Wednesday, September 5, 2018

मुर्गाचोक र प्रगतिवादी आन्दोलन - रसुवाली कवि

१) परम्परागत गल्ली : प्रगतिशील अड्डा !

बागबजारको पीके कलेजनजिकै एउटा सानो गल्ली छ । यती प्लाजा भएको उक्त गल्लीलाई चलचित्रकर्मीहरूले ‘मुर्गाचोक’ भनेर नामकरण गरेका छन् । खल्तीमा कोही दुईचार हजार बोकेर आउँछ भने ऊ त्यहाँ ‘मुर्गा हुने’ अर्थात् फस्ने हुँदा फिल्मकर्मीहरूले उक्त गल्लीलाई ‘मुर्गा गल्ली’ भनेका हुन सक्छन् । मुर्गाचोकको एउटा घरमा प्रगतिशील लेखक सङ्घ नामको सरकारी बन्दै गएको ‘गैरसरकारी’ संस्थाको कार्यालय छ । कम्युनिस्ट पार्टी स्थापना जहिले भयो प्रलेस पनि त्यही समयतिरै स्थापना भएको एकखाले लोकसेवाको प्रश्नउत्तरजस्तो इतिहास पनि छ । छ त कोठे कम्युनिस्ट र संसद्वादी कम्युनिस्टहरूको बसिबियाँलो गर्ने ‘टाइमपास आलय’ जस्तो यो संस्था चलेकै छ । कार्यसमिति बनेकै छ । 

प्रलेसमा थरीथरीका कम्युनिस्टहरू छन् । एकथरी छन् ः सामूहिक लिभिङ टुगेदरमा विश्वास गर्ने रोमान्टिक प्रगतिशीलहरू जो कविताभन्दा अरू धेरै कुरामा बदनामी गरेर चर्चित छन् । दोस्रोखाले जागिरे र सरकारी कम्युनिस्टहरूको झुण्ड छ जो सरकारी जागिर, लाभको पद र कतिपय अमेरिकी दातृ निकायको जागिर खाएर रिटायर्ड भएकाहरू हुन् । तेस्रोथरी छन् ः पत्रिकाको जागिर खाने, सेना–पुलिसको गुप्तचर हुने र शनिबार कविता सुनाउन आइपुग्नेहरू । यो झुण्डका केही नियमित र उम्दा मानिएका सदस्यहरू केही दिनअघि भट्टीबाट पक्राउ परे । प्रहरीले उनीहरूको साथ रुद्राक्ष माला, ओशोको तस्बिर र एक ‘हट’ नायिकाको तस्बिर पनि बरामद ग¥यो । केहीचाहिँ हल्काफुल्का प्रगतिशीलहरू नै छन् । तीमध्ये कोही आँधीबेहरी र हुरीबतास सहेका माओवादी, छेउछाउ माओवादीहरू हुन् । पार्टी–सङ्गठनमा चोरबाटोबाट प्रमोसन नपाएपछि निराश भएर चौतारोको खोजीमा प्रलेसमा आइपुगेका हुन् तिनीहरू । यस्तो अवस्थामा छ प्रलेस । यसलाई कसरी बुझ्ने ? वैज्ञानिक समाजवादी कार्यदिशाको बोकेको पार्टीले यसलाई कसरी लिने ? यसको औचित्यलाई कसरी लिने ? 

२) कृष्ण सेन स्कुलको दुःख

जनयुद्धले चुनु गुरुङ, मस्त बिष्ट, च्याङ्बा लामा, शारदा–शिव श्रेष्ठ, कृष्ण सेन ‘ इच्छुक’, ध्रुव ज्ञवाली, अन्जान विरही, दिलमाया बम्जनलगायत एक सय ७० भन्दा बढी वीर सांस्कृतिक योद्धाहरू जन्मायो । कवितामा कृष्ण सेन एउटा स्कुलका रूपमा विकास भए । आज माओवादी आन्दोलनमा लागेका मान्छेहरूले लेख्ने साहित्यमा कृष्ण सेनको गतिलो प्रभाव देख्न सकिन्छ । 

