Monday, May 25, 2026

प्रगतिशील लेखक सङ्घको अवस्था र भावी कार्यदिशा - मातृका पोखरेल


पृष्ठभूमि

नेपालमा प्रगतिशील लेखक सङ्घको स्थापना हुनुको पृष्ठभूमिमा केही महत्त्वपूर्ण कारण विद्यमान थिए । मूल रूपमा नेपाली समाजमा आएको वैचारिक परिवर्तन नै यस संस्थाको स्थापनाको महत्त्वपूर्ण कारण थियो । विश्वव्यापी रूपमा विस्तार हुँदै गएको माक्र्सवादी दर्शनको प्रभावले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय रूपमै यस प्रकारका संस्था निर्माण भएको इतिहास हामी भेट्याउँछौँ ।

सन् १९२९ सोभियत सङ्घमा गठन भएको ‘सर्वहारा लेखकको एसियाली सङ्घ’ साम्राज्यवादका विरुद्धमा जुर्मुराएका संस्कृतिकर्मीको सङ्गठित पहल थियो । त्यसैगरी सन् १९३४ मा महान् साहित्यकार म्याक्सिम गोर्कीको अध्यक्षतामा गठित ‘रसियाली लेखकको साहित्यिक सङ्घ’ लाई प्रगतिवादी साहित्यकारहरू सङ्गठित हुने अभियानको रूपमा महत्त्वपूर्ण आरम्भ मानिन्छ । सन् १९३४ को म्याक्सिम गोर्की, रोमा ऐला आदिको उपस्थितिमा फ्रान्सको पेरिसमा भएको भेलाले प्रगतिशील लेखक सङ्घ नामको अन्तर्राष्ट्रिय सङ्गठन गठन गरेको थियो । त्यसैको प्रभावस्वरूप सन् १९३५ मा लन्डनमा अध्ययन गर्ने भारतीय विद्यार्थीको पहलमा भारतमा प्रगतिशील लेखक सङ्घ गठन भयो ।

अन्तर्राष्ट्रिय रूपमा खुलेका यी सङ्गठनको प्रेरणा कुनै न कुनै रूपमा नेपालमा २००९ सालमा गठन गरिएको प्रगतिशील लेखक सङ्घमा परेको देखिन्छ । यस सङ्घको स्थापनाको भ्रुण राणाशासनको उत्तराद्र्धदेखि नै विद्यमान थियो । त्यस बेलाको चर्चित पत्रिका ‘शारदा’ मा प्रकाशित सम्पादकीय एवम् समाचारले यो तथ्यलाई प्रष्ट बनाउँछन् । मूलत: यस संस्थाको आवश्यकता राणा शासनकालमैँ देखिएको थियो । प्रगतिशील लेखक सङ्घको स्थापना हुनुभन्दा अघि पनि प्रगतिशील प्रकाशन मण्डल, नेपाल जनवादी लेखक सङ्घ, जनसांस्कृतिक सभा र नेपाली साहित्य सदनजस्ता प्रगतिशील संस्थाहरू खुलेको चर्चा हामी इतिहासमा भेट्याउँछौँ तर ती संस्थाले निरन्तरता दिन सकेनन् ।

२००७ सालको क्रान्तिको पृष्ठभूमि र आलोकमा वर्गीय तथा पेसागत हकहित गर्ने उद्देश्यले मुलुकमा विभिन्न सङ्घसंस्था खुलिसकेका थिए । अखिल नेपाल किसान सङ्घ, मजदुर सङ्घ, महिला सङ्घ, नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसन, अखिल नेपाल न्यूनवैतनिक कर्मचारी सङ्घ (२००७ फागुन ९) जस्ता जनवर्गीय र पेसागत सङ्गठन बनिसकेका थिए । समग्रमा प्रगतिशील लेखक सङ्घको स्थापना हुनुका पछाडि यी सबै घटनाको प्रभाव पर्नु स्वाभाविक देखिन्छ ।

