Tuesday, August 21, 2018

मार्क्सवादी लेखक नै घरमा घन्ट बजाउँछन् : निनु चापागाईँ

प्रकाश गुरागाईं
काठमाडौं | भदौ ०२, २०७५


प्रगतिशील लेखकहरूलाई साहित्यमार्फत राजनीति गरेको आरोप लाग्छ । साहित्य वा कवितामार्फत राजनीति गर्न मिल्छ ?

प्रगतिशील भन्नेहरूले नै कवितामार्फत राजनीति गरिरहेको घोषणै गरेका छन् । मलाई लाग्ने कुराचाहिँ कविता र साहित्यबाट राजनीतिलाई सघाउ पुग्छ, तर राजनीति हुँदैन । यी फरक विधा हुन् । राजनीति र साहित्य सामाजिक चेतनाका रूप हुन् । राजनीति र साहित्यले समाजलाई प्रस्तुत गर्ने तरिका फरक हुन्छ । नैतिकता मानकमा प्रतिबिम्बित हुन्छ, धर्म भ्रममा आधारित भएर प्रतिबिम्बित हुन्छ, राजनीति अवधारणामा र साहित्य बिम्बमा प्रतिबिम्बित हुन्छ । त्यसकारण, साहित्यले सीधै राजनीति गर्दैन । तर, साहित्यमा राजनीतिक विचार हुँदै नहुने होइन ।



तपाईंले कविता बिम्बमा प्रतिबिम्बित हुनुपर्छ भन्नुभयो । प्रगतिशीलहरूलाई त नारा लेख्ने गरेको आरोप छ । बिम्ब कहाँ हुन्छ, नारा कहाँ हुन्छ ?

साहित्यमा विचार बिम्बको रूपमा प्रस्तुत हुन्छ । जसले साहित्यमा राजनीति हुनु हुँदैन भन्छ, तिनीहरूले पनि राजनीति नै गरेका हुन् । तिनीहरू साहित्यले ‘स्वान्तः सुखायः’ मात्र हुनुपर्छ भन्छन् । त्यस्ता मान्छेले प्रगतिशीललाई नारा लेखेको आरोप लगाउँछन् । उनीहरू शोषण, अन्याय, अत्याचारविरुद्ध नलेखियोस् भन्ने ठान्छन् । त्यो उनीहरूको राजनीति हो । अर्को कुरा, साहित्यमा नारा लेखिँदै लेखिँदैन भन्ने मलाई लाग्दैन । मार्क्सवादी सौन्दर्यशास्त्रले साहित्यमा कोरा नारा लेखिनु हुँदैन भन्ने स्वीकार गर्छ । कलात्मक र बिम्बमय हुनुपर्छ नै भन्छ । जस्तो कुनै वेला ठुल्ठूला जुलुसले उथलपुथल बनाइदिन्छ । त्यो जुलुसले नारा लगाउँछ । यसलाई प्रस्तुत गर्दा साहित्यमा नारा आउन सक्छ । तर, साहित्यमा आउने नयाँ लेखकले बिम्बात्मक प्रस्तुति जानिसकेका हुँदैनन् । कोरा नारा लेख्छन् । अनि उनीहरूको लेखनलाई आधार बनाएर गैरप्रगतिवादीहरू नारा लेखेको आरोप लगाउँछन् ।

प्रगतिशील लेखक कहीँ न कहीँ पार्टीमा आबद्ध हुन्छन् । त्यहीकारण उनीहरूलाई पार्टी र नेताको भक्तिगान लेखेको आरोप पनि छ नि ?