जनयुद्धलाई उचाइ दिन साहित्य–कलाको जति योगदान सायदै जनमुक्ति सेनाबाहेक अरू क्षेत्रले दियो होला । अनेकोट, भाबाङ, दोरम्बा, बेथानलगायत पूर्वदेखि पश्चिम नेपालसम्मका अनेकौँ मोर्चामा सांस्कृतिक योद्धाहरूले बलिदान गरेका छन् । पूर्व र मध्य कमान्डका सहिद नामभित्र सांस्कृतिक सहिदहरू पनि छन् जसका गीतहरूविरुद्ध तत्कालीन सत्ता हत्या–आतङ्कक मच्चाउन बाध्य भएको थियो किनकि सत्तालाई थाहा छ कला–साहित्यको शक्ति । केही दिनअघि पश्चिम नेपालको मुगुतिर सामनाको सांस्कृतिक कार्यक्रममा भएको हस्तक्षेपसमेत यसकै प्रभाव हो । 

माओवादी जनयुद्धलाई जनतामा स्थापित गराउन गीत–सङ्गीत, नाटक, अपेरा र कविताहरूले ठूलो सहयोग पु¥याए । ग्रामीण वर्गसङ्घर्षलाई शक्ति दिने काम गीत र नृत्यहरूले गरेकै हुन् । किसान–मजदुरका बस्तीहरूमा जब माओवादीहरू मादल र खैँजेडी बोकेर पुग्थे त्यहाँ नयाँ वातावरण निर्माण गर्न कुनै गाह्रो हुँदैनथ्यो । माओवादीले सांस्कृतिक अभियानमार्फत हजारौँ मान्छेलाई बलिदानीको बाटोमा अग्रसर गराएकै हो । 

नेतृत्व थाकेर भाग्ने बाटो खोज्दै हिँडेपछि माओवादी शान्तिप्रक्रियामा आयो । मूल नेतृत्वले आफ्नो पुरानो विरासत बिस्र्यो । श्वेत र लालइलाकामा बसेर जनयुद्धमा ऊर्जा भर्ने आफ्ना योद्धाहरूलाई बिस्र्यो र खेताला खोजेर हिँड्न थाल्यो । मादल, मुरली अनि नाटकमण्डलीहरू बिस्र्यो । आफैँले गरेको त्याग पनि उसलाई रोमाञ्चित सपनाजस्तो लाग्न थाल्यो । कृष्ण सेन र ध्रुव ज्ञवालीहरुलाई बिर्सेर रेखा थापा, बाबा बस्नेत र रामबाबु सुवेदीहरुलाई अँगाल्न थाल्यो । 

माओवादीका तत्कालीन सुप्रिमो एक बदनाम डान्सरसँग नाचे । प्रवक्तासमेत भैसकेका कवि दीनानाथ रुद्राक्षको माला लगाएर सेल्फी खिचिरहेका छन् । अस्ति जनैपूर्णिमामा जनै फेरेर पशुपति क्षेत्रमा भेटिएका एकखाले कम्युनिस्टहरूको सेल्फीमोह पनि गज्जबकै थियो । नेकपाका युवा नेता रजमान तामाङ ‘कुन्साङ कान्छा’ ले पशुपतिमा दलित पण्डितले कम्युनिस्ट नेतालाई बाँधिदिएको डोरोबारे कविता नै लेखे । 

सीता आचार्य, मोहित श्रेष्ठ, खुसीराम पाख्रिनजस्ता कलाकारहरूको मूल्य बुझ्दैन हिजोको माओवादी आन्दोलनको मूल नेतृत्व । तिनीहरूलाई अञ्जु पन्तको हिट गीत ‘न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’ ले हल्लाइरहेको छ । नेपाल आइडलको काउली बुढी सोले रन्थनिरहेको दिमागलाई क्रान्तिकारी गीतहरू बोर लाग्नु स्वाभाविक नै भैगो । हिजोका क्रान्तिनायक प्रचण्डले खुलामञ्चबाट कृष्ण सेन ‘इच्छुक’ का कविता बिर्सेर ज्ञानेन्द्रले राष्ट्रकविको पगरी गुथाइदिएका राजभक्त माधव घिमिरेका कविता वाचन गर्नु यसैको पराकाष्टा न हो । दीक्षित परिवारहरूले देखाएको हरियो घाँस कथित मदन पुरस्कार पाउनेहरुलाई बधाई र शुभकामना दिनेहरु पनि यही कोटीका हुन् । एकजना नाटककार थिए जसले निर्देशन गरेको पैसा नपाएर बुद्धनगरमा अनशन नै बस्ने धम्की दिएका थिए । यस्ता अवसरवादीहरु पनि प्रगतिशील कित्तामै छन् जो कलालाई केवल किनबेचको साधन मात्र ठान्छन् । 