प्रगतिशील लेखक आन्दोलन विश्वव्यापी प्रगतिशील साहित्यिक धारासँगै जोडिएको छ, जसले साहित्यलाई केवल सौन्दर्यबोधको साधन मात्र नभई सामाजिक परिवर्तनको औजारको रूपमा व्याख्या गर्छ । नेपालमा पनि यस आन्दोलनले वर्गीय असमानता, शोषण र उत्पीडन विरुद्ध जनस्तरले बोध गर्ने गरी आवाज उठायो । श्रमिक, किसान, महिला, दलित, आदिवासी समुदायका जीवन अनुभवलाई साहित्यको केन्द्रमा ल्याउने प्रयत्न गरिरह्यो । साहित्यलाई जनताको पक्षमा उभ्याउने प्रयास गर्‍यो । समाज परिवर्तनको अभियानमा यो संस्थाको भूमिका इतिहासमा स्पष्ट रूपमा लिपिबद्ध भएको हामी पाउँछौं ।

प्रलेसको स्थापनाकालदेखि वर्तमानसम्मको उपलब्धिको यात्रा

प्रगतिशील लेखक सङ्घको स्थापनाकालमा नेपालको कम्युनिस्ट आन्दोलन अविभाजित अवस्थामा थियो । त्यसैले पनि सङ्घको परिकल्पना त्यसैअनुरूप गरियो । समयक्रमसँगै नेपालको वामपन्थी आन्दोलन टुटफुटबाट गुज्रिन थाल्यो । त्यसपछि प्रगतिशील लेखक सङ्घलाई संयुक्त मोर्चाको अवधारणाअनुसार चलाउनुपर्ने अवस्था आइपरह्यो । नेपालका वामपन्थी पार्टीले २०४६ सालको जनआन्दोलन, संसदीय वा स्थानीय निर्वाचनको बेलामामात्र अल्पकालीन सहकार्य गरे पनि दीर्घकालीन रूपमा संयुक्त मोर्चा बनाएर काम अघि बढाउन सकिरहेका छैनन् । प्रगतिशील लेखक सङ्घभित्र विविध वैचारिक चिन्तनको उपस्थिति छ । नेपालका वामपार्टीमा संयुक्त मोर्चाको लामो अभ्यास नभएका कारण प्रगतिशील लेखक सङ्घले कहिलेकाहीँ साझा मत बनाउन निकै सकस परेको हाम्रो अनुभव छँदैछ ।

अहिलेको हाम्रो परिवेश भनेको सामन्तवाद र विकृत पुँजीवादको नवीन समीकरणको परिवेश हो । सामन्तवादी र साम्राज्यवादी सांस्कृतिक चेतना परस्पर एकअर्काका उपकारी भएर समष्टि रूपमा अघि बढेका छन् । यो संस्कृति जीवन विरोधी र मानवता विरोधी संस्कृति हो । यो संस्कृति राष्ट्रवादी चेतनाका विरुद्ध छ र समग्रमा भन्नुपर्दा लोकतान्त्रिक चेतनाको विरुद्धमा छ । जुन संस्कृति समग्र राष्ट्र, जाति र जनताको हितमा छैन, त्यसका विरुद्धको आन्दोलन प्रगतिशील सांस्कृतिक चेतनाका पक्षधर सिर्जनकर्मीका लागि साझा चासोको विषय हो । प्रगतिशील लेखक सङ्घको वर्तमान अवस्थासँग त्यही चासो जोडिएको छ र जोडिनुपर्छ । यसको साझा चरित्रको सौन्दर्य पनि यही सामूहिक चासोको परिणाम हो ।

प्रगतिशील लेखक सङ्घ नेपालको सबैभन्दा पुरानो साहित्यिक संस्था हो । २००९ सालमा स्थापना भएको यस संस्थासँग यसै वर्षसम्म आइपुग्दा ७४ वर्ष दीर्घयात्रा गरेको गौरवपूर्ण इतिहास छ । यो संस्थाको स्थापनापश्चात् नेपालको प्रगतिवादी/प्रगतिशील साहित्यको विस्तार र विकासमा अभूतपूर्व योगदान प्राप्त भयो । यस संस्थासँग विगतमा अति सामान्य आलोचना पनि खप्न नसक्ने निरङ्कुश सत्ताको आततायी चरित्रका विरुद्धमा लडेको गौरवमय इतिहास छ । नेपालको प्रगतिवादी/प्रगतिशील साहित्यको विकास र कालखण्डको चर्चा गर्दा प्रगतिशील लेखक सङ्घ कतैनकतै जोडिएर आइपुग्छ ।

