Wednesday, October 21, 2020

नढाँटीकन : आफूलाई आफैँ लेख्दै, आफैँ मेट्दै - खगेन्द्र संग्रौला

 साहित्य/विविध

आश्विन २३, २०७७

इतिहासका भित्तामा जे छापिन्छ, त्यो सहजै मेटिँदैन । तिनताक म जब्बर राष्ट्रवादी हुनुका केही मुखर सबुत छन् ! ती न्यूनाधिक कलात्मक आख्यानको आवरणमा लिपिबद्ध छन् । ती सबुत हुन्, ‘नालापानीदेखि समरबहादुरसम्म’, ‘महाभूकम्प’, ‘लेन्दुप दोर्जेको सालिक’ आदि । जब यी कथाहरू सम्झन्छु, ए ! कुनै दिन म त्यस्तो राष्ट्रवादी थिएँ भन्ने भावनाले मलाई कुरिकुरी गर्छ ।


काठमाडौँ — जीवन रोजेर जन्मिइन्न । छनोटको यो सौभाग्य मानिसलाई छैन । मृत्यु  रोजेर मरिन्न । रोजाइको यो सुविधा पनि मानिसलाई छैन । के  मानिसलाई आस्था र विश्वास, मूल्य र मान्यता वा, एक शब्दमा, विचारधाराको सचेतन एवं स्वनिर्णयकारी रोजाइको हक छ त ? दुरूह अनुभव भन्छ- छ पनि, र छैन पनि ।

विचारधारा ग्रहण गराइमा व्यक्तिको स्वतन्त्र चयनको भूमिका कति हुन्छ र बलशाली परिस्थितिको बलात् आरोपणको भूमिका कति ? यी दुई प्रभावक तत्त्वमा प्राथमिक कुन हो र कुन गौण ? अधिकतर जीवन बाँचिसकेर यी निगूढ प्रश्नउपर गम खाँदा स्पष्ट र मूर्त उत्तर दृष्टिगोचर हुँदैन । विचारधारा जगत्मा म जे भएँ र जस्तो भएँ, म यो र यस्तो नै किन भएँ ? यो प्रश्नको उत्तरमा केवल एउटा कुरा प्रस्ट छ । म यो र यस्तै हुनु छैंटीमा भावीकृत लेखान्तरको फलचाहिँ किमार्थ होइन । कुनकुन समय र सन्दर्भको, कुनकुन संयोग र दुर्योगको, कुनकुन घटना र दुर्घटनाको, कुनकुन काकताली र परिबन्दको, कुनकुन तत्त्वको क्रिया–प्रतिक्रिया एवं सम्मिेलनको योगफल हो म यो र यस्तो हुनु ? मलाई आज यी प्रश्नउपर घोत्लिनुपर्ने खण्डखातिर आइलाग्यो ।

विक्रमाब्दको बीसको दशकमा युवा बयमा दुर्दम्य उत्सुकताको झोली बोकेर जीवनको उज्यालो र गोरेटोको खोजीमा म गाउँबाट काठमाडौँ सहर पसेँ । सहरको नितान्त बिरानो धरातल टेक्नु के थियो, म एकाएक त्यस्तो परिवेशमा झ्वाम्मै फालिएँ, मेरो उत्कट उत्सुकतासामु अनिश्चय र अन्योल, रहस्य र सन्देह एवं जटिल र दुरूह घटना, दृश्य र क्रियाहरूको कोलाजमय शृङ्खला सिबाय केही थिएन । जीवनको त्यो अविदित प्रदेशमा जीवन हिँड्ने गोरेटोको मूर्त वैचारिक रेखा कतै थिएन । जीवन कल्पित रइच्छित उज्यालोतिर जाने दिशा कता हो ? जीवन कुन औतारमा कता हिँडे कुन स्वरूपमा कहाँ अवतरित हुन्छ ? जीवनको उँभौली यात्राका अत्यावश्यक सरजाम के हुन् ? जीवनको जोखिमयुक्त उकालो काट्ने भरपर्दा साथी र सहयात्री को हुन् ? जीवनको यो अनिश्चित र कठिन यात्राको धूमिल पथमा मार्गदर्शन गर्ने आलोकमय विचारधारा कुनकुन हुन् ? यी सब जिज्ञासा र खोजीको क्रममा मलाई जे प्राप्त भयो, त्यो उज्यालोको ठमठम यात्रा होइन, केवल घुर्मैलो अँध्यारोको छामछाम–छुमछुम थियो ।

