Wednesday, May 17, 2017

नेपाली प्रगतिवादी साहित्यका स्कुलका रूपमा श्यामप्रसाद - प्रा.डा. जीवेन्द्रदेव गिरी


१. आरम्भ
श्यामप्रसाद (१९८६) नेपाली प्रगतिवादी साहित्यका एक सशक्त मियो हुन् । उनी एक व्यक्ति मात्र नभई संस्था वा स्कुलका रूपमा नेपाली प्रगतिवादी साहित्यका फाँटमा खडा छन् । प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्षका रूपमा वि.सं. २००९ मै मुलुकका समग्र प्रगतिशील लेखकहरूलाई नेतृत्व प्रदान गरेका शर्मा वि.सं. २०४८ मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट पुनः सो सङ्घका अध्यक्ष निर्वाचित भए । यसरी नै वि.सं. २०५० मा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनद्वारा पनि उनकै अध्यक्षता सर्वसम्मत रूपमा स्वीकार गरियो । त्यस यता पनि निरन्तर रूपमा सल्लाहकारका हैसियतले उनले प्रगतिशील लेखक सङ्घको प्रगतिका लागि योगदान गर्दै आएका छन् । प्रगतिशील लेखक सङ्घका बैठक, गोष्ठी, भेला, सम्मेलन र भेटघाटमा उपस्थित भई आफ्ना सारगर्भित अभिव्यक्तिद्वारा प्रेरणा र उत्साह छर्न उनी सदा अग्रसर देखिन्छन् । उमेरले आठ दशक कटाइ सक्ता पनि र शरीरले अरूको सहारामा हिँडाउँदा पनि उनी विभिन्न कार्यक्रमहरूमा पुगी सक्रिय भूमिका पुरा गरी रहेका हुन्छन् । अहिलेसम्म पनि आफ्नो लेखनीलाई जनता र राष्ट्रको हितमा प्रयोग गर्दै आएका शर्मा नेपाली प्रगतिवादी साहित्यिक फाँटका अग्रजहरूमध्ये कैयन्का उत्प्रेरकका रूपमा सम्मानित छन् । उनका सम्बन्धमा केवलपुरे किसान र रमेश विकलले व्यक्त गरेका यी अभिव्यक्ति मात्रैले पनि उनको भूमिकालाई छर्लङ्ङ्याउन सक्छन् : –
रेलका डिब्बा चहारेर पुस्तकहरू बेची 
प्राण धान्थ्यौँ श्यामजी र म आठ नौ सालदेखि 
केवलपुरे किसान, ‘आफ्नो चिनारी आफ्नै शब्दमा’

....... २००६ सालमा श्यामप्रसाद शर्माको अगुवाइमा ‘सन्देश’ साहित्यिक पत्रिका 

(हस्त लिखित) निकाल्ने र त्यसकै आडमा ‘पाँच भाइ’ नाउँको गोप्य सङ्गठनद्वारा राजबन्दीहरूसँग खबर आदान प्रदान र प्रचार प्रसार गर्ने सिलसिलामा एक पल्ट पहिले पनि पक्राउ परेर केही दिनको हिरासत र वर्षदिन (२००७ साल फागुन ७ गतेसम्म) तारिख धाउने सजाय भोगि सकेको थिएँ । 
रमेश विकल ‘यसरी पाएँ मैले पार्टी सदस्यता’

उपर्युक्त दुई प्रगतिशील साहित्यिक हस्तीहरूका अतिरिक्त अन्य विभिन्न स्रष्टाहरूले पनि उनबाट प्राप्त प्रेरणाबारे ठाउँ ठाउँमा चर्चा गरेको पाइन्छ । उनको ‘आएका केही चिठी’ (२०५५) र ‘मेरा डायरीका पाना’ का विभिन्न पुस्तिका अनि धर्मराज अधिकारीको ‘आँखीझ्यालबाट हेर्दा श्यामप्रसाद’ (२०६३) तिर आँखा लगाउँदा थाह हुन्छ– उनी मान्छेहरूका हृयदका कुन गहिराइमा छन् !

उनले साहित्य, दर्शन, राजनीति र अनेक व्यावहारिक विषयमा आफ्नो विशिष्ट चिन्तन र सिर्जनात्मक क्षमताको प्रदर्शन गरेका छन् । थोरैमा धेरै अटाउने गरी गहन, घतलाग्दो र सूत्रात्मक प्रस्तुति गर्नु उनको विशेषता हो । उनका छोटा, छरिता र मिठा रचनाहरू हितकारी र लोभलाग्दा छन् । ‘आजको हाम्रो कर्तव्य’ (२०६६) को ‘स्रष्टाहरूको आन्दोलनलाई’ अन्तर्वार्तामा उनी भन्छन्  : –

विद्वान्हरूले मात्र होइन, धेरैले बुझून् । विषय त गहनभन्दा गहन पनि लिन सकिन्छ नि ! तर त्यसलाई सकेसम्म सहज र सरल पाराले भन्नु पर्छ । सभ्य शिष्ट बन्ने हो भने अरूलाई अप्ठ्यारोमा पार्नु हुन्न । जनतालाई बढी जागरुक बनाउन, बढी सजग बनाउन, बढी सचेत बनाउन मैले यो तरिका अपनाएको हुँ ।

उनका एकाध रचनालाई लिएर अलोचना गरिए पनि उनका समग्र रचनाहरूको समिष्ट प्रभावको प्रशंसा नगर्ने व्यक्ति पाउन गाह्रै पर्ला । उनका असल कर्मका विशालताका अगिल्तिर सानातिना कमजोरी ‘रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी’ मा झैँ स्वतः नगण्य छन् । उनका असल कर्म झैँ जीवनी पनि अनुकरणीय छ । सादा जीवन, सरल बोली, हार्दिक व्यवहार र निश्छल अभिव्यक्ति उनका परिचायक हुन् । भाषणमा होस् वा लेखनमा, पहिरनमा होस् वा व्यवहारमा उनको सरलता र स्वाभाविकताले सबैलाई प्रभाव पारेको पाइन्छ । 

श्यामप्रसाद कुनै एक व्यक्तिका रूपमा मात्र सीमित छैनन्, उनी एक सिङ्गो संस्था वा स्कुल बनि सकेका छन् । उनको स्कुलिङमा दीक्षित हुनेहरूको एउटा ठुलो समूह नेपाली समाजको रूपान्तरणमा जुटेको छ । कतिले उनको चिन्तनलाई पछ्याएका छन्, कतिले उनको लेखनलाई अँगालेका छन् र कतिले उनको अभिव्यक्ति कला र भाषालाई आत्मसात् गरेका छन् भन्ने कुरा एक महŒवपूर्ण अध्ययनको विषय बन्न सक्तछ । उनको प्रत्यक्ष नेतृत्वमा सङ्गठित रहेर काम गर्नेहरूको पङ्क्ति त छँदै छ, उनको जीवनी र कर्मलाई देखेर उनीप्रति आस्था, श्रद्धा र माया खन्याउनेहरूको सङ्ख्या पनि ठुलो छ । उनीप्रति सिङ्गो नेपाली समाज ऋणी छ, कृतज्ञ छ । त्यसैले त प्रगतिशील लेखक सङ्घ जस्तो राष्ट्रको प्रतिष्ठित संस्थाले आफ्नो छैटौँ राष्ट्रिय सम्मेलनमा उनको उच्च मूल्याङ्कन गर्दै श्रद्धापूर्वक सम्मान अर्पण ग¥यो । 

श्यामप्रसाद नेपाल कम्युनिस्ट पार्टीमा सङ्गठित भई महŒवपूर्ण जिम्मेवारी निर्वाह गरेका व्यक्ति हुन् र आफ्नै नेतृत्वमा अति गोप्यवादी सङ्गठन पनि उनले सञ्चालन गरेको कुरा विभिन्न व्यक्तिहरूले सार्वजनिक गरेका छन् । त्यसैले राजनैतिक सङ्गठनबाट उनले प्राप्त गरेको ज्ञान र अनुभवबाट पनि उनको जीवन खारिएको छ र राजनीति, दर्शन र व्यावहारिक क्षेत्रका विभिन्न लेखहरू र उनका अन्तर्वार्ताहरूमा पनि सो कुरा देख्न सकिन्छ । 

उनी राजनीतिसँग गाँसिए पनि मूलतः उनको क्षेत्र साहित्य नै रह्यो । साहित्यिक क्षेत्रमा उनले संस्थागत नेतृत्वका साथै निबन्ध, कविता, गीत, समालोचना, लेख आदिको लेखनमा महŒवपूर्ण योगदान गरेका छन् ।