प्रलेसले राजनीतिक परिवर्तनका कालखण्डमा सक्रिय सांस्कृतिक हस्तक्षेप गरेको छ । यसले साहित्यलाई जनआन्दोलनसँग जोड्ने काम पनि गरेको छ । विगतमा भएका जनआन्दोलनमा प्रगतिशील लेखक सङ्घले वा प्रगतिशील लेखकले अग्रिम मोर्चामा रहेर भूमिका खेलेका थुप्रै उदाहरण हामी दिन सक्छौँ । त्यो भूमिका २०३६ सालको आन्दोलनताकाको सडक कविता क्रान्तिको होस् वा २०४६ सालको जनआन्दोलनको समयको चैत ३ गतेको कालोपट्टी अभियान होस् । २०६२–६३ सालको आन्दोलनताका बनेको प्रतिगमन विरोधी स्रष्टाका संयुक्त समिति, गणतन्त्र कविता आन्दोलन वा लोकतान्त्रिक स्रष्टाको संयुक्त मञ्चजस्ता आन्दोलनकारी संस्थाको निर्माण मा प्रगतिशील लेखक सङ्घ वा प्रगतिशील लेखकको अगुवाइ अग्रिम पङ्क्तिमा रहेको भेटिन्छ ।

प्रगतिशील लेखक सङ्घको सङ्गठन विस्तार अहिले करिबकरिब देशव्यापी भएको छ । प्रगतिशील लेखक सङ्गठित भएर धेरै प्रतिष्ठान, स्मृतिकेन्द्र, मञ्च खुलेका छन् । प्रगतिशील साहित्यिक आन्दोलनको निम्ति यो अत्यन्तै सकारात्मक अवस्था हो । यो शक्तिलाई नेपाली समाज रूपान्तरणको अभीष्ट उद्देश्यतर्फ जोड्दै प्रगतिवादी साहित्यको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नु अहिलेको समयको माग हो ।

भावी कार्यदिशा

प्रलेसको भावी कार्यदिशा मुख्यतया निम्न विषयमा केन्द्रित गर्नु आवश्यकता छ ।

१) वैचारिक सुदृढीकरण

प्रगतिवादी विचारधाराको रक्षा गर्दै पछिल्लो समय देखा परेका वैचारिक विचलन र विसङ्गति विरुद्ध बौद्धिक बहस तथा सिर्जनात्मक हस्तक्षेप गर्ने कार्य अहिलेको पहिलो प्राथमिकता हो । प्रगतिवादी दृष्टिकोण र ध्येयलाई ठिक ढङ्गले अँगाल्ने प्रयत्न गरिनुपर्दछ । पछिल्लो चरणमा वैचारिक कार्यले कम तर अन्य कामहरूले प्राथमिकता पाइरहेका छन् । यसका लागि यी विषयमा ध्यान पुर्‍याउनुपर्ने देखिन्छ ।

१.१ वैचारिक बहस र विमर्शको निरन्तरता

केही वर्षदेखि माक्र्सवादी कलासाहित्यको विषयमा प्रशिक्षणात्मक गोष्ठी कम भएर गएका छन्, भएकै छैनन् भने पनि हुन्छ । त्यस्ता प्रशिक्षणमूलक गोष्ठी सञ्चालन गरिनपर्दछ । पहिलेको तुलनामा अहिले प्रलेसका सदस्यको लेखनमा वर्गप्रतिबद्धताको अभिव्यक्ति कमजोर रहनुको एउटा मूल कारण माक्र्सवादी कलासाहित्यको विषयमा प्रशिक्षणात्मक कार्यक्रम नहुनु पनि एक हो ।

१.२ हजारौँ वर्षदेखि चल्दै आएको रूढिग्रस्त समाजलाई बदल्न निश्चितै रूपमा सहज छैन । सहज नभए पनि हामीले यो कदम उठाउनैपर्छ । अन्धविश्वास, कुरीति, भाग्यवाद, परलोकवादजस्ता सामन्ती दर्शनलाई प्रश्रय दिने व्यक्तिवाद, अराजकतावादजस्ता प्रवृत्तिको विरुद्धमा प्रगतिशील लेखक सङ्घका सदस्यले आफ्ना लेखनमार्फत चेतना प्रवाहित गर्नुपर्छ ।