फर्केर हेर्दा स्मरण हुन्छ, मेरो अनौपचारिक वैचारिक प्रशिक्षण पाठशाला एक तालको वा बेतालको थियो । विचार र संस्कृतिका परस्पर विरोधी अनेक तत्त्व एवं व्यक्तित्वहरूको मिसावटी थियो त्यो । त्यो भद्रगोल मिसावटीमा मार्क्सवाद र सामन्तवाद, विज्ञानवाद र अन्धविश्वासवाद, जनवाद र ठालुवाद, राष्ट्रवाद र अन्तर्राष्ट्रवाद घुलन भएको थियो । जब अँध्यारोमा उज्यालो, कुरूपमा सुन्दर, संकीर्णमा उदार, मौनमा मुखर, छद्ममा स्पष्ट र जडतामा गतिको घुलन हुन्छ, बहुधा जीवनको सकारात्मक पक्षमाथि नकारात्मक तत्त्वको वर्चस्व कायम हुन्छ । यसो हुनु अवश्यम्भावी छ । किनभने यो नकरात्मकता सनातन परम्पराको अविच्छिन्न प्रवाह हो र यो सकारात्मकता मानिसको नूतन एवं नवीन सपना र आकांक्षाको द्योतक हो । जीवन–यात्रामा मानिस सामान्यतया सहज, परिचित र अभ्यस्त मत र पथ रोज्छ । जे असहज, अपरिचित र अनभ्यस्त छ, मानिस प्रायशः त्यसबाट तर्किन खोज्छ । कुपमण्डुकमुखी रूढ उखान हाम्रा मस्तिष्कलाई ठोकीठोकी नित्य फर्मान जारी गरिरहन्छ— नजानेको बाटो नहिँड्नू !

म यहाँ आफ्नो वैचारिक प्रशिक्षणकारी पाठशालाको प्रकृति र चरित्रका कुरा गर्दै छु । मेरो पाठशालाका प्रत्यक्ष गोचर गुरुजीहरू देब्रे ढल्कुवा अखिलका तरुण नेताहरू थिए । सबैजसो पुरुष, दुर्लभ अपवादबाहेक सबै सनातनी शासक जातका, सबै उच्च वर्गका, सबै लाएका र खाएका, सबै सुविधा र अवसर पाएका, सबै विभेदकारी सत्ताका अन्तरकुन्तरमा न्यूनाधिक पहुँच र प्रभाव भएका । मेरो पाठशालाको पाठमा कार्ल मार्क्स र भगवान् रामचन्द्र, ब्लादिमिर लेनिन र पृथ्वीनारायण शाह, माओ त्सेतुङ र महेन्द्र शाह तथा म्यक्सिम गोर्की र दामोदर शमशेर उपस्थित थिए । नित्य र हाराहारी । घर्षणकारी दाउमा । प्रशिक्षार्थीको मस्तिष्कमा प्रभाव पार्न हर्दम् तँछाड–मछाड गर्दै । घर्षणको स्पर्धामा कि तँ छैनस् कि म छैनको मुद्रामा । मेरो मस्तिष्क यी विपरीत विचार वाहक मनुवाहरूको द्वन्द्वको अखाडा बन्यो । अहिले घात्लिँदा लाग्छ, यो द्वन्द्वमा मेरो युवा मस्तिष्कमा मूलतः उल्टा विचार–वाहक तत्त्वको वर्चस्व कायम भएछ । खोजाइ अर्कै चीजको थियो, रोजाइ अर्कै चीजको थियो । भयो अर्कै, जे नखोजिएको थियो नरोजिएको थियो । म प्रशिक्षार्थीका मस्तिष्कमा रामचन्द्र, पृथ्वीनारायण, महेन्द्र र दामोदरले अड्डा जमाएछन् । र, बहिष्कृत भएछन् मार्क्स, लेनिन, माओ र गोर्की । विडम्बनावश, मेरो गोर्खाली प्रशिक्षण पाठशालाले मलाई प्रमाणपत्रचाहिँ उल्टो प्रदान गर्‍यो । आजका मितिले तँ अग्रगामी, प्रगतिशील, मार्क्सवादी, द्वन्द्ववादी, जनवादी, समाजवादी, साम्यवादी भइस् ! र, त्यस्तै भएँ भन्ने विश्वासमा म ढुक्क भएँ । यो मिथ्या प्रमाणपत्र र यो मिथ्या विश्वासले मेरो क्रियाशील जीवनको लगभग एक चौथाइ खाइदिएछ । आफूलाई आफैँ लेख्दा र आफैँ मेट्दाको अवसादमय अनुभव हो यो !

