Friday, June 26, 2020

अब नवउदारवाद र संसदवादले धान्नेवाला छैन - मोहन बैद्य 'चैतन्य'


शमी : साहित्य र राजनीतिको अन्तरघुलनलाई कसरी नियाल्नुभएको छ ?

चैतन्य : साहित्य र राजनीति फरक फरक विषय हुन् । साहित्य कलात्मक हुनुपर्छ, यो बिम्ब, प्रतीक, अलङ्कार, भावधारा र सौन्दर्यसँग जोडिएको हुन्छ । राजनीति, राज्यसत्ता, क्रान्ति, रणनीति, कार्यनीति जस्ता विषयवस्तुसँग जोडिएको हुन्छ । यी दुवै सामाजिक चेतनाका क्षेत्र त हुन् तर, सामाजिक चेतनाका भिन्नभिन्न रूप हुन् । यस अर्थमा यी दुवैको सम्बन्ध छ । विषयवस्तुका हिसाबले हेर्दा साहित्यका निम्ति राजनीति पनि विषयवस्तु हुन्छ । विषयवस्तु त जे पनि हुन्छ । कैयौँले साहित्यमा राजनीतिक विषयवस्तु हुनुहुँदैन भन्छन् । साहित्यमा राजनीतिक विषयवस्तु त हुन्छ हुन्छ । वर्ग सङ्घर्षमय समाजमा जहाँसुकै र जमानादेखि नै यो हुँदै आएको हो । रामायण, महाभारत ठुलाठुला साहित्य हुन् । महाकाव्यै मानिन्छन् । युद्धैयुद्धले भरिएको छ । त्यसकारण राजनीतिक युद्धसँग सम्बन्धित सबै विषय साहित्यका विषयवस्तु हुन्छन् । तर के छ भने साहित्य साहित्य हुनका लागि कलात्मक हुनैपर्छ । त्यहाँ सौन्दर्यतत्व हुनुपर्छ । भावभारा हुनुपर्छ । त्यहाँ बिम्ब, प्रतीक र अलङ्कार हुनुपर्छ । त्यसकारण राजनीति र साहित्य फरक फरक विषय पनि हुन् र सम्बन्धित पनि छन् ।

शमी : यहाँले नेपाली साहित्यमा जुन कला, बिम्ब, प्रतीक, अलङ्कार, भावधारा र सौन्दर्यतत्वको कुरा गर्नुभयो, साहित्य र राजनीतिको अन्तरसम्बन्धको कुरा गर्नुभयो, के पछिल्लो समयमा हाम्रो साहित्य त्यसअनुरूपको छ ?

चैतन्य : मैले नेपालको मात्र होइन विश्वसाहित्यकै कुरा गरेको हो । साहित्यमा कला, बिम्ब, प्रतीक, अलङ्कार, भावधारा र सौन्दर्यतत्वको कुरा जहाँसुकै हुन्छ । मैले विश्वसाहित्यकै सन्दर्भमा यो कुरा गरेको हो । नेपालमा पनि यो लागु हुन्छ ।

शमी : यहाँले साहित्यिक नाम चैतन्य किन राख्नुभएको हो ?

चैतन्य : वास्तवमा यो चैतन्य नाम राख्नुका पछाडिको कारण छ । पञ्चायत कालमा साहित्य लेख्दा यो नाम जुराइएको हो । भूमिगत कालमा वास्तविक नामबाट लेख्ने कुरा सम्भव थिएन । यो मेरो चैतन्य नाम पारिजातले जुराइदिनुभएको हो ।

शमी : यहाँले मार्क्सवादी दर्शनलाई जोडेर लेख्नुभएको एउटा लेखमा मार्क्सवादमा माओवादका थप आयामलाई समावेश गर्नुपर्छ भन्नुभएको थियो । त्यसको खास आशय के हो ?

चैतन्य : यसमा के छ भने मार्क्सवाद मूलतः उत्पीडित र पीडित वर्ग जनसमुदायको मुक्तिको सिद्धान्त हो । यो विकसित हुँदै गएको छ र जान्छ पनि । मार्क्सवादमा लेनिनवाद हुँदै माओवाद जोडिएर आएको छ । यो वैज्ञानिक समाजवादसँग सम्बन्धित छ । यो दर्शन पनि हो । विधि पनि हो । माक्र्सले त्यस ढङ्गले विश्लेषण गर्नुभएको हो । साहित्यमा पनि यो उत्तिकै लागु हुन्छ । यो विकसित हुने क्रममा मार्क्स  र लेनिनका प्रस्तावना हुँदै माओवादसम्म अझ विकसित हुँदै आएको छ भन्ने हिसाबले मैले उल्लेख गरेको हुँ ।

शमी : जनयुद्धकालीन साहित्यलाई कतिपयले साहित्य मान्न सकिँदैन भन्छन्, कतिपयले त्यो कालखण्डले अहिलेको चेतना र परिवर्तन ल्याएको भन्छन्, यसलाई यहाँले कसरी नियाल्नुहुन्छ ?

