Saturday, April 6, 2019

पार्टी निर्देशन मात्रै मान्नु बौद्धिक दासता हो : निनु चापागाईं


वामपन्थी लेखकहरूको पुरानो संस्था प्रगतिशील लेखक संघ (प्रलेस) ११औँ सम्मेलनको मुखैमा दुई धारमा विभाजित देखिएको छ । वि.सं. २००९ सालमा स्थापित प्रलेसको राष्ट्रिय सम्मेलन शनिबार काठमाडौंमा सुरु हुँदै छ । तर, सरकारविरोधी लेखकहरूले सम्मेलनमा सहभागी नहुने भनी वक्तव्य दिइसकेका छन् । यसै सन्दर्भमा प्रलेसका पूर्वअध्यक्ष तथा सल्लाहकार निनु चापागाईंसँग नयाँ पत्रिकाका दीपेश शाहीले गरेको कुराकानी :
 
प्रगतिशील लेखक संघ (प्रलेस)का सल्लाहकारदेखि केन्द्रीय तहका ३८ जना लेखकले वक्तव्य जारी गरी नयाँ साझा मञ्च निर्माणको आह्वान् गरेको घटनालाई कसरी लिनुभएको छ ?
हामी अहिले नयाँ परिस्थितिमा छौँ । हिजो राजतन्त्र हुँदा प्रलेसको स्थापना भयो । अहिले त्यो अवस्था छैन । परिवर्तित स्थितिमा प्रलेस कस्तो हुनुपर्ने भन्नेबारे सदस्यहरूबीच व्यापक र गम्भीर छलफल चलाउनुपथ्र्यो । त्यसमा नेतृत्वले गम्भीर चासो नलिएका कारण यस्तो स्थिति आयो कि भन्ने मलाई लागेको छ । मुख्य कारणचाहिँ अर्काे छ । प्रलेसका ९५ प्रतिशतभन्दा बढी सदस्य नेकपा (नेकपा)का सदस्य रहेको अवस्थामा पार्टी र सरकारका क्रियाकलाप तथा सांस्कृतिक सोचसमेत पूर्वसरकारहरूको भन्दा भिन्न नरहेको अवस्थामा त्यसविरुद्ध प्रलेसले आलोचनात्मक दायित्व पलपलमा कसरी निर्वाह गर्ला ? अब प्रलेस मञ्च नरहेर पार्टीको भातृसंगठन बन्ने बलियो सम्भावना देख्छु । त्यसैले मलाई यसरी वक्तव्य आउनु अनौठो र अस्वाभाविक लागेको छैन । प्रलेसले गर्नुपर्ने कार्यभारलाई महत्व दिने कि त्यस्तो हुन नसक्ता पनि संगठनको औपचारिकतालाई निरन्तरता दिइरहने ? मूल सवाल यो होजस्तो मलाई लाग्छ । 
०३६ सालमा प्रलेस पुनर्गठन भएयता धेरैपटक विवाद भयो । चौथो सम्मेलनमा चार–पाँच संगठनले बहिष्कार गरेका थिए । त्यतिवेला र यसपटकको विभाजनमा के भिन्नता देख्नुहुन्छ ?
त्यतिखेर सांगठनिक परम्परा मिच्ने परिपाटीविरुद्ध बहिष्कार भएको थियो । अहिले वैचारिक समस्या प्रमुख भएर देखा परेको छ । त्यसैले यो नितान्त भिन्न प्रकृतिको छ ।
नेकपा (नेकपा)सम्बद्ध लेखकहरू प्रलेसमा कोही बाहिरिए पनि फरक नपर्ने बताइरहेका छन् । सम्बन्धविच्छेद गर्नेको आरोप प्रलेस सरकारी पार्टीको भ्रातृसंगठन भयो भन्ने छ । के अब यो साझा मञ्चको औचित्य सकिएको हो ?
प्रलेसलाई साझा मञ्च भने पनि त्यसको सांगठनिक स्वरूप स्वायत्त संगठनको जस्तो छ, मञ्चको जस्तो होइन । अनि अरूले छाडेर गए भने यो मञ्चकै रूपमा कति रहला ? भिन्न विचारका प्रमुख घटकहरू नभए यो कसरी मञ्च होला ? आजको सन्दर्भमा संयुक्त मोर्चाको औचित्य सकिएको होइन, अझ बढी आवश्यकता छ । साम्राज्यवादको जगजगी देखिएको आजको वेलामा साम्राज्यवाद र सांस्कृतिक साम्राज्यवादविरुद्ध संयुक्त गतिविधि अपरिहार्य हुन्छ । यसबारे नयाँ किसिमले सोच्न आवश्यक छ । 