२. योगदान 
‘उनका बहिनीलाई चिठी भाग १’ (२००८), ‘बहिनीलाई चिठी भाग २’ (२०१२), ‘तँ–तिमी, तपाईं हजुर’ (२०१४), ‘मेरी आमा’ (२०२३) जस्ता निबन्धात्मक कृतिहरूको गहिरो छाप कैयन् नेपाली मन–मस्तिष्कमा विद्यमान छ । नारी चेतनाका साथै वर्गीय चेतनाका दृष्टिले पनि उत्कृष्ट ती रचनाहरू खोजीखोजी पढ्ने गरिएको कुरा सबैलाई थाह छ । उनले दुई दशकभन्दा बढी भूमिगत जीवन बिताए पनि आफ्नो लेखन कार्यलाई भने विश्राम दिएनन् । त्यस अवधिमा पनि उनले सिर्जनालाई अगि बढाउने काम गरे जसको विवरण उनकै ‘अनुभवहरूको सजीव प्रस्तुति’ (२०५८) नामक कृतिको ‘गुप्तवासका मेरा रचना’ शीर्षकमा प्रकाशित छन् । भूमिगत जीवनपछि पनि उनले अनेक उपयोगी रचना सार्वजनिक गरे । यस क्रममा पनि उनका ‘साथी बनाउने काइदा’ (२०४६), ‘धनीको पनि ओड लिने ?’ (२०४८), ‘सबैका लागि घर’ (२०४९), ‘उनी कति राम्री ?’ (२०५२) जस्ता महŒवपूर्ण निबन्ध सङ्ग्रहहरू प्रकाशित भए । यिनका अतिरिक्त अन्य पुस्तक–पुस्तिकाहरूमा पनि निबन्धात्मक विशेषताले युक्त अनेक लेखहरू प्रकाशित भए । उनका धेरैजसो निबन्धहरू एकत्रित गरिएको ‘श्यामप्रसादका निबन्धहरू’ (२०६२) प्रकाशित गरेर विवेक सिर्जनशील प्रकाशनले नेपाली साहित्यका निम्ति गुणग्राही काम गरेको छ । यी निबन्धहरू राष्ट्रियता, समानता, स्वाधीनता, शान्ति, सदाचार, मित्रता, अपाङ्गता, साम्यवाद, भाषा, वृद्धवृद्धा, बाल बालिका, प्रेम, श्रम आदि विविध विषयसँग सम्बन्धित छन् । यहाँ सङ्कलित ‘रमाइला–नरमाइला कुरा’ मा देखिने अश्लीलताबारे भने आलोचना भएको छ र यसले सङ्ग्रहको प्रभावलाई क्षतिग्रस्त पनि तुल्याएको छ । बाँकी अन्य निबन्धहरू भने भाव र भाषा दुवै दृष्टिले उत्कृष्ट छन्, बरु कुनै कुनैको छोटो आकार भने निबन्धको उचाइसम्म नतन्किएको अनुभूति हुन्छ । कुनै पट्यारबिना सजिलैसँग पढ्न सकिने यी निबन्धको भाषा सरल, सुबोध र सम्पे्रष्य रहेकाले साधारण जन समुदायका पहुँचमा छन् । नेपाली प्रगतिशील साहित्यको निबन्ध विधालाई उठाउन श्यामप्रसादले गरेको योगदान उत्कृष्ट कोटिको छ । उनका निबन्धहरूले विद्यालय र विश्व विद्यालयका पाठ्यक्रमहरूमा स्थान पाएका छन् । डिल्लीप्रसाद पाण्डेयले ‘श्यामप्रसाद शर्माको निबन्धकारिता’ (२०५४) शीर्षकमा त्रिभुवन विश्व विद्यालयको नेपाली केन्द्रीय विभागमा शोधपत्र प्रस्तुत गरेर उनका निबन्धका विशेषताहरूमा प्रकाश पारेका छन् भने धर्मराज अधिकारीले उनको साहित्यिक योगदानबारे विद्यावारिधि तहको अध्ययन सम्पन्न गरेका छन् । 
श्यामप्रसादले नेपाली कविता र गीतका क्षेत्रमा पनि उल्लेख्य योगदान गरेका छन् । ‘केही कविता, केही गीत’ (२०४३), ‘मेरी सानी साथी’ (२०५३), ‘हामी हुन्छौँ बलियो’ (२०५२), ‘हाम्रो इच्छा’ (२०५६), ‘मेरा गीतहरू, तिम्रा स्वरहरू’ (२०६३) तथा ‘राम्रो–नराम्रो’ (२०६६) उनका कविता र गीतका सङ्ग्रहहरू हुन् । उनी लयबद्ध कविता सिर्जना गर्छन् र गीत गुनगुनाउनका लागि त झन् लय आवश्यक पर्ने नै भयो । उनको भाषिक सरलताले गर्दा कतिपय गम्भीर कुरा पनि सहज र स्वाभाविक रूपमा उनका यी पद्य रचनामा व्यक्त भएको पाइन्छ । यी रचनाहरूमध्ये अधिकांश बालबालिकाका लागि उपयोगी रहेका छन् । उनका कतिपय बालगीतहरू विद्यालयका पठनपाठनमा उपयोग गरिँदै आएका छन् । उनको ‘क,ख,ग,घ,ए,बी,सी,डी’ बोलको गीत निकै लोकप्रिय रहेको छ । रेडियो नेपालले ज्योति दिदीका नाममा लामो समयसम्म प्रसारण गरेको यो गीत अहिले विद्यालय विद्यालय चहारि रहेको छ । ‘बालपोष’ पत्रिकाबाट उनले थालनी गरेको ‘राम्रो नराम्रो’ स्तम्भको अहिले बेग्लै स्कुल खडा भएको छ । उनका पद्य रचनाहरू राम्रा सन्देशले युक्त छन् र ती बाल बालिका लगायत सिङ्गो समाजका निम्ति मार्ग दर्शक रहेका छन् । तिनले सरल ढङ्गले प्रवाहित गर्ने विचार बालकको चरित्र र स्वास्थ्यको निर्माणका साथै श्रम र श्रमिकको शिर उँचो पार्ने किसिमका छन् । उनका कविता र गीतका केही नमुना यहाँ प्रस्तुत छन् : –

क) बाँडीचुँडी खाने बानी 
धेरै धेरै राम्रो
चोरी खोसी खाने बानी 
हुनुसम्म नराम्रो
– राम्रो नराम्रो


ख) स्कुलमा मात्र होइन, घरमा पनि जाँच हुन्छ
बाटोघाटो हिँड्दा पनि मानिसको जाँच हुन्छ 
– मेरी सानी साथी


ग) सबै जाति, वर्ण, लिङ्ग
भाषा, धर्म समान छन् 
बाँधा, दास कुनै होइनन् 
हरेक व्यक्ति स्वतन्त्र छन् । 
– मेरा गीतहरू तिम्रा स्वरहरू


घ) संसार भरकै केटाकेटी 
हाम्रा साथी हुन्, 
सबै देशका असल मानिस 
काका काकी हुन् 
– हाम्रो इच्छा


बालबालिकाको शारीरिक स्वास्थ्यको स्थिति राम्रो पार्न पनि श्यामप्रसादले बालगीतहरू लेखेका छन् । उनले स्वास्थ्य सम्बन्धी लेख लेखेका कारण आलोचित हुँदा आफ्ना अनुभवलाई डाक्टरसँगको परामर्शद्वारा परिष्कृत पारेको कुरा व्यक्त गर्दै आएका छन् । उनले व्यापक जनताका सम्पर्कमा जाँदा अवश्यमेव धेरै कुरा सिकेका छन् । बाल बालिकाहरू कुपोषणले रोगी भएको पनि आफैले देखेका छन् । त्यसैले बाल बालिकाहरू निरोगी रहून् भन्ने उनलाई पनि लागि रहनु स्वाभाविक छ । ‘हामी हुन्छौँ बलियो’ गीत सङ्ग्रह उनले यसै उद्देश्यले लेखेका छन् । त्यहाँका केही बालगीत यस प्रकार छन् : –
क) मानिसको दुधमा भन्दा

गाईकोमा चौबर 
क्यालसियम हुन्छ 
खाऊ बरोबर 
ख) खानु पर्छ सुत्केरीले 
झोल, नरम कुरा
खाऊ मुगी, चना, साग
मिठा–मिठा फल 
ग) भिटामिन ज्यान नै हो 
खाने कुराको 
रोगसित कुस्ती खेल्छ
हामीहरूको