मेरो प्रारम्भिक वैचारिक पाठशालाका पाठ्य–सामग्रीहरू दृश्यमान् र अदृश्य, मूर्त र अमूर्त एवं यथार्थपरक र रहस्यमय थिए । तिनमा प्रमुख थिए— मार्क्स–एङ्गेल्सको ‘कम्निस्ट घोषणापत्र’ र पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’, माओको ‘नौलो जनवाद’ र महेन्द्रको ‘निर्विकल्प पञ्चायत’, म्याक्सिम गोर्कीको ‘आमा’ र कुनै अज्ञात लेखकको ‘भूत–प्रेतका कथा–किस्सा’, लु स्यूनको ‘आह क्यूको साँचो कथा’ र हिन्दु पुरोहित रचित कर्मकाण्डीय ‘गरुड पुराण’ आदि । यीमध्ये प्रत्येक अघिल्ला सामग्री दृष्टि–सम्मुख टेबुलमा थिए र प्रत्येक पछिल्ला सामग्री दृष्टिको नेपथ्यमा थिए । मेरो पाठ्य–सामग्री सारमा यी सबको गज्याङ–मज्याङ कोलाज थियो । तिक्त अनुभव भन्छ— वैचारिक प्रशिक्षणको पाठशालामा अघिल्ला सामग्री पढिएछन्, पछिल्ला सामग्रीले प्रभाव जमाएछन् । यो मेरो चरम् विरोधाभाषी र हास्यास्पद अनुभव हो । पाठशालाबाट प्राप्त मेरो ज्ञान यी वैचारिक विपरीतहरूको क्वाँटी बन्न पुगेछ । क्वाँटीको आवरणमा अघिल्ला तत्त्वहरूको उपस्थिति थियो, सारमा थियो पछिल्ला तत्त्वहरूको बलशाली वर्चस्व । अतीततिर फर्केर गम खाँदा अहिले उदेक लाग्छ, प्रशिक्षण पाठशालामा मैले आर्जन गरेको ज्ञानमा मार्क्सवादले संकीर्ण राष्ट्रवादको टोपी लगाएछ र जनवादले अन्यद्वेषी हिन्दुत्वको जनै पहिरिएछ । मेरो द्वन्द्ववादले ‘गरुड पुराण’ को कन्दनी भिरेछ र मेरो समाजवादले भूतप्रेतको लगौँटी लर्काएछ । यो मेरो पहिलेको होइन, अहिलेको बोध हो । यो मेरो अहिलेको ज्ञान हो । र, हो यो मेरो अहिलेको स्वीकारोक्ति ।

मेरा वैचारिक प्रशिक्षकहरूका सामाजिक सम्पर्क–सम्बन्ध र क्रियाकलापहरू अर्द्ध–पारदर्शी थिए । तिनमा कतिपय त एकदम अपारदर्शी पनि थिए । मेरो प्रशिक्षण प्रक्रियाको यो अनपेक्षित, अदृश्य र अकथित पाटो कुरूप छ । मेरो प्रशिक्षण पाठशालामा दामोदर शमशेर भन्ने एउटा धकलाग्दो नाम घरीघरी सुनिन्थ्यो । त्यो नाम साउतीको स्वरमा खुसुक्क भनिन्थ्यो, बिनाप्रश्न चुपचाप सुनिन्थ्यो । त्यो नाम त्यसरी भनिनु र त्यसरी सुनिनु वास्तवमा प्रशिक्षण पाठशालाको अघोषित संहितामा निहित कठोर नियमको दासवत् पालना थियो । पाठशालामा घरीघरी रहस्यमय खासखास–खुसखुस चल्थ्यो । फलानो प्रशिक्षक हिजो साँझ सुटुक्क दामोदर शमशेरकहाँ गएछ ! ‘किन’ को जवाफमा ‘सुटुक्क लाइन लिन’ भनिन्थ्यो । ‘लाइन लिनु’ को लख काट्न सकिने तर भन्न नमिल्ने अर्थ थियो— माथिको मार्ग–दर्शन अर्थात् अह्रन–खटन प्राप्त गर्नु । नाम छ कति राम्रो वाम युवा प्रशिक्षण पाठशाला, देखाउने वैचारिक गुरु र प्रेरकहरू छन्, मार्क्स–एङ्गेल्स, माओ र गोर्की, पाठशालाको पाठ र निर्देशन प्राप्त हुन्छ राजा महेन्द्रका विश्वासपात्र सेवक दामोदर शमशेरका मुखारविन्दबाट ।