सत्तापक्षनिकट लेखकहरू सम्मेलनको तयारीमा छन् । फरक मत राख्ने बाहिरिइसके । सम्मेलनका प्रतिनिधिको मनोविज्ञान पनि विभाजित देखिन्छ नि ?
म प्रतिनिधिहरूलाई मात्र होइन, प्रगतिवादी साहित्यिक–सांस्कृतिक गतिविधिमा रुचि लिने सबैलाई आलोचनात्मक विवेकका साथ विषयलाई ग्रहण गर्न अनुरोध गर्छु । बोलिचालीको भाषामा भन्ने हो भने प्रलेस सामन्तवाद–साम्राज्यवादविरोधी साहित्यिक–सांस्कृतिक संस्था हो । तर, प्रलेसका सदस्यको व्यवहार कतिपय स्थितिमा यसको ठीक भिन्न देखिन्छ । सामन्तवादको एउटा हतियार धर्म हो र धार्मिक प्रकृतिका मानिस धेरै पहिलेदेखि यसका सदस्य मात्र होइन, पदाधिकारीसमेत रहँदै आएका छन् । नाम प्रगतिशील लेखक संघ छ, तर प्रगतिवाद र प्रगतिशील साहित्यको विरोधमा लेख्दै आएका मानिस यसका सदस्य बन्ने गरेका छन् ।
बौद्धिक दासता र लेखन एउटै कुरा होइन । आलोचनात्मक हस्तक्षेप गर्न हिचकिचाउने मानिस लेखनदास त बन्न सक्ला, लेखक कसरी हुन्छ ?
प्रलेसका अधिकांश सदस्य नेकपा (नेकपा)मा छन् । राजनीतिक रूपले नेकपा (नेकपा)ले भारतीय शासक वर्गसित साँठगाँठ गरेको आशंका गहिरोसित व्याप्त छ भने यसले साम्राज्यवादको एउटा रूप नवउदारवादका नीतिलाई खुलेआम समर्थन र क्रियान्वयन गरेको छ । यस्तो स्थितिमा प्रलेसले कसरी साम्राज्यवाद, प्रभुत्ववाद तथा विस्तारवादको विरोध गर्ला भन्ने आशंका स्वाभाविक रूपमा अन्य वामपन्थी वृत्तनिकट साहित्यकारबीच उत्पन्न भएको छ । सामन्तवादका अवशेष र साम्राज्यवादका हाँगाबिँगा प्रभुत्ववाद र विस्तारवादको विरोध गर्दैन भने कसरी यो सामन्तवाद–साम्राज्यवादविरोधी साहित्यिक संस्था रहिरहन्छ त ? अहिलेको मूल सवाल यही हो । प्रलेस विधानअनुरूप चल्न सक्छ कि सक्तैन ? गम्भीरताका साथ सोच्न र त्यसअनुरूप निर्णय लिन अनुरोध गर्छु । 
प्रलेसको विभाजन साहित्यिक विषय मात्रै हो कि कम्युनिस्ट आन्दोलनकै प्रभाव हो ?
यो विचारधारात्मक संघर्षकै द्योतक हो । त्यसैले यसमा वैचारिक ध्रुवीकरणको प्रभाव पनि छ ।
कम्युनिस्ट पार्टीहरू झन्झन् सत्ताधारी हुँदै जाने तर लेखक–बौद्धिकहरूचाहिँ पार्टीका आलोचक हुँदै बाहिरिने शृंखलाजस्तै देखिन्छ । यस्तो किन हुन्छ ? 
पार्टी र पार्टी नेतृत्व विचारधारात्मक तथा सांस्कृतिक अडानबाट च्यूत हुनु यसको कारण हो ।  उनीहरूको शब्द र कर्मबीच ठूलो अन्तर आउनु हो । माक्र्सवादले आलोचनात्मक चेतलाई निकै महत्व दिन्छ । तर, हाम्रा नेता वा सत्ताधारीहरू आलोचना पटक्कै रुचाउँदैनन् । लेखक वा बौद्धिकहरू पनि सबै विचारधारात्मक रूपले प्रतिबद्ध नहुन सक्छन् । कति त अवसर छोप्न नपाएर बाहिरिनेछन् । तर पनि कम्युनिस्ट विचार, आचरण र संस्कृतिबाट च्यूत हुने प्रवृत्तिले यो स्थिति निर्माण गरेको हो । 