१.३ माक्र्सवादका विरुद्ध उत्तरआधुनिकता, नववामपन्थजस्ता विचार योजनाबद्ध रूपमा अघि सारिएका छन् । ड्यानियल बेलको ‘वर्गसङ्घर्षको अन्त्य’, फुकियामाको ‘इतिहासको अन्त्य’, रोलाँ बार्थको ‘लेखकको मृत्यु’, डेरिडाको विनिर्माणवादजस्ता धारणाको प्रभाव साहित्यकारमा बढ्दै गएको छ । यी दृष्टिकोण किन गलत हुन् भनेर मानिसलाई सचेत बनाउने कार्यक्रम अघि सार्नुपर्दछ ।

१.४ प्रगतिशील साहित्य लेखनमा स्थापित अग्रजका रचना पढ्न उत्प्रेरित गर्ने त्यस प्रकारका रचना वा कृतिमाथि बेलाबेलामा समीक्षागोष्ठी गर्ने कार्यक्रम अघि बढाइनुपर्दछ, जसले गर्दा नयाँ पुस्ता प्रगतिवादका सैद्धान्तिक परम्पराबाट दीक्षित र प्रशिक्षित हुन सकुन् ।

२) साहित्यिक सिर्जना र समीक्षा

नेपालको साहित्यिक आन्दोलनको इतिहास केवल कलात्मक अभिव्यक्तिको यात्रा मात्र होइन, यो समाज परिवर्तनको चेतनासँग गाँसिएको वैचारिक सङ्घर्षको इतिहास पनि हो । यसै परम्परामा उभिएको प्रगतिशील लेखक सङ्घ, नेपालले वर्गीय चेतना, सामाजिक न्याय, समानता र जनपक्षीय मूल्यको प्रबद्र्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ तर बदलिँदो सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक सन्दर्भमा यसको अवस्था र कार्यदिशालाई पुन: विमर्शको विषय बनाउन आवश्यक छ ।

२.१ श्रमजीवी वर्ग, उत्पीडित समुदाय र राष्ट्रियताका पक्षमा कलम चलाउन स्रष्टालाई प्रोत्साहन गर्नुपर्छ ।

२.२ प्रगतिशील/प्रगतिवादी समालोचना अत्यन्तै कमजोर हुँदै गएको छ । समाजवादी यथार्थवादी पद्धतिलाई अँगालेर प्रगतिवादी समालोचनाको विकास करिबकरिब ठप्पै छ भन्दा पनि हुन्छ । प्रगतिशील लेखक सङ्घले समालोचनात्मक चेत भएका र प्रगतिशील साहित्यको बाटो हिँड्न चाहने प्रतिभाको विधागत समूह बनाएर योजनाबद्ध रूपमा काम अघि बढाउनुपर्दछ ।

२.३ सर्वप्रथम त प्रतिबद्ध लेखनको बारेमा प्रगतिशील लेखक सङ्घको नेतृत्वमा बस्नेहरू नै प्रष्ट हुनुपर्छ । प्रगतिशील लेखकको लेखन वर्गप्रतिबद्ध लेखन हो । प्रगतिशील लेखक सङ्घले सङ्घमा आबद्ध नभएका वर्गप्रतिबद्ध लेखकको पहिचान गरी रोस्टर तयार गर्दै उनीहरूलाई सङ्गठित बनाउने कोसिस गर्नुपर्छ ।

२.४ प्रगतिशील साहित्यकारले सिर्जना र अध्ययन दुबै क्षेत्रबाट हस्तक्षेप बढाउन जरुरी छ । प्रगतिशील लेखक सङ्घका सदस्यले के के लेखिरहेका छन् ? के के पढिरहेका छन् ? अनुगमन गर्न जरुरी छ । सिर्जनाविनाको सक्रियताको प्रलेसले लोभ गर्नुहुँदैन । प्रलेसका सदस्यको सौन्दर्य सिर्जनामा देखिनुपर्छ । सिर्जनालाई प्राथमिक र सङ्गठनात्मक सक्रियतालाई सहायक महत्त्व दिनुपर्दछ, नत्र प्रलेस लेखकविनाको सङ्गठनमा रूपान्तरित हुँदै जाने खतरा बन्छ । प्रगतिशील लेखक सङ्घले सिर्जनालाई पहिलो महत्त्व दिने कार्यक्रम अघि बढाउनुपर्दछ ।