नेपालका राजनीतिक नेता, साहित्यकार, बौद्धिक सबै आलोचनात्मक चेतलाई रुचाउँदैनन् । नेता त रिसाइहाल्छन् । बौद्धिकहरूचाहिँ अवसर खोज्छन् । नेताको आलोचना गरे पद नपाइने चिन्ता छ । साहित्यकार भने आलोचनामा बाँच्ने प्राणी हो । त्यसो हुँदैन भने ऊ राम्रो साहित्यकार बन्न सक्दैन ।

खगेन्द्र संग्रौला कुनै वेला पार्टीमा हुनुहुन्थ्यो । अहिले त म कहिल्यै पार्टीमा थिइनँ भन्नुहुन्छ, त्यो गलत हो । तर, अहिले पार्टीमा हुनुहुन्न भन्दैमा उहाँले लेखेको प्रगतिशील होइन त भन्नु भएन नि । उहाँका गलत पाटो पनि छ । तर, उहाँको लेखनीले प्रगतिशील आन्दोलनलाई सहयोग पु-याएको छ । यस्ता अरू मान्छे पनि छन् । विश्व साहित्यको कुरा गर्ने हो भने, लु सुन कहिल्यै पार्टीमा थिएनन् ।

पार्टीको निकट थिए । पार्टीको आलोचना पनि गर्थे । म्याक्सिम गोर्कीको एक ताका छुट्टै पार्टी नै थियो । रक्तपात भयो भन्दै अक्टोबर क्रान्तिको उनले विरोध गरे । पछि भने आत्मालोचना गरे । अनि बोल्सेभिकलाई सहयोग गरे । त्यसकारण, पार्टीमा लाग्नै हुन्न भन्ने होइन । यो समाजलाई परिवर्तन गर्न सामूहिक प्रयत्न जरुरी छ । त्यो ठाउँ पार्टी नै हो । अहिलेका पार्टीले भने सामूहिक प्रयत्न गरेका छन् भन्ने मलाई लाग्दैन । यी त पार्टी हुन् वा होइनन् भन्नेमै आशंका छ ।

खगेन्द्र संग्रौलाका केही कुरा गलत छन् भन्नुभयो । के–के गलत छन् ?

उहाँले कतिपय सन्दर्भमा प्रगतिवादी आन्दोलनलाई नै हानि पु-याउने कुरा गरिरहेको म देख्छु । जस्तो, उहाँ पार्टीप्रति प्रतिबद्धता हुनु नै हुँदैन भन्नुहुन्छ, त्यो मार्क्सवादी चिन्तन होइन । व्यावहारिक राजनीतिक कुरा गर्दा पनि उहाँ कहिले कसलाई त कहिले कसलाई समर्थन गरिरहनुभएको छ । कहिले कता, कहिले कता हिँडिरहनुभएको छ, त्यसले आशंका पैदा गर्छ ।

यद्यपि, म उहाँका बारेमा प्रस्ट छु । तर, आशंका त हुन्छ नि । उहाँको पुस्तककै सन्देश पनि गलत भए । ‘जुनकिरीको संगीत’ उपन्यासको सन्देश गलत थियो भनेर उहाँले स्विकार्नुभयो पनि । उहाँका मात्र होइन, अन्य धेरै लेखक, जो माक्र्सवादी लेखक हुँ भन्छन्, उनीहरू नै मार्क्सवादी हुन् वा होइनन् मलाई शंका छ । जस्तो, मोदनाथ प्रश्रित कुनै वेलाका ठूला मार्क्सवादी , अहिले भानुभक्त र पृथ्वीनारायणलाई बोकेर हिँडिरहनुभएको छ । धर्मकर्मका कुरा गरेर हिँड्नुभएको छ । प्रदीप नेपाल एकताका राम्रो लेखक, लामो समयदेखि नै उहाँ अलि विचलनमै जानुभएको छ । अब अहिले त साहित्य सबै प्रगतिशील हो प्रगतिशील र अप्रगतिशील हुँदैन भन्न थालेका छन् । यो नै मुख्य विचलन हो । त्यसो भए त राणा र राजाका स्तुतिगान लेख्ने र पार्टीका भाटगिरी गर्ने सबै प्रगतिशील मान्नुप-यो ।

प्रगतिशील लेखक संघको तपाईंं पनि सल्लाहकार हुनुहुन्छ । प्रलेस लेखन कमजोर भएकाहरूको हल्ला गर्न जाने ठाउँ रे, हो ?

