Saturday, April 6, 2019

अठ्तीसे समूहको बहिर्गमन र साइँली - झलक सुवेदी

फोस्रो अहं र आडम्बरबाट बाहिर निस्कन पुरुषलाई बाध्य पार्ने साइँलीको कथा आमरूपमा समाजलाई प्रगतितिर लाने पक्षमा छ । 


यसै साता रामबाबु गुरुङ निर्देशित सिनेमा ‘साइँली’को ‘प्रिमियर सो’ हेर्ने मौका मिल्यो । यसअघि उनको कबड्डी र पुरानो डुङ्गा हेरेको थिएँ । तिनको कथा भन्ने शैली रमाइलो छ । तरुनी, तन्नेरीका आकर्षण, प्रेम र त्यसमा आइलाग्ने दुःखका आयामवरपरबाट यिनले समाजका अनेक कथा भन्ने गर्छन् । समयसँग संवाद गर्ने र समाजको भित्री तहमा विकसित हुने अन्तरविरोध, वर्ग र सत्ताका संघर्षहरू, सामाजिक पारिवारिक सम्बन्धलाई प्रभावित गर्ने मनोविज्ञानका नयाँ पुराना कथा भन्न पनि यी सिपालु नै छन् ।
साइँलीको कथा पनि प्रेमबाटै सुरु हुन्छ र त्यसले अर्थ सामाजिक उँच–निचका विभिन्न पाटा केलाउँदै जान्छ । हाम्रा छेउछाउका पात्रबाट कथा उन्नु तथा स्वाभाविक देखिने पात्र र संवादमार्फत सिनेमालाई समाजसँग गाँस्नु उनको विशेषता हो । यिनले यो कथामा एउटा नयाँ प्रयोग गरेका छन् । तीनजना मुख्य पात्र एकल पुरुष छन् । तीमध्ये वीरे नामको पात्र अविवाहित भएर एक्लो रहेको युवा छ, बाँकी दुई पुरुष घरजम र सन्तान भएपछि एक्लै भएका छन् । वीरेसँग बिहेअघि फुर्तिमानकी अविवाहित भतिजी सिंगो घरमा एक्लै बसेकी देखिन्छिन् । पसलकी महिलाले एक्लै पसल चलाएकी छिन् । आमा नभएकी साइँली एक्लै विदेश गएर धन कमाएर फर्केकी छिन् । 
स्त्री–पुरुषका विभिन्न मनोसामाजिक पक्षलाई स्वाभाविक रूपमा विकास हुँदै जान दिएर यिनले पुरुषका अनेक मनोविज्ञानका जटिलता केलाएका छन् । र, मुख्य पात्रमार्फत परम्परागत समाजले थोपरेको स्त्री–पुरुष या पति–पत्नी सम्बन्धमा रहेको पुरुष वर्चस्वको मनोविज्ञानलाई राम्ररी उधिनेका छन् । मुख्य पात्रका रूपमा रहेको पीताम्बर (पिते) ले साइँलीसँग प्रेम गर्छ । अनेक वाचा–कसम खाँदै बिहे गर्छ । ऋण तिर्नका लागि बिदेसिन खोज्दा कागजी प्रमाणमा झन्झट आएपछि जान सक्दैन । ऋणबाट लखेटिएर पारिवारिक जीवन संकटमा परेपछि साइँलीले बिदेसिने सुर कस्छे । 