चैतन्य : नेपाली समाजको विकास प्रक्रियामा प्रगतिशील धारा र प्रगतिवादिताको भूमिका छ । प्रगतिशीलता त पहिला पनि थियो तर, यो धारा खासगरी २००७ को आसपासदेखि विकसित हुँदै आयो । विभिन्न राजनीतिक आन्दोलनले साहित्यलाई र साहित्यिक सांस्कतिक आन्दोलनले राजनीतिलाई ऊर्जा दिने काम गर्दै आएको छ । यसै प्रक्रियामा जनयुद्धको एउटा परिवेश देखा पर्यो, प्रगतिशील साहित्यले अलि माथि फड्को हान्यो । मलाई लाग्छ, जनयुद्धले नयाँ यथार्थलाई उद्घाटित गर्ने र निकै उचाइमा पुर्याउने काम गर्यो  । यस प्रक्रियामा साहित्यका विविध विधा कविता, कथा, निबन्ध, उपन्यास, संस्मरण, गीत, सङ्गीत, समालोचना र सौन्दर्यचिन्तनको क्षेत्रलाई त्यसले निकै माथि उठायो । साहित्यकारहरूको ठूलो पुस्ता यहाँ आयो । यसबेला जनयुद्धमा सौन्दर्यशास्त्र विकसित भयो भनेर पनि हामीले भन्यौँ । वर्ग सङ्घर्षको बीचबाट साहित्य अगाडि बढ्ने कुरा हुन्छ । त्यसकारण जनयुद्धले नेपाली साहित्यलाई एउटा नयाँ उचाइ दियो भन्ने मलाई लाग्छ ।

शमी : जनयुद्धका कालखण्ड र अहिलेको राजनीतिक परि स्थितिका बीच साहित्यिक परिवेशलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? प्रगतिशील लेखक सङ्घहरू पनि छन् । त्यसमा यहाँहरू पछिल्लो समय अलग हुनुभएको छ, मूलरूपमा देखि अहिलेसम्मको परिस्थितिको तुलना कसरी गर्नुहुन्छ ?

चैतन्य : प्रगतिवादी साहित्य लामो पष्ठभूमिबाट आएको छ । साहित्यमा कैयौँ धारहरू विकसित हुँदै आएका छन् । यो मूलतः सिङ्गो साहित्यको मूल धार पनि बन्दै आयो र विकसित भइसकेको धारा हो । साहित्यमा विभिन्न धाराका बीच दष्टिका हिसाबले प्रगतिशीलता र प्रगतिवाद जोड्दा यो साहित्यमा एउटा समानान्तर धारा हुँदै मूलधार बन्न आयो । हामीले एउटा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने मान्यताका साथ अगाडि बढेका थियौँ, त्यसमा धक्का खायौँ । हामी जुन संसदीय व्यवस्थाविरुद्ध लड्यौँ, घुम्दै फिर्दै त्यही व्यवस्थामा आयौँ । होइन भन्नुस् त ? यही संसदीय व्यवस्थालाई संस्थागत गरेर जाने भनेर साथीहरूले भन्न थाल्नुभएको छ, अब यो हिसाबले जाँदा संसदीय व्यवस्था संस्थागत हुने भयो । यस्तो स्थितिमा स्रष्टाहरूको भूमिका के हुन्छ त ? स्रष्टाहरु पनि विभिन्न पार्टी र धारमा आबद्ध छन् । संसदीय व्यवस्थाका पक्षधरहरूसँग एकताबद्ध हुनेहरूले प्रगतिवादी साहित्यको धारलाई कसरी बढाउन सक्छन् ? तिनीहरू कति टिक्न सक्लान् ? धार त यहाँ प्रयोगवादी र उत्तरआधुनिकतावादी पनि छ । संसदीय व्यवस्थालाई संस्थागत गर्न चाहनेहरूलाई स्रष्टाहरूको एउटा हिस्साले समर्थन गरेको छ तर कैयौँ लेखक कलाकारहरूले त्यसमा समर्थन गरेका छैनन् । राजनीतिमा बहुलवादको समर्थन गर्नेहरू छन्, कैयौँको त्यसमा समर्थन छैन । सत्ता र संसदवादको समर्थन गर्नेहरू त्यस धारमा कति टिक्लान् ?