यो त्यस्तो थिएन । केही वर्ष यता मलाई पनि त्यस्तो हो कि भन्ने लागिरहेको छ । म प्रगतिशील लेखक संघको दुईपटक अध्यक्ष पनि भएँ । संघबाटै म साहित्यिक फाँटमा आएको भन्दा पनि हुन्छ मलाई । पहिला पनि अलि ठीक रुपबाट चलेन र अहिले पनि वैचारिक रुपबाट ठीक ढंगले अगाडि जान सकेन भन्ने लाग्छ ।

पहिलाचाहिँ तत्कालीन एमालेले अन्य घटकका कार्यकर्तालाई आफ्नो पार्टीमा ल्याउने मञ्चका रूपमा प्रयोग ग-यो । पहिलो त यहाँ प्रगतिवादी र प्रगतिशील चिन्तन बोकेका मान्छेको संगठन हुनुपर्ने हो यो । दोस्रो त्यहीअनुरूप लेखकहरूको संगठन बन्नुपर्ने हो । यी दुवै कुरा भएको देख्दिनँ । प्रगतिशील भनेको विज्ञानलाई मान्ने, धर्म निरपेक्षलाई मान्ने हो । तर, घरमा घन्ट बजाउनेहरू प्रगतिशील लेखक संघमा छन् । घन्ट बजाउनेहरूको साहित्य विज्ञानसम्मत पक्कै हुँदैन । यसरी प्रगतिशील लेखक संघ चलाउनुको औचित्य छैन ।


खगेन्द्र संग्रौलाले कतिपय सन्दर्भमा प्रगतिवादी आन्दोलनलाई नै हानि पु-याउने कुरा गरिरहेको म देख्छु । जस्तो, उहाँ पार्टी प्रतिबद्धता हुनु नै हुँदैन भन्नुहुन्छ, त्यो मार्क्सवादी चिन्तन होइन । मार्क्सवादीहरूका लागि त सामूहिक संगठन चाहिन्छ ।

प्रगतिशील लेखक संघमा प्रगतिशील मान्यताको विरोधी को–को छन् ?

नामै भन्न चाहन्नँ । किन तारो बन्ने र ? तर, सबैले बुझ्छन् भन्ने लाग्छ । उनीहरू सार्वजनिक रूपमा लेखिरहेकै छन् । कतिपयले प्रगतिशील भनेर पत्रिका चलाउँछन् । तर, ती प्रगतिशील नै होइनन् । के वर्ग संघर्ष सकिएको हो र नेपालमा ? शोषण सकिएको हो र ? उत्पीडन त अहिले पनि छ । त्यसलाई समाप्त पार्न सहयोग पु-याउँदैनौँ भने त्यो प्रगतिशील हुँदैन ।

प्रलेस पुनर्गठन गर्नुपर्छ भन्नुभएको छ । किन ?

यो सांस्कृतिक मोर्चा हो । सांस्कृतिक आन्दोलनबाट वैचारिक रूपमा दरिलो पार्टी बन्छ भन्ने कुरा यहाँका दलहरूले सिक्दै सिकेनन् । कतिपय मार्क्सवादी नेता नै ‘भौतिकवाद र आध्यात्मवादको फ्युजन गर्नुपर्छ’ भन्दै हिँड्छन् । योभन्दा वाहियात के हुन्छ ? अहिले यिनीहरूको सांस्कृतिक रूप एकदमै भद्दा छ । पार्टी बिग्रिएका छन् ।

तिनै पार्टीभित्र केही इमान्दार र सिद्धान्तनिष्ठ साहित्यकार पनि छन् । त्यसकारण प्रगतिशील लेखक संघले आफूलाई वैचारिक रूपमा सच्याउन जरुरी छ । प्रलेसको विधानमा नै यो संस्था सामन्तवाद र साम्राज्यवाद विरोधी हुने उल्लेख छ । तर, अहिले कम्युनिस्ट पार्टीले नवउदारवाद स्विकारेका छन् । यो मार्क्सवादविरोधी कुरा हो । साहित्यकारहरूले पनि नवउदारवादलाई नै बोकेर हिँडेपछि त संस्था बिग्रियो नि ।

तपाईंलाई नेताहरूले कहिलेकाहीँ भेट्न बोलाउनुहुन्छ ?