उनी गुप्तवासमा बस्नु परेकाले उनको सहमतिमा ‘मेरी सानी साथी’ गीत सङ्ग्रह सुरुमा कुलमान सिंहका नाममा छापिएको थियो । कुलमान सिंह यसका सर्जक नभई चित्रकार मात्र थिए र पछि उनी आफैले यो कुरा सार्वजनिक गरेका थिए । श्यामप्रसाद राजनैतिक कारणले भूमिगत रहेको अवस्थामा शिक्षा तथा संस्कृति मन्त्रालयको प्राथमिक शिक्षा परियोजना अन्तर्गत यसलाई प्रकाशन गर्न सो जुक्ति अँगालिएको थियो । 
यसरी श्यामप्रसादका गीत र कविताहरू उद्देश्यमूलक ढङ्गले बाल बालिका र तिनका अभिभावकलाई मानसिक र शारीरिक रूपमा स्वस्थ पार्ने दिशातिर लक्षित छन् । वर्तमान समयमा यिनको प्रचार प्रसार अझ व्यापक रूपमा हुनु पर्ने हो किनकि हिजो असल विचार फिजाउनु पनि जोखिमपूर्ण थियो तर आज स्थिति परिवर्तन भएको छ । एक बाल साहित्यकारका रूपमा राष्ट्रका तमाम बालबालिकाका मार्गदर्शक त उनी हुँदै हुन्, कैयन् बाल साहित्यका सर्जकहरूका पनि एक केन्द्रीय व्यक्तित्व हुन् भन्ने कुरा सबैले हृयदङ्गम गर्न आवश्यक छ । 
नेपाली समालोचना पनि श्यामप्रसादका योगदानबाट लाभान्वित छ । ‘लेखक कसरी बन्ने’ (२००९), साहित्य सम्बन्धी दुई चार कुरा’ (२०२२), साहित्यमा पात्रपात्रीहरू’ (२०३९), ‘केही साहित्यकार र साहित्य’ (२०४२), जीवित साहित्यकारप्रति हाम्रो कर्तव्य’ (२०५०), ‘साहित्यमा सापेक्षता’ (२०५०), ‘साहित्यिक फाँटका मेरा केही धारणा’ (२०५२), ‘प्रलेस सम्बन्धी दुई–चार कुरा’ (२०५२) जस्ता उनका कृतिहरू साहित्यिक समालोचनासँग सम्बद्ध छन् । उनको समालोचकीय टिप्पणीले ‘मेरा डायरीका हृदयचन्द्र’ (२०५३), ‘जुक्तिले काम दियो’ (२०५४), ‘अनुभवहरूको सजीव प्रस्तुति’ (२०५८) र ‘सबैको प्यारो’ (२०६०) जस्ता पुस्तकहरूमा पनि केही स्थान लिएको पाइन्छ । उनका समालोचनाहरू साहित्यिक सिद्धान्त र सौन्दर्यका साथै व्यक्ति र उसका कृतिसँग सम्बन्धित छन् । उनले खास गरेर प्रगतिवादी साहित्यिक सिद्धान्त अनुसार साहित्य कस्तो हुनु पर्छ र हुन्छ भन्ने कुराका साथै प्रगतिशील लेखक सङ्घसँग सम्बन्धित अवधारणा सैद्धान्तिक समालोचनाका रूपमा प्रस्तुत गरेका छन् । जन साहित्य, साहित्य र राजनीति, साहित्यिक विषय वस्तु र भाषा आदिका विषयमा उनका धारणाहरू उनका समालोचनामा प्रस्तुत छन् । साहित्यलाई समय, वर्ग, चेतना, विचार, भावना, कार्य र मान्यताका सापेक्षतामा कसरी हेर्ने भन्ने कुरा पनि उनले स्पष्ट पारेका छन् । उनले साहित्यिक समालोचनाले जानीजानी जन विरोधी कुरा लेख्ने र चेतना एवम् अनुभवको कमीले गर्दा जनताको अहित हुने कुराको ख्याल नपु¥याउने लेखकको भेद गर्न सक्नु पर्ने, ठुलो र सानो अपराध छुट्याउन सक्नु पर्ने, नम्र, तार्किक र यथार्थ रूपमा आफ्ना मतहरू प्रस्तुत गर्न सक्नु पर्ने र अरूको पनि चित्त बुझाउनु पर्ने अभिमत प्रस्तुत गरेका छन् । साहित्य गाउँ र सहर दुवै ठाउँका बासिन्दालाई ख्याल गरेर लेखिनु पर्ने र साहित्यिक इतिहास तयार गर्दा साहित्यकार र तिनका रचना, पुस्तक, पत्रिका, साहित्यिक सङ्घ संस्था, साहित्यिक आन्दोलन, विचारधारात्मक प्रवृत्ति, वाद विवाद, तिथिमिति, विधा आदितिर ध्यान दिनु पर्ने उनको विचार छ । उनी स्वदेश र विदेश दुबैतिर दृष्टि पु¥याई वैज्ञानिक शैलीलाई अँगालेर समालोचना गरिएको देख्न चाहन्छन् । यसका साथै विदेशमा बसेका नेपालीहरूले गरेको योगदानलाई पनि बिर्सन नहुने र अहिले बाटो बिराएका साहित्यकारले पनि पहिले गरेको योगदानको जस पाउनु पर्ने उनको राय छ । उनी लेखनका लागि गहन अध्ययन र छलफलको आवश्यकता बोध गर्छन् र इतिहासको सर्वाङ्ग पूर्णता एवम् सङ्क्षिप्तताको पक्ष लिन्छन् । 

‘साहित्यिक फाँटका केही अवधारणा’ मा उनको सैद्धान्तिक समालोचना सम्बन्धी दृष्टिकोण अझ खुलस्त भएको छ । उनले आफू कसरी समालोचनामा प्रवेश गरे भन्ने कुरादेखि कसरी सम्पादन र समालोचनाको काम सम्पन्न गरी पत्रिका प्रकाशन गर्थे भन्ने कुराको उल्लेख त्यहाँ गरेका छन् । समालोचनाका क्षेत्रमा लागेका व्यक्तिहरूका निम्ति उनका अनुभव र दृष्टिकोणले महŒवपूर्ण सघाउ पु¥याउन सक्तछन् । उनी समालोचनाले लेखकलाई उत्तरोत्तर परिष्कृत तुल्याउनु पर्छ भन्ने विचारका साथ सही र गलत छुट्याइनु पर्ने, कुन कृतिले कति महŒव पाउनु पर्छ भन्ने कुराको मापदण्ड हुनु पर्ने, एउटै लेखकका पनि भिन्न भिन्न काल वा रचनाको तुलना गरिनु पर्ने, साहित्यकार कुन प्रकारको भनी पहिचान गरिनु पर्ने, आवश्यक मात्रामा प्रशंसा वा प्रहार गर्दा अत्युक्ति दोषबाट मुक्त हुनु पर्ने जस्ता विचार यस सन्दर्भमा अगि सार्न पुगेका छन् । उनले हास्यव्यङग्य र बाल साहित्यका सन्दर्भमा पनि आफ्ना समालोचनात्मक दृष्टिकोण प्रस्तुत गरेका छन् । उनी नेपालका विभिन्न भाषा र क्षेत्रका साहित्यिक रचनाहरूको समालोचना गरिनु पर्ने र नाम नचलेका साहित्यकारहरूतिर पनि समालोचकीय दृष्टि पुग्नु पर्ने सल्लाह दिन्छन् । समालोचना कस्ता खालका पाठकहरूका लागि लेखिँदै छ भन्ने कुरातिर पनि ध्यान पु¥याउन उनले सल्लाह दिएका छन् । निबन्ध कस्तो हुनु पर्छ भन्ने उनको दृष्टिकोण पनि उनले सार्वजनिक गरेका छन् । त्यसमा सन्देश वा दृष्टिकोण, आकारको संक्षिप्तता, गफगाफको शैली, ज्ञानवद्र्धक र अनुभवमा आधारित विषयवस्तु, ‘बहुजन हिताय बहुजन सुखाय’ को उद्देश्य, आशावादिता, देशभक्ति, सामाजलाई नबिगार्ने नबराल्ने अन्याय अत्याचार विरोधी सामग्री, विभिन्न पुस्ताका बिचको एकता आदिलाई उनले महŒव दिन चाहेको पाइन्छ । उनले हृदयचन्द्र सिंह प्रधान, युद्धप्रसाद मिश्र, पारिजात, लेखनाथ, विश्वेश्वरप्रसाद कोइराला, कुलमान सिंह, सिद्धिचरण श्रेष्ठ, वासुदेव लुइँटेल, कृष्णप्रसाद श्रेष्ठ, शशिकला, कोशराज रेग्मी, मोहन दुवाल, चन्द्रकिशोर झा, भक्तबहादुर नेपाली, रामकृष्ण भण्डारी आदि साहित्यकार कलाकारका बारेमा आफ्ना धारणा प्रस्तुत गरेका छन् । यी साहित्यकारका सकारात्मक एवम् नकारात्मक पक्षबारे उले सम्यक् विवेचना गरेका छन् । नेपाली साहित्यको सैद्धान्तिक र प्रायोगिक दुबै प्रकारको समालोचनामा श्यामप्रसादले कोरेको गोरेटो उनको साहित्यिक पत्रकारितासँगै सुरु भयो र त्यसको प्रभाव विस्तार हुँदै नेपाली प्रगतिशील एवम् प्रगतिवादी समालोचनाको क्षेत्रमा योदान गर्न पुग्यो । उनले पत्रपत्रिकाले नेपाली साहित्यमा पु¥याएको योदानबारे पनि विवेचना गरेका छन् । उनले ‘सन्देश’, ‘तरुण’ र ‘ज्वाला’ हस्त लिखित पत्रिकाका साथै ‘पासा’, ‘नेशन कल’, ‘नेपाल कालिङ’, ‘गुनासो’, ‘साहित्य’, ‘सेवा’, ‘स्वास्नी मान्छे’, ‘वन्दना’, ‘जनमत’, ‘भानु’ जस्ता पत्रिकाले नेपाली साहित्यको उत्थानका निम्ति गरेको कामको सराहना गरेका छन् । 