प्रशिक्षणको सारभूत प्रभाव भन्छ— यी अन्य नामहरू केवल पाठशालाको शोभाका लागि देखाउने दाँत हुन्, खाने दाँत खसोखास दामोदर शमशेर हुन् । महेन्द्रका परम् आज्ञाकारी सेवक श्री दामोदर शमशेर ! पाठशालाका मेरा हुस्सु प्रशिक्षकहरूले पत्तै नपाई वैचारिक प्रशिक्षणको लगाम परोक्षरूपले महाराज महेन्द्रका कुटिलतायुक्त हातमा रहेछ । दामोदर शमशेरबाट अह्रन–खटनसँगै आनासुकी रैरकम पनि प्राप्त भइरहन्छ भनिन्थ्यो । त्यो वास्तवमा महेन्द्रकै अनुकम्पाको सरस फल थियो । त्यो आनासुकी कसले हात पार्थ्यो, केमा खर्च हुन्थ्यो अथबा कसले उपभोग गर्थ्यो, यो प्रशिक्षार्थीले सोध्न नमिल्ने, जान्न नमिल्ने र भन्दै हिँड्न नमिल्ने गुप्त रहस्य थियो । पृष्ठदृष्टिले विचार गर्दा लाग्छ, आवरणमा सुन्दर रङ लेपन गरिएको प्रशिक्षण पाठशालाले कुमलकोटीले झैँ पुनरावृत्तिका कोर्राले ठोकीठोकी मेरो मस्तिष्कमा दुईवटा कुराको गाढा छाप पारेछ । तिनमा एउटा थियो— अन्यद्वेषी नस्लीय राष्ट्रवाद, अर्को थियो— संकीर्ण हिन्दु शुद्धतावाद । पाठशालामा जान्नुपर्ने कुरा मार्क्सवाद थियो, द्वन्द्ववाद थियो, अन्तर्राष्ट्रवाद थियो, बृहत् मानवतावाद थियो, प्रतिवादी एवं प्रतिरोधी विचार थियो, जानिएछ यस्तो ! र, यही त हो अस्सली मार्क्सवाद भन्दै कतिकति दिन पिन्जराबद्ध सुगाले झैँ अन्ध–रटना गरिएछ !

मेरो वाम युवा प्रशिक्षण पाठशालाको भित्तोमा अन्तर्राष्ट्रवादको मुखर सन्देश अंकित थियो । यो सन्देशका स्रष्टा अलग युग, अलग भूगोल र अलग संस्कृतिका दुई प्रतिभा थिए— विजय मल्ल र युँजे पोत्तर । एक आधुनिक नेपाली स्रष्टा, अर्का पेरिस कम्युनका फ्रान्सेली योद्धा कवि । विजय मल्लको अन्तर्राष्ट्रवाद ‘छोरीलाई मानचित्र पढाउँदा’ भन्ने कालजयी कवितामा बोलेको थियो, युँजे पोत्तरको अन्तर्राष्ट्रवाद ‘द इन्टरन्यासनल’ अर्थात् ‘अन्तर्राष्ट्रिय गान’ मा गुन्जिएको थियो । भन्नलाई यो गानलाई कम्निस्ट अन्तर्राष्ट्रिय गान भनिन्थ्यो, छनलाई यो कम्निस्ट गान मात्र किमार्थ थिएन । परिवर्तनकामी विचारपथका लोकतान्त्रिक समाजवादी, सामाजिक जनवादी र अराजकतावादी महलमा पनि यो गान उत्तिकै प्रिय र लोकप्रिय थियो ।

विडम्बनावश, प्रशिक्षणकारी पाठशालाका भित्ताका यी मुखर र सुन्दर अन्तर्राष्ट्रिवादी सन्देश प्रशिक्षार्थीका मस्तिष्कमा हाँसका पखेटामा पानीझैँ बगेर शून्यमा बिलाएछन् । आखिर मेरो युवा–मस्तिष्कमा दिगो छाप छाड्यो केले ? जीवनविमुख महेन्द्रपथी ‘लहरा, पहरा, छहरा’ को संवेदनशून्य राष्ट्रवादले, सामाजिक विग्रहकारी राष्ट्रवादले, अन्य–घृणक मनोरोगी राष्ट्रवादले । ढोँगी अभिनयमा मुक्का उठाएर ‘अन्तर्राष्ट्रिय गान’ गाइएछ— ‘मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’, र चित्तमा चाहिँ महेन्द्रीय राष्ट्रवादको कुरूप ध्वजा फहराइएछ ।