‘प्रलेस विभाजन गर्नुहुँदैन’ भन्ने शुभेच्छा व्यक्त गर्नेहरू पनि त छन् ?
हेर्नुस्, म आफैँ पनि भावना र विवेकबीचको अन्तर्विरोधमा कहिलेकाहीँ अलमलिन्छु । म प्रलेसको पहिलो सम्मेलनबाट कोषाध्यक्ष भएँ, तेस्रो सम्मेलनबाट महासचिव, पाँचौँ र सातौँ सम्मेलनबाट दुईपटक अध्यक्ष चुनिएँ । आफूले लामो समयसम्म पसिना बगाएको संस्था विभाजित नभए हुन्थ्यो भन्ने मलाई पनि छ । तर, विवेकसामु भावनाले पराजित हुनैपर्ने हुन्छ । भावनामा मात्र बगेर त जीवन चल्दैन नि ! 
प्रतिबद्ध लेखकसामु देखिएका चुनौती के–के हुन् ?
पहिलो चुनौती विचारधारात्मक समस्या हल गर्नु हो । विचारधारात्मक रूपले आफूलाई सक्षम र सशक्त बनाउनु, माक्र्सवादलाई आजको स्थितिअनुरूप आत्मसात् गर्नु, समाजको व्याख्यामा भन्दा बढी समाज रूपान्तरणका लागि साहित्यको भूमिका र लेखकको दायित्वलाई गम्भीरताका साथ बोध गरेर क्रियान्वयन गर्नु, सांस्कृतिक र वैचारिक रूपले संसारभरि र नेपालमा समेत संशोधनवादको जुन लहर चलेको छ, त्यसविरुद्ध उभिनु सबैभन्दा ज्वलन्त चुनौती यिनै हुन् । 
 चुनौती बढेको छ भन्नुहुन्छ । यस्तो वेलामा सचेत लेखकहरूको दायित्व के हुन सक्छ ?
लामो समयसम्म काम गर्दा पाएको मेरो अनुभव के हो भने नेपालको कम्युनिस्ट आन्दोलनले सांस्कृतिक पक्षलाई खासै महत्व दिँदैन । कहिलेकाहीँ त नेतृत्वले सांस्कृतिक क्षेत्रलाई आफ्नो स्वार्थविपरीतसमेत ठान्न पुग्छ । यसविरुद्ध जुध्नु पहिलो दायित्व हो । सांस्कृतिक संघ–संस्था निष्प्रभावी हुनुमा पनि यसैले काम गरेको छ । एकातिर विचारधारात्मक रूपले प्रतिबद्ध हुनु र अर्कातिर त्यसका आधारमा आलोचनात्मक रूपले भूमिका निर्वाह गर्नु यही नै मुख्य दायित्व हो । विचारधारात्मक रूपले सक्षम पनि नहुने, आन्दोलनमा संस्कृतिको सर्वाेपरि महत्वबारे ज्ञान र चासो पनि नराख्ने र आलोचनात्मक रूपले विवेक प्रयोग गर्न पनि नसक्ने कार्यकर्ता आन्दोलनमा रहनुको म खासै औचित्य देख्तिनँ । 
राजनीतिक नेतृत्वलाई तत्कालै बदल्न सक्ने क्षमता लेखकहरूमा छैन । तसर्थ, पार्टी निर्देशनअनुसार काम गर्दै जाने हो भनेर सोच्ने लेखकहरू पनि छन् नि ?
विचारधारात्मक रूपले पार्टी वा आन्दोलन सही भएको परिप्रेक्ष्यमा एक सीमासम्म यस्तो भनाइको अर्थ रहन्थ्यो होला । अन्यथा, यो विनाशको लक्षण हो । बौद्धिक दासता र लेखन एउटै कुरा होइन । आलोचनात्मक  गर्न हिचकिचाउने मानिस लेखनदास त बन्न सक्ला लेखक कसरी हुन्छ ?
www.nayapatrikadaily.com बाट साभार 

No comments:

Post a Comment