श्यामप्रसादका निबन्धकै हाराहारीका अनेक लेख विभिन्न विषयसँग सम्बन्धित छन् । उनले पत्रकारिता, संस्कृति, घर परिवार, बाल बालिका, स्वास्थ्य, प्रेम, विवाह र महिला मुक्ति, धर्म, जातजाति, भाषा, अर्थ, डायरी, जीवनी, पत्र आदिसँग सम्बन्धित विभिन्न लेखहरूका साथै पुस्तक–पुस्तिकाहरू प्रकाशित गरेका छन् । उनले कतिपय साहित्यिक र राजनैतिक व्यक्तिको सम्झनाका हरफहरू पनि आफ्ना लेखमा कोरेका छन् । यसका साथै उनका विचारोत्तेजक अन्तर्वार्ताहरू पनि पठनीय छन् । 

‘नेपालको पत्रकारिता र पत्रकारहरूबारे प्रतिवेदन (इ १९६२) र ‘मेरो पत्रकार जीवन’ (२०६३) उनका पत्रकारिता सम्बन्धी कृति हुन् । पहिलो कृति अन्तर्राष्ट्रिय पत्रकार सङ्घको बुढापेस्ट, हङ्गेरीमा आयोजित महाधिवेशनमा उनले प्रस्तुत गरेको प्रतिवेदन हो भने दोस्रोमा उनले आफ्नो पत्रकारिता सम्बन्धी डायरी, अन्तर्वार्ता, अन्तर्राष्ट्रिय पत्रकार र तिनका सङ्घ, सम्पादन कार्य, तराई र पत्रकारिता, रेडियो नेपालका कार्यक्रम, पत्रिकामा नारी अङ्क आदिबारे आफ्ना धारणा प्रस्तुत गरेका छन् । नेपाली पत्रकारितालाई श्रमजीवी र उत्पीडित वर्गका पक्षमा उभ्याउन उनले प्रकाशन, सम्पादन, वितरण आदि विभिन्न क्षेत्रमा पु¥याएको विशिष्ट योगदान सम्बन्धी कतिपय जानकारी उनका कृतिहरूमा पाइन्छ । उनले जीवनको पूर्वार्धमा ‘साहित्य’, ‘सेवा’ र ‘स्वास्नीमान्छे’ तथा २०५० को दशकमा ‘प्रलेस’ को सम्पादनमा विशेष योगदान गरेका थिए । पत्रकारिता क्षेत्रको योगदानको निम्ति उनी सम्मानित पनि हुँदै आएका छन् । 

‘संस्कृति सम्बन्धी दुई–चार कुरा’ (२०४९) पुस्तिकाका लेखहरूका साथै ‘सांस्कृतिक क्रान्ति पहिले आफैबाट सुरु गर्नु पर्छ’ (२०५८) शीर्षकको ‘रक्तिम किरण’ मा प्रकाशित लेख अनि ‘संस्कृति सम्बन्धी अध्ययन’ (२०५५) लेख उनका संस्कृति नामसँग गाँसिएर देखा परेका लेख हुन् । यिनमा उनले यथार्थ चेतना फिँजाउन, प्रजातन्त्रवादी बानी गर्न, अन्धविश्वाससित लडाइँ गर्न, सार्वजनिक सम्पत्तिप्रति ममत्व जगाउन र संस्कृतिको स्वस्थ पक्षको रक्षा र विकास गर्न जुक्ति सिकाएका छन् र तिनको महŒवमा प्रकाश पारेका छन् । उनले लेनिनले सांस्कृतिक क्रान्तिलाई दिएको महŒवबारे चर्चा गर्दै ईश्वर, धर्म र नैतिकतालाई भौतिकवादी वैज्ञानिक दृष्टिकोण अनुसार कसरी हेर्ने भन्ने विचार प्रस्तुत गरेका छन् । साहित्य र साहित्यकार, पत्रकार र पत्रकारिता, शिक्षा प्रचार जस्ता कुरालाई पनि संस्कृति भित्र समेट्दै उनले तिनका विषयमा आफ्नो अभिमत सार्वजनिक गरेका छन् । आफ्नो मात्र नभई अरूको संस्कृतिबाट पनि राम्रा कुरा ग्रहण गर्न, सङ्गीत र नृत्यको शिक्षाको विकास गर्न, हाम्रो संस्कृतिको गहिरो अध्ययन गरी जन संस्कृतिको उन्नयनका लागि अगि सर्न पनि उनले आफ्ना लेखहरूमार्फत आह्वान गरेका छन् । उनी लोक साहित्यिक, प्राचीन, माध्यमिक र आधुनिक कालीन, सामन्ती, पुँजीवादी र समाजवादी, विविध जातीय र भाषिक, बाल्यकालीन, प्रौढ र बृद्ध अवस्थासँग सम्बन्धित, राष्ट्रिय र अन्तर्राष्ट्रिय आदि अनेक दृष्टिले संस्कृतिलाई नियाल्न आवश्यक ठान्दछन् । यसका साथै उनी मुखले जे भनिन्छ त्यही गरेर सबैले आफैबाट सांस्कृतिक क्रान्ति थालेको पनि देख्न चाहन्छन् । 

‘परिवार, नाता–कुटुम्बबारे’ (२०४८), ‘सबैका लागि घर’ (२०४९) उनका घर परिवार सम्बन्धी कृति हुन् । एउटा परिवारलाई कसरी व्यवस्थित पार्न सकिन्छ भन्ने महŒवपूर्ण चिन्तन उनले गरेका छन् । त्यहाँ परिवारका सदस्यहरू र परिवार परिवारबिचको सम्बन्ध, आर्थिक पक्षको व्यवस्थापन, सामूहिक र व्यक्तिगत स्वामित्व, पारिवारिक जीवनमा प्रजातन्त्र, नाता कुटुम्बसँगको सम्बन्ध आदिबारे उपयोगी र अनुभवसिद्ध कुराहरू रोचक ढङ्गले उनले पस्केका छन् । सबैका लागि घरको अपेक्षा गर्ने र हरेक घरलाई सहज एवम् बस्न योग्य बनाई पारिवारिक सुसम्बन्ध बढाउन आहने श्यामप्रसाद साँच्चै नै हरेक नेपाली घर परिवारका हितचिन्तक हुन् । उनले आफ्नो चिन्तनलाई अगि बढाउन परिवार कमिटीहरू सञ्चालन गरेको पनि जानकारी पाइन्छ । 

बाल बालिका त श्यामप्रसादका अत्यन्त निकटका साथी सरह छन् । उनले बाल बालिकाका लागि गीत–कविताहरू मात्र नलेखी ‘हाम्रा बाल बालिकाहरू ः हाम्रा नयाँ पुस्ता’ (२०४७) पुस्तक प्रकाशमा ल्याएका छन् । बाल बालिकाको विकास, हेरचाह, चरित्र निर्माण, शिक्षा, वातावरण, खानपान, संरक्षण, बौद्धिक र शारीरिक क्षमता, बाल साहित्य, अन्तर्राष्ट्रिय जगत्मा बाल बालिकाको विकासका लागि गरिएका काम, केटाकेटीबारे किम इल सङ, चीनमा बाल साहित्य आदि अनेक बाल हितकारी कुरा उनको उक्त कृतिमा समेटिएका छन् । स्मरणीय छ उनी आफू त बाल साहित्यकार हुन् नै, उनको सङ्गतमा रहेका रमेश विकल, कृष्ण पराजुली, शान्तदास मानन्धर, जनकप्रसाद हुमागाईं आदि पनि नेपाली बाल साहित्यका धुरीका रूपमा रहेका छन् । उनको गुप्तवास कालमा उनले अनेक बालसँगीहरू बनाएको र तिनलाई बाटो देखाउने जुक्तिहरूको खोज गर्न पनि यस्ता रचनाहरू जन्मिन पुगेका देखिन्छन् । 