कोलाजमय विचारतत्व र व्यक्तित्वहरूको मिसावटीबाट निर्मित मेरो राष्ट्रवादमा सामन्ती राजा महेन्द्र ग्राह्य ठहरिए, उदार बुर्ज्वा बीपी त्याज्य । नेपाली कांग्रेस कठोर शत्रु मानियो, राजतन्त्र अपेक्षाकृत नरम मित्र । यो धारणाको विचित्रको आधार थियो । कांग्रेस सर्वांग विदेशी दलाल हो, राजा हो न्यूनाधिक राष्ट्रवादी तत्त्व । जोकोही राजा बन्न भूमि चाहिन्छ । आफ्नो अस्तित्वको आलम्बरूपी भूमिप्रति राजामा स्वभावतः प्रगाढ माया हुन्छ । भूमि मोहबाट निसृत राष्ट्रवादी भावनाको सीमाभित्र राजा कम्निस्टको मित्र तत्त्व हो । सदाझैँ र सर्वत्रझैँ मेरो राष्ट्रवाद आन्तरिक र बाह्य दुई शत्रुबाट सज्जित भयो । आन्तरिक शत्रु थियो नेपाली कांग्रेस, बाह्य शत्रु भारतीय विस्तारवाद । युवा बयमा राष्ट्रवादको ध्वजा बोकेर सडकमा कुद्दा मेरो नारा र घृणाका दुई निसाना यिनै थिए । यिनै आन्तरिक र बाह्य दुई तत्त्व ! राष्ट्रवादका नारा हाम्रा जिब्राका टुप्पाटुप्पामा थिए— ‘दिल्लीको दलाल बीपी नेपालको लेन्दुप दोर्जे हो ।’ र, ‘भारतीय विस्तारवाद हो, नेपाल निल्न मुख बाइरहेको अजिंगर ।’ सडकमा राष्ट्रवादका नारा बाराम्बार घन्किरहन्थे । नाराको निसाना बहुधा सीमा अतिक्रमण हुन्थ्यो । तर, अतिक्रमणको समस्यालाई किनारा लगाउन सारभूत चिन्तन र चेष्टा कहिल्यै गरिन्नथ्यो । राष्ट्रवाद राष्ट्रवादीको केवल फुर्सदको बसिबियाँलो थियो । आन्तरिक र बाह्य शत्रुको उग्र भर्त्सना राष्ट्रिवादी पहिचानमा लगाइने भड्किलो जलप थियो ।

त्यसो त मेरो राष्ट्रवादको अर्को आयाम पनि थियो । यो आयाममा गोर्खाली वीर मानियो, मधेसी भीरु । गहुँगोरो पहाडवासी मौलिक नेपाली मानियो, र कृष्णवर्णी समतलवासी मानियो आयातित भतुवा । हिन्दु धर्म रैथाने मौलिकतायुक्त, श्रेष्ठ र ग्राह्य मानियो, मुलुकका बाँकी धर्म मानिए बाहिरिया, तुच्छ र त्याज्य । कथनीमा मेरो राष्ट्रवाद व्यापक एकताकारी, संग्रामी र राष्ट्ररक्षक थियो, करनीमा यो भौगोलिक विभाजनकारी, सामाजिक विग्रहकारी र धार्मिक विद्वेषकारी सिद्ध भयो । समयको क्रममा बडा दुःखले आर्जित मेरो अनुभव भन्छ— राष्ट्रवाद अन्धआस्थायुक्त त्यस्तो नशा हो, जसले विविधता र बहुलताको अस्तित्व स्वीकार गर्दैन, जसले अन्यको निषेध र विनाशमा मात्र आफ्नो श्रेष्ठता बोध गर्छ, र जसले कलह र फाटोकारी उत्तेजनामा आनन्दको अनुभूति गर्छ ।

इतिहासका भित्तामा जे छापिन्छ, त्यो सहजै मेटिँदैन । तिनताक म जब्बर राष्ट्रवादी हुनुका केही मुखर सबुत छन् ! ती न्यूनाधिक कलात्मक आख्यानको आवरणमा लिपिबद्ध छन् । ती सबुत हुन्, ‘नालापानीदेखि समरबहादुरसम्म’, ‘महाभूकम्प’, ‘लेन्दुप दोर्जेको सालिक’ आदि । जब यी कथाहरू सम्झन्छु, ए ! कुनै दिन म त्यस्तो राष्ट्रवादी थिएँ भन्ने भावनाले मलाई कुरीकुरी गर्छ । यी म कहिल्यै उग्र राष्ट्रवादी थिइनँ भनी मलाई उम्किन नदिने अमिट सबुतहरू हुन् ।