३) प्रकाशनको क्षेत्रमा

३.१ प्रगतिशील पत्रिकाको प्रकाशनलाई जोड दिनुपर्छ । प्रगतिशील लेखक सङ्घमा आबद्ध सदस्यले चलाएका साहित्यिक पत्रिका कतिपय अवस्थामा प्रगतिशील मूल्यलाई आत्मसात गरेको पाइँदैन । सङ्घका सदस्यलाई प्रगतिशील मूल्यलाई आत्मसात गरेका सामग्री प्रकाशन गर्न उत्प्रेरित गर्नु र कर्तव्यबोध गराउन पहल लिनुपर्दछ । सरदर बजारमा निस्कने पत्रिका र प्रगतिशील पत्रिकाको फरक बुझाउन साहित्यिक पत्रिका प्रकाशन गरिरहेका प्रलेसका सदस्य सम्मिलित गराएर छलफल र अन्तरक्रियाको कार्यक्रम चलाउनुपर्छ ।

३.२ सेवापत्रिकादेखि लिएर उत्साह, वेदना, सङ्कल्प, झिसमिसे, लहर, कलम, इच्छुक आदिजस्ता वर्तमान चरणसम्म निस्किरहेका प्रगतिशील/प्रगतिवादी साहित्यिक पत्रिका खोजी गरेर एकीकृत रूपमा अनलाइनमार्फत अध्ययन गर्ने व्यवस्था मिलाउन सकिन्छ । त्योमार्फत् नयाँ पुस्ताले इतिहासको विरासतबाट प्रभाव ग्रहण गर्न सक्छन् ।

३.३ आजको युग डिजिटल प्रविधिले पूर्णतया प्रभावित गरेको युग हो । यसलाई हामीले समयको माग बुझेर उपयोग गर्न सकिरहेका छैनौँ । यसको अर्थ छापा प्रकाशनको महत्त्व छैन भन्ने अर्थमा बुझ्नु आवश्यक छैन तर प्रकाशनको मञ्च छापा दुनियाँबाट डिजिटल दुनियाँतिर फट्को मार्दै गरेको अवस्था हो । यो परिवर्तनलाई जति चाँडो हामीले आत्मसात गर्न सक्यौँ, त्यति नै नयाँ पुस्तासँग संवाद बढाउन सक्नेछौँ, नत्र समयले हामीलाई धेरै पहाडि छाड्नेछ ।

४) सङ्गठनको क्षेत्रमा

४.१ प्रलेसका शाखालाई ७७ ओटै जिल्ला र तल्लो तहसम्म विस्तार गरी सङ्गठनलाई अझ सुदृढ, समावेशी र गतिशील बनाउने अभियान सञ्चालन गर्न जरुरी छ । डिजिटल माध्यम (अनलाइन पोर्टल, सामाजिक सञ्जाल) को उपयोग गरेर प्रगतिशील विचार, साहित्य र सन्देशलाई युवा पुस्तामाझ व्यापक रूपमा पुर्‍याउने योजना बनाउनुपर्छ ।

४.२ प्रगतिशील लेखक सङ्घ संयुक्त मोर्चा खालको सङ्गठन हो । विभिन्न साहित्यिक/सांस्कृतिक सङ्गठनसँग सम्बन्धित सदस्य यो सङ्घमा सहभागी हुनुहुन्छ । संयुक्त मोर्चाको संस्कृतिलाई स्थापित गर्न सकियो भने यस प्रकारका संस्था प्रभावकारी ढङ्गबाट सञ्चालन हुनेछन् ।