स्वास्थ्यका विषयमा पनि श्यामप्रसादले कलम चलाउँदै आएका छन् । उनको ‘निरोगी रहने सजिलो उपाय’ (२०५८) एक महŒवपूर्ण पुस्तकका रूपमा प्रकाशित छ । ‘गाउँको सफाइ’ (२००१), ‘स्वास्थ्य रक्षा’ (२००३) जस्ता पुस्तिकाहरूबाट आफ्ना स्वास्थ्य सम्बन्धी दृष्टिकोण प्रस्तुत गर्दै आएका शर्माले मान्छेका आहार, विहार, भिटामिन, रोगहरू, स्वास्थ्य योजना आदिबारे सूचनाहरू प्रवाहित गर्ने र समाजलाई सचेत एवम् जाग्रत तुल्याउने काम गरेका छन् । उनका बाल कविताहरूमा पनि सो कुरा व्यक्त भएको पाइन्छ भने गद्य लेखहरूमा पनि उनले त्यसतर्फ दृष्टि पु¥याएका छन् । उनले सुत्केरीको स्वास्थ्य रक्षा, रक्तचाप, दादुरा, भिरिङ्गी, छारेरोग बालस्वास्थ्य आदिबारे लेखेका लेखहरू जीवनोपयोगी छन् । चुरोट र पारमाणविक शस्त्रास्त्र दुबैलाई समान ठान्दै तिनका विरुद्ध उभिनु पर्ने धारणा उनले जाहेर गरेका छन् । उनको भिरिङ्गी सम्बन्धी लेख छापिँदा केही बुज्रुकहरू उनीमाथि खनिएका थिए तर उनले आफ्ना स्वास्थ्य सम्बन्धी अनुभवमा आधारित लेखमा डाक्टरको परामर्श पनि लिइएको जानकारी दिँदै तिनलाई निरुत्तर तुल्याएका थिए । एउटा साहित्यकारले वाङ्मयका अरू क्षेत्रमा हात हालेको देखेर नाक चेप्य्राउने ती बुज्रुकहरू सम्भवतः जनताका पोल्टाबाट धेरै टाढा रहेर सहरको कुनै कुनामा दिन गुजारी रहेका थिए र जनस्वास्थ्यका समस्यामा सहभागी हुनु त के चिन्ता गर्नुलाई पनि अनावश्यक ठान्दथे भने श्यामप्रसादको लामो समय अनेक रोगले पीडित गाउँलेहरूबिच गुजे्रको थियो । 

‘प्रेम र विवाहका विषयमा’ (२०४९) र ‘महिला मुक्तिका कुरा’ (२०५१) तथा ती दुबैलाई संयुक्त पारेर ‘प्रेम, विवाह र महिला मुक्ति’ (२०५९) मा थप लेखहरू सहित श्यामप्रसादले अर्को अत्यन्त सामाजिक चासोको विषयमा प्रकाश पारेका छन् । यस विषयमा यस पङ्क्तिका लेखकले यस अगि नै ‘नागार्जुन’ को ‘श्यामप्रसाद शर्मा विशेष’ (गिरी, २०६२ ः ६९–७३) मा आफ्ना धारणा प्रस्तुत गरि सकेको छ । यसमा उनले गद्य र पद्य दुबै रचनाका माध्यमबाट स्वस्थ प्रेम, विवाह सम्बन्धी समस्या समाधानका व्यावहारिक उपाय, महिलाले भोगेका विभिन्न समस्याबाट छुटकारा दिलाउने तरिका, महिला सम्बन्धमा लेनिनका विचार आदि समावेश गरेको पायन्छ । उनी प्रेम र विवाहको आधार धन, स्वार्थ, जिउडाल, जात र डिग्री नभई वर्गीयता, आत्मीयता र असल गुण बन्नु पर्दछ भन्ने धारणा राख्तछन् । उनी निराशा, पलायन, आत्महत्या, उरन्ठेउलोपना र उद्दण्डताको विरोधमा रही महिला मुक्तिका लागि सङघर्ष, साहस, धैर्य र सामूहिक प्रयासको खाँचो बोध गराउँछन् । क्षय र पतनतिर समाज नजाओस् भन्ने असल उद्देश्यका साथ आशाको सञ्चार गर्ने काम पनि उनले यसमा गरेका छन् । 

‘धर्मबारे केही कुरा’ (२०४९) र ‘जातजातिका कुरा’ (२०५६) ले उनको धर्म र जातजातिसम्बन्धी धारणा अगि सारेका छन् । उनी धर्म र अन्धविश्वासलाई दुई भिन्न कुराका रूपमा लिन्छन् । उनी व्यक्तिलाई धर्म मान्ने वा नमान्ने स्वतन्त्रता हुनु पर्ने विचारमा छन् । कुनै धर्मप्रति पनि कुदृष्टि राखेर मान्छेको धार्मिक भावनामा चोट पु¥याउनु हुँदैन भन्ने उनको विचार छ । धर्मको खोल ओढेर गरिने पाखण्डी र क्रान्ति विरोधी कामको भने उनले विरोध गरेको पाइन्छ । उनले ‘बालशिक्षा र धर्म’ शीर्षकको लेखमा पाठ्यक्रममा कुनै एकधर्मको कुरा राखेर अर्को धर्मप्रति भेदभाव गर्ने र धर्म नमान्ने व्यक्तिलाई जबर्जस्ती धर्मतिर धकेल्ने काम उचित नभएको र यसता कुरामा राज्यले ध्यान दिनु पर्ने ठह¥याएका छन् । ‘प्रजातन्त्र र धर्म’, ‘धर्म, संस्कृति र नारी’ जस्ता उनका लेखले धर्म निरपेक्षता र नारी स्वतन्त्रताको पक्ष लिएका छन् । ‘वसुधैव कुटुम्बकम्’ को सिद्धान्त बोकेका पूर्वजका सन्तानहरूमा पर्वते, नेवार र मदिसेको भेदभावपूर्ण भावना बढाउने तŒवहरूप्रति नकारात्मक दृष्टि लगाउन र समुदायमा भेदभावका अनेक शाखा–उपशाखा रहेको हुँदा भेदभावका कुराले अनेक चिरामा समाज बाँडिई ठुलो नोक्सान हुने भएकाले यस्ता सङ्कुचित विचारलाई समयमै गलहत्याई समाजमा जनस्तरमा रहेको सद्भाव कायम राख्न तथा नेपाली राष्ट्रियतामा एकताबद्ध हुन उनले सजग गराएका छन् । जातीय उँचनीच र छुवाछुतका भावना पनि उनी मेटाउन चाहन्छन् । “पानी नचल्ने अथवा छोइछिटो हाल्नु पर्ने छोटा जात भनेर हेला गर्न खोज्नेलाई सरकारले दण्ड दिनु पर्छ” भन्ने विचार उनले ‘साँच्ची नै प्रजातन्त्र भएको हो भने’ (२०१८) शीर्षकमा सार्वजनिक गरेका छन् । “विवाह गर्दा जात मिल्नै पर्छ भन्ने सोचाइ सामन्तवादी हो” भन्ने उनको विचार छ । सबै जातजातिप्रति समान दृष्टि राखेर आफूलाई ठुलो र अरूलाई सानो ठान्ने विचारलाई त्याग्नु पर्ने कुरा पनि उनले उठाएका छन् । एक जात वा जातिका असल कुरा अर्को जात वा जातिले सिक्नु पर्ने, थिचोमिचोमा परेका जातजातिका समस्यामा ध्यान दिनु पर्ने, सरकारी सेवा, शिक्षा, स्वास्थ्य आदिमा सबै जातिका मानिसले अवसर पाउनु पर्ने जस्ता असल धारणा प्रस्तुत गर्दै जातीय समस्या जटिल हुँदै गएमा मुलुकमा अशान्ति मच्चिने विचार उनले प्रस्तुत गरेका छन् । उनी जातीय समस्या समाधान गर्ने सही दृष्टिकोण अनुसार सबै जातजातिका जनताको स्नेह, सद्भावना र घनिष्ठता बढेर एकताबद्ध रूपमा सिङ्गै देशको कल्याण भएको देख्न चाहन्छन् । 