यहीँबाट लोग्नेको मन बिथोलिन्छ, पुरुष मनको अहंमा ठेस लाग्छ । स्वास्नीले कमाउने र लोग्नेले स्वास्नीको कमाइ खानुपर्ने अवस्थासँग सम्झौता गर्न नसकेको पितेले जनाउने प्रतिक्रियामा समाजले थोपरेको स्त्री–पुरुष सम्बन्धको परम्परागत मान्यताले गर्दा कसरी पुरुष पीडित भएको छ, कसरी घर बिग्रेका छन् भन्ने केलाउँदै लगेको छ । स्वास्नी बिदेसिएपछि अहंमा चोट लागेर बरालिएको, बाउँठिएको पिते एकजना शिक्षिकासँग प्रेम गर्छ, जो अर्को गाउँबाट यता आएर परिवारभन्दा भिन्नै एक्लै बसेकी छिन् । साइँलीको अनुपस्थितिमा पीताम्बरसित नजिकिएकी शिक्षिकासितका सम्बन्ध र समस्या समाधान गर्न पनि महिला पक्षधर महिला नै अघि आउँछन् । परम्परागत भद्र भलाद्मीको भूमिकाबाट पुरुष लखेटिएका छन् । पीताम्बरको अहं शमन गरेर सिनेमा सकिएको छ । 
साइँलीले लोग्ने–स्वास्नीका सम्बन्धमा सम्झौताको पक्षधरता लिएको छ । पुरुष र स्त्रीबीचका परम्परागत सम्बन्धका मूल्यहरू भत्काएको छ । फोस्रो अहं र आडम्बरबाट बाहिर निस्कन पुरुषलाई बाध्य पार्ने साइँलीको कथा आमरूपमा समाजलाई प्रगतितिर लाने पक्षमा छ । परम्परागत बाटो मोड्न आवश्यक छ भन्दै समाजलाई आडम्बरी मनोविज्ञानबाट मुक्त हुन सिनेमाले प्रेरित गरेको छ । समकालीन नेपालको सन्दर्भमा यो प्रगतिशील या प्रगतिवादी कथा हो । पहिलो आधा समयसम्म अत्यन्त ढिलो अघि बढ्नु कथाको मुख्य कमजोरी हो । 
रामबाबु गुरुङको राजनीतिक आबद्धता मलाई थाहा छैन । उनी कुनै संघ–संगठनमा भए–नभएको पनि मलाई कुनै सूचना छैन । तर, यिनले जे–जस्तो सिनेमा बनाएका छन्, त्यो आजको सामाजिक जीवनका केही जटिलतामाथिको हस्तक्षेपको प्रयास हो । यस अर्थमा यसको सन्देश प्रगतिशील छ । प्रगतिशील लेखक संघ या कुनै माक्र्सवादी चोला ओढेको संस्थाको सदस्य हुनु–नहुनुले उनको यो निर्देशकीय भूमिकाको अर्थमा कुनै अन्तर पनि आउने होइन । 
यता यसै साता प्रगतिशील लेखक संघसँग आबद्ध ३८ जना लेखकले प्रलेसको अहिलेको वैचारिक मूल्य, संगठन सञ्चालनका विधि–विधान र परम्पराप्रति असहमति जनाउँदै संघबाट बाहिरिने वक्तव्य दिएका छन् । आहुती र नारायण ढकालको अगुवाइजस्तो देखिने यो वक्तव्यमा युवापुस्ताका केही उम्दाकोटीका -याडिकल लेखक तथा कवि सामेल छन् ।
प्रलेसको वर्तमान वैचारिकता र भिन्न मत सहन नसक्ने ढेडुपनमाथि अठ्तीसे समूहले जुन चिन्ता जाहेर गरेको छ, त्यसको कुनै अर्थ छैन
 