५) सङ्घर्षको क्षेत्रमा

५.१ जनजीविका, जनतन्त्र र राष्ट्रियताको पक्षमा प्रगतिशील लेखक सङ्घले स्थापना कालदेखि सङ्घर्ष उठाउँदै आएको छ । प्रगतिशील लेखक सङ्घको इतिहासमा यो संस्थाले दिल्ली सम्झौता, कोशी सम्झौता, गण्डक सम्झौताजस्ता राष्ट्रघाती सम्झौताको विरुद्धमा आवाज बुलन्द बनाएको हामीले पढ्न पायौँ । त्यो अभियानलाई कमजोर पार्न दिनुहुन्न । पछिल्लोपटक गरिएका महाकाली सन्धि र एमसिसी सम्झौताजस्ता राष्ट्रघाती सम्झौताका विरुद्धमा अभियान चलाएर नयाँ पुस्तालाई प्रशिक्षण गराउनु जरुरी छ ।

५.२ एकता–आलोचना र फेरि एकताको सही तरिकाले कार्यान्वयन गर्नु अहिलेको समयको आवश्यकता हो । जुट्नुको अर्थ विचार परित्याग गर्नु होइन । विचारविनाको एकताले हामीलाई सही ठाउँमा पुर्‍याउँदैन । अर्कातिर, सामान्य कार्यशैलीगत मतभेदलाई पहाड बनाएर द्वन्द्व सिर्जना गर्दा प्रहार गरिनुपर्ने ठाउँ छुट्ने सम्भावना हुन्छ । त्यसैले सङ्घर्ष र आलोचनालाई ठिक ढङ्गले अघि बढाइयो भने मात्र संयुक्त मोर्चा प्रकृतिका संस्था प्रभावकारी रुपमा सञ्चालित हुन्छन् ।

६) स्रष्टा हकहित र ऐक्यबद्धता

६.१ लेखक तथा साहित्यकारको बौद्धिक सम्पत्तिको संरक्षण, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत र देशभरिका स्रष्टाका बिचमा आपसी ऐक्यबद्धता कायम गर्दै अघि बढ्नुपर्छ ।

६.२ श्रमजीवी जनतासँग हाम्रो सम्बन्धको दुरी झन् झन् बढ्दै गइरहेको छ । श्रमजीवी जनतासँग टाढा भएर एकान्त कोठामा बसेर लेखिएको प्रगतिशील साहित्यले जनताको मन जित्न सक्दैन । जनताको लागि साहित्य लेख्न चाहने लेखकले जनतालाई अध्ययनको विषय मात्र होइन, आफ्नो सहयात्री र प्रेरणाको स्रोत बनाउनुपर्छ । जनतासँगै हाँस्ने, रुने, श्रम गर्ने र सङ्घर्ष गर्ने लेखकले मात्र जीवनको साँचो स्पन्दन भेट्याउन सक्छ । त्यसैले जनताको साहित्य लेख्ने सबैभन्दा भरपर्दो बाटो भनेको जनतासँगै घुलमिल हुनु हो ।

६.३ प्रगतिशील लेखक सङ्घले मुलुकका अग्रज पुस्ताका प्रगतिशील स्रष्टाको सार्वजनिक सम्मान गर्ने प्रचलनलाई निरन्तरता दिनुपर्छ । विगतमा युद्धप्रसाद मिश्र, श्यामप्रसाद शर्मा, आनन्ददेव भट्टजस्ता विराट प्रगतिशील प्रतिभाको सामूहिक अभिनन्दन गरियो । यो अभियानमा धेरै प्रतिभालाई जोड्नुपर्छ । उहाँहरूको योगदान समेटिएको विशेषाङ्क प्रकाशन गर्नुपर्छ । यो अभियान अग्रजको सम्मान मात्र होइन, नयाँ पुस्तालाई इतिहासप्रति जानकारी गराउनु पनि हो ।

७) प्रलेसले विगतमा कमै मात्र प्राथमिकता दिएको तर प्राथमिकतामा पार्नै पर्ने केही मुद्दा