मेरो राष्ट्रवादका कृत्यहरूका निर्मम नतिजाहरूको स्मरणले अहिले मलाई मर्मान्तक लज्जाबोध हुन्छ । सम्झन्छु, मेरो राष्ट्रवादले केमात्र गरेन ? समान अधिकार र प्रतिष्ठाको आग्रह गर्ने सहदेशवासी मधेसीहरूको रगतको खोलो बगाएन कि ! सीमान्त थारू समुदायका मानवोचित जीवन प्राप्त गर्ने चेष्टाहरूको नृशंस दमन गरेन कि ! पुरुष बराबरी हकको आकांक्षा राख्ने नारीहरूलाई नागरिकताको हकबाट वञ्चित गरी राज्यविहीन अनाथ तुल्याउने धृष्टता गरेन कि ! जनजातिहरूको सभ्यताको छाप ठोकिएको भूमि र पहिचान हरण गरेन कि ! दलित र उत्पीडित जनका सम्मानित र मर्यादित मनुष्यको तहमा उठ्ने सफनाहरूलाई चरम् त्रूरतासाथ कुल्चिएन कि !

राष्ट्रवादमा निहित संकीर्णता र दम्भ, अविवेक र अमानवीयता एवं विग्रह र विद्वेषको मलाई जब रमरम बोध हुन थाल्यो, वचन र कर्म दुवैमा म राष्ट्रवादी कर्मकाण्डबाट भाग्न थालेँ । राष्ट्रवादप्रतिको विकर्षणले मलाई चिन्तन र साधनाको विपरीत धारतर्फ आकृष्ट गर्‍यो । त्यो राष्ट्रवाद–पीडित विविध पक्षहरूको हक र प्रतिष्ठामुखी संघर्षको न्यायमुखी धार थियो । प्रतिवादी ऐकान्तिक शब्दकर्मलाई थाती राख्दै म यदाकदा प्रतिरोधी सडक संघर्षमा सामेल हुन थालेँ । यो संघर्षलाई मैले ‘मनको मैलो धुने पाठशाला’ भनेँ । यो नवीन पाठशालामा राष्ट्रवादको संकीर्णता र हिन्दुत्वको आडम्बरी शुद्धता घुलन भएको मेरो मार्क्सवादलाई धोई–पखाली गर्ने सचेतन यत्नमा पनि म प्रवृत्त भएँ । यो पाठशालामा म दलित र शोषित, बहिष्कृत र वञ्चित एवं अल्पसंख्यक र सीमान्त जनका संघर्षहरूको धरातलीय सहयोगी र फड्के किनारको साक्षी बनेँ । जनजनका मुक्तिकामी संघर्षमा मेरो स्वैच्छिक संलग्नता दया वा कृपाको द्योतक किमार्थ होइन । यो मेरो मनको वैचारिक र सांस्कृतिक मैलो धुने सानो प्रयास हो । यो अतीतका स्वयंका विचार एवं कर्ममा निहित संकीर्ण र अमानवीय भावनाप्रतिको अवसादको अभिव्यक्ति हो । यो कर्मशील पश्चात्तापका माध्यमले गरिने प्रायश्चित्तको एक चेष्टा हो— मनको मैलो धुने चेष्टा ! स्वयंको मानवीकरण गर्ने चेष्टा !

यो चेष्टाको क्रममा म पटक–पटक मधेस झरेँ । अन्धराष्ट्रवादका उन्मादी गोलीले मधेसमा न्याययोद्धाहरू मारिँदै थिए । सडकमा यत्रतत्र सहिदहरूको रगत लतपतिएको थियो । वायुमण्डलमा आक्रोश, चीत्कार र विलौना व्याप्त थियो । अश्रुग्यास र गोलाबारीबीच मैले तिम्रा सत्प्रयास र वियोगहरूको दुःखमा मेरो निम्छरो साथ छ भनेको मात्र के थिएँ, म राष्ट्रवादी महलको कोपभाजन भइहालेँ । मैले भिन्न मत भएको सहदेशवासी हुन पनि पाइनँ । म पथभ्रष्ट भनिएँ, म देशद्रोहीमा गनिएँ । वर्चस्वशालीहरूको राष्ट्रवादी स्रेस्तामा म दिल्लीका ठूल्दाज्यैको भारु खाने दलालमा दर्ज गरिएँ ।