श्यामप्रसादको ‘भाषासम्बन्धी दुई–चार कुरा’ (२०५६) मा भाषानीति, भाषा प्रयोग, प्रजातन्त्रवादी वा जनवादी नीति अनुसार भाषाको विकास, संस्कृत भाषाको महŒव, उनका नेपाल भाषामा प्रकाशित रचना आदिबारे विवेचना गरिएका लेखहरू प्रकाशित छन् । ‘सोवियत सङ्घमा सबैले रसियाली भाषा सिक्छन्’ शीर्षकको एक महŒवपूर्ण लेख पनि यसमा समाविष्ट छ । यसमा उनले संस्कृत भाषालाई मृतभाषा भनेर हेला गर्नु ठिक नभएको तर अरू भाषाको विकासका निम्ति पनि प्रजातान्त्रिक सरकारको उत्तिकै ध्यान जानु पर्ने सुझाब दिएका छन् । मुलुकका सबै भाषाहरूको विकासमा ध्यान पुग्नु पर्ने र भाषाको निहुँ उठाई जनताहरूबिच विवाद बढाउन खोज्नेहरूबाट सतर्क रहनु पर्ने पनि उनको धारणा छ । उनी विश्वभाषा क्याम्पसले अन्तर्राष्ट्रिय भाषा सिक्ने अवसर प्रदान गरेकोमा खुुसी व्यक्त गर्दै अन्यत्र पनि त्यस्तो अवसर दिँदा राम्रो हुने विचार गरेकोमा खुसी व्यक्त गर्दछन् । उनी आफूले २००९÷१० सालदेखि नै नेपाल भाषा÷नेवार भाषामा रचना प्रकाशित गर्दै आएको र आफ्ना कतिपय रचना त्यस भाषामा मात्रै प्रकाशित रहेको जानकारी दिन्छन् । उनी ‘स्वास्नीमान्छे’ पत्रिका पनि सो भाषामा निकाल्न एक समयमा अग्रसर रहेको तर त्यो प्रयत्न सफल हुन नसकेको पनि सूचना दिन्छन् । नेपालीका अतिरिक्त अन्य भाषाप्रति पनि उनको सद्भाव रहेको कुरा यसबाट पुष्टि हुन्छ । उनका ‘अजा–अजिपीं’ (२०५६), ‘जात–जातिया खँय्’ (२०४९) जस्ता नेपालभाषाका पुस्तिका, ‘जातजातके बात’ (२०५८) र ‘धर्मके बारे मे कुछेक बात’ (२०५७) भोजपुरी भाषाका पुस्तिका तथा ‘हु इज क्रिपल’ (इ १९८१) र ‘थट्स अबाउट पिस एन्ड वार’ (इ. १९९४) अङ्ग्रेजी भाषाका पुस्तिका नेपालीबाट क्रमशः कृष्णराम श्रेष्ठ र त्रिरत्न शाक्य, रेणु गुप्ता तथा जगदीश दुवाडी र आर.के.नेउपानेले अनुवाद गरेको पाइन्छ भने उनी आफैले ‘गाउँमा जाँचबुझ गर्ने बारे’ (२०४०) र नेपाल भाषाका ‘चार निबन्ध’ (२०५६) अङ्ग्रेजी र नेपाल भाषाबाट नेपालीमा अनुवाद गरी प्रकाशित गरेका छन् । नेपालका राष्ट्रभाषाहरू र अन्तर्राष्ट्रिय भाषाप्रतिको उनको सद्भाव यी कार्यबाट पनि द्योतन हुन्छ । अरूलाई अनुवादका लागि प्रेरित गर्ने र आफैले पनि अनुवाद गर्ने उनको यो कार्य नेपाल र संसारका अरू भाषाका विकासका लागि पनि चिन्ता गर्नेहरूका निम्ति उदाहरणीय छ । मुलुकको भाषानीति राम्रो हुनु पर्ने, मुलुकको थोरै वक्ता भएको कम विकसित भाषाले पनि स्नेह, सद्भाव र मान मर्यादा पाउनु पर्ने; लेख रचना र कुराकानीमा कतै पनि एक थरी भाषाभाषीले अर्को थरी भाषाभाषीलाई हेला अपमान हुन जाने खालको विचार पार्न नहुने, साझा वा माध्यम भाषा जनताले रोज्न वा निधो गर्न पाउनु बेमनासिब नहुने, आफ्नो मात्र भाषामा सीमीत नरही अरू भाषा पनि बोल्ने लेख्ने प्रयास गर्नु पर्ने, अन्तर्राष्ट्रिय भाषा सिक्न खोज्नेले पुँजीवादी देशमा प्रचलित अङ्ग्रेजी, फ्रान्सेली जस्ता भाषा वा समाजवादी देशमा प्रचलित चिनियाँ, रसियाली भाषाबाट कुनै एक चयन गर्नु उचित हुने पनि उनको राय छ । उनी करकापले भाषा लाद्न नहुने, उच्च शिक्षामै पनि पढ्न नरुचाउनेका निम्ति अङ्ग्रेजी लादिनु नहुने, एकेडेमीले नेपालीका अतिरिक्त नेपालका अन्य भाषाको अनुसन्धान, अध्ययन, प्रकाशन र प्रचारमा खर्च गर्नु पर्ने, नेपाली भाषा प्रकाशिनी समिति जस्ता तत्कालीन प्रकाशन संस्थाहरूले अरू भाषाका लेखक, सम्पादक र प्रकाशकहरूलाई बिर्सन नहुने, रेडियोमा ठाउँ पाएका विभिन्न भाषाहरूलाई घटाउँदै जानुको साटो बढाउँदै जानु पर्ने, नेपाली भाषामा बर्सेनि फिलिम बन्नु पर्ने, सरकारले लेखक प्रकाशकका पास गरेका कृति मात्र प्रकाशित गर्न पाउने तत्कालीन नियमबाट मर्का पार्न नहुने, भाषिक विकासका सन्दर्भमा भियतनामका अनुभवबाट सिक्न सकिने, प्रतिक्रियावादीहरूले नेपाली जनतालाई हानि पु¥याउन फिँजाउने कृतिहरू नियन्त्रण गरी हाम्रा भाषामा प्रगतिवादी कृतिहरू थप्तै जाने जस्ता महŒवपूर्ण सुझाउ उनले दिएका छन् । उनी कवि, लेखक, चित्रकार, पत्रकार, शिक्षक, विद्यार्थी वर्षको एक महिना भए पनि उपत्यका, पहाड र मदेसका गाउँका निम्न स्तरका जनताका समक्ष पुगी नेपाली भाषाका साथै अन्य भाषामा साहित्यिक एवं शैक्षिक विकासमा संलग्न भएको हेर्न चाहन्छन् । 

उनले ‘आर्थिक अवस्था कसरी सपार्ने ?’ (२०५१) जस्ता कृति पनि हामीलाई सुम्पेका छन् । यसमा घर व्यवहारदेखि साथीभाइ एवम् इष्टमित्रसँग गरिने आर्थिक बरव्यवहार, राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थनीति, उद्योग धन्दा, नौलो जनवादको अर्थनीति आदि कैयन् विषयमा उनका धारणा बाहिर आएका छन् । राजनैतिक कार्यकर्ताले अरूबाट सित्तै केही कुरा लिन नहुने, कुनै परिवारलाई पनि आर्थिक भार पर्ने गरी सङ्गठनको व्यक्तिले बोझ पार्न नहुने, श्रमिकहरूलाई काम गराउँदा ज्याला दिनु पर्ने, आमाबाबुले छोराछोरीलाई अंश दिने नियमका ठाउँमा छोरा वा छोरी जसलाई दिए पनि हुने अथवा उनीहरूमध्ये कसैलाई पनि नदिई सार्वजनिक सङ्घसंस्थाहरूलाई दिए पनि पाइने चलन चल्नु पर्ने, महिलाहरूले पनि आर्थिक आर्जनका काम गर्ने अवसर सिर्जना हुनु पर्ने, पुरुष वा महिला सबै स्वावलम्बी बन्न सक्ने वातावरण बन्नु पर्ने जस्ता कुरा उनले आफ्ना लेखहरूमा उल्लेख गरेका छन् । उनले चीनको अर्थनीतिका बारेमा चर्चा गर्नुका साथै योजना र बजारको सम्बन्ध, साहित्य र आर्थिक समस्या, नेपालको वैदेशिक व्यापार जस्ता विषयमा पनि आफ्नो दृष्टि पु¥याएका छन् । आर्थिक आधारमा नै समाज टिकेको छ र असल कुराको प्राप्तिका लागि आर्थिक विकास गर्नै पर्छ भन्ने कुरामा उनी सचेत छन् । 