प्रगतिशील साहित्यको मूल उद्देश्य समाजको यथार्थलाई उद्घाटित गर्नु, शोषण–उत्पीडनका संरचनालाई चिनाउनु र न्यायपूर्ण तथा मानवीय समाज निर्माणको पक्षमा वैचारिक–सांस्कृतिक हस्तक्षेप गर्नु हो । समयसँगै समाजका समस्या र अन्तर्विरोध बदलिँदै गएका छन् । त्यसैले आजको प्रगतिशील साहित्यले परम्परागत वर्गीय शोषणका प्रश्नसँगै नयाँ सामाजिक, सांस्कृतिक, वैज्ञानिक र वैश्विक मुद्दालाई पनि केन्द्रमा ल्याउन आवश्यक छ । प्रगतिशील साहित्यको लक्ष्य समाजलाई उन्नत बनाउनु नै हो । समाजलाई उन्नत बनाउन प्रयत्न नगर्ने साहित्यप्रति प्रगतिशील साहित्यको खासै सरोकार रहँदैन । प्रगतिशील साहित्यले हर आफ्नो युगमा उभिएर नयाँ युगको माग गर्नुपर्छ ।

७.१ जलवायु सङ्कट र पर्यावरणीय न्यायको प्रश्नलाई हामीले कहिल्यै पनि प्राथमिकतामा पारेनौँ । साम्राज्यवादले नाफा कमाउने नाममा पर्यावरणलाई नष्ट गरिरहेको छ । अब यो विषयलाई पनि प्रगतिशील साहित्यको केन्द्रमा ल्याउनुपर्छ । जलवायु परिवर्तनका कारण हिमाल पग्लिनु, पानीको सङ्कट बढ्नु, जैविक विविधताको ह्रास हुनु, र विपन्न समुदायमाथि पर्ने असमान असरलाई प्रगतिशील साहित्यले गहिराइका साथ उठाउनुपर्छ ।

७.२ डिजिटल पुँजीवाद र कृत्रिम बुद्धिमत्ताले सिर्जनामा पार्ने असर, श्रम, शिक्षा र रोजगारीमा ल्याउने परिवर्तन, डिजिटल असमानता र मानिसको आत्मपहिचानमा पर्ने प्रभाव पनि अब हाम्रो साहित्यको विषय बन्नुपर्छ ।

७.३ प्रगतिशील बालसाहित्यको क्षेत्रमा हाम्रो ध्यान विगतमा आवश्यकताअनुसार पुग्न नसकेको सत्य हो । अहिलेका बालक नै भोलिका नागरिक हुन् । उनीहरूलाई वैज्ञानिक खुराक दिने साहित्य हाम्रो प्राथमिकतामा पर्नुपर्छ । बालसाहित्यलाई बढ्ता ध्यान केन्द्रित गर्न ज्ररुरी छ ।

निष्कर्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल एक ऐतिहासिक जिम्मेवारी बोकेको संस्था हो । यसले अतीतमा परिवर्तनको बिउ रोपेको थियो तर अबको चुनौती त्यो बिउलाई नयाँ माटो, नयाँ समय र नयाँ चेतनासँग मलजल गरेर हुर्काउनु हो । नेपाली समाजमा परिवर्तन आइरहेको छ । हाम्रा आँखाले देख्ने गरी आइरहेको छ । कैयौँ पुराना विश्वास र मान्यताका जग हल्लिरहेका छन् । प्रगतिशील लेखक सङ्घले समाजलाई नयाँ गति दिने र समयको पदचापलाई विश्लेषण गर्ने नयाँशक्तिको रूपमा आफूलाई परिवर्तित गर्न जरुरी छ । सही प्रगतिवादी दृष्टिकोणमाथि चौतर्फी रूपमा आक्रमण भइरहेकै छन् । प्रगतिशील आन्दोलन जति अघि बढ्दै जान्छ, प्रतिकृयावादीको योजनाबद्ध आक्रमण पनि पक्कै बढ्दै जान्छ । आम नागरिकको आवाज बोल्ने लेखनधारा कमजोर बन्दैछ कि भन्ने चिन्ता पुरानो पुस्तामा बढ्दो छ । मानिसमा विकसित हुँदै गरेको यो चिन्तालाई निराकरण गर्दै भरपर्दो बाटो पहिल्याउनु प्रलेसको अहिलेको प्रमुख कार्यभार हुनुपर्दछ ।

000

(२०८३ जेठ १० गते प्रगतिशील लेखक सङ्घद्वारा आयोजित ‘राष्ट्रिय साहित्यिक विचारगोष्ठी’ मा प्रस्तुत विचारपत्र)

www.yugdarshan.com बाट साभार 

No comments:

Post a Comment