मेरो बिडम्बनापूर्ण स्थिति छ । म नेकपा चौथो महाधिवेशनको उत्पादन हुँ । केन्द्रीय कमिटीको सदस्य भएको ०३४ सालमा । माओवादी घटकबाट आएकामध्ये मोहन वैद्य किरण र सिपी गजुरेलबाहेक अधिकांश जुनियर हुन् ।

मोहन वैद्य किरणले तत्कालीन एकीकृत माओवादी छाडेपछि म नै सिनियर थिएँ । यद्यपि, मभन्दा पुराना पार्टी सदस्य छन् । अमिक शेरचन मभन्दा पहिला पार्टी सदस्य भए पनि केन्दीय सदस्यचाहिँ म अगाडिको हो ।

म पारिवारिक सम्बन्ध छाडेर कम्युनिस्ट सम्बन्ध विकास गर्न अथवा कमरेड हुन आएको । तर, पार्टीमा दाइ र भाइकै सम्बन्ध भयो । मलाई अझै ‘निनु दाइ’ भन्छन् । म पुरानो मात्र होइन कि उनीहरूको गलत कामको आलोचक पनि हुँ । नयाँले त आलोचना गर्न नसक्ला । आलोचना सुन्नुपर्ने भएपछि मलाई भेटघाट गर्न बोलाउँदैनन् । तत्कालीन एकीकृत माओवादीको विराटनगर सम्मेलन अगाडि मैले केन्द्रीय कमिटी बैठकमा प्रचण्डजीको आलोचना गरेँ ।

विराटनगर भेलामा उहाँले भलाई केन्द्रीय कमिटीबाटै निकालिदिनुभयो । म पनि जानै छाडिदिएँ । नेताहरू रुचाउँदैनन् भने मैले किन बोलाइरहनुप-यो ? त्यसकारण भेटघाट हुँदैन । कोही आफ्नो स्वार्थका लागि घरमा आउनुहुन्छ ।

घरमा आउनुभएकाले चाहिँ साहित्यको कुरा गर्नुहुन्छ ?

गर्दैनन् । पटक्कै गर्दैनन् । पार्टीका एकथरी नारायणकाजी श्रेष्ठजस्ता मान्छे त साहित्य पढ्दै पढ्दैनन्, उनीहरूलाई मतलब पनि भएन । नेताहरू साहित्य नपढ्ने नै धेरै छन् । तर, केही मान्छे साहित्यबाटै आएका छन् । मोहन वैद्य किरण लेखेरै आउनुभएको हो । उहाँ कहिलेकाहीँ फोनमा उहाँको किताबको आलोचना र सुझाव माग्नुहुन्छ । साहित्य वार्ता नै चाहिँ हुँदैन । उहाँको हिमाली दर्शनको नयाँ संस्करण निकाल्न डोलेन्द्रले भनेको रहेछ । अनि सुझाब माग्न फोन गर्नुभएको थियो । मेरो विचारमा साहित्य नपढ्ने नेता असल नेता बन्नै सक्दैन ।

तपाईंलाई पनि समालोचना लेख्दा पनि राजनीति गर्ने आरोप लाग्छ । जस्तो शिरीषको फूललाई नराम्रो भन्नुभयो, अनिदो पहाडसँगैलाई राम्रो भन्नुभयो । त्यस्तो हो ?

म व्यावहारिक नभई सैद्धान्तिक समालोचक हुँ । राजनीतिमा ०२६ सालदेखि हामफालेको हुँ । ०३० सालमा भूमिगत भएँ । विद्यार्थी संगठनको अध्यक्ष हुँदै पार्टीको केन्द्रीय कमिटीमा आएँ । त्योभन्दा अघि राल्फा आन्दोलनमा थिएँ । निनु राल्फा थिएँ । राजनीति र साहित्य दुवैमा हिँडेपछि म कतै अल्मिलिएँकि जस्तो लाग्यो । ०४२ सालमा मैले फर्किएर हेरेँ । साहित्यमा मेरो क्षेत्र समालोचना ।