अब आयो प्रलेसको कुरा, हामी पहिला त्यो साझा मोर्चामा गयौँ, त्यहाँ संसदीय र वर्तमान सत्ताको बहुमत पक्ष छ, त्यसकारण पहिला जुन धारसँग लडियो, अहिले त्यसले सत्ताको विरोध नगर्ने हो भने यसको औचित्य के त ? सत्ता र संसद्को समर्थन गरेपछि अब उनीहरू कसका विरुद्ध लड्ने ? हुन त प्रलेसमा राम्रा स्रष्टाहरू पनि छन् । त्यसकारण संसद्वादलाई स्वीकार गर्ने लेखकहरूले सामन्तवाद, विस्तारवाद र साम्राज्यवादविरुद्ध कसरी लड्न सक्छन् ? प्रगतिशील आन्दोलनको लक्ष्य सङ्घर्ष हुनुपर्ने हो नि ? अहिलेको सत्ताले सामन्तवाद, विस्तारवाद र साम्राज्यवादकै प्रतिनिधित्व गर्न सक्दैन । त्यसकारण अब प्रलेसले सङ्घर्षको भूमिका खेल्न सक्दैन । त्यहाँ सहमत नहुनेहरूले अर्को  मोर्चा पनि बनाउन सक्छन् । व्यक्तिमा भन्दा पनि मोर्चालाई स्थापित गर्नुपर्ने कुरा हो । त्यसकारण अहिलेको अवस्थामा प्रलेसबाट अगाडि बढ्न सकिँदैन भन्ने हामीलाई लागिरहेको छ ।


शमी : हिजो संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने स्थल भनिन्थ्यो । अहिले सत्तामा पुगेपछि कम्युनिस्ट बिग्रेको वा विगतका कथाव्यथा बिर्सेको जस्तो देखिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सन्दर्भमा पनि यही लागु हुन्छ । यो देखेर यहाँलाई पीडा हुँदैन ?

चैतन्य : स्थिति अलि गम्भीर छ । अब तपाईँले एकेडेमीका कुरा गर्नुभयो । यसले लेखकीय सत्ताको प्रतिनिधित्व गर्दछ । यसको विशेषता के हो भने सरकार र सत्तामा जो छ, उसैको पक्षमा लेख्ने । पञ्चायत कालमा पनि सरकार बाहिरकालाई स्थान दिनु हुँदैन भनियो । यसै गरी यो अघि बढ्यो । बहुदल आएपछि यसमा काँग्रेस पक्षहरू हाबी भए । अहिले आउँदा यसमा अधिकांश पूर्व एमाले धारका साथीहरू हुनुहुन्छ । अरू साथीहरू पनि हुनुहुन्छ । अब उहाँहरूले कस्तो साहित्य सिर्जना गर्ने हो ? हुन त आफ्नो हिसाबले कोसिस गरिहनुभएको छ । रूपमा भन्ने हो उहाँहरू आफ्नो हिसाबले कोसिस गरिरहनुभएको छ तर सारमा संसद्वादविरुद्ध रहने र समाजवादतर्फ जाने उद्देश्यबाट यो प्रेरित छैन ।


निश्चित रूपमा सबै खालका र प्रगतिशील प्रगतिवादी स्रष्टालाई एउटै मञ्चमा समेटिने कुरा अहिले तत्काल सम्भव नहोला तर संसद्वादविरोधी हामी लेखक कलाकारहरू एक ठाउँमा जुट्नका लागि पहल गरिरहेका छौँ ।

शमी : जनयुद्धदेखि यहाँ एक प्रकारको गुरुको रूपमा हुनुहुन्छ, त्यो बेलाको पार्टी अहिले चार चिरा भएको छ । यहाँले नै प्रचण्डलाई उत्तराधिकारी बनाउनुभएको, ती साथीहरू र जनयुद्धका फर्केर बेपत्ता र घाइते परिवारलाई सम्झेर समीक्षा गर्नुपर्दा कसरी गर्नुहुन्छ ?

