Wednesday, May 17, 2017

श्यामप्रसाद शर्मालाई सम्झेर- कोमल भट्टराई



साहित्यकार श्यामप्रसाद रहनु भएन, ८८ वर्षमा उहाँको निधन भयो। यसबेला ०३५ सालतिरका प्रशङ्गहरु म सम्झदैछु। उतिखेर उहाँ भूमिगत हुनुहुन्थ्यो उहाँको पार्टीको नाम सर्वहारा श्रमिक हो जस्तो लाग्छ । तर  तत्कालिन अखिल नेपाल कोअर्डिनेशन कमिटी (मार्क्सवादी-लेनिनवादी)  छोटकरीमा को.के. ले “अतिगोप्यतावादी समूह” भन्दथ्यो। सो समूहमा भित्री-काठमाडौं (जोंछे, वसन्तपुर, नरदेवी) का केही ईलाइटका छोराछोरीहरु आबद्ध रहेछन्।  ती मध्ये केही को.के. मा सामेल भएको कुरा केदार बराल (हाल चिकित्सक, प्रोफेसर । त्यसवेला कोके र मालेका एक सफल संगठक हुन् र हाम्रो जेनेरेशन उनीबाट प्रशिक्षित भएको हो) बाट थाहा पाएको थिँए।
त्यसैवेला एक क्रान्तिकारी घरबाट विद्रोह गरेर जनताको काखमा पुगेको सुनियो। ०३५ सालको अन्ततिर रत्न वान्तवाको हत्या हुँदा एक महिला कमरेडले पुलिसलाई छलेर भागेको रोमाञ्चक घटना सुनियो र कैयौं युनिटमा सुनाइयो पनि। २०३५ सालको पौषमा को.के.बाट नेकपामाले गठन भयो। ०३६ सालको विद्यार्थी आन्दोलनपछि र अनेरास्ववियुको विस्तार र संकल्प परिवारको गिती अभियानलाई आधार बनाउँदै मालेले देशभर उल्लेखनीयरुपमा संगठन बनायो।
संगठन बनाउने क्रममा यसले मजदुर आन्देलन तथा छिटपुट जनसंघर्ष चलाउदै पनि गयो। यसै क्रममा ०३७ सालको श्रावणभदौताका महङ्गी विरोधी आन्दोलन चलाउने निर्णय मालेले गरेको थियो। यसका लागि एक उपत्यकास्तरीय संघर्ष समिति बनेको थियो, त्यसमा एक शिक्षिका हुनुहुन्थ्यो। ०३९ सालमा मालेभित्र पार्टी स्वतन्त्रता कि राजनीतिक स्वतन्त्रताको अस्वस्थ विवाद चल्यो। सो समय एक महिला कमरेड एकाएक सक्रिय देखिनु भयो। यसैगरी अर्की महिला पनि सो विवादमा सक्रिय हुनु भयो।