समालोचनामा पनि माक्र्सवादी सौन्दर्यशास्त्र नै हो भन्ने लाग्यो । त्यसपछि मैले त्यस्तै लेखनमा जोड दिएँ । मैले ‘शिरीषको फूल’ र ‘अनिदो पहाडसँगै’को गम्भीर समालोचना नभई व्यावहारिक समालोचना लेखेँ । मोहनविक्रम सिंह र निर्मल लामाहरू शिरीषको फूललाई नै राम्रो मान्छन् । यो गैरमाक्र्सवादी कुरा हो ।

शैलीगत रूपमा राम्रो होला । तर, माक्र्सवादीले त शैलीलाई महत्व दिँदैनन् । त्यसो त, पारिजातले नै ‘शिरीषको फूललाई जलाइदिए पनि हुन्छ’ भनिसक्नु भएपछि धेरै विवाद जरुरी भएन । शिरीषको फूलकै शैली खोज्ने हो भने ‘तोरीबारी, बाटा र सपनाहरू’ पढे भयो । ‘पर्खालभित्र र बाहिर’ पढे भयो । तर, बलियो चरित्र र वस्तुगत यथार्थको हिसाबले अनिदो पहाडसँगै धेरै माथि छ । यसो भन्नु राजनीति होइन ।


साहित्यमा राजनीति हुनु हुँदैन भन्ने तर्क गर्नेहरू बिपीलाई अगाडि सार्छन् । उनले ‘म राजनीतिमा समाजवादी हुँ, साहित्यमा अराजकतावादी’ भनेका रहेछन् । त्यो अराजकतावाद भनेकै राजनीति हो । यो राजनीतिक वाद हो ।

प्रगतिशीलभन्दा बाहिरका राम्रा लेखक कोही छन् ?

छन्, तर तिनीहरूको नाम भन्दिनँ । प्रगतिशील भनेको कम्युनिस्ट मात्र हुन्छन् भन्ने संकुचित दृष्टिकोण हो । मार्क्सवादी धारणा पनि होइन । यद्यपि, त्यस्ता मान्छे प्रगतिशील आन्दोलनमा छैनन्, तर यथार्थको प्रस्तुति गर्छन् । जस्तो मनु ब्राजाकीका सबै नभए पनि धेरै कथा प्रगतिशील छन् । कृष्णभूषण बल पनि प्रगतिशील हुन् । कहिलेकाहीँ दिनेश अधिकारीले पनि दाबी गर्छन् ।

किनभने उनले भन्ने ठाउँ छ । कालीप्रसाद रिजाल पञ्च नै हुन् । तर, उनका कतिपय कविता प्रगतिशील छन् । माक्र्सवादी दृष्टिकोण नहुनु फरक कुरा हो । अब फेरि प्रगतिशील र प्रगतिवादी हुनु फरक हो । राजतन्त्रवादी बाल्ज्याकलाई पनि मार्क्सले महान् साहित्यकार भन्नुभएको छ ।

बिपी कोइराला कस्ता साहित्यकार हुन् ?

साहित्यमा राजनीति हुनु हुँदैन भन्ने तर्क गर्नेहरू बिपिलाई अगाडि सार्छन् । उनले ‘म राजनीतिमा समाजवादी हुँ, साहित्यमा अराजकतावादी’ भनेका रहेछन् । त्यो अराजकतावाद भनेकै राजनीति हो । यो राजनीतिक वाद हो । बुझ्दै नबुझी बिपीलाई अघि सार्छन् । बिपीका कतिपय कथा भने प्रगतिशील छन् । तर, उनी मूलतः अस्तित्ववादी हुन् । उनले साहित्यमा यौनलाई महत्व दिन्छन् । उनको राजनीतिक पाटो साहित्यमा आउँदैनन् । चिन्तन र व्यवहार फरक हुनु भनेको पाखण्डी हुनु हो । मार्क्सवादी सौन्दर्य शास्त्रले चाहिँ सिर्जना र कर्म एक ठाउँमा हुनुपर्छ भन्छ ।

चापागाईं, लेखक/समालोचक हुन् ।

www.nayapatrikadaily.com  बाट साभार 

No comments:

Post a Comment