चैतन्य : पहिलो कुरा त आन्दोलनमा एउटा नयाँ अनुभव र अनुभूति पनि हुँदो रहेछ । म आफूलाई आन्दोलनको गुरु त भन्दिनँ । हामी प्रचण्डजी, बाबुरामजीहरूसँगै बसेर जनयुद्ध लडेका हौँ । साथीहरू अहिले यो रूपमा आउनुहोला भन्ने त्यस बेला लागेको थिएन । बाबुरामजीले त सबै छोडेर जानुभयो । उहाँले मार्क्सवाद पनि छोड्नुभयो । छोड्न त अरूले पनि छोडे तर, उहाँले चाहिँ घोषित रूपमा छोड्नुभयो । यो अलि विचित्रै भयो । बाबुरामजी आफूलाई राजनीतिज्ञ र बुद्धिमान् मान्नुहुन्छ ।

त्यत्रो महत्त्व बोकेको मार्क्सवादलाई अहिले आएर उहाँ आफ्ना लेखहरूमा मार्क्सवाद काम नलाग्ने भन्नुहुन्छ । कस्तो विद्वान् हो उहाँ ? प्रचण्डजीले रूपमा आफूले मार्क्सवाद छाडेको भन्नुभएको छैन तर सारमा भने छाडिसक्नुभएको छ । हामीले मार्क्सवाद र माओवाद भनेका थियौँ । माओवाद कता हरायो ? प्रचण्डपथ त कता हरायो हरायो कता । प्रचण्डपथ भन्नु पनि गल्ती गरिएछ भन्ने लागेको छ । विप्लवजीको पनि कता हो र के के हो भएको छ, यद्यपि विप्लवजीले वर्तमान सत्तालाई स्वीकार नगरेर एक प्रकारको सङ्घर्ष गरिरहनुभएको छ । त्यस बेला हामी यसरी बेग्लाबेग्ला भइएला भन्ने सोचेका थिएनौँ ।

शमी : यसले यहाँलाई चिन्तित तुल्याउँछ ?

चैतन्य : अब राजनीतिमा चिन्ता र दुःख गरेर पनि नहुने । हामी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवाद स्थापनाको दिशामा निरन्तर लाग्नुको विकल्प छैन । जे हुनु भइसकेको छ । यति हुँदा पनि हामीले वैज्ञानिक समाजको यात्रालाई अगाडि बढाउने क्रममा निरन्तर लाग्नुपर्छ ।

शमी : कस्तो विडम्बना, जनयुद्धसँगै लडेका बादलजी गहमन्त्री हुँदा आज माइला लामा, उमा भुजेलहरूलाई जेलमा कोचेको देख्दा यहाँलाई कस्तो अनुभूत हुन्छ ? कष्णबहादुर महरालाई पनि फसाइएको छ, कतै माओवादीलाई सिध्याउने खेल त होइन ?

चैतन्य : सबैभन्दा पहिलो कुरा त त्यत्रो सङ्घर्ष गर्दै आएका कम्युनिस्टहरूले वामपन्थी पार्टीलाई यो अवस्थामा लानु एकदम गलत कुरा हो । त्यस बेलाका साथीहरूलाई पक्राउ गर्ने यो तरिका सही होइन । तपाईँले भनेजस्तो मलाई जनयुद्धको सम्झना आइरहन्छ । फेरि साथीहरू पक्रने उही चक्र देखिएको छ । हिजो हामीलाई पक्रने अरू थिए, आज साथीहरू नै छन् । त्यसकारण उहाँहरूले सत्तामा बसेर गम्भीर गल्ती गर्नुभएको छ, हिजो प्रतिगामी सत्ताले जे गरेको थियो, त्यही गर्नुभएको छ । उहाँहरूलाई मार्क्सवादी, साम्यवादी र समाजवादी हुँ भन्न सुहाउँदैन । लेख्न न त समाजवाद भनेर लेख्नुहोला तर सुहाउँदैन । यो  विसङ्गति हो, गम्भीर प्रकारको विचलन हो ।

शमी : राजनीतिमा सबै कुरा सम्भव हुन्छ भन्छन्, के फेरि छरिएका कम्युनिस्ट नेताहरू एकै ठाउँ आएर समाज रूपान्तरणमा लाग्ने सम्भावना देख्नुहुन्छ ?

चैतन्य :  सम्भावनाको कुरा गर्दा एउटा मूर्त सम्भावना हुन्छ, अर्को अमूर्त सम्भावना हुन्छ । हामी जुन मूर्त सम्भावनाको कुरा गर्छौं,  त्यसको लक्षण देखिनुपर्छ । खासगरी अहिले प्रचण्डजी, बाबुरामजीहरूले बाटो बिराउनुभएको छ । विप्लवजीहरूको सन्दर्भमा त्यसो भन्दिनँ । विप्लवजीहरूले परिश्रम गर्नुपर्छ, मेहनत गर्नुपर्छ, हामी एक ठाउँमा हुने सम्भावना हुन सक्छ तर प्रचण्डजी, बाबुरामजीहरूसित चाहिँ सम्भावना देखिन्न ।

शमी : बाह्रबुँदे सम्झौता हुँदा यहाँहरू दिल्लीको जेलमा हुनुहुनथ्यो । यदि यहाँ जेलमा नभएको भए जनयुद्ध त्यस रूपमा अन्त्य हुँदैनथ्यो भनिन्छ नि ?