हिजोसम्म राष्ट्रवादी महलमा मेरा साथीहरूको भीड थियो । ती सबैका नजरमा म अब पतीत भएँ, म अछुत भएँ, म परचक्री भएँ । राष्ट्रवादीहरूका सहस्र मुखारविन्दबाट मउपर निन्दाको यति सघन वर्षा भयो, मूर्च्छित, संज्ञाशून्य र मृतक हुनबाट म धन्न बचेँ । राष्ट्रवादको ध्वजामुनि पुराना साथीहरू जो थिए, ती सबै गुमे । आन्दोलनरत नयाँ साथीहरूसँग विश्वासको अन्तरंग नाता गाँस्न तीन पाथी नुन खान बाँकी नै थियो । तीव्र मानसिक तनावका ती क्षणहरूमा ‘एकला चलो’ को धूनमा म यात्रारत रहेँ ।

०००

‘संघम् शरणम् गच्छामि ।’ यो बुद्धमार्गी सूत्रको सन्देश मलाई पहिल्यै थाहा थियो । कार्ल मार्क्सको ‘संसारका मजदुरहरू एक होऔँ’ को सन्देश पछि मेरा कानका गुन्जिन आइलाग्यो । भिन्न समय र भिन्न दर्शनका यी दुवै सन्देशले समवेत स्वरमा मलाई भने— संघ मुक्तिमार्गको शक्ति हो । एक–एकहरूको समष्टिमा अजेय शक्ति निहित छ । मेरो प्रशिक्षण पाठशालामा सरल भाषामा यसलाई ‘सामूहिक विवेक’, ‘सामूहिक शक्ति’, ‘सामूहिक संघर्ष’ र सामूहिक विजय’ भनी परिभाषित गरिएको थियो । बुद्ध र मार्क्सको संघशक्तिजन्य मान्यताबाट प्रेरित भई म ‘प्रगतिशील लेखक संघ’ मा आबद्ध भएँ । संघको तीन शब्दीय नाम बडो सुन्दर थियो । पश्चगामी अगतिशील होइन, अग्रगामी प्रगतिशील संघ । सुगामुखी लेखन्दास होइन, स्वतन्त्र एवं सिर्जनशील लेखक संघ । तितरबितर र छरपस्ट होइन, एकीकृत शक्तियुक्त संघ । ऊ बेला मलाई म सुन्दर संघमा आबद्ध भएँ भन्ने गौरवबोध थियो । तिक्ततापूर्ण अनुभवको गोरेटोमा पछि फर्केर हेर्दा लाग्छ, म त वास्तवमा भ्रान्तिकारी सुन्दर नामयुक्त संघको जुवामुनि नारिएको पो रहेछु । पार्टी पोटिलब्युरोहरूको अदृश्य जुवामुनि !

प्रगतिशील लेखक संघको पनि चिन्तन र दृष्टिकोणको चुरो कुरो वास्तवमा उही थियो । प्रगतिशीलताको आवरणमा उही संकीर्ण नस्लीय राष्ट्रवादको रटना र सिद्धान्तमा उही हिन्दु शुद्धताको हठाग्रह । प्रगतिशील लेखक संघमा जीवनका गम्भीर दार्शनिक एवं दैनिकी सवालहरूउपर चिन्तन र मन्थन शून्यप्रायः थियो । नूतनको सन्धान र खोज, अर्थपूर्ण संवाद र आदान–प्रदान, गहन सिर्जना एवं प्रभावी हस्तक्षेप पनि शून्यप्रायः थियो । नाम थियो कति सुन्दर प्रगतिशील लेखक संघ, त्यसमा भीड थियो अलेखकहरूको । प्रगतिशील लेखक संघ कम्निस्ट नामक गुटहरूको कलहकारी संग्रहतुल्य थियो । कदाचित् चुनाव भइहाले संघको सत्ता दख्खल गर्न हरेक गुटले संघको स्रेस्तामा अलेखकहरूको भीड दर्ता गरेको थियो । प्रायः सहमतिका नाममा गुटहरूका पोलिटब्युरोहरू संघका नेतृत्वकारी पदहरू जुँगा हेरी भागबन्डा गर्थे । ठूलो जुँगामुठेलाई ठूलो पद, सानो जुँगामेठेलाई सानो पद । पदप्राप्तिमा गुटहरूमाझ आलोपालोको धन्दा पनि चल्थ्यो । सम्झेर ल्याउँदा अचम्म लाग्छ, आवरणमा नाम छ स्वतन्त्र लेखक संघ ! अझ त्यसमाथि प्रगतिशील ! जीवन–जतगत्को स्वतन्त्र, गहन एवं सूक्ष्म अवलोकनबाट आर्जित र सञ्चित संवेदना, अनुभूति र अनुभव कलात्मक शब्दकर्मका माध्यमले अभिव्यक्त गरी मानव स्वतन्त्रता र प्रगतिको ध्वजा फहराउने लेखक संघ ! आवरणमा यति सुन्दर गोचर हुने संघको नेता पर्दापछाडि पोलिटब्युरोले छान्छ । यसरी जो छानिन्छ, ऊ छान्ने कृपाकारी प्रभुको आज्ञाप्रति नतमस्तक त हुने नै भयो । बस्, संघको नाम छ प्रगतिशील लेखक संघ, संघको वैचारिक नियति–निर्धारक छ अहंकारी एवं स्वेच्छाचारी पोलिटब्यरो !

