Saturday, April 6, 2019

राजनीति संगठनमा टिक्न नसकेपछि आरोप लगाएका हुन् : डा. पुष्करराज भट्ट


डा. पुष्करराज भट्ट प्रगतिशील लेखक सघंको १० औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । प्रगतिशील लेखक संघको ११ औं सम्मेलन यही चैत्र २२ र २३ गते काठमाडौंमा हुँदै छ । सम्मेलनको पूर्व सन्ध्यामा प्रलेसको नीति कार्यक्रम तथा नेतृत्वबारे फरक फरक खालका टिका टिप्पणी भईरहेको बेला राष्ट्रिय सम्मेलन र यसको तयारी सम्बन्धमा उपाध्यक्ष डा. भट्टसँग कालीगण्डकी खबर डटकम का लागि  श्रमशीलले लिनुभएको अन्तवार्ता सारा संक्षेप :
(१) प्रलेस अवैचारिक व्यक्तिहरुको झुन्ड हो भन्ने आरोप छ नि ?
यस्तो आरोप लगाउने को हुन ? तिनको पहिचान हुनुप¥यो । तिनको नियत, चरित्र र स्वार्थको पनि पहिचान हुने बित्तिकै यसको उत्तर आइहाल्छ । कसैको फेर समातेर संगठनमा आएर, स्वार्थ पुुरा नहुने भएपछि कोकोहोलो मच्चाएर संगठन छोडनेले हल्ला मच्चाउँदैमा केही हुदैन । प्रलेसमा संगठन निर्माणका दृष्टिले, विचार निर्माणका दृष्टिले, सिर्जना र समालोचनाका दृष्टिले समृद्ध भएका मानिसहरुको ठूलो पंक्ति हिजो पनि थियो र आज पनि छ । यस्तो आरोप लगाउने आफैमा अवैचारिक व्यक्ति हुन् ।
(२) प्रलेसको वर्तमान केन्द्रीय समितिले गरेका कामहरु के के हुन्  ?
प्रलेसले यस कार्यकालमा गरेका प्रमुख काम यस प्रकार रहेका छन् :
प्रलेस परिसम्वाद कार्यक्रमका माध्यमबाट वैचारिक कामहरुको निरन्तरता ।
एक्काइस कार्यक्रम सञ्चालन ।
प्रकाशनका क्षेत्रमा तीन अंक प्रलेस प्रकाशन । जसमा नारी स्रष्टा अंक विशेष र कार्यपत्र विशेष अंक महत्वपूर्ण रहेका छन् ।
देशका विभिन्न ठाउँमा संगठनका वैचारिक गोष्ठी सम्पन्न । विगतमा पैंतिस जिल्लामा संगठन रहेकोमा हाल पचास भन्दा बढी जिल्लामा संगठन विस्तार ।
संगठनका राष्ट्रिय परिषद र केन्द्रीय समितिका बैठक राजधानी बाहिर पनि सम्पन्न । जस्तै राष्ट्रिय परिषदको बैठक इलाममा र केन्द्रीय समितिको बैठक ओखलढुङ्गामा सम्पन्न ।
कार्यकालभरि संगठनको नियमित कार्यालय संचालन । देशभरि सम्पर्क, समन्वय भएको ।
विभिन्न स्रष्टाका सिर्जनामाथि अन्र्तक्रिया, छलफल ।
(३) प्रलेस कमजोर नेतृत्वको हातमा परेको कारण विवाद आएको हो ?
प्रलेसको नेतृत्व कमजोर भएको कुरा झुठ हो । विगतमा काम नगरेर माखा भन्काएर बस्ने अग्रज भनाउँदाले ईष्र्या गरेर संगठनको विरोध गरे भने अर्कोतिर कसैको हुकुम प्रमांगीबाट आएका अवैचारिक, असहिष्णु, कार्यकालभरि निस्क्रिय तथा कथित मुट्ठीभर युवाले कार्यकालको अन्त्यमा बखेडा झिकेका हुन् । अरु केही होइन ।
(४) अन्य वाम घटकहरु धमाधम किन हट्दैछन् ?
हिजोका दिन गफ चुटेर बस्नेहरु संगठनमा कामको चाप बढेपछि टिक्न नसकेका हुन् । हिजोका दिनमा कुनै अमुक संगठनलाई गाली गरेर क्रान्तिकारी भइन्थ्यो अब काम गर्न नसकेपछि बाहनाबाजी गरेर निस्कने वातावरण तयार भएको हो । कतिपय संगठन चाहिँ प्रलेसको आन्तरिक कारण भन्दा पनि देशको राजनीतिमा देखिएको ध्रुविकरण र त्यस ध्रुविकरणले प्रभावित भएर पनि बाहिर गएका हुन् ।
(५) महिला, तराई, पिछडिएको क्षेत्र र जनजातिहरु उपेक्षित भएकै हुन् ?
