०००
हाल प्रलेसमा केही घटना घटेपछि विभिन्न मिडियाले मलाई सोधे, ‘अठ्तीसेहरू जन्मिए । उनीहरू प्रगतिशील लेखक संघबाट विद्रोह ग¥यौँ भन्दै छन् । तिमी पनि त्यही संस्थाको झन्डामुनि त्यसैको आदर्शमा हुर्किएको मान्छे । अठ्तीसेमा तिम्रो नाम त आएन नि ! के भयो ?’
मेरो सहज जवाफ थियो, ‘प्रलेस भनेको जडसूत्रहरूद्वारा निर्मित एउटा पिँजडा हो । त्यो पिँजडाको कैदबाट म पहिले नै भागेको मान्छे हुँ । त्यसैले अहिलेको प्रलेससँग मेरो गोरु बेचेको साइनो पनि छैन । त्यसैले त यो पलायनमा मेरो बाहुली निसानी नपरेको हो ।’
मलाई अर्काथरी सोध्छन्, ‘यत्रो विद्रोह भइरहेको छ । तिमीलाई त स्वभावैले जन्मजात विद्रोही भन्छन् मान्छेहरू । यो गौरवमय विद्रोहको अंग तिमीचाहिँ किन नभएको ? तिमीले किन यसको अंशियारी दाबी नगरेको ?’
मेरो जवाफ छ, ‘विद्रोह भनेको अवज्ञा हो । विद्रोह भनेको विप्लव हो ।’ के यो विप्लव हो ? के यो विद्रोह हो ? मेरो सामान्य बुझाइमा यो न अवज्ञा हो, न विप्लव हो । मिडिया सोध्छ, ‘अनि यो हो चाहिँ के त ?’ मेरो जवाफ छ, ‘प्रगतिशील लेखक संघको कम्युनिस्ट पार्टी प्रतिपक्षमा रहुन्जेलसम्म केही न केही महŒव थियो । यसको लगाम पोलिटब्युुरोकै हातमा भए पनि कम्युनिस्ट पार्टी सत्ताको भतेरमा नपुगेसम्म, त्यो जनहितको पक्षमा उभिएसम्म यसको महŒव थियो । तर, नौमहिने शासनमा नेकपा एमाले जब सत्तामा प्रवेश ग¥यो, त्यसवेलादेखि नै प्रलेस किस्ता–किस्ता गरी प्रगतिशील चेतनाबाट च्यूत हुँदै गयो । सत्ताको स्वादबाट मोहित भएपछि प्रगतिशील मूल्य प्रणालीलाई संवद्र्धन गर्ने पनि यसले बिर्सियो ।’
एक समय प्रलेसको म महासचिव भएँ । मेरो महासचिवकाल मेरो चिन्तन र लेखनको सबैभन्दा अनुर्वर र दिक्कलाग्दो काल बन्यो । त्यो समयभरि तुच्छ गुटबन्दीको आखेट सिवाय मैले केही व्यहोरिनँ । प्रलेसको माध्यमबाट न मैले गतिलो काम गर्न सकेँ, न समाजलाई चिन्तन र सिर्जनामा गतिमय बनाउन एक पित्को काम सकेँ । मलाई लाग्यो, प्रलेस भनेको माक्र्सवादी भन्ठान्ने जडसूत्र पूजक पुरोहितहरूको झुन्ड हो । बरा यी पुरोहितहरू आफैँले निर्माण गरेको जडसूत्रीय पिँजडाका कैदी बन्न अभिशप्त छन् । मलाई लाग्यो, यो कैद किमार्थ मेरो ठाउँ होइन । त्यसैले म त्यहाँबाट भागेँ भाग्नु भाग्नु नै हो, विद्रोह होइन ।
प्रलेसमा हामीले एउटा सानो प्रयोग ग¥यौँ । आनन्ददेव भट्टजी अध्यक्षमा उठ्नुभएको थियो । केही मित्रले मलाई भने, ‘यो नर्ककुण्डलाई केही जीवन्त बनाउन सकिन्छ कि, तै तै हस्तक्षेप किन नगरौँ ?’ म अध्यक्षमा उठेँ । यसमा मुख्यतः नारायण ढकालजीको योगदान थियो । ढकालजी मेरो प्रस्तावक बन्नुभयो, स्नेह सायमीजी समर्थक । रोचक कुरा के भने म त्यसवेला चौमको नजिक थिएँ । मेरो उम्मेदवारीविरुद्ध सबैभन्दा बढी चौमकै साथीहरू खनिए । यसको कारण छ । पोलिटब्युरोहरूले प्रलेसका पदहरूको जुँगा हेरी भाग लगाइसकेको थियो । बाक्लो र लामो जुँगा हुनेलाई अध्यक्ष, पातलो र छोटो जुँगा हुनेलाई महासचिव, अलि छोटोजुँगा हुनेलाई कोषाध्यक्ष र जुँगै नहुने दुखियालाई सदस्य । पदीय भागबन्डा यसरी भएको थियो । त्यसैले पायक पद गुम्ने भयले मेरा नजिकका साथीहरू मेराविरुद्ध कन्दनी कसेर डटे । मलाई प्रलेसको प्रगतिशीलता प्रभु र दासहरूको आपसी लेनदेनजस्तो लाग्यो । मेरोविरुद्ध चौतर्फी जेहाद छेडिँदा पनि मैले ६३ भोट ल्याएँ । मेरो प्रयोग असफल भयो र म प्रलेसबाट निस्किएँ ।
आयो कुरा अब अठ्तीसेको । प्रलेस अठ्तीसेहरूको बहिर्गमनको चरित्र के हो ? कतिपय मित्रहरू ‘ठूलो विद्रोह गरियो’ भनिरहेका छन् । विद्रोहको नाममा आत्मविज्ञापनमा मुग्ध हुने मनोभाव पनि देखिएको छ । तिनको यो आनन्दमा मलाई डाहा छैन । तर, यो आनन्दको मुहान विद्रोह किमार्थ होइन, फगत पलायन हो । बिलम्व गरी भएको उदात्त पलायन !
साँचो अर्थमा प्रलेस इतिहासको मसानघाटको जडवत् मुर्दा भइसकेको थियो । त्यसमा प्रगतिशील चेतना थियो न प्रगतिशील मूल्यप्रतिको कुनै चिन्तन, चिन्ता र चेष्टा नै थियो । सत्तामा कम्युनिस्ट पार्टीका मालिकहरू थिए । यो संस्था मालिकहरूको भक्तको झुन्डमा रूपान्तरित भएको थियो । केही साथीहरू मसानघाटको यो मुर्दामा प्राणप्रतिष्ठा गर्न सकिएला कि भन्ने मनचिन्ते ध्याउन्नमा थिए । यसको आँखामा चमक भर्न सकिएला कि ? यो मुर्दाका आँखामा चमक पैदा होला कि ? अनुहारमा कान्ति छाउला कि ? ओठमा मुस्कान झुन्डिएला कि । मस्तिष्कमा चिन्तन गतिमान् होला कि ? मित्रहरूका मनमा सोम शर्माका हास्यास्पद इच्छाहरू थिए । समयसँगै त्यो इच्छा धूलिसात् भयो । र, साथीहरू हतास भए । बस््, विद्रोह भनिएको यो कार्य यही हतासाको मुखर अभिव्यक्ति हो । चरम हतासाको उदात्त नतिजा ! जे भयो, राम्रो भयो । साथीहरूका नाकमा मुर्दा प्रलेसबाट सुगन्ध होइन, दुर्गन्ध प्रवाहित भयो । र, नाक अँठ्याउँदै जीवनतिर कुलेलम ठोके ।
मित्रहरू मलाई सोच्छन्, संस्था दुई फ्याक भयो, तिमीचाहिँ कता ? मेरो उत्तर सरल र सहज हुन्छ, मसानघाटको मुर्दातिर म हिजो थिइनँ । आज हुने झन् कुरै भएन । सत्ताको भ्रष्टता, दुराचार, आडम्बर र विलासको विपक्षमा जो उभिन्छ, म सधैँ उसलाई साथ दिँदै आएको छु । अठ्तीसे मेरो वैचारिक फूलबारीका मित्रहरू हुन् । स्वभावतः मेरो समभाव र सद्भाव उनीहरूतिरै छ ।
मलाई अर्को प्रश्न सोधिन्छ, अठ्तीसेहरूले अब बनाउँछन्चाहिँ के ? मुर्दा छाडेर पलायन त भए, अब बनाउँछन्चाहिँ के ? यो मलाई पनि थाहा छैन । मेरो पनि जिज्ञासा हो । पहिलेजस्तै विवेक पोलिटब्युरोको मुठीमा बन्धक राखेर, पोलिटब्युरोकै अरनखटनमा चल्ने प्रगतिशील लेखक संघ बनाउने हो भने त्यस्तो संघ त मसानघाटमा पल्टिरहेको मुर्दा संघ छँदै छ, अर्को किन बनाउनुप¥यो ! लेखक संघ पार्टीजस्तो तहगत संरचनामा हुँदैन । लेखकको रोल नम्बर हुँदैन । पुरस्कार गुठी खोलेर कसैलाई पुरस्कृत गर्नु छ भने बाध्यतावश लेखकको नम्बर छुट्याइन्छ । रोल नम्बर १ नभई पुरस्कृत गर्न सकिँदैन । तर, रोल नम्बर एक र दुईको निरुपण नितान्त मनोगत कुरा हो । लेखकको तह हुँदैन । केन्द्रको लेखक, जिल्लाको लेखक, वडाको लेखक भन्ने हुँदैन । लेखक जो जहाँ होस् त्यो लेखक हो । त्यो स्वयं एक स्वत्व हो, एक सत्ता हो, एक बागी हो, एक प्रतिरोधी हो । प्रत्येक लेखक जो जहाँ उभिन्छ, त्यो आफँै एउटा सत्ता हो । उपरवाले ख्वामित्को कृपा र अरनखटनबाट लेखनदास त भइएला, कल्पनाशील, सिर्जनशील, आलोचनाशील र बागी लेखक भइँदैन ।
म आफ्नै विवेकले लेखक भएको हुँ । प्रतिपक्षमा आवाज उठाएर मैले कसैप्रति कृपा गरेको होइन, कसैको आदेश पालना गरेको होइन । मैले केवल आफ्नो अन्तस्करणको आदेश मानेको हुँ । प्रत्येक स्वायत्त लेखक आफ्नो अन्तस्करणको आदेशमा चल्छ । ऊ निमुखाको वाणी बन्छ । ऊ वञ्चनामा परेका, हेपिएका मानिसको पक्षमा उभिन्छ । आँसु बगाइरहेकाहरूको नाममा आँसु नै बगाउँदा आँसुले आँसुमा कुनै योगदान गर्दैन । लेखकको काम रुनेहरूसँग स्वर मिलाएर रुनु होइन । रुनेहरूलाई ब्युँझाउने हो, जसको हृदय चिसो छ त्यहाँ आगोका राप जगाउने हो ।
ओलीतन्त्र समृद्धिको गफ हाँक्दै सुख बढाउने भनिरहेको छ । बजारको नियन्त्रणमा रहेको यो नारकीय समाजलाई समाजवादमा लैजाने डिङ हाँकिरहेको छ । तर, कुटिल ओलीतन्त्र यी सबैथोक गर्नुको सट्टा प्रेसको अधिकारमाथि अंकुश लगाइरहेको छ । सडकमा उभिने नागरिकको अधिकार खोसिरहेको छ । यस्तो अवस्थामा लेखकहरू जुट्नुपर्छ । अठ्तीसेहरूले मलाई सोधे भने मेरो सुझाब हुनेछ, लेखक संघ चाहिन्छ । त्यो लेखकको क्लब होला, चौतारी होला, अरू केही होला । तर, तहगत नोकरशाहीको पिञ्जरा भने हुनेछैन । त्यो कसैको कृपाकांक्षी याचक हुनेछैन । त्यस्तो त छँदै छ नि । त्यस मृतवत् रूढीको कार्बनकपी किन चाहियो ? वर्तमान रुढीजन्य प्रलेस को माक्र्सवादी हो, को द्वन्द्ववादी हो, को संशोधनवादी हो भनेर न्वारान गर्दै हिँड्छ र प्रसन्न हुन गएका प्रभुबाट पद, पगरी, पुरस्कार ग्रहण गर्छ । यो मुर्दा प्रगतिशील लेखक संघ टाठाबाटाहरू सत्ताका लाभका पदमा आरोहण गर्ने भ¥याङ हो ।
यो मुर्दातुल्य भएका संस्थाका नाइकेहरू भनिरहेका छन्– हामीले यो सत्ताको चाकडी कहाँ ग¥यौँ ? एउटा मात्रै प्रमाण देखाऊ, हामी लेखन कर्मबाट सन्न्यास लिन्छौँ । ओलीतन्त्रले प्रेसमाथि अंकुश लगाइरहेका वेला, निर्मला हत्याकाण्डका अपराधीको प्रमाण लुकाइरहेका वेला, डा. गोविन्द केसीले स्वास्थ्य शिक्षा र सेवालाई अपेक्षाकृत राम्रो बनाऊँ भनिरहँदा तिनीहरू कहाँ थिए ? वाइडबडीको लुटको विवादमा तिनीहरू कहाँ थिए ? राजारानीतुल्य शासकहरू मतदाताका शिरमा गिर खेल्दै विलास कुण्डमा पौडी खेलिरहँदा कहाँ थिए ? सवारीका नाउँमा सडकमा नागरिकलाई कसिङ्गरसरह बढार्दा कहाँ थिए ?
