम्युनिस्टहरू नै एक से एक झुठवाज ,cheater र अनैतिक बनेर सतहमा देखिएका छन् । सिद्धान्त र व्यबहार बीच विषमता,आडम्बर र ढोंग सामान्य कुरा भएका छन् । आजको राजनीतिक पर्यावरण निरन्तर अध्ययन ,छलफल र अल्पमतको समेत सम्यक विमर्श र कदर गर्दै अगाडि बढ्नुपर्ने 'कम्युनिस्ट कल्चर' र पद्धतिविरुद्ध छ । कम्युनिस्ट पार्टीहरूभित्र नै चाकरी र धुपधुँवारको संस्कृति मौलाउँदै छ । वैकल्पिक विचार बोक्नेहरू प्रतिरक्षात्मक हुनुपरेको छ । आलोचना र बहसको ठाउँ स्तुति र मुर्तिकरणले लिएका छन् ।त्यही बानी लागेर हो, मूलधार नेतृत्वका नजरमा नीति, निष्ठा र नैतिकताको कुरा गर्नेहरू 'मूर्ख' अनि अध्ययन र विमर्श गर्नेहरू 'पागल' बनेका छन् । यस्तो किन हुन्छ ? अध्ययन र छलफल गर्नेहरू ,निष्ठा र नैतिकताको पालना होस् भन्नेहरूलाई देखिनसहने केले बनाइरहेको हो? फरक मत राख्नेहरूप्रतिको यस्तो असहिष्णु रवैया केको लक्षण हो ? यो बुझ्नु जरुरी छ।
हिजोको क्रान्तिका कर्ताहरूले नै आज विचार ,सिद्धान्त र सतत् क्रान्तिको उद्देश्यमाथी कोर्रा हानिरहेको दृश्य पीडादायी त छ ।यसले हृदय पोल्छ ! दिमाग चक्कराउँछ तर यो अस्वभाविक र आकस्मिक घटना होइन भन्ने मान्नु कम दुखदायक हुन्छ।यो इतिहासको एउटा अनिवार्य संघटना थियो । यसका symptom दशक अघि नै देखिएका हुन् । अहिले त चिनिने,देखिने गरि पटाक्षेप भएको मात्र हो । यसैका निमित्त शोक गर्नुको औचित्य कति होला ? प्रश्न यो पनि हो ।
इतिहास निर्माणका नेतृत्वकर्ताहरू जहाँसम्म सही थिए त्यहाँसम्म तिनलाई सम्मान गर्ने हो ,कृतज्ञ हुने हो तर यसको अर्थ यो होइन कि इतिहासलाई केवल मुठ्ठीभर नेतृत्वको स्वार्थपुर्ति र सत्तारोहणको खुट्किलो मात्रै बनाइयोस् र हामी चुपचाप बसेर हेरिरहूँ । इतिहास अवसर र कुर्सिसँग मोलमोलाइ हुने 'बार्गेनिङ आइटम' मात्र बनोस् र त्यसप्रति प्रतिक्रियाहीन उभिरहूँ । यस्तो त हुन सक्दैन ।
एउटा लेखक हुनुको अर्थमा आफ्नो यात्रा एकपटक फेरि संगीन सन्धिरेखामा उभिएको महसुस हुँदैछ। यो इतिहासले दिएको दुर्लभ अवसर पनि हो जो चुनौती नै चुनौतिको पखेटा फिँजाएर हाम्रो अघिल्तिर उपस्थित छ ।एउटा विशेष कार्यभार- विचार र आन्दोलनसँगै लेखन र विमर्शको तहबाट समेत बहस र प्रतिपक्षी चेतद्वारा हस्तक्षेपकारी अभियानको निर्माण गर्ने । झुठ र बेइमानीको दंशले घाइते आलोचनात्मक चेतनालाई अग्रगामी गतिशीलता भर्नेगरी बलियो बौद्धिक आन्दोलनको नेतृत्व गर्ने । सत्ता/संस्थापनाको रहेबँचेको भयबाट बाहिर निस्केर कतिपय सन्दर्भमा दुस्साहससाथ सही विचारको पक्षपोषण गर्ने । निश्चित रूपमा यसो गर्न आफूलाई अहिलेसम्म रहिरहेको संरचनासँग औपचारिक रुपले बिच्छेद गर्नु जरुरी छ ।पुरानो संरचनाभित्र बसेर नयाँको आग्रह गर्नु नैतिक रुपले सही र युक्तिसंगत हुँदैन पनि । यद्यपि ,'बामपंथी र प्रगतिशील' सरकार र सत्ताको हवाला दिएर सत्ता-संरचनाभित्र आफूलाई 'एडजस्ट' गरी आलोचनात्मक बहसको पनि कुरा गर्दै लाभका पद हासिल गर्न सकिने औसरबादी र सुविधाजनक पर्यावरण पनि नभएको होइन तर यसरी अरुसँग त झुठ बोल्न सकिएला , ऐनामा आफैसँग आँखा जुधाएर हेर्न सकिएला ?

यिनै कारणहरूले अब उप्रान्त आजकै मितिदेखी लागू हुनेगरी म नेकपा माओवादी केन्द्र र यससँग जोडिएका सांस्कृतिक मोर्चा ,प्रतिष्ठान र संगठनबाट अलग भएको सार्वजनिक जानकारी गराउँछु । आजैका मितिदेखी अनेक प्रकारका लालसा,धम्की,रोब र घुर्किको अनावश्यक तनावबाट समेत मुक्त भएको अनुभूतिले आफूभित्र नयाँ उर्जाको संचार भएको महसुस गरेकी छु ।

आज ,मेरो विचारयात्राका अग्रणी व्यक्तित्व कार्ल मार्क्सको स्मृति दिवस पनि हो । आजैको दिनलाई साक्षी राखेर एकबारको यो जीवनलाई सत्यनिष्ठा र इमानपुर्वक बचाउने आफैँसँग गरेको प्रणको पुनः स्मरण गर्दै लेखन,प्रतिरोधात्मक गतिविधि र आवश्यक पर्दा समान उद्देश्य लिएका साथीहरूसँग सहकार्यमार्फत निरन्तर आन्दोलन र बहसको मोर्चामा रहिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।

बिगत डेढ शताब्दी यताको वैश्विक विमर्शलाई गहिरो प्रभाव पार्नेगरी विज्ञानसम्मत आर्थिक /राजनीतिक विचार प्रवर्तन गरेर आजैको दिन बितेका भौतिकवादी दार्शनिक कार्ल मार्क्सप्रति सप्रेम श्रद्धाञ्जली !
'हामी घना,कठिन र सुदुर यात्रामा जाऔं

आऊ
किनकि 
तुच्छ र निरुद्देश्य जीवन हामीलाई स्वीकार छैन'
-कार्ल मार्क्स 
(अनुवाद :पारिजात )
२२ वैशाख २०७५ तदनुसार ५ मे,२०१८ 





Sarita Tiwari को फोटो।

थप

 प्रतिक्रियाहरू देखाउनुहोस



No comments:

Post a Comment