छैन । यस कुुरामा कुनै सत्यता छैन । हामीले संगठनमा सकेसम्म सबैलाई मिलाएर नै अघि बढेका छौं । आफ्नो योग्यता भन्दा पनि केही न केहीका नामका राजनीति गर्नेले संगठनमा टिक्न नसकेपछि आरोप लगाएका मात्र हुन् । हाम्रो संगठनमा जातीय, लैङ्गीक र भेगीय रुपमा समावेशिता ल्याउने र संगठनलाई सबैको बनाउनका लागि लागिरहेकै छौं ।
(६) प्रलेस विरुद्ध राष्ट्रिय पत्रिकामा साहित्यका सेलिब्रिटीहरुको विरोध छ । यस बारेमा के भन्नुहुन्छ ? 
तिनलाई कसले सेलिब्रेटी बनायो ? पूूँजीवादीका मिडियाले उचालेर सेलिब्रेटी भएको आत्मरतिमा रमाएकाहरु माक्र्सवादी विरोधीका खेताला मात्र हुन् । विचारको आन्दोलन गरिरहेको प्रलेसमाथि आरोप लगाउनेहरुले जतिसुकै विचारका कुरा गरेपनि यी विचारशुन्य मानिस हुन् । हिजोको दिनमा लामो समयदेखि संगठनमा आबद्ध भएर सिर्जना र संगठनमा योगदान दिएका मानिस प्रलेसको पक्षमै छन् । कसैले एकाएक ल्याएर संगठनको पदमा पुगेका, हुति नभएका, विरोधी खेमाका पत्रिकाका बलले उफ्रिनेहरु छिट्टै भुुँइमा थचारिन्छन् । पूूँजीवादी मिडियाले आफ्नो स्वार्थ हुुँदासम्म प्रयोग गर्छ, स्वार्थ सकिने बित्तिकै छोडिदिन्छ ।
(७) पार्टीगत निर्णयबाट यो बाहिर आउनुु पर्दैन ?
यसमा संगठित व्यक्ति पार्टीसँग सम्बद्ध भएकोले पार्टीले एक किसिमले निर्णय त गर्छ । यसरी निर्णय गर्दा सम्बन्धित क्षेत्रमा लामो योगदान दिएर कामका क्षेत्रमा स्थापित व्यक्तिको राय, सल्लाह, सुझाव पनि लिएर काम गर्दा निर्णय परिपक्व हुने गर्दछ । यसो भएको हुुनाले कुनै अँध्यारो कोठामा बसेर महत्वपूर्ण निर्णयहरु गरिन्छन भने भोलिका दिनमा संगठन र संगठनमा आबद्ध व्यक्तिको जीवनमा गहिरो प्रभाव पर्दछ । सम्वेदनाहीन यान्त्रिकताले शासक र शासित मात्र जन्माउँछ । निर्णय प्रक्रियामा भागिदारको दायरा संकुचित हुुँदै गयो भने संगठनको काम प्रभावित हुन्छ र यसले भोलिका दिनमा समस्या मात्र निम्त्याउँछ । यसमा आबद्ध लेखकसँगको निर्णय प्रक्रियामा भागिदारी बढाउने गरी कार्य गरिनुपर्छ ।
(८) आफ्नो सक्रियताप्रति के भन्नुहुन्छ ?
मैले भ्याएसम्म आफ्नो क्षमताले संगठनको पक्षमा काम गरेको छु । आफ्नो बारेमा आफैले भन्दै हिँडनाले अंहकार जन्माउँछ । मैले संगठनमा बसेर के कति काम गर्न सकेँ वा सकिन, यस बारेमा संगठन र सबै साथीहरुलाई थाहा नै छ ।
(९) हरेक सम्मेलनमा युवा पुुस्ताको नेतृत्व किन पछि पर्छ ?
संगठन सञ्चालनको जिम्मा लिएका व्यक्तिहरुले पत्याउन लायक क्षमता नभएर पनि होला । नेतृत्वको वरिपरि घुमेर परिक्रमावादी बन्न नसकेर पनि होला । संगठनमा उमेरको कुरा भन्दा पनि कामको कुराले प्राथमिकता पाउनुपर्छ । जुुनसुकै उमेरको व्यक्ति किन नहोस्, उसमा संगठन सञ्चालनको क्षमता छ, सिर्जनात्मक एवम् वैचारिक नेतृत्व प्रदान गर्ने क्षमता छ भने उसलाई उपेक्षा गरिनु हुुँदैन । उमेरका आधारमा कसैमाथि पनि विभेद, अन्याय गरिनु हुुँदैन ।
(१०) तयारी कहाँ पुुग्यो ?
सम्मेलनको तयारी लगभग अन्तिम चरणमा पुगिसक्यो ।
(११) अन्त्यमा अगामी नेतृत्व बारे हालका पदाधिकारीसँग पनि छलफल भयो ?
भइरहेको होला ।
(१२) बाँकी केही भन्नु छ ?
ठीकै छ । नेपालको प्रगतिशील प्रगतिवादी साहित्यिक आन्दोलनको विकासका लागि प्रलेसले आफ्नो भूमिका खेलोस् । आबद्ध व्यक्तिहरु सबैले यसमा आफ्नो सहभागिता जनाउन सकुन् । मेरो कुरा यति नै हो ।
www.kaligandakikhabar.com बाट साभार 

No comments:

Post a Comment