Tuesday, August 21, 2018

प्रलेसको औचित्य झनै बढेको छ - रामप्रकाश पुरी


सर्वप्रथम केही महाशयहरूलाई यो भन्नै पर्ने भयो : भर्खरै प्रगतिशील लेखक संघको औचित्य र अर्थ खोज्न आवश्यक छैन । यो साझा संगठन भएको कुरामा विवाद छैन र कसैका व्यक्तिगत तुष्टि यसका माध्ययमबाट पुरा हुन नसकेको कारणले यसको औचित्यता र अर्थ खोज्नका लागि उनीहरूले ऐतिहासिक सामथ्र्य प्राप्त गर्न सक्दैनन् । उनीहरूलाई यो सुझाव छ ः यो साझा संगठन हो, फरक मतहरूको बिचबाट एकताको सम्भावनाको खोजीमा यसको अस्तित्व र औचित्य कायम छ । यो साँचो हो कि कैयौं दुर्वलताहरू लिएर हामी बिभिन्न पक्षहरू यसमा सामेल भएका हौं, त्यसैले यसका आफ्ना सीमाहरू छन् । ती सीमाहरूलाई उल्लेख नगरिकन काम गर्नका लागि हाम्रा आफ्ना सांस्कृतिक संगठनहरू छन्, तिनीहरूले गर्ने कार्य भन्दा यसको भूमिका कमजोर हुन पनि सक्दछ । यो मोर्चा होइन, मंच हो । मंचमा बस्ने स्थान नभएमा ‘भएन’ भन्नु न्यायपूर्ण होला । साझा विषयहरूमा ध्यान गएन भने ध्यानाकर्षण गराउनु उपयुक्त होला, तर यी सबैका साथमा साझा मंचका संहिताहरूलाई पनि आत्मसात् गर्नु कर्तव्य हुन जाला । महाशयहरू ! जुन घरमा हुनुहुन्छ, त्यसका सबै झ्याल–ढोकाहरू बन्द गरेर किन आगो लगाउँदै हुनुहुन्छ ? के त्यहाँबाट आफूलाई जिउँदै बाहिर निकाल्न सक्नुहुनेछ ?


केही वर्ष अघिदेखि हामीले ती केही मानिसहरूलाई देख्दै आएका छौं, जसले प्रगतिशील लेखक संघलाई आफ्नो टेक्ने आधार बनाए र फेरि त्यसलाई भत्काउनका लागि आफूलाई जागृत गरे । अहिले पनि देखिरहेका छौं, उनीहरू प्रलेसको कार्यकारी संरचनाभित्र आवद्ध छन् तर यसको जग खनिरहेका छन् । कमसेकम नैतिकताका दृष्टिले उनीहरूले त्यसो नगरेको भए धेरै राम्रो ह’ने थियो ।

लेनिनले भने झैं वास्तवमा यो सत्य हो कि शब्दहरूको बिचमा खालि स्थान हुन्छ तर सँधैका लागि यो सत्य होइन अर्थात् सबै सत्यहरू सापेक्षमा आधारित ह’न्छन् । के यो सत्यलाई हामी दृढताका साथ यसरी ओकल्न सक्छौं ः ती खालि स्थानहरूले अर्थ्याइरहेका अनेक अर्थहरूलाई हाम्रा आँखाहरूले देख्न सकेनन् भने त्यहाँ वरिपरि रहेका शब्दहरूबाट कति नै पो अर्थ निस्किएला ? के ती अपूर्ण अर्थहरूले वास्तविकतालाई पुष्टि गर्न सक्लान् ? अर्थ स्पष्टताका लागि ः हिटलर शाकाहारी थिए, तर उनको व्यक्तित्वलाई त्यहींसम्म मात्र सिमित गरेर हेरियो भने त नाजिवादले स्थापना गरेको सम्पूर्ण कुरूप इतिहासलाई देख्न सम्भव हुँदैन । तर के भनिन्छ भने शाकाहारी जीवन सह्रदयी ह’न्छ । अनि हामीले अर्थ लगाउनुपर्ने छ, हिटलर सह्रदयी थिए । यदि शब्दहरूको बिचमा रहेका खालि ठाउँहरूबाट वास्तविकता खोज्न प्रयत्न गरिएन भने यो निष्कर्ष निस्कन’ सम्भव छ । 

सबभन्दा अनौठा घटनाहरू त हुन्, ती मानिसहरू जसले कतिपय संस्थाहरूमा पुरस्कारका लागि निवेदन हाल्दछन् तर त्यसो गर्ने बेलामा उनीहरूमा छताछुल्ल हुने ‘प्रगतिशील’ सिद्धान्त कहाँ जान्छ ? आजसम्म त्यसको उत्तर पत्ता लागेको छैन । ती संस्थाहरूको नालीवेली उनीहरूलाई चाहिन्न । पुरस्कार संस्कृति के हो ? छलफल पनि केही गर्नु पर्दैन । हामीले यो भनिरहेका छैनौं, यस्ता कार्य गर्नेहरू अप्रगतिशील हुन्छन् । हामीले त यति मात्र सोधीरहेका छौं ः तिनीहरूले प्रगतिशील लेखक संघको छाला काढेर कुन प्रगतिशीलको कुरा गरिरहेका छन् ? अनि पो हामीलाई यो प्रश्नमा घोत्लिनुपर्ने वाध्यता भएको छ ः के साँच्चै नै यो अनौठो कुरा होइन ? त्यस्ता तिलस्मी ‘खुबी’ भएका महोदयहरूको चपेटामा परेर साझा भनिएको प्रलेसको अस्तित्वमा संकट पैदा आजबाट भएको होइन, उहिलेदेखि नै प्रारम्भ भएको हो ।