विनोदविक्रम केसी, स्वप्नील स्मृति, राजु स्याङ्तान, सरिता तिवारी, श्याम शाह, शकुन्तला जोशी र संगीतश्रोताहरूको यो समूह हाम्रो राज्य व्यवस्था, अर्थराजनीतिक प्रणाली, बजार, दलाल पुँजीवाद र राजनीतिक दल तथा तिनको नेतृत्वमा रहेका यथास्थितिवादी पश्चगामी सोचविरुद्ध पर्याप्त हस्तक्षेप गर्दै आएका सर्जकहरूको पुस्ता हो । उनीहरूको सिर्जनाबाट श्रमजीवी वर्ग, उत्पीडित समुदाय, महिला, दलित, मधेसी, बजारबाट उत्पीडन खेपेको समूह, अविकास र अव्यवस्थाको सिकार भएर या वर्गीय शोषणमा परेर विश्व पुँजीवादले थापेको सस्तो श्रमबजारको पासोमा परेको हरेकले एउटा आवाज पाउने गरेको छ । कमसेकम यो पंक्तिको प्रगतिशीलतामाथि या वैचारिक आबद्धतामाथि प्रश्न उठाउने ठाउँ कतै देखिन्न ।
यता प्रलेस आफैँ भोलिदेखि अधिवेशनमा छ । यसले एउटा नयाँ नेतृत्व चयन गर्नेछ । त्यो त्यसरी नै अघि बढ्नेछ, जसरी अघि बढ्दा अहिले सत्तारुढ रहेको नेकपाको अर्थराजनीतिक चिन्तन, कार्यक्रम र नेतृत्वलाई सहज हुनेछ । यसले सत्ताधारी कम्युनिस्ट पार्टीका विचारको पक्षपोषण गर्नेछ । यसको नेतृत्वले पायो भने अर्कोपटक प्रज्ञा प्रतिष्ठानलगायत संस्थामा नियुक्ति पाउने एउटा नयाँ पुस्ता हुर्काउनेछ । संस्थागत रूपमा यसको प्रतिस्पर्धा कांग्रेस समर्थक लेखक संघसँग हुनेछ । 
स्थापनाकालका राजनीतिक आदर्श र मूल्यलाई पूर्णतः गुमाइसकेको प्रलेस आफैँमा शिथिल भएर इतिहासका केही उज्याला दिनको बाँकीटाँकी प्रकाशमा मुजा परेका अनुहार चम्काउन खोजिरेहको जीर्ण बूढो बनेको छ । तर, नेकपा रहुन्जेल यसको मृत्यु हुनेछैन । यसको जीवन प्रणाली नेकपाको शक्तिमा निहित छ । प्रलेसको वर्तमान वैचरिकता र भिन्न मत सहन नसक्ने ढेडुपनमाथि अठ्तीसे समूहले जुन चिन्ता जाहेर गरेको छ, त्यसको भने कुनै अर्थ छैन । काँचो कट्मेरो भन्ने जान्दाजान्दै किनेर खाने र पछि पेट दुखेर पखाला लागेपछि विक्रेतालाई सराप्नुको अर्थवत्ता देखिन्न । 
श्यामप्रसादले स्थापना गरेर २०१७ सम्मको क्रममा यसमा जे–जस्ता प्रवृत्ति र अनुहार रहेका भए पनि २०३६ को जनमतसंग्रहकालको सेरोफेरोमा तत्कालीन विद्रोही नेकपा माले र चौथो महाधिवेशन समूहको राजनीतिक प्रभाव विस्तारका लागि लेखक तथा कलाकारलाई संगठित गर्ने आवश्यकताले यसको पुनर्जन्म भएको हो । कुनै पनि पार्टीलाई आफ्नो विचारधारात्मक कामलाई मानवीय रूप दिएर सामाजिक इन्जिनियरिङ गर्न लेखक तथा कलाकारको सहयोग चाहिन्छ । ‘लिबरल’हरूले समेत संगठन बनाएरै लेखकलाई संगठित प्रचार अभियानमा सामेल गरेका समयमा कम्युनिस्ट पार्टीले यस्तो गर्नु अनौठो पनि होइन । पञ्चायती निरंकुशताविरुद्धका राजनीतिक अभियानमा आमजनतालाई गोलबन्द गर्न प्रलेसवरपरका लेखक कलाकारले खेलेको भूमिकालाई न्यूनीकरण गर्न पटक्कै मिल्दैन । नेकपा क्रान्तिकारी हुँदा प्रलेसले क्रान्तिकारी भूमिका निर्वाह ग¥यो । नेकपाले वैचारिक रंग बदल्दै जाँदा प्रलेसको पनि स्वतः रंग बदलियो । भएको त्यही हो ।
यहीँनेर नमिल्ने कुराचाहिँ प्रगतिशील या माक्र्सवादी अथवा सामाजिक यथार्थवादी सर्जकले कुनै कम्युनिस्ट पार्टीप्रति प्रतिबद्ध हुनुपर्छ भन्नु हो । मलाई कम्युनिस्ट पार्टी कार्यकर्ताका रूपमा काम गरुन्जेल आवश्यकताले प्रलेसको संगठन बनाउनुपरेको थियो । तर, मलाई कहिल्यै सर्जकहरू यस्ता संगठनमा संगठित भए मात्र तिनको सिर्जनशीलता र प्रगतिशीलता फुल्छ भन्ने विश्वास लागेन । 