सुन्नेका लागि रोचक र भोग्नेका लागि कारुणिक एउटा कथा छ । कथा साँचो हो । आत्मकेन्द्रित अहंकार र वैष्णवी शुद्धताका कारण मोहनविक्रम गुट खुम्चिँदै र खिइँदै लेखकशून्य भएको थियो । तथापि प्रगतिशील लेखक संघंको गुटीय भाग त ग्रहण गर्नैपर्‍यो । गुटका प्रतिनिध हुकुमबहादुर सिंह रोजिए । बान्की परेको मुखाकृति, मितभाषी र मृदुभाषी— हुकुमबहादुर सिंह भला मानुष थिए । तर दुर्भाग्यवश, उनी लेखक थिएनन् । लेखक संघमा उनी थेगोतुल्य उपहासको विम्ब बने । लेखकीय स्वतन्त्रता र स्वायत्तको न्यूनाधिक हेक्का राख्ने कतिपय लेखकले संघलाई ‘हुकमबहादुर संघ’ को संज्ञा दिए ।

प्रगतिशील लेखक संघको वैचारिक शुद्धताको तराजुमा लिओन ट्राट्स्की गद्दार मानिन्थे । उनका कृतिहरू पढ्नु त परै जाओस्, उनको नाम उच्चारण गर्दा पनि प्रगतिशील मनुवाको वैचारिक जात जान्थ्यो । म हुकुमबहादुर संघबाट भाग्ने मुडमा के थिएँ, लुकीछिपी लिओन ट्राट्स्की पढ्न थालेँ । ट्राट्स्कीले मेरा कानमा खुसुक्क भने— ‘विज्ञान र कलाले कसैको आदेशको अपेक्षा नगर्ने मात्र होइन, आदेशको अवज्ञा नै गर्छन् ।’ यो कथनको प्रेरक शक्तिले हुकुमबहादुर संघबाट भाग्न मलार्ई हात र साथ दियो । र, मैले टाप कसेँ !

फेरि मेरा मित्रहरू स्वाट्टै छुटे । तिनका दृष्टिमा म ‘संघविरोधी’, ‘भगुवा’, ‘भँडुवा’, ‘गद्दार’, ‘संशोधनवादी’ देखिएँ । संशोधनवादी पनि लर्तरो होइन, ‘मध्यपन्थी मिहिन संशोधनवादी !’ तीव्र मानसिक तनावका ती क्षणहरूमा ‘एकला चलो’ को धूनमा म पुनः यात्रारत रहेँ ।

मेरो वैयक्तिक जीवन र वैचारिक बक्रयात्राको कष्टकर र सँगसँगै आनन्ददायी कथा यही हो— आफैँ आफूलाई लेख्दै र मेट्दै ! जीवनको यो जटिल र कठिन यात्रामा कूटनीतिक अभिव्यक्तिको कला मैले कहिल्यै सिकिनँ । नित्य घर्षणकारी एवं गतिमान् यथार्थबाट जीवन अनुभवले जे देख्यो र जे टिप्यो, मैले कूटनीतिक कलाविहीन कोरा भाषामा त्यो प्वाक्क भनेँ । र, घर्षणकारी विचारको निर्मम डबलीमा मैले निन्दकहरूको विशाल बगाल आर्जन गरेँ । अस्तित्वको प्रतिलोममा यो बगाल छ र नै यसको उल्टोतिर अस्तित्वमा म छु । यो बगालका बाचाल जीवात्हरू सदैव मेरो प्रेरणाका मुहान हुन् । यिनले मलाई नित्य ईख्याउँछन्, र नै चिन्तन, सिर्जन र अभियानमा म अद्यापि न्यूनाधिक प्रवृत्त एवं जीवन्त छु ।

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘कान्तिपुर विशेष’बाट ।)

प्रकाशित : आश्विन २३, २०७७ www.ekantipur.com बाट साभार 

No comments:

Post a Comment