कोमल भट्टराई
यी सब‌ै श्यामप्रसादको अतिगोप्यतावादी समूहबाट को.के.मा सामेल हुनुभएको थियो। हालपनि ती महिलाहरु वाम आन्दोलनमा हुनुहुन्छ। घरबाट विद्रोह गर्ने अष्टलक्ष्मी शाक्य हो, उहाँ एमालेको उपाध्यक्ष हुनुहुन्छ। पुलिसलाई छक्याउने सुशीला श्रेष्ठ पहिला एमाले हाल संघीय समाजवादी फोरमका नेता हुनुहुन्छ।
महङ्गी विरोधी आन्दोलनमा भेटिइनु भएकी शिक्षिका मिरा ध्वजु एमालेको भद्र र सभ्य महिला नेतामध्ये एक हुनुहुन्छ। विवादमा सक्रिय देखिनु भनिएकी रवि चित्रकार हाल प्रोफेशर हुनुहुन्छ साथै उहाँलाई सबै चिन्नु र जान्नुहुन्छ। र अन्तमा उल्लेखित महिला एमालेको तथा सुरुङ्गी बारुदी विरोधी अभियानको नेतृ पूर्णशोभा चित्रकार हुनुहुन्छ। एकता पाँचौ सम्मेलनका कोषाध्यक्ष लक्ष्मी मानन्धर पनि उहाँकै कार्यकर्ता हुनुहुन्थ्यो कि?  यो समूहको लिड गर्ने (यकिन त छैन) सुलोचना मानन्धर (धिताल) हाल निवन्धकारका रुपमा सुपरिचित हुनुहुन्छ र प्राज्ञ हुनुहुन्छ।
तत्कालिन को.के. हालको एमालेले श्यामप्रसादबाट प्रशिक्षित कार्यकर्ता ऐनवक्तमा पाएको थियो।  ती महिला (खासगरी अष्टलक्ष्मी र सुशीला) हरु (नक्खु जेलब्रेकसमेत) का साहसिक कथा सुनाएर त्यसवेला संगठन गरिएका छन्। काठमाडौमा मालेको संगठन माथि उल्लेखित नेतृहरु प्रवेश भएपछि विस्तार भएको हो। यी महिलाहरुको उत्साहमा साथ दिने क्रममा नै तत्कालिन मालेको नेतृत्व सकृय बन्यो। म श्यामप्रशाद शर्मालाई सम्झने छु कि उहाँले नेपाली कम्युनिष्ट आन्दोलनमा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य जस्तो निष्ठावान्, सरल, साच्चै नै पुस्तकमा लेखिने गरिएको कम्युनिष्ट नेपालीलाई विरासतमा दिएर जानु भयो।
श्यामप्रशाद र एमालेबीचको सम्वन्धबारे एमालेसँग संस्थागत स्मरण (instutional memeory) नहुन पनि सक्छ। तर उहाँबाट एमालेले साहित्यजगतको अङ्श लिएको छ। यो ०३४ सालतिरको कुरा हो, कुन्ता शर्माको सम्पादनमा निस्कने संकल्प मार्फत रामेश दाई (यसमा रघुजीको भूमिकाको स्तर मलाई थाहा छैन) ले “ह्श्ववादी” र पातलो “स” आन्दोलनको पुनरावृत्ति गर्नु भयो। यसका प्रेरक श्यामप्रशाद शर्मा नै हुनुहुन्थ्यो। रामेश दाईले हाम्रा तर्कलाई खारेज गर्न “चलन त्यसै चल्दैन चलाए पछि चल्छ” भाई भन्ने गर्नु हुन्थ्यो ।
यस कथनलाई उहाँले संकल्प पत्रिकाको भित्री पहिलो पृष्ठमा छाप्ने गर्नुहुन्थ्यो। पछि उहाँहरुको आन्दोलन बन्द भयो र पुरानै व्याकरण अङ्गाल्न थाल्नु भयो। तर रामेशदाईको त्यस प्रयाशले श्यामप्रसाद शर्मा, जनकप्रसाद हुमागाई देवीप्रशाद किसान जस्ता अग्रजहरुसँग हालको एमालेले साहित्यिक विरासत पायो। मञ्जुल-रामेश दाईहरुको संकल्प प्रकाशन, ०३६ सालपछि संकल्प गिती कार्यक्रमसँग श्यामप्रसाद शर्मा अवश्य गाँसिएका छन्। श्यामप्रसादले सुन्न त पाउनु हुन्न तैपनि यसवेला एकपटक मालेकालिन नेताहरुले संकल्प पत्रिका र संकल्प गिती कार्यक्रमलाई सन्दर्भमा राखेर विगतलाई गहिरिएर स्मरण गरुन् र श्यामप्रसाद शर्माको मूल्याकंन गरुन् भन्ने मेरो आग्रह छ।
अन्तमा म श्यामप्रशाद शर्माको नेपाली साहित्य, अरु स्थान र क्षेत्र  (जसमा नेपाली महिला आन्दोलन, पत्रकारिता समेत पर्दछ) बाट उहाँको मूल्यांकन गर्न सक्दिन। तर दावासाथ भन्न सक्छु कि नेपाली कम्युनिष्ट आन्दोलन, खासगरी एमालेको संगठन र आन्दोलन श्यामप्रसाद शर्माको तिर्नै नसक्ने गरी ऋणी छ।

http://nayapage.com बाट साभार

No comments:

Post a Comment