सत्ताको चाकडी दुई किसिमले गरिन्छ । पहिलो– हात मोलेर र बोलेर । दोस्रो– मौन साधना गरेर । अन्याय भइरहेको वेला जो बोल्दैन, त्यो आफैँ अन्यायी हो । सत्ताले अन्याय गरिरहेको छ । मुर्दातुल्य संगठनका नाइकेहरू मौन भावले मुसुमुसु हाँसिरहेका छन् । यसलाई चाकडी भन्ने कि हस्तक्षेप ? मेरो प्रश्न यति मात्रै हो ।
प्रलेसका नवनिर्वाचित पदाधिकारीहरू मुर्दातुल्य संगठनका लागि सर्वाधिक योग्य छन् । कम्युनिस्ट पार्टी रहुन्जेल पार्टीले आफ्ना हनुमानहरूको लेखक संघ बनाइनै रहन्छ । आप्mना दुष्कर्महरूको ढाकछोप गर्न, गोयबल्स धन्दाको सुतीखेती गर्न, लोकका आँखामा छारो हाल्न, बागीहरूको चरित्र हत्या गर्न र तिनको छविको हत्या गर्न । अहिले भइरहेको त्यही त हो ।
वर्तमान लेखक संघ केवल खाने धन्दा गर्छ । पद, प्रतिष्ठा र पैसा प्राप्त गर्न प्रवृत्त भइरहन्छन् । पुरस्कार प्राप्त गर्न हत्ते हालिरहन्छन् । तिनले आफ्नो मालिकलाई प्रज्ञाप्रतिष्ठानमा ल्याएर प्रगतिशील लेखक संघको उद्घाटन गराउँछन् । पृथ्वीनारायणको जन्मजयन्ती मनाएर प्रश्न गर्ने नागरिकलाई सैनिक जर्नेलको जुत्ता हान्न लगाइरहन्छन् । तलको अखण्ड भक्ति, माथिको कृपापूर्ण बक्सिस– बस्, यही हो प्रलेसको चरित्र ।’
वैचारिक रूपमा अहिले समग्र विश्व नै नश्लीय दक्षिणपन्थमा गएको छ । प्रतिरोधी विचार विश्वव्यापी रूपमा संकटमा छ । यस्तो वेला प्रतिरोधी लेखकको साझा चौतारी अवश्य चाहिन्छ । अठ्तीसे साथीहरूसँग मेरो विनम्र आग्रह छ– लेखकहरू उभिने खुकुलो थलो बनाऊँ । मालिक र दासको उच–नीचबाट मुक्त स्वतन्त्र, स्वायत्त र जीवन्त लेखकीय चौतारी बनाऊँ । उदात्त पलायनकर्मी ब्रोहरूलाई मेरो सक्रिय सद्भाव र बधाई ।
---
(२०७५ चैत ३० गते नयाँ पत्रिकाको शनिबारीय अंक ‘झन् नयाँ’मा प्रकाशित)
No comments:
Post a Comment