९ वैशाख २०७७ , काठमाडौं । सामान्यतः प्रगतिशील लेखनलाई जनताको लेखन मानिन्छ । आम नागरिकले भोग्ने दुःख र शोषणविरुद्ध लेखिने यस धारको लेखनलाई ‘जनवादी साहित्य’ पनि भन्ने गरिन्छ ।
नेपालमा ‘प्रगतिशील लेखक संघ’ गठन भएको सात दशक पुग्दैछ । यसक्रममा प्रगतिशील लेखनको मुद्दामा सयौं बहस, छलफल र अभियान चलेको छ । नेपाली प्रगतिशील लेखनको इतिहास केलाउँदा मनमा स्वाभाविक प्रश्न उठ्छ– आजको प्रगतिशील लेखन कस्तो अवस्थामा छ त ?
आख्यानकार नारायण ढकाल पहिलेको तुलनामा अहिले प्रगतिशील लेखन कमजोर भएको बताउँछन् । उनका अनुसार प्रगतिशील लेखनमा जोडिएका धेरैको चिन्तन र जीवन–दर्शन सतही बन्न पुगेको छ । ‘लेखकहरू सिर्जनात्मक गुणवत्ताभन्दा सत्ता र शक्तिको पछि कुद्न थाले’, उनी भन्छन्, ‘उनीहरूको झरिलो लेखन स्वतः सेलाउन पुग्यो ।’
मार्क्सवादी सौन्दर्यचिन्तक निनु चापागाई पनि सत्तासँग नजिक हुने मोहले धेरै प्रगतिशील लेखकलाई बिगारेको देख्छन् । यद्यपि, प्रगतिशील लेखनको प्रभुत्व र वैचारिक धार भुत्ते भइनसकेको उनको जिकिर छ । उनको विचारमा आज नेपाली साहित्यमा देखिएका ‘पहिचानको मुद्दा’ र ‘आदिवासी चेतना’को जग प्रगतिशील चिन्तन नै हो ।
यसैले प्रगतिशील विचार–दर्शन सधैं परिवर्तनको आधारशीला बन्ने उनी बताउँछन् । ‘प्रगतिशील लेखन भनेको प्रतिरोधको आन्दोलन हो, यसमा सिथिलता पक्कै आएको छ, लेखकको व्यक्तिगत क्षमता र लगनशीलताले पनि प्रभाव पार्छ नै’, चापागाई भन्छन्, ‘प्रगतिशील लेखनसँग जोडिएका लेखकहरुले आफैँलाई तिखार्न जरुरी छ, नत्र लेखन भुत्ते बन्छ ।’
प्रगतिशील लेखक संघका सल्लाहकार मातृका पोखरेल प्रगतिशील भनेपछि त्यसभित्र पर्ने सबै कुरा निरन्तर परिवर्तनशील हुने बताउँछन् । प्रगतिशील लेखनमाथि निरन्तर विचार–विमर्श हुन आवश्यक रहेको उनको तर्क छ ।
वामपन्थी चिन्तक एवं लेखक आहुती भने यसमा अलि फरक मत राख्छन् ।
दलाल पुँजीवादको दबदबा भएको आजको युगलाई नेपाली प्रगतिवादी लेखनले हाँक दिन नसकेको उनको मूल्यांकन छ । ‘२००६ सालबाट निर्मित मार्क्सवादी आन्दोलनको ठूलो समूह अहिले दलाल पुँजीवादको हिस्सा बन्न पुगेको छ’, आहुति भन्छन्, ‘दलाल पूँजीवादले प्रगतिशील साहित्यको ठूलो फौजलाई निष्क्रिय बनाएको छ ।’
प्रगतिशील होइन, अगतिशील
गोपालप्रसाद रिमाल, श्यामप्रसाद, गोकुल जोशी, केवलपुरे किसान, पारिजात, रमेश विकल, आनन्ददेव भट्ट, गोविन्द भट्ट, बालकृष्ण पोखरेल, हृदयचन्द्रसिंह प्रधान, निनु चापागाई लगायतका अनेक यशस्वी साहित्यकार र सौन्दर्यशास्त्रीहरुले नेपालमा प्रगतिशील लेखनको गौरवशाली परम्परा बसाएको प्राध्यापक अभि सुवेदी बताउँछन् । उनी भन्छन्, ‘दुर्भाग्यवस्, आज यो परम्परा बलशाली बन्न सकिरहेको छैन ।’
विसं. २००९ असोजमा श्यामप्रसादको अध्यक्षतामा गठित ‘प्रगतिशील लेखक संघ, नेपाल’ले लेखनका तीन आधार बनाएको थियो– मार्क्सवादी शौन्दर्यशास्त्र, सामन्तवाद विरुद्ध सिर्जना र साम्राज्यवाद विरुद्ध लेखन । त्यसपछिको चार दशकमा प्रगतिशील लेखनको एउटा सशक्त परम्परा बस्यो । त्यस कालखण्डमा सामन्तवाद र साम्राज्यवाद विरुद्ध लेखियो र प्रगतिशील बन्यो ।