चैतन्य : त्यो बेलाको परिस्थितिमा भएका समग्र विषयको अध्ययन गर्न जरुरी छ । हामी कुन परिवेशमा जेलमा पर्यौं र कुन परिस्थितिमा १२ बुँदे सहमतिको विषय जोडिएको छ, यो अध्ययनको विषय हो । निश्चित रूपमा हामी त्यस बेला खुलारूपमा रहेको भए हामी सकेसम्म यो तरिकाले जान दिने थिएनौँ । यसमा अरू सन्दर्भहरू पनि छन् । यो अध्ययन हुँदै जाने विषय भयो ।

शमी :  फर्केर आइसकेपछि यसलाई यसरी लानुपर्छ भनेर भन्नुभएन ?

चैतन्य : अब फर्केर आइसकेपछि कहाँकहाँ केके भएको थियो, बुझ्न समय लाग्यो । बुझिसकेपछि यो गलत हो भन्यौँ । दुई लाइनको सङ्घर्ष भयो । धेरै कुराहरू भए । जेलबाट छुटेको म, सिपी गजुरेलजीहरूले खरिपाटी बैठकमा पनि संसदीय व्यवस्थालाई स्वीकार गरेर जान हुँदैन भन्यौँ तर मानिएन ।

शमी : खरिपाटी बैठकको सन्दर्भमा त्यस बेला प्रचण्ड अल्पमतमा परेपछि पदहरू बाँड्ने काम भयो भनिन्छ । पछि एकताहरू हुने क्रममा युद्धमा नलागेका र योगदान नगरेकालाई पनि महत्व दिने काम भयो । आखिर किन यस्तो भयो ?

चैतन्य : पार्टीमा बहुमत जुटाउनका निम्ति एकता गराउने छनक हामीले देखेका थियौँ । त्यस बेला जनमोर्चाका नारायणकाजी (प्रकाशजी) हरूको एकताको कुरा आयो । त्यसको उद्देश्य आफ्नो ठाउँमा ठिकै पनि होला तर, त्यसरी गर्न हुँदैन भन्ने कुराहरूका बीच एकता भयो । फेरि पूर्वाग्रह राखेर हेरिरहन पनि भएन । साथीहरू के सोचेर आउनुभएको छ, हामीले सबै कुरालाई नकारात्मक रूपमा लिएनौँ । तर परिणाम सोचेजस्तो भएन भन्नुस् ।

शमी : जनयुद्ध र माओवादी आन्दोलन तथा नेताहरू कोही संसदीय अभ्यास, कोही मास नभएको समूह वा कोही उग्रवादजस्ता अनेक कारणले सकिँदै गएको भनिन्छ नि ?

चैतन्य : त्यसरी नहेरौँ । मान्छेहरू कता कता गए भन्ने कुरा आफ्नो ठाउँमा छ । जबसम्म जनताका समस्याको समाधान हुँदैन, जबसम्म शोषण रहन्छ, आन्दोलन जारी रहिरहन्छ । हिजोको जनयुद्धकै हिसाबले सङ्गठित भएर नहुन सक्छ तर क्रान्तिकारी धार क्रमशः विकसित हुँदै पुनः अघि बढ्छ । यो कुरा पक्का हो । विगतमा पनि त्यस्ता घटना भएका छन् । पार्टीहरू फुटे । कता कता गइयो तर, सङ्गठित हुँदै जनयुद्धमा गइयो । यसलाई विरोध पनि गर्छन् तर, यो एक प्रकारको महान् युद्ध हो । यसले धेरै कुरा गर्यो  । नत्र अहिले कसरी आयो त गणतन्त्र ?