हामीले त्यस्ता पाखण्डहरूको भण्डाफोर गर्न आवश्यक छ, जो पर्दाभित्र अप्रगतिशील कार्य गर्दागर्दै पनि प्रगतिशील तर्क र गफ गर्न माहिर छन् । अरू पाखण्डीहरू पनि छन् जसले प्रगतिशील लेखक संघलाई घोडा बनाएर एउटा निश्चित यात्रा हिडे, त्यसपछि उनीहरूले प्रलेसलाई खरानी पार्नका लागि प्रयत्न गर्दै आइरहेका छन् । उनीहरूका आक्रमक आलोचनाहरूलाई प्रलेसले सामना गर्दै आइरहेको छ । उनीहरूले योजनावद्ध ढङ्गले निर्माण गरेका र कुनै राजनैतिक संगठनको जनवर्गीय संगठनको रूपमा रहेका संगठनहरूको दशा पनि त यो देशमा स्पष्ट रूपमा देखिएको छ । अनि उनीहरूको लेखनको हैसियत पनि प्रष्ट नै छ । हामीलाई थाहा भए अनुसार उनीहरूका चाहनाहरूलाई प्रलेसले कतै अवरोध पुर्याएको छैन । आकाश खसाउन चाहे खसाए हुन्छ । तर उनीहरूले प्रलेसको ऐतिहासिक औचित्यतालाई समाप्त पार्नका लागि आफ्नो धर्म सम्झेका छन् । त्यसका लागि उनीहरूले कस्ता सञ्चार माध्ययमहरूको प्रयोग गर्दै छन् भने जसले देशभरिका प्रगतिशील र परिवर्तनकारी लेखकहरूको य’गन्तकारी जमघटको समाचारको लागि एउटा सानो कुना सम्म छुट्याउन सक्ने हैसियत राख्दैनन्, स्वयम् प्रलेसका कुनै पनि गतिविधिलाई उल्लेख गर्न आवश्यक ठान्दैनन् तर यो उदेकपूर्ण छ कि तिनै लेखकहरूको विरासतको रूपमा रहेको त्यही प्रलेसका विरूद्ध कुनै सामाग्री प्रसारण गर्नुपर्याे भने पुरा पेज खर्च गर्न तयार हुन्छन् । साम्राज्यवाद दुनियाँमा कसरी रवाफका साथ फैलिएको छ ? के हामीलाई थाहा नभएको कुरा हो र ? साम्राज्यवादीहरूको चाहना जे भएपनि त्यो उनीहरूको चाहना हो, त्यसमा तत्काल यस लेखमा हामीले केही भन्नु छैन । हामी त यो भन्न चाहन्छौं, ‘प्रगतिशील’ भन्नेहरूबाट रचिएका शब्दहरूका बिचमा रहेका खालि भागहरूमा साम्राज्यवादप्रतिको यति धेरै सेवाभाव किन ?