यतिवेला प्रगतिशील लेखक संघबाट बाहिरिने सर्जकले सिर्जनात्मक हस्तक्षेपका आयामबारे जे कुरा अघि सारेका छन्, त्यसमा असहमत हुनुपर्ने म ठाउँ देख्दिनँ । तर, प्रलेससँग असहमत हुनेबित्तिकै पार्टी विभाजित हुँदा सनातन रूपमा कम्युनिस्ट नेताहरूले एकअर्कालाई गाली गरेजस्तै भाषामा वक्तव्यबाजी गर्नुको पनि कुनै अर्थ छैन । यी स्वनामधन्य सर्जकमा देखिएको आक्रोशको अर्थ भेट्न गाह्रो छ । यसरी हेर्दा केही हदसम्म तत्कालीन माओवादीमा आएको विभाजनको छाया यसमा देखिन्छ ।आफ्ना रचनात्मक सामथ्र्य र शक्तिका आधारमा अलग पहिचान बनाएका लेखकले प्रलेसमा नअटाउने भएपछि प्रलेसमा बस्छु र काम गर्छु भन्नेलाई शुभकामना दिएर निस्केको भए हुन्थ्यो । 
सिर्जनात्मक क्षमताको विकास र जनपक्षीय मुद्दामा लेखकीय हस्तक्षेप गर्न कुनै व्यवस्थित संगठन चाहिन्छ भन्ने छैन । अठ्तीसे मित्रहरूले पनि अर्को लेखक समूह नै बनाउने ध्याउन्न राखेका हुन् भने त्यसको पनि विभाजन र विनाश अनिवार्य छ । खुकुलो मोर्चा र सहकार्यका बाटोबाट संवाद र बहसमा रहन छाडेर सिर्जनाका लागि वैचारिक प्रतिबद्धताका सीमा कोर्दै बस्नेले अघि बढ्ने बाटो आफैँ रोक्छन् । आफ्नो रचनात्मक सामथ्र्यमाथि विश्वास नगर्नेले मात्र संस्था र संगठनको छाता खोज्छ । अन्ततः त्यो पनि कुनै दल या पार्टीविशेषको सहयोगीमा रूपान्तर हुन्छ र खास समयमा गएर यथास्थितिवादमा फस्छ ।
मलाई लेखक संघहरूमा कत्ति पनि विश्वास छैन । संगठित हुने र कुनै दल विशेषका पक्षमा काम गर्नेलाई पनि त्यसो गर्ने स्वतन्त्रताको म सम्मान गर्छु । 
आफैँले मत दिएको नेता या समर्थन गरेको पार्टीको सरकारका काममा रहेका दलाल पुँजीवाद या बजारतन्त्र पक्षधर, विभेदकारी, यथास्थितिवादी कार्यक्रम र चिन्तनविरुद्ध मज्जाले बोल्न नसक्नेहरू कहिल्यै प्रगतिवादी हुन्नन् । सिर्जनात्मक क्षमतालाई कम्युनिस्ट पार्टीले नियन्त्रित गर्न खोज्दा सोभियत समाजवादको पतन भएको इतिहास ताजै छ । 
प्रलेसमा रहनेहरूलाई साँच्चै आफ्नो संस्थाले नेपालमा आमप्रगतिवादी सर्जकको छाताको काम गर्नुपर्छ भन्ने लाग्थ्यो भने तिनले आफ्नो संस्था र राज्यसत्ताका काम या विचारधारासँग असहमत अनेक प्रगतिवादी विचार भएका लेखकलाई मज्जाले वैचारिक मन्थन गर्ने थलोका रूपमा प्रलेसलाई अघि लानुपथ्र्यो । नयाँ पुस्ताको आलोचनात्मक चेत भएका सर्जकको समूह प्रलेसबाट बाहिरिएपछि प्रलेसले आफ्नै संरक्षक दलको भविष्यलाई समेत कमजोर बनाएको छ । इतिहासबाट पाठ नसिक्नेले माफी पाएको कहिल्यै थाहा छैन । आलोचनात्मक चेत बाहिरिएपछि रहने भनेको भक्तिधारा मात्र हो । यसले वैचारिक बहसप्रति नेकपाको दरिद्र चिन्तनको  भण्डाफोर गरेको छ ।
www.nayapatrikadaily.com बाट साभार 

No comments:

Post a Comment