काँग्रेस वा एमाले त्यस बेलासम्म यसको पक्षमा थिएनन् । समावेशी समानुपातिकको कुरा सुन्नै चाहँदैनथे । आन्दोलन गर्ने माओवादी स्वाद चाख्ने उनीहरू भए । एमालेलाई त चिट्ठा पर्यो  । जसले जनयुद्धको विरोध गरेको थियो त्यही एमाले माओवादीसँग एकतामा आयो । त्यही माओवादी जसले एमालेलाई प्रतिक्रियावादी हो भन्यो, फेरि उहीसँग एकतामा आयो । यसको विश्लेषण गर्दा धेरै कुराहरू छन् । एउटा चरणमा चक्र घुम्दो रहेछ । यो क्रम चलिरहने रहेछ । तलमाथि त हुन्छ तर माओवादी सकियो भन्ने होइन । अहिले पनि उहाँहरूले मुलुकको समस्याको समाधान गर्न सक्नुभयो ? अरू कुरा छोड्नुस्, बजेट विनियोजन गरेर पुँजीगत खर्च गर्न सक्नुभएको छैन । विकास निर्माणको गफ गर्ने ? सीमा विवाद उस्तै छ । कालापानी, सुस्तामा भारतले सीमा मिचेर नक्सा ल्याएको छ । अमेरिकाको एमसिसी पास गर्ने भन्दैछन् । भनेपछि यिनीहरू कहाँ पुगे ? यो नेपाली जनतालाई स्वीकार्य छैन । यो उम्लनेछ ।

जनताले कम्युनिस्टलाई भनेर मत दिएका हन् । भोलि यस्तो रहँदैन । पीडितहरू पीडित नै छन्, वर्गीय समस्या उस्तै छ । त्यस कारण क्रान्तिकारी र परिवर्तनकारी धार फेरि जाग्छ । एकीकरण र ध्रुवीकरण होला वा नयाँ ढङ्गले विकास होला । यसको स्रोत जनता हो । विकल्पहरू निस्कन सक्छन् । हालका यी पार्टीहरूभित्र पनि क्रान्तिकारीहरू छन् । उनीहरूले गलत भएको आवाज त्यहाँ उठाइरहेका छन् । नयाँ र पुराना क्रान्तिकारीहरूको एकता भएर वा नयाँ ढङ्गले समेटिएर जान सकिन्छ ।

शमी : कम्युनिस्ट चरित्र सङ्घर्षका समयमा एक हुने तर सत्तामा पुगेपछि सिसा जस्तै चकनाचुर हुने प्रवत्तिलाई कसरी हेर्नुहुन्छ ?

चैतन्य : अहिलेको यो सत्ता पुरानै सत्ता हो । यो कम्युनिस्टहरूले ल्याएको नयाँ सत्ता होइन । उही पुरानो सत्तामा गएर बस्या न हो । त्यहाँ गएर बसेपछि यस्तै हुन्छ । साँचो रूपमा जनताको सत्ता लिने कुरा बाँकी नै छ ।

शमी : विश्व राजनीतिमा हेर्दा निश्चित उमेर र कार्यकालपछि राजनीतिक नेतत्वबाट पछि हटेर अरूलाई जिम्मेवारी दिने गरेको पाइन्छ । तर नेपालमा बाँचुन्जेल झगडा गरेर पनि सत्ता र नेतत्व छाडेका हुँदैनन् ।

चैतन्य : परिस्थिति र आवश्यकताका कुराहरू हुन्छन् । नेतत्व लिएर के गर्छन् भन्ने कुरा महत्वपूर्ण हो । मूलतः भइरहेको नेतत्वले छोड्दैमा वा अर्को  आउँदैमा केही गरिहाल्छ भन्ने पनि हुँदैन । यहाँ व्यक्ति वा खास राजनीतिक दललाई दोष दिएर हुँदैन । जस्तो प्रधानमन्त्री केपी शर्मा ओली नेतत्वको सरकार छ, सरकारको विरोध गर्ने सन्दर्भमा जनताका पक्षमा केही काम भएन भन्नु आफ्नो ठाउँमा छ तर, नेपाली काँग्रेस वा बाबुरामजीहरूले विरोध गर्नुको मूल्य के हो त ? हामीले गरेको विरोधको मूल्य हुन्छ । उहाँहरूले हिजो के गर्नुभयो ? मूल कुरा राजनीतिक व्यवस्थाको कुरा हो । नवउदारवाद र संसद्वादले विश्वमा र नेपालमा धान्नेवाला छैन । त्यसकारण यो व्यवस्थामा यिनीहरूले केही गर्न सक्दैनन् । त्यसकारण सत्ता र व्यवस्थाको विरोधमा हामी लाग्नुपर्छ । ढिलो वा चाँडो पुरानो व्यवस्था फाल्नुपर्छ । काम पनि नगर्ने र कुर्सीमा टाँसिने स्थिति यो व्यवस्थामा भइरहन्छ । यस्तै हुन्छ, जो आए पनि गर्दैनन् । यो सत्ता र व्यवस्थामा जुन जोगी आए पनि कान चिरेका जोगी नै हुन्छन् । यो कुरा स्पष्ट हो ।

शमी : नेपाली राजनीतिमा द्रोणाचार्य जस्ता राजनीतिक नेतत्व र एकलव्य जस्ता हामी जनता छौँ । यी दुईलाई नचिरिकन सोचेजस्तो हुँदैन । यसलाई कसरी चिर्ने ?