प्रलेसमा हामी जसरी अटाएका छौं, त्यो वर्तमान सामाजिक सम्बन्ध र उत्पादन प्रणालीसितको कतै न कतै असहमतिप्रतिको एकताको अभिव्यक्ति हो । यो साँचो हो, यसमा नेपालको कम्युनिस्ट आन्दोलनका प्रवाह नै समेटिएको छ । तर यसले सुधारवादी पूँजीवादीहरूलाई पनि वर्तमानको सन्दर्भमा समेट्न सक्नुपर्दछ । यसको अर्थ हो, वर्तमान आर्थिक उत्पादन प्रणालीमा उनीहरूले सुधार चाहन्छन् वा सामान्तवादी आर्थिक उत्पादन प्रणालीलाई बदलेर उनीहरूले पूँजीवादी उत्पादन प्रणाली स्थापना गर्न चाहन्छन् । यसपछि उनीहरू प्रगतिशील नहुन सक्लान् तर आज उनीहरूको प्रगतिशील भूमिकालाई यसले समेटेर लिनु आवश्यक छ । हामी ‘प्रगतिशील’हरूलाई भन्न चाहन्छौं, तपाईहरू समाजवादी उत्पादन प्रणालीका हिमायती हुनुहुन्छ, यो ठीकै छ, तर त्यसको पक्ष लिनका लागि पूँजीवादी उत्पादन प्रणालीका लागि गरिने प्रयासहरूको विरोध गर्दै हुनुहुन्छ ? त्यसो भए तपाईहरू समाजवादी उत्पादन प्रणालीको कुरा गर्दै यथास्थितिवादमा उभिइरहनु भएको छ । हामी तपाईहरूलाई भन्न चाहन्छौं ः वर्तमान सामन्तवादी उत्पादन प्रणालीलाई फेर्नेहरूसित सहकार्य गर्न आवश्यक छ । प्रलेसलाई क्रान्तिकारी र प्रगतिवादी बनाउन सकिएको छैन, यो सत्यप्रति हामी सजक नै छौं, तर यसले गर्ने सम्पूर्ण कार्य प्रगतिशील सिद्धान्तमा आधारित रहँदै आएका छन् भन्न किन हिच्किचाउन’ पर्यो ? यसले आफूलाई यथास्थितिवादको पक्षमा कतैपनि र कुनै पनि कालखण्डमा उभ्याएको इतिहास छैन । हुनसक्ला, यसमा आग्रह र पूर्वाग्रहको प्रवृत्तिले इतिहासलाई सही ढङ्गले निर्माण हुन दिएन । आग्रह र पूर्वाग्रहको पेचमा परेर कैयौं योग्यहरूले यसमा स्थान लिन नपाएका पनि होलान् । तर त्यसैका कारणले प्रलेसको औचित्यमा नै प्रश्नचिन्ह कसरी उठ्न सक्दछ ? वास्तवमा सत्य त यो हो कि नेपालको कम्युनिस्ट आन्दोलनभित्र नै आग्रह र पूर्वाग्रहको ठूलो समस्या रहँदै आएको छ । बिभिन्न आग्रह र पूर्वाग्रहबाट बिभाजित रहेका बिभिन्न वाम घटकहरू यसमा सामेल भएपछि समस्याहरू त यसै पनि छन् । आग्रह र पूर्वाग्रहमा आफूलाई अब्बल नठान्ने को होला ? तर यसका वावजूद पनि प्रलेसमा त्यो कुरा न्युन रूपमा रहनु धेरै राम्रो क’रा हो । 

प्रलेसभित्र खासगरी प्रगतिशीलहरूको नै बढी उपस्थिति छ । त्यसैले त्यहाँ सिद्धान्त, विचार भन्दा विद्रोह, असहमति जस्ता प्रवृत्तिहरू मान्यता बनेर आएका छन् । त्यसैले प्रगतिशीलभित्र कतिपय उत्तरआधुनिकवादी प्रवृत्तिहरू पनि अटाएका छन् । उनीहरू अराजकतावादी, महिलावादी, जातिवादी, लैङिगकवादी आदि हुन् । यी उत्तरआधुनिकवादीहरूलाई प्रगतिशील किन मानिएको छ भने उनीहरूमा गम्भिर समस्या हुँदाहुँदै पनि उनीहरूले कुनै पनि प्रकारको दमनका विरूद्धमा आवाज उठाएका छन् । वास्तवमा उनीहरू त्यही आवाज उठाउँदासम्म मात्र सही हुन् त्यसपछि उनीहरू कोही अराजकतावादी, कोही जातिवादी, कोही महिलावादी आदि हुन् । त्यसैले उनीहरूको प्रगतिशील चरित्र अस्थिर र अस्थायी प्रकारको हुन्छ । तर उनीहरू प्रलेसले आजसम्म स्वीकार गर्दै आएको सत्यलाई भुल्न हुँदैन । अर्कोतिर प्रलेसभित्र प्रगतिवादीहरू पनि छन् । तर तिनीहरू को हुन् भनेर छुट्याउन अत्यन्त गाह्रो छ । नेपालको विभक्त कम्युनिस्ट आन्दोलनले त्यो स्थिति उत्पन्न गराइदिएको छ । जहाँसम्म दावा गर्ने कुरा हो, त्यो त अराजकतावादी वा दक्षीणपन्थीहरूले पनि गर्दै आइरहेका छन् । वास्तविकताको फैसला हुने समय आउँदैछ, जस्तो कि राजनीतिमा त्यो कुरा फैसला हँदै गइरहेको छ । दावा गर्दैमा कोही पनि प्रगतिशील र प्रगतिवादी हुन सक्दैन, उसका कार्यव्यवहारहरूले त्यो कुराको निर्णय गर्दछन् ।

प्रलेसले आफ्नो सीमाबाट गर्न सकिने कार्य अगाडि बढाउँदै आएको छ । “हैसियत र योग्यता”बाट माथि उठेका केही मानिसहरूले प्रलेसको औचित्यमा प्रश्न उठाउने काम गरेको भए पनि त्यो बद्नियतपूर्ण कार्य हो । यस संगठनको ऐतिहासिक महत्व, वर्तमानमा यसका भ“मिका र भविष्यमा यसका चुनौति र सम्भावनाहरूबारे यसमा सम्बद्ध सम्बन्धित पक्षहरूमा आवश्यक परामर्श नभई कुनै पनि प्रश्न उठ्ने वा उठाउने नैतिक आधार कसैलाई छैन र रहँदैन पनि ।

०००

सौर्य दैनिक वर्ष-७, अङ्क - १८७, शनिवार ९, भदौ २०७५ बाट साभार 

No comments:

Post a Comment