टङ्कप्रसाद आचार्य र खङ्गमान सिंह जस्ता अग्रज, निर्मल लामा जस्ता दौँतरी तथा शिवप्रसाद आचार्य र रमला मानन्धर जस्ता प्रतिभाबाट उनी प्रभावित छन् । तिनलाई सश्रद्धा उनले आफ्ना लेखका विषय बनाएका छन् । टङ्कप्रसाद आचार्यलाई कालकोठरीमा राखिएको वेला श्यामप्रसाद पनि जेलमा थिए भने खड्गमान सिंहलाई पनि उनले त्यहीँ नै पाएका थिए । उनीहरूले त्यहाँ पाएको दुःख उनले अनुभूत गरे र उनीहरूका विचारबाट श्यामप्रसाद निकै प्रभावित रहे । उनीहरूबिचको सरसम्पर्क र पत्राचारबाट पनि सो कुरा प्रस्टिन्छ । श्यामप्रसादले के लेखेका छन् भने टङ्कप्रसाद र उनका साथीहरूको प्रभावले नै उनी गान्धीवादीबाट समाजवादी विचारको हुन पुगेका थिए । टङ्कप्रसाद प्रजापरिषद्सँग सम्बन्धित थिए भने खड्गमान सिंह प्रचण्ड गोर्खासँग सम्बन्धित थिए । उनले काल कोठरीमा रहेका रामहरि शर्माका बारेमा पनि ठाउँ ठाउँमा चर्चा गरेका छन् । राजबन्दीहरूसँगको पत्राचार र उनीहरुले निर्माण गरेको साङ्केतिक भाषाको पनि उनले उल्लेख गरेका छन् । निर्मल लामासँग एकै सालमा जन्मेको, सँगसँगै पार्टीको काम गरेको र अन्त्यमा उनको शवयात्रामा समावेश भएसम्मको वर्णन उनले गरेका छन् । लामाको योजनाबद्ध काम गर्ने शैली र जीवनको अन्तिम अवस्थासम्मको आफ्नो आस्थाप्रतिको प्रतिबद्धतालाई उनले विशेष महŒव दिई उल्लेख गरेका छन् । काभ्रे र रौतहटलाई कर्मथलो बनाई सक्रिय रहेका वाम बुद्धिजीवी शिवप्रसाद आचार्यसँगको घनिष्ठता, भूमिगत कालमा उनले आफूलाई गरेको सहयोग, दर्शन जस्तो महŒवपूर्ण विषयमा उनले तयार गरेको पुस्तक, ‘एकताको गीत’ नामक उनको नाटक, नौलो जनवादी अर्थनीति लागु गर्ने र जनतासँग घनिष्ठ हुने उनको अठोट तथा उनको दुःखद निधनबारे उनले ‘तन्नेरी साथीहरूसित दुई चार कुरा’ (२०५४) नामक पुस्तकमा ‘शिवप्रसादको सम्झना’ शीर्षक दिई वर्णन गरेका छन् । यसरी नै रमला मानन्धरसँग श्यामप्रसाद निकै घनिष्ठ रहेको र आफ्नै मायालु छोरी सरह आफूले ठान्दै आएको अनि उनीले ‘काका’ का रूपमा सम्मान गर्दै आएको कुरा उनले ‘रमलाको विचार पक्ष’ भन्ने लेखमा उल्लेख गरेका छन् । उनको देशभक्ति तथा समाज सेवाप्रतिको निष्ठा, सन्तानलाई समाजवादी शिक्षातिर उन्मुख गराउने चाहना र उनका पति समेत स्थानीय साथीहरू समेत भई आफूसँग उनले गर्ने सामूहिक छलफलको उनले यस लेखमा स्मरण गर्दै उनलाई अत्यन्त उच्च विचार र असल भावनाकी नारीका रूपमा मूल्याङ्कन गरको छन् । 

श्यामप्रसादले ‘दुई लाइनका बिचको सङ्घर्ष’ ( ? ), ‘अनुशासनको कारबाईबारे’ (२०५७) जस्ता मौलिक कृतिहरूको रचनाका साथै माओ जे दुङको ‘गाउँमा जाँचबुझ गर्ने बारे’ (२०४०) कृति अनुवाद गरेर आफ्नो राजनैतिक चिन्तनलाई अगि बढाउने प्रयत्न गरेका छन् । पार्टीभित्र र बाहिर हुने सङ्घर्षबारे उनी राम्ररी जान्दथे । ‘दुई लाइनका बिचको सङ्घर्ष’ ले सही र गलत छुट्याउन तथा सही लाइन पक्रेर अगि बढ्न मार्ग दर्शन गरेको छ । यसमा दुई लाइनको फरक, जानीजानी अँगालिने गलत लाइन, त्यसको पहिचान, त्यसका विरुद्ध गरिने सङ्घर्ष, सो सङ्घर्ष हुनाको कारण, आलोचना आत्मालोचना आदि महŒवपूर्ण विषयमा प्रकाश पारिएको छ । अनुशासनको महŒवबारे श्यामप्रसादलाई राम्ररी थाह छ । त्यसैले अनुशासनका निम्ति गरिने कारबाईलाई उनले महŒव दिएका छन् र सधैँ अनुशासन प्रिय बन्न र अनुशासनलाई बलियो पार्न आह्वान गरी लेखहरू लेखेका छन् । गाउँको जाँचबुझ गर्ने तरिका, किसानहरूका समस्या पत्ता लगाइने अनुसन्धान, अन्तर्विरोधहरूबाट प्रमुख अन्तर्विरोध ठम्याउने कुरा आदि अन्तर्निहित पुस्तिकाको अनुवाद पनि उपलब्धिपूर्ण नै छ । यसका साथै उनले मजदुर र किसानका समस्या तथा समस्याबाट उम्किने जुक्तिहरूबारे पनि विभिन्न लेखहरू लेखेका छन् । 

श्यामप्रसादका अन्तर्वार्ताहरू विभिन्न पत्र पत्रिकामा छरिएका छन् । तीमध्ये केही ‘अन्तर्वार्ता’ (२०५१) मा प्रकाशित छन् भने केही अन्य कृतिमा र केही पत्र पत्रिकामा नै रहेका छन् । ती पठनीय र अध्ययनीय छन् । तिनको विश्ेषणबाट साहित्य, राजनीति, इतिहास, दर्शन, सौन्दर्य चिन्तन आदि अनेक विषय क्षेत्र लाभान्वित हुन सक्छन् । यिनका अतिरिक्त उनका आफ्ना र अरूले उनलाई पठाएका चिठीहरू पनि विभिन्न कृतिमा प्रकाशित छन् । ‘आएका केही चिठी’ (२०५५) यस्तै कृतिहरूमध्येको एक प्रमुख कृति हो । ‘चीन जाँदाको डायरी’ (२०३६), ‘थुनुवाको डायरी’ (२०३८), ‘मेरा डायरीका पाना’ (२०५७), ‘मेरा डायरीका पाना’ (२०६२ भदौ ३०), ‘मेरा डायरीका पाना’ (२०६२ चैत १५), ‘मेरा डायरीका पाना’ (२०६३) पनि उनले प्रकाशित गरेका छन् । यी कृतिहरूबाट श्यामप्रसाद स्वयं र उनीसँग सम्पर्कित विभिन्न महŒवपूर्ण कार्यक्रम, प्रकाशन, आन्दोलन, व्यक्ति आदिबारे बुझ्न ठुलो सहयोग पुग्न सक्तछ ।