‘आज भूमण्डलीकृत पूँजीवादका विरुद्ध धावा बोल्नुपर्ने समयमा भने रचनाको प्रभाव कमजोर बन्न पुगेको छ’, आहुति भन्छन्, ‘भूमण्डलीकृत पूँजीवादको प्रतिरोधमा बोल्न–लेख्न नसक्नेबाट न प्रगतिशील लेखन हुन सक्छ न त कसैले प्रगतिशील लेखक भएको दाबी गर्दैमा उसलाई मान्न सकिन्छ ।’
रचनामा विचारको प्रधानता रहनु प्रगतिवादी साहित्यको बिषेशता मानिन्छ । तर, आज प्रगतिशीलताको नाममा लेखिएका साहित्यमा राजनीतिक दल र त्यसभित्रका पनि गुट विषेशको पैरवी हुने गरेको धेरैको मूल्यांकन छ ।
साहित्यकार अभय श्रेष्ठ त्यसैले प्रगतिशील लेखनबारे गतिलो विमर्श आवश्यक देख्छन् । उनी भन्छन्, ‘किनभने, आम नागरिकको आवाज बोल्ने लेखनधारा निकै कमजोर भइसकेको छ ।’
आफ्नो लेखनमाथि आफैँ निर्मम बन्न सक्ने लेखक मात्र प्रगतिशील हुनसक्ने आख्यानकार ढकालको मत छ । उनका अनुसार, प्रगतिशील लेखनमा जोडिएका सर्जकसँग आलोचनात्मक गुण हुनैपर्छ । ‘सत्ता, पुँजी र शासनको छत्रछायामा लेखकको आलोचनात्मक चेत स्वतः हराउन पुग्छ’, उनी भन्छन्, ‘यसपछि उसको साहित्य प्रगतिशील होइन, अगतिशील बन्न पुग्छ ।’
प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष डा. अमर गिरी भने आजको प्रगतिशील लेखनलाई कमजोर भन्न नमिल्ने बताउँछन् । ‘नेपाली समाजको समकालीन तस्बिर र उन्नत समाज निर्माणको चाहना आजको प्रगतिशील लेखनमा छ’, उनी भन्छन, ‘कलात्मक मूल्यका दृष्टिमा पनि प्रगतिशील लेखन पछाडि छैन ।’
आजको प्रगतिशील लेखन साम्राज्यवाद र प्रभुत्ववादको बिरुद्व पनि बलियोसंग उभिएको डा. गिरिको जिरह छ । ‘हाम्रो प्रगतिशील लेखन धर्म, लिङ्ग एवं जातका आधारमा गरिने समस्त विभेद–उत्पीडन विरुद्व पनि उभिको छ ।’
छिन्नभिन्न लेखक संघ
‘नेपालमा साझा भनिएका सबै जनवर्गीय संगठन फुट्ने गर्छन् । तर प्रलेस छ दशकभन्दा बढी समयदेखि सबै बामपन्थी लेखकको साझा संस्था बनेको छ ।’
दुई वर्षअघिसम्म यो भनाइ प्रगतिशील लेखक संघ (प्रलेस)ले गर्ने हरेक कार्यक्रम सञ्चालकले बोल्ने वाक्यांश थियो । तर, अहिले प्रलेस पनि फुटिसकेको छ । २०७४ माघमा विष्णु भण्डारीसहित २५ जना संघमा नरहेको भन्दै हिँडेपछि प्रलेसमा आवद्व वामपन्थी लेखकमध्ये कोही संस्थापन पक्ष बनेर बसेका छन् । धेरैजसो संघको औचित्य सकिएको भन्दै लाखापाखा लागेका छन् ।
प्रलेसलाई सत्ताको आशिर्वाद थाप्ने ठाउँ बनाउने अभ्यासले प्रश्रय पाएपछि आफुहरु छाडेर हिडेको बताउने भण्डारीले ‘समाजवादी लेखक संघ’ खोलेका छन् । उनीहरूको संस्थाले अवलम्वन गरेको वैचारिक आधार चाहि के छ त ? नयाँ लेखक संघ र पुरानो प्रलेसमा के भिन्नता छ ?
जवाफमा भण्डारी भन्छन्, ‘वैचारिक आधार एउटै भए पनि अब हामी नयाँ विचार र सैद्धान्तिक मान्यतामा विश्वास गर्छौँ । र, हामी वैचारिक स्खलनलाई चिरेर प्रतिबद्ध र जनपक्षीय साहित्य रचना गर्न अघि सर्छौँ ।’
प्रलेसलाई चाहिँ अहिले प्राध्यापक जीवेन्द्रदेव गिरी र समिर सिंहले क्रमशः अध्यक्ष र महासचिवको रुपमा जेनतेन जिवित राखेका छन् ।
www.onlinekhabar.com बाट साभार
No comments:
Post a Comment