३) अब के गर्ने 

यो अवस्थामा दलाल संसद्वादको लाचार छाया बन्ने प्रगतिशील होइन, प्रगतिवादी लेखक सङ्घ अनिवार्य र अत्यावश्यक भैसकेको छ । माओवादी आन्दोलन, इतिहास र वर्तमानको वैज्ञानिक संश्लेषण आवश्यक छ । वैज्ञानिक समाजवादीहरूले के सोच्न जरुरी छ भने सांस्कृतिक आन्दोलन नयाँ शिराबाट माथि उठाउन ढिला हुन लागिसकेको छ । 

आजको युग भनेको साम्राज्यवाद–उत्तरसाम्राज्यवादविरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन गर्नुपर्ने युग हो । कम्युनिस्ट आन्दोलनको विघटन र धोकाविरुद्ध मोर्चा कस्ने बेला हो यो । हाम्रोजस्तो मुलुकमा क्रान्तिबाहेक अर्को विकल्प छैन । आजको विश्व दृष्टिकोण क्रान्तिकारी वर्गप्रतिको माया नै साहित्य र कलाको कच्चा सामग्री हो । आजको प्रगतिवादी साहित्य वैज्ञानिक समाज स्थापनाका लागि आह्वान गर्नेखालको हुनुपर्छ । राष्ट्रिय मुक्ति आन्दोलनलाई सघाउनेखालको हुनुपर्छ । वर्गसङ्घर्षको मैदानमा हतियार बन्नसक्ने हुनुपर्छ । हारेका, थाकेका, भागेका र विश्वदृष्टिकोण नै प्रस्ट नभएकाहरूको पट्ट्यारलाग्दा बिलौना, गन्थन र टिपोटहरूले मात्र आजको सांस्कृतिक–साहित्यिक आन्दोलन हाँक्नसक्ने अवस्था हुँदैन । घिसेपिटे तरिकाले होइन, छाती फुलाएर बजारवादविरुद्ध लड्न आँट गर्नैपर्छ । माओवादीले झन् नयाँ शिराबाट सोच्न जरुरी छ । निभा शाहजस्ता मान्छेले क्रान्तिको मैदान छोड्न मिल्दैन । अशोक सुवेदीका समालोचना, कविता र कथाहरू झन् सशक्त हुनुपर्छ । क्रान्तिको नयाँ धार सिर्जना गर्न मैदानमै खटिरहनुपर्छ । नाटक क्षेत्र छोडेर खेम थपलियाले सम्पादक बन्नतिर लहसिनु हुँदैन । रमण थामी–आरोहका गीत र सामना अभियान बस्तीबस्तीमा पुग्न जरुरी छ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ अझ छङ्छङाउने छाँगो बन्न जरुरी छ । आहुतिले पार्टी खोले । समाजवाद नै नजानेका विष्णु भण्डारीले समाजवादी लेखक सङ्घ खोले । भट्टीबाट केवल गजल फ्याँकिरहेका छन् बलराम तिमल्सिना । कमरेडहरू पौराणिक कथामा आत्मा भड्किएजस्तै भड्किरहेका छन् । आममान्छेलाई लागेको छ– अबको प्रगतिवादी साहित्यलाई एकीकृत जनक्रान्तिको कार्यदिशाले मात्र उचाइ दिन सक्छ । मुर्गाचोकले सांस्कृतिक क्रान्तिको नेतृत्व गर्न सक्तैन ।

रातो खबर साप्ताहिक, वर्ष- ४, अङ्क -  १२, पूर्णाङ्क - १५८, २०७५ भदौ १३ गते बुधबार 

No comments:

Post a Comment