चैतन्य : मुख्य कुरा जनता हो । क्रान्तिकारीहरू र परिवर्तनकारीहरू क्रान्ति र रूपान्तरणका लागि लाग्नुपर्छ । सकिन्छ । राणाकालमा ती ढल्छन् भन्ने लागेको थिएन तर, ढले । परिवर्तन र क्रान्तिको झण्डा उठाउनुपर्छ । हाम्रो पुस्ताले नसके अर्को पुस्ताले रूपान्तरण गर्छ ।

शमी : हामी कति पुस्ताले क्रान्ति वा आन्दोलन गर्ने ? परिवर्तनलाई संस्थागत गराउन नसक्नुमा बुद्धिजीवीहरूको पनि कमजोरी भएको हो ?


चैतन्य : क्रान्ति र परिवर्तन भन्ने कुरा युगको आयुसम्म हुन्छ । हाम्रो आयु छोटो हुन्छ तर, युगको आयु लामो हुन्छ । विश्वमा सयौँ वर्ष सामन्तवाद रह्यो । अहिले पूँजीवादको पूर्ण विकास भइसकेको छैन । यो पतनको दिशामा त छ तर, अझै विकसित भइसकेको छैन । यो युगको कुरा् हो । क्रान्तिकारीहरू  थाक्नुहुँदैन । एउटा चिनियाँ उखान छ, घरको घाम छेक्ने पहाडलाई खनेर फाल्छु भन्ने मूर्ख विद्वानहरू पनि हुन्छन् ।

शमी : अब साहित्यमा जोडौँ, यहाँको ‘हिमाली दर्शन’ पुस्तकले नेपाली परिवेशलाई बुझाउँछ । कतिपयले जनक र वेदान्त दर्शन नेपाली हो भनेका छन् । यहाँले चाहिँ हिमाली दर्शन मात्र नेपाली दर्शन हो भनेर प्रमाणित गर्न खोज्नुभएको हो ?

चैतन्य : वास्तवमा ‘हिमाली दर्शन’ पुस्तक नेपालको दर्शन र यो क्षेत्रको दर्शनको नाम चयन गर्ने सन्दर्भमा ल्याएको हो । हिमाली दर्शनलाई भारतीय दर्शन भनेर राख्नु भएन । नेपालमा थुप्रै दार्शनिकहरू छन् । त्यसको साझा नाम हिमाली दर्शन हुन सक्छ । यो भूमिमा साङ्ख्य दर्शन, वेदान्त दर्शन आदि विकसित भएका छन् । हाम्रा दार्शनिकहरूका दर्शनलाई भारतीय दर्शनका रूपमा बुझ्नु लज्जास्पद हो । हिमाली दर्शन नेपालको मात्रै होइन भारतको पनि हो । तर बुद्ध दर्शनलाई पनि भारतमा जन्मेको भनिदिने स्थिति छ । यो हुनु भएन । हाम्रो पनि स्वत्व छ भनेर जाहेर गर्नका निम्ति मैले यो दर्शनको कुरा गरेको हो ।

शमी : हिमाली दर्शन’मा आस्तिक र नास्तिकको पनि कुरा गर्नुभएको छ । पूर्वीय र हिमाली दर्शनबीच के भिन्नता छ ?

चैतन्य : यहाँ कैयौँले पूर्वीय दर्शन पनि भन्ने गरेका छन् । पूर्वीय भन्दा चीनको पनि कुरा आउँछ । त्यसको परिभाषामा धेरै चिज अटायो तर, चिनियाँ दर्शन त अटाउँदैन । त्यसकारण पूर्वीय वा भारतीय दर्शन राख्नु हुँदैन हिमाली दर्शनले ठीक जे हो त्यही कुरालाई आत्मसात् गर्छ । हिमवत् खण्ड र हिमाली उपमहाद्वीप पनि भन्ने चलन छ । सगरमाथा पनि यहाँ भएकाले यसको शङ्खला र महत्त्व छ । तर यो दर्शनको विकासमा भारतको पनि भूमिका छ । यसले नेपालको महत्त्व पनि दर्सायो तर यसलाई दक्षिण एसियाको दर्शन पनि भन्न सकिन्छ । पाकिस्तानीहरू पनि आर्यकै परिवार हुन् । विकासका क्रममा उनीहरूले इस्लाम धर्म स्वीकार गरे । त्यो अलग कुरा भयो ।

शमी : साहित्यमा महाकवि देवकोटाकालीन समयको तुलनामा पछिल्लो समयमा स्तर खस्केको हो ?