३. सम्मान
श्यामप्रसादका कामहरूबारे विभिन्न अध्ययन भएका छन् । उनको सर्वप्रथम विस्तृत अध्ययन गर्ने व्यक्ति धर्मराज अधिकारी हुन् । उनले ‘श्यामप्रसाद शर्माको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन’ (२०४३) शीर्षक स्नातकोत्तर तहको शोधकार्य पूरा गरेका छन् । उनको नै ‘प्रगतिवादी नेपाली साहित्यमा श्यामप्रसाद शर्माको योगदान’ शीर्षकको विद्यावारिधि तहको शोधप्रबन्ध त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत भइसकेको छ । उनका अतिरिक्त डिल्लीप्रसाद पाण्डेयका ‘श्यामप्रसादको निबन्धकारिता’ (२०५४) तथा ‘नागार्जुन’को ‘श्यामप्रसाद शर्मा विशेष’ (२०६२) जस्ता कृतिहरूले पनि उनका जीवनी र कर्मबारेमा महŒवपूर्ण प्रकाश पारेका छन् । उनी उनका कामका निम्ति विभिन्न पुरस्कारबाट सम्मानित पनि भएका छन् । यस क्रममा कृष्णमणि साहित्य पुरस्कार (२०४७), महेन्द्र प्रज्ञा पुरस्कार (२०५०), नारायणी वाङ्मय प्रतिष्ठानको व्यक्तित्व पुरस्कार (२०५१) र सीताराम साहित्य प्रतिष्ठानको मुक्ति पुरस्कार (२०५१) उनले प्राप्त गरेका छन् । पुराना राजनैतिक कार्यकर्ता सम्मान गुठी, बढानीलकण्ठ स्कुल, झरना साहित्य परिषद् परिवार, छतिवन, हाम्रो सिर्जनशील समाज, फापरबारी मकवानपुर, प्रगतिशील लेखक सङ्घ, साहित्यिक पत्रकार सङ्घ जसता संस्थाहरूबाट पनि उनी सम्मानित भएका छन् । महेन्द्र प्रज्ञा–पुरस्कार र मुक्ति पुरस्कारबारे केही विवाद चल्यो र त्यस निम्ति उनले प्रलेसको अध्यक्ष पदबाट राजीनामा दिनु परे पनि उनले वि.सं. २०४६ पछिको परिवर्तित वातावरणमा उनको आफ्नो विचारमा अडिग रहेर गरेको कार्यको मूल्याङ्कनका आधारमा ती पुरस्कार प्रदान गरिएको, आफूले कुनै सर्तमा नबाँधिई पुरस्कार ग्रहण गरेको र पुरस्कारबाट प्राप्त राशि आफ्ना कृतिहरूको प्रकाशनमा उपयोग गरेको विचार व्यक्त गरेका छन् । त्यतिखेर प्रलेसले परिवर्तित सन्दर्भमा पुरस्कार सम्बन्धी कुनै नीति बनाइ नसकेको र मूल्याङ्कन समितिले उनको विगत पाँच दशकदेखिको कामलाई आधार बनाई पुरस्कृत गरेको हुँदा उनले त्यसलाई स्विकार्नु स्वाभाविक हुन गएको देखिन्छ । वास्तवमा श्यामप्रसाद जस्तो साधकको सम्मानबाट स्वयम् सम्मान गर्ने संस्थाहरूले आफ्नो प्रतिष्ठा बढाउने अवसर पाएका थिए भन्नु सायद अर्घेल्याइँ हुने छैन । उनको निरन्तरको अथक योगदानका निम्ति गुणग्राही नेपाली समाजले खुला छातीले सम्मान गर्न भने सायद अझै बाँकी नै छ । 

४. निष्कर्ष
श्यामप्रसादले नेपाली प्रगतिवादी र प्रगतिशील साहित्यका क्षेत्रमा अद्वितीय काम गरेका छन् । लेखन, सम्पादन र अनुवादमा आफै संलग्न हुँदै र अरूलाई पनि आफू हिँडेका बाटातिर हिँड्न उत्प्रेरित गर्दै र डो¥याउँदै उनले सामाजिक रूपान्तरणमा विशिष्ट योगदान गरेका छन् । साहित्य, राजनीति र पत्रकारिताका क्षेत्रमा संस्थागत नेतृत्व दिने र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढाउने काम पनि उनले गरेका छन् । कहिले खुला, कहिले जेल र कहिले भूमिगत रहँदै उनको कर्मशील जिन्दगीले जनताका निम्ति पसिना बगाइ रह्यो । त्यसले बाल बालिका, युवा र प्रौढ सबैलाई साथी बनाउँदै आफूलाई गाउँ गाउँका जनताका पोल्टामा पु¥यायो र जनताबाट सिकेका कुरालाई प्रगतिवादी चिन्तनका भट्टामा गाल्दै साहित्यका रूपमा जनतामाझमा नै फर्कायो । आफू जहाँ रह्यो त्यहाँ खँदिलो प्रभाव र हार्दिक प्रेम छर्न ऊ सक्षम रह्यो ।

श्यामप्रसादले आफ्ना कुरा सजिलोसँग जनतामाझ पु¥याउन सरल शब्द र प्रचलित लयलाई अँगाले । जनताका आफूले देखेभोगेका समस्याको उत्खनन गर्दै समाधानका उपाय बताए । अनुभव र प्रयोगमा आधारित उनका रचना आम जन समुदायका निम्ति सरल, सहज र स्वाभाविक भए । तिनले नेपाली समाजमा विचारको बिउ छर्दै गए र प्रगतिशील जमातको वृद्धिमा साह्रै ठुलो मद्दत पु¥याए । उनका रचना आकारमा छोटा छन् र उनका कृति देख्ता साना छन् तर तिनको सन्देश महान् हुन गयो । जनताका निम्ति ती अत्यन्त लोकप्रिय बने र रुचिपूर्वक पढिए । जिउमा होचा कदका भए पनि उनको वैचारिक प्रभावको उचाइ निकै अग्लो भयो । आफूभन्दा अगिल्लो पुस्ताका, आफ्नै दौँतरीका र आफूभन्दा पछिल्लो पुस्ताकाले उनको हिँडाइ भेट्टाउन हम्मेहम्मे प¥यो । उनीभन्दा अगिका युद्धप्रसाद मिश्र (१९६४) धेरै पछि बिसको दशकको अन्त्यतिर प्रगतिवादी साहित्यक आन्दोलनमा आए, लक्ष्मीप्रसाद देवकोटा (१९६६) ले अलमलका बिच केही प्रगतिशील सिर्जना गरे, हृदयचन्द्र सिंह प्रधान (१९७३) र गोपालप्रसाद रिमाल (१९७५) ले संस्थागत नेतृत्वका साथ श्यामप्रसाद झैँ खुलेर वैचारिक आन्दोलनमा होमिएको पाइँदैन । कुलमान सिंह भण्डारी (१९८२) को योगदानको क्षेत्र साहित्यिक र वाङ्मयिक लेखनभन्दा चित्रकला र मूर्तिकलातिर केन्द्रित रह्यो । केवलपुरे किसान (१९८३) श्यामप्रसादकै अध्यक्षतामा वि.सं. २००९ मा गठित प्रगतिशील लेखक सङ्घको कार्यकारिणी समितिमा कोषाध्यक्ष थिए र श्यामप्रसादका झैँ विधागत विविधता एवम् सङ्गठनात्मक त्रियाशीलता तिरभन्दा कवितामै केन्द्रित रहे । रमेश विकल (१९८५) श्यामप्रसादलाई भान्दाइ भन्थे र उनलाई आफ्ना प्रेरकका रूपमा लिन्थे । उनका उत्तरवर्ती स्रष्टाहरू गोकुल जोशी (१९८७), भवानीप्रसाद घिमिरे (१९८७), शान्तदास मानन्धर (१९९१), आनन्ददेव भट्ट (१९९३), गोविन्द भट्ट (१९९४), पारिजात (१९९४), जनकप्रसाद हुमागाईं (१९९४) आदिले पनि आफ्ना अग्रजका रूपमा उनीबाट नै प्रेरणा प्राप्त गरे । त्यस यताका प्रगतिवादी एवम् प्रगतिशील लेखकहरू पनि श्यामप्रसादको स्कुलिङबाट दीक्षित छन् र उनीप्रति आफ्नो श्रद्धा एवम् आदर भाव खन्याउँदै आएका छन् । त्यसैले श्यामप्रसाद नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा एक सशक्त मियो बनेर केन्द्रीय भूमिका निर्वाह गर्ने प्रतिभावान् साधकका रूपमा वन्दनीय छन् ।


सन्दर्भ कृति सूची

अधिकारी, धर्मराज (२०४३), ‘श्यामप्रसाद शर्माको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन, प्रएम.ए. एम.ए. शोधपत्र, त्रि.वि. नेपाली केन्द्रीय विभाग । 
................... (२०६३), आँखीझ्यालबाट हेर्दा श्याम प्रसाद, काठमाडौं : रमला स्मृति कोष । 
किसान, केवलपुरे (२०६६), सिङ्गै किसान जिउँदा कविता, काठमाडौं  : विवेक सिर्जनशील प्रकाशन । 
पाण्डेय, डिल्लीप्रसाद (२०५४), श्याम प्रसाद शर्माको निबन्धकारिता, अप्रकाशित एम.ए. शोधपत्र , त्रि.वि. नेपाली केन्द्रीय विभाग । 
प्रभात, विष्णु (२०६३), प्रलेसको संक्षिप्त इतिहास, काठमाडौं  : विवेक सिर्जनशील प्रकाशन । 
विकल ,रमेश (२०६२), ‘यसरी पाएँ मैले पार्टी सदस्यता’ युगदूत, २६ः४, पृ. २१–२४ । 
सिलवाल, प्रकाश सम्पा. (२०६२), श्याम प्रसाद शर्मा विशेष, काठमाडौं  : नागार्जुन साहित्यिक प्रतिष्ठान ।

No comments:

Post a Comment