चैतन्य : म खस्केको देख्दिनँ । विविध धाराहरूको विकास भएको छ । सबै धारामा लेखक कलाकारहरू छन् । देवकोटाहरू त महान् हुन् तर, अहिलेको पिँढीले लेख्दै लेखेनन् भन्ने लाग्दैन ।

शमी : यहाँलाई साहित्यमा प्रेरित गर्ने कति र लेखक सम्झनुपर्दा ?

चैतन्य : यो अलि गाह्रो कुरा पनि हो । मलाई लेखनमा प्रेरणा दिने देवकोटाका रचनाहरू हुन् । हदयचन्द्र सिंह प्रधानका रचनाहरूले पनि मलाई प्रेरित गरेका थिए ।

शमी : नेपाली साहित्यले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि बसाउन नसक्नुका कारण के लाग्छ ?

चैतन्य : अन्तर्राष्ट्रिय परिवेशको कुरा जटिल प्रश्न हो । अहिले जे हुँदै आएको छ, त्यो कमजोर छैन । नेपाली साहित्यमा भूमिका खेल्ने देवकोटा, पारिजात, कष्णसेनहरू छन् । सत्ता र व्यवस्थाले कसरी प्रचार र अन्तर्राष्ट्रियकरण गर्ने भन्ने हुन्छ । अहिले उत्तरआधुनिकतावादीहरूले प्रगतिवादी धारालाई निषेध गर्ने गर्छन् । त्यसकारण हामीले हीनताबोध गर्नुपर्दैन । हामी अन्तर्राष्ट्रिय स्तरमा छौँ । समाजवादी यथार्थवादी धाराबाट अन्तर्राष्ट्रियकरणका लागि जुन मेहनत गर्नुपर्ने हो, त्यो हुन सकेको छैन ।

शमी : विभिन्न संस्थाहरूले साहित्यिक गतिविधि र साहित्यिक पत्रकारिता गरिरहेका छन् । यसलाई कसरी हेर्नुहुन्छ ?

चैतन्य : नेपाली भाषा र साहित्यमा विभिन्न प्रयत्न भएका छन् । यहाँभित्र पनि मातृभाषामा विभिन्न भाषा र साहित्य छन् । ती सबैलाई विकसित गर्नुपर्छ । भाषाको विकास र विभिन्न साहित्यको विकासका लागि सबै संस्थाहरूले पहल गर्नुपर्छ । अहिलेको विडम्बना के छ भने प्रगतिशील पक्षहरूलाई निषेध गर्ने र अरू धारालाई माथि उठाउने काम भएको छ । पत्रपत्रिकाले विकति, विसंगति र काम नलाग्ने कुराहरूलाई स्थापित गर्न खोज्छन् । नयाँ मूल्य मान्यता र वैज्ञानिक दष्टिकोणलाई बेवास्ता गर्ने गर्छन् । त्यसका लागि आमूल परिवर्तन गर्नुपर्छ ।

शमी : यहाँले पाठकका लागि नयाँ केही लिएर आउनुहुन्छ ?

चैतन्य : मैले त्यस्तो नयाँ कृति त तयार पारेको छैन । पहिला लेखेको र अहिले लेखेका लेखहरूको केही
सङ्कलन प्रकाशन गर्नेछु ।

शमी : देशमै रोजगारीको सजना हुनुपर्छ भन्ने पक्षमा रहेको नेपाली युवा पुस्तालाई राजनीति र साहित्यसित जोडेर शमी पत्रिकामार्फत के सन्देश दिन चाहनुहुन्छ ?

चैतन्य : युवा र जनताहरूलाई म के भन्न चाहन्छु भने अहिले देशै रहने कि नरहने भन्ने गम्भीर प्रश्न उब्जिएको छ । यत्रो प्राकृतिक स्रोतसाधनबाट सम्पन्न देशमा पनि सरकार चलाउनेहरूले भीख मागिरहेका छन् ।   त्यसकारण नयाँ पुस्ताले यस्तो व्यवस्थाको विपक्षमा सशक्त रूपमा लाग्नुपर्छ । तपाईँको प्रकाशनले पनि त्यही दिशामा काम गरोस् भन्न चाहन्छु ।
०००
www.janamel.com बाट साभार 

No comments:

Post a Comment